उन्नाइसौँ शताब्दीका वर्षहरूमा (सन् १८९०)
एकादेशमा एकजना माधव नाम गरेका बालक थिए । उनको घरमा थुप्रै बाख्रा पालेका थिए । हुन त अरू दिन बाख्रा चराउन उनका बाबा नै जाने गर्थे तर शनिबार शनिबार भने स्कुल जान नपर्ने भएकोले माधव नै बाख्रा चराउन जाने गर्थे । माधव अलिकति चकचके पनि थिए । उनलाई बदमासी गर्दा निकै रमाइलो लाग्ने गर्थ्यो । शनिबार बाख्रा चराउन जाँदा पनि कहिले बाख्राको रौं काटिदिन्थे त कहिले जङ्गलमा चराहरूको फुल चोर्ने गर्थे । उनको रुखमा चढ्ने बानी पनि थियो त्यसैले कैयौँपटक त रुखबाट खसेर माधवलाई चोट पनि लागेको थियो ।
एकदिन उनी जङ्गलमा बाख्रा चराउन गएका थिए । त्यसैबेला उनले गाउँलेहरूले खेतमा काम गरिरहेको देखे । माधवको मनमा बदमासी गर्ने योजना फुर्न थाल्यो । जङ्गलमा पुगिसकेपछि बाख्राहरू चर्न लागेपछि उनी एउटा रुखमा चढे । अनि केही सम्झेजस्तो गर्दै जोडसँग "गुहार गुहार बाघले मेरा बाख्रा खाइदियो" भन्दै चिच्याउन थाले । त्यहाँ खेतमा काम गरिरहेका मान्छेहरूले त्यो आवाज सुनेपछि हतारिँदै त्यहाँ आइपुगे ।
त्यहाँ आउँदा त्यहाँ कुनै बाघ आएको थिएन । बाख्राहरू मजाले चरिरहेका थिए अनि माधव रुखमा बसेर गाउँलेहरूलाई झुक्याएकोमा निकै रमाइलो मानेर हाँसिरहेका थिए । गाउँलेहरूलाई यो कुरा मन परेन । उनीहरू रिसाउँदै अनि माधवलाई गाली गर्दै त्यहाँबाट गए । माधव भने हाँसिरहे । घरमा उनका बाबाले पनि माधवको बदमासीको बारेमा थाहा पाइसकेका रहेछन् । उनले माधवलाई सम्झाउँदै यसरी झुटो बोल्नु हुँदैन भने । माधवलाई बाबाको कुरा सुनेर उल्टै हाँसो लाग्यो ।
अर्को शनिबार पनि माधवलाई बाख्रा चराउन जानुपर्यो । यसपटक पनि उनी त्यही खेतको बाटो भएर बाख्रा चराउन गए । आज पनि गाउँलेहरूलाई झुठो बोलेर झुक्याउने बिचार माधवको मनमा आयो । कुनै कुनै गाउँलेहरूले त रिसाएर हेरे माधवलाई । तर उनी भने मुसुमुसु हाँस्दै बाख्रा धपाउँदै त्यहाँबाट अघि बढे । आज पनि उनी रुखमा चढे, एकछिन् गीत गाएजस्तो गरे । अनि फेरि गाउँलेहरूलाई झुक्याउने बिचार गरेर पहिलेजस्तै गुहार माग्दै चिच्याउन थाले ।
"गुहार गुहार, बाघले मेरो बाख्राहरू खानलाग्यो म पहिला झुटो बोले पनि अहिले साँचो बोल्दै छु !..... गुहार !"
