सुन्तलीका विगतका कयौ दशैं उभ्रिएको मासुको आशामा बित्ने गर्दथे । छिमेकीका घरमा काटेकोे जखमलेको ‘एक पावा मासु’ । त्यो नै सुन्तलीका लागि दशैंको जीवन्त परिभाषा थियो । लसुन, मसला केलाएर स्वादिलो हुनेगरी पकाइन्थ्यो र कसुँडी भाँडामा भरी रसमा खठखट उमालेर परिपञ्च पारिन्थ्यो । मजेरीमा वरिपरि लालाबाला परिवारसँग बसेर सिल्बरका बटुकामा एउटा एउटा चाना औलाले खोजेर बेला बेला अकवरे खोर्सानीसँग करप करप कोपर्दै धानका चामलको तातो भातसँगै खसीको सुप सुरुप सुरुप पार्दा घरभित्रै दशैं पसेको अनुभूति हुन्थ्यो ।
दशैंको सप्तमीको साँझ गाउँमा केटाकेटीहरुको स्फूर्ति बढेको थियो । धर्तीमा दशैंको उमंगसँगै बली चढाउनेहरुको प्रतिष्पर्धाले होला आकाशको बादलमा पनि रंग फेरिएको छ । मानौ दशैंले धर्ती र आकाश नै तरङ्गीत बनाएको छ ।
दशैं आएपछि राम्रो लगाउन र मीठो खान पाइन्छ, भन्ने त चलन नै छ । उ बेला बुबाले दशैंमा मात्रै स्कुल ड्रेस किनिदिनुहुन्थ्यो । त्यो पनि मामाघर जानका लागि खास लुगा बनाउने चलन थियो । दाजुभाइ, दिदीबहिनी चानचुने गन्दै मामली घर जान्थ्यौं, गोडामा चप्पल हुन्थ्यो कि हुन्थेन, सम्झना छैन, तर मनमा एक किसिमको खुशी हुन्थ्यो कि मैलेपनि नयाँ ड्रेस लगाएको छु ! मामाघर जान पाएको छु ।
अष्टमीका दिन छिमेकी हजुरबाले दुर्गा नपुज्दासम्म चिउरा खान पनि नपाउने आदेश दिँदा मन कुँडिन्थ्यो, तरपनि डराइन्थ्यो देवी रिसाउँछिन् कि भनेर । धनीको घरबाट मंसीरमा डबल तिर्ने सर्तमा ल्याइएको दुईपाथी धान । त्यो धानको चामल नै दशैंका पाहुनाका लागि जोहो थियो । आफन्त आएपछि पिङ, गफ, टिका जमरा, छुस्स चिउरा र दहीको स्वाद नै दशैंको अर्को रमाइलो पक्ष लाग्थ्यो । सुन्तलीको मनमा भोक, लाज, खुसी, र त्यसमाथि बाँच्ने संघर्ष अझै बाक्लोगरी रुमलिएर सँगै आउँथ्यो । मानौ दशैं टार्दा ठूलै मुद्धा जितेजस्तो ।
अब समय फेरियो । सुन्तलीले गाउँ छाडेको पनि निक्कैवर्ष भयो । उनी यो पटक काठमाडौंको अपार्टमेन्टमा दशैं मनाउँदैछिन् । अहिले सुन्तलीसँग सबैथोक छ, फ्रिज, मटन, ब्रान्डेड ड्रेस, टीभी, इन्टरनेट । तर मन भने ....खाली । अब सुन्तलीले छोराछोरीसंग दशैं मनाउँनुपर्नेछ मोवाइलको च्याटमा ।
छोरी टीका लगाउन पनि मोबाइल च्याटमै व्यस्त हुन्छे । उसले भन्छे, ‘ममी, डिजिटल टिका पठाइहाल्नुस् न !’ सुन्तली हास्छे, मुस्कुराउने प्रयास गर्छे । भित्रभित्रै भने ती एक पावा मासुको दशैं, श्रीमानसँगै हराएर गएको खुशी, ति शोकका दिनहरु सबै सबै मनमा भरिएर आउँछ ।
ऊ सोच्न थाल्छे, विगतमा त्यो गरिबी थियो तर आत्मीयता थियो । अभाव थियो तर गफमा आफ्नोपन थियो । आफन्त र छिमेकीसँग गफगर्न रातभर समय हुन्थ्यो । अब छ सबै सुविधा, तर दशैंमा ति सबैथोक छेनन् । सुन्तली आँखा बन्द गर्छे । मनमनै बुबालाई सम्झन्छे । त्यो नयाँ ड्रेस, त्यो मासुको ऋण तिर्न साहूका घरमा महिनौ श्रम गर्दाको क्षण, त्यो चिउरा र टपराको दही, अनि सोच्छे, “दशैं भनेको उही त हो, जुन हाम्रा बुबाआमाले ऋणसँगै आँशु थामेर मनाइदिएका थिए ।
