18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अँगालोमा बेरिएकी ‘कुसुम’

कथा विमल लामिछाने September 23, 2025, 3:42 pm
विमल लामिछाने
विमल लामिछाने

जेन जी पुस्ताले रुचाएकी कुसुम नाम जस्तै कोमल थिइन्, जुनजस्तै उज्यालो थियो उनको अनुहार । चेहरा धपधप अँध्यारामा चम्किएको पारशमणी झै । उनका नयनमा बैँसालु लाली फुलेको, मनका आँकुराहरु लालुपाते फूलको आकर्षक झैं मोहित थिए । मानौं वसन्तका पलहरू उनकै दृष्टिमा सिंचित छन् ।

जेन जी (सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूको समूह ) पुस्ताकी कमाण्डर हुन् कुसुम । डाँफेचोकमा उनको भाषण सुन्ने फ्यानको ठेलमठेल भिड थियो । विचविचमा राखेका साउडबक्सको ध्वनीले जमिनमा कम्पन दिइरहेको थियो । जसरी मन उमंगमा तरंगित थियो, उस्तैगरी शब्द सुवासले मादक बनेका देखिन्थे उनका फ्यानहरु ।

उनका शब्द शब्दमा समुन्द्रको ज्वारभाटा झै छचल्किएको थियो उनको हृदयको चाल । सलक्क परेको पहाडे काँक्रा झै शरिर । उनको उच्च आकर्षक चेहराले युवा पुस्तालाई खिचिरहेको थियो । धेरैका दृष्टीले शिकार गरिरहेका थिए उनका टक्क अवयवहरुको । बेला बेला हो मा हो मिलाएर कुर्लिरहेको थियो जेन जी पुस्ता । छिन छिनमै गुञ्जयमान बन्थ्यो तालीका पर्राको आवाज ठोकिन्थ्यो । मानौ कानका जालीमै कम्पन चलिरहेछ ।

जति विद्रोहको आवेश र आक्रोस थियो उनका शब्दहरुमा त्यतिनै हृदयमा प्रेमको एउटा मौन नदी बहिरहेथ्यो, जसको मुहान त्यो मनभित्र बहने उसको आफ्नै मौनताको गोप्य एकान्तभित्रको कुना थियो । त्यो प्रेमिल नदीको केन्द्रमा थिए पहाड । न कि विशाल, अडिग हिमाल झैँ मौन र स्थिर थिए पहाड । नाम मात्र हो पहाड, उनको स्वभाव भने बादलझैँ चलायमान र नदीझैँ शीतल थियो । तर कुसुम र पहाडको विचमा जातको तगारो थियो । समाजमा पहाड र कुसुमलाई उच्चता निचताको तगारोले घेरेको रहेछ ।

कुसुम र पहाड (जेन्जी) एउटै कलेजमा पढ्थे । सँगै पढ्ने, कलम र पुस्तकहरू साट्ने, कहिले काँही हाँसो–ठट्टा गर्ने, तर त्यो सम्बन्ध, त्यो संवाद मित्रताको सीमारेखाभित्र सुरक्षित थियो । त्यस रेखाबाट पर कतै प्रेमको उज्यालो क्षितिज थियो, जुन अभैmसम्म दुबैजनाको मौनताभित्र बाँधिएर उकुस मुकुस थियो ।

तर अब मौनताको बाँध नफुटिरहन सकेन । कुसुम मौन रहिनन् । उनले भनिन्, ‘अब खुला मैदानबाटै यो समाजमा जरा गाडेर बसेका सबैखाले विभेदलाई जेन जी पुस्ताले उखेलेर फ्याक्नु पर्छ । विभेदको विरुद्ध फेरि अर्को पुस्ताले लड्नु नपरोस् । जेन्जी पुस्ता समाज रुपाञ्तरणको लागि लड्ने अन्तिम पुस्ता बनोस् ।’ पररर.. तालिको आवाज आउँछ ।

