नेपालीमा एउटा उखान छ, 'बाह्र वर्षमा त खोलाले पनि आफ्नो बाटो परिवर्तन गर्छ' भन्ने । नेपाल संस्कृत विश्व विद्यालयले धेरै वर्षदेखि हुने बन्द हडताल, तालाबन्दी र ठुला पदाधिकारीहरुको रिक्तता आदि सबै तगाराहरुलाई पार गरेर २०८० साल जेठ ३१ गते १२ वर्षमा आफ्नो पाँचौँ दीक्षान्त समारोह गरेको थियो । त्यस कार्यक्रममा प्रमुख अतिथि बनाएर भारतको वाराणसी स्थित सम्पूर्णानन्द संस्कृत विश्व विद्यालयका कुलपति प्रा. डा. हरेराम त्रिपाठीलाई आमन्त्रण गरिएको थियो । कार्यक्रम उद्घाटन र केहीलाई पुरस्कार वितरणका लागि प्रधान मन्त्री तथा हाम्रा देशका नेता नै दुई तिन घन्टा ढिलो आउनाले एउटा विदेशी पाहुनाको अगाडि मैले बेइजत महसुस गरेँ । त्यो घटना मेरा लागि मात्र होइन, हाम्रा देशका लागि नै लाजमर्दो थियो । मैले नेपाल संस्कृत विश्वविद्यालयबाट २०६९ सालमा विद्यावारिधिका लागि फर्म भरेकी थिएँ । अनि २०७२ साल फागुन ८ गते विद्यावारिधिको मौखिक परीक्षा मार्फत डाक्टरको उपाधि प्राप्त गरेकी थिएँ । प्रमाण पत्र चाहिँ २०७३ सालको वैशाख महिनामा मात्र मेरा हात लाग्यो । नेपाल संस्कृत विश्व विद्यालयलाई विशेष धन्यवाद ।
दीक्षान्तका लागि म दाङ जान उत्सुक थिएँ । त्यसै समयमा म डा. गोविन्द आचार्यले लेखेको विशेष गरी दाङका थारु जातिमा प्रचलित दङ्गिशरणको मिथकमा आधारित 'दङ्गि उर्वशी' महाकाव्यको विश्लेषण गर्दै थिएँ । त्यस वेला मैले दाङलाई त्यसै मिथकलाई जोड्दै बुझेकी थिएँ । यस लेखमा अलिकति दाङ सम्बन्धी मिथकलाई म यहाँ जोड्ने छु । दङ्ग भनेको दाङ हो भने, दङ्गी भनेको दाङको भन्ने अर्थ हो । दङ्गिशरण चाहिँ दाङका मिथकीय राजा हुन् । 'दङ्गि उर्वशी' महाकाव्यमा वर्णन गरे अनुसार पृथ्वीमा तत्त्वज्ञान पाएर सिद्ध भई दुर्वासा ऋषि स्वर्गमा पुगेका थिए । त्यसैगरी एक कक्षादेखि विद्यावारिधि सम्मको ज्ञान प्राप्त गरेर हामी पनि दङ्ग देशमा स्थित नेपाल संस्कत विश्व विद्यालय पुगेका थियौँ ।
कवि गोविन्द आचार्यले 'दङ्गि उर्वशी' महाकाव्यमा वर्णन गरे अनुसार पृथ्वीमा तत्त्वज्ञान पाएर सिद्ध भई स्वर्गमा पुगेका दुर्वासा ऋषिले इन्द्रसभामा आफ्नो खिसी गरेर राम्ररी ननाचेकी भन्ने ठानेर रिसले आगो हुँदै उर्वशीलाई मर्त्यलोकमा दिउँसो दिउँसो घोडी र राति राति सुन्दर युवती भई घुम्ने सराप दिन्छन् । अनि महर्षिले उर्वशीलाई श्रापमुक्त हुने उपायका रूपमा उर्वशीकै नाममा ठुलो युद्ध हुनु पर्ने बताउँछन् । महर्षिकै सराप पाए अनुसार उर्वशी दिउँसो घोडी भएर चर्दै गरेका