मुक्तक तत्सम शब्द हो । संस्कृतको ‘मुच्’ धातुमा ‘क्त’ प्रत्यय लागेर ‘मुक्त’ र त्यसमा ‘कन्’ प्रत्यय लागेर ‘मुक्तक’ शब्दको निर्माण भएको पाइन्छ । नेपाली प्रचलनमा भने मुक्त + क = मुक्तक गरी व्युत्पादन गर्ने गरिएको पनि पाइन्छ । ‘मुच्’ थातुले सामान्यतया कुनै पनि बन्दनबाट मुक्त गर्नु वा स्वतन्त्र हुनु भन्ने अर्थ दिन्छ । यसका कोशीय तथा तात्पर्यगत गरी दुई प्रकारका अर्थ रहेका छन् । आफैँमा पूर्ण रहनु, कुनै पनि कथासूत्रमा नउनिनु, परस्पर क्रमिक सम्बन्ध नहुनु आदि यसको कोशीय अर्थ हो भने मुक्त शब्दले मुक्त वा स्वतन्त्र भन्ने अर्थ प्रदान गर्छ । स्वतन्त्र भन्नाले आफैँमा पूर्ण, स्वयम्पूर्ण वा कुनै पनि पक्षसँग सापेक्ष सम्बन्ध नभएको भन्ने अर्थ प्रदान गर्छ । त्यस्तै यसको तात्पर्यगत अर्थले मुक्तकको सम्बन्ध कवितासँग देखाउँदछ । कवितामा लघुतम, लघु, मध्यम र बृहत् गरी विभिन्न रूप रहेका छन् । मुक्तकले कविताको सबैभन्दा सानो वा लघुत्तम रूपलाई चिनाउँदछ ।
मुक्तक सर्वप्राचीन विधा हो । किनकि यसको इतिहास छैटौँ शताब्दिदेखिको पाइन्छ । मुक्तकको सर्वप्रथम परिभाषा छैटौँ शताब्दिका आचार्य भामहले गरेका थिए । आधुनिक विद्वानहरूले मात्र नभएर छैटौँ शताब्दिदेखि तेह्रौँ चौधौँ शताब्दिका सम्मका आचार्यहरूले समेत मुक्तकको परिभाषा गरेका छन् ।
पाश्चात्य साहित्यमा चरण वा पाउअनुसार कविताको नामकरण गरिएको पाइन्छ । द्विपदीदेखि सप्तपदीसम्मका प्रभेदहरूका लागि पृथक पृथक नाम दिइएको पाइन्छ । जसमध्ये मुक्तक चतुष्पदी (क्वाट्रेन\टेट्राक्स्टिच) प्रभेदभित्र पर्दछ । युरोपेली साहित्यमा क्वाट्रेन निकै प्रचलित वा लोकप्रिय विधाका रूपमा परिचित छ ।
पछिल्लो समय भने मुक्तकलाई कविताको उपविधाका रूपमा भन्दा पनि स्वतन्त्र विधाका रूपमा चिनाउने काम भइरहेको पाइन्छ । समय समयमा यसका घोषणा पत्रहरू पनि सार्वजनिक हुँदै आएका छन् । २०७० साल माघ १६, १७ र १८ तीन दिनसम्म चलेको बृहत् मुक्तक कार्याशालाले पारित गरेको पोखरा घोषणा पत्र यसको एउटा गतिलो उदाहरण पनि हो । यसले चार पङ्क्तिमा लेखिएको रचनालाई मानक मुक्तक मान्ने, हाइकु, ताङ्का आदिलाई मुक्तकको वर्गीकरणमा समावेस नगर्ने घोषणा गर्यो। यसअघिसम्म हाइकु, ताङ्कालाई समेत मुक्तकको कोटिमा राखेर हेर्ने गरिन्थ्यो । यस घोषणा पत्रले मुक्तकप्रेमीलाई एउटा दिशानिर्देश गरेको छ । चार हरफमा लेखिने मुक्तक तुक र अनुप्रासको संयोजनबाट लेखिने गरिन्छ । चार हरफमध्ये पहिलो हरफले उठाएको विषयवस्तुलाई दोस्रो हरफले जिज्ञासा थप्ने गर्छ भने तेस्रो हरफले उत्कर्षमा पुर्याउँछ र चौथो तथा अन्तिम हरफले मुक्तकलाई पूर्णता दिने काम गर्छ । मुक्तकमा अनुप्रासयुक्त प्रस्तुति रहने गर्छ ।
नवराज पोखरेल ‘नवशिला’ को परिचय
