18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रिपोर्ट र वास्तविकताको कुरा

कविता भीम ठटाल September 19, 2025, 2:17 pm
भीम ठटाल
भीम ठटाल

राजधानी शहरमा मेरो कार्यालयमा
म लगभग दैनिक रिपोर्ट तयार गर्छु
सरकारको उपलब्धिहरूको
विश्वविद्यालय, उद्योग र पर्यटनको लागि
जग्गा अधिग्रहण भइरहेको बारेमा|
सडकहरू निर्माण गरिएको
मानिसहरूलाई रोजगारी दिइएको
राम्रो क्षतिपूर्ति दिइएको
जीवन सजिलो भएको
र सबैजना समृद्ध हुँदै गएको।

जब म मेरो गाउँ जान्छु
त्यहाँ मेरो गाडी चढ्दैन
किनकि सडकमा खाल्डाखुल्डीहरू छन्
र वर्षाले अलकत्रा उक्काएको छ
अलिक अघि जाँदा
म बाटो अवरुद्ध भएको देख्छु
सरकारले जमिन सडक बनाउन अधिग्रहण गरे पछि
क्षतिपूर्तिको रकम नपाए पछि बाटो गर्छु भन्दै
डुप्डेनले सडकबीच बालुवा झारेको छ|
डुप्डेन को हो?
तपाईं सोध्न सक्नुहुन्छ:
जब बाटो थिएन
रासन दोकानबाट समान उसले बोकेको थियो
हाट बजार भर्न जानेहरुमा उ पनि एक थियो|
गाउँमा कुनै विद्यालय र अस्पताल नहुँदा पनि
समाजमा मानिसहरू सँगै साथ जिउने गर्थे
बूढी बिमारी आमैलाई
काटेको डोकोमा बोकेर अस्पताल पुर्याउने
डुप्डेन पनि हुने गर्थ्यो|
गाउँको स्कूलमा नयाँ गुरुबाबु आउँदा
साग अनि अण्डा लाग्ने डुप्डेन हुन्थ्यो ।
गाउँमा स्कूल खोल्ने कुरा हुँदा
एकजनालाई नोकरी अनि गाउँमा निर्माणको काम
सरकारले दिने आश्वासनमा
जमिन दिनेहरु मध्ये डुप्डेन पनि एक थियो|
सडक बनिंदा मान्छेले फेरि उसलाई विन्ती गर्दा
फेरि आफ्नो जमिन दिने
फेरि पनि उही थियो|
उत्कृष्ट क्षतिपूर्तिको सर्तमा
जसको पनि जामिन अधिग्रहण गरिएको थियो
डुप्डेन ती मध्ये एक हो,
उ छिरिङ हो
उ हरिलाल हो
उ पेम्पा हो
उ हेमबहादुर हो
उ डुप्डेन हो|

क्यालेन्डरहरू भित्ताबाट झरे
सूर्य वरिपरि धेरै क्रान्तिहरू भए
तर उसको मामला उस्तै रह्यो।
उसले धेरै पटक आग्रह गर्यो
तर केही भएन
कोही आएन
प्रतीक्षा गरिरहँदा
धेरै पटक उसले
व्यवस्था विरुद्ध विद्रोह गर्ने
र सडक भत्काउने विचार पनि गर्यो|

उसले आफ्नै घर बनाउन थालेको छ
उसले टाढा नदीबाट बालुवा ल्यायो
अनि अब सडकको बीचमा बलवा झार्यो
अनि गाडी जाने बाटो अवरुद्ध भएको छ|
हुन त पैले पैले उसले
स्कूल नै आगो लगाउने विचार गरेको हो
तर सरल अनि सहज नागरिकहरु
व्हात्तै हिंस्रक या उग्रवादी नहुनाले
उसले सडक अवरुद्ध गरेर
आफ्नो क्रान्तिको
हल्का सुरुवात गरेको हो
आफ्नो कुरा सुनाउनको लागि
उनले चाहेको जीवनको लागि
उनको समृद्धिको लागि|

सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।