18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘मन पग्लिएछ भने’ कवितामा दृष्टिपात

कृति/समीक्षा सदानन्द अभागी September 9, 2025, 12:39 am
सदानन्द अभागी
सदानन्द अभागी

परिचय –
यस कविता सङ्ग्रहकी सिर्जनाकार हुन् आँचल कुसुम अधिकारी । यिनी माता जेनी कुसुम र पिता मोहोदत्त अधिकारीकी सुपुत्री हुन् । स्थायी ठेगाना कुश्मा १० पर्वत भए पनि हालको ठेगाना बबरमहल काठमाडौ हो । यस कृति प्रकाशन समयमा प्रसादी एकेडमीमा कक्षा १२ विज्ञान सङ्कायमा अध्ययनरत छात्रा हुन् आँचल । आँचल कुसुम विभिन्न साहित्यिक कार्यक्रममा सहभागी भएर च्यालेन्ज फर चेन्जले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा प्रथम पुरस्कार, विभिन्न अन्तरविद्यालय कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्न सक्षम विद्यार्थी कवयित्री नवसर्जक साहित्य चौतारि नेपालको केन्द्रीय उपाध्यक्ष एवम् काठमाडौ उपत्याका संयोजक हुनुहुन्छ । आमाले एउटा खेलौना ्र मासिक पुस्तक ‘मुना’ हरेक महिना ल्याइदिने गर्नु र आँचल कुसुमले मुनामा भएका कवितालाई प्राथमिकताको साथमा पढ्नु, जिज्ञासा बढदै जानु, आमालाई कविता कसरी लेखिन्छ सिकाई दिनु भनी आम्रह गर्नु, आमाले कविता लेख्ने तरिका सिकाइ दिनु । यसरी आमाको प्रेरणाबाट कविता लेख्न थाल्नु । ‘मेरो देश’ बाट कविता यात्रामा लागेकी आँचल कुसुम ‘मन पग्लिएछ भने ..’ कवितासङ्ग्रहकी कृतिकार भएर हाम्रो अघि देखा परेकी छन् । आमा बाबा नै उनका कविता लेखनका प्रेरणाका स्रोत बने । कविता प्रतियोगितामा प्राप्त पुरस्कार तालीले उनलाई थप प्रेरण मिल्यो ।

कृतिको संरचना –आदित्य बुक्स एण्ड डिस्ट्रिव्युटर्स बागबजार, काठमाडौ नेपालले प्रकाशन गरेको यो कृतिको अवरण पृष्ठ बाहेक आकारका हिसावले ७२ पृष्ठको छ । आवरण पृष्ठको अग्रपाना प्रकृतिले सजिएको सुन्दर चित्रले सुसज्जित छ भने पछिल्लो पाना कृतिकारको व्यक्तिगत विवरणले सजिएको छ । सर्वप्रथम आँचलले ‘मेरो भनाइ’मा कसरी उनी साहित्यिक क्षेत्रमा उभिन सफल भइन् सोको विवरण्म पस्केकी छन् । आदित्य प्रकाशनले प्रकाशकीयमा यस कृतिमा भएका कवितामा देशप्रेम , साहित्य प्रेम र प्रकृतिप्रेम रहेको जनाएको छ । यस कृतिमा संस्कृति प्रर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किराँतीज्यू, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपाल , नवसर्जक साहित्य चौतारीका संयोजक दीपक गौतम,प्रसादी एकाडेमीका प्रमुख विक्रम राईका शुभकामना पाएको छ । बरिष्ठ साहित्यकार डा. रामप्रसाद ज्ञावलीले यस कृतिको सारगर्भित भूमिका लेखेका छन् ।
कृतिभित्र प्रवेश गर्दा – मैले माथि नै भनिसकेको छु कि यस सङ्ग्रहमा ३२ ओटा कविताहरू समावेस भएका छन् । पहिलो कविता हो ‘मलाई काव्यसँग प्रेम बसेछ’ । कविता भावनाको बगाइ हो । यहाँ कवयित्रीले कलमको माध्यमबाट काव्य कोर्न थाल्नु, अश्रुधाराले पाना भिजाइ दिंदा हराएको प्रेमी भेट हुँदा इन्द्रिय खुसी भए सरह आनन्दित हुनु मनभित्रमात्र नभएर नशा नशामा गुम्सिएका वेदनाहरू नदीको वहाव सरह शब्दहरू बग्न थाल्नेको धारणा आएको छ । उनी भन्छिन् –
टाढिदैमा कहाँ विर्सन सकिन्छ र
प्रेम रस हो तब सकिन्छ
जब इन्द्रिय सकिन्छ
अरूसँग नबाँडेसम्म जीवन जीवन लाग्दैन
मलाइ त काव्यसँग प्रेम बसेछ ।
यहाँ एउटा महत्वपूर्ण दाशनिक अभिव्यक्ति आएको छ – ‘प्रेम रस हो तब सकिन्छ जब इन्द्रिय सकिन्छ ।’ पवित्र धारणालाई समाएर चढो वैंसको आभाषलाई नदेखाई प्रेमलाई इन्द्रियसँग र जीवनसँग लगेर जोडेकी छन् ।

