अक्षत अन्टार्कटिका (२०८१) नियात्राकार जीवा लामिछानेको तेस्रो यात्रा संस्मरणको कृति हो । यसअघिका उनका कृति हुन् – सर्सर्ती संसार र देशदेशावर । ती अनेक ठाउँहरूका यात्रामा आधारित छन् तर यो एकै अन्टर्कटिका विषयमा केन्द्रित छ । यो लेखकको बाह्रदिने यात्राको उपलब्धि हो । यसमा उनले आफ्ना आँखा र ब्रह्मले देखेका कुरा व्यक्त गरेका छन् । अन्टार्कटिका अस्ट्रेलिया महादेशसँग जोडिएको ठूलो श्वेत महादेश हो, जहाँ हिउँ नै हिउँले ढाकिएको छ । यो कुनै देशको भूभाग नभएर सबैको साझा भूभाग हो । यो साझा सन्धिनियमले चलेको छ । यहाँ कुनै शासक छैनन् र यहाँ स्थायी वासिन्दा पनि छैनन् । यो संसारकै पाँचौँ ठूलो भूभागमध्ये एक हो । अत्यधिक चिसोका कारण मानिस जन्मने, हुर्कने स्थिति छैन र अन्नपात उब्जाउ हुने वातावरण पनि छैन । लेखककै शब्दअनुसार साह्रै चिसो, सुख्खा र हुण्डरी चलिरहने एक्लो थलो हो । प्राकृतिक सत्य र सरोकारसित साक्षात्कार गर्न पाउने एउटा विशिष्ट र बेग्लै संसार पनि हो । व्यापार, मुनाफा र खानी पाइन्छ कि भन्ने खोज यात्राकै क्रममा यो नयाँ भूभाग पत्ता लागेको हो । कल्ले पत्ता लगायो त्यो भने स्पष्ट छैन । यहाँ विभिन्न देशका वैज्ञानिक आ–आफ्ना अनुसन्धान केन्द्र खोलेर आफ्ना शोधखोजलाई अघि बढाइरहेका छन्, त्यस्ता अनुसन्धान केन्द्र त्यहाँ सत्तरीभन्दा अधिक रहेका छन् । त्यहाँ कुनै खाद्यान्न छैन, आआफ्नै किसिमले खाद्यान्न लगेर जीविका गरिरहेका छन् । वैज्ञानिकहरूको आवतजावतकै क्रमबाट अस्थायी रूपले त्यहाँ संस्थाहरू चलिरहेका छन् । त्यहाँको समुद्रमा त्यहाँकै वातावरणअनुरूप जीवजन्तु रहेका छन् । हाम्रो देश सगरमाथामा पर्यटकहरू आकर्षित भएझैँ त्यहाँ पनि पर्यटकहरू आकर्षित हुँदै गएका छन् । त्यहाँको यात्रा अतिशय महङ्गो र कठिन यात्रा हो तर पनि सक्षम व्यक्तिहरूले त्यसको अवलोकनमा रुचि लिएरहेका छन् ।
लक्ष्मी र सरस्वती दुवैको वरदान पाएका जीवा लामिछानेमा यात्राप्रतिको उत्साह उत्कट देखिन्छ । विश्वका एक सय तीसभन्दा बढी देश घुमिसकेका उनले यात्राबाट नवीन तथ्यहरू उजागर गरी शोध र साहित्य दुवैमा आपूmलाई कीर्तिमान गराउन चाहन्छन् । यस उद्देश्यमा धन–दौलतले मात्र होइन परिवारले पनि प्रेरणा र उत्साह थपेको पाइन्छ । उनको त्यो यात्रा मनोरञ्जक मात्र नभएर साहसिक यात्रा हो । उनले भूगोल, इतिहास र पर्यावरणको गहिरो अध्ययन गरेर यात्राका आवश्यक वस्तुहरूसहित राम्रो तयारीका साथ यात्रा गरेका छन् र सबैका निम्ति पठनीय र महत्वपूर्ण सामग्री प्रस्तुत गरेका छन् । यस कृतिमा उनले आफूले अवलोकन गरेका, भोगेका र अनुभव गरेका यात्राका मनोरम अनुभूतिहरूलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरेका छन् । उनका वर्णनमा पर्यावरणीय परिवेश सजीव रूपमा उत्रिएको छ । यसक्रममा उनले यसै भूभागको यात्रासम्बन्धी कैयन कृतिहरू पढेका छन्, सोधपूछ गरेका छन् । यात्रा विषयक सजगता र होसियारी अपनाउँदै अध्ययन र अवलोकन दुवैलाई आधार बनाएर कथ्यलाई उत्कृष्ट तुल्याउँदै कथा, किम्बदन्ती र ऐतिहासिक तथ्यसहित सूचना प्रवाह गरिरहेका छन् ।
