मुटुभरि मायाँ (२०८२) डा. कृष्णजङ्ग राणाको सद्य प्रकाशित कृति हो । यो कविता, गीत र गजलको त्रिवेणी हो । अचेल म यसमा दिनहुँ स्नान गर्ने गरेको छु । यसको भाषामा सरलता र अभिव्यक्तिमा निकै मिठास छ । यसभित्रका लालित्यमय पङ्क्तिहरूले मलाई दिनहुँ मोहनी लगाउने गरेका छन् । यो मलाई निकै ऊर्जाप्रद र प्रेरणाप्रद कृति लागेको छ । यसलाई पढ्दै जाँदा म आफैभित्र पनि मनन गर्दै जान्छु । सृजनाबाटै सृजनामा प्रेरित हुँदै जाँदा गीतगजलका पङ्क्तिहरू गुनगुनाउने गर्छु । जुन कृतिले सृजनामा साथ दिन्छ त्यो सार्थक कृति हो भन्ने लाग्दछ । प्रत्येक लेखकका निम्ति यो पठनीय र मननीय कृति रहेको छ । यसमा यतिविधि जीवनबोधी अनुभव सूत्रहरू सन्निहित रहेका छन् , ती कण्ठमै धारण गर्नयोग्य छन् र तिनले जीवनलाई नयाँ दिशा दर्शाउँछन् । यथार्थमा यो हाम्रो जीवन अन्धकारमा दियोझैँ बनेर आएको कृतिझैँ लाग्दछ । यसमा यति धेरै सुन्दर र मनोरम भावपुञ्जहरू छन् जुनलई मनन गरे पछि हाम्रो अनुभवको क्षितिज फराकिलो बन्न पुग्दछ । यसमा सङ्गृहीत समग्र रचनाराशि गेयात्मक छन् र ती गीत–गजलको बान्कीमा बुनिएका छन् । गुणग्राही पाठकका निम्ति यी अमृत समान लाग्दछन् ।
यसमा अन्तर्लय पनि मधुर छ र बहिर्लय पनि मधुर छ । अर्थात् शब्द र भाव दुवै लयमा अनुगुञ्जित छन् । मनको गहिराइबाट निस्केका वाणीले हाम्रै मनको गहिराइ छिचोल्छन् । यी स्रष्टाको दीर्घसाधनाले उब्जिएका अमूल्य भावराशि हुन् । हुन पनि आफ्ना बाइसौँ कृतिका ज्योति पुञ्जहरू समेटेर यसैलाई मानकस्वरूप प्रदान गरिएको छ । यी पाठक जगत्का अनमोल थाती हुन् ।
यसमा ‘स्व’को गहन खोज छ । स्वको खोज नै आत्माको खोज हो । आत्माको खोज नै अध्यात्म हो । यसका कविता, गीत र गजल अध्यात्म खोजले भरिएका छन् । खोजकै सन्दर्भमा उनी भन्छन् :
अन्तरमनको सत्य कुरा देख्न सक्या छैन
आफैभित्र आफैलाई भेट्न सक्या छैन
भन्छन् उनी मनका कुरा इमानदारीसँग
आफ्ना पूरा कथाव्यथा लेख्न सक्या छैन ।।
यसरी अध्यात्म खोजले यो कृति सुगन्धित रहेको छ । यही सुगन्धले कृति गरिमायुक्त बनेको छ । खोजकै क्रममा उनी भन्छन् – भोलि के हुन्छ थाहा हुन्न । तृष्णा रोक्न सकेको छैन, सुख भन्ने त सपनामा मात्र छ, विपनामा त आगो बलेको छ । मान्छेले नै मान्छेलाई यहाँ छलेको छ । मानिसको आस्था ढलेको छ । यस्तै भावना र चिन्तनले कविता गीत र गजल सृजिएका छन् ।
शास्त्रीय छन्दमा नभए पनि सबै रचना गेयात्मक छन् । दुनिया देखे–भोगेर स्रष्टा भावोद्दीपक बनेका छन् । मायालाग्दा मायाका गीत लेख्छन्, करुणा जाग्दा करुणाका कविता लेख्छन् । उनका सबै भावहरू अत्यन्त कोमल, स्निग्ध र मधुर छन् । प्रत्येक भाव लालित्यमय शब्दको थालीमा सजाइएका छन् । उनको लेखनको उद्देश्य बन्धनयुक्त समाजलाई बन्धनमुक्त तुल्याउनु र स्वलाई सत्यतर्फ जागृत गराउनु हो । उनी सबैलाई स्वको खोजी गर्न सन्देश दिन चाहन्छन् । हुन पनि स्रष्टा स्वकै खोजीमा अधिक केन्द्रित छन् । स्वलाई जानेपछि सबै जानिन्छ सबै बुझिन्छ भन्ने यज्ञवल्क्यको दर्शनसूत्रलाई चरितार्थ तुल्याउन खोजेका छन् । स्वबाट परम स्वतर्फ पनि उनले सङ्केत गरेका छन् । कविता, गीत वा गजल जे हुन्, ती सबैले हाम्रो मनलाई संतृप्त पार्छन् ।
श्री राणाका कविता, गीत र गजल तीनै परस्पर सम्पृक्त छन् । तीनैमा पारस्परिक प्रभाव र प्रेरणा समन्वित छ । कवितामा सुवास छ, गीतमा सुगन्ध छ र गजलमा मिठास छ । तीनै समानान्तर स्तरमा छन् । तीनैमा गेयात्मकता वा लयात्मकता उत्कृष्ट स्तरमा छ । तीनै सङ्गीतमा ढालिने प्रकृतिका छन् । एकै किसिमको शैली शिल्पले गर्दा तीनैका भाव भावान्तर भएर रसाएका पनि छन् । यो स्वाभाविक प्रवृत्ति पनि हो ।
