समाजको विकास र असमानताको इतिहास एकअर्काका सहयात्री हुन् । मानव सभ्यता सुरु हुँदा मानिस समूहमा बाँच्न थाले, तर शक्ति, सीप र स्वार्थका कारण समानता कहिल्यै स्थायी हुन सकेन । सिकार गर्ने जमातमा पनि बलियोले ठूलो जनावरको मासु बढी पाउँथ्यो भने कमजोरले हड्डीमा टाँसिएको मासु चपाउँदै सन्तुष्ट रहनुपथ्र्यो । त्यही बेलादेखि नै समानता र असमानता बीचको द्वन्द्व सुरु भयो, जसले आजसम्म समाजको हरेक तहलाई छोइरहेको छ ।
बाल्यकालमा मैले भोगेको गरिबी र छिमेकीको सम्पन्नताको दृश्यले बालमस्तिष्कमा गहिरो चोट बन्न पुग्यो “किन मसँग छैन? किन ऊसँग छ?“ । असमानताको पहिलो घाउ त्यहीँ लाग्यो, जसले पीडा, रिस र प्रश्न पनि उठायो । बालमनोविज्ञान भन्छ, जब कुनै बच्चाले आफू र अरू बीचमा असमानता देख्छ, उसको मस्तिष्कमा पहिलो पटक “अन्याय“ को अनुभूति हुन्छ । त्यो अनुभूति नै भविष्यमा परिवर्तनको बीउ बन्न सक्छ । मेरो रिस पनि कुनै व्यक्तिविरुद्ध नभई, परिस्थितिविरुद्ध थियो ।
बीसौँ शताब्दीको अन्त्य र एकाइसौँको सुरुवातसँगै असमानताले नयाँ रूप लियो । अब असमानता केवल धनको नभएर अवसरको पनि भयो । समाजमा योग्यताभन्दा नाता, सीपभन्दा पहुँचले भूमिका खेल्न थाल्यो । जन्मका कारण अवसर पाउने, अधिकार पाउने, र योग्यतालाई पछि धकेल्ने प्रवृत्ति जनाउने “नेपो बेबी“ भन्ने शब्द यही सन्दर्भमा चर्चामा आयो । यो संस्कृति विश्वका हरेक क्षेत्रमा फैलिएको छ ।
नेपालमा राजदरबारमा जन्मिएका सन्तानले सामान्य जनताभन्दा असंख्य गुणा बढी सुविधा पाउँथे । त्यो असमानताले जनताको भावनालाई आक्रोशमा रूपान्तरित गर्यो । फलस्वरुप आन्दोलन भयो । राजतन्त्र हट्यो । क्षणभरका लागि समानताको नयाँ युग सुरु भयो । यसरी इतिहासले असमानताको रूप फेरिने तर अन्त्य नहुने देखाएको छ । राजा गए तर “नेता–राजा“ आए । अब असमानता राजनीतिक दल, सरकारी कार्यालय, र संघसंस्थाको रूपमा देखा पर्यो ।
सम्पत्ति,सेना र ज्ञान शक्तिका श्रोत हुन । यो प्राप्त गर्न मानिस त्यस तर्फ आकर्षित भई रहन्छन् । एक समय जनताको आवाज रहेका राजनीतिक दलका भातृ संगठनहरू सत्ता नजिक पुग्ने माध्यम बने । ट्रेड युनियनले श्रमिकको अधिकार होइन, नेताको स्वार्थ बोल्न थाले । जुन पार्टी सरकारमा पुग्छ, त्यसकै नजिकका युनियन सदस्यहरूको रवाफ बढ्छ । कर्मचारीतन्त्रमा समान अवसर होइन, “कसको पार्टी?” भन्ने प्रश्नले काम गर्छ । सामुदायिक जंगलको समितिदेखि सहकारी र टोलका समितिसम्म राजनीतिक प्रभावमा बन्न थाले । सरकारी काम, ठेक्का–पट्टा सबै ठाउँमा दल नजिकका भातृ संगठन, युनियन र पहुँचको राज चल्न थाल्यो, जसले आर्थिक मात्र होइन, मनोवैज्ञानिक असमानता पनि फैलाएको अनुभव भयो ।