वेलामा राजा दङ्गिले त्यस्तो जङ्गलमा सुन्दर घोडीलाई देखेर सैनिकलाई लखेट्न लगाउँदा साँझमा घोडी सुन्दर युवतीका रूपमा परिणत भएको देखेर राजा दङ्गि त्यही सुन्दर घोडीको प्रेममा मन्त्रमुग्ध हुन्छन् । रहस्यमय घोडीको चर्चा भगवान विष्णु र कृष्णले सुनेर घोडी हरण गर्ने निहुले विष्णु र कृष्णले पहिले दङ्गिलाई फकाउँछन् पछि उनले नमानेकाले उनीहरुले दङ्गिसँग युद्धको धम्की दिन्छन् । दुर्वासाको सराप अनुसार घोडीरूपी उर्वशी सराप मुक्त भएर आफ्नै वास्तविक रूपमा आउँछिन् र अन्त्यमा स्वर्ग फर्किन्छिन् । त्यस वेला राजा दङगिलाई घोडीका लागि गरिएको मोह र युद्ध अर्थहीन लाग्छ र उनी पश्चताप गर्न थाल्छन् ।
जीवनमा म पहिलो पल्ट दीक्षान्त लिन गएकी थिएँ । त्यसैले पनि म अत्यन्त दङ्ग थिएँ । हाम्रो यात्रा दीक्षान्तको अघिल्लो दिन बिहानदेखि नै सुरु भयो । काठमाडौँबाट एउटा सानो गाडी भाडामा लिएर हामी ६ जना दाङ जानका लागि हिँड्यौँ । एकाबिहानै गाडी चढ्ने बानी हराएकाले होला गल्छीमा टन्न खाजा खाएर चढे पछि नै मलाई उँधै उँभै सुरु भयो । बर्खाको समय भए पनि त्यस दिन पानी परेको चाहिँ थिएन । तराईको टनटलापुर घाममा बनाउँदै गरेको बाटो थियो । त्यो धुलाम्मे बाटोमा गाडीको सिसा खोल्न पनि नपाइने र झ्याल बन्द गरेर गाडी भित्र बस्न पनि उकुसमुकुस हुने अवस्था थियो । बेलुका साँझमा बल्ल बल्ल दाङको घोराही पुगियो । एउटा होटलमा पहिले नै कोठा बुक गरेकाले सामान त्यहीँ थन्क्याएर ओरपर घुम्न थाल्यौँ । मलाई भने बिहान खाएको बाटोको खाजाले हैरान पारेको थियो । साथै लागेर दाङ जाने कुनै एक जना साथीले चाहिँ 'हैजा लागेको होला' भनेर अरु साथीसँग भन्दै गरेको पनि मेरा कानमा नपरेको भने होइन । जे होस यात्रा कठिन भए पनि जेठको गर्मी अनि तराईको बाटोमा पिच तातेर उल्टै भुङ्ग्रो जस्तै तातो हावा हप्प भएर आउँछ होला भनेर पहिले नै सोचेकै कुरा थियो । भोलिपल्ट चाहिँ मेरो स्वास्थ्य राम्रो भयो ।
राजा दङ्गिलाई घोडीका लागि गरिएको मोह र देउताहरुसँग गरेको युद्ध अर्थहीन लागे जस्तै हामीलाई पनि त्यस वेला नेताहरुको पर्खाइ अर्थहीन लागेको थियो । कार्यक्रममा 'दश बजे भित्र पसिसक्नू' भन्ने उर्दी नेपाल संस्कृत विद्यालयको थियो । मेरा साथीहरु नौ बजे नै संस्कृत विश्व विद्यालय पुगिसक्नु भएको थियो । कार्यक्रम चाहिँ तत्कालीन प्रधानमन्त्री एघार बजे आए पछि विधिवत रूपमा सुरु हुन्छ भन्ने संस्कृत विश्व विद्यालयको विचार रहेछ । हाम्रा देशका नेता न हुन्, प्रधान मन्त्री