लेखराम सापकोटाको प्रेमिल आदेश
पाठकवृन्द, नारायणगढमा सम्पूर्ण किताब भन्ने किताबपसल छ । त्यसको सञ्चालक को हुन्, तपाईंलाई थाहा छ ? हो, त्यसैका सञ्चालक हुन् लेखराम सापकोटा । अब त उनलाई त चिन्नुभयो नि हैन ? उनी हेर्दा निकै सरल छन्, बोल्दा उत्तिकै सरस छन् । तर कुनै काम लगाउनुप¥यो भने नाइँ भन्न नसक्ने गरी मिठो आदेश गर्न चुक्दैनन् उनी । नभए तपाईं पनि एकचोटि सङ्गत गरेर हेर्नुहोस्, अनि आफैँ थाहा पाइहाल्नुहुन्छ ।
म यहाँ यति भूमिका किन बाँध्दै छु ? यहाँले अनुमान गर्नुभयो त ? कुरा यही २०८२ साल साउनको दोस्रो सोमबारको हो । दिउँसोका कक्षा केही होलो भएको हुँदा म सम्पूर्ण किताब नारायणगढतिर लागेँ । उनले मोटरसाइकलको पछाडि बसाएर कुदाए टिकौलीको जङ्गल कटाएर टाँडीतिर । कतै नरोकी पु¥याए स्काइराइडर बोर्डिङमा । त्यहाँ केही थान किताब बुझाएर दुई फन्को लौरीघोल घुमाए । बाटो नचिनेर पुनः टाँडी निस्किएर कमल अर्यालको घरमा पु¥याए । त्यहाँ दुई दुई कोसा घरमै पाकेको केरा खाएर हामी पुनः नारायणगढतिर हानियौँ ।
लेखरामजीले बाटोमा फर्कने क्रममा कुरा उठाए ‘सूतपुत्र’ उपन्यासको । जतिसक्दो चाँडो उक्त कृतिको चितवनमा अन्तक्र्रिया हुन लागेको हुँदा मसँग उपयुक्त पात्रको सुझाउ दिन भने । मैले फटाफट नाम सुझाएँ डा. एकनारायण पौडेल । उनले दोस्रो नाम पनि मागे । म केही बेर अक्मकाएको देखेर मलाई नै आग्रह गरे । मैले आफू पूर्वीय दर्शनमा कमजोर भएको कुरा गरेँ । उनले उक्त कृतिमा दर्शन होइन समाज भएको हुँदा तपाईं तयार हुनुपर्छ भने । उनको प्रेमिल आदेशको उल्लङ्घन गर्ने म बबुरोसँग कहाँको हिम्मत ? त्यसैले यतिबेला यहाँहरु मलाई झेल्दै हुनुहुन्छ । कुरा त बुझ्नुभयो नि ?
उपन्यासकार शंकरप्रसाद गैरेसँग मेरो बसउठ
पहिलोचोटि मैले डा. शंकरप्रसाद गैरेलाई ‘कृष्ण’ उपन्यासका लेखक भनेर चिनेको हुँ । त्यो उपन्यास पढेपछि मलाई लेखकका रुपमा उनी मन परेको हो । त्यो घटना कहिलेको हो भन्ने तिथिमिति भने यकिन छैन मलाई । त्यसको निकै पछि हुनुपर्छ फेसबुकमा उनको फ्रेन्डरिक्वेस्ट आयो । मैले उनको प्रोफाइल हेरेर तुरुन्तै एसेप्ट गरिहालेँ । सामान्यतः म प्रोफाइल लक गर्नेलाई साथीका रुपमा एसेप्ट गर्दिनँ । कोही ढोकामा भित्रबाट ताला लगाएर पाहुना बोलाउँछ र ? अझ के थाहा त्यो व्यक्ति ऊ स्वयम् नभएर फेक पो हो कि ? अनि पाठकवृन्द, तपाईचाहिँ यस्तोमा के गर्नुहुन्छ नि ?
