18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दिग्भ्रमित सत्ता

निबन्ध डा. टीकाराम पोखरेल October 8, 2025, 2:23 pm
डा. टीकाराम पोखरेल
डा. टीकाराम पोखरेल

मेरो घर, मेरो जग्गा, मेरो गाउँ, मेरो हिमाल, मेरो पहाड, मेरो तराई, मेरो जिल्ला, मेरो देश, मेरो समुन्द्र, मेरो पृथ्वी । सारा संसार सबै मेरो । खुसी नै खुसी । सबै कुरा मेरो भएपछि खुसी नहुनु पनि कसरी ? गद्गद् थिएँ, खुसीले म । जिन्दगीमा खुसी हुनु पर्छ भन्ने मेरो मान्यता थियो । तर मेरो बुझाइमा एकदिन अचानक भूकम्प गयो । म दुखी भएँ । दुखीभन्दा पनि बढी आफूप्रति आफैँलाई दया लागेर आयो । आफ्नो बुझाइप्रति आफैँलाई हाँसो उठ्यो । मनमा प्रश्न उठ्यो– ‘के मैले दाबी गरेका यी सबै मेरा हुन् र ?’ व्रह्माण्डको एउटा पिण्डमा म छु । म मात्र होइन, ऊ पनि छ । ऊ मात्र पनि होइन, उनीहरू पनि छन् । मान्छे मात्र होइन, जीवजन्तु छन्, चराचुरुङ्गी छन्, कीटपतङ्ग छन्, बोटविरुवा छन् । अझ निर्जीव त कति छन् कति ? अगणनीय छन् ।

यति धेरै सजीव प्राणी र निर्जीव वस्तुलाई आश्रय दिएर अविचलित घुमिरहेको पृथ्वी मेरो मात्र कसरी हुन्छ ? प्रश्नले दिमाग खल्बल्याएको छ । धरतीको उत्पत्ति पहिला भयो कि जीवको ? पृथ्वी र जीवको उत्पत्ति सम्बन्धी परस्पर विरोधि विभिन्न मान्यताहरू छन् । पुराणहरूमा बराह अवतार भगवान्ले जलभित्रबाट पृथ्वीलाई बाहिर निकालेको वर्णन छ । बराह भगवान्का नाममा स्तुति पुराण लेखिएका छन् । त्यो मान्यतामा विश्वास राख्ने धेरै छन् । तर अध्यात्मिक धर्म–दर्शनले पृथ्वीलाई कुनै अवतार वा दैवी शक्तिले सिर्जना गरेको भने पनि विज्ञानले त्यो मान्दैन । विज्ञान भन्छ– सूर्यबाट उछिट्टिएर पिण्डहरू बने, सूर्यबाट बनेका पिण्डहरूमध्येको एउटा पिण्ड हो– पृथ्वी । पृथ्वीलाई सौर्यमण्डलको सदस्य घोषणा गर्ने विज्ञानसँग पनि पृथ्वी र सौर्य मण्डलको बारेमा पूर्ण तथ्य छैन । आजको विज्ञान आधा तथ्य र आधा अनुमानको बिन्दूमा छ । नयाँ तथ्यहरूको खोजी जारी छ ।

अध्यात्म धर्म–दर्शन र भौतिकवादले फरक फरक दाबी गरे पनि यो भौतिकवादी युगमा जीवभन्दा पृथ्वी पहिलो हो भन्ने मान्यता नै बलियो छ । जो बढी विश्वसनीय पनि छ ।
भविष्यमा पृथ्वीका बारेमा केकस्ता नयाँ तथ्यहरू फेला पर्लान्, अहिले नै त्यता बहस गर्नु अलि हतार हुन्छ । आजसम्मको खोज अनुसन्धानकै भर पर्दा पनि पृथ्वीको उत्पत्ति भएपछि विस्तारै पृथ्वी सेलाउँदै गयो । करोडौँ वर्षमा प्राणीहरू बस्नका लागि पृथ्वीको तापक्रम अनुकूल बन्दै गएपछि प्राणीहरूको उत्पत्ति भयो । डार्बिनको विकासवादलाई मान्ने हो भने शङ्खे कीरा अर्थात् जलचर, उभयचर हुँदै स्थलचर प्राणी बन्यो । स्थलचरमध्येको सबैभन्दा विकसित भनेर स्वदाबी गरेको मानव पगरीधारी प्राणीले पृथ्वीमाथि आधिपत्य मात्र जमाएन, पृथ्वीको अंशवण्डा नै गरेर आफूमा शक्ति केन्द्रित गर्यो । म पनि त्यही भ्रममा रहेँ ।

