19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बादल चाम्लिङको ‘चेकेदेम राजारानीको दरबार’

कृति/समीक्षा केशु बिरही September 21, 2025, 2:47 am
केशु बिरही
केशु बिरही

बादल चाम्लिङको जन्म २०३३ सालमा साबिकको यासोक गाविस –९, खाल्डे, (हालको कुम्मायक गाउँपालिका –१, पाँचथर) मा भएको हो । ‘म भकुण्डोझैँ बजारिरहेको छु’ शीर्षकको कविताबाट नेपाली साहित्याकाशमा उदाएकी बादलका पाठेघर (कवितासङ्ग्रह) –२०७४ र वीर्य जमीन (कवितासङ्ग्रह) –२०७६ र चेकेदेम राजारानीको दरबार (कथासङ्ग्रह) –२०८१ गरी तीनओटा विधा साहित्यका कृति प्रकाशित भएका छन् । यसका साथै उनका विभिन्न पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित भएका छन् ।

पेसाले बादल शिक्षक हुन् । लामो समयदेखि उनी शिक्षण पेसामा रमाउँदै आएकी छन् । जागिर र घर व्यवहारबाट समय निकालेर उनी साहित्य सिर्जनामा पनि तल्लीन रहने गर्छिन् । समसामयिक विषमा कलम चलाउने उनी विम्बात्मक शैलीमा रचना गर्न रुचाउँछिन् । लामो समयसम्म बेलबारीमा बसेर साहित्य सिर्जना गरेकी उनको पछिल्लो बसोबास भने सुन्दरहरैँचा, मोरङमा रहेको छ ।

विधातत्त्वका आधारमा ‘चेकेदेम राजारानीको दरबार’ कथाको विश्लेषण
बादल चाम्लिङको २०८१ सालमा चेकेदेम राजारानीको दरबार (कथासङ्ग्रह) प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र विभिन्न भावका २४ ओटा कथा रहेका छन् । तर प्रस्तुत लेखमा सङ्ग्रहभित्रको शीर्ष कथा ‘चेकेदेम राजारानीको दरबार’ को मात्र विधातत्त्वका आधारमा विश्लेषण गर्ने काम गरिएको छ ।

कथानक :
धेरै समयपछि जन्मथल फर्किएकी म पात्र त्रियासी वसन्त पार गरेका अन्तरेघरे हजुरबा र हजुरआमालाई भेट्न गएका बखतमा गाउँदेखि माथि रहेको ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको स्थल चेकेदेम राजारानीको दरबार र त्यससँग जोडिएका कुरा सुन्न लालायित हुन्छिन् । हजुरबाले उक्त ऐतिहासिक दरबारको कथा भन्दै जाँदा उनी निकै जिज्ञासु भएर एकपछि अर्को गर्दै त्यससँग जोडिएका थप रहस्य कोट्याउँदै जान्छिन् । हजुरबा पनि उनको कौतुहल साम्य पार्न हरतरह लागिरहन्छन् । त्यस्तै उनले यसक्रममा हजुरआमासँग पनि भलाकुसारी गर्छिन् । अन्तमा कथा सकिँदा म पात्रको पनि तराई जान गाडी आइपुग्छ र उनी फेरि भेट्ने बाचा गर्दै बाटो लाग्छिन् ।

परिवेश :
प्रस्तुत कथामा पूर्वी पहाडी जिल्ला पाँथरको साबिकको यासोक गाविस वडा नं ९, खाल्डे, हालको कुम्मायाक गाउँपालिका वडा नं १ मा रहेको ऐतिहासिक तथा पुरातात्विक महŒव बोकेको चेकेदम राजारानीको दरबार र त्यसको आसपासको क्षेत्रलाई परिवेश बनाइएको छ । कथामा पाँचथरदेखि तराईसम्मको प्रसङ्ग आएको छ । प्राकृतिक सुन्दर तथा रमणीय स्थानको बयानले कथालाई थप आकर्षक बनाएको छ । कथामा खोला, नाला, पहाड, भिरपाखा, वनजङ्गल आदि परिवेशका रूपमा आएका छन् । यहाँ स्थानिक परिवेशका रूपमा पाँचथर जिल्ला, कुम्मायाक गाउँपालिका वडा नं १ मा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको चेकेदम राजारानीको दरबार रहेको छ भने कालिक परिवेशका रूपमा ऐतिहासिक काल अर्थात् धेरै पहिलेको समय आएको छ । यहाँ वर्तमानमा टेकेर विगतलाई उत्खनन गर्ने काम भएको छ ।