यसपटक भने साँचो कुरा गरेको हो कि जस्तो लाग्यो गाउँलेहरूलाई त्यसैले उनीहरू माधवको सहयोगका लागि दौडिएर फेरि त्यहाँ आइपुगे । यसपटक पनि माधव रुखमा बसेर हाँसिरहेका थिए अनि गाउँलेहरूलाई झुक्याएकोमा आनन्द मानिरहेका थिए । एकजना गाउँलेले त रिसाउँदै माधवलाई पिट्न पनि गए तर माधव भने झन् रुखमाथि चढेर आफूलाई बचाइहाले । यसपटक भने घरमा बाबाले खाना खान पनि दिएनन् माधवलाई । तर पनि उनलाई भने कुनै पश्चाताप थिएन ।
त्यसपछिको शनिबार पनि माधवलाई बाख्रा चराउन जानुपर्यो । यसपटक भने उनी निकै ज्ञानी भएर बाख्रा चराउन गए । गाउँलेहरूलाई हेर्दा पनि हेरेनन् । बरु केही गाउँलेहरूले नै उनलाई रिसाउँदै हेरे । आज भने उनी रुखमाथि चढेर बाँसुरी बजाइरहे । यत्तिकैमा त्यहाँ खस्र्याकखुस्रुक आवाज आयो । बाख्राहरू आत्तिँदै यताउता दौडिन थाले । त्यहाँ साँच्चिकै बाघ आएको थियो । माधवको सातोपुत्लो गयो । उनी आत्तिँदै गुहार माग्न थाले, तर गाउँलेहरूले माधवको विश्वास गर्न छाडिसकेका थिए त्यसैले अहिले पनि माधवले झुटो नै बोलेको हो भन्ने ठानेर सहयोगका लागि त्यहाँ कोही पनि आएनन् । बाघले पालैपालो उनका सबै बाख्रा खाइदियो र अन्त्यमा दुःखी भएर खुट्टा लतार्दै माधव घर फर्किए । आफू झुटो बोल्नाले आफूलाई कसैले विश्वास नगरेको कुरा उनले राम्रैसँग बुझे ।
झुटो बोल्ने बानीले गर्दा माधवले आफ्ना सबै बाख्राहरू गुमाए ।
बिसौँ शताब्दीको उत्तरार्धका वर्षहरूमा (सन् १९९०)
नेपाल देशमा एकजना माधव नाम गरेका बालक थिए । माधव हरेक शनिबार गोठाला जान्थे । गाउँ नजिकैको जङ्गल थियो । जङ्गलको छेउमा रुखहरू थिएनन् । झाडी बुट्टाहरू मात्र भएको खुला चौर थियो । त्यहाँ माधवले बाख्रापाठा, गाई, भैँसी र पाडाहरू चराउन लैजान्थे । बाबाले उसलाई एउटा एफ.एम. रेडियो किनिदिनुभएको थियो । रेडियोबाट प्रसारण हुने कार्यक्रमहरू सुन्दै उनी गोठाला गर्थे । त्यो दिन रेडियो नेपालबाट साथीसँग मनका कुरा कार्यक्रम आइरहेको थियो । रुखको छहारीमुनि बसेर माधव रेडियो सुन्न मस्त थिए । उनका बाख्रापाठा, गाई भैँसी र पाडाहरू चौरमा चर्दै थिए । अचानक उनको पछाडिबाट एउटा पाटे बाघ आयो । निस्ध्यानले रेडियो सुनेकोबेला उनले के आयो वास्ता गरेनन् । माधवको कपाल चाट्यो । मायालु चटाइले माधवलाई आनन्द आयो । उनले बाघको कान छोएर सुम्सुम्याउन थाले । "घोर्ली पर जा । मलाई डिस्टर्ब नगर् । म साथीसँग मनको कुरा सुन्दै छु ।" तर बाघले उनको जिउमा पनि चाट्न थाल्यो । माधवले बाघलाई हेर्दै हेरेनन् । झनै कानमा नै रेडियो टसाएर ध्यानले सुन्न थाले ।
