वि. सं. २०१२ साल माघ २१ आइतबार दिन साबिकको स्वयम्बु डल्लु गाउँपञ्चायत, (हालको कानपा १५, डल्लु), काठमाडौँमा पिता चिरञ्जीवी नेपाल माता शिवकुमारी सुवेदीका पाँचौँ सन्तान (माइलो छोरा) का रूपमा जन्मिएका मदन नेपाल नेपाली साहित्यमा एउटा परिचित नाम भइसकेको छ ।
२०३७ सालमा काठमाडौँ –१६, ठमेल, सातघुम्तीका ज्ञानप्रसाद गौतमकी कान्छी छोरी निर्मण गौतमसँग विवाह बन्दनमा बाँधिएका उनीहरूका एक छोरा र एक छोरी (मनिक र मनीषा) रहेका छन् । काठमाडौँ –२, लाजिम्पाटमा बसोबास रहेका उनी अर्थशास्त्र र राजनीतिक शास्त्रमा स्नातक गरेका उनी एक जना सफल व्यवसायी पनि हुन् । उनी आर्थिक तथा सामाजिक रूपमा सम्पन्न परिवारका सदस्यका रूपमा चिनिन्छन् । केही समय शिक्षण समेत गरेका उनले लामो समयसम्म आफैँले व्यवसाय गरेका छन् । यसरी हेर्दा उनी लेखकका साथै एक जना सफल व्यवसायीसमेत हुन् ।
साहित्यिक यात्रा
केही संयुक्त कृतिसमेत प्रकाशित गरिसकेका मदन नेपालको २०८० मा ‘मनीषा’ एकल मुक्तकसङ्ग्रह प्रकाशित भएको छ । यस कृतिलाई ‘हामी र हाम्रो कृति समाज, काठमाडौँ’ ले बाहिर ल्याएको हो । २०३१ सालमा रेयुकाई पत्रिकामा ‘बुद्ध र शान्ति’ शीर्षकको लेख प्रकाशित गरेर नेपाली साहित्यमा प्रवेश गरेका उनी लामो समयसम्म साहित्यबाट निकै टाढा रहे । जागिरका कारणले केही टाढा रहे पनि पछिल्लो समय भने उनले साहित्य लेखनलाई निरन्तरता दिएका छन् । निरन्तताको गतिलो प्रमाणका रूपमा ‘मनीषा’ मुक्तकसङ्ग्रहलाई लिन सकिन्छ ।
विशेष गरेर उनलाई लेखक भन्दा पनि एक जना मुक्तक अभियन्ताका रूपमा लिनुपर्ने हुन्छ । उनी आफू मात्र लेख्दैनन् । उनले धेरै जनालाई नवसर्जकलाई मुक्तक लेख्न सिकाएका छन् । लेख्न अभिप्रेरण जगाउने काम गरेका छन् । त्यसैले पनि नवसर्जकका नजरमा उनी मदन नेपाल भन्दा पनि ‘मुक्तकबा’ का रूपमा परिचित छन् । उनकै सत्प्रयासबाट ‘हामी र हाम्रो कृति समाज’ नाम गरेको साहित्यिक संस्थाको स्थापना भएको छ । एक वर्षभित्रै करिब २ दर्जनजति साहित्यिक कृति प्रकाशन गर्न सफल यस संस्थाको स्थापना र त्यसको प्रवर्तनमा उनको महŒवपूर्ण भूमिका रहेको छ ।
‘मनीषा’ मुक्तकसङ्ग्रहको विश्लेषण
२०८० सालमा प्रकाशित ‘मनीषा’ मुक्तकसङ्ग्रहमा विभिन्न भावका २६२ ओटा मुक्तकहरू रहेका छन् । ‘मनीषा’ भित्र समेटिएको मुक्तकसम्बन्धी विशेष लेखलाई पनि एउटा महत्त्वपूर्ण पाटाका रूपमा लिनुपर्ने हुन्छ । लेखक नेपालले यहाँ ‘मुक्तक विश्लेषण’ शीर्षकमा नेपाली मुक्तको राम्रो अध्ययन गरेका छन् । ८ पृष्ठमा लेखिएको यो लेख मुक्तक लेख्न चाहने नयाँ सर्जकका लागि निकै उपयोगी हुन सक्ने देखिन्छ । यस कृतिको अर्को महŒवपूर्ण पाटो भनेको सर्जकका शब्दमा आधारित भएर मुक्तक सिर्जना गर्नु पनि रहेको छ । यसमा उनले २५+२१०=२३५ जना सर्जकसँग शब्द मागेका थिए । सर्जकले उपलब्ध गराएका तिनै शब्दमा आधारित भएर उनले कृति तयार पारेका छन् । यसका साथै यस कृतिमा उनका आफ्नै शब्द आफ्नै मुक्तक शीर्षकमा २७ ओटा मुक्तक रहेका छन् । यसरी हेर्दा यस कृतिमा २६२ ओटा मुक्तक रहेका छन् ।
