चिरञ्जीवी दाहाल साहित्यिक क्षेत्रका बहुआयामिक व्यक्तित्व हुन् । उनी आफ्ना साहित्यिक सुकर्मले स्थापित भइसकेका छन् । उनी संस्मरणकार हुन्, आत्मकथाकार हुन्, आख्यानकार हुन् , हास्यव्यङ्ग्यकार हुन्, साथै मुक्तककार, गीतकार र गजलकार पनि हुन् । स्रष्टा द्रष्टा दुवै चेत भएका उनी कुशल समीक्षक पनि हुन् । यसप्रकार उनी वहु विधाका बहुआयामिक सर्जक देखापर्छन् ता पनि उनमा आत्मसंस्मरणकार वा आत्मकथाकारको रूपमा उनको उचाई भव्य र विशिष्ट देखिन्छ ।
दाहालका अहिलेसम्म सातवटा कृतिहरू प्रकाशित भैसकेका छन् । प्रकाशित रूपमा मुक्तकसङ्ग्रह (२०७७) बाट साहित्यिक यात्रा प्रारम्भ गरेका उनी एक दशक पनि नबित्दै आधादर्जन भन्दा अधिक कृतिका प्रणेता बनिसकेका छन् । यतिबेला उनी निबन्धकारका रूपमा पनि सशक्त बनेर देखा परेका छन् । निबन्धमा पनि उनको विशिष्ट पहिचान बन्ने देखिन्छ । हालै उनको “अज्ञात यात्रा" निबन्धसङ्ग्रह (२०८२) कालीगण्डकी साहित्य परिषद् बाट प्रकाशित भएको छ । यसमा उनका ३५ वटा निजात्मक प्रकृतिका वस्तुनिष्ठ वैचारिक तार्किक एवं चिन्तनपरक निबन्धहरू संगृहीत छन् ।
दाहालले आफ्ना नैबन्धिक कृतिको शीर्षक “अज्ञात यात्रा " राखेका छन् । अज्ञात यात्रा आफैँमा जीवन यात्रा पनि हो तर जीवन यात्रा नभनेर अज्ञात यात्रा भन्नु अधिक रहस्यमय र अर्थपूर्ण देखिन्छ । यसै कृतिभित्रको एक निबन्ध पनि हो “अज्ञात यात्रा " । उनले यसलाई पूरै कृतिको प्रतिनिधित्व गराएका छन् । अज्ञात यात्रा एक साहित्यिक यात्रा मात्र नभएर रहस्यमय यात्रा पनि हो । यसमा उनको जीवनदर्शन पनि आएको छ । अज्ञात यात्रा, अज्ञात यात्रा नामक निबन्धबाट मात्र नभएर रहस्यमय आत्मकथ्यबाट पनि यात्राको विशिष्ट अर्थ प्रकाश पारेका छन् ।
मान्छेले बाँच्नका निम्ति अनेक सङ्घर्ष गर्छ र जन्म र मृत्युका परिभाषाहरू फरक फरक हुन्छन् भन्ने उनको दृष्टिकोण छ । आफ्नो यात्रा कहाँको हो, कहाँ पुग्नु छ, कहिले कसरी पुग्न सकिन्छ , मानिसलाई थाहा छैन तर पनि यात्रा गरिरहेको छ । कोही ईश्वर प्राप्तिको निम्ति यात्रा गरिरहेका छन्, कोही साहित्यिक यात्रा गरिरहेछन्, आखिर यात्रा गर्दागर्दै एकदिन आफ्नो यात्रामा पूर्णविराम लाग्छ । यसरी निबन्धकारले आफ्ना मौलिक विचार चिन्तन र दृष्टिकोणबाट रहस्यमय जीवनको मार्गदर्शन गराएका छन् । नश्वर जीवनको नियति दर्शाएर आत्मा र सत्य प्रति निष्ठ हुनुपर्छ । जीवनले प्रेम विश्वास नैतिकता र इमानको गति लिनुपर्छ भन्ने सन्देश पनि दिन