18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कुरुक्षेत्रको विहान

कथा विमल लामिछाने October 10, 2025, 12:39 am
विमल लामिछाने
विमल लामिछाने

सहरमा बिहान उज्यालोसँगै डरले पनि आँखा उघारेको थियो । चरा चिर्बिराउँदै थिए, तर सडकमा अझैसम्म अश्रुग्यासको गन्ध बाँकी थियो । त्यही गन्धसँगै भौतारिएको मन लिएर हिँडिरहेकी थिइन् सरिता । उनी कसैकी आमा हुन्, देशकी असल शिक्षिका, स्वतन्त्रतामा बाँचेकी एक निडर नेपाली नारी ।

हिजोको आन्दोलनले उनका १७ वर्षीय छोरा आर्यनलाई सधैंको लागि उठ्न नसक्ने गरि सुताएको थियो । आर्यन जो भर्खरै प्लस टु सकेर भविष्यको सपना बुन्दै थिए । उनले भनिरहेका थिए, मुलुक भ्रष्टाचारले जर्जर भयो, कमिसनतन्त्र मौलाएको छ, घुसखोरीको सञ्जालले देश ढाकेको छ, “आमा, अब देश फेर्नुपर्छ ।” तर देश फेरिनुभन्दा पहिला उसैको जीवन अन्तरध्यानमा फेरियो ।

छोराको अन्तिम खबर सुनेर सरिता मुर्छित हुन्छिन् । बौरिँदै अल्पिँदै गर्छन् उनका आँखाहरु, र टोलाउँछिन् एकान्तमा । दुनीयाँ सबै दूर हुन्छ, हिजोसम्म साँधेको डुकुको अचार र काँक्राको खल्पी समेत साटेर खाएका छिमेकीपनि एकाएक आज ढोकामा चुकुल कसेर बसेका छन् । टाढा भएका छन् सबै ।

भित्र पस्छिन् र टीभि खोल्छिन्, “प्रहरीको गोली लागेर एक युवकको मृत्यु” । समाचारको हेडलाइनले मात्र यति भन्यो । कोही भन्थे, “आन्दोलनकारीहरूले उक्साए ।” कोही भन्थे,“प्रशासन बाध्य भयो ।” तर सरिताको आँखामा यी सबै शब्दहरू झूठ लाग्थे । उनी त्यो क्षण सम्झिरहन्छिन्, ...आर्यन हातमा राष्ट्रिय झन्डा लिएर नाराबाजी गर्दै थियो । “देश बेच्ने नेताहरू मुर्दावाद !, जेन जी पुस्ता जिन्दाबाद !”

अचानक भिड छिन्नभिन्न भयो । अश्रु ग्यासको धुवाँको मुस्लो, लाठी, पानीका फोहोरा अनि एकपछि अर्को आवाज— “डडाम् ! ” “डडाम् ! ” भुटुटुटुटु........ ।

सरिता पुग्दा, आर्यनको निधारबाट रगत बगिरहेको थियो । गर्लम्म भूँइमा ढलेको थियो यनको सरिर । “आमा... म... देश बचाउन...” भन्ने शब्द अधूरो नै रह्यो ।

घर सूनसान भयो । आर्यनको कोठामा उसको कपी खुलेको थियो । त्यसमा लेखिएको थियोः “ यदि म मरँे भने पनि नरुनू, नकि म देशकोलागि मर्नेछु ! ”

सरिता टोलाएर सोच्छिन्, के यही हो, एउटी आमाले पाउने न्याय ? कहाँ छन् ती सन्तानहरू, जो देशको सुरक्षा कवच बन्ने वाचा गर्थे ? कहाँ छन् कर्णहरू ? हजोका आन्दोलनकारीहरू आज मन्त्री बने । उनकै भाषणमा आर्यनको मृत्युलाई “शहादत” भनियो । तर एक आमा जान्दथिन्, त्यो ‘शहादत’ शब्दले पेट भरिँदैन, न आकाशमा रोपिएको नामले आँखा सुक्छ ।

