स्ट्याचुको अवलोकनपश्चात् विगतमा ट्विन टावर रहेको स्थलको र नवनिर्मित वर्ल्ड ट्रेड सेन्टरको अवलोकन गर्नतिर लाग्यौँ । हिँड्दै छौँ अगाडि ‘नेसनल सेप्टेम्बर ११ मेमोरियल र म्युजियम’ लेखिएको साइन बोर्ड आयो । यहाँबाट कतातिर जाने हो सङ्केत गरिएको । साउथ पुल, नोर्थ पुल (पोखरी भनेको हो) मेमोरियल ग्लाड, मेमोरियल म्युजियम लेखिएको । पर्यटकहरूका लागि नियमहरू पनि लेखिएका ।
११ सेप्टेम्बर सन् २००१ मा आक्रमणबाट टावर ध्वस्त भएका ठाउँदेखि केही दुरीमा वान वल्र्ड टेड्र सेन्टर, जसलाई हाल आएर फ्रिडम टावर पनि भनिन्छ । यो नवनिर्मित टावर । न्युयोर्क सिटीको प्रतीक मानिने । यसको निर्माण २०१४ मा पूरा गरिएको तथ्य छ ।
पहिले ट्विन टावर भएकै स्थानमा मृत्यु हुनेहरूको सम्झनामा नामसहित सुन्दर स्मारक बनाइएको । तर, यो स्मारकको तात्पर्य कुनै भवन भने होइन । त्यहाँ त पहिले टावर भएका ठाउँमा पोखरीजस्तो गहिरो खाडल बनाइएको छ, चारपाटे । भन्नलाई पोखरी तर त्यहाँ पानी जमेको देखिदैन । त्यहाँ चारैतिर ग्रेनाइटको प्रयोग गरी बनाइएको पर्खालबाट निरन्तर सावरबाट पानी बगिरहेजस्तो गरी पानी बगाइएको । यसरी बनाउनुको तात्पर्य बुझ्न सकेनौँ हामीले । यसको पनि गहिरो भावनात्मक अर्थ लगाइएको पाइयो । यसका बारेमा आपसमा कुरा पनि ग¥यौँ हामीले, तर रहस्य थाहा पाउन सकेको थिएन । घटनामा परेर दिवङ्गत भएकाहरूको सम्मान गरेर यो पोखरी निकै खर्चिलो प्रविधिको प्रयोग गरीे निर्माण गरिएको । यस किसिमको निर्माण कला हेर्दा अत्यन्त सुन्दर देखिन्छ । यस पोखरीलाई रिफ्लेक्टिङ एब्सेन्स (अनुपस्थितिको प्रतिबिम्ब) भनिन्छ । यसको अर्थ गहिरो रहेको । त्यस घटनामा परेका मानिसहरूको अभावको पूर्ति त गर्न सकिँदैन तर पनि सधैँ स्मरण भइरहोस् भन्ने उद्देश्य राखिएको भनें उपयुक्त नै देखिन्छ । सम्झनाको प्रतिबिम्बका रूपमा रहेको स्मारक, पहिलेका उत्तरी र दक्षिणी टावरको ठिक पुरानै आधार स्थानमा बनाइएको छ । ढलेको रुख पुन ः पलाउँछ भनेजस्तै यसको रूप फरक किसिमले प्रस्तुत भएको छ, भन्ने अर्थमा बुझ्न सकिन्छ ।
यो पोखरी र सावरबाट बगाइरहेको पानीको प्रतीकात्मक अर्थ त यसले शोकग्रस्त अवस्थाको भावनात्मक अभिव्यक्तिलाई सङ्केत गर्छ भन्ने भाव व्यक्त भएको ।
“गीता ? तिमीले यसरी पानी बगाइएको अनि फेरि तल फेदमा पुगेर अदृश्य भएको अर्थ बुझ्यौ ?”
