भारतीय नेपाली साहित्य अध्ययन समिति, वाराणसीको मुखपत्र 'अयन'-को छैटौं अङ्क सन् १९९८ र प्राक् प्रकाशन, सलुवाबाट प्रकाशित गुप्त प्रधानको तेस्त्रो कथासङ्ग्रह 'विराम चिह्नहरू' (सन् २००२) मा सङ्ग्रहित 'जङ्गली घोड़ा' कथा विशेष गरी मनोविज्ञानमा रूचि राख्ने पाठकका निम्ति निकै रोचक र आकर्षक बनेको छ। गुप्त प्रधानका रतिरागात्मक परिपाटीका केही कथामध्ये प्रस्तुत 'जङ्गली घोड़ा' कथा सबैभन्दा उत्कृष्ट र विशिष्ट बनेको छ।
कथा र कथाकारसम्बन्धी भूमिका नबाँधी सोझै अध्येतव्य कथातिर जाउँ। लगभग सात पृष्ठ ओगटेको 'जङ्गली घोड़ा' कथाले फ्रायडीय यौन मनोविज्ञानको आधार लिएको छ। यस कथाको संक्षिप्त कथासार यस्तो छ- लगभग कलिलै उमेरमा बिहे गरेका नरेश र रेणुका एक आदर्श दम्पत्ति हुन्। पहिले नरेश बेकारी रहेको अवस्थामा नै रेणुकाले तीनजना नानीहरू जन्माएको हुँदा उसलाई समुचित पौष्टिक स्याहार नपुगेको हुनाले जवानीमै शारीरिक शिथिलता आएको हुन्छ। पछिबाट नरेशले सरकारी जागीर पाएपछि घरको आर्थिक अवस्था त सुध्रन्छ तर रेणुकाको शारीरिक हृष्टपुष्टता, लावण्यता र आकर्षकत्व फर्केर आउन सक्दैन। यसै बीचमा रेणुकाकी विधवा दिदी मेनुका एउटा दुइ वर्षे छोरो लिएर बहिनीकहाँ शरण लिन आउँछे। मेनुकाले पुनर्विवाह गरे हुनेथियो भन्ने नरेशको विचार एक दिन बद्लिन्छ जब आधा दिनमै छुट्टी भएर घर आउँदा उसले नुहाइरहेकी नग्न मेनुकालाई देख्न पाउँछ। मेनुकाको हृष्टपुष्ट शारीरिक अवयव देखेपछि उप्रति नरेश विशेष आकर्षित हुन्छ। अब पुनर्विवाह नहोस्, बरू उसैले पसल खोलिदिने भन्ने निहुँ बनाउन खोज्छ तर रेणुका चाहिँ दिदीले अरू कोहीसित बिहे गरिदिए हुनेथियो भन्ने ठान्छे। साँच्चै एक दिन मेनुका आफै अर्कै केटासँग पोइल जान्छे। नरेशले दुःख मान्छ साथै अवश्यम्भावी दुर्घटनाबाट जोगिएको कुरा व्यक्त गर्दै तथा रेणुकालाई नै मेनुका ठान्दै शारीरिक एंकाकार हुँदै कथा टुङ्गिन्छ।
शीर्षकमै प्रतीकात्मकता रहेको यस कथाको मुख्य घटना मेनुका निर्वस्त्र भई नुहाएको नरेशले देख्नु हो। अन्य गौण घटनाहरू चाहिँ नरेशको साथी किरण मेनुकासँग लहसिन खोज्नु, एक दिन राति मेनुकाको भुँड़ी दुख्नु, मेनुका अर्को केटासँग डुलेको कुरा सुन्नु र त्यसबारे कुरा चल्नु इत्यादि हुन्। यसका साथै पूर्वद्वीप्ति (फ्ल्यास् ब्याक्) र नेपथ्यका घटनाहरूमा नरेश र रेणुकाको भागेर बिहे हुनु, मेनुकाको लोग्नेको गाड़ी दुर्घटनामा मृत्यु हुनु आदि हुन्। यस कथाको मुख्य वस्तु नरेशको अतृप्त कामवासना र उत्तेजना हो। नरेश, रेणुका र मेनुका गरी तीनजना यस कथाका प्रमुख पात्र-पात्रा हुन्। नरेश दम्पत्तिका तीनजना नानीहरूलाई कथाको मञ्चमा उभ्याइएको छैन भने मेनुकाको सानो दुई-अढ़ाइवर्षे छोराले चाहिँ नरेशलाई मेनुकाले निर्वस्त्र भएर स्नान गरेको दृश्यपान गर्दा व्यवधान ल्याउने कार्य गर्दछ। एउटा फाल्तू पात्र किरण भने पहिले नरेशको स्वार्थसाधक र पछिबाट स्वार्थवाधक रूपमा देखा पर्दछ।