म अलिक बहकिएँ, हो, म शंकरप्रसाद गैरेको कुरा गर्दै थिएँ । फेसबुकमा साथी बनेपछि हो हाम्रो भर्चुअल चिनजान भएको । उनीसँग पहिलो भौतिक भेट सायद सम्पूर्ण किताबमै भएको हुनुपर्छ । त्यसपछि तीनचारचोटि भेटियौँ होला हामी । त्यतिको भेटमै हाम्रो मित्रता काम चलाउ खालको छ भन्दा हुन्छ । पाठककवृन्द, सबैसँग गाढा मित्रता कहाँ हुन्छ र ? हैन त ?
कर्णलाई नायक बनाएका केही नेपाली कृतिहरुका कुरा
पाठकवृन्द, यहाँले ‘महाभारत’ ग्रन्थ पढ्नुभएको छ ? यदि पढ्नुभएको भए यहाँले पक्कै महसुस गर्नुभयो होला, यो पूर्वीय वाङ्मयको विशद ग्रन्थ हो हैन त ? त्यसो त महाभारतमा यति धेरै पात्रहरु छन्, तिनको गणना गर्दा नै अर्को ग्रन्थ बन्नसक्छ । यसमा पूर्वीय वाङ्मयका अन्य ग्रन्थका तुलना कथावस्तु र नायकको सङ्ख्या पनि अधिक छ । त्यस्तै नायकको भूमिकामा देखिने पात्र हो कर्ण । उसका बारेमा मैले नेपालीमा पहिलोचोटि पढेको उपन्यास हो राजेश्वर देवकोटाको ‘द्वन्द्वको अवसान’ । त्यसो त उपन्यास मात्र नभएर नवराज लम्सालको ‘कर्ण’ महाकाव्य पनि त पढियो नि ।
पाठकवृन्द, यहाँले ‘सूतपुत्र’ उपन्यास पढ्नुभयो त ? यदि पढ्नुभएको भए त पक्कै थाहा पाउनुभयो होला कि यो कृति अरुभन्दा फरक छ । यसमा उपन्यासकार शंकरप्रसाद गैरेले जातीय दलनको मुद्दालाई विशेष बनाएका छन् । यसमा आएका पात्रहरु पनि महाभारतमा भन्दा फरक छन् । उनीहरुको आनीबानी पनि फरक छ ।
‘सूतपुत्र’ उपन्यासको छोटो चिनारी
पाठकवृन्द, आज यहाँ परिचर्चा गर्न लागिएको ‘सूतपुत्र’ उपन्यासका सर्जक शंकरप्रसाद गैरे हुन् । यसको प्रकाशक बुकहिल पब्लिकेसन्स हो । शीर्षकसहितको जम्मा तेह्र खण्डमा विभक्त यो उपन्यासले कूल २५४ पृष्ठको आयाम बोकेको छ भने यसको मूलखण्डमा जम्मा २४९ पृष्ठ रहेको छ । प्रकाशकले यसको मूल्य रु. ६००।– राखेको छ । मूल्य सुहाउँदो छ कि छैन ? पछि चर्चा गरौँला है ?
