एकदिन म दार्जिलिङ सहरको चोकबजारभित्र एउटा सब्जी पसलमा सब्जी छान्दै थिएँ, त्यतिबेला अचानक मेरो भेट मेरो एकजना अति आदरणीय गरुसित भयो। उहाँलाई त्यहाँ त्यसरी अचानक भेट्दा मैले सब्जी छान्न छोडेर नमस्कार गरेँ। उहाँले मलाई देख्ने बित्तिकै सोधिहाल्नुभयो, “अरे, इगम! तिमी पनि सब्जी किन्न आउँछौ? मैले “आउँछु नि सर” भनिपठाएँ। उहाँले हत्तारिँदै भन्नुभयो, “ल इगम, मलाई अलिक हत्तार छ, तिमी सब्जी किन्दै गर है!” मैले ‘हुन्छ सर” मात्र के भनेको थिएँ मेरो हातबाट खब्जी भुइँमा झर्यो। म रातोपिरो भएर झरेको सब्जीलाई छिटछिटो उठाउन थालेँ। उहाँ मेरो छेउमा आएर मलाई भन्नुभयो, “इगम! भूल हुन्छ तर भूलसित डराई रहनुहुँदैन। भूललाई सोचिरह्यो भने मान्छेले सिर्जनात्मक काम गर्न सक्दैन। मान्छे परफेक्ट भयो भने उसले सिर्जना गरिरहनुपर्दैन किनकि ऊ ईश्वर बनिहाल्छ। ईश्वर बनेपछि उसको काम नै सकिन्छ।”
त्यति भनिराखेर सर आफ्नो बाटो लाग्नुभयो। सरले मलाई “काम गर्दा भूल हुन सक्छ अथवा हुन्छ” भन्ने कुरा बुझाउन खोज्नुभएको जस्तो लागिरह्यो। सरले त्यति भनिराखेर मेरो मनको पोखरीमा ढुङ्गा हानिराख्नुभयो।
“ईश्वर परफेक्ट छ” भन्ने विचारले ईश्वरलाई थुप्रै संज्ञाहरू दिएका छन्, साथै थुप्रै विशेषणहरूद्वारा अलङ्कृत गरेका छन्। तर यहाँ मैले धर्म र धर्मग्रन्थहरूमा उल्लेखित ईश्वरसम्बन्धित कुराहरू गरिरहेको छैन। मैले ईश्वरलाई त्यस ऊर्जाका रूपमा मानिरहेको छु, जसले यो संसार बनिएको छ, अनि जसद्वारा महाब्रह्माण्ड रचिएको छ। ईश्वरलाई हामीमाझ पाउँदैनौँ किनकि उहाँको सिर्जना परफेक्ट भएको कारणले उहाँलाई पुनरावृति, परिमार्जन, विनिर्माण, पुनर्निर्माण र पुनर्सिर्जनाको कुनै आवश्यकता नै पर्दैन। जुन कुरा परफेक्ट हुन्छ त्यसलाई थप केही चाहिँदैन। त्यसरी ईश्वलाई लेखिरहनु, सुधारिरहनु र सिकिरहनुपर्दैन। हामीकहाँ आइरहनु पनि पर्दैन। ईश्वर आफ्नै परफेक्सनमा सिद्ध छन्। आफ्नो परफेक्ट सिर्जनामा अवस्थित छन्। हामी उनका परफेक्सन हाम्रो प्रकृतिको प्रकृतिमा (भ्रममा पर्दै भए पनि) खोजिरहेका हुन्छौँ।
हामीले गरेको सिर्जना ईश्वरको तुलनमा एउटा सानो कण जति मात्र हो। हामी त्यति सानो भएर पनि आफ्नो सिर्जनाद्वारा ईश्वरको अनुकरण चाहिँ गरिरहेका हुन्छौँ। तर हामी अनुकरणद्वारा ईश्वर बन्न सक्दैनौँ। बनी नै हाल्यौँ भने हाम्रो काम नै सकिन्छ। यही सन्दर्भमा मलाई एकजना महान् चित्रकार साल्भाडोर डालीको एउटा भनाइले मेरो मस्तिष्कको ढोका ढकढकाइरहेको छ: “गल्तीहरू प्राय: पवित्र प्रकृतिका हुन्छन्। तिनीहरूलाई सच्याउने कहिल्यै प्रयास नगर्नुहोस्। यसको विपरित: तिनीहरूलाई तर्कसङ्गत बनाउनुहोस्, र तिनीहरूलाई राम्ररी बुझ्नुहोस्। त्यसपछि तपाईँका निम्ति तिनीहरूलाई उदात्तीकरण गर्न सम्भव हुनेछ।” (मिस्टेक्स आर अल्मस्ट अल्वेज अफ अ सेक्क्रेड नेचर. नेभर ट्राइ टु करेक्ट देम. अन द कन्ट्रेरी: रेसनलाइज, एन्ड अन्डस्ट्यान्ड देम थोरोली. आफ्टर ड्याट, इट हुइल बि पस्सिबल फर ह्यु टु सब्लिमेट देम.)
