18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अज्ञात सहिद

कथा इ. विनोद खनाल September 15, 2025, 2:31 pm
इ. विनोद खनाल
इ. विनोद खनाल

आज २०४६ साल फागुन ७ गते त्यसैले सोम बहादुरको ठेला गाडाबाट छुट्‍टी । आजको फुर्सतको समय टुँडीखेलमा गएर बिताउँछ सोम बहादुर, हरेक वर्ष जस्तै । आजको दिन प्रजातन्त्र दिवस भन्ने उसलाई थाहा छैन तर उसलाई टुँडीखेलमा थुप्रै मान्छेहरु भेला हुन्छन् भन्ने चाहिँ थाहा छ । पोहोर साल उसले हेर्नै पाएन किन भने ऊ गाउँमै थियो । उसको घर सुदुर पश्चिम महाकालीमा छ र घरमा उसकी अर्धाङ्गिनी सुन्तली मात्रै छ ।

सोम बहादुर खाना खाएर एघार बजेतिर इन्द्रचोक पुग्यो । त्यहाँ गाउँतिरको बलेसँग भेट भयो । बलेसँगै ऊ बलेको डेरा ताहाचलतिर लाग्यो । एक बजे बलेको डेराबाट उनीहरु बसन्तपुर निस्किए, टुँडीखेल जान । पिपलबोटबाट सुन्धारा जान खोज्दा प्रहरीको एक हुल उनीहरुको अगाडि आइपुग्यो ।

'कता ?' एउटा प्रहरीले कडा स्वरमा सोध्यो ।

'त्यतै ।' सोम बहादुरले धरहरा देखाउँदै ङिच्च दाँत देखाएर भन्यो ।

'जुलसमा !' गिज्याउँदै बोल्यो अर्को प्रहरी ।

'जुलुसमा ?' सोम बहादुरले बुझेन ।

'भाग साले हो ।' अर्को प्रहरी करायो ।

सोम बहादुर र बले त्यता जान पाएनन् र किन जान पाइएन भन्ने पनि बुझेनन् । उनीहरु सिधै न्युरोड गेट हुँदै टुँडिखेलतिर लागे । त्यहाँ भित्र भन्दा बाहिर पेटीतिर मान्छे नै मान्छे देख्यो । उसले यति धेरै मान्छे जीवनमा देखेकै थिएन ।

टुँडिखेलबाट बाजागाजाका साथ र्‍याली निस्कियो । ऊ त्यही हुलको रमाइलोमा मिसियो र स्वरमा स्वर मिलाउँदै आकाश थर्काउने कोशिस गर्‍यो 'पञ्चायती व्यवस्था जिन्दावाद ।'
जुलुस न्युरोड गेट भित्र पस्यो । एक्कासी हुलमा खलबल मच्चियो, भिड तितरवितर भयो । बले र ऊ त्यही भिडमा छुट्‍टिए ।

'प्रधानमन्त्रीको गाडीमा उग्रवादीले ढुङ्गा हाने ।' उसले भाग्दा भाग्दै सुन्यो । फुटपाथमा थुप्रै मान्छेहरू उभिएर हेरी रहेका थिए र सोम बहादुर पनि त्यहीँ पुग्यो । त्यहाँबाट हेर्दा केही मान्छेहरु ढुङ्गा हानी रहेका र प्रहरीहरु मान्छे समात्न दौडी रहेको देख्यो । केही समयमै यो अवस्था साम्य भयो ।

'दाजु, यो उग्रवादी भनेको के हो ?' सोम बहादुरले नजिकैको एउटा मान्छेलाई सोध्यो । त्यो मानिसले एकछिन सोम बहादुरलाई घुरेर हेर्‍यो अनि बोल्दै नबोली फर्केर हिँड्यो । सोम बहादुर त्यहाँबाट फर्केर रत्नपार्कतिर लाग्यो ।

'ए बाबा ! आज संसार भरिकै मान्छे यहीँ उल्टे कि क्या हो !' सोम बहादुरलाई रत्नपार्कको भिड देखेर शङ्का लाग्यो । त्यहाँ पनि एउटा भिडले प्रहरी माथि ढुङ्गा र इट्‍टा बर्साए । भिड माथि प्रहरीले लठ्‍ठी चार्ज गर्‍यो, अश्रु ग्याँस प्रयोग गर्‍यो । सोम बहादुर डरले त्यताबाट भोटाहिटीतिर लाग्यो ।

जताततै लठ्‍ठी बोकेका पुलिस देख्दा सोम बहादुरलाई डर लाग्यो । 'आज के हुन लाग्यो ? मान्छेहरु किन यस्तरी उर्लिएका ?' सोम बहादुरको मनमा प्रश्न नउब्जिएको त होइन तर यसको समाधान गरी दिने कसले ?'

