18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ईश्वरको शिकार

कविता भीम ठटाल August 31, 2025, 11:28 pm
भीम ठटाल
भीम ठटाल

‘माछी मार न है राजै माछी मार न’
भन्दै घरआमाले जब मलाई
केटाकेटी भोकाउन लागेको जताउँछिन्
तब म तिम्रो प्रारव्धले भर्खर साम्मे भएको
बाढ़पछिको ठाड़ो खोलामा
आफ्नो उद्रेको पुरानो जाल लिएर
माछाको शिकार गर्न जान्छु|

ईश्वर सत्य हो, अकाट्य हो
(तिनीहरु त्यसो भन्छन्)
अनि मेरा बाल बच्चा भोकाउनु
ईश्वरको सत्यताभन्दा टर्कारो सत्य हो|

यद्यपि बाढ़पछि थुप्रै माछाहरु
कानको जाली फुटेर बगरमा बग्रेल्तै छन्
तर ती मेरा शिकार होइनन्
किनकि म मेरो शिकार आफै गर्छु|

शिकार त उल्टो हामी नै भइरहन्छौँ,
चर्को घाम, अविरल वर्ष, भेल, र भुइँचालोको
पैह्रो, प्रकोप, संत्राश अनि अज्ञानताको|
तिम्रो आक्रोशको अघि
परास्त भएर तिम्रै पूजा गर्छौँ
फूलले, पातीले, सेउलाले,
रातो भालेले परे पर्सेको पानीले,
रहरले होइन तिम्रो प्रकोपको डरले|
यसरी हामी आदिम युगदेखिका आदिवासीहरु,
आजका गाउँ अनि सहरसम्म आइपुग्दा पनि
ईश्वरदेखि त्रस्त हुनाले
कहिल्येई ईश्वर प्रेमी हुन सकेनौं!
तिमी जहिल्येई आफ्नो श्रीष्टिको
वल्लो फाँटदेखि पल्लो फाँट
ताण्डव गर्दै एक कदममा तीन लोक नाघ्दै
केहि न केहि अनि कसै न कसैको
हरदम शिकार गर्दै हुन्छौ |

हामीले वनदेवीसँग आउँदो वैशाखमा
सयौं विरुवा रोप्ने भाकल राखेर
जङ्गल फाँड़ेर अन्न-बाली लगायौं
गोठ बनाएर गाई-गोरु, भेड़ा-बाख्रा पाल्यौं
अनि तिनै अन्न-बालीको सुरक्षा गरिमाग्न
तिमीलाई अन्न-बालीको न्वागी चढ़ायौं
तिनै गाई-गोरु, भेड़ा-बाख्राको रक्षा गरिमाग्न
तिमीलाई भेड़ा-बाख्राको भोग चढ़ायौं|

हाम्रा बच्चाहरु अकस्मात् जङ्गलमा हराए
चितुवाले गाईको बाछो लग्यो
गाउँको विधुवाको घर डढ़्यो
लह लह बाली माथि लछेप्रै फट्याङ्ग्रा लागे|
सधैं यसरी हाम्रा अन्न-बाली र पशुधन
प्रकृतिको कुनै न कुनै प्रकोपले ग्रस्त भइरह्यो
अनि ईश्वरले कुन्नि किन हो
धर्तीमा शिकार गरिरह्यो|

घर चलाउनु धर्म हो
त्यसैले बाल-बच्चा पाल्नलाई
बस्तु-बाख्रा अनि अन्न-बाली हुर्काउन
मिनिहेतले मात्र पुग्दो रहेन रहेछ,
प्रकृतिको कृपा हुनु आवश्यक रहेछ,
ठिक समयमा ठिक्क पानी पर्नु
चाहिए जति पुग्दो घाम लाग्नु,
सुकौरो नलाग्नु, भल नबग्नु,
बिगो हुनेगरि असिना-पानी नपर्नु,
यी सबैकालागि हामी ईश्वरमाथि भर पर्छौं,
अनि तिनलाई मनाउन, फकाउन,
बाल-बच्चाहरुकालागि शिकार गरेको माछा
पैले ईश्वरलाई चढ़ाउँछौं
अनि त्यसपछि सामुहिक भोजन गर्छौँ |

उद्रेकै जालमा पनि माछा फँसाएर
शिकार गरेको माछा चढ़ाउनु भन्दा पैले
सुन्दरवनको माझीले जस्तो जब म
आफ्नो शिकार माछाको आँखामा हेर्छु,
किन हो मलाई लाग्छ मृत माछाको आँखाबाट
ईश्वर आँखा ठ्याप्पै नझिम्क्याई
मलाई नै हेरिरहेको छ|

हे ईश्वर!
के तिमी मेरो शिकार हौ???

गान्तोक, सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।