चिसो बिहानको उज्यालोमा, कलेजको पुरानो क्यान्टिनको एक कुनामा भेटिन्छन् नवल र सेजल । चियाको बाफ उडिरहेको कप हातमा थामेर आपसमा जुधीरहेको उनीहरूको नजरको पहिलो भेट गजबको थियो ।
केही शब्द नबोल्दै एकले अर्कोको नजरको भाव पढिरहेको थियो । त्यहीबेला नेपत्थ्यमा एउटा संगीतको धुन बजिरहेको मन्द आवाज कानमा गुञ्जिन्छ, मानौ गोधुली साँझपख बगैचामा झ्याउकिरीको आवाज झै ।
कलेज अवधीभर कहिल्यै छुट्टिएनन् उनीहरु । मान्छेहरुलाई लाग्थ्यो उनीहरुको प्रेमलाई नौ रेक्टरस्केलको भूकम्पले पनि हल्लाउन सक्ने छैन । दैनिकजसोका सेजलका ती नजरहरुमा स्वाभिमानी मोहनी भरिएका देखिन्थे । कहिलेकाहीं आफैंसँग गम्भीर संवादमा डुबेका, कहिलेकाहीं अनायासै मुस्कुराउने, उसको हाँसोमा कुनै अभिमान देखिँदैनथ्यो ।
नवल र सेजलविचका प्रेमिल भेटहरुमा कुनै प्रेम कथाको श्रृखला थिएन, तर अनुभूतिको एउटा अव्यक्त प्रस्तावना थियो । तर गहिरो आत्मविश्वास एकाएक छचल्किन्छ, जसले नवललाई झस्कायो ।
चियाको सुरुपसँगै सेजलले भनिन्, स्कूलमा जीवनभर पढेका किताबहरूले कहिल्यै धोका दिएनन्, तर मान्छेहरू कहिलेकाहीं छुट्टिन्छन् । नवलले सोचे, शायद प्रेम पनि त्यस्तै होला, सुखद र पीडादायी मिश्रण ।
उनीहरुको सम्बन्धलाई नाम दिन असम्भव थियो । न त्यो प्रेम बन्यो ? न मित्रता ? या त्योभन्दा बढी केही ? हरेक भेटघाटमा ती अनमोल शब्दहरूको अभाव खड्किँदै गयो, तर मनहरूको निकटता घटेको महसुश नवलले गरेका थिएनन् । सँगै बिताएका ती पलहरू सहरको हलचललाई भुलाउने, मनभित्रको एउटा सौम्य सित्तल हावा जस्तै थिए ।
अफसोच तर जीवनको वास्तविकताले उनीहरुको सपनाहरूलाई लामो टिक्न दिँदैन । सेजलको एउटा बनावटी मुस्कान सहितको अनुमतिजन्य आग्रहले नवलको मनमा अनेकौं प्रश्न जन्मायो, म केही समयका लागि दिदीघर जाँदैछु है, एक्लो महशुस नगर्नु नि । तर म सम्पर्कमा हुन्छु नि ।
त्यो सामान्य भनाइमा एउटा सूक्ष्म छुटकारा थियो, जुन नवलले बुझ्न सकेन । समयले आफूलाई छिपाउँदै थियो । दिन विते, हप्ता बित्यो, गन्तीमा महिनाहरू आउन थाले । नवलको हृदयमा सेजलको नाममात्र रह्यो, अनि अन्ततः मोबाइल स्क्रिनमा एउटा छोटो म्यासेजले नवलको हृदय चटक्कै चुँडियो ।
“ माफ गर, म अर्कैकी भइसकेँ !”
त्यो म्यासेजका अक्षरहरूले सँगालेका भावनाहरू अचानक थन्किए । नवलको जीवनमा एउटा अधूरो अध्याय बन्द भयो, तर त्यो अन्त्य कसैको विजय थिएन, एउटा आन्तरिक द्वन्द्व थियो, समाजले बनाएको बन्धन र व्यक्तिगत स्वतन्त्रताको टकराव थियो । न कि नवल र सेजलविचको उच्चता र निचताको बन्धनलाई उनीहरुले बुझ्नै सकेनन् ।
नवलको जस्तै विरहमा अनुप पनि थिए । अनुप नवलका पुराना साथी हुन् । आफैंले प्रेमको पीडामा अनेकौं चोट खाएका युवक हुन् उनी । अनुपको आँखामा थियो नमेटिने गरी गढेको एउटा गहिरो निराशा, जसले प्रेमलाई केवल धोका र भ्रमको नाम मात्र मान्थ्यो । उसले नवललाई सान्तवना दिँदै भने, “के हामी सबैले प्रेमलाई गलत ठानेका थियौं ? कि यो यति क्षणभंगुर र धोखाधडी मात्र हो ?”हामीले एकले अर्कोको भावना बुझ्न कोषिश गरेनौं ? समाजमा गहिरोगरी जमेर बसेको विभेदको गाँठो सदाकालागि फुकाउन हामी कहाँ चुक्यौं ? हामीले समाजको अन्तरविरोध नै बुझेनौं त ? अनि कसरी मान्छेको मन बुझ्न सक्छौं ?
