18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एक्काइसौं शताब्दीकी दुर्गा

कविता विमल लामिछाने September 30, 2025, 7:39 pm
विमल लामिछाने
विमल लामिछाने

दुर्गा, तिमी अब केवल पौराणिक मूर्ति होइनौं
तिमी त्यो स्वर बन,जसले अन्यायको साँचो खोल्न सकोस्
तिम्रो हातमा त्रिशूल होइन, कलम र आवाजको शक्ति छ
तिमी आशाहरूलाई जोड्ने, आँट र आत्मबलको प्रतिमा हौं,
भ्रष्टाचार र बलात्कारीका विरुद्ध आगो ओकल्न नडराउनु ।
समाजलाई अँध्यारो कुनाबाट उज्यालो तर्फ डोर्याउँने
सामन्ती सोचका लुटेराहरुको घाँटी निमोठ्न तयार
तिम्रो आर्शिवादको तर्कमा शब्दभन्दा धेरै साहसको दम देखियोस् ।।

श्रम तिम्रो रुप हो, माटोमा पसिना बगाउँनु
विश्वभर नेपाली माटोको कथा सुनाउनु छ,
जनता लुट्ने भ्रष्टहरुको कठालो समाउने साहस बटुल्नु,
तिम्रा प्रत्येक पदचिन्हमा क्रोधको आगो
र संवेदनाको उज्यालो सँधै टल्कियोस् ।
कुसंस्कारको पर्खाल भत्काउन सक्ने आँधीजस्तै
’संस्कृति‘ तिम्रो असल व्यवहारको नाम बनोस् ।
तिम्रो पूजा र दर्शन प्रत्यक्ष गरुन, फूल चडाउन्
तर एकन्त कुना र मूर्तिमा होइन,
आम निर्धाहरुको ढुकढुकीमा तिम्रो बास होस् ।
तिम्रो स्वर अब सजीव क्रान्तिको प्रतीक बनोस्,
न कि नारीत्व अब अबला होइन,
विचारको ज्वालामुखी र विद्रोहको ज्वारभाटा बन्नुपर्छ ।।

अब, तिमीले चलाउने हातमा त्रिशुल होइन, किबोर्ड छ
तर सोच, युद्धको शस्त्र जस्तै गहिरो ।
तिम्रो जीवन अब रुपको वृत्तचित्र होइन,
जीवित अनबरत आन्दोलन हो,
तिमी तिनै चिहानहरूमा पुग्नु
जहाँ न्याय गाडिएको छ ।
जहाँ अस्मिता धुवाँ बनेर हराएको छ,
अब त्यो धुवाँ आगो बनेर सल्किनुपर्छ
न कि एक एक गरेर
लुटाहाहरुको समूल नष्ट हुनेगरी खरानी बनाओस् ।
तिम्रो शिक्षा नै संघर्षमा लेखिएको किताव हो,
तिम्रो हाँसो सौन्दर्य होइन,
विद्रोहको बुलन्द आवाज बन्नुपर्छ ।
‘दुर्गा’ अब केवल पूजा होइन्,
न्याय र परिवर्तनको पर्याय बनेर
संघर्षको आवाज र भविष्यको सपना बन्नुपर्छ ।।

खवरदार !
अब, एक्काइसौं सताब्दीका दुर्गाहरु
आदिमकालिन मूर्ति बनेर मन्दिरमा कैद रहन सक्दैनन्,
प्रत्येक प्रश्नमा अस्त्र र अत्याचार विरुद्ध बज्रबाण बनेर
विष्फोट भइरहन सक्नुपर्छ । ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।