‘अक्षत’को अर्थ हो – कुनै क्षत वा नाश नभएको स्थिति अर्थात् क्षत नभएको अखण्ड, मौलिक र शुद्ध । अन्टर्कटिकाको विशेषणका रूपमा कृतिको नामकरण अक्षत अन्टर्कटिका राखेका छन् । मानवीय लोभ र उपयोगले नबिगारेको मौलिक, प्राकृतिक, शुद्ध र पवित्र परिवेश भन्ने अर्थ र आशयमा यसको शीर्षक सार्थक रहन गएको पाइन्छ ।
यसमा उनले कतै मनोसंवाद, कतै अन्तर्संवाद, कतै कथा–किम्बदन्ती, कतै तत्स्थानप्रतिका चिन्तन, धारणा वा दृष्टिकोण, कतै खोज–प्रतिवेदन आदिले कथ्यलाई रोचकतापूर्वक गति प्रदान गरेका छन् । छोराको शोधखोज र विचारले पनि अध्यायले राम्रो रूप लिएको छ । उनले जेजस्तो अनुभूत गरेका छन् तिनलाई पाठकमा सम्प्रेषित गर्दै यात्राको महŒवपूर्ण र मिठो अनुभव गराएका छन् । यात्रालाई कौतुकमय बनाउन सरल, सरस र स्पष्ट शब्दावलीमा भावना र विचार सम्प्रेषित गर्नु, सूचनाहरूलाई पनि कलात्मक रूपमा प्रस्तुत गर्नु, विद्वान् कविहरूका महŒवपूर्ण भनाइ उद्धृत गर्नु लामिछानेका शैलीको विशेषता नै हो भन्ने देखापर्छ । उनी यात्रालाई एकोहोरो रूपमा वर्णन नगरी बहुआयामिक कोणबाट अनुभूति र विचारहरूको संयोजन गर्छन् । उनले चित्रणका क्रममा भावुकता र कल्पनाशीलताको पनि यथेष्ट उपयोग गरेका छन् । घटनाहरूको तारतम्य र सिलसिला पनि मिलाएर प्रस्तुत भएकाले उनका यात्रासंस्मरणहरू रुचिकर बनेका छन् । वर्णनका क्रममा कहीँ संवेदनाले फट्का मारेको स्थिति पनि नपाइने होइन । जस्तै आकाशीय उडानमा संवेदनाको लहर एकाएक छुटेको छ ।
यसमा जम्मा सत्ताइसवटा यात्रापरक संस्मरण छन् । आत्मकथ्यलाई समेत गणना गर्दा भने अठ्ठाइस हुनपुग्छ । त्यसो त एक सङ्क्षिप्त मौनालाप, आभार/अनुभूति, म/छोरा तीनैलाई आत्मकथ्यको रूपमा छुट्याउँदा यसमा पच्चीसवटा मात्र संस्मरणहरू रहन्छन् । ती सबै रोचक, ज्ञानबद्र्धक र काव्यात्मक छन् । चिसोमा पनि उनी प्रकृतिको अनुपम सौन्दर्य देख्छन् । हिउँसँग खेल्ने, नाच्ने र आनन्दित हुने उनको स्वभाव र प्रवृत्ति देखिन्छ । उनी जिज्ञासु पनि छन् उनले कतिपय परिवेश र पर्यावरणप्रति भावुक हुँदै आफ्नो संवेदनामय भावना प्रकट गरेका छन् । चिसो, सुख्खा र हुण्डरी चलिरहने ठाउँमा वितृष्णा पैदा हुनुपर्नेमा भावुक संवेदना कसरी जागृत हुनपुग्यो, यो भने विचारणीय छ । जे होस् अन्टर्कटिकाको इतिहास, भूगोल, पर्यावरण र जीवजन्तुबारे लेखिएको यो महŒवपूर्ण कृति अनुभव हुन्छ ।
