भोजपुर जिल्ला दोभाने गविसमा जन्मिएका विमल गिरीको वासस्थान साविक चारपाने-२, हाल विर्तामोड नगरपालिका झापामा रहेको देखिन्छ।५२ वटा बसन्त पार गर्ने क्रममा उनी अहिले युरोपियन राष्ट्र बेल्जियमको ब्रसेल्समा बस्तै आएका छन् । जीवन जिउनकालागि मात्र हैन,जीवन परिवार,समाज,राष्ट्र र अझ उन्नत सोचका साथ भन्ने हो भने अन्तर्राष्ट्रिय जगतकै लागि पनि हो मानव जीवन।जीवनलाई सार्थक र समाजोपयोगी बनाउने क्रममा यायावर झैँ मान्छे यत्रतत्र विचरण गर्दछ ।संसारको फन्को मार्दछ। यही घुमाईको शिलशिलामा उसले आफ्नो सुदुर भविष्य खोज्दछ र निर्दिष्ट गर्दछ आफ्नो गोरेटोलाई।यही गोरेटो पहिल्याउँदै विमल गिरी नेपाली मन मुटु बोकेर सुदुर भविष्यको खोजीमा बेल्जियम पुग्दछन्। विदेशमा बसेर धन कमाउने, सुख सयलमा रमाउने अनि बिदेशमा दु:खले आर्जेको पैसाले स्वदेशमा गाडी, बङ्गला जोड्ने र विलासिताको जीवन जिउने औषत मान्छेको स्वभाव हुन्छ र देखिएको पनि छ त्यस्तै।उपरोक्त विषयबाट विमलजी कत्तिको पृथक रहन सक्छन् त्यो त उनका भोलिका कृयकलाप र ब्यवहारबाट परिक्षण हुने नै छ। निश्चय नै आफ्नो जन्मभूमि छाडेर परदेशमा गएर काम गर्नु रहर हुदैन मान्छेको।यसरी माटो छोडेर डायस्पोरिक जिन्दगी जिउनु कठिन नै हुन्छ। नेपाली मनहरुलाई भत्भती पोल्दछ त्यहाँ।एक किसिमको पीडा, जलन र छट्पटाहट हुन्छ ।स्वदेशको याद र गाउँघरको सम्झनाले सताईरहन्छ तथापि मान्छेले नै हो यी सबै कुराको समाना गर्ने।नगरी सुखै छैन। एकैठाउँ बसेर प्राय मान्छेको जीवन गुजरा चल्दैन र सकिदैन पनि।नेपालीहरु संसारको जुनसुकै कुनामा पुगे पनि केही न केही रचनात्मक कार्य गरिरहेकै हुन्छन्।यन्त्रमानव झैँ अथवा घडीको काँटा झैँ घुमि मात्र रहँदैनन् ।परदेशमा बसी कर्म गरिरहँदा डायस्पोरिक मनहरुलाई झक्झक्याउँछ ।संवेदित बनाउँछ। पोख्ने गर्दछन् मनका भावहरु शब्दहरुमा रुपान्तरित गरेर। हो यही उहापोहमा देखा परेका छन् विमल गिरी "स्मृतिका छालहरु"२०७२ मुक्तक सङ्ग्रहमा। गीत, मुक्तक, हाइकु र कवितामा रुचि राख्ने विमलका यस अघि तीनवटा कृतिहरु प्रकाशित भैसकेका छन्। संझनाका तरेलीहरु,गीति सङ्ग्रह-२०६६,उपासना गीति सि डी २०६५ र गोधूली मन मुक्तक सङ्ग्रह-२०६९। अनेसास (नेपाल च्याप्टर) प्रकाशक रहेको यो मुक्तक सङ्ग्रह कवि विमलले आफ्ना दिवंगत पिता छबिलाल गिरी र माता लीला गिरी प्रति समर्पण गरेर आफ्ना पितामाता प्रति भक्तिभाव देखाएकाछन् हुन्छ।