चडेको जहाज दाङ चाहिँ दश नै नबजी पुगेको रहेछ तर पार्टीका कार्यकर्तालाई भेट गर्नु उनले पहिलो प्राथमिकतामा राखेछन् कि क्याहो ! त्यस प्रचण्ड गर्मीमा हाम्रो चाहिँ पर्खनु सिवाय अर्को कुनै विकल्प थिएन । जेठको प्रचण्ड गर्मीमा दाङको त्यो चौरमा त्यो पनि टेन्ट मुनि हाम्रो गणतान्त्रिक देशका आधुनिक प्रधान मन्त्रीलाई पर्खिँदा पर्खिँदा हाम्रो धैर्यले ठाउँ छोड्ने वेला भइसकेको थियो । प्रधान मन्त्री कार्यक्रममा आइपुगे १ बजे ।
'कोही त भने जहाजमा हरर, कोही त भने पसिना तरर हाम्रो नेपालमा' भन्ने बोलको म केटाकेटी नै हुँदा सुनेकी मन्जुल अङ्कलहरुले गाउने जनवादी गीत हाम्रो त्यस दीक्षान्त समारोहका वेलामा मेरा मुखमा झुन्डिएको थियो । कुरा के थियो भने, संस्कृत विश्व विद्यालयले सबै विद्यार्थीहरुलाई कार्यक्रममा 'दश बजे भित्र नै पसिसक्नू' भन्ने उर्दी दिएको थियो भन्ने कुरा मैले माथि नै उल्लेख गरेँ । म सँगै दाङ जाने हाम्रा साथीहरु अतिशिष्ट भएका कारण नौ बजे नै कार्यक्रममा पस्नु भएको थियो । म त दाङमा भएका मेरा कर्म घरका बुवाका साथी भरतराज शर्मा (मझगैँया पोखरेल) को तुलसीपुर स्थित घरमा उहाँसँग भेटघाट गर्न गएका कारण कार्यक्रम हुने ठाउँमा ढिलो पुगेँ । हामीसँगै जानु भएका त्रिचन्द्र कलेजका एक जना गुरु डा. बच्चु भट्टराई सरको टाउको र निधारबाट लगातार धारा खसे झैँ पसिना तरर बगेर उहाँले लगाउनु भएको भादगाउँले (त्यहाँ जानु अघि रङ भरेको) टोपीबाट लुतुतु कालो रङ बगेर उहाँको अनुहार र उहाँले लगाउनु भएको पहेँलो गाउन पनि कालो हुन थाले पछि अनि हामी सँगै जाने साथीहरु उर्मिला शर्मा र नीना रेग्मी पोखरेल खित्का छोडेर हाँसेको देखे पछि मैले सोधेँ, 'ओइ, किन हाँसेका ?' बच्चु सरलाई हेर्नू न भन्दै झनै मुर्छा पर्ने गरी हाँस्न थाले । बच्चु सर तिर यसो हेर्छु त, उहाँ त टाउको अगाडि तिरको कुर्सीको आडमा मुख लुकाएर पसिना पुछेको पुछ्यै हुनु हुन्थ्यो । उहाँको अनुहार रुनु न हाँस्नुको अवस्थामा देखेर मैले नीनाहरु तिर फर्किएर यति मात्र भन्न सकेँ, 'ओइ, अर्काको बिजोक देखेर धेरै नहाँस ।' मलाई साँच्चै नै भन्नु हो भने त्यस वेलाको बच्चु सरको अवस्थालाई देखेर यही माथिको गीत फुरिरा थियो ।
हाम्रो देशको टोपी भनेको हाम्रो राष्ट्रको गौरव हो । विश्वमा नेपाली भनेर चिनिने तत्त्व नै टोपी हो । टोपीको उचाइ नै नेपालीको उचाइ हो । त्यस वेला टोपीबाट लुतुतु कालो रङ चुहिनु भनेको हाम्रो राष्ट्रको इज्जत धान्न धौ धौ हुनु पनि त हो नि, है र !