नवराज पोखरेल ‘नवशिला’ को जन्म २०३६ साल साउन १७ गतेका दिन माता दुर्गादेवी पोखरेल र पिता लक्ष्मीप्रसाद पोखरेलका ज्येष्ठ सुपुत्रका रूपमा भएको हो । साबिकको बयरवन, (हालको कानेपोखरी गाउँपालिका), मोरङमा जन्मभई, लामो समयसम्म साबिकको हरैँचा गाउँ विकास समिति, (हालको सुन्दरहरैँचा –११, कुमारगाउँ), मोरङमा बसोबास गरी पछिल्लो समय भने उनी बेलबारी नगरपालिका वडा नं २ लालभित्तीमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।
सुकुना मावि सुन्दरहरैँचा, मोरङबाट एसएलसी, सुकुना बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाण पत्र तह तथा त्रिचन्द्र कलेज काठमाडौँबाट समाज शास्त्रमा एम.ए.सम्मको शिक्षा लिएका उनी लामो समय (२३ वर्ष) देखि बालबालिकाको क्षेत्रमा कार्यरत छन् । सीपीसियस इन्टरनेशलन नाम गरेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नेपालको उपनिर्देशकको जिम्मेवारीसमेत समालेका उनी हाल पनि सोही संस्थामा कार्यरत छन् । बाल विकासका लागि संस्था अर्किड बेलबारीका संस्थापकसमेत रहेका उनी ‘हामी र हाम्रो कृति समाज’, ‘बेलबारी साहित्य विकास समिति’, ‘नेपाल स्रष्टा समाज’, ‘नारी स्रष्टा समाज’ र ‘कलपतरू साहित्य समाज’ लगायतका विभिन्न साहित्यिक सङ्घसंस्थामा आबद्ध रहँदै आएका छन् ।
मुक्तक अभियन्ताको परिचय बनाएका उनी मुक्तकका अतिरिक्त गीत, गजल, कथा, कविता, हाइकु, बालसाहित्य आदि विधामा निरन्तर रूपमा कलम चलाउँदै आएका छन् ।
‘आमा’ शीर्षकको कविताबाट औपचारिक रूपमा साहित्यिक यात्रा सुरु गरेका उनका नवशिला (मुक्तसङ्ग्रह –२०८०) र शिलाजित (मुक्तकसङ्ग्रह –२०८१) गरी दुईओटा एकल कृति प्रकाशित भएका छन् भने उनका व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कवितासङ्ग्रह –२०८०), हामी र हाम्रो कृति (संयुक्त मुक्तकसङ्ग्रह –२०८०) र हामी र हाम्रो मुक्तकसङ्ग्रह (संयुक्त मुक्तकसङ्ग्रह –२०८१) गरी चारओटा संयुक्त कृति प्रकाशित भइसकेका छन् । साधना, कामना, युवामञ्च, राजधानी, कान्तिपुर, साप्ताहिक, दिव्यचक्षु साप्ताहिक, दिव्य दर्शन, न्यु सृष्टिजस्ता दर्जनौँ पत्रपत्रिकामा फुटकर रचना प्रकाशित गरिसकेका उनी लेखकका अतिरिक्त एक जना सम्पादक पनि हुन् । उनले २०५४ सालमै मित्रता नामको साहित्यिक हवाई पत्रिकाको सम्पादन गरेर आफूलाई सम्पादकका रूपमा चिनाएका थिए ।
जीवनी, व्यक्तित्व र कृतित्वबिचको अन्तर्सम्बन्ध
नवशिला र शिलाजितभित्र विभिन्न भावका (४००+४४४) ८४४ ओटा मुक्तक समावेस भएका छन् । त्यस्तै उनका विभिन्न संयुक्त सङ्ग्रहमा पनि त्यति नै सङ्ख्यामा रचना समावेस भएका छन् । मूलतः उनका रचनामा शृङ्गारितकता, देशप्रेम र विकृति विसङ्गतिप्रति कडा प्रहार गरिएको पाइन्छ । समाजमा भएका कुरालाई जस्ताकोतस्तै उतार्ने बानीले गर्दा उनी साहित्यलाई समाजको दर्पणका रूपमा लिने गर्छन् भन्ने कुराको प्रमाणित गरिदिएको छ ।
उनका रचनामा जीवनी, व्यक्तित्व र कृतित्वबिचको अन्तर्सम्बन्ध कस्तो रहेको छ भन्ने कुरालाई तल विश्लेषण गरिएको छ :
प्रेमसँगको अन्तर्सम्बन्ध