प्रस्तुत कृतिलाई प्रकाशक संस्थाको तर्फबाट सम्वोधन गर्दै यस संस्थाका अध्यक्षले आफ्नो नाम उल्लेख नगरिकनै कृतिकार गिरीका बारेमा यसो भनेका छन्-" स्रष्टाले प्रेम, अनुराग, राजनीति, चेतना, राष्ट्रियता आदि विषयमा मौलिक यथार्थपरक मुक्तकहरु प्रस्तुत कृति मार्फत् प्रस्तुत गर्नु भएको छ।यो नैँ स्रष्टाको विशेषता पनि हो।" बेल्जियमका वैजनी विमल भन्दै यस "स्पन्दनका छालहरु "मुक्तक सङ्ग्रहको भूमिका लेखेका छन् रमेस पौडेलले।कृतिका बारेमा रमेसको ठम्याई यस्तो छ-"सम्झनाका तरेलीहरु",मुक्तक सङ्ग्रह र "गोधूलि मन",मुक्तक सङ्ग्रहको प्रकाशन पछि गिरी तेश्रो कृति लिएर "स्पन्दका छालहरु"को किनारमा उभिएका छन् यतिखेर।म त्यही किनारको छेउमा साक्षी किनारा बसेको छु - विमल गिरी खाँट्टी मुक्तककार हुन् भन्ने दावी सहित।हो,विमल गिरीसंग मेरो अक्षरकै चिनजान हो।हामी एकै गाउँका नभए पनि मनका माध्यमबाट एकै ठाउँका हौँ।अक्षरको चिनजान दशकौँ पुरानो जस्तो लाग्छ मलाई।विमलले गति आकार लिए,म सवै कृतिको साक्षी बसेको छु-उनका कृति मुहार सजाएर।मेरो जस्तो रङ् रहर पाल्ने कलाकार अरु पनि थिए,निरन्तरको साथ म प्रतिको विश्वाश ठान्छु।"उल्लेखित भूमिकाबाट थोरै शब्दमा धेरै भनेका छन् र धेरै बुझेका छन् कवि विमललाई रमेस पौड्यालले।अर्का विद्वान होमनाथ सुवेदीले पनि "स्पन्दनका छालहरु" भित्र डुबुल्की मार्दै मोती टिप्ने प्रयास गरेका छन्। -"पश्चिम युरोपेली नेपाली डायस्पोरा साहित्यिक मुक्तक" शीर्षक दिएर स्रष्टा विमल गिरीको लेखकीय वैशिष्ट्यतालाई उजागर गर्दै उनी लेख्छन्- " वर्तमान नेपाली साहित्यमा मुक्तक लेखकहरुको धुइरो लागेको छ।तर विमल गिरी मुक्तकको मर्मलाई बुझेर लेख्ने माझिएका मुक्तककार हुन् भन्ने कुराको साक्षी बसेका छन् सङ्ग्रह भित्रका उनका मुक्तकहरु।"यस भनाईबाट पनि प्रष्ट हुन्छ ,विमल गिरी खारिएका र माझिएका मुक्तककार हुन्।
"श्रष्टाको कलमबाट"शिर्षक दिएर विमल आफ्नो कृतिका बारेमा भन्छन्- "जिन्दगी भोगाइहरुको भकारी रहेछ।