बजारबाट म के-के सोच्दै घर आइपुगेँ। श्रीमतीले सब्जी झोलाबाट निकाल्दै भनिन्, “कति टमटरहरू कुहिएका रहेछन्, राम्ररी छानेर किन्नुभएन क्याहो?” म चुप लागेर बसिरहेँ। पानी पनि मागिनँ। मनमनमा सोच्न थाले कि म पनि सिद्ध भएको भए यसरी सब्जी बजारबाट किनेर ल्याउनुपर्दैन थियो होला, दिउँसाको खाना पर्खिएर बसिरहनु पर्दैन थियो होला, अनि कलम लिएर कागजलाई यसरी लेखेर काउकुती लगाइरहनु पनि पर्दैन थियो होला!
श्रीमतीले खानेकुरा पकाउने तर्खर गर्न थालिन् तर उनलाई थाहा थिएनन् कि जुन दिन उनले परफेक्ट खाना पकाउनेछिन् त्यस दिनदेखि हामीले खाइरहनुपर्दैन। हामी परफेक्ट भइहाल्यौँ भने हामीलाई चलाउन नसकेर हाम्रा दाज्यु-भाइ, दिदी-बहिनी, इष्टमित्र र समाजका मानिसहरूले हामीलाई थन्काएर राखिदिनेछन्—कुनै एउटा प्रशिद्ध सङ्ग्रहालयमा वा प्रयोगशालामा। परफेक्ट स्वादिष्ट खाना सम्झेर म श्रीमतीलाई चिहाउन भान्छाघर यसो गएको त उनले कुहिएका आलुहरूलाई छान्दै काट्दै रहिछिन्। त्यो देखेर म ढुक्क भएँ किनकि ती कुहिएका आलुहरूबाट परफेक्ट आलुको तरकारी तयार हुन सक्दैन। परफेक्ट भइहाल्यो भने हामीलाई जन्म-मरणको चक्रमा पसिरहनुपर्दैन। अनि एउटा सिर्जनाबाट अर्को सिर्जना गर्दै हिँडिरहनु पनि पर्दैन।
म जति नै डराऊँ वा जति नै नकारात्मक कुराहरू गरिरहूँ तर हामीलाई परफेक्सन मन पर्छ। म मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई जुनै पनि काम गर्दा परफेक्ट हुनुपर्छ भन्ने सुझाव दिनेगर्छु। उनीहरूले मलाई कतिपल्ट “कुनचाहिँ परफेक्ट हो?” भनेर सोधेका पनि छन्। ‘परफेक्ट’ यो नै हो भनेर भन्न र देखाउन सकिँदैन किनकि परफेक्सन व्याक्तिपरक अनि अमूर्त हुन्छ।
जीवनको सम्भवना असीम छ अनि जीवनका विषय र वस्तुहरूको आकलन दिन र सिमाङ्कण गर्न साह्रो हुन्छ। मानव ज्ञानका विषय सामाजिक मान्यताका विषय भएको कारणले गर्दा हामी काम चलाउका रूपमा सामाजिक स्वीकृति बनाएर अघि बढिरहेका हुन्छौँ। यही बुँदालाई आधार बनाएर मैले उनीहरूलाई परिभाषा दिने गर्दछु। जस्तै—कुनै कामलाई पुन: सुधार्न, परिमार्जन र परिष्कृत गर्न नपरोस्। यसै सन्दर्भमा जर्मानका एकजना महान् दार्शनिक रेने डेकार्डको ‘सन्देहविधि’ को कुरा उनीहरूलाई सुनाउने गरेको छु। हुन त यस्तो उदाहरण जुनसुकै स्थिति अनि विषयमा दिन मिल्दैन। परफेक्सनलाई मान्यौँ भने यस्तो विधि काम लाग्दैन। तर जे होस्, ईश्वर खगोलीय शक्ति (कस्मिक पवर) हुन् भने हामी त्यसको अंश चाहिँ निश्चय नै हौँ।