पात्र वा चरित्र :
प्रस्तुत कथामा ‘म’ पात्र प्रमुख पात्रका रूपमा आएको पाइन्छ । कथाकारले आफूलाई मुख्य पात्र बनाएर त्यसका माध्यमबाट कौतुहल सिर्जना गर्दै त्यसको समाधान खोजेको देखिन्छ । यस कथाकी मुख्य पात्र अर्थात् ‘म’ पात्र लिङ्गका हिसाबले महिला, कार्यका आधारमा प्रमुख, प्रवृत्तिका आधारमा अनुकुल, स्वभावका आधारमा गतिहीन, जीवनचेतनाका आधारमा व्यक्तिगत पात्र हुन् । आसन्नताका आधारमा मञ्चीय पात्र हुन् भने आबद्धताका आधारमा बद्ध पात्र हुन् । यस कथामा सहायक रूपमा प्रस्तुत भाए पनि ‘म’ पात्रका हजुरबा (पातिपो) र हजुरआमा (मातिपो) को महŒवपूर्ण भूमिका रहेको पाइन्छ । वर्णनका व्रmममा धेरै पात्र आए पनि कथामा सीमित पात्रको मात्र भूमिका देखिएको छ । पूरै कथामा ‘म’ पात्र अर्थात् लेखकले हजुरबा र हजुरआमासँग वार्तालाप गरेको र सोही क्रममा कथा सिद्धिएको छ ।

दृष्टिबिन्दु :
प्रस्तुत कथा प्रथम पुरुष दृष्टिबिन्दुमा आधारित भएर लेखिएको छ । कथामा ‘म’ मात्रले हजुरबा (पातिपो) र हजुरआमा (मातिपो) सँग गरिएको वार्तालापले नै कथा टुङ्गिएको छ । प्रस्तुत कथामा ‘म’ पात्रका माध्यमबाट ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको चेकेदेम राजारानीको दरबार र त्यसको रहस्यको उद्घाटन गर्ने काम भएको छ ।

सारवस्तु :
इतिहासको गर्भमा रहेको विषयलाई कलमका माध्यमबाट बाहिर ल्याउनुपर्छ भन्ने कथाकारको उद्देश्य रहेको देखिन्छ । यहाँ कथाका माध्यमबाट ऐतिहासिक तथा पुरातात्विक स्थलको परिचय दिने काम भएको छ । यसमा उनी सफल पनि भइकी छन् । साथै ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने सार पनि यस कथाले बोकेको छ ।

भाषाशैली :
प्रस्तुत कथाको भाषा सरल छ । रैखिक ढाँचामा लेखिएकाले कथा सलल बगेको पाइन्छ । छोटा तथा छरिता वाक्यगठनले पाठकलाई कथा बुझ्न सजिलो बनाएको छ । ग्रामीण भेगमा बोलिने भाषा, लवज आदि यस कथामा सबल रूपमा प्रस्तुत भएको छ । कथामा कथ्य भाषाको अधिकता पाइन्छ । आदिवासी जनाजाती परिवेशमा हुर्किएकी हुनाले कथाकारले गाउँघरमा चलनचल्तीको भाषालाई बढी मात्रामा प्रयोग गरेकी हुन् भन्न सकिन्छ । कथाकारले स्थानीय विम्बको प्रयोग गरेकी छन् जसले कथालाई थप आकर्षक बनाएको पाइन्छ ।

‘चेकेदेम राजारानीको दरबार’ कथाको शक्ति र सीमा
हरेक कुरामा राम्रा नराम्रा दुवै पक्ष रहन्छन् नै । कुनै पनि सिर्जनामा देखिएका सफल पक्षलाई शक्ति र कमजोर पक्षलाई त्यसको सीमाको नाम दिने गरिन्छ । प्रस्तुत लेखमा कथाका आधारमा शक्ति र सीमालाई तल प्रस्तुत गरिएको छ :