यही भकारीबाट जिन्दगीको लक्ष्यलाई चाल्दै सिँढीहरु उक्लने बहानामा समयले डोर्याएका खुशीका पल अनि मनभरि उर्लिरहने स्मृतिका पलहरसंगै बग्दै जाँदा समयले रोकेको अथवा देखाएको निशानी बेल्जियमको करिब डेढ दशक बसाईको क्रममा जिन्दगीले जे देख्यो,जे सुन्यो,जे महसुस गर्यो,जे भोग्यो ती जम्मै वास्तविकताले मन उधिन्दा जति रसाए अनुभूतिहरु यी सवैसंग बग्दाबग्दै उर्लिएको यही मनको छाल र छालहरुको निशानी हो मुक्तक सङ्ग्रह"स्पन्दनका छालहरु"। उनी अगाडि थप्छन्-"डायस्पोरिक बसाइको ब्यस्त समयलाई थोरै उभारी स्पन्दनका यिनै भावात्मक छालहरुलाई एकैछिन् रोकेर आफूले सकेको कला र विम्वहरुले रङ्ररोगन गरि फेरी यहाँहरुको मनसम्म बगाउने यत्न गरेको छु मैले-यो सङ्ग्रहभित्र।मेरो कलमको कलिलो टुप्पोलाई थोरै उद्याएर यो विशाल दुनियाँमा बामे सराउँदैछु-अक्षरहरुको बाटो गरेर।यात्रा लामो छ।म घुम्तीमा मोडिदैछु।कहाँ पुग्छु।बाटो अनिश्चित् छ।अप्ठ्यारो छ।तैपनि तपाईँ साहित्यिक मनहरुको हौसला,प्रेरणा अनि गाली र साथको हात समात्दै एक पाइला अघि सारेको छु-समयको किनारै किनार।थाहा छैन मेरो यो प्रयासले मुक्तकको मर्मलाई कत्तिको आत्मसात् गरेको छ। म यस कृतिलाई सुमसुम्याउनुहुने बुद्धिजीवी पाठकहरुको हातमा सुम्पिन चाहान्छु।" कति गहन विचार र उदात्त भावना छ कविको यहाँ। कविलाई शुभकामना दिएकी छन् विद्वान उषा शेरचनले।शुभकामनाका शब्दहरु मार्फत् उषा भन्छिन्-"उहाँका मुक्तकहरुमा माटोबाट टाढा हुनुको पीडाले गर्द माटो प्रतिको अगाध प्रेम भेट्टाउँछु। र, सामाजिक विकृति र विसङ्गति प्रति प्रहार गरेको देख्छु।आफ्नासंग टाढा हुनु परेको पीडाले गर्दा प्रेम र वियोगका पीडाहरु पाउँछु।यसरी आशा र निराशाको झोलुङ्गे पुलमा बसेर मनका भाव र पीडाका सुस्केराहरु समेटेर मुक्तक सिर्जना गर्ने मुक्तककार विमल गिरी भाइको मुक्तक सङ्ग्रह प्रकाशन हुन लागेकोमा लाखौँलाख वधाई एवम् शुभकामना"। साह्रै मन छोयो कवि भावनाले र कृति चिनारीका क्रममा कवि तथा कृतिका बारेमा आफ्ना भावना पोख्ने विद्वानहरुको भनाईले। र साभार गर्ने धृष्टता गरेँ जस्ताको तस्तै। उपरोक्त तीनैजना विद्वानहरुको विश्लेषणबाट विमल गिरीको मुक्तकीय ब्यक्तित्व "स्पन्दनका छालहरु"भित्र कसरी छचल्किएका रहेछन् भन्ने कुरा सजिलै बुझ्न सकिन्छ।घर छाडेर परदेशिएपछि कहाँ ढुक्कले बस्न सकिँदो रहेछ र त्यहाँ । माटोको मायाँ, घर परिवारको मायाँ,साथीसङ्गीको मायाँ, आफू जन्मी हुर्की गरेको माटो र ढुङ्गा ,आफूले मान्दै र मनाउँदै आएका चाडपर्वहरु विश्वको जुनसुकै कुनामा बसे पनि मनभरि, मष्तिष्क भरी र आँखाभरिभरि झल्झली आउँदो रहेछ चलचित्रका दृश्यहरु जस्तै गरी।