खोजिरहेका छन् । उनको मुमूर्षा - आत्मकथा (२०७८) जीवनकै दर्शनबोधि विशिष्ट कृति हो । आफ्नो कष्ट र पीडाको जीवन्त चित्रण भएको वा आफ्नो जीवनका भोगाइलाई अक्षरहरूमा जीवन्तरूपमा उतारिएकाले कृति निकै मर्मस्पर्शी हुन पुगेको छ । त्यस्तै यो पनि नैबन्धिक विचार एवं भावनाका मिहिन रूप तथा जीवन विषयक दर्शनले विशिष्ट बन्न पुगेको अनुभव हुन्छ । यस शीर्षकले यो कृति सुन्दर मात्र भएको छैन सुनमा सुगन्ध झैँ सुन्दर र सार्थक समेत बन्न पुगेको छ ।
दाहालका यी निबन्धहरू पढ्दै जाँदा समालोचक ईश्वर बरालको निबन्ध विषयक परिभाषा याद आउँछ । परिभाषामा क्रममा बरालले भनेका छन् निबन्ध भनेको एक किसिमको कुरा गराइ हो त्यस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाले निबन्ध भन्नु साथीभाइसँगको टेबुल गफ हो । यथार्थमा सतही कुरा र गफ निबन्ध होइनन् तर तिनले सरल सहज र सम्प्रेष्य शैलीमा आनन्दको अनुभूति गराउँदै जीवनको स्पर्श गर्छन्, मनको क्षितिज वृहद तुल्याउँछन् । यही अर्थ र आशयमा कुरा गराइ र गफ पनि निबन्ध बन्न पुगेका छन् । लाग्छ, दाहालले यही प्रवृत्तिको अनुशरण गरेका छन् र त्यसमा उनी सफल भएका छन् ।
दाहाल बहिर्मुखी स्वभावका व्यक्ति नभई अन्तर्मुखी स्वभावका व्यक्ति हुन् । अन्तर्मुखी स्वभावका विषयमा उनले एक सिङ्गो निबन्ध नै प्रस्तुत गरेका छन् । एक सिर्जनशील व्यक्तिका निम्ति एकान्त र अन्तर्मुखी स्वभाव कति महत्त्वपूर्ण हुन्छ उनले यस निबन्धमा स्पष्ट पारेका छन् ।
हुन पनि सिर्जनशील व्यक्तिलाई ऐकान्तिक परिवेश आवश्यक पर्छ । एकाग्रता भङ्ग हुने कुराले सिर्जन प्रक्रियालाई अवरोध पुर्याइरहेका हुन्छन् भन्ने उनको धारणा सिर्जन प्रक्रियाको निम्ति महत्वपूर्ण धारणा हो। मानिसको प्राकृतिक देन हो - “अन्तर्मुखी स्वभाव" । यो कसैले चाहेर पनि विकसित हुदैन भन्ने तथ्यलाई पनि उनले उजागर गरेका छन् । आफूसँग त्यो स्वभाव भएकोमा खुसी र गौरवको अनुभव पनि प्रकट गरेका छन् । निबन्धकारले सामाजिक जीवनको बारेमा पनि गहिरो चिन्ता प्रकट गर्दै ‘अब ती दिन हाम्रा रहेनन्' मा हाम्रा सङ्कीर्ण प्रवृत्तिको आलोचना गरेका छन् । हरेक कार्य द्रुत गतिमा सम्पन्न हुन थालेपछि हामीमा पनि त्यसको प्रभाव त्यही अनुरूप परेको छ। हाम्रो धैर्यधारण गर्ने क्षमतामा ह्रास आएको छ। हामी जे मा पनि छिटो परिणाम खोज्छौँ । हामीमा समर्पण र प्रतिबद्धताको अभाव छ । प्रेमले नै सम्बन्धहरूलाई सुदृढ तुल्याउँछ भन्ने उनको विचार व्यक्त भएको पाइन्छ । जीवनको मूल्य मान्यताको बारेमा पनि निबन्धकारले गहन चिन्तन गरेका छन् जस्तै सहिष्णुता जीवनको एक मूल्य हो मानवजीवनलाई नियमन गर्ने यो मूल्यको अभाव ‘असहिष्णुता' निबन्धबाट व्यक्त गरेका छन् ।
