नेपाल कुनै समयमा विशाल थियो र यसको सीमाना पूर्व मेचीदेखि महाकाली मात्र हैन, पूर्वमा टिस्टा र पश्चिममा काँगडा पुगेको थियो भन्ने ऐतिहासिक सत्यले नेपालीला यति खुसी यति दिन्छ कि त्यसलाई नाप्ने कुनै मापन छैन । तर, जब जब नेपालको ऐतिहासिक सीमाको कुरा आउँछ, नेपालीहरू वीर भावले रौँ ठाडा ठाडा बनाएर माधव घिमिरेको “पश्चिम किल्ला काँगडा, पुर्वमा टिस्टा पुगेथ्यौँ …..कहिले हामी झुकेथ्यौँ” जस्ता राष्ट्र गीत गाउन थाल्छन् । यस्ता ऐतिहासिक सत्यमा टेकेका नेपालका गौरव गाथाहरूमा नेपालीहरूको शीर ठाडो हुनु अस्वाभाविक हैन । अझ नेपाल पश्चिमतिर ‘काँगडा’ अर्थात् सतलज किनारसम्म मात्र हैन, त्योभन्दा लगभग करिब १२० किलोमिटर पश्चिमोत्तरमा रहेको भारतको हिमाचल प्रदेश र पञ्जाव राज्यका बिचमा बग्ने ‘रावी’ नदीकिनारमा अवस्थित ‘चम्बा’ सम्म पुगेको तथ्य सुन्दा कति गौरवान्वित हुन्छन् होला नेपालीहरू । यही ऐतिहासिक सत्यको खुलासा पुरातत्त्वविद् जनकलाल शर्माले दिएको तथ्यगत जानकारीसमेत समेटिको प्रा. डा. सुमन ढकालद्वारा संपादित र मञ्जरी प्रकाशनद्वारा प्रकाशित पुस्तक ‘पश्चिम किल्ला चम्बा पो !’ ले गरेको छ ।
यो पुस्तक एउटा ऐतिहासिक दस्तावेजका रूपमा नेपाली पुस्तकहरूमाझ देखा परेको छ । चिठी र संस्मरणका माध्यमबाट यसले साहित्यिक अभिव्यक्ति पनि दिएको छ । धेरै किसिम (राजनीति, साहित्य, इतिहास, पुरातत्त्व आदि) का ज्ञान राख्ने अद्वितीय भारतीय विद्वान राहुल सांकृत्यायनसँगको नेपालका पुरातत्त्वविद्, साहित्यकार र खोजकर्ता जनकलाल शर्माको सम्बन्धका साक्षी बनेका १०५ ओटा चिठी “राहुलका केही चिठी त आफ्नै असावधानीले गर्दा हराए, तर जति बचेका थिए तीमध्ये एक सय चार चिठ्ठी नेपालको काठमाडौँस्थित राष्ट्रिय अभिलेखालयमा समर्पित गरेँ (१२६)” यस पुस्तकमा देख्न सकिन्छ । दुई विद्वानहरूको सम्बन्ध केलाउन प्रस्तुत पुस्तकमा चिठीहरू एउटा पाटो मात्र हुन्, जसमा राहुलले शर्मालाई लेखेका भागहरू मात्र यहाँ सङ्कलित छन् । पुस्तकमा चिठीका साथमा पाइने संस्मरणहरू, जनकलाल शर्माका लागि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एउटा पुस्तकको भूमिका, राहुलले नेपालका महाकविको उत्कृष्ट समीक्षा (जसलाई पढेर देवकोटाको ‘पागल’ कविताको जरामा पुग्न सकिन्छ), राहुल र शर्माको सम्बन्ध देखाउने संस्स्मरणका साथै राहुलको रूसी श्रीमतीसँग भेटेको प्रसङ्गको संस्मरण जस्ता रचना परिशिष्टमा राखेर पुस्तकमा विषयगत विविधता ल्याउने काम भएको छ । पुस्तकमा पत्रका साथमा आएका परिशिष्टले पुस्तकलाई बहुमूल्य बनाउन सगाएका छन् भने शर्मा र सांकृत्यायनको साथ र सहकार्यको निरन्तरता, दुवैमा पाइने वैचारिक समानता अनि त्यसको उपजले पुस्तकलाई ऐतिहासिक रूपले महत्तपूर्ण बनाएका छन् ।
