18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मनि सप्लाइ

कविता वासुदेव अधिकारी September 12, 2025, 11:04 am
वासुदेव अधिकारी
वासुदेव अधिकारी

कहिले मिल्थ्यो
कहिले मिल्दैनथ्यो
मनि सप्लाइको अङ्क गणित
मनि बजार–बजार कुद्थ्यो
खल्ती–खल्ती चहार्थ्यो
चाल पाउनै कठिन
हिसाब निकाल्नै मुस्किल


तरल हो मनि
ग्यास हो मनि
भूमध्यसागरमा नाइल नदी लुकेझैँ
यो लुक्छ बेलाबेला
यो सुक्छ बेलाबेला
जब यो लुक्छ
हिसाब बिग्रिन्छ
जब यो सुक्छ
हिसाब डाँवाडोल हुन्छ
त्यतिबेला
बैंकमा पसिना आउँछ
विलुप्त च्यानलमा आनन्द वर्षा हुन्छ
ब्ल्याक होलमा फलिफाप प्रकटित हुन्छ


जब मनि ब्ल्याक होल पस्छ
केन्द्रीय बैंकको हिसाब गोलमाल हुन्छ
यसपालि जेन जीले
नमिलेको हिसाब खोज्दा
ब्ल्याक होल फेला पारे
केही टन खरानी निकाले
धेरै किलो सुन फेला पारे
र, केन्द्रीय बैंकलाई देखाए
हिसाब मिलाउन
जोखेर बराबर पार्न


हिसाब नमिलेकोमा
केन्द्रीय बैंक नपिरिएला अब ।


२८ भदौ, ०८२

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।