विधागत रूपमा यो संस्मरण हो कि नियात्रा, लेख हो कि प्रबन्ध अन्यौल हुन्छ । प्रकाशकले यसलाई संस्मरण भनेका छन् भने भूमिकाकारले यसलाई नियात्रा भनेका छन् । मनन गर्दा खासमा यो दुवै हो । यथार्थमा यात्रापरक निबन्धात्मक संस्मरण हो । नियात्रा र संस्मरण दुवैमध्ये एकको उल्लेख गर्नुपर्दा यो प्रकाशकले भनेझैँ संस्मरण हो । यसमा गतिचिन्ता, स्थितिचिन्ता, नैबन्धिकता सबै तŒव सन्निहित छन् । सबै तत्व हुँदाहुँदै संस्मरणकै प्राबल्य रहेकाले संस्मरण भन्नु नै समीचीन छ । त्यसो त स्थूल रूपमा यसलाई नियात्रा भने पनि फरक पर्ने लाग्दैन । किनभने यात्राकै गतिभित्र सबै तत्वहरू समेटिएका छन् । लेखक स्वयम्ले यसलाई स्मृति, अनुभूति र बुझाइको सिर्जना हो भनेकाले पनि संस्मरणकै अधिक पुष्टि हुन्छ र संस्मरण भन्नुमा नै यसको सार्थकता रहने देखिन्छ । यसमा प्रयुक्त कथ्यात्मकताले यसलाई अझ कौतुकमय र मर्मस्पर्शी तुल्याएको छ । यसमा समाविष्ट साहस र सङ्घर्षका कथाले यसको प्रभावकारितालाई चारचाँद लगाएको छ । यी सबै संस्मरणहरू लोमहर्षक, आनन्दप्रदायक छन् तर पनि साहस कथाले अत्यधिक प्रभाव पारेको छ । यो कथा हो कि यथार्थ घटना छुट्याउनै मुश्किल पर्छ । यसले सम्बन्धित पात्रप्रति सम्मानको भावना जगाउँछ । यसमा पेन्गुइन, सल र ह्वेलका गतिविधि, स्वभाव र प्रवृत्तिहरू रुचिकर विषय बनेका छन् । यसमा शिकारका घटना पनि वर्णित छन्, तिनले वस्तुगत ज्ञान, प्रेरणात्मक ऊर्जा र सन्देश प्रदान गर्दछन् ।
यसमा डर, खुसी, त्रास, चिन्ता, उद्विग्नता, करुणाभाव जागृत गर्ने अनेक घटना र प्रसङ्गका वर्णनहरू समाविष्ट छन् । जस्तै ः छालसँग सङ्घर्ष गर्दाका वर्णनहरू, यात्राका पूर्वयोजनाहरू, मानिसले ह्वेललाई ढुङ्गाले हानेर खाल्टो परेको र घाउ भएको बीस वर्षपछि जाँदा पनि ह्वेलले मारेर बदला लिएको लोककथाको प्रसङ्ग, ह्वेलको संस्मरणशक्ति, बुद्धिमत्ता र बदलाभावको कुरा, ह्वेल र सिलका शिकार प्रसङ्ग, हात्तीसुँढे सिलबाट प्रशस्त तेल निकालेर गरिएका व्यापार, समुद्रमुनि हिमगुन्द्री आपसमा टक्राउँदा बन्दुकझैँ आवाज आएका कुरा, घामको वैजनी किरण, किरणले छालामा रोग लाग्ने कुरा, दिशा–पिसाव मेसिनले दफनाउनुपर्ने कुरा, महादेशको जमिनमुनि खनिज भएको कुरा चाल पाएपछि कतिपय देशले यस क्षेत्रप्रति आफ्नो दावी गरेको कुराजस्ता अनेक रोचक र महत्वपूर्ण प्रसङ्गहरू छन् ।
सारमा यो साहस र आत्मविश्वास जगाउने यात्राको संस्मरणात्मक र ज्ञानबद्र्धक कृति हो । नेपाली पाठकसमक्ष आएको यो कृति भौगोलिक पर्यावरणीय र साहित्यका दृष्टिले नवीन र महŒवपूर्ण देखापर्छ । यात्रासंस्मरण परम्परामा यसलाई कौतुकमय ज्ञानकोषको रूपमा लिन सकिन्छ । अनेक वस्तुगत तथ्य, इतिहास, दैनिकी र विषयवस्तुको जोरजामबाट बनेको यो कृति नवीन साहसिक यात्राको अक्षतस्मृतिका रूपमा चिरस्थायी कृति रहने देखिन्छ ।
भरतपुर–१२, चितवन