18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'छालबाटो’को समाजशास्त्रीय चित्रण

कृति/समीक्षा प्रा.कपिल अज्ञात September 19, 2025, 2:31 pm
प्रा.कपिल अज्ञात
प्रा.कपिल अज्ञात

रमेश भूषालको छालबाटो (कैलाशदेखि गङ्गासम्म–२०८२) गैरआख्यानको सद्य प्रकाशित कृति हो । फाइन प्रिन्टद्वारा प्रकाशित यस कृतिमा ‘खुसीको उपत्यका’देखि गङ्गातिरसम्म’ जम्मा १० परिच्छेदहरू छन् । यिनैमध्ये एक परिच्छेदको शीर्षक छ – ‘छालबाटो’ । यसै नाममा पूरै कृतिको शीर्षकीकरण गरिएको छ ।

छालबाटो नामकरण सम्बन्धमा विचार गर्दा नदी किनारको नदीको छालले कुरूप बनाउने अप्ठ्यारो बाटोलाई ‘छालबाटो’ भनिँदो रहेछ, जहाँ अधिक गेग्रानहरू पनि हुन्छन् । जहाँ खच्चडहरू पनि हिँड्न सक्दैनन् । नदीमा बाढी आउँदा नदीको छाल पनि बाटोसम्म आइपुग्ने र बाटो बिग्रने स्थितिको बाटोलाई पनि ‘छालबाटो’ भनिएको हुनसक्छ । कर्णालीको किनारकिनार कर्णाली नदीलाई पछ्याउँदै हिँड्नुपर्ने यस्ता बाटा कर्णालीभरि अनेक छन् । यिनै छालबाटोको अनुभव गरेर कृतिको शीर्षक छालबाटो राखिएको हुनसक्छ । अन्य परिच्छेदभन्दा ‘छालबाटो’ अधिक सघन र मार्मिक छ । यसमा कर्णाली जनजीवनको मार्मिक चित्रण पाइन्छ । यसमा निहित विषयवस्तुले पनि यसको शीर्षकलाई सार्थक तुल्याएको देखिन्छ ।

कुनै पनि पुस्तकमा प्लाष्टिक कोटेड गरेको, प्रकाशित प्रति यति भनेर नजनाएको, गैरआख्यान भनिएको तर स्पष्ट रूपमा विधान नखुलाइएको, नेपालमा यति धेरै आधुनिक प्रेस छँदाछैदै भारतीय दूर प्रान्तबाट छापिएको जस्ता कुनै पनि कुरा मलाई पटक्कै मन पर्दैनन् । कारण के भने यी सबै पाठकका हकविपरीत बेहोरा हुन् । नेपाली पाठकजगत्ले यस्ता अन्यायहरू बेहोरिरहेको छ । प्रकाशनसम्बन्धी लागत भन्दा कैयौँ वेसी मूल्य निर्धारण गर्दा पाठकको आर्थिक शोषण गर्ने प्रवृत्तिप्रति मलाई निकै वितृष्णा छ । यस सम्बन्धमा पाठकहरूले किन आवाज उठाइरहेका छैनन् ? पाठकाधिकार बन्न किन सकेको छैन । साहित्यिक सूचनाबाट आपूmलाई अद्यावधिक गर्न र अनुभवको क्षितिज बृहद् तुल्याउन प्रतिस्पर्धामा अगाडि आएका कृतिहरू पढ्न मन लाग्छ र रत्नसरह मानेर सङ्कलन गर्ने पनि मन हुन्छ, त्यसै प्रयोजनमा कृति किनेर पढ्न थालेको छु । यस सन्दर्भमा आइ.एस.बि.एन. नम्बरप्रति पनि मेरो आपत्ति छ, जसले संस्मरण वर्ष, सङ्ख्या र विधा प्रत्यक्ष खुलाउँदैनन् तिनले दर्ताको अधिकार कसरी पाउँछन् ? तिनले विधात्मक रूपमा गैरआख्यान भनिदिएर मात्र पुग्छ र ! पाठकको हकमा किन ती त्यति उदासीन बन्छन् । पाठकको मागविना तिनको बजार कहाँ विस्तार हुन पाउँछ ?

यतिबेला निकै चर्चामा आएको कृति हो – छालबाटो (२०८२) । यो पद्मश्री पुरस्कारबाट पनि पुरस्कृत हुने सूचीमा पर्छ । मदन पुरस्कारको पनि प्रतिस्पर्धाको सूचीमा अग्रस्थानमा आएको कृति हो । यो एक अनुभूतिशील पत्रकार युवाले आपूmले देखे, भोगेका र अनुभव गरेका अनुभूतिलाई मिहिन रूपमा खिपेर प्रस्तुत गरेका छन् । यथार्थ घटनाहरूको क्रमबद्ध चित्रणबाट त्रासजन्य स्थितिको पनि सिर्जना गरेका छन् । उनी जताजता पुग्छन् त्यतैत्यतै पाठकलाई डो¥याउन सक्षम देखिन्छन् । आफ्नो बुद्धि र स्मृतिबाट त्यति मिहिन र सघन चित्रण कसरी गर्न सकेका होलान् पढ्ने पाठकलाई पनि अवश्य आश्चर्यचकित पार्दछ । उनी पत्रकारितामा प्रवीण हुनुकै यो परिणाम हो भन्ने लाग्छ । पहिलो कृतिबाटै उनले सुन्दर र मनोहर ढङ्गले गहिरो छाप छोडेको पाइन्छ ।