शुरुमा राष्ट्रिय भावधाराबाट उठेका कविता छन् । नेपालको मान मेटिए नेपालीको मान पनि रहँदैन र राष्ट्रविना मानिसको पहिचान हुँदैन भन्ने भावधारा मुखरित भएको छ । पछि सपना र आँशुका कुरा आउँछन् अनि मायाको कुरा चल्न थाल्छ । हाँसोको कुरा आउँछ, अतिशय दुःख पाए पनि आफ्नै देश राम्रो भन्ने भावना प्रस्फुटित हुन्छ । त्यसपछि कविले प्रकृति र परिवेशको पनि चित्रण गरेका छन् । अधिकतर मायाकै कविताले विस्तार पाएको पाइन्छ । मायालाई नै मानवको सर्वोेत्कृष्ट तŒव मान्दै माया नै ईश्वर हो भन्ने निष्कर्ष प्रस्तुत गरेका छन् । ‘माया ठूलो सबभन्दा’ भन्ने कवितामा मायालाई उनी यसरी प्रस्तुत गर्छन् :
आकाशै छ ठूलो तर मनै ठूलो सबभन्दा
समुद्र छ गहिरो तर मनै गहिरो सबभन्दा
ठूलो मनको प्रीति लेऊ गहिरो मनको यो माया
आज म यै दिन सक्छु माया ठूलो सबभन्दा ।। (पृ. ९२)
आकाशभन्दा मनै ठूलो छ र मनभन्दा माया नै ठूलो छ भन्ने सारगर्भित सन्देश यस कविताबाट प्रकट गरेका छन् । माया विषयक गहन चित्रणले पनि कृतिका शीर्षकले सार्थकता पाएको देखिन्छ । ‘मेरो काया छाया सबै माया हो’ भन्दै माया गीत गाउनुमा नै स्रष्टाले गौरवको अनुभूति गरिरहेका छन् । जस्तै :
माया मेरो जीवनै हो जीवनै हो माया
काया पनि मायैमाया छायाँ पनि माया । (पृ. ९५)
यसरी स्रष्टा मायाबाटै स्वबाट परमस्व र मायाबाट परममायातर्फ यात्रा गर्न चाहन्छन् ।
कविता र गीतलाई मिश्रित रूपमा र गजललाई भिन्न रूपमा प्रस्तुत गरेका छन् । कविता र गीत एकसय बाइसको संख्यामा र गजलहरू एकसय सतहत्तरको संख्यामा निहित छन् । जम्मा दुईसय नौ रचनामा कृतिको स्वरूप निर्मित भएको छ ।
ईर्ष्या लोभ तृष्णा अहङ्कार असत्य आदि मानिसका दुष्प्रवृत्ति हुन् भने सत्य, त्याग, दान, पुण्य, परोपकार आदि सुप्रवृत्ति हुन् । कृतिभरि यिनको गहन चर्चा छ । जस्तै :
आयु होइन जीवन देऊ
अन्तर्मनमा चिन्तन देऊ । (पृ. २४२)
सुख यहाँ सपनामा मात्रै हुँदो रैछ
चारैतिर विपनामा आगो बलेको छ । (पृ. ३०२)
मैले अझै आफैलाई भेट्न सक्या छैन
मैले अझैसम्म माया थेग्न सक्या छैन । (पृ. ३०४)
यत्रो ठूलो दुनियामा धेरै कुरा पाएँ
तर मैले आफैलाई पाउन सक्या छैन । (पृ. १०२)
माया नै हो जीवन हाम्रो माया नै हो जीवन
संसारमा बाँचुन्जेल माया लाउन नछोडौँ । (पृ. २५४)
जिन्दगीको भारी बोक्दै जिन्दगी यो बित्यो
जवानीले धोका दियो थाहै नपाएर ।। (पृ. २७४)
मानिसजस्तो मानिस भए संसारै यो राम्रो हुन्थ्यो
सबै मानिस खुसी हुन्थे हम्रो जीवन हाम्रो हुन्थ्यो ।। (पृ. २६८)
यस्तै यस्तै अनमोल रत्नपङ्क्तिहरू यसमा सन्निहित छन् । हाम्रा निम्ति यी जीवन मन्त्र बन्न पुगेका छन् ।।
हिन्दी र नेपाली दुवै भाषामा सहजताका साथ समान रूपमा कलम चलाउने उनका दुवै भाषामा गरी डेढ दर्जनभन्दा बढी कृतिहरू छन् । उनमा नौदशकभन्दा बढीको ज्ञान र अनुभव निहित छ । विगतका आफ्ना मनोरम रचनाहरूमध्ये उनी स्वयम्ले रोजेर यसमा सङ्गृहीत गरेका छन् त्यसैले पनि यो अधिक मनोरम र प्रभावोपादक बन्न पुगेको छ । यसमा कृत्रिम बौद्धिकता र पाण्डित्य नभएर भावको माधुर्यता र स्पष्टता छ ।
अन्तमा,
स्वबारे यसमा निकै तलतलहरू छन्
सुनमा सुगन्धझै गीतगजलहरू छन्
डाक्टर राणाको यो “मुटुभरि माया”मा
जीवनभर उभ्रेका निकै हलचलहरू छन् ।।
भरतपुर–१२, चितवन