18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दाइजात्रा !

हास्यव्यङ्ग्य गायत्री लम्साल September 9, 2025, 12:30 am
गायत्री लम्साल
गायत्री लम्साल

माफा गर्नोस्–गाईजात्राको बेला दाइजात्रा देख्दैछु । देखेको कुरो नकाटेर नदेखेको कुरो काटे भने त जुन ठाउँमा काट्न खोजेको हो त्यो ठाउँमा नपरेर अन्त प¥यो भने तपाइँहरुले मलाई बाँकी राख्नुहुन्न भन्ने बुद्धि हराएको मेरो बुद्धिले समेत विर्सेको छैन । म गणितको आजीवन विद्यार्थीको लाइसेन्स लिएको सदस्य । बिजगणितमा एक्स बराबर वाई मानेर मिल्दै नमिल्ने , बुझ्दै नबुझिने हिसाब त मिलाइयो भने यहाँ पनि दाइजात्रा बराबर समय देशकाल, परिस्थिति अनुसार बाह्रै महिना मलक्क मल्किने जात्राहरुलाई किन नलिने ?
अब केहीबेर हाम्रा दैनिकीका अकाट्य जात्रासँग हातेमालो गरौँ है । दिदीजात्रा, बाजात्रा, आमाजात्रा, भाइजात्रा, मायाजात्रा, भान्जाभान्जीजात्रा, केटाकेटीजात्रा, युवायुवती जात्रा, गल्स फ्रेण्ड र व्वाइज फ्रेण्ड जात्रा, एक्स ....जात्रा, काकाकाकी जात्रा, सालासाली जात्रा मात्र होइन भ्रष्टाचार जात्रा, कालाबजारी जात्रा, कार्टेलिङ् जात्रा, महामहिम जात्रा, मिलिजुली खाने जात्रा, आफूले मात्र हसुर्ने जात्रा, सात पुस्तालाई पुग्ने गरी कमाउने जात्रा, सित्तैमा सत्तरी करोड र सत्तरी अरब समाउने जात्रा, ट्वाइलेटमा सुन फलाउने जात्रा, आफ्नै नागरिकलाई शरणार्थी बनाउने जात्रा, अर्को–अर्कीको श्रीमती अनि श्रीमान् समाएर रमाउने जात्रा, नीति र नैतिकता बेच्ने हाटबजार जात्रा, मृत्युमाथि व्यापार गर्ने आर्यघाट जात्रा, पदको लागि पैसा सहित चाकरी र चाप्लुसीको उच्चस्तरीय महाजात्रा, खानबीन मिलाउने छानबीन जात्रा, उच्च निकायहरुको उच्च कमाए जात्रा, एनि हाऊ देश बेचर भए तापनि आफू मस्तसँग रमाओ जात्रा ............आदि जात्रा भनेर बुझ्नुहुन पाठक महाशयहरुमा दाइजात्रे अनुरोध गर्दछु ।

अँ साँच्ची एउटा कुरो खुसुुक्क भन्छु भनेको त धन्नै भुसुक्कै विर्सेको । कुरा के भने हजुरहरुले जात्रा कहिलेबाट हेर्न शुरु गर्नुभयो मलाई थाहा छैन तर मैले त जात्रा भन्ने कुरो मेरा पिताजीले माताश्रीलाई म जन्माउन भनेर विर्यदान दिएको बेलामा नै देखेको थिए । कुरोको चुरो के भने मेरा पिताजी निकै मेहनेती । वर्षैपिच्छे छोरो जन्माउँछु र घरबाट नै मेरा दाइहरुको जात्रा निकाल्छु भन्ने सोचेर उहाँ सो¥ह्र वर्षको उमेरदेखि पिता बन्न थाल्नुभएको मान्छे सत्तरी वर्षको हुँदा सम्म नयाँ–नयाँ सन्तानको पिता बनेको बन्यै । अहिलेका हाम्रा बाले वीस मै विहे गरेर तीन सन्तान जन्माउन पर्ने अध्यादेश ल्याउन आग्रह गर्नुभएको छ । मेरा बाले भने तीन वीसे दश वर्षसम्म छोरैछोरा जन्माएर घरबाट दाइजात्रा निकाल्छु भन्दाभन्दै म भन्दा अगाडिका सत्र वटी दिदीहरुको जात्रा देखेको थिएँ । त्यसैले मेरो जीवनको शुरुवात नै जात्राबाट भयो भनेर बुझ्नु भयो भने तापनि मेरो केही गुनासो छैन ।