पृथ्वीभन्दा पछाडि उत्पत्ति भएको प्राणीले आफूभन्दा करोडौँ वर्ष अगाडि जन्मेको पृथ्वीलाई चिरा चिरा पारेर भागवण्डा गरेको देखेर पृथ्वीलाई चाहिँ हाँसो उठ्दो हो कि, पीडा हुँदो हो । प्रश्न खडा भइदिन्छ । तथापि सर्वसम्मत उत्तर छैन । बरु भागवण्डा जारी छ । भागवण्डाका नयाँनयाँ तरिका देख्दा लाग्दैछ– अझ पछिल्ला शताब्दीहरू भागवण्डा शताब्दी कहलिन पोे हुन् कि ?

जग्गामा घर बनाउन कित्ताकाट गर्दा भागवण्डा, दाजुभाइ बिच अंशवण्डा गर्दा भागवण्डा, वडा, पालिका, जिल्ला, प्रदेशका नाममा भागवण्डा, देशका नाममा भगवण्डा, महादेशका नाममा भागवण्डा, महासागरका नाममा पनि भागवण्डा । समयक्रममा अरु प्रकारका पनि हुनेछन् भागवण्डा । तर पनि पृथ्वी निरन्तर आफ्नो गतिमा घुमिरहेछ । मानिसले सक्दो हो त पृथ्वीलाई एक मिनेट घुम्न रोक्दो हो र शताब्दीकै महान उपलब्धि भनेर घोषणा पनि गर्दो हो कि ? तर न हात्तीको लम्काइलाई भुसुनाले छेक्न सक्छ, न पृथ्वीको गतिलाई मान्छेले रोक्न सक्छ, मात्र भागवण्डा गर्न सक्छ । भागवण्डा रहर हुुन् कि वाध्यता ? बाध्यता भनौँ भने सभ्यताको कुनै कालखण्डमा भागवण्डा नहुँदा पनि चल्थ्यो, कसरी हुन्छ बाध्यता ? रहर भनौँ, मान्छेको कस्तो रहर हो, जुन रहरले मान्छेले आफैँलाई खुम्च्याइरहेछ । अन्तरात्माले मलाई सोधिरहेछ– पृथ्वीको उत्पत्ति प्राणीको उत्पत्तिभन्दा धेरै पहिले भएको हो भने म एक प्राणी, ऊ एक प्राणी, उनीहरू सबै प्राणी । पृथ्वीले मलाई उत्पत्ति गरायो, उसलाई उत्पत्ति गरायो, म जस्तै उनीहरू पनि पृथ्वीकै उपज हुन् । तर म, ऊ, उनी र अरु सबै जीव पृथ्वीको हुनुपर्नेमा त्यसको उल्टो यो पृथ्वी चाहिँ मानव पगरीधारी प्राणीको मात्र भागवण्डाको चपेटामा कसरी पर्यो ?

नमिलेको गणित । नमिलेको विज्ञान । नमिलेको चिन्तन । नमिलेको दर्शन । केही पनि नमिलेको । पटक्कै नमिलेको । मिल्दै नमिलेको । मेरो असहमति ! विमति ! नियमापत्ति ! आपत्ति ! नोट अफ डिसेन्ट ! तर नमिलेको भनेर नबुझेको, नबुझाइएको, बुझ्ने चाहना नभएको, बुझ्नेहरू पनि नभेटिएको । मानौँ पृथ्वीको भागवण्डा अन्त्यको बहस एउटा वाइयात बहस हो ।
जुन माटोले मलाई जन्मायो, म त्यस माटोको हुनुपर्नेमा मलाई जन्माउने माटो नै मेरो कसरी हुन पुग्यो ? जवाफ विनाको यक्ष प्रश्न हो यो । तर जवाफ नआए पनि प्रश्नहरू रोकिँदैनन् । वर्तमानको प्रश्न भविष्य निर्माणको आधार हो ।

