मानिसको व्यक्तित्वलाई सबैभन्दा महत्त्वपूर्ण रूपमा लिने गरिन्छ । मानिसको व्यक्तित्वको निर्माणमा परिवार, सहकर्मी तथा साथीभाइको महत्त्वपूर्ण भूमिका रहने गर्छ । त्यस्तै गरी उसले अध्ययन गरेका शैक्षिक संस्था र शिक्षा प्राप्ति पछि अवलम्बन गर्ने बाटाले पनि प्रत्यक्ष भूमिका खेलिरहेको हुन्छ । वास्तवमा मानिसको व्यक्तित्व निर्माणमा एकरूपता र अनुरूपताको पनि निकै भूमिका रहने गर्छ । सबैका हकमा यही नियम लागु हुने गर्दछ । यहाँ वरिष्ट साहित्यकार मोहन सिटौलाको व्यक्तित्वलाई विभिन्न शीर्षकमा विभाजन गरेर अध्ययन गर्ने जमर्को गरिएको छ :
जन्म तथा बाल्यकाल
मोहन सिटौलाको जन्म २००० साल वैशाख २ गतेका दिन साबिकको चुहान्डाँडा गाविस (हालको आठराई गाउँपालिका वडा नं ६ चुहानडाँडा) मा पिता हरिचरण सिटौला र माता लक्ष्मीदेवी सिटौलाका जेष्ठ सुपुत्रका रूपमा भएको हो । उनको बाल्यकाल आठराईकै माटोमा लडिबडी गर्दै बितेको देखिन्छ ।
मोहन सिटौला बाल्यकालमा निकै चकचके स्वभावका रहेका र उनको चकचकका कारण प्रहरी डुल्दै घरमा आएका बेलामा घरायसी ख्याल ठट्टामा प्रहरीलाई लैजानु भनी तिनको डरसमेत देखाउनु परेको उनी आफैँले बताएका छन् । तर उमेर बढ्दै गएपछि उनको त्यस्तो बानीमा पनि सुधार आयो । त्यसरी स्वभावले चकचके भए पनि उनी आफू पढ्नमा चाहिँ निकै मन गर्ने अनि पढ्न थालेपछि पढेर पूरा गर्ने स्वभावको भएको बताउँछन् ।
विवाह तथा सन्तान
मोहन सिटौलाको विवाह २०२६ साल फागुन २६ गते साबिकको हाङपाङ गाविस, (हालको आठराई त्रिवेणी गाउँपालिका –३, हाङपाङ, ताप्लेजुङका पिता रूपनारायण प्रसाईँ र माता गौरादेवी (सुवेदी) प्रसाईकी जेठी छोरी भुवनेश्वरी प्रसाईँसँग भएको हो । उनीहरूका अनिल, सुनिल र अखिल नाम गरेका तीन भाइ छोरा र दीपा (लाली/कुसुम) नाम गरेकी एउटी छोरी गरी चार सन्तान रहेका छन् । तीन जना छोराका सन्तानसमेत भइसकेका छन् । यसरी हेर्दा चार छोराछोरी ४ नातीनातिना गरेर जम्मा ९ जना सन्तानका धनी रहेका सिटौलाको वैवाहित जीवन सफल तरिकाले बितेको देखिन्छ ।
अक्षरारम्भ तथा उच्च शिक्षा
मोहन सिटौलाको अक्षरारम्भ घरबाटै भएको हो । उनले हजुरबा द्रोणाचार्य सिटौला र बुवा हरिचरणबाटै साँवा अक्षर र अङ्क अनि गुना चिने र सिके । विद्यालय टेक्ता उनी ५ वर्षका थिए । २००५ मा उनी पहिलो पटक नजिकै आफ्नै बारीको छेउमा दोकानडाँडा अथवा पीपलडाँडामा उनकै पिताजीले खोलेको विद्यालय टेके । उनी पहिलो पटक भर्ना भएर पढेको विद्यालय शारदा प्रा.