प्राध्यापन पेशाबाट निवृत्त भएका चितवन रत्ननगर निवासी उपन्यासकार गोकर्ण मल्लको शुभारम्भका पाइला पछि यो दोस्रो उपन्यास हो । वर्तमान समयमा देशबाट तेस्रो मुलुकमा निर्गमन हुने क्रम बढिरहेको छ । कतिपय गाउँ रित्तो भैसकेका छन् भने कतिपय गाउँ रित्तो हुने क्रममा छन् । तत्कालका लागि यो सामान्य विषय जस्तो लागेपनि कुनैबेला यसरी नियमित रूपमा हुने गरेको निर्गमनले भयावह रूप लिनसक्ने चिन्ता सर्वत्र लिन थालिएको छ । तर पनि यो नौलो र अनौठो कुरा भने होइन, किनकि हरेक मान्छेहरू धेरै पुस्तासम्म एकै ठाउँमा बस्दैनन् तर पनि विना कारण मान्छेले थातबास परित्याग गर्नु र ठूलो संख्यामा पलायन हुनु भने चिन्ताको विषय हो ।
भर्खरै प्रकाशित उपन्यास निर्गम यसै विषयमा केन्द्रित भएर लेखिएको सुन्दर उपन्यास हो । यहाँ केवल कथानक मात्र छैन, यसमा मानव जीवन र वर्तमान नेपाली समाजको गहिरो छायाँ छ, जसमा वर्तमान मात्र बोलिरहेको छैन, मानवीय सभ्यता बोलिरहेको छ । यस धराका मान्छेहरू पुर्खौली थातबासमा प्रायः कोही पनि रहि रहँदैनन् ,यो दुखद सत्य हो । निर्गमन प्रथा नयाँ होइन मानव सभ्यताको प्रारम्भिक चरणदेखि मानिसहरू कुनै न कुनै रूपमा निर्गमन भइरहेको पाइन्छ । आख्यानकार गोकर्ण मल्लको पछिल्लो र भर्खरैमात्र प्रकाशित उपन्यास निर्गमले यही विषयलाई उजागर गरेको छ ।
निर्गम उपन्यासमा यसका पात्रहरू मैलुङ,खाप्दी भञ्ज्याङ , पोखरी डाँडा गोरखाका केही मानिसहरू र अमेरिकामा बसोबास गर्ने उपन्यासकी नायिका मात्र पनि छैनन् । यसभित्र तमाम मानव जातिको चेतना, आकांक्षा र द्वन्द्वका मूर्त रूपहरू छन् । उपन्यासलाई गोरखादेखि अमेरिकासम्मको भूगोलमा जोडेर वर्तमान समयको बन्धनले बाँधिएको छ । यसमा धेरै यथार्थ र थोरै कल्पनाको संवादमा आफूसँगै पाठकलाई बहकाउन लेखक सक्षम देखिएका छन् । समग्रमा निर्गम मान्छेको अस्तित्वको खोज हो, जहाँ शब्दहरू पात्र बनेका छन् , संवादहरू विचार बनेका छन्, र घटनाहरू मानवीय आत्माको यात्रामा सडकका घुम्तीहरूजस्ता देखिन्छन् । निर्गम मैलुङ गाउँका शिवको मात्र होइन निश्चित समयमा प्रत्येक मान्छेले आफ्नो थातबास परित्याग गर्ने गरेको इतिहास हामीसँग सुरक्षित छ । उपन्यासले यसै विषयलाई सङ्केत मात्र गरेको छैन उपन्यासको मूल प्रवाह नै यसै विषयमा बगिरहेको पाइन्छ ।
उपन्यासले देखाएको छ, मानव बसोबास पूर्णरूपमा स्थायी हुँदैन, यो वास्तविक सत्य हो । अनन्त कोणहरूबाट देखिने बहुआयामिक दृष्टान्त हो। यसले प्रेम र घृणा, आशा र निराशा, निष्ठा र विश्वासघात, सबै कुरालाई एकै क्यानभासमा चित्रित गरेको छ भने लेखक मल्लले आफ्ना पाठकहरूलाई त्यस चित्रभित्र आफ्नो अनुहार र आत्माको प्रतिबिम्ब खोजेर देखाउने चुनौति समेत दिएका छन् । हुनपनि हरेक पाठकले यसभित्र आफ्नो गाउँ, आफ्नो परिवेश र समग्रमा आफ्नै परिवारका सदस्य र आफ्नो कथा फेला पार्छन् ।