पहाडसहित जेन्जी पुस्ताको यो ठूलो हुलले कुसुमलाई साथ दिन्छन् । एउटा चरणमा पुगेर राज्यसत्ताका बागडोर सम्हाल्ने पात्रहरु फेरिन्छन् । तर धेरैले बलिदानीको कोटा चुक्ता गर्नुपर्छ । वलिदानी र रक्तपात पछि सत्ताका पात्र फेरिएपनि प्रवृतिमा फेरबदल आउन नसकेको तीतो अनुभूति यो पुस्ताले अझै शेयर गरिरहेको छ ।

उता कुसुम र पहाडको भावनात्मक मौनताको गाँठो भने कसिँदै गएको थियो । मनमा पोखिएको भावना अब हृदयमै थाम्न नसकिने अवस्थामा पुग्छन् दुवै । उनीहरुले बिर्सिन चाहेनन् ‘प्रेम भनेको मौनता होइन, साहस हो’ । त्यसैले उनले आफ्नो अव्यक्त प्रेमलाई मनिमा नामकी विश्वासपात्र साथीमार्फत व्यक्त गर्ने साहस गरिन् । हिम्मतसाथ मनिमालाई भन्न पुगिन् पहाडलाई भनिदेऊ, म उसलाई मन पराउँछु । तर यो प्रेम केवल आर्कषण होइन, यो त चोखो र निश्चल छ, जसरी धर्तीले आकाशलाई गर्छे, चन्द्रमाले सीत बनेर पृथ्वीलाई तिर्छ । विद्रोहले परिवर्तनलाई चुम्छ ।

एकदिन मनिमा पहाडको खवर लिएर फर्किन्, मुखमा मधुर मुस्कानसहित । पहाड पनि त्यही भन्छन्, पहाडको मन पनि तिमीमा नै अडिएको रहेछ । उनले भने, कुसुमजस्तो पवित्र हृदयकी साथीसँग जीवन बिताउने सपना म पनि देख्छु । तर यो सम्बन्ध हामी शब्दमार्फत होइन, कर्ममार्फत पुष्ट गर्न सकौं ।

त्यो दिन कुसुमको जीवनमा खुशीको बहार उर्लेको थियो । उनी ढक्क फुलिन् । मानौ आत्मभित्र कुनै सुगन्धित उज्यालो फैलियो, मानौं प्रेमको बगैँचामा अब पहिलो पटक उनी आफूलाई फूलझैँ फुल्न पाएकी थिइन् ।

साँच्चिकै, कुसुम केवल रूपमा मात्र होइन, सोच र स्वभावमा पनि एउटा असल मानवीय मूल्यकी प्रतिनिधि पात्र थिइन् । उनको प्रेम, केवल साथ पाउने चाहनामा सीमित थिएन । उनी त्यस्तो प्रेम चाहन्थिन्, जसले मान्छेलाई महान बनाओस्, स्वार्थबाट मुक्त होस् र त्यागको अमृतले सिञ्चित होस् । उनी विश्वास गर्थिन्, पौराणिक कथाका पात्र नल राजा र दमयन्तीको प्रेमजस्तो, लक्ष्मीप्रसाद देवकोटाका मुना र मदनको कथामा वियोगको बेला अमरता खोज्ने भावजस्तो, लैला–मज्नुको त्यागजस्तो प्रेममा नै साँचो सौन्दर्य भरिएको प्रेम । समाजमा परिवर्तनको नमूना बन्न सक्ने महत्वको महजोडी । अनि दुई आत्माहरूबीचको समझदारी, एक–अर्काको स्वाभिमानको सम्मान र सँगै अघि बढ्ने वर्गीय विद्रोहमा सहयात्राको साझा प्रतिवद्धता ।

कलेजका ति दिनहरूमा उनीहरूले कहिल्यै प्रेमी–प्रेमिकाका अभिनय गरेनन् । न हात समाते, न आँखा चोरे । न रसिलो स्पर्स नै । पढाइको अलावा केवल एक अर्कालाई साथ दिए, समाजमा वर्गीय चेत भर्दै विद्रोहकोलागि सार्थक एकतामा ।