यस नैबन्धिक कृतिको महत्वपूर्ण निबन्ध हो-“अज्ञात यात्रा "यसले जीवन यात्राका बारेमा गम्भीर विचारहरू मुखरित गरेको छ । जीवन दौड हो यो सत्य सबैले स्वीकार्नै पर्छ तर महत्त्वपूर्ण वस्तु फालेर बेकारका वस्तु बोक्नु उचित होइन । यात्राका क्रममा धेरै झोला र भारी गह्रुङ्गो भयो भने यात्रामा कठिनाइ हुन्छ । भारी भन्नाले ती तृष्णा र लोभलालचका भारी हुन् । जीवन यात्रामा सकेसम्म भौतिक र मानसिक बोझबाट मुक्त हुनुपर्छ । जीवन यात्राको यो भोगाइको यथार्थ सत्य सबैका निम्ति मननीय र ग्राह्य विषय रहेको छ । यही जीवन दर्शनले कृतिको गुरुत्व र गरिमा बढेको अनुभव गर्न सकिन्छ ।
“ आलस्य" मानवीय प्रवृत्तिपरक निबन्ध हो । आलस्य भनेको बानी हो । बानी जस्तो बसाल्यो यो त्यस्तै हुन्छ । सबै आ-आफ्नो काम कर्तव्यमा सक्रिय हुन सके समाज पनि उकालो लाग्छ नत्र ओरालो । आलस्य गरेर चुनौतीबाट भाग्ने हो भने जीवन कष्टकर हुन्छ। त्यसैले आलस्य रोग फालेर चुस्तस्फूर्त हुनुपर्छ । आलस्य मनसँग सम्बन्धित छ । मन नै यसको उपचार हो मनलाई नै उत्साह र उमङ्गले क्रियाशील बनाउनु पर्छ भन्ने सन्देश दिएका छन् ।
आलस्य, इमान्दारिता र ईर्श्या मानवीय प्रवृत्ति हुन् । यी प्रवृत्तिहरूलाई स्पष्ट रूपमा परिभाषित गर्दै पौराणिक मिथक सहित सूक्ष्म विश्लेषण गरेका छन् । जीवन जिउने क्रमका यी महत्त्वपूर्ण प्रवृत्ति हुन् । यिनलाई जति अनुकूल बनाएर चल्न सक्यो उति नै मानिस सुखी र समृद्ध हुदै जान्छ । यदि यिनै प्रवृत्तिमा गल्ती वा भूल गर्दै गयो भने उसको जीवनको परिभाषा नै बदलिन सक्छ भन्दै निबन्धकारले सम्बन्धित प्रवित्तिहरूप्रति सचेत बनाउने प्रयास गरेका छन् । यसरी जीवनसँग सम्बन्धित तत्त्वहरूको घनीभूत चिन्तन गरेर निबन्धकारले आफ्ना निबन्ध मार्फत जीवनमा ऊर्जा भर्ने काम गरेका छन् ।
'एउटा सामान्य सपना' निबन्धकारले आफ्नै जीवनमा बेहोर्नु परेको यथार्थ कथा हो । यो पढ्दा मन निकै भावुक र द्रवित हुन्छ । एउटा सामान्य सपना देख्ने परिवारमा पनि परेको यो वज्रपात असह्य छ । यी पङ्क्तिहरूले पाठकलाई निकै संवेदनशील तुल्याउँछन्, जस्तैः"हौसला र आत्मविश्वाससँगै हिँडेको हाम्रो यात्रामा अचानक सडक अवरुद्ध हुने गरी खसेको पहिरो जस्तै सहज रूपमा पन्छाउन नसक्ने गरी अवरोध देखा