वि (पछि शारदा मिडिल र मावि) भयो । त्यो स्थायी विद्यालय नहुञ्जेल त्यतिखेर बोखिम र बेतिनीका चउरहरूमा अनि चुहानडाँडामा हेल्थपोष्ट भएका ठाँउमा गाराका आडमा स्याउलाको छाहारीमा धुलेकक्षा पढाइ हन्थ्यो । सुरुमा केही समय उनले त्यही पनि पढे । उनले २०१६ सालमा एसएलसी उत्तीर्ण गरे । उनी शारदा माविका तेस्रो ब्याचका विद्यार्थी थिए । उक्त ब्याचमा उनीसहित जयनारायण सेडाईं, सूर्य कन्दङवा र तुलसी उप्रेती गरी ४ जना मात्र विद्यार्थी थिए । आठराई, चुहानडाँडामा रहेको शारदा हाइस्कुलमा अध्ययन गरे पनि उनीहरूले इलाममा गएर परीक्षा दिनुप¥यो । उनले दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनी त्रिचन्द्र कलेज, काठमाडौँमा झर्ना भएर त्यहीँबाट उनले २०२१ मा बीए उत्तीर्ण गरे । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट २०२४ सालमा अङ्ग्रेजी विषय लिएर स्नातकोत्तरसम्मको शिक्षा लिए ।
जागिर यात्रा : शिक्षक देखि प्राध्यापक हुँदै क्याम्पस प्रमुखसम्म
२०२१ मा बीएको परीक्षा दिएर आएकै साल उनले पाँचथरको सुभाङमा रहेको नीलगिरि स्कुलमा प्रधानाध्यापक भएर केही समय काम गरे । उनले त्यहाँ लामो समय त काम गरेनन् तर जेजति समय काम गरे तर उनले तन र मन दिएर गरे । आफ्नै पहलमा उक्त विद्यालयले स्वीकृति प्राप्त गरेको उनी बताउँछन् ।
एमए उत्तीर्ण गरेकै साल उनी वीरेन्द्र इन्टर कलेज (हालको तेह्रथुम बहुमुखी क्याम्पस) चुहानडाँडामा पढाउन थाले । त्यहाँ उनले २०३० सम्म पढाए । २०३० मा नयाँ शिक्षा योजना लागुभयो । उपप्राध्यापकमा बढुवा भएर उनी पृथ्वीनारायण क्याम्पस पोखरा गए । त्यहाँ उनले २०३० देखि २०३६ सम्म ६ वर्ष जति प्राध्यापन गरे । विसं २०३४ तिर उनी शिक्षा मन्त्रालयमा पनि स्कुलको लागि नयाँ पाठ्यक्रम तर्जुमा गर्न केही महिना काजमा काम गरे । विसं २०३६ मा उनी त्रिवि पाठ्यव्रmम विकास केन्द्रअन्र्तगत समानस्तरनिर्धारण (इक्वीभ्यालेल्ट) शाखामा सरुवा भएर त्यहाँ प्राज्ञिक प्रशासनमा सरिक भए । त्यहाँ उनले २०४२ सालसम्म काम गरे । त्यहाँ रहँदा विभिन्न समयमा उनले भारतका केही विश्व विद्यालयको अध्ययन गर्ने र युएनओको करिकुलम डेभलपमेन्ट पोस्ट ग्याजुएट टे«नीङ्गमा पनि सहभागी हुने अवसर पाएका थिए । त्यसपछि उनी २०४३ मा तेह्रथुम क्याम्पस, चुहानडाँडामा क्याम्पस प्रमुख भएर गए र त्यहाँ २०४६ सम्म काम गरे । त्यसपछि उनी पुनः पाठ्यक्रम विकास केन्द्रमा आए । त्यहाँ उनले २ वर्षजति काम गरेर अध्ययन विदामा बसे ।