अहँ बुझ्न सकिनँ भनिन् । छोरीलाई थाहा छ कि ! किनभने पहिले पनि यस ठाउँमा पटक पटक आएर अवलोकन त गरेको हो, भन्दा यसरी गहिरिएर त हेरिएन नि भन्ने उत्तर आयो । फेरि ज्वाइँलाई सोधें, पहिले त सरसरती मात्र हेरियो, जानकारी भएन भन्नु भयो ।
यसरी विचरण गर्दा यसलाई उच्च महत्त्व दिइएको भन्ने प्रस्ट हुन्छ । निरन्तरको पानी बगाइलाई मृत्युवरण गर्नेहरूको सम्झनामा निरन्तर बगिरहने आँसु र शोकलाई बुझाउँदो रहेछ । यो निरन्तरताको अर्को अर्थ यस घटनामा परेर दिवङ्गत हुने मानिसहरूलाई कहिल्यै पनि नबिर्सने वा कहिल्यै नसुक्ने सम्झनाका रूपमा लिइँदो रहेछ । अर्को गहिरो भाव पनि लुकेको, त्यो के भने अविरल बग्ने पानीले गतिमय जीवन र समयको निरन्तरता हो भन्ने अर्थमा बुझनुपर्ने । त्यसका साथै शान्तिको प्रतीकात्मक अर्थ लगाइएको बुझिन्छ । जुन भावुक मान्छेमा हुन्छ र संवेदनशील बन्न पुग्दछ भन्ने भावमा केन्द्रित गरिएको छ । बाहिरबाट हेर्दा अग्लो टावर, सुन्दर दृश्यावलोन मात्र होइन है भन्दै यस घटनाले जति गहिरो घाउ लागेको छ, त्यसको अझ गहिराइमा पुगेर चिन्तन गर्दा जुनसुकै मानिसले पनि अश्रुधारा बगाउँछ ।
अदृश्यता र शून्यताको अर्थ पहिल्याउँदा पानी तल पुगेर हराउँछ वा कतै बिलाउँछ, अनि कहिल्यै नदेखिने भन्ने अर्थमा मात्र होइन कि घटना घटेको दिन अकस्मात् हराएका÷मारिएका मानिसहरूलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको । हामी कहिलेकाहीँ ढल्छौँ तर हरेक पटक फेरि उठ्छौँ पनि । मानवताको शक्ति विनाशमा भन्दा पनि पुनर्निमाणमा हुन्छ भन्ने सन्दर्भ मिल्दोजुल्दो रहेको छ ।
“यसलाई भावनात्मक रूपमा लिँदा त संवेदनाको नाप जाँच गर्न सकिँदैन भन्ने बुझिँदैन र ? वास्तवमा यस कहाली लाग्दो घटनाले अमेरिकीहरूलाई धेरै गहिरो घाउ लगाएको रहेछ, होेइन त ?” गीताको प्रश्न थियो । “हो अवश्य । आफ्ना प्रियजन र सम्पूर्ण अमेरिकीहरूलाई आफ्नै ठान्नु भनेको नै यही नै हो । यस घटनाले अमेरिकी मात्रलाई होइन सम्पूर्ण मानव हृदयलाई नै हल्लाउँने रहेछ ।”
प्रत्येक मानिसको नाम कुँदिएको स्मारक÷पर्खालको अझ टड्कारो महत्त्व पो रहेछ त ? पोखरीको चारैतिरको स्मारक÷पर्खालमा, घटनामा परेर मारिएका २,९७७ जना मानिसहरूका नामहरू ग्रेनाइटमा सुन्दर अक्षरहरू कुँदिएका देखिन्छन् । ‘स्मृतिहरू ढुङ्गामा होइन, हृदयमा जीवित रहन्छन्’ भन्ने अर्थले झन संवेदनशील बनाउँछ । यस घटनाले खास