ओहो म जन्मदा जाबो एउटा छोरो देखेर मेरा बाको नाक त बा¥ह हात बा¥ह बित्ता बढेको थियो । पल्लो गाउँको वल्लो खेतमा पानी लगाउन गएका पिताजी पुत्र लाभ भयो भन्ने खबर सुनेपछि उहाँको बढेको नाकले मलाई जन्मेको दिनमा नै घोचेको घटना अहिलेसम्म बिर्सेको छैन । खै छ दिनमा छैटीमा भावीले लेख्नुभन्दा पहिला नै २÷४ पटक जात्रा देखेको मलाई सायद छैँटौ दिनमा समेत तैँले जात्रा मात्र हेरेस् भनेर लेखेको हुनुपर्छ । नत्रभने जात्रा मात्रै किन देखिरहन्छु ? जात्राको कुरो हेर्न कहिँकतै जानै नपर्ने । गज्जब जहाँ–जहाँ पुगिन्छ–त्यहाँ त्यहाँ जात्रा नै टुप्लुक्क पुगिसक्छ । पञ्चेका सानदार चप्चे आफ्नै काका श्री । घरमै जात्रा म छोरो भन्ने मर्दको जन्तु भएकोले काम भन्ने कुरो कुनै गर्नु नै नपर्ने । राजकुमारलाई जस्तो सुविधा तर दिदीहरु पाइखाना भन्ने अर्गानिक खोल्सामा खाइखाना फाल्न जाँदा ओहो छोरी कता गइन् धन्सारमा डियाँ करायो, खरबारीमा घाँस रोइसक्यो भन्नुहुन्थ्यो । घाँसको भाषा बुझ्ने, पशुको भाषा बुझ्ने तर आफ्नै छोरीहरुको भाषा नबुझ्ने पिताश्रीमा मेरा बा मात्रै होइन लगभग सबै बाहरु पर्नुलाई एउटा जात्राकै रुपमा लिँदा अन्याय हुँदैहुन्न भन्ने मेरो ठम्याईँ रहेको छ ।

पञ्चायततन्त्रका भद्र–भलाद्मी र समाजसेवीका जात्रा पनि निकै रमाइला र घमाइला । अपराधीलाई सम्मान गर्ने, निर्दोषलाई सजाय दिने, अरुका छोरी बुहारीहरुको काँचो मासु खान पल्केका नरभक्षीहरुको जात्रा हेर्दा–हेर्दै बहुदल जन्मियो । अब त जात्रा हेर्न पर्दैन कि भनेर नाकको साइज बाह्र वित्ता बढ्यो । हेर्नोस् न झन् बहुदलकै साथमा जात्राको साइज समेत बढेर बा¥ह कोष भन्दा लामो पो भयो । पञ्चेकालमा एकदलिय जात्रा हेरेर रमाएका हाम्रा आँखा बहुदलसँगै बहुदलिय जात्रा हेर्नलाई त आँखामा पावर नै थप्नुपर्ने भयो । आखिर हाम्रो देशलाई, हाम्रो नेपाली पनलाई, हामी नेपालीको मनलाई सुहाउने अनि दिनमा दश गुणा र रातमा बीस गुणा सप्रिने खेतीको रुपमा जात्रालाई लिइयो भने कसैलाई–कसैको शून्य डिग्री सम्मको खति हुने छैन ।