पर्यो अर्को शब्दमा भन्नु पर्दा अप्रत्याशित रूपमा मेरा एक जोडी मृगौलाहरूले तिनले गर्नु पर्ने नियमित कार्य गर्न छोडिदिए । (पृष्ठ ४०) प्यास लागेको बेला विष पिउन परेको जस्तो उनले घोर विपत्ति सहेर पनि जीवन जिउने सूत्रहरू कण्ठस्थ पारे । आफ्नी धर्मपत्नीको पूर्ण सहयोग नपाएको भए उनको यो इहलोकको यात्रा बिचैमा दुर्घटित हुन्थ्यो । हामी साहित्यिक सहयात्रीबाट वञ्चित हुनुपर्थ्यो।
यी पङ्क्तिहरूले पनि हाम्रो मनमतिष्क तरङ्गित पार्दछन् - “म लड्दा उनले उठाउने गरेकी थिइन् । उनी लड्न खोज्दा मैले टेको दिने गरेको थिएँ। " यसरी निबन्धकारले भावुक भएर यो निबन्ध लेखेका छन् । एकै निबन्धबाट जीवनको यथार्थ मर्म उतारेका छन् । आफ्नी पत्नीप्रति कृतज्ञताको भाव व्यक्त गर्दै पाठकहरूलाई अति महत्वाकांक्षी नहुन र पछि तनावमा पर्ने गरी सपना नदेख्न सन्देश दिन्छन् । कल्पनामा कल्पना शक्तिको महत्त्व दर्शाउँदै पाठकलाई स्वास्थ्य प्रतिकूल नहुने गरी कल्पनामा रमाउने सल्लाह दिएका छन् । पढ्ने लेख्ने विषयमा आधारित निबन्ध हो किन लेख्ने ? यस निबन्धबाट निबन्धकारले सटीक जवाफ दिएका छन् । आलोचनात्मक सोच विकसित गर्न र मनको विरेचन गर्न पढ्ने लेख्ने गरिन्छ । लेख्नका लागि पढ्नुपर्छ स्वाभाविक हो । पढ्दा सोचाइको क्षितिज फराकिलो बन्ने उनी बताउँछन् र समीक्षा गर्न नसक्ने मान्छे कवि वा लेखक हुन सक्दैन भन्ने शाश्वत वाणी समेत प्रस्तुत गरेका छन् । लेखाइबाट मानव मस्तिष्क स्वस्थ्य र परिष्कृत हुन्छ भन्दै भावना विचार साझा गराउन, अभिलेख राख्न, पीडा मोचन गर्न आदि उद्देश्यले लेख्ने गरिन्छ जे उद्देश्य राखेर लेख्ने गरेको भए पनि लेखक र लेख्नुको महत्त्व छ भन्ने उनको धारणा पाइन्छ।
‘को नहुदा के हुन्छ' मा संसारिक रीतको वयान छ । जतिसुकै हित्तचित्त मिलेको साथी भए पनि आ-आफ्ना भोकका आकाङ्क्षाले अलगिनु पर्छ भन्दै सम्बन्धको यर्थाथता प्रस्तुत गरिएको छ । 'खुसी' मा अप्रत्याशित खुसीका बारेमा आफ्ना अनुभव प्रस्तुत गरेका छन् । नियमित रूपमा खुसी प्राप्त गर्न मिहिनेती बनेर खुसीको खेती गर्नुपर्छ भन्ने उनको धारणा छ । मिहिनेत पूर्वक खुसीको आमन्त्रण गर्नुपर्छ तर यसको अम्मली हुनु हुदैँन भन्ने यसले दिएको सन्देश हो । “चालिस वर्ष अघिको ताहुँ " मा निबन्धकारले ताहुँको हावापानी, प्राकृतिक परिवेश एवं सांस्कृतिक रीतिरिवाजको मनोरम चित्रण गरेका छन्। ' छैटौँ इन्द्रीय' अलौकिक शक्तिको कारक हो । योगी र ध्यानीले यो शक्तिको प्रयोग गर्न सक्छन् र जीवन र मृत्यु सम्वन्धका गूढ रहस्य बुभन सक्छन् भन्ने धारणा छ । पूर्वीय दर्शनले यसको अस्तित्व स्विकारेको छ त्यस्तै आधुनिक विज्ञानले पनि यसको अस्तित्व स्विकार्न सक्छ भन्दै निबन्धकारले रहस्यमय कुराप्रति आफ्ना धारणा राखेका छन् ।