यस कथाको मूलपात्र नरेश दमित यौन असन्तुष्टिले ग्रस्त भएको देखिन्छ किनकि उसकी सहचारिणी रेणुकामा शारीरिक अपुष्टता छ जसबाट उ यौनबाधित बन्न पुग्दछ। "...एउटापछि अर्को आउने नानीहरूले चुसेर ल्याइदिएको उजाड़तामा उस्तो परिवर्तन आउन सकेन...।" उसले इच्छाभरिको यौन तृप्ति गर्न नसकेको देखिन्छ। रेणुकाको शारीरिक दर्शन-अवलोकन गर्न मन लगाएन अथवा लगाउने योग्यको लागेन। उसको 'कायिक-स्व' ले सन्तुष्टि पाउन सकेको छैन। मेनुकाको आगमन सामान्य रह्यो तर निर्वस्त्र स्नान गर्दै गरेकी मेनुकाको शरीर देखेपछि उसको सुषुप्त कामवासना उदिप्त हुन्छ। मेनुकाको पुष्ट अवयव देखेर आफ्नी पत्नी रेणुकासित विरत हुन्छ। रेणुकाको झोल्लिएको अनाकर्षक शरीरबाट उ सन्तुष्ट रहँदैन। यसैकारण उसले मेनुकालाई नै पत्नी बनाएर राख्ने दमित इच्छाले चाहेको छ।
नरेशको चेतन मनले त आफ्नो घर-परिवारलाई यथावत् राख्न चाहन्छ। आफ्नी पत्नी रेणुका हुँदैछे, तीनजना छोरा-छोरी छन्, एउटा स-सानो नोकरीले सानो परिवार सुगमताका साथ चलिरहेछ। यद्यपि उसको अचेतन मनमा भने उसलाई 'सुख-स्व' छैन। उसको सुखेच्छा दमित रूपमा रहेको हुनाले अचेतन र अवचेतन मन दुवै असन्तुष्ट छन्। कथाको उत्तर-भागमा नरेशको अन्तर्मन अन्तर्गतको लिबिडो (कामेच्छा) सक्रिय बन्नपुगेको छ।
काम अतृप्तिले गर्दा नरेशमा ईर्ष्या, स्वैरकल्पना, दिवास्वप्न जस्ता अवस्थाहरू जागृत हुन पुग्छन्। पहिले मेनुकालाई अर्कासित भिराइदिन वा घरबाट पन्छाउनका लागि किरण भन्ने केटालाई माध्यम बनाउन खोजेको थियो भने मेनुकाको सुन्दर देह दर्शनपश्चात् किरण आफ्नो घरमा आएको समेत मनपराउँदैन। उसको अतुम यौन तृष्णाको पूर्ति गर्न उसको दमित इच्छाले 'युक्ति' खोज सक्रिय बन्दछ। भेनुका घरबाट बाहिर नजाउन् भन्नाखातिर पसल खोलिदिन समेत कुरा चलाउँछ। आखिर यो पूरा हुन पाउँदैन। उसको ईर्ष्या सुस्तरी बढ्दै जान्छ। मेनुका कुनै केटासँग घुमेको कुरा सुन्दा ईष्र्याले जल्दछ। यो खबर उसले सुजेबित्तिकै उसको आँखामा फेरि त्यही दिनको उसको नाङ्गो शरीरको दृश्य टाँसिए देखा पयो। त्यति सुन्दर शरीरमाथि अधिकार राखेर मुसार्ने सौभाग्य भएको त्यो ठिटो को हो?... भन्छ। अन्त्यमा नरेशको अतृप्त इच्छा र मनोभाव क्षक्षतिझस्त हुन्छ जब मेनुका त्यो केटासँग पोइल जान्छे। त्यतिबेला नरेश बेलुकी रक्सी खाएर त्यो कुण्ठाजन्य अतृतिलाई प्रकट गर्ने कोशिश रेणुकासित गर्छ तर खुलस्तसँग भन्न सक्दैन। त्यही अतृप्त यौन पोखरीमा तरङ्ग चल्दा उसमा भ्रमितावस्था जन्मछ। त्यही भ्रमितावस्थामा पुगेपछि रेणुकालाई नै मेनुकासँग प्रत्यार्पना गर्दै उसलाई निरावरण गर्दै क्रीड़ारत् बन्न पुग्दछ।