गरी अमेरिकीहरूलाई गहिरो चोट पुगेको त छ नै त्यसमा पनि सम्पूर्ण मानवहरू पनि ज्यादै संवेदनशील बन्न पुग्दछन् । त्यत्रो घटनाका कारणले त्यति ठुलो धनजनको क्षति भएको छ । सम्पूर्ण राष्ट्र शोकाकुल बनेको अवस्था बेहोरिएको रहेछ । यस स्मारकमा ट्विन टावर पेन्टागन र फ्लाइट नम्बर ९३ का सबै पीडितहरू समावेश गरिएका छन् । अहिले यो स्मारकको नाम नै ‘नेसनल सेप्टेम्बर ११ मेमोरियल’ भनेर राखिएको छ । सुविचारित ढङ्गबाट यसलाई सेप्टेम्बर ११ सन् २००१ मा घटना घटेको १० वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको छ । यहाँ मृत्यु वरण गर्ने लगभग ३,००० जनाको नाम उल्लेख गरिएको प्रत्यक्ष रूपमा देख्दा भाव विह्वल बनाउँछ ।
स्मारक अथवा पोखरीको छेवैमा एउटा सङ्ग्रहालय पनि छ । त्यसमा ११ सेप्टेबरको घटना भएपछि ध्वस्त भएका ट्विन टावरका भग्नावशेषहरू तथा मृतकका बचेखुचेका वस्तुहरू र घटनाका दस्तावेजहरू पनि सुरक्षित राखिएको छ । यसरी घटनाको सम्पूर्ण नालिबेली छ । घटना दुःखद भए पनि सबैको यथास्थानमा व्यवस्था गरिनु पनि उल्लेखनीय कार्य नै मानिन्छ ।
त्यसपछि नवनिर्मित एकल टावर चढ्ने प्रक्रियामा लाग्यौँ । टावरका कुल १०४ तला रहेछन् । एलिभेटर चड्नै लाग्दा टावरका बारेमा सामान्य जानकारी दिने क्रममा टावरमा १०४ तला रहेको । १०२ तलासम्म मात्र जान्छौँ भनिएको थियो, हामीलाई । टावरको टुप्पासम्मको जम्मा उचाइ १,७७६ फिट छ । यसको निर्माण लागत ३.९ बिलियन अमेरिकी डलर लागेको रहेछ । यो निकै ठुलो धनराशि हो । अहिलेसम्मकै धेरै महङ्गो टावर मानिन्छ । त्यस्तै स्मारकका लागि ७०० मिलियन अमेरिकी डलर र म्युजियमका लागि पनि ७०० अमेरिकी डलर नै खर्च भएको तथ्य छ ।
टावर १०४ तला भए पनि १०२ तलाबाटै दृश्य हेर्ने व्यवस्था मिलाइएको छ । टावरको त्यही १०२ तलाबाट नै न्युयोर्कको सम्पूर्ण दृश्य देख्न सकिने रहेछ । हामीले एक घण्टाभन्दा बढी गगनचुम्बी टावरको १०२ तलामा नै बितायौं ।
मानिसहरूको चाप त्यत्तिकै मात्रामा देखियो त्यहाँ । हामी पनि यति अग्लो टावरमा पहिलो पटक चढ्न पाउँदा खुसीले गद्गद् भएका थियौँ किनभने यो अवसर पटक पटक पाउन सकिने कुरै भएन । एकआपसमा रमायौँ । एकल र सामूहिक फोटो खिच्यौँ, खिचायौं । भिडियो बनायौं ।