“जिजीविषा र मुमूर्षा" चिन्तनपरक दार्शनिक निबन्ध हो । यसमा सुखमा मात्तिने र दुःखमा आत्तिने गर्नु हुन्न । जीवनमा आइपर्ने समस्याहरूलाई व्यवस्थित गर्दै गीता दर्शनको अनुशरण गर्नुपर्छ भन्ने सन्देश दिएका छन् । “जिज्ञासा" भनेको जान्ने सुन्ने चाहना हो। जिज्ञासा अनेक प्रकारका हुन्छन् । सबै जिज्ञासा राम्रा हुन्छन् भन्ने छैन त्यसैले जिज्ञासा पूरा गर्न विचार पुर्याउनु पर्छ । जिज्ञासा राख्दा सकारात्मक जिज्ञासा राख्नु पर्छ भन्ने निबन्धकारको धारणा पाइन्छ। ‘जीवन, ईर्ष्या र गल्ती'मा हामी भित्र पनि विकृति हुन सक्छन् , भूल हामीले पनि गर्न सक्छौं यसैले हामीले आफैँलाई परीक्षण गरी आफ्ना विकृतिको अन्त्य गरेर चल्नुपर्छ भन्ने सन्देश मुखरित गरेको छ ।
“जीवनको चित्र र बुढ्यौली उमेर" आशावादी स्वर मुखरित भएको निबन्ध हो । चित्र बनाउने क्रममा मानिसले जीवनको सुन्दर चित्र बनाउनु पर्छ अर्थात् जीवनमा सुकर्महरू गर्नुपर्छ र बुढ्यौली लाग्यो भनेर झोक्राइरहनु हुँदैन । संघर्षको मैदानमा जोश जाँगरले उत्रिनु पर्दछ । “जीवन र मृत्यु " तार्किक र चिन्तनपरक निबन्ध हो जीवन छ र मृत्यु पनि छ । दुवै परस्पर सम्बन्धित छन् तर यिनलाई पृथक रुपमा हेर्ने गरिन्छ । यी दुवैसँगै छन पृथक छैनन् । मान्छे आफँँसँग जे छ त्यसैमा सन्तुष्ट भएर चल्यो भने उसले जीवनको अर्थ बुझ्न सक्छ भन्ने निबन्धकारको दृष्टिकोण देखिन्छ । “तीस वर्ष अघि र आज को गाउँ " संस्मरणात्मक निबन्ध हो। यसमा निबन्धकारले गोरखाबाट चितवन जिल्लामा पर्ने जुटपानीको खोलेसिमलमा बसाई सरेर आउँदाका स्मृतिविम्वहरू प्रस्तुत गरेका छन् । क्रमिक रूपमा विकास र परिवर्तन हुदै गएको यथार्थता लाई पनि आत्मसात् गरेका छन् । ह्वात्तै विकास भएर बिदेश पलायन हुने स्थितिप्रति भने चिन्ता प्रकट गरेका छन् ।
“धोका" मानवीय दुष्प्रवृत्ति हो । यसमा निबन्धकारले जीवनमा धेरै धोका पाएको अनुभव गरेका छन् । उनका दृष्टिमा धोका दुई प्रकारका छन्ः परिवन्दमा पाइने धोका र योजनाबद्ध रूपमा पाइने धोका । उनले जीवनभर विर्सन नसकिने योजनाबद्ध धोका पाएको उल्लेख गरेका छन् । यथार्थमा उनले प्राकृतिक धोका समेत पाएका छन् ।