"हैन, म यो के देख्दै छु? " जङ्गलको छेवैमा सानो छाप्रोमा बस्ने दलजितेले आँखाहरू मिच्दै भने, "आम्मै नि ! यो आँखाले के देख्नु पर्यो बा ! त्यो फुच्चे बाघसँग बसिराको छ !" छाप्रोबाट लुसुक्क निस्केर दलजिते गाउँतिर छिरे । पाँच मिनेट नबित्दै रामधुनी एफ.एम.बाट ब्रेकिङ न्युज प्रसारण भयो ।
'खैरेनी टारमा बाघ र किशोरको मुठभेट'
"खैरेनी टारमा गोठाला गएका माधवको बाघसँग मुठभेट भैरहेको हल्लाले स्थानीयहरू आतङ्कित भएका छन् । कक्षा नौमा पढ्ने १५ वर्षीय माधव राय नाम गरेका ती किशोरलाई बाघले अहिले पनि कब्जामा राखिरहेको छ । किशोरको उद्धारका लागि गाउँलेहरूले प्रयास गरिरहेको खबर एक प्रत्यक्षदर्शीले जानकारी गराएका छन् । ती युवकलाई बाघले आक्रमण गरिनसकेकाले सकुशल उद्धारकालागि आव्हान गरिन्छ । मुखैमा आको शिकारलाई बाघले किन झम्टेको छैन भन्ने कुरा प्रस्ट भैसकको छैन ।"
स्थानीय रेडियोबाट तात्तातो समाचार प्रसारण भयो । वनको डढेलो फैलिए जसरी यो खबर फैलियो । रेडियोकर्मी, पत्रकार, फोटोग्राफर र टेलिभिजन रिपोर्टरहरू स्थलगत रिपोर्टका लागि आइपुगे । रेडियो सुन्न व्यस्त माधवलाई त्यहाँ के भैरहेको थियो थाहै थिएन । बाघलाई बाख्रा सम्झेर त्यसको पुच्छर मुसार्दै थिए माधव । त्यो अद्भुत घटनालाई फोटोग्राफरहरूले उनीहरूको क्यामेरामा कैद गरिसकेका थिए । सयौँ मानिसहरूको भिड लागेको थियो । तर प्रशासनले हल्लाखल्ला गर्न निषेध गरेकाले मौनशान्ति थियो त्यहाँ । माधवको सुरक्षाका लागि पनि गाउँलेहरू साउती मार्दै खासखुस गरेर कुरा गर्थे । माधवले केही पर खेतबारीमा मान्छेहरूको भिड देखे । राइफल बोकेका एकजना प्रहरीलाई देखे । प्रहरीको पछिपछि भिडियो क्यामेराले खिच्दै गरेको देखे । त्यहाँ के हुँदै थियो उनले बुझेनन् । त्यो राइफल म्यानले उनलाई इशारामा चुप लागेर बस्न भन्यो । उनले रेडियोको भोल्युम स्वीच बटारे । भोल्युम घट्यो । त्यतिखेरै उनको एक आँखाले सँगै बसेको पाटे बाघ देख्यो । वक्रदृष्टिले बाघलाई हेरे । उनको मुटुमा चसक्क झस्का लाग्यो । "ठ्याङ् ड्याङ्" गोली चल्यो । माधव जुरुक्क उठे । उनीसँगै बसेको बाघ पनि उठ्न खोज्दै थियो । बर्लङ्ग ढल्यो । "किन मारेको ?" माधवले ढलेको बाघलाई हेर्दै भने । अगाडिपछाडि दायाँबायाँबाट वनका रेन्जरहरू, प्रहरीहरू आएर माधवलाई खडाखडी बोकेर लगे । गोली लाग्नासाथ बाघ भने बेहोस भैसकेको थियो । दुईजना प्रहरीले फलामे ग्रिलको ट्रयाप (पिँजडा) ल्याएर बाघलाई छोपे । यो घटनाको रेकर्डिङ र भिडियो सुटिङ भैरहेको थियो । केही मानिसहरूलाई यो फिल्म सुटिङ हो कि जस्तो लाग्यो । बडेमानको साङ्लोले बाघ बाँधियो । अनि फलामे खोरभित्र हालियो । खोरभित्रबाट नङ्ग्राले कोतर्दै 'हाउङ्' गर्जियो बाघ । त्यसपछि मात्र मानिसहरूलाई लाग्यो बाघ नै थियो त्यो । बेलुकी टि.