मलाई दीक्षान्त कार्यक्रमका दिन अत्यन्त लाजमर्दो र असभ्य अनुभूति भयो । लाजमर्दो हुने कारण के थियो भने, कार्यक्रम उद्घाटन गर्नका लागि प्रधान मन्त्रीलाई निम्तो दिइएको थियो भनेर मैले अघि नै उल्लेख गरेँ । कार्यक्रममा उनी ढिलो आए र आधा घन्टा जति बसेर हिँडे । त्यस कार्यक्रममा प्रमुख अतिथि बनाएर भारतको वाराणसी स्थित सम्पूर्णानन्द संस्कृत विश्व विद्यालयका कुलपति प्रा. डा. हरेराम त्रिपाठीलाई आमन्त्रण गरिएको थियो । कार्यक्रम नियमबद्ध रूपले चल्दा सबै भन्दा अन्त्यमा बोल्ने पालो प्रमुख अतिथिको हुन्छ । कार्यक्रम उद्घाटन र केहीलाई पुरस्कार वितरणका लागि प्रधानमन्त्री दुई तिन घन्टा ढिलो आए पछि टाढा टाढाबाट दीक्षान्त ग्रहण गर्न आएका विद्यार्थीहरु (सबै डाक्टर भएका विद्वान) को घर वा गन्तव्यमा फर्कनु पर्ने भएकाले सबैको धैर्यले ठाउँ नै छोडिसकेको थियो । प्रधानमन्त्री र सञ्चार मन्त्री एकै छिनमा फर्किसकेका थिए । विद्यार्थीहरु पनि आफनो पालो आए पछि प्रमाण पत्र लिँदै फोटो खिचाउँदै हिँड्न थाले । हामीलाई पनि काठमाडौँ फर्कन ढिलो भएकाले हामीले पनि त्यसै गर्ने भयौँ । मलाई आफू बसेको कुर्सी छोडेर उठ्न असाध्यै असभ्य भएको मैले महसुस गरिरहेकी थिएँ । एक त हाम्रा देशका पाहुना, त्यही माथि त्यत्रा ठुला विद्वानले बोल्न बाँकी नै थियो । आफूले सम्मान गरेर ती विद्वानको भाषण सुन्नु त कता हो कता मैले बिचमै उठेर हिँड्दा म असभ्य ठहरिने भएँ भन्ने ठानेर म लाजले भुतुक्कै भएँ । ती प्रमुख अतिथिले भाषण गर्दा दीक्षान्त लिन गएका विद्वान विद्यार्थीहरु प्रायले आफ्नो कुर्सी छोडिसकेका थिए । हाम्रा देशका नेताले ढिलो गरिदिनाले एउटा विदेशी पाहुनाको अगाडि मैले ठुलो बेइजत महसुस गरेँ । त्यो घटना मेरा लागि मात्र होइन, हाम्रा देशका लागि नै लाजमर्दो थियो ।
होइन, यो प्रमुख अतिथि बनाएर राख्ने थिति चाहिँ कसले बसाएको रहेछ कुन्नि ? हिजोका दिनमा त सबैलाई फुर्सद नै हुन्थ्यो कि क्याहो, कार्यक्रम नसकिँदा सम्म मानिसहरु सभामा बसेकै देखिन्थे जस्तो लाग्छ मलाई । हिजो त प्रमुख अतिथिको सम्मान नै गर्ने चलन थियो । आज के हामी यति धेरै यान्त्रिक भएछौँ एउटा पाहुनाको सम्मान सम्म गर्न नसक्ने ? आजको समयमा यदि सबैलाई हतार नै हुने हो भने, यसो गर्दा कसो होला त ? सभामा प्रमुख अतिथि बोलाउने अनि प्रमुख अतिथिले अन्त्य सम्म चाहिँ बस्नु पर्ने तर सभाका अध्यक्षले बोले पछि प्रमुख अतिथिलाई बोल्न दिने थिति बाँध्ने वेला आयो कि जस्तो लाग्छ मलाई । कार्यक्रम समयमा नै सुरु गर्नु पर्ने, कार्यक्रम सके सम्म छिटो छरितो सकिने तरिकाले राख्नु पर्ने, अनावश्यक मानिसलाई माइकमा बोल्न नदिने, बोल्नु नै पर्नेले २ मिनेट भन्दा बढी नबोल्ने, थिति बाँध्नु पर्छ होला ।