मन – मन सबैलाई थाहा भएकै हो कि यो स्थीर हुँदैन । यो स्वतन्त्ररूपमा उड्छ । किशोरी कवि भन्छिन् कि मन र मस्तिष्कको तालमेल हुँदैन । तनभित्र हुने मनको एक रूपता पनि हुँदैन । यसले हरेका क्रियाकलाप आफ्नै इसारामा चलाइ दिन्छ । यो अनौठो र मजबुत छ । यो सर्वोत्कृष्ठ सामाजिक प्राणीको धन हो ।

म कतै अल्झिएँ – यसमा आजको इनटर नेटको सदुपयोग र दुरुपयोगको बारेमा प्रकाश पारिएको छ । आज हरेक जन जनको हातमा मोपाइल छ घर घरमा इन्टरनेटको प्रयोग भएको छ । हरेकले आपूm जति सुकै व्यस्त भए पनि हरेक डट कम भ्याउन भने उसले समय निकाल्छ । हरेक व्यक्तिले आफ्नो महत्वपूर्ण समय विताइ रहेका छन् ,। किशोरी कविले इन्टरनेटको दुरूपयोगमा लाग्न नहुने सन्देश दिएकी छन् ।

पुकार –आजका मानिस प्रकृति माथि वीजय हाँसिल गर्न खोजि रहेका छन् । त्यो सम्भव छैन । वर पीपलको वायुलाई एसी र पंखाबाट दाँज्न सकिदैन । मानव सभ्यतालाई र वातावरणलाई संरक्षण गर्नु पर्दछ । अध्ययन अनुसन्धान गरे पनि चेतना भरिएनन् । नियम कानुन बनाए पनि पालन भएनन् र हरियो वनमा धुवाँको प्रदुषण भरियो । सर्वोत्कृष्ट कहलाएका मानिसले आज विकासको नाममा विनाश बोलाएको छ । महत्वपूर्ण पक्ष भनेको वातावरण हो । पृथ्वी सबैको साझा हो । यसको संरक्षणका लागि दिवसहरू मनाइने गरिन्छ । वातावरण मैत्री शिक्षाको अध्ययन हुनु पर्छ । स्वस्थ वायु स्वस्थ जीवनको नारा लगाइनु पर्छ जस्ता धारणा समेटिएका छन् कवितामा ।किशोरी कविको प्राकृतिक संरक्षणमा जोड दिए कि छन् ।