पाठकगण, कुनै कृति पढ्दा यहाँ के कसरी गर्नुहुन्छ ? सिधै कृतिमा पस्नुहुन्छ कि ? भूमिका वा आवरणमा भएका सूचना पनि पढ्नुहुन्छ कि ? मचाहिँ थप सूचना लिएपछि कृतिभित्र पस्न मन पराउँछु । यो उपन्यासमा प्रकाशकद्वारा यसको पछाडिपट्टिको आवरणमा यस्तो लेखेर छापिएको छ :
“महाभारतको जगमा उभिएको मिथकीय पुनर्लेखनको पौराणिक–सामाजिक उपन्यास हो– ‘सूतपुत्र’ ।
महाभारतका महान् योद्धा कर्णलाई नायक बनाइएको यस उपन्यासले विभेदयुक्त समाजमा बाँच्न त्यसै त कठिन हुन्छ, अझै एक सचेत व्यक्तिका निम्ति त्यो कतिसम्म पीडादायी हुन्छ भन्ने कुराको वस्तुपरक मार्मिक चित्रण गरेको छ ।
जातीय विभेदलाई मुख्य विषयवस्तु बनाइएको यस उपन्यासले मान्छेको बाह्य आडम्बर र उसको वास्तविक जीवनको क्षयोन्मुख चरित्रको चित्रण गर्दै हाम्रै गाउँ–शहरको विम्बलाई प्रस्तुत गरेको छ ।” (गैरै, २०८२ ः आवरण)
पाठकगण, यति कुरा भनेपछि त ‘सूतपुत्र’ उपन्यासको सामान्य चिनारी पुग्यो होला नि ? नपुगेको भए आउनुस् बसेर गफ गरौँ । के के थप्नुपर्छ थप्दै गरौँला हुन्न त ?
‘सूतपुत्र’ उपन्यासको आख्यानतन्तु
पाठकवृन्द, यहाँलाई थाहा छ ? ‘सूतपुत्र’ उपन्यास पौराणिक विषयवस्तुमा आधारित उपन्यास हो नि ? अझ यसलाई पौराणिक कथालाई समकालीन समाजको रङमा घोलेर तयार पारिएको सामाजिक उपन्यास हो भन्दा पनि फरक पदैन । यसमा कर्णलाई नायक बनाइएको छ । महाभारतमा भएको घटनाको विमिथकीकरण गरेर प्रस्तुत गरिएको छ । आफ्नो कथा आफैँले लेखेको देखाएर यो उपन्यासभित्र कर्णलाई दानवीर, युद्धवीर, धर्मवीर मात्र नभएर कलमवीरका रुपमा पनि उतारिएको छ । यसभित्र महाभारतको युद्धको कथाभन्दा पनि त्योभन्दा अघिको कर्णले गरेका सङ्घर्षका कथाहरु उनिएको छ । आफू शूद्र जातिको भएका कारण कर्णले जीवनमा भोग्नुपरेका यावत् दुःख र पीडाको फेहरिस्त हो, ‘सूतपुत्र’ उपन्यास ।
लेखक शंकरप्रसाद गैरे एउटा आख्यानकार मात्र नभएर कुशल समालोचक पनि हुन् । ती कुरा उनका समालोचनाहरुले बताउँछन् । पाठकवृन्द, त्यसका लागि अन्त गइराख्नु पर्दैन, उनको यसै उपन्यासको अन्त्यमा रहेको ‘अब यत्ति भन्छु !’ शीर्षकको लेखकीय अभिमतका यी हरफहरु पढे पुग्छ:
कर्ण राजकुमारीका गर्भमा हुर्किए । हस्तिनापुरजस्तो शक्तिशाली राज्यको सान्निध्य पाए र अङ्गदेशको राजा नै भए । परन्तु अर्कातिरबाट हेर्दा उनको जीवन सधैँ अपमान र तिरस्कार सहेर बित्यो । राजकुमारीका गर्भमा हुर्किए पनि नाजायज सन्तानका रुपमा नदीमा बगाइनु, बग्दै गरेको अवस्थामा दलित जातिको हात लाग्नु र उनीहरुको सन्तानको रुपमा पालिनु कर्णको जीवनका दुःखद पक्ष हुन् ।