१०२ तलाबाट सयौँ तलामा ओर्लियौं र त्यहाँबाट भुइँ तलामा झ¥यौं हामी । उकालिँदा कति समय लागेको थियो, त्यो त ख्याल गरिएन तर झर्दा भने सयौँ तलाबाट भुइँ तलामा झर्न केवल ४५ सेकेन्ड मात्र लागेकामा आश्चर्यको अनुभूति भएको थियो । पछि बुझ्दा थाहा भयो, यो एलिभेटर संसारकै द्रुत गतिमा दौडनेमा गनिदो रहेछ । एलिभेटरका भित्ताहरूमा डिजिटल स्क्रिन देखिन्छ, जसले न्युयोर्क सिटीको ५०० वर्षको विकासको यात्रा देखाउँछ । सेकेन्ड सेकेन्डको कुरा भएकाले सबै त कहाँ थाहा पाउनु र ? जीवनको पहिलो रमणीय अनुभव । हाम्रा लागि । त्यहाँबाट म्यानहाटन, ब्रुकलिन, ब्रुकलिन ब्रिज, म्यानहाटन ब्रिज, स्ट्याचु अफ लिबर्टीको वरिपरिको पानीको संसार, स्टेटन आइल्यान्डआदि ठाउँहरू राम्ररी देख्न सकिदो रहेछ ।
मौसम सफा भएको अवस्थामा त ७५ देखि ८० माइल टाढाका दृश्यहरू पनि देख्न सकिन्थ्यो रे ! तुँवालोले डम्म ढाकेको हुनाले सबैतिर हेर्ने अवसर पाएनौं हामीले । माथिबाट हेर्दा ती सबै ठाउँहरू त थाहा हुने कुरा पनि भएन हामीलाई । त्यहाँ सोध्ने र बताइदिने मानिस पो कहाँ पाउनु र । सबै जना आआफ्नै पाराले मनोरञ्जन लिइरहेका थिए । त्यसैले कसैको पनि ध्यानभङ्ग गर्न चाहेनौँ ।
वल्र्ड ट्रेड सेन्टरनजिकै अकुलस विश्व व्यापार केन्द्रको मुख्य संरचना देख्न सकिन्छ । यो अन्यतिरको भन्दा पृथक् किसिमको संरचना मानिन्छ । एउटा बच्चाले हातमा समाएर पंक्षीलाई उडाउँदाको रूपमा बनाइएको आशा र पुनरुत्थानको प्रतीक मानिन्छ, यो । यसभित्रको रमाइलोको बयान गरेर सकिँदैन । हाम्रो यात्रा टोलीले झन्डै एक घण्टाको समय उपयोग ग¥यो यस ठाउँमा । यस किसिमको डिजाइन अमेरिकाको अन्य सहरहरूमा पनि छ कि ? भनेर ज्वाइँ र छोरीलाई सोधेको थिएँ । धेरैवटा मुख्य सहरको भ्रमण गर्दा यही डिजाइनको संरचना त देखिएन भन्ने उत्तर आयो ।
कस्तो लाग्यो ? गीतालाई सोधेँ, मज्जा र रमाइलो भन्ने जवाफले यात्राले सफलता पाएछ भन्ने ठानेँ मन मनमा मैले । शान्तिको कामना गरिएको उड्दै गरेको सेतो रङको (परेवा) पक्षीको सम्पूर्ण आकृति आउने गरी र भित्री भागको पनि फोटाहरू आउन भनेर विभिन्न पोजबाट फोटाहरू र पन्ध्र सेकेन्डसम्मको भिडियो पनि खिच्न भ्यायौँ हामीले ।
यसको डिजाइन स्पेनिस वास्तुकलाविद् सान्टियागो कालात्राभाले गरेका रहेछन् । बच्चाको हातबाट उड्ने पंक्षीबाट शान्ति र नवीनताको प्रारम्भ होस् भन्ने ठानिएको मानिन्छ ।
