मान्छे नभएको संसार त थियो नै
कल्पनै गरिरहनु परेन,
घामले खाएका आदिम चुम्बनहरूको स्मरण गर्दै
पानी मुनिको लेउलाई
बाजेबजै भनेर दण्डवत गरे भैगो;
पुच्छरधारी बाँदरहरू लाई भेटेर
तीन लाख वर्ष अघिको भातृप्रेम साटासाट गरे भैगो ।
मान्छे नभएको संसार त थियो नै
छुद्रग्रहले उसलाई ताजन दिँदा
सखाप भएका अमुक जीवका अवशेषहरूले
करोडौँ वर्षपछि
सङ्ग्रहालय थर्काउँदै निकालेका स्वरहरूलाई
डायनोसरको भाकामा सुने भैगो ।
मान्छेद्वारा उत्पीडित संसार त
मातिरहेकै छ वर्तमानको मदिरालयमा
सँगै बसेर
निस्फिक्री धोके भैगो ।
एकले अर्कालाई ठोक्दै
देखाउनलाई
मैत्रीको पाठ घोके भैगो
मुखले शान्ति शान्ति खोके भैगो ।
तर तिमी त
सायद यतिले चित्त नबुझने भएरै
पेसेवर हजामले टाउकोमा छुरा लगाएको लयमा
आरा चलाइरहेछौ जङ्गलमा ।
तर तिमी त
सायद यतिले चित्त नबुझने भएरै
कुवाको तेललाई बहकाएर
धुवाँको पसारो लगाइरहेछौ आकाशमा ।
तर तिमी त
सायद यतिले चित्त नबुझने भएरै
खानेकुराको रास लगाउने भन्दै
माटोले थेग्नै नसक्ने वासा पिलाएर
छादजति पु¥याइरहेछौ समुद्रमा ।
यसरी केवल आफ्नो तृप्तिका खातिर
समग्र थलचरलाई बलि चढाएपछि
समग्र जलचरलाई बलि चढाएपछि
समग्र उभयचरलाई बलि चढाएपछि
यसरी केवल आफ्नो तृप्तिका खातिर
हावालाई बलि चढाएपछि
पानीलाई बलि चढाएपछि
माटोलाई बलि चढाएपछि
यसरी केवल आफ्नो तृप्तिका खातिर
प्राणवायुदाता हरियालीलाई समेत बलि चढाएपछि
तिम्रो प्राणको आदिम श्रोत
झयाउ, काई र लेउलाई समेत बलि चढाएपछि
अब तिमी पुग्न त त्यहीँ पुग्ने हौ
मान्छेमात्र भएको संसारमै पुग्ने हौ ।
जहाँ सुदूर भविष्यमा
एउटा सुदूरग्रहवासी वैज्ञानिक आएर
तिम्रो जीवाश्मको अध्ययन गरेपछि भन्नेछ
कि
संसारमा कुनैबेला एउटा यस्तो जीव थियो
खुबै महŒवाकाङ्क्षी जीव ÷ खुबै स्वार्थी जीव
जो अरू कसैको भलो नचिताउने रोगले थलिएर
आफैँ समाप्त भयो ।
ए मान्छे !
त्यहाँ पुग्ने चाहना त पक्कै होइन होला तिम्रो ।
त्यसोभए
त्यागिदेऊ अब
संसारलाई सबैको साझा हुन नदिने चाहना !
त्यागिदेऊ अब
संसारलाई तिम्रै मात्र पेवा बनाउने तिर्सना !
त्यागिदेऊ अब
संसारलाई बाँदरको हातको नरिवल बनाउने
आत्मघाती योजना ।