18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ज्ञानका शिकारीहरूको नालीबेली

हास्यव्यङ्ग्य नारायण भट्टराई October 16, 2025, 1:46 pm
नारायण भट्टराई
नारायण भट्टराई

ज्ञानका शिकारीहरूको नालीबेली खोतल्न त्यति सजिलो रहेनछ। लहरो तानेको पहरै गर्जियो। खासमा मानव सभ्यताको विकास नै ज्ञान चोरेर भएको भन्दा रान पश्चिमाहरू। प्रोमेथसले ओलिम्पियन भगवानहरूबाट आगो चोरेर दुनियामा ज्ञान र विज्ञानको बाटो खोलिदिए रे। यसरी आगो चोरेको थाहा पाएपछि ओलिम्पियन भगवानहरूको राजा जियस रिसाएर उनलाई सजाय दिएछन्। उनलाई ढुंगामा बाँधियो र गिद्धलाई उनको पित्त खान दिइयो। प्रत्येक दिन गिद्धले प्रोमेथसको पित्त खान्थ्यो। तर प्रोमेथस अजरअमर भएको हुनाले उनको पित्त भोलिपल्ट फेरि पलाउँथ्यो। फेरि अर्को दिन गिद्धले उनको छाती उदारेर पित्त खान्थ्यो। ढुंगामा बाँधिएर गिद्धलाई पित्त ख्वाउनु नै प्रोमेथसको सजाय थियो।

आगोलाई ज्ञान र प्रकाशको प्रतीक मानिन्छ। प्रोमेथसले ज्ञान चोरेर मानिसलाई दिए। उनले कसैले नपाएको दुःख पाए तर मान्छेलाई भने त्यो चोरिएको ज्ञानले फाइदै फाइदा भयो। कहिल्यै पछाडि फर्केर हेर्नु परेन। आज जो ज्ञान बढी चोर्न जान्दछ, उही ठूलो मान्छे हुन्छ भन्दा पनि मान हानिको फन्डामा परिन्छ जस्तो लाग्दैन। तर आधुनिक युगमा ज्ञान चोर्न सफल मानिसहरूले प्रोमेथसजस्तो दुःख पाएका छैनन्, बरु उल्टै पुरस्कार पाएका समाचारहरू जताततै पढ्न र सुन्न पाइन्छ।

ज्ञानका शिकारी खोज्न गुगलले देखाएको बाटो पछ्याउँदै जाँदा म प्राचीन ग्रिक कवि होमरसँग गएर ठोक्किएँ। होमरबाले चलनचल्तीका कथाको सिकार गरेर महाकाव्य लेखेछन्। तर कसैले त्यसलाई बक्र दृष्टिले देखेनछन्। भनिन्छ, उनी नै आँखाले देख्दैनथे। आँखै नदेख्ने मान्छेले के देखेर चोरे होला र?

हुन त त्यो जमानामा अहिले जस्तो धेरै वटा आँखा भएका न त मान्छे थिए, न त मेसिन। कसले थाहा पाउने! होमरले जे गरे राम्रै गरे। प्राचीन ज्ञानका सम्पदालाई कविता मार्फत नयाँ पुस्तामा सार्ने काम गरे।

अर्को कुरा — लेख्ने कुरा सकिए अब के लेख्ने भन्ने लेखकहरूलाई पनि यो प्रसंगले हाइसन्चो गराउन सक्छ। भनिन्छ नि — यो दुनियामा आफ्नै सिर्जना भन्ने केही छैन। ब्रह्माले पनि फोहरको डल्लोबाट मान्छे बनाएका रे। दुनियाँका सृष्टिकर्ता ब्रह्मा भन्दा पहिले दुनियाँमा फोहरका थुप्रा रहेछन्। नयाँ भन्ने केही छैन। त्यसैले, सबै साहित्यकारले देखेको, भोगेको, सुनेको कुरामा मनको गनगन मिसाएर लेख्ने हो।