शक्ति
१) नवीन विम्बको प्रयोग : यस कथामा नवीन विम्बको अधिक प्रयोग गरिएको पाइन्छ । हजुरबा जनाउने ‘पातिपो’ र हजुरआमा जनाउने ‘मातिपो’ जस्ता शब्दको प्रयोगले कथालाई थप शसक्त तुल्याएको छ । त्यस्तै ‘नाक ठोक्किने उकालो’, ‘कपाल सेतै’, ‘राता गाला भएका मानिस’, ‘बिजुवा’ आदिको प्रयोग पाइन्छ । यी माथि उल्लेख भएका विम्बले कथामा महŒवपूण भूमिका निर्वाह गरेका छन् । यी विम्बले कथालाई सफल तथा जीवन्त तुल्याउने काम गरेका छन् ।
२) अदृश्य पात्रको प्रयोग : कथामा मूलतः मानवीय र मानवेतर पात्रहरूको प्रयोग गर्ने गरेको पाइन्छ तर यस कथामा भने लेखकले मनलाई पनि पात्रका रूपमा प्रयोग गरेकी छन् । यो उनको नौलो प्रयोग पनि हो । जस्तै :
‘‘मेरो बाल्यकाल यहीँ बित्यो । बरू म पो ... ?’’ मनसँग भन्छु । ‘‘अँ, हो हो । तिमीलाई रानीभिरको ऐतिहासिक, पुरातात्विक महŒवबारे जानकारी नै रहनेछ ।’’ मनले मलाई जवाफ फर्काउँछ (पृ. १८) । गफमा सामेल अर्को पात्र पनि छ, आफ्नै मन । म मनसँग गफ गर्दैछु भन्ने कुरा पातिपोलाई थाहा छैन ।
३) अनुकरणात्मक तथा थेगो जनाउने शब्दको प्रयोग : कथामा अनुकरणात्मक तथा थेगो जनाउने शब्दहरूको प्रयोग भएको पाइन्छ । जस्तै : पिलिक्क, मिलिक्क, घरक्क, आचे । यस्ता शब्दको प्रयोगले कथालाई थप जीवन्त तुल्याएको छ ।
४) साहित्यिक अन्वेषण : कथाकारले कथाका माध्यमबाट ऐतिहासिक तथा पुरातात्विक स्थल चेकेदेम राजारानीको दरबारको अन्वेषण गर्ने काम गरेकी छन् । कुनै पनि विषयको गहिराइमा पुगेर ससाना पक्षलाई मिहिन ढङ्गले खोतल्ने काम नै अन्वेषण हो । तसर्थ यहाँ कथा मात्रै छैन, कथा पढिसक्ता एउटा अनुसन्धान कार्य गरिरहेको भान हुन्छ । तसर्थ यस कथाका माध्यमबाट लेखकले अन्वेशण गर्ने कामसमेत गरेकी छन् भन्न सकिन्छ ।
५) माटोको माया : नचाहेर पनि मानिसले जन्मिएको ठाउँलाई छोडेर नयाँ ठाउँमा बसोबास गर्न पुग्छ । यो उसको रहर नभएर वाध्यता पनि हो । तर ऊ जति टाढा रहे पनि आफ्नो जन्मभूमिलाई कहिल्यै भुल्न सक्दैन । त्यस्तै कथाकार बादल पनि नचाहँदा नचाहँदै पनि आफ्नो जन्मभूमि खाल्डे छोडेर बसाइँ सरेर नयाँ ठाउँमा जान विवश भइन् तर उनमा मातृभूमिप्रतिको माया कम भएन । काथका माध्यमबाटै भए पनि उनले बाल्यकालको यादलाई उनले पुनर्ताजगी गर्ने काम गरेकी छन् । अर्थात् उनले यो कृतिमार्फत आमाको दुधको भार कम गरेकी छन् ।