कोरोना – यस कविताले विश्व भरी आक्रान्त पारेको कोरोना कहरलाई प्रष्ट्याउन प्रयास गरेको छ । कोरोना आउँदा सबैको मन काप्नुुुु, गरीबले खाना नपाउनु, एक गास खान पाउँदा रमाउनु,सुन्दर रहरहरूका सपना भित्र नै गल्नु , उषाका खुसी लुटिनु, निशाका कहरहरू रमाउनु, पढ्न मन नलाग्नु ज्यान खान्छ कि भनि टोलाई बस्नु । स्वार्थलाई त्यागेर कारुणिकताले थिचिएका मानिसको पुजा गरौं जस्ता महान मानवीय भावनाहरू पस्कँदै कवयित्री भन्दछिन् –
जीवन हाम्रो अमूल्य कहाँ फर्केर आउँछ ?
नियम मानौँ सार्थक हुन विश्वले पाउँछ ।
पृष्ठ ३३

मै चरी–चरीले भोगेका दुःख, झरी बादल, घाम मानिसको भरमा परेर आधात ठूलो सहेर रक्ताम्मे भएर कैदीको रूपमा छोराछोरीलाई वनमा छाडेर बस्न पर्दाको कारुणिक भावनालाई यसरी प्रस्तुत गरिएको छ–्
सम्बन्धी जन भाइ बान्धव गुमे विध्वंस धेरै भयो
साझा यो सबका एकैे छ धरणी बोली त मात्रै भयो ।
पृष्ठ ३४

युवा–यस कविताले युवाको गहन मूल्याङ्कन गरेको छ । युवा देशका मेरूदण्ड, धरोहर, देशको लागि बलिदान गर्न परे बलिदान कर्ता, बर्कवीर, लगनशील, पौरखी हुन् । अब यिनको कर्म भनेको –
फोहोर भयो राजनीति अब सफा पार्ने
अक्सि जनको कमी भयो रुख बिरुवा सार्ने
विभेद र कुरीतिको अन्त्य गर्ने शक्ति
अमूल्य हो युवाशक्ति राष्ट्रको हो भक्ति
पृष्ठ ३५,

किशोरी कविले युवाहरूले गर्न पर्ने धेरै कामहरू छन् । भ्रष्टचार, कालो बजार,दलालहरूलाई रूपान्तरण गर्नु पर्ने आदि दर्शाउँदै अधिकार र नियममा रहेर विज्ञानको भरमा कार्य न्वयन हुनु पर्छ भनेकी छन् । आजको परिपेक्षमा युवाहरूको विदेश पलायन प्रति संकेत गर्दै भन्दछिन् –
संवद्र्धन तिम्रै हातमा संस्कृति र भाषा
सम्भावना यहीँ छ नि नजानू है ल्हासा
एकपेट भरे पनि पुग्छ हेर गाँस
तिमीसँगै नेपाल आमा गर्दछिन् है आश ।
पृष्ठ ३५

महान छौ तिमी – यो कवितामा व्यङ्ग्य कसिएको छ । जातीय विभेदमा भन्दा जात भात छुवाछुत छैन भनिन्छ तर व्यवहारमा भने प्रयोगमा छैन । सानो जात भनेर अन्यायमा पार्ने, मानवीय मूल्य र मान्यता गुमाउने,समाजको इज्जत नै गुमाउने र मानवतामाथि दाग लगाउने काम गर्दा पनि ठुला जातकाले गरेका काम ठिक हुने बोली र व्यवहारमा फरक पार्न सक्ने कलामा महान छौं तिमी भनिएको छ । किशोरी कविले यी सबैको अध्ययनबाट आफ्ना विचार फरक रहेको उनले मानिसलाई माँछे देख्नु, मानवभन्दा ठूलो जात कोही छैन तर जातको आधारमा तिमीले आपूmलाई ठूलो देख्छौ त्यसैले तिमी महान छौ भनिएको छ । यस्ता व्यक्ति कहिल्यै महान हुँदैनन् । मानिस सबै मानिस नै हुन् विभेद हुन हुँदैन भन्ने प्रवल भावना कविमा देखिन्छ ।