अहिले समाजमा अर्को एक मानसिकताले त्रसित छ, त्यो हो “जेन जी“ लाई कुनै सुझाव वा प्रश्न गर्न हुँदैन भन्ने । जेन जीका बारेमा केही बोल्यो वा लेख्यो भने पुराना पार्टीको झोले भनेर भाष्य बनाइन्छ । अहिले जेन जीको नाममा कसैले केही गर्दैन भनेर पुलिसलाई हातपात गरेको , जेन जीलाई निःशुल्क शेयर दिनुपर्यो भनेर विद्युत परियोजनाहरूमा पत्र गएको , र सञ्चालन हुँदै गरेको परियोजना बन्द भएको समाचार आई रहेका छन् । यसले फेरि दलका भातृ संगठनजस्तै जेन जीको नाममा असमानता र मनपरी गर्ने हो कि भन्ने प्रश्न समाजमा उठेको छ ।
जागिर खाएको साथीको आर्थिक हैसियत आफूभन्दा निकै माथि हुँदा , वा सामान्य भन्सारमा बसेको खरदारको छुट्टै रवाफ देख्दा , महिनाको तलबमा गुजारा चलाउनेको कर्मचारीको मस्तिष्कमा प्रश्न जन्मिन्छः “म किन कम छु?“ । यही प्रश्नले फेरि रिस ल्याउँछ ।
रिस भनेको कुनै असन्तुष्टि, अन्याय, अपमान, वा बाधा अनुभव गर्दा उत्पन्न हुने तीव्र नकारात्मक भावना हो। यसलाई मनोविज्ञानमा एक प्रकारको भावनात्मक प्रतिक्रिया भनिन्छ । मानिसलाई आफ्नो अधिकार, आत्मसम्मान, या इच्छाको रक्षा गर्न प्रेरित गर्छ। रिस पनि एउटा भावना हो । नकारात्मक रूपमा त्यसले विनाश ल्याउँछ, तर सकारात्मक रूपमा त्यसले क्रान्ति जन्माउँछ । नेल्सन मण्डेला वा महात्मा गान्धीले अन्यायप्रति रिसलाई हिंसा होइन, परिवर्तनको उर्जा बनाए । तर नेपालमा रिस प्रायः हिंसा र द्वन्द्वको बाटोमा बगाइन्छ, जसले विवेक हराउँछ र समाज फेरि चक्रमा फस्छ ।
त्यस्तै चेतना भनेको आत्म–सजगता वा जागरूकताको अवस्था हो । मानिसलाई आफू, वरिपरि भएका वस्तुहरू, विचारहरू, भावना र घटनाको बोध र नियन्त्रण हुन्छ। मनोविज्ञान र दर्शन दुवैका दृष्टिले चेतना मानव अस्तित्वको केन्द्र हो। खुशी हुँदा मुटु न्यानो महसुस गर्छ भने रिस उठ्दा एड्रेनालिन बढ्छ, शरीर तातिन्छ, बोली कडा हुन्छ ।
त्यो आन्दोलनमा आफ्ना हतियार लुटिंदा र आफुलाई नाङ्गै बनाउँदा प्रहरीले हातमा भएको हतियार रिसमा चलाएको भए केहि हजार मान्छे हताहती हुने थिए । प्रहरीले रिसले होइन संयमितता अपनाएर र चेतनाले काम गर्दा आफु हारेर पनि मानिसको ज्यान बचाएको देखिन्छ ।
नेपालको हालको “जेन जी आन्दोलन“ पनि एक किसिमको भावनात्मक विस्फोट हो । यो पुस्ताले पुरानो नेतृत्व, नातावाद र भ्रष्टाचारको विरोध गरेको छ, जुन सकारात्मक कुरा हो । तर समस्या त्यहाँ सुरु हुन्छ, जब स्वतन्त्रताको नाममा दायित्व हराउँछ । कतिपय जेन जी कार्यकर्ताले “हामीलाई जे गर्न पनि छुट छ“ भन्ने सोच विकसित गर्न थालेका छन् । प्रहरीमाथि हातपात गर्ने, हाइड्रोपावर परियोजना रोक्ने जस्ता मानसिकताहरू नयाँ असमानताका लक्षण हुन् । यदि सरकार र नागरिक दुवै “हामी नै कानुन“ भन्ने सोचमा पुगे भने, त्यो समाज समान होइन, अराजक हुन्छ ।