त्यसपछि मेरो भेट भयो ब्रिटिश आदि कवि जियोफ्री चौसरसँग। अङ्ग्रेजी साहित्यका भानुभक्त भनेर चिनीने चौसर बुढाले त “क्यान्टरबरी टेल्स” लेख्दा बोकासियोको “डेकामेरोन” लाई भ्याएको भन्दा रैछन्। फेरि भ्याएको भन्दा अनर्थ नलाउनुस् है, के गरेछन् बुझिहाल्नुभयो होला। आदिकवि मात्र होइन, अङ्ग्रेजी नाटकका सम्राट सेक्सपियरका नाटकमा समेत अग्रजका कथा गनाउँछन् भनेर लेखिएको पाइदो रहेछ गुगल पुराणमा।

त्यस्तै, आफ्ना सुरिला व्यङ्ग्य बाणको प्रहारले ठूला ठूला राजनेता र लेखकहरूलाई समेत धूलो चटाउन माहिर अठारौँ शताब्दीको पूर्वार्धमा ब्रिटिश व्यङ्ग्य साहित्यका सगरमाथा मानिने अलेक्जेन्डर पोप समेत अछुतो रहेनछन्। भनिन्छ, उनका व्यङ्ग्य वाणको प्रहारले मन्त्री अनि सांसद पनि छुलुमुतु हुन्थे रे। तर के गर्नु, जो अगुवा उही बाटो हगुवा।
पश्चिमपछि म लागेँ आफ्नै देश नेपालतर्फ। सबैभन्दा पहिले म ठोक्किएँ कवि लेखनाथ पौडेलसँग। कविशिरोमणि लेखनाथ पौडेलको “चरीको विलाप” भन्ने कविता बङ्गाली कवि मैथिलीशरण गुप्तको कविताको प्रति लिपी हो भन्दा रहेछन् बुज्रुकहरु। त्यस्तै, विश्वेश्वरप्रसाद कोइरालाको “दोषी चस्मा” मा रसियन कथाकार एन्तोन चेखवको “डेथ अफ क्लर्क” गनाउँछ भन्नेहरू पनि पाइन्छन् समालोचनाको बजारमा।

अब निबन्धकार शंकर लामिछानेलाई त छाम्नै परेन। शिकारी ठहरिएपछि लेख्नै छोडेका रे। अहिले जस्तो लाज नै लजाउने समय त्यतिबेलै भएको भए लामिछानेले आत्तिहाल्नु पर्ने थिएन। अहिलेका कैयौं भाइरस साहित्यकारका भाँती नमिलेका सयौँ गन्थन भन्दा त लामिछानेका दुई चार बढ्ता निबन्धहरूले नै नेपाली साहित्यको स्तरलाई उकास्न उल्लेखनीय भूमिका खेल्ने थिए होला।

अब हाम्रो समयको त कुरा गरी साध्य नै छैन। अर्काको ज्ञानको सिकार मारेर मान्छे पुरस्कृत भएका छन्। एक जना विदेशी लेखकको लेख चोरेर आफ्नो वृत्ति विकासको बाटो सम्याउने प्राध्यापकले विश्वविद्यालयको उच्च पद पड्काए। सबैले उनको कन्दनी खुस्किएको देखे। हल्ला गरे। भाषण गरे तर उनले भने आफूलाई बोलाइरहेको कुर्सी मात्र देखे। पदमा पुगेपछि नाङ्गो आफैँ छोपिन्छ रैछ। चोरेकै भरमा किताब र लेख प्रकाशन गरेर प्राध्यापक पद पड्काउने त कति कति।

हाम्रो देशमा शिकारी प्राध्यापकहरू पुरस्कृत हुँदै गर्दा विदेशतिर भने कतिपय ज्ञानका शिकारीहरू कारबाहीमा परेर आफ्नो गरिखाने भाँडो नै गुमाएर गुमनाम हुनुपरेको समाचार छापाहरूमा छ्यापछ्याप्ति पाइँदो रहेछ। त्यसले हामी चोरलाई चोख्याउने काममा भने पश्चिमीभन्दा अग्रगामी छौँ भन्ने प्रस्ट पार्छ।