स्वाभिमान– राष्ट्रियताले भरिएको यो कवितामा भौतिक ऐश्वर्यले नेपाली आमा र नेपाली गरिब छन् तर आमाको स्वाभिमान र इज्जतलाई लुट्न दिइदैन । तिमीहरू ठूला भएर पनि सानो देशम आँखा लगाउनु राम्रा होइन। छिमेकी भएर सहयोग गर्नु राम्रो हो । सबैको रगत रातै हुन्छ । नीच मान्छे बन्न हुँदैन । एउटा कलाकारको टुइटले तिम्रो देश नै हल्लियो । देशको लागि लड्न सक्ने शक्ति छ । सास रहेसम्म साहस छोडदैनम् । देश बचाएर राख्ने प्रण छ कविमा राष्ट्रिय चेतना प्रवल देखिन्छ ।

यस्तो बन – असल मार्ग अपनाउने धारणा आएको छ कवितामा । मानिस भएर सत्यमार्गमा हिड्न, बोल्न अगाडि सोच्न,सबैलाई सम्मान दिन, निष्ठावान बन्न,अपनत्व ग्रहण गर्न, हिलोमा कमल फुल्छ मनन गर्न, दाम भन्दा नाम ठूलो ठान्न, अरुका इच्छा कुल्चेर आफ्नो पेट भरेर, मन्दिर धाएर के नै पाइन्छ भन्ने धारणा कविताले समेटेको छ । शासन कर्ताको लागि पनि कवियित्रीले यस्तो मार्गदर्शन दिएकी छन् –
टिक्दैन है खराब शासन
ठूलो हैन हुनु तिमी असल
मानवताको देऊ पहिचान
सुन्दर राख विचार र मन
पृष्ठ ४०

सुशासनको कमिको आभास उनले पाएकी छन् । कुशासनप्रति कटाक्ष गरेकी छन् ।
छाडी गयौ – आमाको सन्तानप्रतिको माया तथा वियोगप्रतिको कष्टलाई समेटेको छ कविताले । छोरा छोरी विदेश पलायन भएपछि बाबु आमालाई सहारा र पानीसम्म दिने कोही छैन । अझै आशा मरिसकेको छैन जसरी पन्छी उडेर घुमेर पुन घर फर्किन्छ । त्यसरी छोराछोरी फर्कनेमा आशावादी छन् कवि ।

गुरु –यस कवितामा गुरुप्रति आदर्श देखाइएको छ ।गुरु पद नै पवित्र छ । गुरुले काँचो माटोलाई बाटो देखाएर असल बनाउन काम गुरुबाटै हुन्छ र माता पितापछिका अभिभावक गुरु नै हुन् भन्ने धारणा आएका छन् ।

रक्तदान– रगतको मानव जीवनमा अति आश्यक्ता हुन्छ । विना रगत मानव जीवन सम्भव छैन । रक्तदान जीवन दान हो भन्ने धारणा सहित रक्तको अभावमा कोही नमरुन्। रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटोस् । सेवा नै धर्म हो भनिएको छ कवितामा ।

भानु जयन्ती – यस कवितामा भानुको जन्मजयन्तीको दिन उनका माता धर्मावती, पिता धनन्जय, जन्म थलो रम्घा, घाँसीबाट प्रेरणा प्राप्त गरी, रामायण लेखी, भाषगत एकताको रूपमा नेपालीलाई एकीकरण गरेको, आध्यात्मिक चेतनाको दियो बालेको र उनको नाम सृष्टि रहेसम्म रहने धारणा कवितामा आएको छ ।

मानव जीवन – मानव जीवन र गुलाफलाई तुलना गरिएको यस कवितामा काँडाको बिचमा फुल्नाले नै गुलाफ सुन्दर देखिन्छ । मानिस विवेकशील हुन दुःख र संघर्षबाट उक्लनु पर्छ । कवयित्रीको प्रष्ट धारणा छ । राम्रो खोज्न आँफै राम्रो हुनु पर्छ । आफुलाई चिनाउन आफै निष्ठावान बन्नु पर्छ । संसारलाई मनोहर बनाउन मद्दती बन्न सक्नुपर्छ । आफ्नो जीवनको शीर्षक राख्न सक्नु पर्छ । निष्कर्ष तव निस्कन्छ जब बाच्नको लागि नभएर गर्नको लागि बाँचु पर्छ र जीवन मगमगाउँछ , मरणशील जीवनमा हृदयमा सबैको माया साँच्न सके दियो झै जीवन चम्कन्छ जस्ता गहन धारणाहरू आएका छन् कवितामा ।