यहाँ संसारकै महङ्गो रेल स्टेसन रहेछ । करिब चार अरब अमेरिकी डलर खर्च भएको ओकुलसको उपयोग गर्नेहरू दैनिक दुई लाख जति हुन्छन् रे । यो प्रमुख परिवहन केन्द्र, किनमेल केन्द्र र सांस्कृतिक प्रतीकका रूपमा मानिदो रहेछ । सेता पखेटा भएको पक्षीको उडानलाई भविष्य उज्वल रहोस्, शान्ति र स्वतन्त्रताको कामना तथा दूरदृष्टि रहोस् भन्ने अर्थमा प्रयोग गरिएको छ । यो सम्भवतः ट्विन टावरमाथिको आक्रमणपछिको परिकल्पना हुन सक्छ तर यो मेरो नितान्त निजी सोच मात्र ।
समयले नेटो काट्न लागेको थियो तथापि बाँकी रहेको समयको सदुपयोग गर्ने उद्देश्यले भूमिगत (अन्डर ग्राउन्ड) मेट्र«ो चढेर टाइम्स स्क्वायरतर्फ लाग्यो हाम्रो टोली । तीन तीनवटा मेट्रोको यात्रा पनि हामी बुढाबुढीका लागि पहिलो थियो । मैले त ठुलो रेलको लामो यात्रा गरेको थिएँ तर मेट्रोको अनुकूलता परेको थिएन । गीताका लागि भने यो पहिलो नै थियो, रेलको भनौँ वा मेट्रोको यात्रा । छोरीले त पहिले यी सबै चिजहरू देखिसकेको हुनाले कुनै नौलो लाग्ने कुरै भएन ।
हामीलाई त्यहाँको मेट्रोको सिस्टम चित्त बुझ्दो लाग्यो । निश्चित गन्तव्यका लागि निश्चित समय । तीनवटा मेट्रो परिवर्तन गर्दा प्रत्येकमा समयको एक सेकेन्ड पनि फरक परेन । तोकिएको समयमा निश्चित स्टेसनमा आइपुग्ने अनि ठिक समयमा स्टेशन छाड्ने गर्दो रहेछ, मेट्रोले । समयको महत्त्वलाई अत्यन्तै ख्याल गरिने । मुलुकको विकास गर्न समयको सही सदुपयोग पनि ज्यादै महत्त्वपूर्ण मानिने देखियो ।
न्युयोर्कको अति व्यस्त ठाउँका रूपमा चिनिने टाइम्स स्क्वायर हेर्नै पर्ने ठाउँ रहेछ । पहिले ‘न्युयोर्क टाइम्स’ नामको पत्रिका यहीँबाट प्रकाशन गरिन्थ्यो रे भनिएको छ । पछिसम्म पनि त्यही नामले चिनिन थालेको रहेछ यो ठाउँ । हुन त स्ट्याचु अफ लिबर्टीजस्तो महव राख्ने र विभिन्न अर्थ प्रदान गर्नेका हिसावले भन्दा मानिसहरूको अत्यधिक चाप देखिएकाले यस ठाउँको फरक गरिमा र महत्त्व रहेछ । सडकमा मानिसहरू भरिभराउ देखिन्छन् । मानिसहरू बस्नका लागि रङ्गशालामा जस्तो प्याराफिट बनाइएको रहेछ । खुट्टा टेक्ने ठाउँ पाउन पनि हम्मे हम्मे पर्यो ।
सडकको दायाँबायाँतिर रहेका ठुलाठुला बिल्डिङमा बडेमानका टेलिभिजन सेट राखिएका । ती टेलिभिजनका पर्दामा कुनै न कुनै विज्ञापन दिइरहेको देखिन्थ्यो । टेलिभिजनबाट प्रकाशित गरिने विज्ञापनले व्यापार व्यवसाय चलाउन पनि उपयुक्त स्थानका रूपमा टाइम्स स्क्वायरलाई लिइने । त्यसका साथै सङ्गीतमय आवाज तथा विभिन्न टिभी प्रोग्रामहरूले प्रत्येक मानिसको ध्यानाकर्षण गराइरहेको र