यस कक्षामा देखिएका अन्य पात्र-पात्रामध्ये रेणुका, मेनुका र किरणको चरित्रलाई पनि संक्षिप्त विश्लेषण गरेर हेर्न सकिन्छ औ उनीहरूको चरित्रबाट पनि नरेशको यौनजन्य कुण्ठा जाहेर गर्दछन्। यौवनको पहिलो खुड्किलोमै अत्तालिएर, बैंसले कुन्कुत्याएर बेरोजगार नरेशसित पोइल जाने पात्रा हो रेणुका। उसकी दौनावेगको अन्धताले गर्दा दाजु-दिदीको विवाह क्रमको मतलब चरखी छिट्टै बिहे गरी। तीन-तीनजना नानी जन्माएपछि उसको शरीरको आकर्षण घटेर जान्छ। फलतः नरेशमा यौन असन्तुष्टिको जरो गाड्न पुग्दछ। आफ्नो पति नरेशले दिदी मेनुकालाई कान्छी स्वास्नी बनाउला भन्ने त्रासले दिदीले अन्य कोही केटासित बिहे गरिदिउन् भन्ने ठानेकी छ। यसै गरी एउटा छोराकी आमा भएर मेनुका, जो विधवा छे, यसमा यौनको ज्वारभाटा व्याप्त भएको देखिन्छ। यौनाभावको पूर्ति गर्न उ निर्वस्त्र स्नान गर्दछे, जसलाई देखेपछि नरेशमा लुकेर बसेको कामचेतना बाहिर प्रकट हुन्छ। वैदब्य जीवन बिताउँदै गरेकी मेनुकाको यौन तिर्खाले पछिबाट परितृप्तिको बाटो पाउँछ, उ कुनै एउटा केटासँग पोइल जान्छे, अर्थात् उसको 'कायिक-स्व' ले तुष्टिः पाउँछ। किरण भने एक किसिमको विद्रूप-पात्रको रूपमा प्रस्तुत छ। उ नेपथ्य पात्र हो। उसको अनुहार विरूप छ, साथै उ यौन अशक्तसमेत छ। बिहेपछि उसकी स्वास्नी अर्कैसित पोइल जान्छे। उ विधवा मेनुकालाई समेत आकर्षणमा ल्याउन सक्दैन।
नरेशको 'नैतिक-स्व' र 'कायिक स्व' बीच द्वन्द्वात्मक स्थिति आइपर्दछ। यद्यपि विजय चाहिँ 'नैतिक-स्व कै हुन्छ। "... किन मेनुका चाहिँ साली भइदिइन? साली भइदिएकी भए कति सजिलो हुने थियो उसित घनिष्ठ बढ़ाउन..."। नरेशको अवस्था भने 'भालुको मन खन्यूँमाथि' भने झें 'आफ्नो अफिसमा समेत घरिघरि मेनुकालाई सम्झिरहने गर्छ... ।' कथाकारले नरेशको मनोविश्लेषणको क्रममा स्वैरकल्पना (फेण्टासी) को प्रयोग गरेका छन्। मेनुका अर्कासित पोइल गइसकेपछि पनि ... नरेशको आँखामा भने मेनुकाको नाङ्गै शरीर आज झन् स्पष्टसित अघिल्तिर उभिएर देखा पर्न लाग्यो अनि उसको नाङ्गो शरीरमा त्यो नौलो केटाको शरीर पनि टाँसिएर देखा पर्नथाल्यो...। नरेशले यौनलाई 'जङ्गली घोड़ा' ठान्छ...। सधैं चञ्चल भएर त्यो बड़ो बेकाबुसित उफ्रिरहने गर्छ...'। यो भनाइ नै फ्रायडको यौन-मनोविश्लेषणमाथि आधारित छ।
कथाकार गुप्त प्रधानले यसरी 'जङ्गली घोड़ा' कथा लेखेर नेपाली साहित्यको मनोविश्लेषणपरक कथाको भण्डारमा थप योगदान दिएका छन्, जो स्वागतयोग्य साथै स्तुत्य छ।