निर्गम उपन्यासले मान्छेको आत्मा र ब्रह्माण्डबीचको अन्तहीन वार्तालापलाई छर्लङ्ग पारिदिएको छ । जसमा लेखक केवल माध्यम मात्र बनेका छन् । वर्तमान अवस्थामा यो कथानक भित्र आम नेपालीको भावना , रहर, वाध्यता र इच्छाहरू बोलिरहेको छ । प्रेम प्रसङ्गको विश्लेषण गर्दै उपन्यासकारले मायामा जात, उमेर,भूगोल, शरीरको वाह्य आवरण , शारीरिक असक्तता र गम्भीर प्रकृतिका रोगहरू समेत वाधक हुन सक्दैन भन्दै उपन्यासका मूल पात्र शिवनाथ र सतिभा मार्फत प्रेमिल सन्देश दिएका छन् ।
कथानकमा वास्तविकता र कल्पना बीचको गतिको प्रवाह सूक्ष्म छ तर सुन्दर छ । उपन्यासमा प्रस्तुत गरिएको विषयवस्तु अत्यन्त गहन छ अझै यसको गहिराईमा पुग्न सकेको भए सुन माथि सुगन्ध थपिने थियो । वास्तवमा मान्छे निर्गमन हुनकालागि विशेष परिस्थितिजन्य घटनाहरू जिम्मेवार भएको इतिहास हामीले पढेका छौँ । त्यस मध्य गृहयुद्ध, जटिल प्रकारका प्राकृतिक प्रकोप, महामारी, भोकमरी र वाह्य आक्रमण जस्ता घटनाका पीडितहरू निर्गमन हुने गरेको सुनिएको हो । यति बेला यहाँ भने यी मध्य कुनै पनि विषय जिम्मेवार देखिँदैनन् । वर्तमानमा हामी केवल गरिवी नामको कालो धब्बा मेट्नकै लागि पलायन भै रहेका छौँ । केवल धनी हुने मानसिकता र सुखको खोजिमा मात्र हामीले पँखेटा फिँजाएका हौँ । प्रस्तुत उपन्यासले पनि यसभन्दा बाहेक अन्य कारण फेला पारेको छैन ।
गाउँ छोडेर शहर र शहर छोडेर विदेश पलायनको रहर सँगाल्नेहरूको इच्छा र सपनाको सहरमा टेक्नासाथ संसार जित्न सकिने भ्रमका कारण अधिकांश युवायुवतीहरू विदेशिने गरेको तीतो सत्यले उपन्यासलाई थप रोचक र गम्भीर बनाएको छ । उपन्यास पढ्दै जाँदा देखिएको गाउँ रित्तिँदै गएको दृश्य, विमानस्थलमा पुग्दा गाउँ र जिल्लाका युवायुवतीको ताँतीले एकपटक सबैको मन कुँड्याइ दिएको छ ।
उपन्यासको कथानक गोरखा जिल्लाको एउटा पहाडी गाउँ पोखरी डाँडाबाट सुरु हुन्छ, जहाँका बासिन्दा खेतीपाती, पशुपालन गर्छन्, गाउँको माटोसँग मजाले खेल्छन् र निकै उत्साहका साथ गाउँ वेसी गर्छन् । गाउँको स्थानीय विद्यालयमा पढ्छन् र जागिरे बन्न पनि मिलेसम्म गाउँकै विद्यालयलाई रोज्ने गर्छन् । स्थानीय बासिन्दा विकासको अवधारणाबाट अनभिज्ञ छन्, र गोरखा बजार, चितवन, काठमाडौं जस्ता मुलुक भित्रका केही विकसित मानिएका शहर बजार हुँदै अमेरिका, युरोप र अष्ट्रेलियाका महानगरसम्म फैलिने कोशिस गरिरहेका भेटिन्छन् तर उँडेपछि विश्राम गर्न पुगिने वासस्थानले सहजै बास दिन सक्छ या सक्दैन ! यस सम्बन्धमा प्रायः सबैजसो अनभिज्ञ छन् । जहाँ ग्रामीण समाजको अनुपस्थिति छ, त्यहाँ जीवन निर्वाहको वास्तविकता कष्टकर हुन्छ । कथानकमा भौगोलिक विस्तारसँगै विस्तृत समय अवधिलाई समेट्ने प्रयास गरिएको छ।