सांकृत्यायन उनका विद्वताका कारण भारतका विद्वानहरूका माझ ‘महापण्डित’ उपाधिले सुसज्जित थिए । त्यस्तै नेपाली विद्वान जनकलाल शर्माको विद्वता पनि उनका साहित्यिक तथा सामाजिक अनेक रचना र पुरातत्त्विक कार्यमा देख्न सकिन्छ । नेपाल र नेपालीलाई विशेष माया गर्ने सांकृत्यायनको नेपालीसँग सम्बन्धमा रहने चाहना शर्मासँगको साथले नै दिएको हो भन्न सकिन्छ । त्यतिबेलाका नेपालका धेरै लेखक, राजनीतिज्ञ र विचारकहरूसँग नजिक रहेका सांकृत्यायनको शर्मासँगको सम्बन्ध विशेष देखिन्छ । सांकृत्यायनका पत्रहरू र उनीहरूबिचको सम्बन्ध प्रष्ट्याउने संस्मरणहरूले यसैलाई पुष्टि गरेका छन् । दुई व्यक्तिको सम्बन्ध मात्र हैन यहाँ साँकृत्यायनको नेपाल र नेपालीप्रतिको विश्वास पनि सहजै देख्न सकिन्छ । प्रस्तुत पुस्तक एउटा पाटामा पत्रसंकलनजस्तो देखिन्छ भने अर्का पाटामा निबन्ध विधाअन्तर्तगको संस्मरण पनि छन् । अर्थात् यसमा विविधता र त्यही विविधताभित्रको एकता पुस्तकको समग्र स्वरूपका रूपमा देखा पर्छ । तसर्थ पुस्तकलाई अनेक दृष्टिबाट हेर्न सकिन्छ ।
ऐतिहासिक महत्त्वका दृष्टिबाट
ऐतिहासिक दृष्टिबाट हेर्दा ‘पश्चिम किल्ला चम्बा पो!’ ले नेपालको ऐतिहासिक पश्चिमी सीमानामा चलिआएको ‘काँगडा’ अर्थात् सतलज नदीको किनारसम्म पुगेको जानकारी पाएका नेपालीको ज्ञानमा केही थप जानकारी दिने काम गरेको छ । नेपालको पश्चिमतिरको हालको सीमानामा अवस्थित महेन्द्रनगरबाट लगभग ७५० किलोमिटर पश्चिमोत्तर ‘काँगडा’ बाट थपक्क झिकेर अझै पर रावी नदी किनारमा अवस्थित ‘चम्बा’ सम्म पुर्याउने काम गरेको छ । यसको प्रमाण पुस्तकमा दुई किसिमले देखाइएको छ ।
“राजा तेरे गोरखियानेँ लुट्या पहाड
लुट्या पहाड गोरीरा लुट्या पहाड
पाँगीदी पँगवालिया लुटिँया लुटी बाँकी नार ।।
सुन्ना लुट्या चान्दी लुट्या, लुट्या जवाहारा
सेवा सुती कामिनी लुटियाँ लुट्या पहाड ।। (१४०)”
चम्बा वरपरका गाउँहरूमा प्रचलित प्रस्तुत लोकगीत सामाजिक प्रमाणका रूपमा देखा पर्छ । त्यहाँ गोरखा सेनाले लुटपाट मचाएको गाथा लोकगीतमा पाइनुले नेपाली सेना त्यहाँसम्म पुगेको थियो भन्ने देखाउँछ । त्यहाँको समाजमा उसले बल प्रयोग गरेको थियो भन्ने सत्यको बोकेको प्रस्तुत गीतमा राजाका ‘गोरखिया’ भनेर भनिएको छ । त्यसले पनि राजासँगको उनीहरुको सम्बन्ध थियो भन्ने बुझाउँछ । उनीहरूले त्यहाँको समाजमा अनेक खालका नारीलाई लुटेको र साथमा सुन, चाँदी र गरगहना लुटेको भनिएको छ र गाथामा राजालाई गुनासो सुनाएको भाका छ । यसबाट राजाको सेनाका रूपमा गोरखा चिनिन्थ्यो भन्ने बुझिन्छ ।