विश्व बैंकको तथ्याङ्कअनुसार बहुदल आए पछि नेपालमा भौतिक पूर्वाधार, शिक्षा,स्वस्थ्य, प्रतिव्यक्ति आय र मानव विकास सूचकांकमा सुधार भएको छ । बैकिङ्ग पहुंच ग्रमिणसम्म पुगेको छ । स्वास्थ्य सेवामा सामान्य नागरिकको पहुँच राम्रो भएको छ तापनि , केही भ्रष्ट ब्यक्तिहरूका कारण असमानता बढेको सत्य हो ।
बहुदलपछि पत्रकारिता स्वतन्त्रताको अर्को नाम बन्यो । तर यो स्वतन्त्रता कहिलेकाहीँ जिम्मेवारीविहीन भयो । टिभी रेटिङ्ग र भ्यूजको लोभमा कतिपय मिडिया र युट्युबरहरूले नकारात्मकता बेच्न थाले । सामाजिक सञ्जाल नयाँ धर्मजस्तो भयो । मानिसहरू फेसबुक, टिकटक, र युट्युबबाट नै सत्य असत्य छुट्याउन नसकिने हुनथाले । अनलाइन खबरको अनुसन्धान अनुसार ३४ प्रतिशत नक्कली खाता सामाजिक सञ्जालमा सक्रिय छन् । तीनले नै आन्दोलनमा अफवाह फैलाउँने र समाजमा अस्थिरता ल्याउँने काम गरेको देखिएको छ ।
समानता भन्नाले सबैले एउटै कुरा पाउनु होइन । सबैले आफ्ना क्षमताअनुसार अवसर पाउनु हो । असमानता तब घट्छ जब समाज “मेरो भन्दा ऊ बढी पायो“ भन्ने तुलना होइन, “ऊस्ले पायो, म पनि प्रयत्न गर्छु“ भन्ने सोचमा पुग्छ । दार्शनिक दृष्टिले समानता आत्म–ज्ञानसँग सम्बन्धित छ । गीता भन्छ— “समोऽहं सर्वभूतेषु“ (म सबै प्राणीसँग समान छु) । बुद्धले पनि दुःखको मूल तुलना र तृष्णा हो भनेका थिए । जब हामी अरूसँग तुलना गर्छौं, असमानताको बीउ रोपिन्छ ।
यसैले समानता कानुनी मात्र होइन, आध्यात्मिक अवधारणा पनि हो । समाजले समानता ल्याउन कानुन बनाउन सक्छ, तर मनमा शान्ति ल्याउन चेतना आवश्यक छ । रिसलाई दमन गर्नु होइन, दिशा दिनु जरुरी छ । रिस ऊर्जा हो । अन्याय देखिँदा रिस उठ्नु स्वाभाविक हो, तर त्यो रिस तोडफोडमा होइन, सोच र सिर्जनामा रूपान्तरण हुनुपर्छ ।
नेपालमा अहिले असमानता, भ्रष्टाचार र अवसरवादले फेरि रिसको वातावरण बनाएको छ । यही रिसलाई यदि शिक्षामा, सामाजिक सचेतनामा, र प्रणाली सुधारमा केन्द्रित गर्न सकियो भने, त्यो राष्ट्र–निर्माणको इन्धन बन्न सक्छ । तर यदि रिसलाई सामाजिक सञ्जालको अफवाह, भीडको उत्तेजना, वा हिंसात्मक आन्दोलनले कब्जा गर्यो भने, त्यो आगोले घर मात्र होइन, जीवनको मूल्य पनि जलाउँछ ।
जबसम्म हामी रिसलाई समझदारीमा, भावनालाई विवेकमा, र स्वतन्त्रतालाई जिम्मेवारीमा रूपान्तरण गर्न सक्दैनौं तवसम्म असमानता नयाँ रूप लिएर फर्किरहन्छ । समानता केवल राज्यले वितरण गर्ने वस्तु होइन । त्यो चेतनाको अवस्था हो । जुन दिन हामीले आफ्नो मनमा असमानताको रीस होइन, समानताको करुणा भर्न सक्यौं । त्यो दिन समाज साँच्चै विकसित कहलिनेछ । रिस भावना हो । चेतना जागरूकता हो। रिस चेतनाको अधिनमा रह्यो भने मानिसले त्यसलाई नियन्त्रण गर्न सक्छ । तर चेतना कमजोर भयो भने रिसले नै सोच र व्यवहारलाई नियन्त्रण गर्न थाल्छ तव उ विनासको बाटोतिर लाग्छ ।
भरतपुर १०, चितवन