मन पग्लिएछ भने–यसै शीर्षकबाट यस कृतिको नामाकरण गरिएको छ । हेरौं थालनी –
मैनझै मन पग्लिए छ भने
तिमी मसँग तिमी जस्तै बनेर आउनू
म जस्तो त म छँदै छु नि ।

। मैन कहिले पग्लन्छ भन्दा जलाएपछि पग्लिन्छ । किन जलाइन्छ भने प्रकाशको लागि जलाइन्छ । मैनभैm मन पग्लिएपछि आफ्नो स्वरूपमा आउने आग्रह गरिएको छ आपूm खाली कागज भएकोले रङ्ग भर्न सुनौला अक्षर बनेर आउनु, घामजस्तै आभा लिएर आउनु कान्तिमा जगमगाउन कवि तयार रहेको, ‘आँसुका हरेक कणमा आशाका किरण लिएर बसौंला सजाएर राखेकी छु ।’ किशोरी कवि भन्दछिन् –’तिमीले छोडेका यादहरू ती खोस्नचाहिँ ,आउँदै नआउनू ।’ मैनझै मन पग्लिएछ भने मैले सबै भन्दा माया गर्ने तिमी बनेर आउनु जस्ता धारणा आएका छन् । यो कविता बिम्बमा प्रस्तुत भएको छ । यस कृतिका कविताहरू किशोरी कविको मन पग्लिएर सिर्जना भएका हुन् प्रष्टताको लागि हेरौं –
मैन झै मन पग्लिएछ भने
तिमी रङ भर्न
सुनौला अक्षर बनेर आउनु
खाली कागत त म छँदै छु नि
पृष्ठ ४७

किशोरी कविको अर्को धारणा ‘सधै मेरो मात्रै हुन नसके पनि प्रिय साधना ! तिमी काव्य चम्काउने कोहिनुर बनेर कहिले काहीँ अवस्य आउनू ।’यी सबै विश्लेषण गर्दा ‘मन पग्लिएछ भने’ ‘ शीर्षक सार्थक छ ।

कर्मशील बनौं – यस कवितामा किशोरी कविले आजको राजनीतिले पारेको असरलाई प्रस्तुत गर्न प्रयास गरेको देखिन्छ । संसार राम्रो बनाउनको लागि स्वार्थ त्याग्न सक्नु पर्छ मानवताको भाव राख्न सत्विचार हुनु पर्छ, दार्शनिकजस्ता कुरा गरेरमात्र हुँदैन बोलेका कुरा पुरा हुनुपर्छ । विलासिताभोगी र भ्रटचारका रोगी भयौ । यही अवस्था रहेमा आमालाई पराइ ठान्न सक्छौं । जनताले खोप माग्छन् तर तिमीहरूले भोट माग्छौ, अनगिन्ती खोट भएका, सत्तामोह बढी, भ्रष्ट मति हुनु हुँदैन खाली आएको र खाली जाने भएपछि चेतनशील प्राणी र सामाजिक प्राणी भएपछि भाइचारा भाव राखी कर्मशील बनौं र लाजनीति छाडेर राजनीति गरौं भन्ने धारणा आएको छ कवितामा । किशोर अवस्थामै राजनीति चेत जागृत भएको देखिन्छ ।

बृद्ध– बृद्धले गरेका काम, छोराछोरीप्रति गरेको लगानी, तिनैबाट प्राप्त हुने तिरस्कार,घरमा पालन पोषण गर्नुको सट्टा बृद्धआश्रम पठाउने काम, आमा बाबुलाई बोझ ठान्न हुँदैन बाँचुन्देरी खुसी दिने र आशिष लिने धारणा आएको छ कवितामा ।