“पागल लाटोकोसेरो" दाहालको व्याङ्ग्यात्मक निबन्ध देखापर्छ । यसमा उनले मान्छे र स्वेटर बीच तुलना गरेका छन् । एउटा लाटोकोसेरोको साक्षात्कार पछि आफ्नो मन अलिकति परिवर्तन भएको बताएका छन् । लाटोकोसेरोहरू बारे उनी भन्छन् - "लाटोकोसेरोहरू अन्धकारलाई परम सत्य मान्ने गर्छन् । यी उज्यालोका दुष्मन हुन् । (पृ.१३८) परिवर्तनमा निवन्धकारले परिवर्तनको कारण बताएका छन् । अधिकांश परिवर्तन प्राकृतिक कारण हुने गर्छ भने केही परिवर्तन मान्छेका कारणबाट पनि हुन्छ भन्दै परिवर्तनलाई सहज रूपमा स्विकार्नु पर्छ भन्ने धारणा राखेका छन्। 'बाँसुरीको धूनले आगो निभ्दैन ' मा मानवीय प्रवृत्तिको सूक्ष्म विश्लेषण गरेका छन् । यसमा पनि व्यङ्ग्यात्मक प्रवृत्ति छ। नीरोले झैँ बासुरी बजाउनेहरू सिंहदरवार र हाम्रो मानसिकतामा पनि छ भनेर गैर जिम्मेवार र उदासीन हुदै गएको वर्तमान समाज र राजनीति प्रति व्यङ्ग्य गरेका छन् ।
‘मनको दास'मा मान्छेको मनलाई बच्चासँग दाँज्दै मनको आदेश मान्छेले हरतरहले पूरा गर्नु पर्दछ भन्दै यसमा उनले मनका मागको सम्बोधन गरेका छन् । “मागेबुढाको झोला'' मा जीवनको विवशता र विडम्वनाको चित्रण छ। यसमा उनले जीवनको परिभाषा समेत प्रस्तुत गरेका छन् । “माटोको माया"मा माटोको महिमा प्रस्तुत गर्दै माटोलाई माया गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।मान्छे सामाजिक, प्राणी हो ऊ समाजका नीतिनियमसँग चलेर हिड्नुपर्छ समाजकै कारण मान्छेमा सामाजिक डर हुन्छ भन्दै “ मान्छेले के भन्लान् ?" मा मान्छेको स्वभावलाई सूक्ष्म ढङ्गले विश्लेषण गरेका छन् । “मेरो जन्मभूमि मेरो तान्द्राङ" मा निबन्धकारले गोरखाको गौरवमय इतिहास स्मरण गर्दै आफ्नो जन्मभूमि तान्द्राङको महिमागान गरेका छन् । उक्त तान्द्राङ गोरखा बजार भन्दा केही पर पर्ने एउटा सुन्दर गाउँ हो । “रहर र वाल्यकाल "मा बाल्यकालीन स्वभाव र प्रवृत्तिको उल्लेख गरेका छन् । वाक्यात्मक शीर्षक रहेको “वृद्धावस्था ईश्वरको वरदान हो" मा वृद्धावस्थाका शारीरिक र मानसिक अवस्थाको चित्रण गर्दै अनुभवले खारिएको उमेर भएकाले वृद्धावस्थालाई ईश्वरको वरदान मानेका छन् । यसै कृतिको अन्तिममा रहेको “ सुख जीवनको प्रधान सूचक होइन" भन्ने वैचारिक चिन्तनमूलक निबन्धमा निबन्धकारले सुखदुःख बारे अफ्ना सटीक धारणा राखेका छन् । सुखदुःख जीवनका चक्रीय प्रणाली हुन् । सङ्घर्षशील जीवनमा कहिले दु:खको अनुभूति हुन्छ कहिले सुखको अनुभव हुन्छ । जीवनमा दु:खलाई स्वीकार गरेर कठिनाईहरूलाई जित्ने हो भने खुसी प्राप्त हुन्छ त्यही खुसी सुखको आधार हो त्यसैले जीवनमा सुख होइन खुसी खोज्नु पर्छ, खुसी भित्र सुख आइहाल्छ भन्ने उनको निष्कर्ष रहेको छ।