साहित्य मात्र होइन, साहित्यको नजिकको साथी गीत, संगीत र चलचित्रको क्षेत्रमा त यो चोरीको रोग पुरानो हो। गीत र संगीतको चोराचोर गर्ने कुरामा नेपाली र भारतीय सर्जकहरूबीच राम्रै प्रतिस्पर्धा छ भन्न सकिन्छ । प्याज र गोलभेँडा खान त छिमेकीको मुख हेर्नु पर्ने हामीलाई चलचित्रका कथा आयात गर्नु कुन ठूलो कुरा भयो र? कमसेकम कथा त चोरेरै काम चलेको छ। बलिउडमा हलिउडको मसला अनि कलिउडमा बलिउडको मसालाको प्रयोग त चलचित्र चखिलो बनाउने अचुक तरिका नै भएको छ। हिन्दी चलचित्रहरू दिल है कि मानता नहीं, ऐतराज़, बाजीगर, सरकार आदि अंग्रेजी चलचित्रबाट चोरेर बनाइएका केही चलचित्रका उदाहरण हुन्। हिन्दीबाट नेपालीमा चोरिएको त बताउनै पर्दैन।

ठूला-ठूला भनिएका साहित्यकारहरू, गीतकार र संगीतकारहरु सिकारीको आरोप खेपिरहेको देख्दा कविको पदबाट राजीनामा दिनु पर्ला जस्तो लागिरहेको बेला एउटा नयाँ कुराको रहस्य उद्घाटनले केही राहत दियो। ज्ञानका सिकारीहरू साहित्यकारहरू मात्र होइन रहेछन्। ठूला-ठूला वैज्ञानिक, अन्वेषक र प्रविधिका आविष्कारकहरू पनि सिकार मार्न माहिर देखिए। बौद्धिक सम्पतिको चोरी गर्ने कुरामा हामी पूर्वेलीभन्दा पश्चिमीहरू सय गुना अगाडि रैछन्।

वैज्ञानिक ज्ञानको सिकार मार्नेहरूको लहरो तान्दा पहिरो नै गर्जिने रहेछ। । अल्फ्रेड रसेल वालेस (Alfred Russel Wallace) ले डार्विनलाई सिकार बनाएका रहेछन्। हामीले जानी–मानी आएका ग्यालिलियो ग्यालिली टेलिस्कोपका वास्तविक आविष्कारक होइन रहेछन्। पहिलो टेलिस्कोप बनाउने व्यक्ति ह्यान्स लिपर्से (Hans Lippershey) हो भन्दा कसले पत्याउँछ र! विचित्र दुनियाको चित्र देखाउने एक आँखे राक्षस टेलिभिजनको वास्तविक आइडिया रसियन वैज्ञानिक भ्लादिमिर कोस्मा झ्वोरिकिन (Vladimir Kosma Zworyki) को भए पनि टिभीको रोयाल्टी भने अमेरिकन वैज्ञानिक फिलो टेलर फार्न्सवर्थ (Philo Taylor Farnsworth)ले पाए। जसको ठूलो बन्दुक उसैको ठूलो सन्दुक भन्नुजस्तो।

ज्ञान चोरी गर्ने वैज्ञानिकहरूको भिडमा डच सामाजिक मनोवैज्ञानिक डाइडेरिक स्टेपल (Diederik Stapel) को दादागिरीले राम्रो कुख्याति कमाएको रहेछ। डीएनएको सेप पत्ता लगाउने श्रेय रोसालिन्ड फ्र्यांकिन (Rosalind Elsie Franklin)ले नपाएर अरु तीन पुरुष अनुसन्धानकर्ताले पाउनुले आफूलाई आधुनिक र सभ्य ठान्ने पश्चिमीहरूको महिला प्रतिको दृष्टिकोण छर्लङ्ग हुन्छ। रोसालिन्डको योगदानलाई नजरअन्दाज गर्नु पश्चिमी पुरुषवादिताको नाङ्गो दस्तावेज हो। लाइट बल्बका आविष्कारक भनिएका थोमस एडिसन र टेलिफोनका आविष्कारक मानिएका ग्राहम बेल खासमा ती प्रविधिका वास्तविक आविष्कारक होइनन् तर दुनियाँले हो भनेको छ, त्यसैले हो। यहाँ पनि ज्ञानको सिकार भएको छ। तर जे पढाइएको छ त्यही सत्य छ। अब उल्टाउने आँट कस्को?