जात्राको साइज र प्रकार घटाउन भन्दै राजतन्त्रको एउटो राजा फालियो । जात्राप्रेमी हामी एउटा राजाको ठाउँमा सात सय त्रिपन्न वटा राजा पालियो । लौ जा हामी जात्राका भाग्यमानी कति हेर्नु जात्रा ? घरमा जात्रा, वनमा जात्रा, सडकमा जात्रा, सदनमा जात्रा, बालुवाटारमा जात्रा, सिंहदरबारमा जात्रा, जेलमा जात्रा, रेलमा जात्रा, मलको जात्रा, दलको जात्रा, जलको जात्रा, जातको जात्रा, भातको जात्रा, हिमाल÷पहाड÷तराईको जात्रा, पसलमा जात्रा, फसलमा जात्रा, कर्मचारीको जात्रा, कूर्चिको जात्रा, काम नगरी खानेको जात्रा, भिजिट भिसामा विदेश जानेको जात्रा, चान्समा डान्स गर्नेको जात्रा, मौकामा चौका हान्नेको जात्रा, अलिकति नीति, थीति, रीति र नैतिकता बेच्नेको जात्रा, अलिकति देशलाई टोक्नेको जात्रा, धेरै जमात नै छन् जिउँदो लाशलाई सानसँग बोक्नेको जात्रा, चोर÷डाँका÷फटाहाहरुलाई मस्तले सलाम ठोक्नेको जात्रा ओहो बाबै कति हेर्नु जात्रा ? खाँदा पनि जात्रा, जन्ति र मलामी जाँदा पनि जात्रा ।
हामीले चौबिसै घण्टा आँखा झिमिक्क नगरी हेर्न सक्ने कुरो भनेको जात्रा नै हो । सबै जात्राप्रेमी भएपछि यहाँको जुनसुकै खेतबारीमा जेसुकैको बिऊ रोपे तापनि निसँकोच फल्ने भनेको जात्रा फल नै हो । जात्राको स्वाद खान पल्केकाहरुलाई अरु स्वादको त केही छेकछन्द नै हुँदैन । बिहान उठेपछि साँझ सम्म दुई चार वटा जात्रामा सहभागी हुन पाइएन भने, दुई चार वटा जात्रा फलको स्वाद चाख्न पाइएन भने आफू आफैभित्र हराएजस्तो भान हुन्छ । ओठ निचोर्दा दुध झर्ने पाठकहरुले भन्नुहोला –हामीहरुले त जात्रा हेर्न पाएका छैनौँ ? अँ– हँ त्यसो भन्नुभयो भने त सोह्रै आना तपाइँ झुट बोल्नुभएको छ । हामीले बरु आफ्नै घरबारीमा फलेको अर्गानिक जात्रा मात्र हेरेका थियौँ । तपाइहरुले त झन् विकासे मल हालेर हलक्कै हल्किएका, सोसल मिडियामा मलक्कै मल्किएका, इन्टरनेटमा फलेका, विजुलीबत्तीमा बलेका, बेलुनमा भरेका, इमानदारीता र नैतिकता मरेकाको जात्रा समेत यत्रतत्र सर्वत्र हेर्न पाउनुलाई चानेचुने नसम्झनुहोस् ल ।

अब मुलुकको आर्थिक विकास गर्नलाई सगरमाथाको देश, गौतम बुद्धको देश होइन तीन सय पैसट्टी दिनमा चौबिसै घण्टा जात्रा देखाउन सक्ने मुलुकको रुपमा घोषणा गरियोस् । यति गरेपछि पर्यटकको ओइरो लाग्छ अनि आर्थिक वृद्धिको पहिरो लाग्छ । आखिर पाखुरामा जाँगर भएपछि हाम्रो उन्नति र प्रगतिलाई कसले छेक्न सक्छ ? उसको उसले उबेला उठाउँमा ऊ लगाएको बेला त जात्रा देखाउन छोडिएन भने अब कसको उसले उस् गर भनेर कसले मान्छ र ? लौ जा फल्नो ठाउँमा फल्नाको फल्नो फलाउने जात्राको चूलो निमन्त्रणा थियो यता गफ गर्दागर्दै भुसुक्क बिर्सेछु । माफ गर्नुहोला अहिले म उतै लागे बाँकी कुरा अर्को भेटमा हजुरहरुको आज्ञाकारी जात्राप्रेमी उही उन्नत बहादुर ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।