के पृथ्वीको भागवण्डा औचित्यपूर्ण छ ?
हात्तीको शरीरमा भुसुनाको साम्राज्य र पृथ्वीको छातिमा मान्छेका साम्राज्य उस्तैउस्तै लाग्छ मलाई । केही भुसुनाहरूले हात्तीको कानलाई आफ्नो स्वतन्त्र राज्य ठान्दा हुन् । केही भुसुना हात्तीको सुँडलाई आफ्नो साम्राज्य भन्दा हुन् । केही भुसुना हात्तीका खुट्टा आफ्नो भागमा पर्यो भनेर फूर्ति गर्दा हुन् । केही भुसुना हात्तीको सम्पूर्ण पेट नै आफ्नो देश भएकाले सबैभन्दा ठूलो देश मेरो भनेर गर्व गर्दा हुन् । तर भुसुनाको विभाजनले विशालकाय शरीर भएको हात्तीको लम्काइलाई केही फरक परेको छ र ? हात्तीको शरीर भुसुनाले भाग लगाएको हात्तीलाई सुइँकोसम्म हुन्न, त्यस्तै हो मान्छेको पृथ्वीमाथिको भागवण्डा ।

एकछिन एउटा परिकल्पना गरौँ– स्थलचर प्राणी मान्छेले स्थल भागवण्डा गरेजस्तै समुन्द्रका जलचर जीवहरूले समुन्द्रको भागवण्डा गरेका छन् कि छैनन् होला ? सम्झना आउँछ, समुन्द्रका सिपी, शङ्खे कीरा, स्टाफिस, अक्टोपस, गँगटा, माछा, गोही, ह्वेल माछा आदि । मान्छेले जस्तै यिनीहरूले समुन्द्रको भागवण्डा गर्न परे कसरी गर्दा हुन् ? माछाको भागमा कति समुन्द्र पर्यो होला ? अक्टोपसहरूले कति भाग पाए होलान् ? कतै अरुभन्दा कमजोर देखेर स्टाफिस र शङ्खेलाई राज्यविहिन बनाएका त छैनन् ? साँच्ची ठूला माछा र साना माछाका साम्राज्य उत्रै होलान् कि साना ठूला होलान् ? जलचरहरू बिच एक राज्य र अर्को राज्य बिच युद्ध होला कि नहोला ? तिनीहरू युद्धमा कस्ता हतियार प्रयोग गर्दा हुन् ? सोचौँ त ।

तर सोच्नै पर्दैन । जलचरहरू मान्छेले धर्तीलाई विभाजन गरे जस्तो समुन्द्र विभाजन गरेर मान्छे झैँ बुद्धिमान कहलाउने निरर्थक प्रयास नै गर्दैनन् । युद्ध गरेर आफूलाई शक्तिशाली देखाउन चाहँदैनन् । किन, थाहा छ ? मान्छे झैँ अरु जीवहरूलाई हाँसोको पात्र बन्नु नै छैन । मान्छे अरुलाई हसाउँछु त भन्छ, तर आफैँ हाँसोको पात्र बनिदिन्छ । मान्छेको पृथ्वीमाथि भागवण्डाको मूर्खता देखेर मानवेतर प्राणी कति हाँस्दा हुन् ?

जलचरहरुले समुन्द्र नबाँडे पनि मान्छेले भने जमिनको भागले नपुगेर समुन्द्र पनि बाँड्न छोडेको छैन । आफ्नो देशको सीमानासँग जोडिएको सामुन्द्रिक बन्दरगाहमा आफ्नो अनुमति विना अरु देशलाई प्रवेश गर्नै दिँदैन मान्छे । समुन्द्रले समेत नपुगेर आकाश पनि बाँड्न मान्छेले बाँकी राखेन । शक्ति राष्ट्रहरुले आफूसँग विमति राख्नेहरुलाई आफ्नो देशमाथिको आकाशबाट हवाइ रुट समेत दिँदैनन् । के यो अकाशमा पनि मान्छेले साम्राज्य विस्तार गर्न खोजको उदाहरण होइन र ?