अर्को सत्य अर्थात् अभिलेखीय तथ्यका रूपमा चम्बामा भएको राजा भूरिसिँहका नाममा स्थापना भएको र उनकै पुरानो दरबारमा रहेको सङ्ग्रहालयमा भएको प्रकाशित पुस्तक भएका स्थानमा भेटिएको त्यसै सङ्ग्रहालयको सूचीपत्रमा देखाइएको छ । अङ्ग्रेजीमा अनुवाद गरेर छपिएका त्यहाँ राखिएका सामग्रीमा भेटिएको “अमरसिँह थापाले चम्बाका राजा जीतसिँहलाई लेखेका ती दुई पत्रमध्ये एउटा पत्रमा चम्बाका राजालाई गोरखाको बजीर पनि भनिएको छ । त्यसबाट चम्बा राज्य गोरखालीहरूको अधीनमा थियो भन्ने स्वत: सिद्ध हुन्छ (१४०) ” भन्ने शर्माको भनाइले त्यो कुराको पुष्टि गरेको देखिन्छ ।
जानकारी मूलक दृष्टिबाट
राहुल नेपाल प्रेमी थिए । उनमा लेखक, साहित्यकार, समाजशास्त्री, पुरातत्वविद्लगायतका अनेक गुण थिए । उनको त्यही ज्ञान र उनको कामप्रतिको समर्पणले उनलाई भारतमा ‘महापण्डित’ को सम्मान गरिएको थियो । शर्मा उनका सम्पर्कमा आएका धेरै ठुला नेपालीमध्ये सबैभन्दा बढी रुचाइएका पाउने साहित्यकार, समाजशास्त्री, पुरातत्तवविद थिए । शर्माको योग्यताका सायद उनले चिनेका थिए । यी महापुरुषका बिचको सम्बन्ध विशेष थियो । त्यसैले उनीहरूबिचको चिठी-पत्रहरू र यहाँ सङ्कलित सम्पूर्ण सामग्रीहरू जानकारीमूलक देखिन्छन् ।
शर्मा नेपालका बारेमा राम्ररी जानकारी दिन सक्ने विद्वान थिए । त्यसैले होला राहुलले ‘नेपालका केही भाषाहरूमा केही हरफ अनुवाद गरेर पठाउनु’ भन्ने अनुरोधयुक्त पत्रहरू पठाएको देखिन्छ । उनी नेपालका सबैभाषामा समेत जानकारी बटुल्न मन पराउँथे र नेपाललाई आफ्ना अध्ययनमा सामेल गर्न चाहन्थे जसका लागि विश्वासिला पात्र थिए शर्मा । उनको ‘छाप्न प्रेसमा दिएको’ जानकारी नेपाल र नेपालीका लागि चाखको विषय नै हो । उनले लेखेको ‘हिमवत खण्ड’को विवरण बेला बेलाका पत्रहरूमा शर्मालाई दिएका छन् । तिनैमध्येको ‘नेपाल खण्ड’ लेख्नका लागि उनले शर्मासँग मागेको सहयोग र त्यो पुस्तक चारसय पृष्ठभन्दा बढी पृष्ठमा लेखेर प्रकाशनका लागि प्रेसमा दिएको जानकारी अर्को महत्त्वपूर्ण देखिन्छ । “नेपाल” पुस्तक लेखिसकेर म चार जीवनी लेख्न तिर लागेँ (१४.७.५३ को पत्र, पृ. ३३) । त्यो पुस्तक प्रेसको गडबडीले हराएका कारण छापिन नसकेको सूचनाले पाठकका मनमा खिन्नताका साथ अनेक प्रश्न उब्जाउछ । उनको त्यो पुस्तक छापिएको भए नेपाली माझ सांकृत्यायन आजसम्म परिचित नाम हुनसक्थ्यो होला । नेपाल खण्डको सँस्कृति र इतिहासलाई विश्वमा चिनाउन अझै सहज हुन्थ्यो होला ।