उनका मुक्तकमा विकृति र विसङ्गतिमाथि कडा प्रहार गरिएका छन् । उनका सिर्जनामा सिङ्गो समाज बोलेको हुन्छ । उनी जे देख्छन् त्यसलाई जस्ताकोतस्तै उतार्न सक्ने क्षमता राख्दछन् । समाजको अध्ययन गर्दै उनी भन्छन् :
सबेरैदेखि साँझसम्म जता गए पनि हैकमवाद हाबी छ
भए नभए पनि उसैलाई साथ दिन अवसरवाद हाबी छ
हाबीको गहिरो दलदलमा घुमीफिरी जाकिदँदै गए,
इमानले बसमा पारेको कोहीमा भने अपवाद हाबी छ । (पृ.४५)
मुक्तकमार्फत् गरिबीका पीडा प्रशस्त मात्रामा पोखिएका छन् । उनी गरिबको पीडालाई देखेर पनि नदेझैँ गर्ने सरकारप्रति रुष्ट छन् । उनी त्यस्तो सरकारलाई लर्कार्दै प्रश्न गर्छन्, ‘गरिबीको पीडा नदेख्ने तिम्रो सरकारको के काम ?’ उनी भन्छन् :
न चुल्हो जल्छ न खाना छ त, सलाई के मतलब
गरिबीले पोलेको तन अनि मन जलाई के मतलब
बाँचुन्जेल आश्वासन सुनेरै त्यो गरिब मर्यो भनेपछि,
सरकार मरोस् कि सरकार प्रमुख मलाई के मतलब । (पृ.१३७)
जसरी गुलाब सबैलाई मन पर्छ त्यसैगरी प्रेम पनि सबैलाई मन पर्छ । धोकाले तोडेको मनलाई प्रेमले जोड्ने गर्छ । उनका यस कृतिमा प्रेमील मुक्तकहरू पनि प्रशस्तै रहेका छन् । प्रेमले गर्दा नै यो संसार चलेको तथ्यलाई लुकाइरहनुपर्दैन । यही प्रेमकै कारण धेरैका जीवन उदाहरणी बनेको उदाहरण पेस गर्दै उनी भन्छन् :
अजर अमर प्रण गर्दै भगवान् साक्षी कसम भयो
दुनियाँको नजरमा स्वर्गतुल्य हाम्रो घरजाम भयो
दुःखसुखमा सँगै जिउनेमर्ने बाचा बाँधिएर आज,
जगमा नै उदाहरणीय हाम्रो जीवन अनुपम भयो । (पृ.४१)
विकृति र विसङ्गतिका विरुद्ध आवाज बुलन्द गर्नु नै मुक्तकार मदन नेपालको धर्म रहेको छ । उनी विसङ्गतिका विरुद्ध निकै कडा भएर उभिएका छन् । विकृति र विसङ्गति, धोका, पीडा, आवेग र आक्रोसका अतिरिक्त उनका मुक्तकमा आशावादी स्वर पनि पाइन्छ । उनी जीवनलाई फक्रिएको गुलाबजस्तो बनाउन सल्लाह दिँदै भन्छन् :
जिन्दगी जिउन कहिले सर्दी कहिले गर्मी सहनुपर्छ
दुःख आँधीहुरी साथै पारिलो घाम पनि सहनुपर्छ
परिभाषा जीवनको यही भनेर निश्चित नभए तापनि,
हर मौसममा मुस्कुराउने पक्रिएको गुलाब कहनुपर्छ । (पृ.३१)
निष्कर्ष
सिर्जनालाई उमेरले छेक्तैन, जुनसुकै उमेरमा पनि सिर्जना गर्न सकिन्छ भन्ने कुराको उदाहरणका रूपमा मदन नेपालको जीवनबाट लिन सकिन्छ । जीवनको उत्तरार्धमा पुगेर पनि उनले साहित्यलाई निरन्तरता मात्र दिएनन्, आफूलाई एक जना साहित्यको अभिभाव भएको पनि साबित गरिदिएका छन् । आफू मात्र लेख्ने त धेरै हुन्छन् तर अरूलाई लेख्नमा प्रेरणा दिने भने कमै पाइन्छन् । अरूलाई पनि लेख्नमा अभिप्रेरणा जनाउनेमध्येमा उनी पर्दछन् । यति राम्रो कृति हुँदाहुँदै पनि भाषासम्पादनमा ध्यान पुर्याउन नसक्ता कृतिको ओज केही खुम्चिन गएको छ । आगामी दिनमा भाषासम्पादनलाई विशेष ध्यान जानेमा म ढुक्क छु । अन्तमा मुक्तककार मदन नेपालको थप साहित्यिक उन्नयनको कामनासमेत गर्दछु । जय साहित्य ।