विसं २०५० मा उनले विश्व भाषा क्याम्पसमा प्रमुख भएर त्यहाँको समस्या समाधान गर्ने काममा जानु पर्यो र उनको पीएच डी अध्ययन अधुरो रह्यो । त्यहाँ उनले करिब ५ वर्षजति काम गरे । यसरी उनको शिक्षक, प्राध्यापक हुँदै जागिरे जीवनको यात्रा अगाडि बढेको देखिन्छ ।
सिटौलाको साहित्यिक यात्रा र प्रकाशित कृतिहरू
उनी आफ्नो साहित्य लेखनका प्रेरणाका स्रोत भनेका आफ्नै हजुर बा र बुवालाई मान्दछन् । उनका घरमा बा र बुवा महाभारत तथा रामायण, वर्णमाला तथा गुणरत्नमालाका श्लोकहरू मुखाग्र भन्थे । उहाँहरूले वाचन गरेका श्लोकहरू उनी ध्यान दिएर सुन्ने गर्थे । यसरी बालखकालमा नै श्लोकहरू सुन्दै जाँदा उनमा पनि साहित्यप्रति झुकाव बढ्न गयो । ५/६ वर्षकै उमेरमा घरमा चण्डी र दोकानडाँडा अथवा पीपलडाँडाको स्थानीय प्रारम्भिक स्कुलमा धरणीधर न्यौपाने गुरुले, अमरकोश र अङ्क गणित कक्षामा पढाउनुका साथै संस्कृत साहित्यका श्लोकहरू सुनाउँदै अर्थलाइदिनुहुन्थ्यो । पिताजी कै प्रेरणामा पछिसम्म नै उनले बिहान बेलुका उहाँकै घरमा धाएर न्यौपाने गुरुबाट संस्कृत साहित्य पढ्ने मौका पाए । विसं २००७ देखि त्यहीँ पिताजी र गाउँलेहरूबाट आधुनिक अङ्ग्रेजी शिक्षा सुरु गर्ने बन्दोबस्त भयो । दार्जिलिङ्गबाट हरिलाल भन्ने एक जना शिक्षक ल्याइएको थियो । पछि लाम्चे भन्ने मैदानमा दरबार हाइस्कुल जस्तो नयाँ ठुलो लामो स्कुल भवन बनिएपछि त्यहाँ मिडिल स्कुल भयो । दार्जिलिङबाट ल्याइएका अर्का शिक्षक र प्रअ कुलप्रसाद राईले ६ कक्षादेखि नै छन्दका कविता सिकाउने गर्थे । यही क्रममा उनले कक्षा ६ मा पढ्दै गर्दा विद्युन्माला छन्दमा चार लाइनको एउटा कविता लेखेर शिक्षकलाई सुनाएका थिए । उनको त्यो कवितालाई निकै मन पराएको र स्याब्बासीसमेत दिएको उनी सुनाउँछन् । यही रचनालाई नै उनी आफ्नो नेपाली साहित्यको प्रवेश वा प्रेरक रचना मान्दछन् । उनी भन्दछन् ‘बा, बुवा र शिक्षकहरूकै प्रेरणाबाट मैले साहित्य सिर्जना गर्न सिकेको हुँ ।’
शारदा हाइस्कुलबाट हस्तलिखिति पत्रिकामा ‘हामी साना बाला हौँ’ शीर्षकको छोटो कविता प्रकाशित गरेर नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गरेका उनका केही सिर्जना : केही विवेचना (समालोचना) २०४१, गोठालाहरू (आत्मपरक निबन्धसङ्ग्रह) २०४२, परिभ्रमण (निबन्धसङ्ग्रह) २०४३, अर्को प्रहर (कवितासङ्ग्रह) २०४४, नयाँ मुलुकको नाद (खण्डकाव्य) २०६३, आवाजका जुलुस र नयाँ विश्व (गद्यकवितासङ्ग्रह) सन् २०१५, सिद्धि सुधा (आधुनिक महाकाव्य) २०७४, जीवन बाँसुरी (गीत र गीतिकवितासङ्ग्रह) २०७६, नवालोक (बृहत् काव्य) २०७६ आदि विविध साहित्य विधाका कृतिहरू प्रकाशित भएका छन् ।