भी.मा आफ्नो भिडियो देखेर माधवले बल्ल कुरा बुझे । उनको एफ.एम. रेडियोले पनि समाचार दियो 'बाघको मुठभेटमा परेका युवकको सकुशल उद्धार' । रेडियो, टिभी, पत्रपत्रिका सबैले दुईदिनसम्म समाचार बनाए । माधवको अन्तर्वार्ताका लागि पत्रकार, मिडियाकर्मीहरूले समय लिनुपर्यो । उनको नाम देशविदेशका मानिसहरूले सुने । बाघको मुखबाट बाँचेका माधव एक साहसी चमत्कारी युवक भनेर चिनिए । -बिसौँ शताब्दीमा यस्तो भयो ।
एक्काइसौँ शताब्दीको रजत जयन्तिपूर्वका वर्षहरूमा (सन् २०२०)
त्यस प्रदेशमा एकजना माधव नाम गरेका बालक थिए । उनको घरमा वाइफाइको ब्यालेन्स सकिएको थियो । त्यसैले माधवले इन्टर्नेटको डाटा प्याक लिएका थिए । फेस्टिबल अफर पाएकाले इन्टर्नेट डाटा प्याक सस्तोमा नै आएको थियो । ड्याडीले दुबईबाट पठाइदिनुभएको स्मार्ट फोनमा माधव पब्जि खेल्दै थिए । उनको मेसेन्जरमा दुबईबाट कल आयो । सुरुमा माधवले ड्याडीको कल काटे । मोन्स्ट्रस माइकल (Monstrous Michel) को AKM मा बुलेट सकिएकाले दुस्मनले उसलाई सुटआउट गर्न लागेको बेला पर्यो । अर्कोतिरबाट DetontXOr Hunter ले त्यो वालमुन्तिर लुकेको छ, सुट गर्न भन्दै कराउँदै थियो । "बुलेट पनि सिद्धियो । ड्याडको कल पनि आयो । म निस्केँ है ।" भनेर माधवले पब्जि पार्टनरलाई सम्झाए । उनको ड्याडीको कल फेरि आयो ।
"हाइ, ड्याडी गुड आफ्टरनुन !" माधवले ड्याडीलाई फोनमा लाइव अन गर्दै अभिवादन गरे ।
"के गर्दै छस् माधव ?"
"त्यसै बस्दै छु, ड्याडी ।"
"मैले तिमीलाई पब्जि खेल्न मोबाइल पठाको हैन माधव । अनलाइन क्लास लिन्छौ अनि बेलाबेलामा ममीलाई काम सघाउँछौ भनेर पठाको हो । तर तिमी त डाटा लिईलिई पब्जि खेल्दै छौ । यसरी हुन्न छोरा । तिम्रो ड्याडी भने यहाँ ५० डिग्रीको घाममा कडा श्रम गर्दैछन् । छोरा चाहिँ घरको पङ्खाको चिसो हावा खाँदै अनलाइन गेम खेलेर बस्ने ! इट्स् नट फेअर, माइ सन (It's not fair, my son.)।" ड्याडीले माधवलाई रुखो स्वरमा सम्झाउनुभयो ।
"अब पढ्न थाल्छु ड्याडी ।"
"आज शनिबार हो । एकदिन ममीलाई सघाउनू । अनलाइन अर्डरको सामान होम डेलिभरीको लागि ममी इटहरी जाँदै हुनुहुन्छ । तिमी एकछिन् बोयरबाख्रा चराउन जाऊ है माधव ।"
"हवस् ड्याडी । त्यो पुरानो नर्सरीमा मेयरले पशुपालन गर्न दिनुहुन्न । कता पो लैजाने हो ड्याडी ?" माधवले सोधे ।
"तीनवटा बोयरका बाख्रालाई यसो बाहिरको हावा खिलाउने हो । गोर्खा पार्कको पछाडि लैजाऊ न । त्यहाँ थोरै खुला ठाउँ होला । अलिअलि घाँस पनि पलाको छ कि ?"