सिंहलाई जङ्गलको राजा भनिन्छ । राजा मान्छेले बनाइदिएको हो कि सिंह आफैँले राजाको पदवी धारण गरेको हो ? प्रमाणिक तथ्य छैन । सिंह आफैँले हो भने कुन चाहिँ शताब्दीको के नामको सिंहले पहिलो पटक आफूलाई राजा दाबी गरेछ ? के सिंहहरूको पनि छुट्टाछुट्टै राज्य छ ? छ भने कुन जङ्गल कुन सिंहको भागमा परेको छ ? सिंह राजा हो भने उसका प्रधानमन्त्री, मन्त्री, सिपाही कर्मचारी सबै हुनुपर्ने हो । त्यस्तो छ र ? अवश्य छैन । यो त कुटिल मान्छेले आफूलाई शासक भएको औचित्य पुष्टि गर्नका लागि जङ्गलमा समेत राजा हुन्छ नि भनेर निमुखाहरूलाई चित्त बुझाउन भ्रम फैलाएको मात्र हो । भ्रम फैलाएको होइन भने भनिदेओस् त मान्छेले, सिंह राजाहरूको नाम, उनीहरूको राज्यको सीमाना, मन्त्री, कर्मचारीको नाम । अहँ, भन्न सक्दैन । भए पो भनिदेओस् ।

जङ्गलका प्राणीहरूको राज्य छैन, राज्यको सीमाना छैन । जङ्गली जीवजन्तु मात्र होइन, मान्छेबाहेक सबै प्राणीका लागि यो संसार सीमाविहीन छ । मानवेतर प्राणीहरूको संसार भौगोलिक सीमाविहीन मात्र होइन, कानूनविहिन छ । लिखित आचारसंहिताविहीन छन् उनीहरू । तर पनि जीवजन्तुहरूले प्राकृतिक कानून, नैतिकता र आचारसंहिता मिचेका छैनन् । बरु मान्छे मात्र यस्तो प्राणी हो, जो आफैँ सीमा कोर्छ, कानून बनाउँछ, आचारसंहिता बनाउँछ तर आफैँले कोरेको सीमा र बनाएको कानून आफैँ मिच्छ । आचारसंहिता पालना गर्दैन, नैतिकता देखाउँदैन । यस्तो अनुशासनमा नबस्ने नैतिकता नमान्ने मान्छेलाई नै सबैभन्दा चेतनशील कसरी भनियो होला ? भएको कानून नमान्ने तर चेननशील भन्ने पगरी गुथेको मान्छे र नभएको कानून पनि मान्ने मानवेतर जीव, जसलाई मानवले चेतनाहीनको संज्ञा दिइरहेको छ, यी दुईमध्ये कुन चाहिँ चेतनशील होलान् ? अनि बुद्धिमान नि ? चेतनशील र बुद्धिमानको पगरी मान्छेलाई अरु कुनै प्राणीले गुथाइदिएको होइन । मानवले आफैँ गुथेको पगरी हो ।

नेपालको जङ्गलका सिंह, हात्ती, गैँडा, कृष्णसारहरू आहारविहार गर्न भारतका जङ्गल पस्छन्, झारल र हिउँ चितुवाहरू चीनका भूमितिर जान्छन् र फेरि फर्किन्छन् । रुसको साइबेरियाका चराहरू जाडो छल्न विना भिसा नेपालसम्म आइपुग्छन् । आहाराको खोजीमा नेपालको पोखराबाट एउटा गिद्धले अयोध्यासम्मको उडान गरी फेरि पोखरा नै फर्केको पञ्छीविज्ञहरूले बताएका छन् । हामीले चेतनाविहिन भनिएका यी प्राणीहरू निर्वाध रूपमा पृथ्वीका सारा ठाउँ घुम्न सक्छन् । यिनीहरूलाई कुनै राजनीतिक सीमानाको बाधा छैन । एक ठाउँबाट अर्को ठाउँमा पुग्न कुनै भिसा चाहिँदैन । कोही कसैको डर छैन, अलि अलि डर छ त त्यही मनुवा विशेषणधारीहरूको, जसले जीवजन्तुमाथि आक्रमण गर्न सक्छन् । तर विचरा मान्छे ! के जनावर झैँ निर्वाध रुपमा विश्व विचरण गर्न सक्ला ? भो विचरा ! ती निःश्वार्थ प्राणीको कुरा छोडेर फेरि मानव साम्राज्यतिरै फर्कौँ ।