महाकवि लक्ष्मीप्रसाद देवकोटालाई शर्माले नै सांकृत्यायन नेपाल आएका बेला भेट गराएका थिए । उनले देवकोटालाई विश्वसामु चिनाउन लेखिएको र “आजकल” मा प्रकाशित भएको ‘नेपाली महाकवि देवकोटा’ शीर्षकमा हिन्दी भाषामा लेखिएको लेखलाई नेपाली अनुवादका साथ यहाँ परिशिष्टमा समेटिएको छ । नेपाली साहित्यका पाठकका लागि यो अर्को महत्त्वपूर्ण सामग्री हो । देवकोटाका विशेषतालाई उनका काव्यका माध्यमबाट हिन्दी पाठकलाई चिनाउँदै उनले लेखेका “उही हिमाचलका वरद्पुत्र हाम्रा पन्त हुन् भने त्यसकै अर्को श्रेष्ठ पुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् । …हिन्दी कविताले १६औँ शताब्दीदेखि २०औँ शताब्दीको मध्यसम्म चार शताब्दी लगाएर जुन अवस्था पार गर्नुपर्यो र हाम्रो त्यो चार … प्राप्त भएको लक्ष नेपाली कविताले एक शताब्दीमै पुरा गर्नुपर्यो (१६८)” वाक्यमा सांकृत्यायनलाई परेको देवकोटाको प्रभाव देख्न सकिन्छ । त्यसैले सांकृत्यायनले देवकोटाले नेपाली साहित्यलाई विकासको छलाङ मार्न पुर्याएको योगदानलाई यत्तिका ससक्त रूपमा लेखेर नेपाली साहित्यलामा गुण लगाएका छन् ।
नेपालीहरूमाझ आफूलाई विदेशी भनेर चिनाएको मन नपराउने सांकृत्यायन ले“यो कसरी हुनसक्छ कि पन्तलाई चाहिँ मेरो भनूँ अनि देवकोटालाई विदेशी..” (पृ १६८) देवकोटाजस्ता नेपाली विद्वानलाई विदेशी मान्न पनि नसकी रहेका देखिन्छन् । यसले देवकोटाप्रति साँकृत्यायनको आदर र आफ्नो पन देखाउँछ । यसैमा उनले नेपाली कवितालाई हिन्दी कविता यात्रासँग तुलना गर्दै “१६औँ शताब्दीदेखि २०औँ…नेपाली कविताले एक शताब्दीमै पुरा गर्नुपर्यो” (पृ. १६८) देवकोटाको उपस्थितिमा नेपाली कविताले गरेको विकासको ठुलो फड्को देखाएका छन् ।“महाकवि देवकोटा,…हिन्दीमा अहिलेसम्म भएको छैन” (पृ. १६८) भन्दै नेपाली कवि देवकोटालाई हिन्दी साहित्यका महानकविहरू पन्त-प्रसाद-निराला, हरिऔधभन्दा विकसित कविका रूपमा प्रस्तुत पनि गरेका छन् । उनले रामायणका कवि वाल्मीकिसँग “वाल्मीकि करुण…करुण रसकै महाकवि हुन्” (पृ. १६९) समेत तुलना गर्दै देवकोटाको कवित्वलाई विशेष बनाएका पनि छन् । साहित्यको अतिउच्च खुड्किलामा देवकोटालाई पुर्याएका त्यही लेखमा “तर देवकोटालाई भने घरपरिवारले पागल ठानेर जब राँची लैजानु पर्ने कुरामात्र …तर उनी पागल त होइनन्…त्यसको प्रभाव देखापर्छ” (पृ. १७२-३) भन्ने वाक्य लेखेपछि देवकोटा उनीसँग रुष्ट भएर ‘पागल’ कविता रचेका थिए भन्ने सूचना शर्माका संस्मरणमा भेटिन्छ । अर्थात् यसका साक्षी शर्मा थिए भन्न सकिन्छ । नेपालका महाकवि देवकोटालाई उत्कृष्ट ‘पागल’ कविताको रचनाका लागि उकास्ने सो लेख देवकोटासम्बन्धी अनुसन्धान गर्नेहरू र देवकोटासम्बन्धी विशेष ज्ञान राख्न चाहनेका लागि अति नै उपयोगी छ ।