कविताले फुकाएको मौनता–कवियत्रीले कविता र प्रेमलाई नसा रहेछ, कविता चौतारी बनेको, दौतरी बनेको छ र लीला रहेछ कविता औतारी बनेको छ भन्ने धारणा आएको छ ।
नारी यस कवितामा नारीका पीडा पोखिएका छन् । आपूm रुझेर भए पनि अरुलाई ओत दिनु , बाध्यताको घुम्टो ओढनु,नारीले आकाश हेर्न पाउँदिन भुर्इँमात्र हेनुपर्छ, हाँसो लुटेर लगाइदिएको पोतेलाई पासो ठानी झुण्ड्याएर हिड्नु र आलोचना सुन्न नपरोस् भनेर कैदीले हतकडी भिरे सरह हातमा चुरा बजाउँदै हिडेकी छ आदि नारीका वेदनालाई कविताले समेटेको छ । नारीको त्याग यसरी प्रस्तुत छ –
आफैलाई टुक्रा टुक्रा पारी
सबैलाई बाँडेकी छ
आफ्नो रगत र पसिनाको मसिले
ब्रह्माण्ड धानेकी छ
पृष्ठ ५५

कर्णधार – यस कविताले बालबालिकालाई धुम्रपान गर्दा हुने घातक परिणतिको जानकारी गराएको छ । देशमा कानुन बन्दछन् र लागु हँुदैनन् । सुर्र्तीजन्य पदार्थको सेवनबाट विश्वमा ६० लाख मानिसको मृत्यु भएको जानकारी प्राप्त गर्दा गर्दै निकोटिन र कार्बन मनोअक्साइडबाट क्यान्सर भित्रिने हुँदा सुर्तीजन्य पदार्थ सेवन गर्नेको सङ्गत गर्न नहुने र बाबुआमाले छोराछोरीबाट देखेको सपना साकार पार्न र देश विकासमा लाग्न मार्ग दर्शन दिएको छ कविताले ।

डर – यस कवितामा जीवन डरैडरले भरेकोले सजिला बाटा अपठेरोमा परिणत भएका छन् र सामर्थको आवाज भन्दा डरका आवाज धन्केका हुन्छन् । डरले इच्छाशक्ति र प्रगतिको उच्चाइलाई रोक्दछ , डरले आँखालाई लोल्याउँछ ,बोल्ने शक्तिलाई सुकाउँछ, आपूmलाई प्रदर्शित गर्न चाहेर पनि सकिदैन भन्दै जीवनको सार के हो भन्दै जीवन जीउनको कर्तव्यलाई यसरी पस्केकी छन् –
नलाग्दो हो डर भने जीवनको सार के हो ?
सुखदुःख बराबरी जीवन ज्युनु कर्तव्य हो
पृष्ठ ५७

सपनाको देश –बिम्बमा प्र्रस्तुत गरिएको यो कविता कदम चालेपछिमात्र सपना देख्नु पर्छ, देश देश जस्तै बन्न सकोस् ,देशका नागरिकमा जिम्मेवारी बोध भएको देख्न पाइयोस् , दुःख र सुख द्ुबै बोध गर्न पाइयोस् , आफ्नो माटोमा पसिना मिसाउन पाइयोस् र पसिनाको उच्च मूल्याङ्कन होस् असल शिक्षा स्वदेशको आवरणमा देखन पाइयोस् जस्ता धारणा राख्दै उनि भन्छिन् –‘आध्ुनिकरण र मौलिकताका दुई किनारमा निर्मित स्वच्छ र पवित्र जलझँै छ सपनाको मेरो देश । ’

अनौठो रीत – मानिस एकैकिसिमका हुँदैनन् तिनीहरूको काम गर्ने तौरतरिका फरक हुन्छन् । कोही बोल्छन् कोही नबोलेरै काम सिद्ध गर्दछन् । कसैलाई लाखौंको भिडमा पनि खोजी राख्न मन लाग्ने आदि धारणा आएका छन् ।