मानिसलाई एक देशबाट अर्को देशमा जान भिसा चाहिन्छ । धेरैलाई लाग्दो हो– त्यो हाम्रो बाध्यता हो । तर भिसा मान्छको बाध्यता होइन, रहर हो । चेतना, विद्वता, सभ्यता र सुरक्षाका नाममा आफूले आफैँलाई बन्धक बनाएको छ मान्छेले । एक मान्छेले अर्कोलाई, अर्कोले अर्कोलाई, त्यो अर्कोले अर्कोलाई निश्चित सीमाभित्र बन्धक बनाएको छ । बाध्यता त प्रकृतिले मात्र गराउन सक्छ । सर्वशक्तिमान प्रकृति मात्र हो । मान्छेको शक्ति कृत्रिम शक्ति हो । मान्छेले मान्छेलाई थोपरेका सीमारेखा कृत्रिम बाध्यता हुन् । एक मान्छेले अर्को मान्छेलाई विधि नामको बन्धनको आडमा गरेका निषेधहरू हुन् । प्रकृतिको कुन कानूनले नेपालमा जन्मेको कुनै व्यक्तिलाई अमेरिका जान अमेरिकामा जन्मेको मान्छेको अनुमति चाहिन्छ भन्छ र ? कुन प्राकृतिक कानूनले अफ्रिकामा जन्मेपछि अफ्रिकामै मात्र रहनुपर्छ भन्छ ? भन्दैन भने एक मानवले अर्को मानवमाथि थोपरिएका, अझ भनौँ शक्तिशालीले शक्तिहीनहरूमाथि थोपरिएका मानवनिर्मित कानून नामका बन्धनहरू सभ्यताको द्योतक होइनन्, बरु बाधक हुन् ।

एकपटक कल्पनामै किन नहोस्, इतिहासतिर विचरण गरौँ । कोलम्बसलाई अमेरिका जान कसले भिसा दियो होला ? भास्को डी गामा कसको अनुमति लिएर भारत पुगे होलान् । सिकन्दर महानले विश्व विजेता बन्छु भन्दै कसरी एकदेशबाट अर्को देश हुँदै संसार चाहरेका होलान् । अझ अन्तरिक्षतिर पनि हेरौँ न, नील आर्मस्ट्रङलाई चन्द्रमामा जान कसले अनुमति दियो ? मङ्गल ग्रहमा अन्तरिक्ष यान पठाउन नासालाई सीमा किन लागेन ? कि मङ्गल ग्रह वा चन्द्रमामा पनि पृथ्वीका मान्छेलाई भिसा दिने कार्यालय छन् ? तिनलाई सीमा रेखा किन लागेन ? तर मलाई सीमा किन लाग्यो ? उसलाई सीमा किन लाग्यो ? अर्कोलाई सीमा किन लाग्यो ? दर्शनले भन्छ, प्रश्न गर ? जिज्ञासा राख । प्रश्न समाधानको पहिलो खुड्किलो हो र मौनता समस्याको पहिलो खुड्किलो ।

आज विश्वका शक्तिशाली राष्ट्रको आपसी होडबाजी अन्तरिक्ष अभियानतिर छ । चन्द्र अभियान, मङ्गल अभियान छेडिरहेको आजको मान्छे आफू जन्मेको सानो पृथ्वीलाई चाहिँ किन तेरो र मेरो नाममा भागवण्डा गरिरहेछ ? यो अनुदारता हो कि, उदारता । बन्धन हो कि, स्वतन्त्रता ?