'आज त बि.बि.सी. सुन्नु पर्छ ।' नजिकै उभिएको एक व्यक्तिले आफ्नो साथीसँग भन्दै थियो ।

'दाजु, यो बेबिस भन्या के हो ?' सोम बहादुरले त्यस व्यक्तिलाई सोध्यो । त्यो मान्छेले पनि उसलाई घुरेर हेर्‍यो । सोम बहादुर त्यहाँबाट हिँड्यो ।

बेलुकी रेडियोमा उसले धेरै मान्छै मरेको समाचार सुन्यो । भोलिपल्ट पनि जताततै प्रहरीहरु थिए । उसले ठेलागाडा चलायो । उसलाई पैसाको निकै खाँचो छ, उसकी श्रीमती सुन्तली सुत्केरी हुनेवाला छे । यसैकारण उसले अचेल ठेलागाडा अबेर सम्म चलाउन थालेको छ ।

फागुन ८ गते बेलुकी समाचारमा भक्तपुरमा गोली चलेर केही मानिस मरेको खबर सुन्यो । उसले नेपाल बन्दले गर्दा ९ गते ठेलागाडा चलाउन पाएन । चलाउन खोजेको त हो तर साहुले दिएन । फुर्सत भएकाले उसले सुन्तलीलाई सम्झियो । उसले छोरोको कल्पना गरेको छ । अझ छोराका नाम पनि सोची सकेको छ । नपढेर र पढ्न नपाएर आफूले पाएको दुख सम्झेर उसले छोरालाई धेरै पढाउने सोचेको छ ।

दुई दिन पछि उसले एउटा विद्धार्थी नेताको सामान ठेलागाडामा राखेर लान पायो, अनि उसलाई सोध्यो 'अचेल प्रजातन्त्र प्रजातन्त्र भन्छन्, यो प्रजातन्त्र भनेको के हो ?'
'मानिसले आफूले बोल्न चाहेको कुरा खुल्ला रूपले बोल्न पाउनु नै प्रजातन्त्र हो ।' विद्धार्थी नेताले जवाफ दियो ।

'हामीलाई कसले रोकेको छ र ? यी हामी बोली रहेका छौँ ।' सोझो र सरल हृदयको सोम बहादुरले भन्यो ।

'बोल्नु भनेको कुरा गर्नु मात्र होइन । आफूलाई परेको पिर मर्का, ठुलाबडाले गरको अन्याय, अत्याचारको बारेमा सबैको सामु खोल्नु नै वाक स्वतन्त्रता हो, प्रजातन्त्र हो ।'
'त्यो त हो हजुर । बाटोका यी टाफिक (ट्राफिक) हरुले हामीलाई कम्ती दुःख दिँदैनन् र ! बोले लगेर खोराँ' जाक्छु भन्छन् ए गाँठे !' सोम बहादुरले समर्थन जनाउँदै भन्यो ।
'हो दाजु । तपाईँलाई एउटा पिर छ, मलाई अर्को पिर छ । यत्रो देशमा भएका जनताका अनेक पिर छन् । अन्याय र अत्याचारमा परेकाहरु बोल्न सकी रहेका छैनन् ।' विद्धार्थी नेताले रोकिँदै सोध्यो 'दाजुले पढ्नु'भाको छ कि छैन ?'

'हाम्रो गाउँमा स्कुल त छ बाबु तर के गर्नु गरिब भएकोले पढ्न सकिएन ।' सोम बहादुले दिक्क मान्दै भन्यो ।

'हेर्नोस दाजु, तपाईँ गरिब हुनु भएको हैन, गरिब बनाइनु भएको हो । बाहिर देशबाट जति सहयोग आउँछ ती सबै यहाँका ठुला भनाउँदाले आफ्नै पेटमा हाली रहेका छन् । तपाईँ र हाम्रो लागि आएको पैसाले घर, गाडी, जमिन किन्छन् । यी सबै कुराहरुको हामी खुल्ला रूपले विरोध गर्न पाउँदैनौँ, थाहा पाउनेले थाहा नपाउनेलाई भन्न पाउँदैनौँ । कर र विदेशबाट जम्मा भएको पैसाबाट तपाईँ हामी निःशुल्क पढ्ने सक्थ्यौँ तर हामी झन झन गरिब हुँदै गयौँ आफ्नो भाग्यलाई धिक्कार्दै । गरिबी, अशिक्षा र अस्वस्थताको पञ्जाबाट मुक्त हुन नै यति ठुलो सङ्घर्ष हुँदैछ । तपाईँ हाम्रो स्वतन्त्रताको लागि, तपाईँ हाम्रो छोरा छोरीको उज्ज्वल भविष्यको लागि नै यति ठुलो आहुति हुँदै छ । अर्काको अहित नगरी स्वतन्त्रतापूर्वक बाँच्न पाउनु नै प्रजातन्त्र हो ।'