कुसुम– यस कवितामा कुसुमलाई नै रोजीरहने मनलाई कुसुम भन्दा पनि कोही सुसज्जित हुन्छ। कुसुम नै खोज्ने आाँखालाई पाइतालाको चालमा ध्यानदिन, कुसुिमसँगै पुग्न आत्तिने र पुगेपछि मोडिन नचाहने पाइताला, जस्को आफ्नै मार्ग हुन्छ, कुसुम टिप्न काँडासँग सम्झौता गर्नु पर्ने, सम्झौता नमिलेको थाहै नपाई टिप्न खोज्दा लागेका घाउहरू कि दोषि तिमी हौ भनेर र तिमीलाई कसैले टिपेको देख्दादेख्दै र तिम्रा दुस्समचार सुन्न नचाहने कानलाई कसरी सम्झाउने भन्ने धारणा आएका छन् कवितामा । कुनै पनि राम्रो चिजमा नराम्रापक्ष पनि हुन्छन् भन्ने कुरा विश्लेषण गरेरमात्र तिनलाई ग्रहण गर्नु पर्छ भन्ने संदेश दिएको छ कविताले ।
सखी –यस कवितामा सखीप्रतिकोधारणा रख्दै भनिएको छ –
सखीको झल्कोती दिनभरी आइरहने
उनी बोल्दामा आँट सहज सधैं पाइरहने
पृष्ठ ६३

जून ! –जूनको महिमा दर्शाउँदै भनिएको छ कि ‘ तिमी जूनमात्र होइनौ तिमी त्यो जून हौ जुन म अन्त पाउन सक्दिन । ’ यसरी नै ‘प्रिय जून !तिमी जो कसैले लिदाउन नसक्ने यादहरू दिलाएर जान्छ्यौ’ जस्ता धारणा आएका छन् ।

पर्खाइ यस्तो होस् –भन्छन् पर्खाइमा घडीको सूई निकै ढिलो गरेर घुम्द छ । पर्खाइ निकै अत्यास लाग्दो हुन्छ यिनै सन्दर्भमा पर्खाइको अनुभूति हुन भएन, लामो सास फेर्न नपरोस् , शंका नहोस्, उमङ्ग, उत्साह सहास आओस् भनिएको छ कवितामा ।

कलम–यहाँ कलमलाई हारमान्न न हुने, दायित्वबाट पन्छिन नहुने, सुख दुःख सबैले भोग्छन्, डाह गर्छन् , सबैका वेदनाका कथा हुन्छन्, नगरेका दोष लगाउँछन्, तर सबै यी सबै भन्दा माथि उठेर सत्पात्र बनेर मेधावीहरूको सुमार्ग बन्नुपर्छ , सत्य बोल्नु पर्छ ‘आआफ्नै रङ अनुसारको सुन्दर चित्र’ बाँु पर्छ भन्ने धारणा आएका छन् कवितामा ।

सम्झौता –दुई हरफका ५ श्लोक कसरी सम्झौता गर्न सकिन्छ त भन्ने मार्गर्शन निकै गहकिला छन् । मानव बीच गरिने बातचितमा सकरात्मक सोच राख्नुपर्छ कसैले तुच्छ बचन बोल्न सक्छ त्यसलाई मिठो गरि सुनिदिंदा त्यहाँ द्वन्द्वको उत्पत्ति हुँदैन । कपडा च्यातिन सक्छ त्यसलाई तुनिदिएमा पुन प्रयोग गर्न सकिन्छ । भ्रममा पर्न हुँदैन सत्यमार्ग अवलम्बन गर्नु पर्छ ।अर्कालाइ परिवर्तन गर्न नसके पनि स्वयमलाई परिवर्तन गर्न सकिन्छ । यदि हेर्ने दृष्टि फे¥यो भने दृश्यलाई फेर्न पर्दैन । कसैले खिसीट्युउरी गर्छ भने खुसी भएर हाँसिदिनु पर्छ । खुसीलाई दिलमा साँच्न सक्नु पर्छ जस्ता धारणा राख्दै कवयित्रीले भन्छिन् –
मिल्छ खुसी भने म त दुःख लिन राजी
दाउ राखी जीवन यो बनुँला म माझी ।
पृष्ठ ६९