शर्माले सांकृत्यायनको सोचअनुसारकी टाइपिस्ट खोजिदिएका थिए । पछि उनले श्रीमती बनाए । शर्माको भूमिका उनको शोधपत्रसम्बन्धी सामग्री पठाउने काममा पनि भएको देखिन्छ । नेपाली भाषामा नवशब्दावलीका काममा उपयोगी हुने “यहाँ हामीकहाँ सबैतिर र सबै भाषामा म्यूजियमलाई संग्रहालय शब्द…’कौतुकालय’ वा ‘कौतुकभण्डार’….उचित छैन (पृ. ८२)” नेपाली भाषामा सहयोगी देखिन्छन् ।
त्यतिबेलाका नेपाली विद्वानहरूका माझ सांकृत्यायन परिचित थिए । त्यो परिचयमा शर्मा साथै थिए । उनी नेपालमा आउँदा उनका लागि विश्वेश्वर कोइराला जस्ता व्यक्तिसँग शर्माले आफ्नो घर छोडिदिने बनाउएको घटना पनि चानचुने हैन “मेरा एकजना मित्र त्यस समय पुलतीसडकमा एउटा अत्याधुनिक बङ्गलामा बस्थे । मैले उनलाई उनी बस्तै गरेको निवास दिन प्रस्तावित गर्नसाथ उनले स्वीकार गरे र उसै दिन तत्कालै घर खाली गरी उनी आफू अर्को ठाउँमा केही समयका लागि सर, बङ्गलाको साँचोचाहिँ मलाई दिए ….विश्वेश्वरप्रसाद कोइरालाले छोडिदिएको..राखेँ (११७) । पुस्तकमा पाइने यस्ता सूचना सबैले आ-आफ्नै महत्त्व बोकेका छन् ।
साहित्यिक दृष्टिबाट
यस पुस्तकमा संकलित संस्मरण निबन्धात्मक विधा हो । आत्मपरक रूपले रचना भएका त्यस्ता संस्मरणहरूलाई परिशिष्टमा समावेशले पत्रको सत्यताको पुष्टि गर्ने क्रममा साहित्यिक अभिव्यक्ति आएको छ । लेखकको शैलीले ती निबन्धात्मक रचनालाई पनि विशेष बनाएका छन् । यात्राका र अनेक घटनामा साथ भएका संस्मरण समेट्ने क्रममा शर्माको मनोरञ्जक लेखन शैलीको परिचय पाठकले पाउँछन् । पाठकलाई आकर्षित बनाउने शर्मा र सांकृत्यायन हिमाचल यात्रामा हिँडेका बेला घटेको“आनन्दले सुतेका थियौँ हामी । कुनै भारी आवाज आयो कोठामा । राहुलले मलाई सम्बोधन गरेर भने- “कुनै वस्तु खसेको आवाज आयो, बत्ती बालेर हेर्नुहोस् त के खस्यो ?” टर्च बालेर हेरेँ र भनेँ – तपाईँ नै लड्नुभएछ खाटबाट ।” उनले अविश्वासका साथ भने – “हो र ? यो त हुनै नसक्ने कुरा ।” (१३९) सांकृत्यायनको खाट खसेको घटनाको प्रस्तुतीकरणले पाठकलाई एकछिन मजाले हसाउँछ । त्यस्तै महाकवि लक्षमीप्रसाद देवकोटाले शर्माको पुस्तक ‘ललित-कला र साहित्य’ का निमित्त लेखिदिएको ‘परिचय’ शीर्षकको भूमिका अर्को रमाइलो शैलीको छ । शर्माको परिचय दिने क्रममा उनका “जनकलालजीमा जूँघाका रेखी साथसाथ भ्रमणको प्रवृत्ति पनि ठोस तवरले अंकित हुँदै आएको मालूम हुन्छ…हँसमुख र मिल्दो हुनुहुन्छ (१५९)” वाक्य साह्रै रमाइला छन् । सूचनामूलक ऐतिहासिक दस्तावेजजस्ता रचनामा रमाइला घटनालाई आत्मपरक ढङ्गले मनोरञ्जनपूर्ण बनाउने काम यो पुस्तकको अर्को विशेषता देखिन्छ ।