‘नवशिला’ को जीवन निकै प्रेमील देखिन्छ । पत्रमित्रताबाट जोडिएको उनीहरूको सम्बन्ध पछि विवाहमा परिणत भएको, नवराजको पहिलो शब्द ‘नव’ र शिला भण्डारीको ‘शिला’ मिलेर शब्दको मेलबाट ‘नवशिला’ को निर्माण भएको तथ्यले पनि स्रष्टा नवराज पोखरेल प्रेमको पर्याय भएको कुराको पुष्ठि गरिदिएको छ । २०५९ मा चक्रघट्टी, सुनसरी निवासी झलक भण्डारी र कमला भण्डारीका जेठी छोरी शिला भण्डारीसँग उनी विवाह बन्धनमा बाँधिन पुग्छन् । उनीहरूका निकेशराज र निकीशारानी नाम गरेका दुई सन्तान रहेका छन् । पत्रमित्रताबाट जोडिएको उनको प्रेम विवाह धेरैका लागि उदाहरणीय बन्न पुगेको छ ।
उनका रचनामा कतै दैहिक त कतै आत्मिक प्रेम पाइन्छ । भाषाविद् तथा साहित्यकार अमृतप्रसाद आचार्यले आफ्नो भूमिकामा ३० प्रतिशत रचनाको विषयवस्तु प्रेम रहेको उल्लेख गरेका छन् ।
अनुशासन र पारदर्शितासँगको अन्तर्सम्बन्ध
उनी सीपीसियस (Child Protectio Center Servise) (पछिल्लो समय यो संस्था चाहवेल बाल आश्रममा परिणत भएको छ) मा उनी बिगत अढाइ दशकदेखि कार्यरत छन् । यस्ता संस्थाले आफ्ना कामहरू निकै पारदर्शी तरिकाले सम्पादन गर्ने गर्छन् । निर्धारित समयमा विधिवत ढङ्गबाट कार्यहरू सम्पन्न गर्नु, साधारणसभा गर्नु, खर्चका बारेमा सरोकारवालालाई राखेर सार्वजनिक गर्नु उनीहरू आफ्नो दायित्व ठान्दछन् । यही कारणले उनको निजी तथा सार्वजनिक जीवनमा पनि पारदर्शिताका बारेमा विशेष महŒव रहने गरेको पाइन्छ । उनका रचनामा पनि अनुसाशन र पारदर्शिताका बारेमा जोड दिएका छन् । उनी मूलतः रचनामार्फत् देशमा झाँगिएको भष्ट्राचार, ढिलासुस्ती र वेथितिको खुलेर बिरोध गर्ने गर्दछन् । व्यवस्था फेरिए पनि खराव व्यवस्थापकका कारण देशले प्रगति नगरेकामा उनी दुःखी छन् र उनका अधिकांश रचनामा यही भाव आक्रामक तरिकाले प्रस्तुत भएका छन् ।
कर्मप्रतिको दृष्टिकोण वा जीवनदृष्टिसँगको अन्तर्सम्बन्ध
उनी कर्ममा विश्वास गर्दछन् । कर्ममा रमाउनु नवशिलाको धर्म हो । कामलाई नै धर्म मान्ने विदेशीहरूसँग लामो सङ्गत गरेका हुनाले उनी पनि यही कुरामा विश्वास गर्छन् । यसरी हेर्दा उनी कर्मवादी हुन् । उनका रचनामा पनि यही भाव लुकेको पाइन्छ ।
समाजशात्रमा उच्च शिक्षा लिएर सोही क्षेत्रमा रमाउँदै आएका व्यक्ति हुन् नवराज पोखरेल ‘नवशिला’ । उनले समाजलाई राम्ररी पढेका छन् । समाजमा हरेक व्यक्तिको भूमिका हुन्छ भन्ने उनलाई राम्ररी थाहा छ । त्यही भएर पनि उनका रचनामा मानिसको कर्तव्यले पनि राम्ररी स्थान पाएको देखिन्छ । उनी हरेक सम्बन्धको गरिमा हुने र त्यसलाई बचाउनुपर्ने धारणा अघि सार्दछन् । उनले नेपाली नागरिकलाई कर्तव्यबोध गर्दै आत्मनिरीक्षणका साथ अग्रगामी बन्न आह्वान गरेका छन् । उनी अग्रजलाई धेरै माया गर्दछन् । अग्रजलाई सम्मान उनका रचनामा पाइने अर्को महत्त्वपूर्ण विषय हो ।
अभियानसँगको अन्तर्सम्बन्ध