उनलाई बाल्यकालमा आफ्नै समाजले दलित भनेर अपमान गरिह्यो । दलित भएकैले द्रोणाचार्यको गुरुकुलमा प्रवेश पाएनन् । परशुरामसँग सत्य लुकाएर शिक्षा लिनुप¥यो । दलित भनेरै दीक्षान्तमा सहभागी हुन दिइएन । सर्वश्रेष्ठ धनुर्धर भए पनि स्वयंवरमा द्रौपदीबाट तिरस्कृत हुनुप¥यो । दुर्योधनले समेत शूद्र भन्ने अपमानबोधक व्यवहार गरे । शूद्र भनेरै भीष्मले युद्धमा सहभागी हुनबाट वञ्चित गरे ।
कर्णजस्तो शक्तिशाली व्यक्तिले आफ्नै समाजमा अपमानित जीवन बाँच्नुप¥यो । जितेन, लाक्षा, ठूला, मञ्झिकाजस्ता असङ्ख्य पात्रहरु आज पनि समाजमा दिनप्रतिदिन जातीय विभेदको शिकार भएका छन् । आर्थिक शोषण, शारीरिक तथा यौन शोषण, सामाजिक विभेद, शैक्षिक आदि क्षेत्रमा विभेदको शिकार भैरहेका छन् । यही कुरा उपन्यासले प्रस्तुत गरेको छ ।
यो उपन्यास त्यस्तो पुरानो ऐना हो, जसले जातीय विभेदग्रस्त वर्तमान समाज देखाउँछ । आफूलाई उच्च र कुलीन भन्नेहरु भित्रभित्र कतिसम्म पतित छन्, उनीहरु स्वार्थकार निम्ति आफ्ना मूलयमान्यताहरुलाई कसरी तिलाञ्जलि दिन सक्छन् भन्ने कुरा यस उपन्यासले देखाउँछ भन्ने मेरो विश्वास छ । (गैरै, २०८२ ः २५१–२५२)
पाठकवृन्द, लेखक स्वयम्ले आफ्नो कृतिका बारेमा गरेको यति सुन्दर र स्पष्ट टिप्पणीपछि मैले केही कुरा थप्नुपर्छ र ? थप्नुपर्ने भए भन्नुहोला है । मैले ज्यादा बोल्दा यहाँलाई दिक्क पनि त लाग्ला नि हैन र ?
‘सूतपुत्र’ उपन्यासमा चित्रित समाजमा महाभारत कालको छनक
पाठकगण, ‘सूतपुत्र’ उपन्यासको आख्यानको मूल स्रोत महाभारतकालीन समाज हो । त्यसमा पनि कर्णले भोगेको बाल्यकाल र युवाअवस्थामा गरेका सङ्घर्ष नै यसको मूल कथ्य हो । यसरी महाभारतकालीन नायकको चित्रण गरेपछि यसमा महाभा रतकालीन समाज नै आउनुपर्छ नि हैन त ? यस उपन्यासमा आएका े एउटा सन्दर्भ हेरौँ है त :
केही क्षणमा खाल्टा खन्नेहरुले आफ्नो काम सम्पन्न गरे र खाल्टोमा दुईवटा खाँबा गाडे । खाँबामा एउटा बलो तेर्सो पारेर बाँधे । त्यसपछि युवकलाई नाङ्गो पारेर त्यही बलोमा बाँधिदिए । अर्कोले एक सुराही पानी ल्याएर उसको टाउकोबाट खन्याइदियो । त्यो चिसो सिरेटोमा खुला मैदानमा त्यसप्रकारको यातना किन दिएको होला ? त्यसले के अपराध ग¥यो होला ? मेरो मनमा यही प्रश्न उठिरहेको थियो ।