"घाँस त के हुन्थ्यो र ड्याडी ! पार्कमा पस्न पैसा लाग्छ । त्यही भएर केटाकेटीहरू त्यहीँ खेल्छन् । घाँसपात उम्रिनै पाउँदैन ।"
"प्राकृतिक वन पहिल्यै सकियो । सामुदायिक वन पार्क भएर सकिने भो । संसारमा अब बाख्रा पनि सकिने भयो कि क्या हो !"
"के सकिन्थ्यो र ड्याडी । मान्छेले बोइलर कुखुरा पाले जसरी भेडाबाख्रा, गाईभैँसी, सुँगुर, बङ्गुर पाल्न थालेका छन् घाँसले होइन दानाले, चराएर होइन सुई लाएर । अनि सबै विकासे, हाइब्रिड र क्रसब्रिड पशुपालन हुन्छ आजकल । हामी जस्तो लोकल अर्गानिक कसैले पाल्दैन, ड्याडी ।" माधवले नौकक्षाको कृषि विषयमा पढेको कुरा सम्झँदै आफ्नो ज्ञान ड्याडीलाई सुनाए ।
"अरूले जेसुकै गरुन्, छोरा हामीले रैथाने पशुपालन, कृषि र उत्पादनमा जोड दिनुपर्छ । आफ्नो उपभोगका लागि हो । दिराम दुबईको भए पनि मुखमा हाम नेपाली नै होस् जस्तो लाग्छ मलाई । ल माधव बाख्रालाई त्यहीँ पार्कपछाडिको ग्राउन्डमा केहीबेर घुमाएर लिएर आऊ है त । म ड्युटी जानुपर्ने टाइम भयो । फोन राख्छु । भरे बेलुकी भिडियो कल गर्छु । ममीलाई अनलाइनमा आउन भन्नू है । बाई ।"
"हुन्छ, ड्याडी । बाई ।" माधवले खुसी हुँदै फोन राखे । हत्तपत्त पब्जि गेम खोले । "ह्या म पनि ! वाइफाई कनेक्ट छैन । यो ममीले पनि वाइफाई किन रिचार्ज नगरेको होला ? भरे ड्याडीलाई भन्नुपर्ला उतैबाट रिचार्ज गर्दिनू भनेर । डाटा किन्ने ब्यालेन्स पनि छैन । उफ् ! इटस् ओके । अब खसीहरूलाई वाकिङमा लानु पर्यो । फेरि ममीले भरे ड्याडीलाई लाइवमा भन्दिनुहोला ! आ, कस्तो अल्छी लागेको ! जान्छु ।" माधव मोबाइल हातमा राखेर ओल्टाउँदै-पल्टाउँदै मनमनै गनगनाउँछन् ।
गोर्खा सामुदायिक वनको पार्कपछाडि सानो चौर थियो । पहिलेपहिले त्यो चौर सबैका लागि खुला नै थियो । तर माधवले त्यस दिन 'प्रवेश निषेध' लेखेको बोर्ड टाँगेको देखे । चौरमा खेल्न दौडन डुल्नघुम्न रोकेकाले होला झोरझाडीहरू बढेर अग्ला भैसकेका थिए । लामालामा घाँसहरू उम्रेका देखेर माधवलाई खसी चराउन मन लाग्यो । माधवले आल्मुनियमका तारको बेरामुन्तिरबाट खसीहरूलाई एकएक गरी छिराइदिए । तीनवटा बोयर बाख्राहरूले हरिया घाँसहरू चरप्चरप पार्दै चबाउन थाले । चौरको छेवैमा खानेपानी ट्याङ्कीका लागि अग्लो गोलाकार भवन बनाइएको थियो । माधव त्यसको सिँढीबाट चढेर ट्याङकीको भ्युटावरमाथि चढे । उनले त्यहाँबाट हेर्दै बाख्राहरूको निगरानी गर्न थाले । बाख्राहरू घाँसका नवपालुवाहरू अलमस्त खाँदै थिए । माधवलाई भने पट्याइ लागेर आयो । त्यही स्मार्ट फोन निकालेर चलाउन थाले । ब्यालेन्स चेक गरे । रिचार्ज गर्नुपर्ने बेला भको थियो । उनले ४९ रुपैयाँको ब्यालेन्स सापटी लिएर टु जिबी (2GB) डाटा प्याक किने । त्यसपछि उनको स्मार्टफोनमा नेट फटाफट चल्न थाल्यो । माधवले कहिले फेसबुक पोस्टमा लाइक, कमेन्ट र सेयर गरे । कहिले युट्युबका भिडियोहरू हेरे । कहिले टिकटकका क्लिपहरू हेर्दै एकोहोरो भए । "म्याँम्याँ ! प्याँप्याँ !" बाख्रा कराएको सुनेर माधवले चौरतिर हेरे । एउटा चितुवाले सानो खसीलाई झम्टिसकेको थियो । "गुहार गुहार चितुवाले मेरो बाख्रा खायो ।" माधव अकस्मात् चिच्याए, "Help, help Please. चितुवा आयो । बाख्रा खायो । बचाऊ, बचाऊ ।" माधवले जोडले गुहार मागे । तर कसैले पनि सुनेनन् । सबैभन्दा नजिकै गोर्खा पार्क थियो । त्यहाँ घुम्न आउने मानिसहरू धेरै थिए । तर सबै आफ्नै धुनमा थिए । कोही टिकटक बनाउँदै थिए । कोही भिडियो सुटिङ गर्दै थिए । कोही फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै थिए । पार्कमा साउन्ड स्पिकरमा गीत सङ्गीत पनि घन्किँदै थियो । त्यसैले उनको आवाज फिका भयो । उनको गुहार सुन्ने अवस्था थिएन । विपत्मा बुद्धूलाई पनि विवेक आउँछ भन्नेझैँ त्यो किशोरावस्थाको माधवलाई आइडियो फुर्यो । हराएको मान्छेलाई सोसल मिडियाको सहारा भनेअनुसार उसले यो विपत्मा सोसल मिडियाको सहयोग लिने विचार गरे र स्टेटसमा क्याप्सन लेखेः
"चितुवाले बाख्रालाई खाँदै छ । मलाई पनि खान लाग्यो । आउनुस्, बचाउनुस् ! गोर्खा पार्कको पछाडिको चौरमा ।"
माधवले जुम गरेर चितुवाको पिक्चर खिचे । फेसबुक लाइवमा चितुवाले बाख्रा खाँदै गरेको भिडियो स्ट्रिमिङ गरे ।
"गुहार गुहार चितुवाले बाख्रा खायो । पानीट्याङ्कीको टावरमा चढेर मैले ज्यान बचाको छु । आउनुस् र हेल्प मि प्लिज ।"
टिकटकमा पनि पोस्ट गरे । सोसल मिडियामा सहानुभूतिका कमेन्टहरू फुटुटुटु ओइरिन थाले । माधवको ममी, ड्याडी र आफन्तहरूको लाइव कल आयो । उनले सबैलाई जवाफ दिन भ्याइरहेका थिएनन् । उनका केही छिमेकी, काकाकाकीहरू, साथीभाइहरू घरको छतबाट हेरेर शान्त रहन भन्दै थिए । उसले लाइव भिडियो स्ट्रिमिङ गरिरहे । दस मिनेट जति