डा. नरसिँह दयालको राहुलकी रसियन श्रीमती (परिशिष्ट ६) सँगको संस्मरणमा हिन्दी सिनेमाका जस्तो उनको दु:खद प्रेमकथा भेटिन्छ, जसले एकछिन पाठकलाई भावुक पनि बनाउँछ । अन्तरराष्ट्रिय प्रेम र विवाहपश्चात् दुबैको सँगै जीवन बाँच्ने चाहना हुँदा हुँदै पनि सँगै बस्न अनुमति नदिने कठोर रूसी सरकारको तात्कालीन व्यवस्था उनीहरूको प्रेमकथाको खलनायक बनेको देखिन्छ । धार्मिक मान्यतालाई स्थान नदिने समाजवादी राज्यमा बसेर हिन्दु आदर्श नारीले जस्तो समर्पित सोचले युक्त जीवन बाँच्नु उनको अर्को सङ्घर्ष देखिन्छ । संस्कृत भाषा, हिन्दु धर्म अनि सांकृत्यायनमा सुम्पेको उनको एक्लो जीवनकथामा भेटिने मार्मिकताले पाठकको मनमा राहुलकी विदेशी पत्नीप्रति आदर भाव जगाउँछ । “श्रीमती सांकृत्यायन कमसेकम एकपटक मात्र भएपनि राहुलका साथ भारत आउन चाहन्थिन् । यो महान देशको दर्शन गर्न र आफ्ना पतिका परिवार, नातेदार र इष्टमित्रसँग भेट गर्न चाहन्थिन् …सोभियत नागरिकका लागि देश बाहिर जान शायद सम्भव थिएन (१८०)” । श्रीमती सांकृत्यायनको श्रीमान्का परिवारप्रतिको आस्था, राहुलप्रतिको प्रेम र समर्पण, राहुलका प्रेममा देशै छोड्न तयार भएको अवस्थाजस्ता पक्ष पढ्दा लाग्छ आदर्श हिन्दु श्रीमतीमा पाइने सम्पूर्ण गुण उनमा थियो “यसैकारण उनलाई कसैले रसियन मान्दैन थिए” (१८१-२) जसका कारण उनी रूसमा पनि कठिन जीवन बाँचिरहेकी थिइन् । उनी जन्मले रूसी भएपनि कर्मले भारतीय नारी नै थिइन् भन्ने देखिन्छ । तर, सायद उनको त्यो गुणको मूल्य नचिनेको रूसी सरकारले उनको भावना मार्ने कोसिस गर्यो । उनी भारत आउन त पाइनन् तर पनि उनी राहुलमै समर्पित थिइन् । सरकारी निर्णयमा भारत जान नपाउने भएपनि उनले त्यहाँ जीवित राखेका राहुलको सँसकृति र छोराको मनमा समेत पारेको प्रभाव हेर्दा प्रेम कथाका लिस्टमा अर्को अमर प्रेमको पात्रको रूपमा ‘लोला’ को जन्म भएजस्तो लाग्छ ।
सामाजिक दृष्टिबाट
नेपाल र भारतका दुईजना स-सक्त समाजशास्त्रीको सहकार्यको यो पुस्तक समाजिक दृष्टिले हेर्दा धेरै महत्त्वपूर्ण देखिन्छ । तीमध्ये नेपाली समाजमा जस्तै भारतीय समाजमा धर्म, जात र त्यसभित्रको अनुशासनलाई बढी महत्त्व दिने समाजमा जन्मेका राहुलको जीवन चक्र, धार्मिक यात्रा र ती यात्राका क्रममा परिवर्तन हुँदै गएका उनको नामसँगै उनको धर्मप्रतिको उदारवादी अनि प्रगतिवादी र व्यवहारिक सोच सामाजिक रूपमा विशेष देखिन्छ । समस्त संस्कृत भाषालाई गौरवान्वित बनाउने नेपाल-भारतबाट चिनको तिब्बत पुर्याइएका संस्कृतका पुराना ग्रन्थलाई फर्काउने उनको काम संस्कृतबाट विकसित समाजका लागि अति महत्त्वपूर्ण काम हो भन्न सकिन्छ । कर्ममा विश्वास गर्ने र प्रत्येको मिनेटको हिसाब राख्ने महापण्डित राहुल “राहुलमा यस्तो शक्ति थियो जसले माटोलाई पनि छुनासाथ सुनमा परिवर्तन गर्थ्यो” (पृ. ११५) भएको