आज त टीकाको दिन । सुन्तली बिहानै उठेकी थिई । झ्याल खोली हेर्दा काठमाडौंको सहर धमिलो धुवाँले भरिएको देखिन्थ्यो । आकाशमा सुनौलो घामले किरण फिँजाउन रुप भर्दै थियो । डाँडामाथि रातो लाली छरेर झुल्किन थालेको थियो, तर सुन्तलीको अनुहारमा भने उज्यालो थिएन । नेपालीहरुको महान चाड । तर उसको मनमा उत्सव होइन, शून्यता थियो ।
फ्रिजमा मटन थियो, ग्यास चुल्होमा दूध उम्लिरहेको थियो, अनि सोफाको कुनामा ब्रान्डेड लुगा राखिएका थिए । गत हप्ता मात्रै अनलाइनबाट मगाएका सेलेक्टेड लुगा चिरिच्याटै थिए । सुन्तलीले छोरीका लागिपनि उस्तै ब्रण्डेड छानेर किनेकी थिइन् तर छोरी त टीका लगाउने बेलामा पनि फोनमा च्याट गरिरहेकी थिईन् ।
सुन्तली टीकाकोलागि थालीमा अक्षता राख्दैगर्दा सम्झिन थाछिन्, त्यो बखतको दशैं । जति गरिबी भए पनि, मन अमिलो थिएन । बाँसको चोया टिपेर बनाएको चंगा, छिमेकीको घरमा पकाएको मासुको वासना, गाउँले युवाहरु मिलेर बनाएको साझा लिंगे पिङ, कतै कतै चोकहरुमा विहानैदेखि मच्चिने काठका पिरा बुनेर बनाएको रोटे पिङ, अनि रातभर भाटा र ढोड बालेर गफ गर्ने आफ्नै दाजु–भाइ, छरछिमेकी । आमाले ढिंडो नमस्काएको दिन “आज मासु छ” अहा.. भनेर हर्षले झुमिने दशैंका दिनहरू ।
विगत सम्झिएर सुन्तलीको मन भक्कानिन्छ । सम्हाल्न खोज्छिन् तर एकपछि अर्को गर्दै सम्झनाका तरेलीहरु खात लागेर आउँछन् । सुन्तलीकी छोरी अमेरिका पुगेपछि फरक भइसकेकी थिईन् । उनको ग्रीन कार्ड भइसकेको छ । अब फर्किनुपर्ने आवश्यकता छैन । मोवाइलमा भिडियो कलको टोन बज्छ । ‘ममी, डिजिटल टीका पठाइहाल्नुस् न’ ! छोरीको स्वर सुन्ने बित्तिकै सुन्तली झस्कीन्छिन् । टीका डिजिटल पठाउने कुरा हो र ? उनले मनमनै भनेकी थिईन् । तर मुस्कुराइन् । त्यो पनि बनावटी । छोरीले देखोस् भन्ने मात्र हो ।
सुन्तलीसँग अरु सबै छ, तर त्यो आत्मीयता छैन । छोरा श्रममा विदेशिने भएपछि सुन्तलीलाई काठमाण्डौं ल्याएर भाडाको घरमा राखेको थियो । उ तीनवर्षदेखि घर फर्किएको छैन । खाडीमा काम गर्छ, फोनमा भन्न भ्याएको थियो– ‘माफी दिनु, आउन सकिँदैन यसपालि पनि । साहूले ओभरटाइम दिएको छ, सुत्नेलाई पनि पालो मिल्दैन । म धेरै बीजी छु, दशैं अर्कै साल मनाउँला ममी ।’
घरको झ्यालबाट हेर्दा, वरिपरि सबै मौनता छ । न त टोलका केटाकेटीहरू उफ्रिने, गाउने र उमंग साटने कोही छन्, न गेटअघि टीकाको रङ्गीन थाल राखिएको छ । सबै घरमा पर्दा झुण्ड्याइएको छ, जति खाएपनि मासु छ, घरघरका फ्रिजमा भरी भरी मासु छ । तर त्यो एउटै ‘पावा मासु’ जसलाई लिएर सिंगो परिवार रमाइन्थ्यो, त्यो भाव कहिँ छैन ।
सुन्तलीले अघिल्तिरको टीभी खोल्छे । ठूलो स्क्रिनमा दशैंको कार्यक्रम बजिरहेको छ, कलाकारहरू नाचिरहेका छन्, गीत गाइरहेका छन् । तर उसको मन भने त्यो परको गाउँतिर डुलिरहेको छ । जहाँ दशैंको चाडसँगै माया, अपनत्व, अनि परिवारको साथ हुन्थ्यो ।
त्यो गाउँ, जहाँ अभावसँग झेल्नु थियो, रातमा मैनबत्ती बाल्नुपथ्र्यो, मासु वर्षमा एकपल्ट मात्र खान पाइन्थ्यो । तर, मनमा त कहिल्यै अँध्यारो पर्दैनथ्यो । आज सुन्तलीसँग सबै छ । बिजुली, इन्टरनेट, मटन, ब्रान्डेड ड्रेस । तर खुशी खाडीको बालुवामा गुमेको छ । अमेरिकाको ग्रीन कार्डको खोजीमा हराएको छ ।
दशैं आउँछ, जान्छ । तर सुन्तलीको मनमा एउटा प्रश्न बारम्बार गुञ्जिरहन्छ । ‘दशैं भनेको चाड हो, कि साथ हो ?’
झापा, दमक