एक ब्राह्मण आएर भने, “यस अपराधीलाई तीन दिनसम्म यसैगरी दिनभर यहीँ बाँधिनेछ । साँझ सूर्यास्तपछि यसको बाबु आएर लैजानेछ । यदि यसलाई कसैले सहयोग गर्न खोज्यो भने उसले पनि यातना पाउनेछ ।” (गैरै, २०८२ ः २९)
माथिको साक्ष्यमा आएको घटना काल्पनिक भए पनि महाभारतकालीन देखिन्छ भने यसमा प्रयोग भएको संवाद भने हिजोआजको जस्तो लाग्छ । यसमा उत्तरवैदिक कालका शब्दहरु छैनन् । त्यस्तै संवादमा प्रयोग भएको शैली पनि यतिबेला जस्तो देखिन्छ । त्यस्तै अर्को सन्दर्भ पनि हेरौँ न त:
दुर्योधन आफ्नो ठाउँबाट उठे । उनले सभालाई सम्बोधन गरे र कृष्णतिर हेरेर भने, “महाराज, केही दिनदेखि द्वारकाधीश हस्तिनापुरमा हुनुहुन्छ । उहाँलाई लागेको छ, हामी कौरवहरु र पाण्डवहरुबीच वैमनस्य छ । हामी एक ठाउँ बस्न सक्दैनौँ । त्यसकारण उहाँ हाम्रो मेल गराउन प्रयत्नरत हुनुहुन्छ । उहाँसँग त्यस्तो के योजना छ, त्यो उहाँ स्वयम् प्रस्तुत गर्नुहोला ।”, दुर्योधनको अभिव्यक्तिमा कृष्णप्रति पर्याप्त तिरस्कार, व्यङ्ग्य र असन्तुष्टि थियो । तर कृष्ण उनका कुरा सुनेर मुस्कुराइरहेका थिए । कसरी सहन सक्छन् कृष्ण ? म अचम्मित भएको थिएँ । (गैरै, २०८२ ः २२२)
माथिको दोस्रो साक्ष्यमा प्रयोग भएको घटना पूर्णतः महाभारतको कथासँग मेल खान्छ । यसमा प्रयोग भएको भाषा र शैली भने हिजोआजकै जस्तो छ । संवादमा पनि त्यतिबेलाको छनक पाइँदैन । यी त केही साक्ष्य भए । यस्ता साक्ष्य उपन्यासमा प्रशस्त छन् । सबाल्टर्नमैत्री बनाउने ध्येयमा उपन्यासकारले पौराणिक उपन्यासलाई पनि सामाजिक बनाउन पुगेका छन् । यसर्थ यो सूतपुत्र उपन्यासमा महाभारतकालीन समाजको छनक पाइँदैन भन्ने निष्कर्षमा पुगेँ म त । आफ्नो मौलिक धारणा बनाउनका लागि एक पटक कृति पढ्नुहोस् है त पाठकवृन्द ?
‘सूतपुत्र’ उपन्यासमा सीमान्तीयता
पाठकवृन्द, खासमा सबाल्टर्न भनेको समाजमा विविध कुराले पछाडि पारिएको वर्ग हो । यसको बारेमा गायत्री चक्रवर्ती स्पिभाकले क्यान सबाल्टर्न स्पिक ? भनेर पहिलो पटक बहस थालेकी हुन् । यसका बारेमा विभिन्न विद्वान्हरुले चर्चा गरेका छन् । ती चर्चाहरु राख्दा लामो होला नि हैन त ? यहाँ केही त प्रकाश पार्नै पर्ला । यसका लागि मैले वरिष्ठ नेपाली समालोचक मोहनराज शर्माका भनाइ साभार गरेको छु । उनले सबाल्टर्न वर्गको प्रतिनिधित्वको सामाथ्र्य र उनीहरूको प्रतिरोधी क्षमताका विषयमा ‘भृकुटी’ पत्रिकामा लेखेका छन् :