सीमा
बादलका कथा निकै सुन्दर र शसक्त छन् । कविता विधामा आफ्नो पहिचान बनाएकी उनले कथामा पनि नयाँ र छुट्टै पहिचान बनाउनेमा कुनै शङ्का छैन । सुन्दर र शसक्त हुँदा हुँदै पनि जानेर होस् या नजानेर यस कथामा केही कमजोरी देखिएका छन् । धेरैजसो कमजोरी त लेखकका तहबाट भन्दा पनि सम्पादकका तहबाट भएका देखिन्छन् । तर कमजोरी जहाँबाट भए पनि त्यसको जिम्मेवारी भने लेखकले लिनुपर्ने हुन्छ । कथामा देखिएका केही कम्जोरी पक्षलाई तल बुँदागत रूपमा उल्लेख गरिएको छ :
१) धेरैजसो ठाउँमा नेपाली मानक शब्दकोशलाई पछ्याइए पनि केही ठाउँमा भने त्यसलाई बेवास्ता गरिएको पाइन्छ ।
२) वर्णविन्यासगत त्रुटि : पृ. १८ मा हजुरबाको भनाइमा ‘गुफाभित्र दुईओटा दुलो छ’ भनिएको छ । सङ्ख्याबोधक शब्द ‘दुई’ बहुवचन भएकाले व्रिmयापद पनि बहुवचन जनाउने नै (छन्) हुनुपर्नेमा त्यसो गरिएको छैन । पृ. २३ मा ‘अलि हतार छ । नानीहरूलाई छाडेर आ’को छु’ लेखिएको छ । लेखक मात्र नभएर कथामा प्रयोग भएको ‘म’ मात्र पनि स्त्रीलिङ्गी नै भएकाले गर्दा यहाँ आ’की (आएकी) हुनुपर्ने थियो । भाषिकाको प्रयोगले गर्दा यस्तो हुन गएको हो कि भनेर यसलाई सामान्य ठानिए पनि त्यसकै एक लाइनमास्तिर भने ‘भनेकी’ क्रियापदको प्रयोग हुन आएकाले यसलाई भाषिका वा आन्चलिकताका कारण भएको गल्ती मान्न सकिन्न । पात्रको मुखबाट बोलिएका कुरालाई सामान्य त्रुटि मानिए पनि लेखककै बोलीमा पनि त्यही गल्ती हुन गएको पाइन्छ ।
३) एकरूपताको कमी : शुद्धासुद्धिका विषयलाई लिएर पछिल्लो सयम बौद्धिक वर्गसमेत विभाजित देखिएको छ । मानक ठानिएको कोशमा देखिएका केही असावधानीका कारणले पनि कतिपय शब्दहरूको हिज्जे कस्तो रहने भन्नेमा विवाद देखिनु स्वभाविककै हो । तर एकरूपता हुनपर्नेमा भने विवाद गर्ने ठाउँ छैन, यो महत्त्वपूर्ण कुरा पनि हो, अझ लेखक वा सम्पादकले थाहा पाउनै पर्ने कुरा पनि हो । यस कथामा कहीँ ‘चाहिँ’ लेखिएको छ भने कहीँ भने ‘चै’ मात्र (पृ.१३) लेखिएको पाइन्छ ।
४) कथ्य भाषाको प्रयोग बढी मात्रमा माइन्छ ; जस्तै : तिमारू, तिमेर्लाई, तिमेर्को, उबेला, उनेरू आदि ।

निष्कर्ष :
बादल चाम्लिङ कविता क्षेत्रकी एक जना स्थापित स्रष्टा हुन् । कविताका अतिरिक्त उनले कथा विधामा पनि आफ्नो उपस्थिति देखाएकी छन् । बादल आफूलाई निरन्तर रूपमा साहित्य साधनामा तल्लीन राख्ने स्रष्टामध्येमा पर्दछिन् । जागिर र घरपरिवारलाई समालेर निरन्तर रूपमा साधनारत रहनु उनका लागि मात्र नभएर यो नेपाली साहित्यका लागि पनि एउटा महत्त्वपूर्ण उपलब्धि हो भन्न सकिन्छ । केही कमीकमजोरीलाई हटाएर हेर्दा कवितामाझैँ उनको कथाकारिता निकै सुन्दर देखिएको छ । तसर्थ उनको कथा यात्रा अब्बल रहनेमा म ढुक्क छु । उनको साहित्यिक उन्नयनको कामनासमेत गर्दछु । जय साहित्य ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।