उनका दार्जिलिङको यात्रा (चम्पूकाव्य),नयाँ वर्ष र आतर्व राग (छन्द कविता सङ्ग्रह), चन्द्रसूर्य सम्वाद (खण्डकाव्य) आदि गरी आधा दर्जनभन्दा बढी प्रकाशोन्मूख कृतिहरू रहेका छन् । त्यस्तै उनले दर्जनौँ पत्रपत्रिकाको भूमिका लेखेका छन्, सम्पादन गरेका छन् । विभिन्न पत्रपत्रिकाहरूमा उनका फुटकर रूपका रचनाहरू प्रकाशित भएका छन् ।
अङ्ग्रेजी र संस्कृत साहित्यको राम्रो ज्ञान भएका उनका नेपाली भाषाका अतिरिक्त अङ्ग्रेजी भाषामा केही पुस्तक र विभिन्न लेख, रचनाहरू पनि प्रकाशित भएका छन् ।
नेपाली साहित्यमा विकासमा अनवरत रूपमा लागिरहेका उनको व्यक्ति र कृतित्वमा आधारित रहेका केही शोध अध्ययनसमेत त्रिवि केन्द्रीय नेपाली विभागमा भएका छन् । शोधार्थी टीका भट्टराईले २०५३ मा ‘मोहन सिटौला कृति र व्यक्तित्व’ र ‘तोम सिटौलाले ‘मोहन सिटौला निबन्धकारका रूपमा’ शीर्षकका शोध सम्पन्न भएका छन् र अरू पनि हुने क्रममा छन् ।
साहित्य सङ्गम आठराईबाट सुरु भएको उनको संस्थागत यात्रा पनि राष्ट्रिय तथा अन्तर्राष्टियस्तरका विभिन्न सङ्घसंस्थामा फैलिएको देखिन्छ । यसरी हेर्दा मोहन सिटौला एक जना अनवरत रूपमा दीर्घ साहित्य साधना गरिरहने व्यक्तिका रूपमा प्रष्ट देखिएका छन् ।
आठराईका शैक्षिक व्यक्तित्वका सन्तान
उनको बुवा एक जना शैक्षिक व्यक्तित्व तथा विशिष्ट शिक्षासेवी हुन् । विशेष गरेर आठराईको शिक्षाको सुरुआत गर्नेमा व्रह्मलाल सिटौला र उनका छोरा गङ्गाप्रसाद सिटौलाको नाम आउँछ । आफ्नै पहलमा र सारा दाजुभाइहरूको सामूहिक लगानीमा तमोरमा भैँसी, घोडा हिँड्ने साँघु हालेपछि राणाले खुसी भएर ‘तिमी के माग्छौ माग’ भन्दा गङ्गाप्रसादले ‘अँधेरोमा बत्ती दिनुहोस् सरकार’ भनेपछि राणा सरकारले खुसी भएर भाषा पाठशाला खोल्न अनुमति दिएको बताइन्छ । त्यसपछि उनको पहलमा १९८६/०८७ तिर मूलपानी भाषा पाठशालाको सुरुआत गरिएको रहेछ । मूलपानी भाषा पाठशालाको पूर्वी नेपालको शैक्षिक इतिहासमा महत्त्वपूर्ण स्थान रहेको छ ।
यसरी व्रह्मलालले खोलेको शिक्षाको गोरेटो र हरिचरण सिटौलाले अझ फराक र पक्का पादै शिक्षको ज्योतिलार्ई जनताको घरघरमा पुर्याउने वा फिँजाउने काम गरे । २०१७ सालमा वीरेन्द्र इन्टर कलेज (हालमा तेह्रथुम बहुमुखी क्याम्पस) को रूपमा विकसित भयो । यो विकासकालमा पनि उनी अतिनै लगनशील सक्रिय थिए । हरिचरणकै सक्रियतामा स्थापना भएको क्याम्पसमा उनको जेठो छोरा मोहन सिटौला क्याम्पसको प्राध्यापक तथा केहीपछि प्रमुखसमेत भएर काम गरे भने शारदा माविमा माइलो छोरो शिवप्र्रसाद सिटौलाले प्रअ भएर काम गरे । यी दुवै संस्थालाई तेह्रथुमको शैक्षिक तथा साहित्यिक इतिहासको एक महत्त्वपूर्ण अङ्गका रूपमा लिएर अध्ययन गर्ने गरिन्छ ।