नयाँ वर्ष– किशोरी कवि आँचलले नयाँ बर्षलाई यसरी आउनको लागि अनुरोध गर्दछिन् –
मौनताभित्र दविएको आवाज प्रष्ट्याउँदै
दृष्टि पुग्न नसकेको सत्यता बोध गर्दै
अन्त्य र सुरुको मेलमिलाप गराउँदै
चुहिने गग्रेटो टालेर भराउँदै
नयाँवर्ष ! तिमी आउनू ।

उपरोक्त श्लोकले किशोरी कविको सकरात्मक सोचलाई प्रदर्शित गर्दछ । किशोरी कविले नयाँ वर्षलाई विचार नयाँ, उद्देश्य नयाँ,जोश नयाँ, सम्भावना नयाँ,सम्पदा पुराना सजाएर आउनु आदि आदिको साथमा आकाश झै विशाल छाती लिएर आउनु भनेकी छन् ।

हाम्रो संस्कृति– यस कवितामा किशारी कविले हाम्रो संस्कृतिमा सयथरीका पूmलहरूको संस्कृति मिलेर बनेको छ । हामी हाम्रा संस्कृतिमा सबै मिलेर रमाएर बसेका छम् । हाम्रा संस्कृतिमा कुनै द्वन्द्व छैन । हाम्रा माघी, हाम्रा रोदी, डम्पूm आदिमा रमाउँछौं । हिंसा नसहनु सत्य बोल्नु हाम्रो ठूलो धम हो । अरूका चलनहरू अपनाउँदै आफ्ना चलन भूलेमा हाम्रो परिचय हराउन जान्छ भन्दै तलको श्लोकको साथमा यस कवितासङ्ग्रहको बिट मरेको छ –
ति गुन्यू,दौरामा मखमल त चोलो बचिरहे
सुरिला भाका ती मिलिकन गाना रचिरहे
फुलून् लाखौंँ ती ढकमक पाखा भरिवरी
लगाउन् चोखो प्रेम्जनमन रारा मिलिवरी ।
पृष्ठ ७१

यस सङ्ग्रहमा समावेस गरिएका ३२ ओटा कविताको संछिप्त सारभाव मैले माथि नै पस्किसकेको छु । यी कवितालाई अध्ययन गर्दा किशोरी कविका भावना प्रवल रूपमा बगेको देखिन्छ । यिनका कविता सरल र सहज छन् ।लयात्मक, भावविधानमा हृदयस्पर्सी, राष्ट्र र राष्ट्रियताप्रतिको गहिरो चिन्तन, कोरोनाको त्राशादि, विषय बस्तुमा विविधता, सकरात्मक धारणालाई समाएर, पर्यावरणलाई सजाएर, जातीय विभेदलाई तिरस्कार गर्दै ,कर्णधारलाई मार्गदर्शन र उज्ज्वल भविष्यको कमना गर्दै, बृद्धप्रतिको आदरभाव, स्वाभीमानको संरक्षण, युवापलायनबाट देश युवा विहिन भएकोमा चिन्ता,नारीले भोग्न परेका समस्या र तिनको त्याग र योगदानको वर्णन आदि आदि थुप्रै संदेशहरू कविताले प्रवाह गरेका छन् ।
किशोरी कवि आफ्नो प्रयासमा सफल छन् । उनले थालनी गरेको साहित्यिक यात्रा उदाहरणीय र अनुकरणीय छ । सुधारका पक्षहरू पनि छन् तापनि लेखनको निरन्तरताले परिमार्जन हुँदै जाने हो भन्दै आँचलको भावी जीवन लेखनको साथै हरक्षेत्रमा उज्ज्वल बनोस् भन्दै विदा चाहान्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।