आफु शिक्षक भएर काम गर्दा विभिन्न प्रकारका विद्यार्थी देख्न पाइन्छ। कक्षाभरि विद्यार्थी हुन्छन्। कोही विद्यार्थी कक्षाभित्र रहँदा पनि चिनिन्दैनन् कोही विद्यार्थी भने आजीवन नबिर्सिने खालका हुन्छन्। यसका निम्ति विद्यार्थीको स्वभाव, आत्मीयता, सिर्जनाशीलता, निरन्तर सम्पर्क, प्रतिभा आदिका आधारमा विद्यार्थी चिनिन्छन्। कोही विद्यार्थी साँच्चै नै नबिर्सिने खालका हुन्छन्। दार्जिलिङ सरकारी महाविद्यालयका धेरै विद्यार्थीहरू बिर्सिसकेको छु। केही विद्यार्थीहरू पनि चीर सम्झनामा रहेका छन्। यस्तैमा मेरो विद्यार्थी स्कन्द थापा हुन्।
२०१० तिरको कुरा हो। दार्जिलिङ सरकारी महाविद्यालयमा एक हुद्दा विद्यार्थीले नेपाली अनर्स भर्ना भएर आए। प्रायः जसो प्रत्येक सालजस्तो हरदरमा चालिसजना जति विद्यार्थीले नेपाली अनर्स लिएका हुन्थे। त्यसमध्येका स्कन्द थापा पनि एक थिए। क्लासमा अरूभन्दा अलिक ठुलाजस्ता देखिने स्कन्द चाँडै नै हामीसित झ्याम्मिए। क्लास नबिराई आउँथे। समसामयिक राजनितीका गफ गर्थे, कलेजका कुरा गर्थे। उनको विनम्रता, गहिरो कुरा गर्ने, जिज्ञासु स्वभावका थिए। शान्त, शालीन व्यक्तित्वका थिए।
स्कन्दहरूको समयमा कलेजको तर्कसभाको टोली सशक्त थियो। उनी एक कुशल तार्किक थिए। तर्कसभाका निम्ति कलेजका विद्यार्थीमध्येबाट पाँचजना श्रेष्ठ वक्तालाई छान्नुका निम्ति परीक्षण गर्नुपर्दथ्यो। आठ दसजनाबाट अन्तिम पाँचजना चयन गरेर एउटा कलेजको टिम बनाउँदा स्कन्द पनि छानिए। त्यस दललाई केही तालिम शिक्षक-शिक्षिकाले दिने गर्थ्यौं। तर्क प्रतियोगितामा शीर्षकका निम्ति बोल्नुपर्ने बुँदा, बोलीको हावभाव आदिबारे जानेजति सिकाउनु पर्दथ्यो। स्कन्दले रोचक ढङ्गमा तर्क दिन सक्दथे। एकपटक खरसाङ कलेजले धननारायण प्रधान स्मारक तर्क प्रतियोगितामा भाग लिन स्कन्दको टोलीलाई लिएर खरसाङ महाविद्यालय गएका थियौं। त्यहाँ स्कन्द सर्वश्रेष्ठ वक्ता घोषित भएका थिए। त्यसपछि गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङले बर्सेनी आयोजना गर्ने प्रबुद्धानन्द स्मारक तर्क प्रतियोगितामा स्कन्दको टोलीले बेजोड प्रस्तुत गरेर कलेजले जितेको थियो। तर्क प्रस्तुत गर्दा स्कन्दले बोल्ने तरिका र तार्किक बुँदा बेजोडको हुन्थ्यो।
त्यति बेला दार्जिलिङ सरकारी कलेजमा गोजविमोको विद्राथ्यी युनियन हुन्थ्यो। यद्यपि मैले जान्दा स्कन्द भने क्रामाकपाको विद्यार्थी इकाइका अनुयायी थिए। शान्त शालीन स्कन्द मृदुभाषी थिए। उनीभन्दा एक व्याच अग्लो ब्याचकी निलीमा थापासित प्रेम भएको मैले थाह पाएको थियएँ। कलेज सकेर उनीहरूले बिहा गरेको पनि खबर सुनें। खुब मिल्ने जोडी थियो। दुवैजना मेरा प्यारा थिए। पछिबाट स्कन्द र निलीमालाई कालेबुङको डेलोमा भेटेको थिएँ। स्कन्दले नानी बोकेको थियो। मलाई देखेर परबाट आयो र अनि दुई चार कुरा बोल्यौं। अलिक पछि मेसेन्जरमा मलाई कल गरेको पनि थियो। उ बिहार गएर एउटा विद्यालयमा पढाउँदै गरेको कुरा भन्यो। उसको मायालाग्दो स्थिति लागेको थियो। निलीमा जस्ती उसकी प्रायः प्रिया र शिशुलाई घरमा नै छाडेर अन्यत्र गएर कमाउनु परेको थियो। जीवनको सङ्घर्षमा होमिन टाडा जानु परेको थियो। सर निलीमालाई पनि बेला बेलामा फोन गरिदिनु है पनि भनेको थियो। २०२१ मा फेसबुकमा अचानक एउटा नराम्रो खबर आयो। कसैले स्कन्द सडक दुर्घटनामा परेर तत्ताकल खसेको समाचार हालेको रहेछ। म त छाँगाबाट खसें. स्कन्दलाई झल्झली सम्झें। निलीमालाई कस्तो पर्यो होला भन्ने सम्झें। मनले ईश्वरलाई पुकारें। मेरो एउटा प्यारो छात्र स्कन्दलाई दैवले चुँड़ेर लग्यो।
कालेबुङ