जन्मभूमिमा देखिएका विकृति, विसंगति, अन्याय, अत्याचार, शोषण, दमन र बेथिति आदिले कवि हृदयलाई घोच्तो रहेछ। पोल्दो रहेछ।सपनामा पनि ऐठन हुँदो रहेछ ।तब त आफ्ना सिर्जनाहरुमा त्यस प्रति ब्यङ्ग्य प्रहार गर्दा रहेछन् सर्जकहरु। विमल गिरीले पनि “स्पन्दनका छालहरु”मा सशक्त ढङ्गले उपरोक्त कुराहरु माथि प्रहार गरेका छन्।घर छोडेर परदेशिँदाको पीडावोध गर्दै “ आमाको आँसु धाराले… ” शीर्षकको मुक्तकमा लेख्छन्-
आमाको आँसु धाराले घरतिर बोलाउँछ मलाई
अभावको ज्वालामुखीले फेरी फुटाउँछ मलाई
रहरले को परदेशी बन्छ र ? परदेशमा भए पनि
माटोको सुगन्धले पलपल झस्काउँछ मलाई।
प्रेमिल मुक्तक लेख्न पनि खप्पिस छन् विमल।“जून माथितिर सर्दासर्दै…” शीर्षकको मुक्तक आफ्नी प्रेमिकालाई पराईले सिंदुर भर्दै गरेको देखेर कवि भावुक बन्दै यसरी रुन पुग्छन्—
जून माथितिर सर्दासर्दै उनलाई देखेर रोएँ
पारी उज्यालो झर्दा नझर्दै उनलाई देखेर रोएँ
जिन्दगी तिमी हौ भन्थिन् कुनैदिन मलाई
पराइले सिन्दुर भर्दाभर्दे उनलाई देखेर रोएँ।
राजधानीमा बसेर कालोधन कमाउने, गरिब दु:खीको बस्तीहरुमा सँधै अभाव र पीर मात्र दिने, देश जलाएर रमाउने अनि सँधै हैकम मात्र जमाउने ठूलाठालुहरुलाई कवि विमल यसरी लल्कार्छन् “देश जलाई त्यै रापमा … ” शीर्षकको मुक्तकमा--
देश जलाई त्यै रापमा रमाउँछस् कहिलेसम्म?
गरिबमारा त्यो कालो धन कमाउँछस् कहिलेसम्म?
मेरा जम्मै बस्तीहरुमा अभाव र पीर पठाएर
राजधानी तँ सँधै हैकम जमाउँछस् कहिलेसम्म?
जतिसुकै समस्या वा ब्यवधान आइपरे पनि त्यसको सामना गर्नु पर्छ ।छातीभित्र जतिसुकै पीडा होस् वा आँखामा आँसु होस् ।सवै कुरा सहँदै बाँच्न सक्नु नै जीवन हो,जिन्गी हो भन्ने भाव समेट्तै “ब्यथा खप्तै…. ” शीर्षकको मुक्तकमा कवि लेख्छन्--
ब्यथा खप्तै काँडा माथि नाँच्न सक्नु पर्छ
मुटु भित्र देशको माया साँच्न सक्नु पर्छ
आँखाभरि हिउँ हुन्छ छातीभरि आगो
जिन्दगी हो यसरी नि बाँच्न सक्नु पर्छ ।
“माटोलाई केही दिन मन छ ….”शीर्षकको मुक्तकमा कविको देश प्रेम र देशभक्तिको भावना मुखरित भएको देख्न सकिन्छ—
माटोलाई केही दिन मन छ माटोसंग माग्ने छैन
बाँचुञ्जेल देश भुलेर अन्त कतै लाग्ने छैन
एक न एक दिन चिताको बुई चढ्नै पर्छ आखिर
मेरो यो देश बाँच्छ भने मृत्युसंग भाग्ने छैन ।