“गायत्री चक्रवर्ती स्पिभाकले के अबरजन बोल्न सक्छन् भन्ने प्रश्न उठाएकी छिन् । यस प्रश्नको उत्तर पनि उनले नै दिएकी छिन् । उनका विचारमा अवरजन आफ्ना निम्ति आफैँ बोल्न सक्दैनन् । तसर्थ बौद्धिक वर्गले तिनका लागि बोलिदिनु पर्छ भन्ने उनको मान्यता रहेको छ । त्यसो त अबरजन आफ्ना दुःख सुख व्यक्त गर्न सक्दैनन् भन्ने होइन तर त्यस्ता अभिव्यक्तिको स्वर ज्यादै मसिनो भएकाले नसुनिएर आफैँ दबिन्छ वा अरु कसैले नसुनोस् भनेर शक्तिशालीद्वारा दबाइन्छ ।” (शर्मा, २०७० ः ३१८)
सबाल्टर्नको चर्चा गर्दै आफ्नो उपन्यासमा यसको प्रयोग कसरी भएको छ भन्ने पुष्टि गर्ने गरी ‘सूतपुत्र’ उपन्यासमा ‘अब यत्ति भन्छु !’ शीर्षकको लेखकीयमा उपन्यासकार गैरै यस्तो लेख्छन् :
“साहित्यमा पहिलेदेखि उपेक्षित रहेको र पछिल्लो समयमा मात्र मूलधारका कृतिमा समेटिन थालेको पिछडिएको वर्गको केन्द्रीयतालाई सबाल्टर्न भनिन्छ । यसलाई नेपालीमा सीमान्तीय लेखन भनिन्छ । महाभारतको काथामा त्यस्ता थुप्रै पात्रहरु देखिन्छन्, जसलाई यस कोणबाट पुनर्लेखन गर्न सकिन्छ । तीमध्ये कर्ण एउटा त्यस्तो पात्र हो, जो राजनीतिको केन्द्रमा रहेर पनि सधैँ दलित भनेर अपमानित भइरह्यो ।” (गैरै, २०८२ ः २५१)
पाठकवृन्द, म यहाँ ‘सूतपुत्र’ उपन्यासभित्र सबाल्टर्नका लागि के कस्ता सन्दर्भ दिइएको छ ? चर्चा गर्नका लागि केही साक्ष्य लिँदै छु । उपन्यासको दोस्रो खण्डको सुरुमै आएको एउटा सन्दर्भ जहाँबाट कथाको उठान भएको छ, त्यसलाई एक पटक हेरौँ है :
दिनभर सँगै खेलेको छिमेकी साथी गजाधरलाई मैले त्यस दिन धेरैपटक पराजित गरिदिएको थिएँ । त्यही पराजयको आह्रिसमा उसले साँझ ‘इनारको पानी छोइस् ?’ भनेर मलाई एक धक्का लगायो । इनारको चिप्लो ढुङ्गामा उभिएको म हिलोमा पछारिन पुगेँ । मलाई रिस उठ्यो । मैले उसलाई समातेर त्यही हिलोमा पछारिदिएँ । ‘पख् ! अछूत भएर ब्राह्मणको छोरामाथि हात हालेको फल म तँलाई देखाउँछु ।’, ऊ ¥यालसिँगान हुँदै रोइरहेको थियो र घरतिर जाँदै यसो भनिरहेको थियो ।
मैले उसको कुराको वास्तै गरिनँ । आफ्नो शरीरमा लागेको हिलो पखालेर घरतिर लागेँ । घर पुग्दा माता आँगनमै हुनुहुन्थ्यो । मलाई देखेर सोध्नुभयो, ‘अरे कर्ण ! तिमी त भिजेर आएका छौ ! के भयो ?’