मानिसले उपभोग गर्ने वस्तुमा मात्र होइन, खाएको विसाउने ठाउँ पनि चोरीको आरोपबाट मुक्त छैन भनेको सुन्दा छक्क नपर्नुहोस्। मानिसको विसाउने आधुनिक चर्पीको फ्लसिङ बनाउने पहिलो वैज्ञानिक सर जोन ह्यारिङ्टन हुन्। उनले आजभन्दा करिव पाँच सय वर्षअघिदेखि बेलायतको रिचमण्ड प्यालेसमा सिङ्क र फ्लसिङ सहितको पहिलो आधुनिक सौचालय बनाए। पछि अलेक्जेन्डर कुमिङ्गले त्यसलाई नयाँ रूप दिए र उनले बौद्धिक सम्पतिको अधिकार हात लगाएको भनेर राजेन्द्र कार्कीले आफ्नो व्यङ्ग्य निबन्ध सङ्ग्रह खाइराइड मा लेखेका छन्।

साहित्यिक शिकारीको इतिहास पछ्याउँदा हिजोका र आजका शिकारी साहित्यकारमा एउटा स्पष्ट भिन्नता देखापर्‍यो। हिजोका शिकारीहरूमा एकरूपता देखिन्छ— अरूले लेखेको कुराको सिकार गरेर आफ्नो बनाउने। तर हाम्रो समयका साहित्यिक शिकारी भने बहुरूपी छन्। यिनीहरूले लुकेर मात्र सिकार गर्दैनन्। यिनीहरूले तपाईंलाई आफ्नै अगाडि शिकार बनाएको कुरा तपाईंलाई नै पत्तो हुँदैन।

यिनीहरूले तपाईंलाई मन पर्ने कुराको पासो थाप्छन्— जस्तो कि तपाईं साहित्यकार हो भने साहित्यिक पद र पुरस्कारको पासो। अनि तपाईंलाई फकाई फकाई लुट्छन्।
कनिकुथी कलम चलाउने यो मनुवा पनि कैयौँ पटक शिकारीको पासोमा परिसकेको छ। अस्ति एउटा पत्रिकाले "तपाईंको कविता हाम्रो पत्रिकाले वार्षिक रूपमा प्रदान गर्ने पुरस्कार पाउन योग्य कविताहरूको सूचीमा परेको छ" भनेर समाचार छाप्यो। दङ्ग परेर फेसबुकमा सेयर ठोकियो र साथीहरूसँग खोकियो— "केटाहरू हो! देख्यौ, मेरो कविता पुरस्कृत हुने भो !"

धेरैजसो साथीहरूले अनुहार खुम्च्याएर ठुलै बिघ्न पर्न आँटेझैँ गरेर बधाई दिए। कसैकसैले भने मन खोलेर प्रशंसा गरे। घरमा बुढीसँग पनि बडेमानका गफ गरियो।
एका एक पुरस्कृत कवि हुन लागेको आत्म रातिमा राति ओछ्यानमा बुढीतिर पनि नफर्की कल्पनामा हराइरहेको बेला फोनमा म्यासेज आयो। हतारहतार फोन हातमा लिएँ।
बुढी गाली गर्दै थिई— "सुतेपछि पनि कति त्यही फोनमा झुण्डिएको!"

बुढीको गालीलाई बालै नदिई म फोन हेर्न थालें। बुढीको माया भन्दा पुरस्कार ठूलो हुने नै भयो। त्यही पत्रिकाका सम्पादकले म्यासेज गरेका रहेछन्। चिप्ला शब्दको लेपन लगाइएको उक्त म्यासेजको अन्त्यमा लेखिएको थियो—
"तपाईं जस्तो तगडा कविलाई तिखारेर भाइरल बनाउन कटिबद्द हाम्रो पत्रिका चलाउन आर्थिक सहयोग आवश्यक भएको हुँदा हजुरबाट पाँच सय डलरसम्मको सहयोगको आशा गरेका छौँ।"

