14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आमा तिमी समुन्द्र हौ

कविता आचार्य प्रभा December 13, 2008, 10:05 pm

आमा ---

तिमी समुन्द्र हौ

त्यसैले त ---,

शान्त लहर भै बगिरहेछौ

सुस्त ---सुस्त,

न त कहिल्यै थकानको महसुश गर्यौ

न,त उर्लिदो भेल बनेर तिमीले

साराको सपना बगायौ ,

बरु ---आफु निश्चिन्त बनेर

किनारालाई साथ दिइ बगिरह्यौ ।

तिमीले छहरा झै आफ्नो यौवन

उदाङ पारीनौ,

अनी ---तिमिले झरना बनेर

कसैलाई लोभ्याउने अठोट पनि त गरिनौ ,

त र ---तिमी त धैर्य बनेर बगिरह्यौ ,

केवल बग्नुको अर्थ मात्र साँचीरह्यौ ।

तिमीले खहरे झै मात्तिएर

क्षणिक स्फुर्ती कहिल्यै देखाइनौ

तिमीले उर्लिदो खोला बनेर

बर्षा यामको मात्र प्रतिक्षा कहिल्यै गरिनौ

बस ---बगिरह्यौ ,

सदाबहार बनेर ।

तिम्रालागी बर्षायाम पनि कहिले आउन परेन ,

तिमीले शरद, ॠतु पनि पर्खन परेन ,

तिम्रो यौवनले चन्चलताको

प्रदर्शन पनि गरेन ।

खोला, झरना, छहरा,छांगा झै

तिम्रो रूपले फेरिनु पनि परेन

कहिले अन्धाधुन्द बाढि बनेर

बहुलाको नियती भोग्नु परेन

अनी ---कहिले बगरलाई नीरिह एक्लो बनाएर

तिमीले स्वार्थको ढोङ पनि रच्नु परेन

तिमी त निस्वार्थी समुन्द्र बन्यौ

जस्ले शितलता दिने कोशीश मात्र गर्यो ।

तिमी सतहको प्रीय बन्यौ

आकाश छुने उदेश्य कहिल्यै बोकिनौ

जस्ले ---साथ दिइरहयो किनाराको

भरपर्दो सहारा को अस्तित्व बनेर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।