सरिता अदालत गइन्, उजुरी हालिन् । तर प्रहरीहरू, न्यायाधीशहरू, सबैको आँखामा कानूनभन्दा माथि शक्तिको डर थियो । त्यस दिन एउटा अफिसरले एक आँखो चिम्रो बनाएर एकहातले चस्मा समाउँदै मुन्टो बंग्याएर हाँस्दै भनेको थियो— “बहिनी, अब त्यो फाइल अलि ढिलो चल्छ । राजनीतिक मुद्दा हो ।”हतारिनु पर्दैन है ।

त्यस हाँसोले सरिताको भित्रैदेखि चिरेको घाउ झन् भत्भती पोल्यो । दिनहरु वित्तै गए । महिना विते । त्यस बीचमा दुईदर्जन बालक अझ ढले, एक पत्रकार हरायो, एउटालाई जीउँदै जलाईयो, दुई किशोरी बलात्कृत भई तड्पी तड्पी मारीनु परो । अत्याचारको शिर झुकेन । दमनको ज्वाला दन्किन छाडेन ।

सहर फेरि क्रोधित भयो । र फेरि गाउँदेखि सहरसम्म सडकमा टायर पोलिन थाल्यो । यो पटक, सरिता पनि सडकमा थिइन् । अग्रपंतिमा नै उनी कमाण्ड गरिरहेकी थिइन् । “अन्याय सहन्नौं, हामी पनि मर्न तयार छौं । रक्तपिपासु सरकार हामीलाई पनि गोली ठोक ! रत्तविज जागेको छ, यो माटोमा सिँचेको रगतको मुल्य चुक्न दिन्नौं ।” सहरका सडकका कुना कुनाबाट जुलुस निस्केको थियो ।

हातमा आर्यनको फोटो थियो । मुखमा नारा “हाम्रो मुख थुन्न पाइन्न, अब हामी बोल्नेछौं ।” क्रान्ति नाराभन्दा परको कुरा हो, यो पीडा हो, बलिदान हो, र न्यायको अन्तहीन प्रतीक्षाको कोटा पनि हो । देश बदलिने आशामा दिने बलिदान कहिलेसम्म निष्फल हुनेछ ? कहिले सम्म आमाहरुले छोरा गुमाउनु पर्ने हो ? प्रश्नै प्रश्न छन् तर जवाफ कसैसँग छैन । जुन सरकार आएपनि शासक बदलिए पनि एउटै जवाफ छ उसँग सहिदको लिष्टमा नाम थपिदिने । आस्वासनका थुप्रै विकल्पहरु आउँछन् सरितालाई । तर हरेक आस्वासनमा उनले छोराको बलिदानीको पूर्णपाठ कहिँ पाउन सकेकी छैनन् ।

सरिता थकित भएकी छिन् । उनका नौ नारी गलिसकेका छन् । उनलाई अब सपना हो कि विपना जस्तो हुन थालेको छ । प्राथना गर्छिन् । बुद्धको देशले अब कहिल्यै अशान्ति ब्यहोर्नु नपरोस् । अँध्यारा रातहरु सँधाकालागि टाढिउन् । संघर्षका कथा नदोहोरिउन् । उनी मनमनै भगवान सम्झिन्छिन् । हरेक परिवर्तनका नाममा होनाहार छोराछोरीहरु गुमाउनुपर्दा कयौ आमाका छात्तीहरु चिरिइएका छन् । भक्कानिएर रुँदा रुँदा थाकेका छन् । चिच्याहटको गुन्जायसमा हावापनि थर्थराएको छ । थिल्थिलो बनेको छ धर्ती । आफूजस्तै हजारौं आमाहरु आफ्नो सन्तानको बलिदानीको पुस्तीका हातमा बोकेर पुस्तौदेखि न्यायको ढोकामा लामबद्ध उभिएका छन् ।

सरिता शिर झुकाएर सम्झिन्छिन्, यो अन्तिम बलिदानी बनोस् । अब कुनै आमाले आफ्नो छोराछोरी आन्दोलनका नाममा गुमाउनु नपरोस् । आफ्ना सन्तानको रगतका छिटा निधारमा बोकेर न्यायको ढोका ढक्ढक्याउँनमा अब कुनै आमाको समय बर्बादी नहोस् ।
(कथा काल्पनिक भएकाले कसैसँग मेल खान गए संयोगमात्र हुनेछ ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।