पृथ्वीमै उत्पत्ति भएको प्राणी पृथ्वीमै घुम्नबाट कसरी वञ्चित भयो ? त्यही सीमा जीवजन्तुलाई नलाग्ने, तर सभ्य भनिएको मानिसलाई सीमाको बन्धन लाग्ने कस्तो सीमा हो ? सभ्यता हो कि सङ्कुचन हो ? कि सङ्कुचनभित्र पनि सभ्यता लुकेको हुन्छ ? हुँदैन भने मान्छे आफूलाई निश्चित सीमाको बन्धनमा पारेर सभ्यताकमो डङ्का किन पिट्छ ? सभ्यता, विकास र व्यवस्थाको नाममा मान्छेले आफ्नो स्वतन्त्रता आफैँ किन हनन गरिरहेको होला ? खितित्त हाँसो उठ्छ ।

अहिलेको विश्वमा शक्तिशाली मान्छे ब्रह्माण्ड विचरण गर्ने, अनि शक्तिहीनहरूलाई चाहिँ मवाद, तँवाद, राष्ट्रवाद, सीमावादको चर्को नारा घोकाएर विश्ववादबाट चाहिँ विमुख गर्ने अभियानमा छ । यस्तो अप्राकृतिक दर्शनको ज्ञाता को होला ? यस्तो दर्शन दर्शाउने दार्शनिक दोषी हुन् कि दर्शन घोक्नेहरू दोषी ? अरुका दर्शन घोकेर आफ्नै सङ्कुचनमा ताली पड्काउने मान्छेहरू मूर्ख हुन् कि, विद्वान् हुन् ?

मङ्गल ग्रहमा अर्को जीवको खोजी भइरहेको छ । एलियनहरुको अस्तित्वको चर्चा भएको पनि धेरै समय बितिसिक्यो । चन्द्रमामा खेतीपातीको होडबाजी चलिरहेछ । हुन सक्छ, कुनै दिन मङ्गल र चन्द्रमा पनि शक्तिशाली मुलुकहरूले भागवण्डा गर्ने छन् । अरु ग्रहहरूका नयाँ रहस्यहरू पनि पत्ता लाउने छन् र तेरो मेरो भनी भागवण्डा गर्नेछन् । यस्तै हो भने शक्तिशालीहरूले कुनै दिन सूर्य पनि बाँडौ भन्न के बेर ?

प्राणीहरूमध्येमा सबैभन्दा शक्तिशाली छ, मान्छे । र, प्राणीहरूमध्येमा सबैभन्दा कमजोर छ मान्छे । धरतीलाई भागवण्डा गर्न सक्छ, कति शक्तिशाली छ मान्छे । धरतीको भागवण्डामा उत्रेको मान्छे यो धरतीमा प्रकृतिले चाहेका दिनसम्म मात्र रहन सक्छ, कति कमजोर छ मान्छे । यो धरतीमा मान्छेले चाहेको दिनसम्म मान्छेको अस्तित्व रहने छैन । मान्छेको अस्तित्व प्रकृतिले चाहेको दिनसम्म मात्र हुनेछ । कुनै दिन लोप हुनेछन् मान्छेहरु, जसरी कुनै समय पृथ्वीमा साम्राज्य जमाएका डाइनोसरहरुको आज अस्तित्व लोप भएको छ । त्यसैले मान्छेले याद गरोस्, आफू कति कमजोर छु भन्ने सीमा बुझोस् र अरुमाथि सीमा थोपरेर शक्तिशाली भएको ढोँग नरचोस् ।

चाहे त्योे उपयुक्त वातावरणको अभावमा लोप भएर होस् वा प्राकृतिक वा मानवसिर्जत प्रकोपका कारणबाट होस्, धरतीको भन्दा अगाडि मान्छेको अस्तित्व समाप्त हुनेछ, जसरी प्राणीहरूको उत्पत्ति र विकासको क्रममा पुरानाहरू लोप भए नयाँहरू अस्तित्वमा आए । धरतीभन्दा पछि मान्छे अस्तित्वमा आयो र धरतीभन्दा अगाडि नै मान्छेको अस्तित्व समाप्त हुनेछ । तर पनि धरतीमाथि विजयप्राप्त गरेको भ्रममा किन छ मान्छे ?