पहाडपनि त्यही चाहन्थे । प्रेमले विचारको विगुल फुकेर समाजका हरेक नागरिकमा चेतनाको उर्जा भर्न सकोस् । लक्ष्यमा पुर्याएर समाजलाई परिवर्तनको आभाष दिलाउन सकोस् । ब्यवहारमा पनि साँच्चै त्यस्तै थियो आपसमा । कुसुम कविता लेख्थिन् । उनका शब्दहरूमा पीडाको गहिराइ र आशाको उज्यालो मिसिएको हुन्थ्यो । ती कविताहरू जब पहाडले पढ्थे, उनी चुपचाप मुस्कुराउँथिन् ।

कुसुम शब्द थिइन्, पहाड क्रियाशील अर्थ । उनीहरूको सम्बन्ध कुनै संयोग थिएन, यो त नियतिको खेल भन्दापनि क्रान्तिकारी भेटजस्तो लाग्थ्यो । जसरी बादलले हिमालको शिर चुमेर फेरि फर्कन्छ र आनन्दित वर्षामा परिणत हुन्छ । उस्तै मिलन थियो कुसुम र पहाडमा ।

पहाडको मौनता कुसुमलाई भावना बुझ्ने गहिरो परिभाषाजस्तै लाग्थ्यो । उनका शब्दहरूमा वर्गीय चेत, जातीय विद्रोह र गरीव जनताको पीडाको गहिराइ हुन्थ्यो, आँखा खोल्ने सन्देश हुन्थ्यो, अनि भविष्यको कल्पना भरिएको हुन्थ्यो ।

समाजमा अन्यायको विरुद्ध आवाज उठ्न थाल्यो । कुनाकुनामा विद्रोहका नारा घन्किए, शासकको किल्ला ढल्न थाल्यो । समाजमा विद्रोहको छाल आउन थाल्यो । युवाहरू जाग्न थाले, गाउँ गाउँबाट भाउजु, आमा र दिदीहरु सडकमा आए, बूढापाकाले मुठ्ठी कसे, कुनाकुनामा नारा घन्किन थाले, ‘हाम्रो सपना–हाम्रो संघर्ष !’ योसँगै कुसुम र पहाडविच तगारो बनेको विभेदको किल्ला पनि ढल्यो ।

अन्ततः उनीहरूले विवाह गरे, तर त्यो कुनै तामझामले भरिएको साधारण विवाह थिएन । त्यो ‘जनवादी विवाह’ थियो । विश्वास र आदर्शको गहिरो मिलन थियो । कुसुमले पहाडको हात समाउँदै भनिन्, ‘तिमी मेरो सपना मात्र होइन, मेरो संघर्ष पनि हौं । म तिमीलाई प्रेम गर्छु, जसरी आत्माले सत्यलाई गर्छ, आकाशले धर्तीलाई गर्छ ।’

आज, कुसुम र पहाडको जीवन प्रेम र क्रान्तिको अद्वितीय मिसाल बनेको छ । उनीहरू चोखो, विवेकपूर्ण प्रेमका संवाहक हुन् । साँचो सपना देख्ने र समाजमा जरा गाडेर बसेका सबैखाले विभेद विरुद्ध परिवर्तनको विगूल फुक्ने सहयात्री । परिवर्तनका प्रेरक । उनीहरूको सम्बन्धमा कुनै बनावट थिएन । प्रेम उनीहरूका लागि व्यक्तिगत मोहको बन्दी थिएन, त्यो त साझा सपना थियो । एक यस्तो समाजको परिकल्पनामा उनीहरुको सहयात्रा थियो, जहाँ मान्छे बराबरीमा बाँच्न सकून्, स्वतन्त्रताको सास फेर्न सकून् । मान्छे मान्छेविच भेदभाव कहिल्यै नहोस् ।

चन्द्र र सूर्य अंकित रातो झन्डामुनि, जनताको बीच, उनीहरूले कसम खाए । सपना मात्र होइन, संघर्षमा पनि सँगै होमिएको जेन्जी पुस्ताको नमूना जोडी । त्यो विवाहलाई समाजले ‘जनवादी विवाह’ को नाम दियो । कुसुम र पहाड अँगालोमा बेरिए ।

झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।