त्यति सोच्दा-नसोच्दा दिउँसाको भोजन पाकिसकेको थियो, तर मलाई भने इन्द्रबहादुर राईले साहित्यिक मासिक ‘गरिमा’ को एउटा अङ्कमा दिनुभएको अन्तर्वार्ताको सम्झना आइरहेको थियो। जहाँ उनले भनेका छन् कि साहित्य लेखनमा उनको खोज ईश्वरको खोज हो। ईश्वरलाई भेटिन्छ कि भेटिँदैन त्यो उनलाई थाहा नभएको बताएका छन्। त्यही अन्तर्वार्ता पढेर मैले उनको ईश्वर भेट्न उनका पुस्तकहरू खोजिखोजि पढ्न थालेको थिएँ। उन्नाइसौँ शताब्दीमा फ्रेडरिक नित्शेले ईश्वरको मृत्यु भएको घोषणा गरिसकेका थिए भने एक्काइसौँ शताब्दीका महान् वैज्ञानिक स्टेफन हकिङले चाहिँ हाम्रो ब्रह्माण्ड बुझ्नलाई ईश्वर चाहिँदैन भनेका छन्। यसो सोच्दा उनले ईश्वर छैन भन्न खोज्नुभएको चाहिँ ईश्वर परफेक्ट भएर नै अचल भएको हो कि जस्तो पनि लाग्छ। ईश्वर आफ्नो सिर्जनाभित्रै सिद्ध (अवस्थित) हुनुहुन्छ अथवा उहाँको चर्चा गरेर कुनै फाइदा छैन। दि ग्रान्ड डिजाइन मा हकिङ (२०११, पृष्. २२७) लेख्छन्—“ स्वस्फूर्त सृष्टि भनेको केही नभई केही हुनुको कारण हो, ब्रह्माण्ड किन अवस्थित छ, हामी किन अवस्थित छौँ। नीलो ‘टच पेपर’ लाई उज्यालो पार्न र ब्रह्माण्डलाई चलाउनका लागि भगवानलाई आग्रह गर्नु आवश्यक छैन।” (स्पन्टेनियस क्रियसन इज द रिजन दियर इज सम्थिङ रेदर देन नथिङ, वाइ द युनिभर्स एक्जिस्ट्स, वाइ हुइ एक्जिस्ट. इट इज नट नेसेस्सरी टु इन्भोक गड टु लाइट द ब्लु टच पेपर एन्ड सेट द युनिभर्स गोइङ.)
हामीले ईश्वरलाई हाम्रो सोच, विश्वास, आस्था र धर्महरूमा पाएका छौँ। हामीले ईश्वरलाई परफेक्सनसित जोड्ने गरे तापनि उहाँलाई जहाँ पायो त्यहीँ जोड्न सक्दैनौँ। त्यसको अर्थ यो होइन कि हामी भूलमाथि भूल गरिरहौँ। भनिन्छ नि भूलबाट सिकेर त्यही भूल पुन: नगर्ने व्यक्ति ज्ञानी हो तर भूल गरेर त्यही भूल दोहोराउने व्यक्ति चाहिँ मूर्ख हुन्छ।
दार्जिलिङ