आधुनिकताको आवरण लगाएर टाउकोविहीन विदेशी महानगरीय सभ्यता र संस्कृतिको अभाव भएको शहरको आफ्नै कुनै मौलिक मौसम हुँदैन र त्यहाँ ऋतु परिवर्तन भएको आभाष पनि पाइँदैन । ऋतु र मौसम गाउँमा मात्र परिवर्तन भएको देख्न सकिन्छ । तर पनि गाउँमा आधारभूत र मानसिक द्वन्द्वको सुरुवात भएको छ, गाउँको सामूहिक भावनामा खडेरी पर्दै गएको छ । वर्तमान समय र पुस्ताले विदेशको एक्लोपन रोज्न थालेको छ । यसले तत्कालका लागि जटिल समस्या नदेखिए पनि कुनै बेला गम्भीर रूप धारण गर्नसक्छ । यसै कुरालाई लिएर लेखक निकै सचेत र चिन्तित देखिन्छन् ।
गोकर्ण मल्लले उपन्यासमा प्रयोग गरेको भाषा सरल र आम जनसमुदायका लागि एकदमै सहज छ । बीचका केही अङ्ग्रेजी शब्दहरूले उपन्यासलाई थप नयाँपन दिएको छ । उनले कथालाई प्रवाहित रूपमा प्रस्तुत गर्ने कलामा निपुणता हासिल गरेका छन् । विशाल शब्दावलीको साथ, उनले पस्किएका हरेक बुँदाहरू तर्क सङ्गत लाग्छन् । कथाको रोमाञ्च ग्राफ भने यदाकदा माथि र कहिले तल झरेको पाइन्छ, तर पनि विषय वस्तुको उचित छनौटका कारण पाठकले एकै बसाइमा उपन्यास पढिसक्न बाध्य हुन्छन् । यदाकदा कथा हातबाट चिप्लन खोजेपनि लेखकले निकै सुझबुझका साथ त्यसलाई सम्हालेका छन् ।
त्यसैले निर्गम एक उत्कृष्ट उपन्यास बनेको छ ।वास्तवमा यो उपन्यास केवल निर्गमको बारेमा मात्र होइन निर्गमको बहानामा सामाजिक-पारिवारिक वास्तविकता र मूल्यमान्यतामा भएको ह्रासलाई कैद गर्ने प्रयास पनि गरिएको छ, जुन हालको समयमा अत्यधिक देखिएको छ। समयसँगै मानिसको धूर्तता,अभिमान र असंवेदनशीलता कसरी बढेको छ, पुनरुत्थानवादी प्रयासहरू कसरी बलियो भएका छन्, यी सबै कुराहरूको यस उपन्यास मार्फत विस्तारमा वर्णन गरिएको छ । मान्छेको सोचमा देखिने धूर्तता, अभिमान र तिनका दिमागमा रहेको भ्रष्टाचार, वर्तमान युगको वास्तविकता हो।
वर्तमान समयमा आम युवाहरू आफ्नो परिवार र पुर्खाहरूप्रति संवेदनशील देखिदैनन् तर कोही पनि बुझ्न तयार छैनन्, जबकि यो आधारभूत आवश्यकता हो र उपन्यासको आधारभूत सिद्धान्त पनि हो । उपन्यासकार मल्लको लेखन कला तिखारिँदै गएको देखिन्छ । भविष्यमा उनका थप कृति आउने आशा राख्दै मल्लको सुस्वास्थ्य र उज्ज्वल भविष्यको कामना गर्दछु ।
चितवन ।