तर जीवन आफैं प्रश्नहरूको उत्तर दिन्छ । अनुपको जीवनमा प्रमिला आइन् । एक निःसन्देह, धारिलो, तर अन्तर्मुखी युवती, जसले उसलाई प्रेमको नयाँ अर्थ सिकाइन् । के प्रेम केवल पीडामा मात्र सीमित छ ? प्रमिलाले प्रश्न गरिन् । के प्रेम सौदावाजी हो ? तिमी पुरुषहरुले सोचेकै भरमा कुनै नारीहरुले आफूलाई समर्पण गरिदिउन् ? आत्मनिर्णय त स्वतन्त्रताको सम्मान हो । जहाँ कसैले कसैलाई बाँध्दैन, न त पर्खाइमा थुनिन्छ ।” यो संवादले अनुपलाई परिवर्तनको यात्रा शुरु गरायो । जहाँ उनको प्रेमको अर्थ नियन्त्रण थिएन, न कि पारस्परिक विश्वास र सम्मान नै थियो ।
त्यसैबीच, नवल र उदय पुराना सम्झनाहरू लिएर भेट भए । उनीहरूले सम्झे ती दिनहरू । साझा सपनाहरू, एउटै क्यान्टिनमा बसेका अधुरो मायाको भाव, चियाको चुस्कीसँगै साटेका समयका यादहरु ।
प्रमिलाले भनेका सबै कुराहरु सेयर गरे । र दुबैजना निष्कर्षमा पुगे, आजको प्रेममा मात्र सौदाबाजी भएको छ, जहाँ भावनाभन्दा सुविधा र स्वार्थले बढी महत्व पाउने गर्छ । दुबैलाई लाग्यो आजको पुस्ताले बास्तविक प्रेमको भाव नै बुझेको छैन । केवल रुप र विलासीतामा बहकिएको छ नया पुस्ता ।
सेजलको छुट्टिनुलाई नवलले प्रेमको असफलता होइन, समाजको अस्वस्थ संरचनाको दण्ड ठाने । जातीय पूर्वाग्रह, सामाजिक बन्धन, र आधुनिक जीवनशैलीले प्रेमलाई जर्जर बनाएको थियो । उनले समाजलाई मसिनो गरी बुझ्ने मौका पाए ।
अको साँझ नवल, अनुप र प्रमिला शहरको एउटा शान्त पार्कको कुनामा बसेर प्रेमको नयाँ परिभाषा खोज्दै थिए ।
नवलले भन्यो, “सेजलले मलाई मेरो अधूरोपनालाई देखाइन्, जुन म आफैंसँग लडिरहेको थिएँ ।”
अनुपले प्रमिलालाई हेरेर भन्यो, “तिमीले मलाई प्रेममा स्वतन्त्रताको महत्व सिकायौ ।” प्रमिला मुस्कुराउँदै भनिन्, “प्रेम कुनै गन्तव्य होइन, एउटा यात्रा हो, जसमा सबैभन्दा पहिले आफैसँगको सम्बन्ध बलियो बनाउनु पर्छ ।”
त्यस साँझ, उनीहरूको संवादबाट प्रेमको परिभाषा नयाँ रूपमा बदलिएको छ । तीनैजना ती मधुर र पीडादायी अनुभूतिहरूका साथ, नयाँ यात्रामा निस्केका छन्, जो प्रेमलाई बाँध्ने प्रयास नभएर, समाजलाई बुझ्ने, स्वीकार्ने र बदल्ने प्रयासको साझा अभियान उनीहरुको अन्तिम लक्ष हुनेछ । जो कि अब पुस्तौसम्म प्रेममा कसैले धोका खानु नपरोस् ।