धरती माता हुन् । तर मान्छे धरतीमाताको भागवण्डा गरिरहेछ । अध्यात्मवादले वा भौतिकवाद दुवै दर्शनले प्रकृतिको भागवण्डा स्वीकार गर्दैन । कुनै दर्शनले स्वीकार नगर्ने भागवण्डा बौद्धिकता हो कि मूर्खता ? विवेक हो कि ज्ञान ?

भागवण्डाको सङ्कुचन कतिसम्म छ भने आफूले जग्गाधनी पूर्जा बोकेको कुनै जग्गा कसैले तेरो होइन भनिदियो भने कुनै व्यक्ति बरु आफ्नो ज्यान छोड्न तयार हुन्छ, तर जग्गा छोड्न तयार हुँदैन । तर पृथ्वी तेरो होइन भन्यो भने बरु स्वीकार्ला, किनभने व्यक्तिसँग पृथ्वीको धनी पूर्जा छैन । सिङ्गो पृथ्वीको वास्ता नगर्ने तर पृथ्वीभित्रको एक टुक्रा नछाड्ने व्यक्तिको चेतना कस्तो होला ? विकसित कि सङ्कुचित ?

विश्व पूँजी व्यवस्थामा देखिएको भूमि व्यवस्थालाई मान्ने हो भने भूमिको धनीपूर्जाधारी मान्छेको यस पृथ्वीमा धनीपूर्जामा तोकिएको बाहेकको जमिन उसको होइन । तर धनीपूर्जा नभएर पनि मान्छेबाहेकका सारा प्राणीको साझा घर हो पृथ्वी । भलै उनीहरूलाई कसैले मालिक भनेर घोषणा नगरिदिएको होस् । र, उनीहरुलाई कसैले धनीपुर्जा नदिएको होस् ।
मान्छेको मूर्खतामा पृथ्वी हाँसिरहेकी हुँदी हुन्, जसरी हात्तीमाथि भुसुनाले शासन जमाएँ भन्ने ठान्दा हात्ती हाँसेकोे हुँदो हो । भुसुनाले हात्तीको शरीरमा सम्राज्य विस्तार गरेँ भन्नु, माछाले समुन्द्रमा शासन चलाएँ भन्नु र मान्छेले पृथ्वीमाथि विजय प्राप्त गरेको भ्रम बोक्नु उस्तैउस्तै हो । विशुद्ध भ्रम ।

हात्तीको शरीरमा भुुसुनाको साम्राज्य संभव छैन, भुसुनाले हात्तीको शरीरलाई फोहोर बनाउन चाहिँ सक्छ, हात्तीको शान्ति भङ्ग गरिदिन पनि सक्छ । त्यस्तै हो मान्छेको भ्रमित शक्ति । मान्छेले पृथ्वीमाथि अधिकार जमाउन सक्तैन, मात्र पर्यावरण दुषित बनाइदिन सक्छ, विश्ययुद्ध जस्ता विनाशकारी युद्ध गरेर पृथ्वीमा अशान्ति मच्चाइदिन सक्छ ।

हात्तीलाई अति धेरै भुसुनाले टोकेपछि शान्ति प्राप्त गर्न पोखरीमा गएर डुब्यो भने हात्तीका शरीरमाथि साम्राज्य विस्तारको भ्रम बोक्ने भुसुनाहरूको हालत के हुन्छ होला ? पृथ्वीले पनि त्यसै गरिन् भने ? ए मान्छे ! तिम्रो अतिक्रमणले अशान्त पृथ्वीले हात्तीले झैँ शान्ति प्राप्त गर्न चाहिन् भने तिम्रो हालत के होला ? तिम्रो दिग्भ्रमित सत्ताको अवशासन सिवाय अर्को केही होला र ? सोचेका छौ ?

साँच्ची म पनि त मान्छे ! यति मन्थन गरिरहँदा पनि जिन्दगीमा खुसी हुनुपर्छ भन्ने मेरो मान्यता परिवर्तन भएको छैन । तर सबै मेरो हो भन्ने मान्यता भने ध्वस्त भएको छ ।
अब मेरो केही छैन । फगत म छु । तर मेरो खुसी समाप्त भएको छैन, मात्र खुसी बदलिएको छ । वसुधैव कुटुम्बकम् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।