उनी स्रष्टा, समीक्षक एवम् प्रतिवेदक भएकाले प्रत्येक घटनाप्रति गम्भीर र संवेदनशील हुनु स्वाभाविक हो । उनले जे जति लेखेर प्रस्तुत गरेका छन् तिनमा पूरा सत्यता लाग्छ । यस दृष्टिले उनमा लेखकीय इमान्दारिता पनि देखापर्छ । आपूmले देखे–बुझेका कुरा नढाँटीकन प्रकट गरेका छन् । व्यक्तिचरित्रको अन्तर्तहलाई पनि खोतलेर प्रस्तुत गरेका छन् । कर्णाली जनजीवनको दुःख–दर्दलाई गहिराइबाट नियालेका छन् । कतिपय घटना र प्रसङ्ग अध्ययनको पृष्ठभूमिबाट तथ्यपरक तुल्याएका पनि छन् । अध्ययन र अनुभूतिलाई आधारित रूपमा समन्वय गरी सटीक कथ्यात्मक रूप दिनु लेखकको विशेष क्षमता हो भन्ने देखिन्छ । उनको पहिलो कृतिमैँ शैली र स्वर पनि विशेष र भिन्न किसिमको बनेर आएको भेटिन्छ ।

कर्णालीको चित्रणमा लेखक स्वयम् पनि भावुक बनेका छन् । धनवीरेको छियाछिया परेको टोपी, काङ्ग्री दाइको पसिना, बाख्राको पिठ्यूँमा दश किलो चामल बोकाएर हिँडाएको दृश्य, कुपोषण भएको बालकलाई उसकी आमाले बिस्कुटको लेदो चटाइदिएको दृश्य, कार्यक्रमको भेटघाटबीच मुख्यमन्त्रीको रेलगफले मन हल्लिएको स्थिति यस कृतिभित्रका मार्मिक र यथार्थ चित्रण हुन् । चित्रणअनुसार ः
कर्णालीमा प्रशस्त पानी छ
त्यत्तिकै फराकिलो जमिन पनि छ
तर जमिन र पानीको घनिष्ठ सम्बन्ध छैन
त्यसैले जमिन भएर पनि हानि छ
कैल्ये अनावृष्टि कैल्ये अतिवृष्टि छ
वेगशील पानी भएर पनि बिजुली छैन
दुःखै दुःख र अन्धकारको कहानी छ ।
यसरी लेखकले कर्णालीबासीको व्यथा र वेदनालाई गहिराइसँग नियालेका छन् र सहानुभूतिका प्रशस्त रङ्ग पोतेका छन् । त्यसको जीवन्त चित्रणले पाठकलाई समेत भावुक तुल्याएका छन् । त्यहाँको दयनीय अवस्था बुझ्दा हाम्रो मन पनि करुणाले भरिन पुग्छ ।

दश अध्यायमा समाहित यो कृति हिँडेर, गुडेर र बगेर गरिएको कर्णालीको उद्गम कैलाशदेखि भारतको गङ्गासम्मको यात्रामा आधारित छ । यो स्थलचर, वनचर र जलचरको समाजशास्त्रीय पर्यावरण विज्ञानसँग सम्बन्धित ज्ञानबद्र्धक र रोमाञ्चक कृति हो । यसले अनुभवको क्षितिज मात्र बृहद् पार्दैन नवीन र महत्वपूर्ण विषयको सूचना र सन्देश पनि प्रवाहित गर्दछ । बृहद् अध्ययनको पृष्ठभूमि बनाई प्रत्यक्ष संलग्नताबाट सृजित संवेदना, चिन्तन र विचारले कृतिको गुरुत्व र गरिमा अभिवृद्धि गर्दछ ।

लेखककै कथनअनुसार यो नदी यात्रामा भेटेका पात्रहरूको कथा हो । नदी यात्रामा तीन देश आएका छन् – तिब्बत, नेपाल र भारत । यसमा नदी, नदीकिनारबासी, सहयात्री, नदी राजनीति र नदी विज्ञानको कथा छ । समालोचकीय दृष्टिमा यो परम्परित यात्रा वृत्तान्तभन्दा पनि यात्रा गरिएका ठाउँको समाजशास्त्रीय अवलोकन हो र समाजशास्त्रीय भन्नाले यसमा धर्म, भाषा, संस्कृति, भूगोल, पर्यावरण आदि सबै पर्छन् । यात्रालाई ज्ञानमय, मन्मय, पर्यावरणमय र आनन्दमय तुल्याएकाले पनि यसको गुरुत्व र गरिमामा अभिवृद्धि भएको पाइन्छ ।

यसमा विविध सन्दर्भ समाविष्ट छन्, ती सबै रोचक, ज्ञानबद्र्धक र मनोरञ्जक छन् । दलाई लामादेखि दबिएका समुदायसम्मका कुरा छन् । पठारमा निर्मित हुँदै गएका कङ्क्रियटमय जङ्गलका कुरा छन्, यात्रामा विचार–विनिमयका सङ्कटका कुरा छन्, आस्था र धर्मका कुरा छन्, आ–आफ्ना देशका विकासका अवस्था एवम् प्रशासनिक निकायका बडप्पनका कुरा छन्, जलवायु परिवर्तनका कुरा छन्, कुपोषणका कुरा छन्, भूगोल, संस्कृति र रहनसहनका कुरा छन्, चेकजाँच हुँदा त्रासदीका प्रसङ्ग छन्, भोटेकुकुरका आक्रमणकारी प्रसङ्ग छन् । यस्तैयस्तै विषयगत अनेक विविधताले यो भरिएको छ । जस्तै मुक्तकमा ः
नदीका कुरा छन् यसमा बिजुलीका कुरा छन्
गण्डकी कोशी कर्णाली त्रिशूलीका कुरा छन्
छालबाटो र तालबाटोको वर्णन विचित्र छ
घर कसरी चलाउने भन्ने घरमूलीका कुरा छन् ।

भरतपुर–१२, चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।