यसरी मोहन सिटौलाले पनि बुवाले खोलेको बाटोमा निरन्तर रूपमा हिँड्ने काम गरेको देखिन्छ । उनले कहिले शिक्षक, प्राध्यापक त कहिले क्याम्पस प्रमुख भएर गाउँगाउँमा शिक्षाको ज्योति पुर्याउने बुवाको चाहनालाई सहयोग पुर्याउँदै र पूरा गर्दै आएका छन् । पिता हरिचरणको सल्लाहमा उनको झापाको आफ्नै जमीनमा उनका साइँला छोरा रामले २०४२ सालमा चारपाने, झापामा अङ्ग्रेजी बोर्डिङ्ग हाइस्कुल खोलेका छन् । सरकारीस्तरबाट पुरस्कारसमेत प्राप्त गर्न सफल यो विद्यालय उत्कृष्ट रूपमा सञ्चालन भइरहेको छ ।
मोहन सिटौला भन्छन्, ‘विद्यावारिधि गर्ने धोको भने अधुरै रह्यो’
उनी २०४८ सालमा विद्यावारिधिको तयारी गरिरहेका थिए । उनले विद्यावारिधिका लागि ‘ह्युमन राइट्स इन लिट्रेचर’ शीर्षक छानेका थिए । त्यसको निकै तयारी पनि गरेका थिए तर त्यही समयमा माथि पनि केही भनिए जस्तै उनले विश्वभाषा क्याम्पसमा क्याम्पस प्रमुख भएर जानुप¥यो । त्यतिबेला त्रिविमा डा.कमलकृष्ण श्रेष्ठ भिसि थिए । भिसिको अनुरोधलाई उनले नकार्न सकेनन् । जहाँ जहाँ क्याम्पसमा समस्या आउँथ्यो ती मध्ये केहीमा आफूलाई पनि खटाइने गरेको उनी बताउँछन् । उनी भन्छन् ‘जहाँ जहाँ समस्या आउथ्यो तीमध्ये केही ठाउँमा मैले पनि जानुपथ्र्यो । विश्वभाषा क्याम्पसको सबालमा पनि त्यस्तै भयो । मैले नगई भएन ।’
विश्वभाषामा गङ्गा उप्रेतीले छाडेपछि चन्द्रप्रकाश शर्माले नेतृत्व गरे । शर्माको अवधि सकिएपछि अर्को क्याम्पस प्रमुखको नियुक्ति हुन सकेन । त्यहाँ विरोध तथा हड्ताल भइरहेको अवस्था थियो । त्यही स्थानमा उनी नियुक्त भएर आए । आफू आएपछि लामो समयदेखि चर्किएको विवाद सुल्झिएको उनी बताउँछन् । त्यहाँ २/४ महिनाका लागि भनेर लगिए पनि त्यहाँ उनले करिव पाँच वर्षजति काम गर्नुपर्यो । त्यही बेलामा उनी निकै बिरामी पनि परे । उनले अप्रेसनसमेत गर्नुपर्यो । स्वास्थ्यमा आएको समस्या र अन्य प्राविधिक कारणले गर्दा अन्तिम अवस्थामा पुगेको उनको विद्यावारिधि पूरा हुन सकेन । त्यो अहिले पनि उनलाई छुक्छुक् लागिरहेको छ ।
उनी भन्छन्, ‘सायद मेरो भाग्यमा थिएन क्यार, त्यही भएर निकै प्रयास गर्दा पनि विद्यावारिधि भने पूरा गर्न सकिएन ।’
अनुभव तथा संलग्नता
– छिमेकी पाँचथर जिल्लाको सुभाङ, मुक्तुरा भन्ने ठाउँमा रहेको नीलगिरि माविको संस्थापक प्रधानाध्यापक भएर काम गरेको ।