मुक्तककार विमल विरहका मुक्तक लेख्न पनि सिपालु छन्।आफ्नो खसम परदेशिएपछि एक्ली बनेकी गृहिणीको वेदना पीडा र मनोदशालाई सटिक ढंगले सजिवरुपमा उतारेका छन् “आफ्नै छायाँले… ”शीर्षकको मुक्तकमा—आफ्नै छायाँले कतै बसाईँ सराएजस्तै भाकी छु
पूर्णेको जूनमा कालो बादल लाएजस्तै भाकी छु
मेरो चाल मेरो भरोसा मेरो लक्ष्य तिमी हराएपछि
आफ्नै जिन्दगी देखि आफै हराएजस्तै भाकी छु।
मुक्तककार गिरीका मुक्तकमा कलात्मकता, भावगाम्भीर्यता, शब्दसुसंगठन तथा सामाजिक चेत बडो सरल र सुन्दर ढंगले प्रस्तुत भएको पाइन्छ।थोरैमा धेरै भन्न सक्नु अर्थात् ढोकाको च्यापबाट हेरेर संसार देख्नु मुक्तकको विशेषता हो ।चार पङ्तिको शब्दसंरचनामा बाँधिएको मुक्तक कविताको सुक्ष्म रूप हो भन्न सकिन्छ।एकै बसाइमा पढ्न सकिने, पढ्न झन्झट नलाग्ने, समय किफायती हुने हुँदा मुक्तक पढ्ने वा वाचन गर्ने रुचि हुन्छ पाठकहरुमा।समसामयिकता, देशप्रेम, विकृति - विसंगतिमाथि प्रहार, युगीन चेतना ,प्रेम, विरह, पीडा, आक्रोस मात्र छैनन् कवि विमल गिरीका मुक्तक भित्र सामाजिक संदेश, मातृभूमि प्रतिको कर्तब्यवोध र आशावादिता पनि पाइन्छ गिरीका मुक्तक भित्र छिरेर हेर्दा।श्रृंगारिकता भित्र पनि उनी विरह र वियोगी भावनाको पटाक्षेप गर्दछन् शब्दका सुन्दर बान्कीहरुद्वारा।हेरौँ यो “एक्लै श्रृङ्गारिदै ”शीर्षकको मुक्तक—
एक्लै श्रृङ्गारिदै पहिरन फेरिरहन्छु अचेल
किनारका छालहरुसंग बेरिरहन्छु अचेल
दु:खमा गुहार सुखमा निम्ता बाँड्नेहरु छैनन्
तिमी विदेशिएको गोरेटो हेरिरहन्छु अचेल
समभावको “कहिले जूनको… ” शीर्षकको अर्को नमूना---
कहिले जूनको उजेलो हेरी तस्वीर छुन मन लाग्छ
कहिले विगतका सग्ला दु:ख सम्झी रुन मन लाग्छ
जीवनका अनेक यात्राहरुमा कहिल्यै ओझेल नहुने गरी
कहिले पत्रैपत्र अक्षरमा अभिब्यक्त हुन मन लाग्छ।
समग्रमा मुक्तक लेखन त्यति सजिलो छैन।त्यसो त साहित्यका कुनै पनि विधामा कलम चलाउन कहाँ सजिलो हुन्छ र? जे भए पनि कवि विमल गिरीको कलम नेपाली साहित्यको मुक्तकका क्षेत्रमा सशक्त भएर चलको छ।आफूले देखेका, भोगेका र अनुभवले सिकाएका हरेक विषयबस्तुहरुलाई टपक्क टिपेर सटिक ढङ्गले ट्वाक्क लाग्नेगरी कालीगढले कुनै चित्र कलात्मक ढङ्गले सजाए झैँ कवि विमल शब्दहरुको कलात्मक संयोजनद्वरा सजाउँछन् आफ्ना मुक्तकहरुलाई।आउने दिनहरुमा अझ माझिएका र खरिएका नयाँनयाँ साहित्यिक स्वादहरु लिएर आउन कवि विमल गिरीलाई सफलता मिलोस् ।