म त म्यासेज पढेर हेरेको हेरेकै भएछु। हेर्नुस् त आधुनिक साहित्यिक शिकारीहरूको चलाखी— एउटा हातले चन्दा माग्ने, अर्को हातले पुरस्कार दिएजस्तो गर्ने।
पुरस्कार दिने नेपाली पाँच हजार, चन्दा लिने अमेरिकी पाँच सय। चार सय पचास डलरभन्दा बढी फाइदा।
तर म पनि साना तिना काठले नडढ्ने खालको कवि परेँ। एउटा म्यासेज छोडिदिएँ—
"बरु कविता लेख्न नै छोडिदिन्छु तर आफैँ पैसा तिरेर पुरस्कार चाहिँ थाप्दिन। मलाई कविका नामको कलङ्क बन्नु छैन।"
चिप्लो बोली सिकारी साहित्यकारहरूको सिकार गर्ने गोली हो। कृषकले मकैका बोटलाई उकेरा दिएझैँ तपाईंलाई शब्दको उकेरा दिन्छन्। तपाईंको दिमागमा शब्दका युरिया मल हालेर आफ्नो मलिलो बारी बनाउँछन्। तपाईंको प्रशंसामा चार पाथी चिप्ला शब्द खर्च गर्छन्। तपाईं प्रशंसाको सागरमा पौडिँदा पौडिँदै आत्मरतिको भुमरीमा फस्नुहुन्छ। त्यो भुमरीमा फसेपछि तपाईंले विवेक र हैसियत बिर्सनुहुन्छ।

यिनीहरूले तपाईंलाई एकाएक महान् बनाउँछन्। तपाईंलाई नै थाहा हुँदैन तपाईं किन, कसरी, के गरेर महान् हुनुभयो भनेर। तपाईंलाई महान् बन्न समय नै लाग्दैन। गान्धी, बि.पी., नेल्सन, अनुराधाहरू तपाईंलाई एकाएक सामान्य लाग्न थाल्छन्। त्यसरी फोस्सामा महान् हुन पाएपछि कसको मन पग्लिँदैन होला!

सिकारीहरु सलुकी हुन्छन्। तपाईंलाई चिप्लो घसेर, तपाईंको मनमा बसेर तपाईंलाई जोख्छन्— यो मान्छे मुर्गा हुन लायक छ कि छैन भनेर। त्यहाँ तपाईंको प्रतिक्रियाको पर्खाइ हुन्छ यिनीहरूलाई। तर त्यो सबैमा लागू हुन्छ भन्ने होइन। तपाईं कत्तिको प्रशंसाको भोक हो।तपाईंलाई कति छिटो ठूलो मान्छे भएको जस्तो देखिने रहर छ । सामाजिक सञ्जालमा आफ्ना नामका सम्मानपत्रको फोटो हालेर समाजसेवी भएको फुर्ति लगाउन तपाईंलाई कत्तिको हतार छ। दुई पैसाको काम गरेर दुनियाको दुःख हरण गरेको भनेर गफ लडाउँदा तपाईंलाई कत्तिको मजा आउँछ। अथवा तपाईं कत्तिको गाई प्रवृत्तिको व्यक्ति हो— यी कुराहरू ती सिकारी साहित्यकारहरूले बुझ्छन्।

जब उनीहरूलाई यकिन हुन्छ कि “यो मूर्ख चाहिँ मुर्गा बनाउन योग्य छ,” तब उनीहरू तपाईंलाई दुहुन थाल्छन्। पहिले दुई–चार सयबाट सुरु हुन्छ, अनि त्यो बढ्दै जान्छ, बढ्दै जान्छ र हजार अनि लाखतिर पुग्छ।

एकै पटक धेरै दुहिएका मुर्गाहरू भड्किन सक्छन् भन्ने कुरामा सिकारीहरू सजग हुन्छन्।
विभिन्न वेबसाइटमा निःशुल्क पाइने ग्रिटिङ कार्डका टेम्प्लेटमा गुलिया शब्द थुपारेर बनाइएका सम्मान र प्रशंसा पत्र सिकारी साहित्यकारले प्रयोग गर्ने जादुका छडी हुन्। ती जादुका छडीले तपाईंको आँखा अगाडि देखाइदिएको रङ्गीन दुनियाँ सुरु सुरुमा तपाईंलाई रमाइलो लाग्छ, किनकि सामाजिक सञ्जालमा ह्यत्तै तपाईंलाई बधाई र शुभकामना दिने मित्रहरूको बाढी चल्छ।