– पृथ्वीनारायण क्याम्पस, पोखरामा प्राध्यापन, तेह्रथुम बहुमुखी क्याम्पस, आठराई, तेह्रथुम र विश्व भाषा क्याम्पस, काठमाडौँमा क्याम्पस प्रमुख र अन्य धेरै क्याम्पसमा परीक्षा सञ्चालन र शान्ति कायम गर्न सहयोग गरेको ।
– पाठ्यक्रम विकास केन्द्रअन्तर्गत समानस्तर निर्धारण शाखामा प्रमुख रही काम गरेको ।
– साहित्य सङ्गम आठराई, युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), साहित्य संध्या, अमेरिका लगायतका विभिन्न साहित्यिक सङ्घसंस्थामा रहेर काम गरेको ।
– ४० ओटाजति राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका शैक्षिक, साहित्यिक सेमिनार, गोष्ठीमा कार्यपत्र प्रस्तुत गरेको ।
– भाषा, साहित्य, संस्कृतिसम्बन्धी विविध सङ्घसंस्था, इ—जर्नल र वेबसाइटलगायत स्वाध्यायन र लेख, रचना, अनुवाद तथा प्रकाशनमा सव्रिmय रहेको ।
– पाठ्यक्रम विकास केन्द्र त्रिविको मुखपत्र पाविके अङ्ग्रेजी÷नेपालीको सम्पादक भएर काम गरेका ।
– निजी क्षेत्रको भारद्वाज अङ्ग्रेजी/नेपाली द्वैमासिकको प्रधान सम्पादक भएर काम गरेको ।
– अनेसासको विशिष्ट जर्नल प्रथम मुखपत्र अन्तर्दृष्टि को सम्पादन गरेको ।
– सागर साहित्यिक मासिक पत्रिका नेपाल÷क्यानडाको सल्लाहाकार भएको ।
– नेपाली डायस्पोराका विभिन्न साहित्यिक, सांस्कृतिक सङ्घसंस्थामा सल्लाहकार भएर काम गरेको ।
– भर्चुअलका माध्यमबाट विभिन्न साहित्यिक तथा सांस्कृतिक सम्मेलनमा भाग लिई, प्रवचन तथा कृति चर्चापरिचर्चामा भाग लिएको ।
– नेपाल, अमेरिका वा नेपाली डायस्पोराबाट सञ्चालन हुने विश्वव्यापी कार्यव्रmमहरूमा प्रमुख अतिथि, विशिष्ट वक्ता, समीक्षक वा मूल्याङ्ककर्ता आदिको हैसियतमा सव्रिmय भएर काम गरेको ।
– अक्षर शिरोमणि मदनमणि दीक्षित (बृहत् स्मृतिग्रन्थ) को प्रकाशन समिति अध्यक्ष एवम् प्रधान सम्पादक भएर काम गरेको ।
– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युएसए, भाषा विज्ञान समाज नेपाल, साहित्यिक सङ्घ नेपाल, अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषाभाषी सङ्गठन— नेपाल शाखा, अष्टिन् पोयट्रि सोसाइटी, वरिष्ट साहित्यकार रमेश विकल प्रतिष्ठान, भाषा साहित्य, समाजसेवी जनक हुमागाई साहित्यिक संस्थालगायतका धेरै संस्थामा रहेर योगदान दिएको ।
सम्मान तथा पुरस्कार
– भानु पुरस्कार, त्रिवि दीर्घ सेवापदक, शिक्षक सेवा पुरस्कार, स्रष्टासाँझ, नेपाली शिक्षा परिषद, साहित्य सम्मेलन दार्जिलिङ, आदिबाट सम्मानित ।
– सन् २००५ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्कृष्ट सेवा पदक सम्मान ।
– सन् २००६ मा पोयट्रि मन्थ अमेरिकाबाट कवि राजदुत उपाधि प्राप्त गरेको ।