दाहालका यी सबै निबन्धहरू पढ्दा के लाग्छ भने दाहालको जीवन नै एक सुन्दर किताब हो ।नेपाली साहित्य र समाजका निम्ति वरदान हो । उनी वस्तीमा लुकेर रहेका हस्ति हुन् । पत्थरहरू बीच ओझेलमा परेका हीरा हुन् । सादाजीवन गुजारिरहेका एक अनुभवका राशि रत्न व्यक्तित्व हुन् । उनले आफूले देखे भोगेका र अनुभव गरेका अनुभूतिहरूलाई निर्बन्ध रूपमा निबन्ध प्रस्तुत गरेका छन् । उनका निबन्धमा उनको जीवन, समय र समाज तीनै उत्रिएको पाइन्छ । सारमा उनले जीवनलाई बन्दगोभीसँग तुलना गर्दै भित्र भित्र कुहिएको सडेको वा दुर्गन्धित भएको नहोस् भन्ने कामना गरेका छन् ।
वर्गीकृत रूपमा हेर्दा यसमा खासगरी चार थरिका निबन्धहरू देखिन्छन् - १. दर्शन विषयका जस्तै:- अज्ञात यात्रा, जीवन र मृत्यु, छैटौँ इन्द्रीय आदि । २. मानवीय प्रवृत्ति विषयका जस्तै:- ईर्ष्या, खुशी, कल्पना, इमान्दारिता ,जिज्ञासा आदि । ३. संस्मरणात्मक विषयका जस्तै: तीस वर्ष अघि र आजको गाउँ, तीस वर्षपछि जन्मभूमि पुग्दा चालिस वर्ष अघिको ताहुँ आदि । संस्मरण भित्र यात्रा साहित्य पनि पर्छ जस्तै: तीस वर्षपछि जन्मभूमि पुग्दा । तीसवर्ष पछि जन्मभूमि पुग्दा एकातिर उनी पूर्वस्मृतिबाट आनन्दित हुन पुग्दछन् भने अर्को गाउँ कुरूप बनेको र घरहरू खण्डहर बनेको देखेर चिन्तित हुन पुग्दछन् । ४. सामाजिक विषय र व्यङ्ग्यचेतना जस्तै - पागल लाटोकोसेरो, परिवर्तन, बाँसुरीको धूनले आगो निभ्दैन, मागे बुढाको झोला आदि।
यी सबै निबन्धहरू वैचारिक चिन्तन, दृष्टिकोण र धारणाले निर्मित मनस्तत्वको सघन विश्लेषण भएका उत्कृष्ट स्वरूप हुन् । यिनले व्यवहारिक जीवनलाई मार्गदर्शन मात्र होइन मानसिक ऊर्जा समेत समृद्ध पार्छन् । जीवनसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका यी निबन्धहरूमा अभिव्यक्तिको कलात्मकता वैचारिक तार्किकता, दृष्टिकोणको स्पष्टता वर्णनको रम्यता एवं व्यङ्ग्यको तीक्ष्णता पनि पाउन सकिन्छ । जीवन दर्शन, वैचारिक घनत्व, वस्तु विश्लेषण, आफ्नै प्रकारको भिन्न शैली र कौशलता आदिबाट निबन्धले आफ्नै एक उचाइ प्राप्त गरेको छ । नेपाली निबन्ध परम्परामा “अज्ञात यात्रा "को आफ्नै एक उत्कृष्ट स्थान रहने कुरामा कुनै सन्देह छैन । उनी अब अध्ययन र शोधखोजको विषय बन्ने स्पष्टै छ ।
कीर्तिपुर-१ मैत्रीनगर, काठमाडौं