म मातापितालाई कुनै कुरा लुकाउँदिनथेँ । सबै बताइदिएँ । म झूटो बोल्दिनँ भन्ने मातापितालाई विश्वास थियो तर आज मैले जुन काण्ड मच्चाएको थिएँ, त्यो ब्राह्मण समाजको निम्ति असह्य थियो । (गैरै, २०८२ ः १९)
माथिको साक्ष्यमा आफूलाई शूद्र ठान्ने कर्णले ब्राह्मणको छोरालाई हिलोमा पछारिदिएको कुरा आएको छ । यस्तो कुरा सबाल्टर्न पात्रले गर्नै सक्दैन, अझ त्यसमा पनि जातीय विभेदको चरम रुप भएको महाभारतकालीन समाजमा कसरी सम्भव छ ? त्यस्तै गरी सोही घटनासँग सम्बन्धित अर्को उद्धरण हेरौँ है त :
माताले भन्नुभयो, “ब्राह्मणदेव कर्णको भनाइअनुसार हजुरको छोराले पहिला हातपात गरेको हो र पनि शूद्र भएको नाताले म हजुरसँग क्षमा माग्छु ।” माताले बिना कसुर क्षमा मागेको मलाई पटक्कै चित्र बुझेन । शशिधरले औँला उठाएर “भनिदिएको छु राधा ! तेरो छोरो भएर मात्रै; नत्र ! आइन्दा सम्झाएस् !” भन्दै घरतिर लागे । (गैरै, २०८२ ः २०)
माथिको दोस्रो साक्ष्यमा आफ्नो छोरालाई शूद्र कर्णले हिलोमा पछारेका कारण रिसाएर आएको शशिधर ब्राह्मण कर्णकी माता राधाले माफी मागेका भरमा माफी दिएर फर्केको कुरा गरिएको छ । यो त झन् सबाल्टर्नमैत्री घटना हुँदै होइन । त्यस्तै ‘सूतपुत्र’ उपन्यासको अन्तिम खण्डमा आएको कर्णसँग सम्बन्धित यो सन्दर्भ हेरौँ है :
कर्णको निधनपश्चात् कृष्णले पाण्वहरुलाई भने, “जीवनभर शूद्र हुनुको अपमान सहने; सूतपुत्रका रुपमा अपमानित हुने कर्ण एक क्षत्रीय मात्र होइनन्, एक महान् क्षत्रीय हुन् । त्यति मात्र होइन, उनी तिमीहरुका दाजु हुन् । तिमीहरुको मनमा अहिले यही प्रश्न छ, ‘थाहा पाएर पनि यो कुरा किन गोप्य राखियो ?’ हो, तिमीहरुको न्यायका लागि युद्ध आवश्यक थियो र युद्धका निम्ति यो कुरा गोप्य रहनु अति आवश्यक थियो । बस्, तिमीहरु अहिले यत्ति बुझ ।” (गैरै, २०८२ ः २४९)
माथिको तेस्रो साक्ष्यमा त कर्णलाई एक महान् क्षत्रीय भनिएको छ । महान् क्षत्रीय भनिए पछि ऊ कसरी सबाल्टर्न भयो । ऊ लिङ्गले पुरुष, जातले क्षत्रीय, कार्यले अङ्देशको राजा, पेशाले योद्धा, सम्पत्तिका हिसाबले धनी र दानवीर पनि भएका कारण उसमा सबाल्टर्नका कुनै गुण देखिँदैन । बरु छोटो भूमिकामा देखिने जितेन, लाक्षा, ठूलाहरु सबाल्टर्न हुन् । माला कर्णकी पत्नी भएर रानी बनेकी छे भने मञ्झिका सुरुमा सबाल्टर्न भए पनि शशिधरले आफ्नै घरमा चोरी भएको नाटक गरेर सारा गरगहना उसलाई दिएपछि उसको जीवन सुख सयलमा बितेको देखाइएको छ । उसलाई पनि कसरी सबाल्टर्न मान्ने ?
मैले यति धेरै चर्चा किन गरेँ होला त पाठकवृन्द ? सबाल्टर्न नेपालीमा आयातित साहित्य सिद्धान्त हो, म यसका बारेमा प्रस्ट छु । खासमा सबाल्टर्न पात्र समाजमा पूर्णतः हेपिएको हुन्छ, आफू हेपिएको कुरा ऊ आफैँ बोल्न सक्तैन, लेखकले अरुका माध्यमबाट बोलिदिनुपर्छ । तर यो उपन्यासमा नायक कर्ण आफैँ बोलेको छ । यदि ऊ सबाल्टर्न नै भएको भए के त्यस्तो सम्भव हुन्थ्यो ? यो कुरालाई लिएर लेखकसँग मेरा यी जिज्ञासाहरु छन् :
१. के कर्ण महाराज धृतराष्ट्रका सारथी अधिरथका पुत्र नभएका भए त्यति निडर हुन सक्थे ?