– सन् २०१० मा टेक्सस अमेरिका अनि अष्टिन् सोसाइटी अफ पोयट्स् बाट तथा सन् २०१५ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरबाट सो राजदूत उपाधिको सम्मान गरिएको ।
– सन् २००७ मा आसाम साहित्य परिषद् सम्मानबाट सम्मानित ।
– सन् २००७ मा सिक्किम साहित्य परिषद् सम्मानबाट सम्मानित ।
– २०७१ मा आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कारबाट पुरस्कृत ।
– २०७२ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरबाट अभिनन्दित ।
– सन् २०१५ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समिति र जापान च्याप्टरबाट अनेसास हिरोबाट सम्मानित ।
– २०७७ सालमा महाकवि देवकोटा नेपाली भाषा साहित्य राष्ट्रिय सम्मानबाट सम्मानित ।
– २०७८ सालमा नइ अन्तर्राष्ट्रिय बृहत् पुरस्कारबाट पुरस्कृत ।
– २०७८ सालमा लीलाध्वज थापा प्रतिष्ठान सम्मानबाट सम्मानित ।
– २०२२ सालमा विश्व भुटानी साहित्यिक सङ्गठन (ग्लोबल भुटानी लिटरेरि अर्गनाइजेसन) बाट सम्मानित ।
– २०२२ सालमा अनेसास डिसि मेट्रो च्याप्टरबाट विशेष सम्मानबाट सम्मानित ।
– सन् २०२२ मा नइ देरुनिख अन्तर्राष्ट्रिय साहित्यिक व्यक्तित्व पुरस्कारबाट पुरस्कृत ।
– २०७९ सालमा नई प्रकाशन संस्थाबाट नइ कीर्ति रत्नको उपाधिले सम्मानित ।
– सन् २०२२ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बाट दीर्घसेवा सम्मानबाट सम्मानित ।
– सन् २०२३ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बाट साहित्य रत्न उपाधिबाट सम्मानित ।
– २०८० मा युगकवि सिद्धचरण श्रेष्ठ साहित्यिक राष्ट्रिय सम्मानबाट सम्मानित ।
– २०८० मा अनेसास सुनिल पाठक विशिष्ट पुरस्कारबाट पुरस्कृत ।
– अक्टोबर १५, २०२४ मा कोलकातामा भारतका ११ औं राष्ट्रपति एपिजे अब्दुल कलाम अन्तराष्ट्रिय फाउण्डेसनबाट प्लाक सहितै सम्मान पाएको ।
निष्कर्ष
दर्जनौँ कृति, कयौँ नेपाली—अङ्ग्रेजी जर्नलमा सयौँ नेपाली—अङ्ग्रेजी रचना र समीक्षा प्रकाशन गरेका, लामो समयसम्म शिक्षा, साहित्य र संस्कृतिमा साधनारत रहेका मोहन सिटौला एक जना नेपाली साहित्यका मूर्धन्य दीर्घसाधक हुन् । असल अभिभावक तथा मार्गदर्शकका रूपमा रहेका उनी अनुज पुस्ताका लागि अनुकरणीय व्यक्ति बन्न सफल भएका छन् । गद्य एवम् पद्य कविता, गीतकार, निबन्धकार, समालोचक र प्रवचकका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित उनी प्रवासमै रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उन्नयनमा लागिरहेका छन् । उनको थप साहित्यिक उन्नयनको कामना गर्दछु ।