बितेको थियो । गोर्खा पार्कको माथिबाट एउटा ड्रोन आयो । ड्रोनले फोटो वा भिडियो सुट गर्न आको जस्तो लाग्यो माधवलाई । तर केही मिटर परको बुद्धमार्गमा माधवले प्रहरीको भ्यान देखे । त्यहीबाट त्यो ड्रोन सञ्चालित थियो । त्यो ड्रोन उड्दै बाख्रा खाँदै गरेको चितुवामाथि गयो । कुनै चरा उडेको लागेर होला चितुवा बाख्राको खुन चुस्नमा नै व्यस्त थियो । ड्रोनबाट गोली चल्यो । प्रति सेकेन्ड तीनचार गोलीका दरले चितुवालाई लाग्यो । चितुवा ठहरै मरे जस्तो लाग्यो माधवलाई । कमेन्ट्री सहित त्यो इभेन्टको फेसबुक लाइव गरिरहेका माधवले चितुवा इन्काउन्टरमा मारियो भनेर घोषणा गरे । उनले आफ्नो पब्जि नाम मोन्स्ट्रस माइकल (Monstrous Michel) ले AKM राइफल प्रयोग गरेर चितुवाको मर्डर भयो भनेर लाइव गरे । बाख्रालाई दाँर्दै गरेको चितुवा निमेषमा नै भुइँमा तनक्क पर्यो । सुरक्षा कवच लगाएका दुईजना प्रहरीहरू चितुवा ढलेको ठाँउतिर आए । अन्य प्रहरीहरू राइफल तेर्स्याएर उनीहरूको पछिपछि लागे । फ्रन्टलाइनका प्रहरीले मरेको चितुवालाई बिस्तारै छोए । चितुवा चटपट गरेन । उनीहरूले चितुवालाई फलामे साङ्लो र नाइलनको डोरीले बाँधे । एउटा बाँसको गलो बनाएर चारजनाले बोकेर पुलिस भ्यानमा हाले । माधव पानीट्याङ्कीबाट ओर्लिए । फेसबुक लाइव गर्न छोडेर प्रहरीलाई भेट्न गए । त्यहाँ पो उनले बुझे चितुवा मारिएको थिएन । खासमा चितुवालाई बेहोस पार्न ट्राइक्विलाइजरको बुलेटहरू प्रहार गरिएका थिए । चितुवाको टाउको र कोखामा दुईवटा बुलेटहरूले छेद पारेका थिए । यसरी ड्रोनको सहायताले हिंस्रक जनावरलाई जीवितै नियन्त्रण गरियो । माधव र उनका दुईवटा खसीहरूको भने सकुशल उद्धार भयो । बस्तीमा पस्न लागेको चितुवाले अन्य कुनै हिंसात्मक घटना गर्न पाएन । माधवको चितुवा काण्ड रातारात भाइरल भयो । तीन चार दिनसम्म माधवको लाइव भिडियोमा 10K or 100K सम्मका लाखौँ भ्यु आए । ड्रोनबाट फाइरिङ गरेर हिंस्रक पशुलाई काबुमा राख्न सफल नेपाल प्रहरीलाई कदर गरियो । -एक्कासौँ शताब्दीको प्रारम्भमा यस्तो भयो ।
यी समयका मानिसहरूले अनुभूत गरे पुस्तान्तर भनेको के हो ।
***
(नोटः यो कथाको पहिलो भाग "उन्नाइसौँ शताब्दीका वर्षहरूमा (सन् १८९०)" गुगलमा अपलोड गरिएको उकेरा अनलाइन पत्रिकाबाट साभार गरिएको हो । लिन्क- https://ukeraa.com/news/ -कथाकार)