तपाईं फुर्के मान्छे हो भने तपाईंको शरीरमा “गुजबम” आउन पनि सक्छ। तपाईंलाई आफ्नो हैसियत फेरिएको महसुस हुन सक्छ। तपाईंले आफ्ना वरिपरिका मान्छेलाई साना देख्न थाल्नुहुन्छ। तपाईंलाई अर्ति र उपदेश दिउँ–दिउँ जस्तो लाग्न सक्छ। तपाईं एक्लै बर्बराउन थाल्न सक्नुहुन्छ । तर जब तपाईंले आफ्नो धरातल थाहा पाउनुहुन्छ । जब तपाईंलाई थाहा हुन्छ कि यो एउटा ट्रयाप हो । जब तपाईंलाई थाहा हुन्छ कि तपाईं मुर्गा बन्दै हुनुहुन्छ, तब तपाईं सिकारीहरूबाट टाढा भाग्न खोज्नुहुन्छ।

तपाईंले भन्न सक्नुहुन्छ, “मित्र, अब पुग्यो। मलाई योभन्दा धेरै मुर्गा हुनु छैन। अबदेखि म तपाईंको मुर्गा होइन, मित्र हुँ।” तपाईंले छाडे पनि सिकारीले अन्तिम अवस्था सम्म तपाईंलाई दुहुन प्रयास गर्न छोड्दैन। अथवा, उस्तै घमण्डी सिकारी हो भने भन्न सक्छ, “मसँगको दूरी तपाईंलाई महँगो पर्न सक्छ। यदि मसँग सम्बन्ध राम्रो राख्ने हो भने मलाई बीस हजार दिनुहोस्।” अथवा तपाईंले सम्पर्क टुटाएकै दिनदेखि त्यो सिकारी तपाईंका नजरबाट गायब हुन्छ। तपाईंलाई यस्तो भान गराइदिन्छ कि तपाईंले कहिल्यै उसलाई चिन्नु भएकै थिएन, तपाईंको उसँग कुनै कारोबार नै थिएन।

सिकारी साहित्यकार र बिराला उस्तै–उस्तै हुन्। बिरालोले मान्छेको मुखमा पस्न लागेको गाँस देखेर म्याउँ–म्याउँ गर्छ। सिकारी साहित्यकारहरूले अर्काको गोजीमा भएको पसिनाको कमाइ देखेर मुख बाउँछन्। बिरालाको म्याउँ प्राकृतिक हो तर यी सिकारीहरुको नखरा बनावटी र कपटपूर्ण हुन्छ।

बिरालोले पनि मौका पायो भने खानेकुरा चोर्छ जुन उसको प्रकृतिले दिएको गुण हो। सिकारी साहित्यकारले पनि मौका पाए भने अर्काको कविता, गजल, मुक्तक वा जे पाउँछन्, त्यही चोर्छन् र “भाइरल साहित्यकार” बन्ने मृगतृष्णा पूरा गर्छन्। जुन जन्तुलाई उनीहरु गाली गर्छन् तिनबाट यी सिकारीहरूले सिक्ने कुरा धेरै छन्।

खासमा गहिरिएर विचार गर्दा हामी पूर्वेलीहरू कृष्णको भजन गाएर ताली बजाउन मग्न भएको बेला पश्चिमीहरूले तीनै कृष्णको उपदेश ‘काम गर, फलको आस नगर’ लाई जीवनको लय बनाएर विकासमा फड्को मारे। हामी कृष्ण र रामको भजनमा मस्त भएको बेला उनीहरू काममा व्यस्त भए। त्यसैले त हाम्रा सन्तान खाडी जाँदा उनका सन्तान चन्द्रमामा गएका हुन्। पश्चिमीहरूले कृष्णले देखाएको ज्ञानको बाटो पछ्याएर विकास गरे र अघि बढे, हामी भने भजन गाउँदै एउटै ठाउँमा थच्किरह्यौ । हाम्रै ज्ञान चोरेर उनीहरू सम्पन्न भए, हामी भने मागी खाने भयौँ।

ब्रम्हाका सन्तानलाई ब्रम्हज्ञान कहिले प्राप्त होला?

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।