त्यसैको रमझममा मानिसहरू रमिरहेका र झुमिरहेका देखिन्थे । आँखाको रमाइलोको त बयान गरेर सकिदैन । कोही हातमा कफीको कप बोकेर चुस्की दिदै ओहोरदोहोर गरिरहेका देखिन्थे भने कोही प्रेमी प्रेमिकाका साथमा रमाइरहेका देखिन्थे चुम्मा चुम्मी गर्दै ।। प्याराफिटमा बसेर हातमा क्रिमवाला केक, पेय पदार्थ र अन्य खानेकुरा खाँदै नाच्दै गरेको दृश्यपनि कम्ती रमाइलो थिएन ।
दिनभरिको कामको चापबाट मुक्त हुन पनि मानिसहरूका लागि यो ठाउँ उपयुक्त नै रहेछ भन्ने लाग्यो । व्यस्त सहरमा रहेका व्यस्त मान्छेको भिड र उनीहरूले छुट्याएको समयको पनि त्यत्तिकै मूल्य रहेछ भन्ने अर्थमा लिन सकिन्छ । न्युयोर्कको मुटुमा अवस्थित टाइम स्क्वायर जसलाई ‘क्रसरोड अफ द वल्र्ड’ भनिदो रहेछ । संसारभरिका मानिसहरू दिनरात नै निरन्तर रूपमा आउने गर्दा रहेछन् । म्यानहाटनको ४२औँ स्ट्रिटदेखि ४७औँ स्ट्रिटसम्म यो क्षेत्र फैलिएको रहेछ ।
यसलाई सातौँ एभेन्यु र ब्रोडवेका बिचको सङ्गम मानिदो रहेछ । यसको पुरानो नाम लोङ्अकेयर स्क्वायर रहेछ । तर, पछि १९०४मा द न्युयोर्क टाइम्स अखवारले आफ्नो मुख्य कार्यालय वान टाइम्स स्क्वायर यस ठाउँमा स्थानान्तरण गरेको थियो भनिन्छ । पछि न्युयोर्क सिटीका मेयरले पुरानो नाम हटाएर टाइम्स स्क्वायरमा परिवर्तन गरेका थिए रे ।
टाइम स्क्वायरमा विज्ञापनको विकास हुँदै गयो । पछि रङ्गमञ्च, उज्यालो प्रकाश राख्ने व्यवस्था बढ्दै गएछ । हुँदै हुँदै हजारौं स्क्वायर फिटको लिड स्क्रिनहरूमा चम्कने व्यावसायिक विज्ञापन देखाउँदा सबैलाई रमाइलो लाग्नु स्वाभाविक बन्न थाल्यो । लाखौं डलर खर्च हुने विज्ञापनहरू अद्यापि धुमधामका साथ बजाइदा रहेछन् । एक किसिमले ध्वनि प्रदूषण हुने गरी ।
यसलाई ब्रडवे थियटर डिस्ट्रिक मानिदो रहेछ । यहाँ ब्रडवे शो हेर्न हजारौँका सङ्ख्यामा मानिसहरूको खचाखच भिड लागेको देख्दा हामीहरू पनि अचम्ममा प¥यौँ । यहाँ प्रतिवर्ष पचासौँ लाखभन्दा बढी पर्यटकहरू आउने गर्दा रहेछन् । यस ठाउँलाई ‘अन्धकारलाई गाली गर्नुभन्दा दियो बाल्नु उत्तम’ भन्ने उखान चरितार्थ भएको अर्थमा लिन सकिन्छ । बिहान आठ बजेदेखि रातिको दुई बजेसम्म मानिसहरूको भीडभाड हुने । अझ नयाँ वर्षका दिन बल ड्रप सेरेमोनी हेर्न जम्मा हुँदा रहेछन् । ३१ डिसेम्बर रातको १२ बजे अग्लो ठाउँबाट बल झारिने गरिँदो रहेछ भन्ने जानकारी पाइयो । यस्तो कार्यको प्रारम्भ १९०७ देखि भएको मानिन्छ ।
