बर्खाको झरीमा भिजेकी एउटी नवयुवती एउटा चिया दोकानमा स्वाट्ट पस्छिन्। त्यहाँ चिया पिउँदा-पिउँदै उनको मन चरर चर्किएर आउँछ। भित्रबाट भकानो फुटेर आउँछ।
टेबलमाथि घोप्टिएर उनले आफूभित्रको छट्पटीलाई लुकाउने कोसिस गर्छिन्। “कमजोर हुनुहुँदैन” भन्दै मनलाई सम्झाउँछिन्। उनले जति मनलाई सँभाल्ने कोसिस गर्छिन् उति आँसु आँखाबाट टेबलमाथि तप्कन्छ। उनले आँसुको एक-एक थोपा टेबलमाथि बजारिएको भयङ्कर आवाज सुन्छिन्। त्यतिबेला उनलाई आज यहीँ मर्छु कि जस्तो पनि लाग्छ।
केही क्षणपछि उनले शिर उठाउँछिन् र कपमा बाँकी रहेको चिया स्वट्ट पिई आँसु पुछ्दै कपाल मिलाउँछिन्। त्यतिकैमा उनले आफूअघिको रित्तो कप आफै पट्ट फुटेको देख्छिन्। उनी एक्कासि झस्किएर कौलासी पठाउँछिन्। चिया पसलका मानिसहरू पनि तर्सिन्छन्। त्यसपछि उनले आफ्नो पीडित नजर चारैतिर घुमाउँछिन् र पुन: एकपल्ट टेबलमाथि हेर्छिन्—कप त जस्ताको तस्तै रहेछ। अत्तालिँदै चियाको पैँसा तिरिराखी त्यहाँबाट हस्याङफस्याङ गर्दै निस्कन्छिन्।
चिया दोकानबाट निस्किएपछि बाटामा उनलाई डाँको छोडेर रुन मन लाग्छ। जोड-जोडले चिच्याउनु मन लाग्छ। आफ्नो मुटुमा भएका सारा अनुताप, आक्रोश र वेदना एक-एक गर्दै छुरीले रोपेर कोट्ट्याइ-कोट्ट्याइ निकाली फ्याक्न मन लाग्छ। मुटु कटकट दुखेर आउँछ। अलिक पर पुगेपछि आँसुसरि हुँदै दुवै हातले मुख छोपेर आवाज दबाउन खोज्छिन्। भित्रभित्र भक्कानिएर राल-सिँगान हुन्छिन्। बाटाछेउको एउटा मैला भित्तामा अडेसिएर उनले आफैलाई सँभाल्न खोज्छिन्। आफूलाई अलिक सञ्चो महसुस भएपछि उनी त्यहाँबाट एउटा पैँसा तिरेर नुहाउने ठाउँतिर लाग्छिन्।
नुहाउने कोठाका सारा पानीका नलीहरू खोलेर उनी केही बेर चिच्च्याइ-चिच्च्याइ रुन्छिन्। मन केही हलुङ भएपछि त्यहाँबाट निस्किएर पहिले एउटा उपहारका सामान पाउने दोकानमा गएर दोकानेलाई एउटा राम्रो उपहार दिने अनुरोध गर्छिन्। दोकानेले उनलाई “जन्म दिनको उपहार” कि “बिहेको उपहार” भनेर सोद्धा उनले “बिदाको उपहार” भनेर भन्छिन्। त्यसपछि उनी त्यो “बिदाको उपहार” हातमै लिएर एउटा लुगा दोकानमा कात्रो किन्न लाग्छिन्। एउटा लुगा दोकानमा पुगेर उनले पाँच फिट सात इन्चभन्दा ठुलो मान्छेलाई पुग्ने कात्रो माग्छिन्।
राति घरमा पुगेर उनले आफ्नो कोठाको खिड्की खोल्छिन्। त्यस खिड्कीबाट धेरै वर्षपछिको मुक्तिको सास फेर्छिन्। आफूलाई कपासको भुवाजस्तो अनुभव गर्छिन्।
दार्जीलिङ