सोम बहादुरले थोरै कुराले धेरै बुझ्यो किन भने उसलाई पनि त गरिबीको अनुभव छ । उसले पढ्न पाउने स्थितिको सिर्जना भएमा छोरालाई पढाएर ठुलो मान्छे बनाउने विचार गर्‍यो । उसले यस सङ्घर्षको कारण बुझ्न थाल्यो । रेडियोबाट आफू जस्ता सोझा, सरल, निष्कपट जनतालाई झुक्याउने कोशिस भई रहेको छ भन्ने बुझ्यो ।

चैत्र १७ गते पाटनमा ठुलो जुलुसले नगर पञ्चायत र प्रहरी कार्यालय तोडफोड गर्‍यो र केही व्यक्ति पुलिसको गोली लागेर मरे भन्ने उसले सुन्यो । त्यस पछि पाटनमा रात दिन शासक विरोधी नारा सहित जुलुस निस्की रह्यो । बाटो खनियो र आवतजावतमा अवरोध कायम गरी पाटनलाई मुक्ति क्षेत्र घोषित गरियो ।

सोम बहादुरको ठेलागाडाले काम पाउन छोडी सकेको थियो । उसले घर फर्कने विचार गर्‍यो । सुन्तलीको गर्‍हुङ्गो जिउ सम्झियो ।

२०४६ साल चैत्र २४ गते, राजाको घोषणा विरुद्ध पाटनले ४८ घण्टे प्रहरीको घेरा तोड्यो र जुलुस खुल्ला मञ्चतिर बढ्यो । कीर्तिपुर र भक्तपुरबाट जनताको ओइरो लाग्यो । यही हुल भित्र सोम बहादुर छिर्‍यो । पञ्चायती व्यवस्था र शासक विरुद्ध नारा लगाउँदै सोम बहादुर जुलुस सँगसँगै अगाडि बढ्यो ।

खुलामञ्चको भाषणले जनतालाई उत्तेजित पारी सकेको थियो । यसैले होला उत्तेजित जुलुसको केही भाग राजदरबार तर्फ सोझियो । जुलुसको अघि अघि सोम बहादुर थियो । हात आकासमा उचाल्दै कराई रहेको थियो –
'पञ्चायती व्यवस्था मुर्दावाद !'

प्रहरीले त्रिचन्द्र कलेजको उत्तर पूर्वी मोहडामा घेरा हालेर जुलसलाई रोक्यो तर केही समय पछि जुलुस त्यो घेरा तोडेर महेन्द्रको शालिकतिर अघि बढ्यो । एउटा मान्छे शालिकमा चढ्यो र जुत्ताको माला शालिकलाई लगाई दियो । सोम बहादुले हातमा भएको ढुङ्गालाई मुठ्‍ठी भित्र कस्यो ।

भिडमा खलबल मच्चियो । सोम बहादुरको नाक र आँखा पोल्न थाल्यो, खप्न नसकेर पछाडि हट्यो । प्रहरीले 'अश्रु ग्याँस' प्रयोग गरको थियो । शालिकमा चढेको व्यक्तिलाई सोम बहादुरले हेर्‍यो । चौडा छाती र ठुलो निधार भएको केटो निकै राम्रो देखिन्थ्यो । 'कस्तो ठुलो निधार भएको भाग्यमानी' सोम बहादुरले सोच्यो । उसले त्यस केटोमा आफ्नो छोरो देख्यो । त्यस केटाको हातमा ढुङ्गा थियो र उसको हात वायु वेगले शालिकतिर हानियो । एक्कासी वातावरणमा गोली चलेको आवाज आयो । त्यो केटा त्यहाँबाट तल खस्यो ।
'गोली चल्यो, भाग !" हुल तितरवितर हुन थाल्यो । सोम बहादुरले एकछिन सम्म केही सोच्न सकेन । त्यो केटा सँगसँगै आफ्नो छोरा खसेको अनुभव गर्‍यो । प्रहरीको गोली लागी आफ्नो छोरो ढलेको जस्तो लाग्यो उसलाई । सोम बहादुरले दाह्रा किट्यो र हातमा ढुङ्गा लिएर गोली हानी रहेको जवान तर्फ दौडियो ।
सोम बहादुरको अन्तिम आवाज वायु मण्डलमा घन्कियो –
'प्रजातन्त्र जिन्दावाद ।'

आज पनि सुन्तली सुदुर पश्चिमको एउटा झुप्रो घरको पिँढीमा बसेर हरेक बिहानी रसिला आँखा लिई आफ्नो जीवन सखा सोम बहादुरलाई पर्खी बसेकी छे । भारी बोकेर निमेक गर्ने सोम बहादुरको छोरो आमा सँगै हरेक साँझ पूर्व क्षितिजमा आफ्नो बाबुको कहिल्यै नदेखेको अनुहार खोज्ने गर्दछ । सोम बहादुरको सपना आन्दोलनमा मरेर त गयो तर अझै पनि उसकी श्रीमती र छोराको सोम बहादुर घर फर्कने सपना आँसुको आहाल भित्र बाँचेको छ । एउटा अज्ञात सहिद र उसको सपना इतिहासको गर्भ भित्र कहिल्यै नदेखिने गरी विलीन भयो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।