नवराज पोखरेल ‘नवशिला’ एक जना अभियन्ता पनि हुन् । पछिल्लो समय खराब राजनीतिको बोलवाला छ । फोहरी राजनीतिले साहित्यलाई पनि छोडेको छैन । कतिपय सन्दर्भमा त साहित्यमा झन् बढी राजनीति छ कि जस्तो पनि लाग्ने गर्छ । विभिन्न साहित्यिक सङ्घसंस्थाहरू खोलिएका त छन् तर तिनीहरू साहित्यको विकासभन्दा पनि केही सीमित व्यक्तिको व्यक्तित्व विकासका साधन बन्न पुगेको भान हुन्छ । केही सीमित व्यक्तिको इसारामा त्यस्ता संस्थाहरू चल्छन् । समितिको परिवर्तन त गरिन्छ तर समयको आवश्यकता भन्दा पनि केही व्यक्तिका इच्छाका आधारमा हुने गर्छ । ती समितिमा जाने आधार क्षमता र योग्यता भन्दा पनि राजनीतिक आस्था वा निकतालाई दिने गरिन्छ । कतिपय संस्था त नाम मात्रका हुन्छन् । केही संस्थाहरू त नवीकरण वा वार्षिक साधारण सभाबिनै चलिरहेका हुन्छन् । क्रियाशील नभए पनि कुनै एक व्यक्तिले ती संस्थालाई व्यक्तिगत फाइदाका लागि प्रयोग गरिरहेका हुन्छन् । र लामो समयसम्म गरिरहन्छ ।
स्तम्भकारको अगुवाइ वा नेतृत्वमा बेलबारीमा सञ्चालन गरिएको ‘अनुसन्धान अक्षयकोष अभियान’ मा पूरै काँध हालेका नवराजले यस कृतिमार्फत् साहित्यिक पुरस्कार कोष बनाउने र त्यसको ब्याजबाट नेपाली साहित्यमा योगदान दिने एक जना स्रष्टालाई वार्षिक रूपमा पुरस्कृत गर्ने नयाँ योजना अघि सारेका छन् । यो उनको अर्को महŒवपूण अभियान हो । यसले उनलाई लेखक मात्र नभएर एक जना अभियन्ताका रूपमा विकास गरिदिएको छ । यो राम्रो काम हो ।
पुस्तक प्रकाशन गर्ने र उपहारमै सक्नुपर्ने अवस्था छ । आफ्नो कृति कसैलाई उपहार दिन पाएकामा ठुलै उपलब्धि हासिल गरेको ठान्नेहरू प्रशस्तै पाइन्छन् । तर यसबिचमा साहित्यिक पुस्तक सित्तैमा बाडिनुहुन्न, किनेर मात्र पढ्ने बानी विकास गर्नुपर्छ भनेर लागिरहने व्यक्ति पनि छन् । तर त्यस्ता व्यक्ति भने निकै कम छन् । नवराज पोखरेलले पनि साहित्यिक पुस्तक किनेर पढ्नु पर्छ भन्ने अभियानलाई निरन्तता दिएका छन् ।
निष्कर्ष
२०५० को दशकदेखि नेपाली साहित्यकाशमा उदाएका स्रष्टा हुन् नवराज पोखरेल ‘नवशिला’ । २०५४ सालमै मित्रता साहित्यिक पत्रिकाको सम्पादन गरेर आफूलाई लेखकका अतिरिक्त सम्पादकका रूपमा समेत चिनाएका पोखरेलका चारओटा संयुक्त र दुईओटा एकल गरी ६ ओटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । साहित्यमा होस् या नीजि तथा सार्वजनिक जीवनमा समेत परिस्कारको खाँचो सधैँ रहने गर्छ । परिस्कारले मानिसलाई खार्दै लैजाने हो । झन् लेखकका लागि त परिष्कार अपरिहार्यजस्तै हुन्छ । त्यसो त पछिल्लो समय ‘तिमीले देवकोकाटाका जस्तै कविता लेख्नू, वा तिम्रा कविता देवकोटाका जस्तै छन्’ भन्ने गरेको पनि पाइन्छ तर लेखकले आफूसँगै वा आफ्ना अघिल्ला रचना वा कृतिसँगै प्रतिष्पर्धा गर्दै जानुपर्छ भन्ने मेरो मत रहेको छ । अर्थात् आफ्नो प्रतिष्पर्धी ऊ आफैँ हो । तसर्थ नवराज पोखरेललाई आफ्नै प्रतिष्पर्धी बनेर अगाडि बड्न म सल्लाह दिन्छु । अन्तमा भविष्यमा अझ परिस्कृत, अझ शसक्त रचना पस्कन सकून् भन्ने कामना गर्दै नयाँ कृतिका लागि कृतिकारलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । जय साहित्य ।