मेरा कर्म घरका बुवा स्व. भवनाथ खनाल राजा दङ्गिशरणको देश अर्थात् दाङको त्यस वेलाको जनता मावि मा पढ्नु भएको रहेछ, चितवनमा बाटो हिँड्ने कसैले 'मेरो घर दाङ हो' भनेका भए पनि उहाँले ती व्यक्तिलाई आफ्नो घरमा ल्याएर पुरा सत्कार गरेर राख्नु हुन्थ्यो । त्यसै जनता मावि दाङमा २०१२ सालमा एउटा काण्ड भएको थियो अरे, त्यस समय बुवाले अनसन बसेका वेलामा राजा महेन्द्रले पनि झुक्नु परेको थियो अरे । राजा महेन्द्रले पनि झुक्नु परेको काण्डलाई उहाँकै नामबाट 'भवनाथ काण्ड' का रूपमा त्यस वेलादेखि बुझ्न थालिएको रहेछ । आज त्यो काण्ड इतिहासमा परिणत भएको छ ।
नेपाली समाजमा बाह्र वर्षका थुप्रै उखानहरु प्रचलित छन् । बाह्र वर्ष रामायण पढ्यो, सीता कसकी जोई ? कसैका ग्रहदशा नराम्रा भए पनि बाह्र वर्ष पछि राम्रा हुन थाल्छन् रे । राशि पनि बाह्र ओटै छन् । पृथ्वीलाई सूर्यको परिक्रमा गर्न बाह्र महिना अनि वृहस्पतिलाई सूर्यको परिक्रमा गर्न बाह्र वर्ष लाग्छ । उन्यूको फुलेको त कुरै नगरौँ । बाह्र वर्षमा दीक्षान्त बल्ल बल्ल पाइएको थियो । नेपाल विद्याभूषणको फारम खुल्यो । लौ, पहिले राजाले तक्मा लगाइदिन्थे, त्यस्तै तक्मा लगाउन पाइने भइयो भन्ने के ठानेको त मैले एउटा अर्को उखान सम्झिएँ 'आसमान से गिरा खजुर पे अड्का' नेपाल विद्याभूषणमा पाउने ठाउँमा त ५ वा ६ वर्षदेखिको अर्को लाइन पो रहेछ । बल्ल बल्ल एउटा पर्खाइ सकियो भनेको त, अर्कोमा पनि पो त्यस्तै ? अब कहिले पाइएला त कोनि अर्को बाह्र वर्ष त पर्खनु पर्दैन होला नि ! कति लाजमर्दो कुरा हाम्रो देशको सरकारसँग नेपाल विद्याभूषण दिन तक्मा बनाउने पैसा पनि छैन रे ।
आज पटक पटक एउटा नेपाली गीत मेरो मुखमा आइरहेको छ-
प्रतीक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ
कहिले हँसाउँछ कहिले रुवाउँछ
आँशु र हाँसोको संगम पनि गराउँछ ।
हामीलाई त्यस दिन र त्यस्तो जेठको प्रचण्ड गर्मीमा दाङ पुग्नु भनेको एउटा ठुलो युद्ध जित्नु जस्तै थियो । त्यही माथि बनाउँदै गरेको धुमाम्मे बाटो पार गरेर । सबै विद्यार्थी र गुरुहरुले चाहिँ वेलैमा पुग्नु पर्ने तर नेताले चाहिँ ३ घन्टा ढिलो गरिदिँदा सबैको समय तालिका नै गडबढ भयो । आयोजक नेपाल संस्कृत विश्व विद्यालयले विदेशी पाहुनालाई बोलाएर कार्यक्रमको शोभा बढाउने सोच राखेको थियो तर हाम्रा देशका नेताहरुले भने समयको महत्त्व नै बुझ्न बाँकी रहेछ । प्रधानमन्त्रीलाई कुलपति बनाउने परिपाटी र विद्यालय तथा विश्व विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द नगरे सम्म हाम्रो देशको गाँजेमाजे र शिक्षाको अवस्था सुध्रिन्छ जस्तो मलाई लाग्दैन । विदेशी पाहुनाको अगाडि कार्यक्रममा समयमा नै आएर हाम्रो देशको उत्कृष्ट परिचय दिनु त कता हो कता बेइजत महसुस गराउने परिपाटीको अन्त्य हुन पर्छ भन्ने मलाई लाग्छ ।
कस्तो अचम्म ! विद्वानको कुनै कदर नै छैन हाम्रो देशमा । राजनीतिको कुर्सीमा आसिनलाई त्यत्रो इज्जत, अनि पढेलेखेका विद्वानको नि ? 'अतिथि देवो भव:' भन्ने नारा चाहिँ के नारामै परिणत भएको हो त ? 'बुझिन मैले बुझाइ देऊ कसैले' ।