२. साना साना कुरामा शूद्रलाई दण्डित गर्ने ब्राह्मण समाजमा कर्णलाई शशिधरले किन कार्वाही गरेन ?
३. के कर्ण त्यति शूरवीर हुनु सबाल्टर्न हुनुको द्योतक हो ?
४. के कर्णले साँच्चैको सबाल्टर्न जीवन बाँचे त ?
५. साँच्चै, के सबाल्टर्नले नायकत्वको भूमिका निभाउन सक्छ ?
शंकरजी, यी प्रश्नको उत्तर अहिल्यै तात्तातै दिनुपर्छ भन्ने केही छैन । कुनै माध्यमबाट मसम्म आइपुगे हुन्छ । मनमा लागेको कुरा राखेको क्या । फेरि विद्वता छाँट्योचाहिँ नभन्नुहोला नि ।
समापननका केही शब्द
पाठकवृन्द, म महाभारतको ज्ञाता होइन । महाभारत छिचोल्नु मेरो वशको कुरा पनि होइन । म यसका बारेमा बुझ्नुपर्दा अन्य स्रोतको खोजी गर्छु । आजको भरपर्दो स्रोत गुगल भन्छ, “कर्णका दुई पत्नी थिए व्रुशाली र सुप्रिया । कतैकतै उनकी अर्की पत्नी पद्मावतीको पनि चर्चा पाइन्छ । उनका जम्मा नौभाइ छोराहरु थिए ।” मैले कर्णकी पत्नी भनेर कतै पनि मालाको नाम पढिनँ । त्यसैले पुराण र इतिहासबाट कथावस्तु लिएर पुनःसिर्जना गर्दा मुख्य पात्रको परिवारका बारेमा लेख्दा सोच्नु पर्छ कि पर्दैन ? अन्य पात्रका बारेमा भने म सन्तुष्ट छु । यत्तिको कल्पना नभए त नयाँ किताब किन पढ्नु र ? हैन त पाठकवृन्द ?
अन्त्यमा नवीनतम कृतिका लागि उपन्यासकारलाई धेरै धेरै बधाई छ । उनको यो उपन्यासको अपार सफलताको शुभकामना पनि छ । मेरो भनाइ सक्नुअघि उपन्यासकारलाई एउटा सुझाउ छ, यदि तपाईं सबाल्टर्नमै काम गर्ने हो भने पात्रचयन पनि त्यस्तै गर्नुुस् । शक्तिशाली नायक होइन, कमजोर पात्रको जीवन उतार्नुस् । तपाईं कृष्ण र कर्णमा त गइहाल्नुभयो । यदि महाभारतमा एकोहोरिएर लाग्ने हो भने अब जीवनभर शूद्रकै रुपमा बाँच्ने अधिरथको कथा लेख्नुस् । उसले जीवनमा गरेका सङ्घर्षलाई उतार्नुस् । निषधबाट ऊ कसरी हस्तिानपुर दरबारमा पुग्यो ? उसले दरबारमा के कस्ता पीडा र यातना भोग्यो ? त्यसका बारेमा बताउनुस् । तपाईंको भाषा जादुमयी छ, पढिदिने हामी छँदै छौँ । छापिदिने त पक्कै होलान् । यिनै खुद्राखाद्री गफ गर्दै आजको मन्तव्य यहीँ समापन गर्छु । यहाँको जय होस् ।
सान्दर्भिका
गैरै, शंकरप्रसाद (२०८२), सूतपुत्र, काठमाडौँ ः बुकहिल पब्लिकेसन्स प्रा.लि. ।
प्रभात, रमेश (२०७३), सेतो धरती उपन्यासमा सबाल्टर्न, अप्रकाशित लघुअनुसन्धान, भरतपुर ः अनुसन्धान समिति वीरेन्द्र बहुमुखी क्याम्पस ।
शर्मा, मोहनराज (२०७०), “अवरजन अध्ययन र साहित्य”, भृकुटी, भाग १९, पृ. ३१४–३२५ ।