गुण र उनको सङ्गतमा परेर “ म भने राहुलको सम्पर्कमा आएर पनि सुवर्ण बन्न सकिनँ” (११५) भन्ने शर्माको भनाइ यहाँ देखिन्छ तर, भूमिकाहरूमा चिनिने शर्मामा पनि धेरै गुण त्यस्तै विशेष किसिमका देखिन्छन् । सांकृत्यायनले ब्राह्मण कुलमा जन्मेर आत्मसन्तुष्टि खोज्जै वैष्णव अनि बौद्ध भिक्षुसम्म भएर कहिले विदेशी ‘लोला’सँग र कहिले परियार कमलासँग विवाह गर्नुले उनको समाजवादी विचारलाई प्रयोगपरक कर्मको परिचय दिन्छन् । अनि समाजमा जान नहुने ठहरेका घरमा गएर खाएका ब्राह्मणका निशेधित खाना खाएका घटना उनको समाजवादी प्रगतिवादी सोचको उपलब्धीका रूपमा देखिन्छ ।
समग्रमा हेर्दा नेपालका ‘पण्डित’ जनकलाल शर्मासँगको ‘महापण्डित’ साँकृत्यायनको जीवनका अनेक चरणमा गरेको भेट र यात्रा उल्लेखनीय छ । र, त्यही क्रममा उनीहरूबिचको एकतर्फी चिठीहरूको सँगालोका साथ प्रस्तुत ‘पश्चिम किल्ला चम्बा पो !’ ले नेपाली पुस्तकालयमा एउटा ऐतिहासिक महत्त्वले पूर्ण सङ्ग्रह थप्ने काम गरेको छ । यस कार्यका लागि संपादक प्रा. डा. सुमन ढकालले गरेका कार्यहरू उल्लेखनीय देखिन्छन् । पण्डित जनकलाल शर्माका सुपुत्र प्रा. डा. ढकालले गरेका २८ वर्ष जेठा साँकृत्यायन र कान्छा नेपाली विद्वान जनकलाल शर्माको सम्बन्धको जरो देखाउँदै उनीहरूको सम्बन्धको महत्त्व बुझेर पुस्तक संपादन गर्न पत्रहरूको सङ्कलन र तिनको पुष्टि गर्ने उत्कृष्ट संस्मरणहरूलाई परिशिष्टमा जोडेर एउटा प्रामाणित दस्तावेजका रूपमा यसलाई प्रकाशनमा ल्याएका छन् । जसले पुस्तकलाई अझै गहन बनाउने काम गरेको छ । उनले यहाँ आफ्ना बाबुले राष्ट्रिय अभिलेखालयमा दिई सकेका पत्रहरूको सङ्कलन गरी त्यसका साथमा यसको अनुवादको काम पनि अति मसिनो गरी गरेका छन्, जुन प्रशंसनीय छ । प्रस्तुत ऐतिहासिक दस्तावेजले नेपालको इतिहासको एउटा खण्डको परिचय बोकेको छ । राजनीतिक सीमानाले छुट्टिएका दुईजना महान व्यक्तिहरू भारतीय राहुल सांकृत्यायन र नेपाली जनकलाल शर्माको वैचारिक र कार्यगत समानता र समान उद्देश्यका साथमा भएका खोजपूर्ण कामहरूको साक्षी बन्ने काम यसै दस्तावेजले गरेको छ । यहाँ बटुलिएका पत्रहरूले एकातिर यी दुई महान व्यक्तिहरूको आपसी सम्बन्ध देखाउने काम गरेका छन् भने, ऐतिहासिक रूपले हेर्दा यसले विशाल नेपालको पश्चिमी सीमानालाई अझै केही पर तन्काउने काम गरेको छ । दुई महापुरुषहरूका पत्रहरूलाई संस्मरणसँग जोड्दै उनीहरू बिचको सम्बन्ध स्थापनामा पुल बन्ने प्रा. डा. माधव प्रसाद पोखरलको भूमिका आफैमा विशाल छ । प्रा.डा. पोखरेल र नरेन्द्रराज प्रसाईँका दुईवटा स-सक्त भूमिकाले पुस्तकको महत्त्वलाई अझै बढाउने र प्रष्ट्याउने काम गरेका छन् ।