पत्रिकाको अफिस यहाँबाट सरिसकेको छ । तर नामको इतिहास आजसम्म पनि यथावत् नै रहेको देखिन्छ । टाइम स्क्वायर, यस किसिमको संस्कृति, व्यापार तथा अमेरिकी समसामयिक जीवनशैलीको प्रतिबिम्बित म्याप नै हो भन्न सकिने आधारहरू प्रशस्त देखिँदा रहेछन् ।
पहिलो पटक यहाँ आउँदा सपनाको सहरमा आएजस्तो लाग्छ तर वास्तविकता भने धेरै भिन्न नै देखिन्छ नै । मिकी माउस वा डिज्नी पात्रहरूको एनिमेसन क्षणिक आनन्दका लागि त कता हो कता राम्रो लाग्छ नै । बच्चासहित आधा रातसम्म फोटो खिच्न र खिचाउन रमाउने परिवारका सदस्यहरूको मोह हेर्दा आखिर जीवन जिउने एउटा तरिका त हो भन्ने पनि लाग्दछ । स्पाइडर मेन, मिकी माउस आदिजस्ता पोसाक लगाएर विभिन्न पोजमा फोटो खिचाउने क्रेज पनि व्याख्या गरिनसक्नुको देखिन्छ । यो यहाँको एउटा बलियो संस्कृति नै बनेको देखिन्छ । त्यही रमझममा बेसरी रमायौं हामी पनि । टिकटक बनाउने क्रममा आमा छोरी पनि रमाएका थिए । म पनि के कम त्यही क्रममा रमाएको थिएँ ।
टाइम्स स्क्वायरपछि हामी रकफेलर टावर हेर्न गयौँ । पैसको खोलो बगाएजस्तो । कुनै समयका धनी व्यापारीका रूपमा प्रसिद्धि पाएका रकफेलरले निर्माण गराएको । यो टावरले अहिलेपनि मानिसको ध्यानाकर्षण गरिरहेकै देखिन्छ । रकफेलर टावरदेखि नजिक रहेको पुरानो गिर्जाघर पनि सडक बाहिरबाटै हेरियो । पुरानो डिजाइनमा रहेको गिर्जाघर झट्ट हेर्दा आकर्षक नै थियो ।
आँखाको आकारको गोलो संरचना भेसल, जसबाट सबैतिर प्रकाश छिर्न सक्ने । सबैतिरबाट उज्यालो नछेकियोस वा देख्न सकिने होस् भन्ने नै मूल उद्देश्य रहेको । निःशुल्क । जताबाट हेर्दा पनि भ¥याङ लगाएको जस्तो देखिने । यो संरचनाले एउटा सुन्दर कलाको प्रतिनिधित्व गरेको । हेर्दा केहीजस्तो देखिँदैन तर सबैको ध्यान त्यसैमा केन्द्रित । सबै थोक छ तर केही पनि नभए जस्तो । अचम्म ?
हामी भूमिगत मेट्रो चढेर ब्याट्री पार्क फर्कियौँ । बिहानैदेखि गाडी ब्याट्री पार्कमा सशुल्क पार्किङमा । त्यहाँबाट गाडी निकालेर ज्याक्सन हाइटमा रहेको बाजेको सेकुवामा गयौँ । बाजेको सेकुवा एउटा ब्रान्ड नै बनेको देखियो । नेपाली स्वादको खानाले नेपालमै बसेर ताजा खाना खाएको सम्झना गरायो । नेपाली परिकारका पारखीहरूका लागि विदेशी भूमिमा आतिथ्य सत्कारसहितको अमृत भोजन जिब्रोमा झुन्डिएको जस्तो भइरह्यो, भइरह्यो ।
श्रीभपोर्ट, लुइजियाना, संयुक्तराज्य अमेरिका ।