हरेक टेलिभिजन च्यानलका स्क्रीन र न्युज पोर्टलका होमपेज जताततै आन्दोलनमय देखिएका थिए । समाचार ब्रेकिङको प्रतिस्पर्धामा सडकमा गाडी र सरकारी कार्यालय जलाइएका समाचार आइरहेका थिए । उसका औंला मोबाइलका स्क्रीनमा स्क्रोल गर्न व्यस्त थिए ।
‘बाहिर के बिधि गरेका हँ ? फलाना नेताका घर त जले रे नि ?’ बाले आत्तिँदै भन्नुभयो ।
‘ओहो, बाहिर त गइसक्नु छैन रे, गोली पो हान्यो रे त पुलिसले ?’ आमाले डराएका आँखा पार्दै भन्नुभयो ।
‘बाबा आज नजानु न, सिचुएसन त्यति गुड छैन रे नि मैले भर्खर डिस्कोर्डमा हेरेको, ठूला ठूला भवन जलाउने भनेका छन् नि,’ घरको जेन जी अर्थात् छोरो आग्रह गरिरहेको थियो ।
तर, म अफिस जानु नै थियो । मोबाइलमा बारम्बार घण्टी बजिरहेको थियो– ‘गाडी पठाउने अवस्था छैन, सडकमा जताततै जुलुस छ, जताततै टायर बालेका छन्,। हिँडेर भए पनि आउनू । नभए काम गर्ने मान्छै छैन ।’
कहिले टीभी, कहिले मोबाइलको स्क्रीन, हेर्दै सडकको अवस्था बुझिरह्यो ।
अन्ततः उ अफिस हिड्यो, उसको पूरानो प्रिय बाइक स्टार्ट गर्यो ।
शहर धुँवाले भरिएको थियो । सडकका चोक, गल्ली जताततै टायर बालिएका थिए । कतै गाडी, मोटरसाइकल थुपारेर जलाइरहेका थिए ।
मान्छे भेला भएर नयाँ परिवर्तनका कुरा गरिरहेका थिए । सरकारले अघिल्लो दिन गरेको अत्याचारको कुरा गरिरहेका थिए ।
मूल सडकमा निस्कनेबित्तिकै आँखा पिरा भए । भर्खरैमात्र पुलिसले टियर ग्याँस हानेको बुझ्न गाह्रो थिएन । टियर ग्याँसका कारण झरेका तातो आँसु गालाबाट झर्दा चिसो भइरहेको थियो । सडकमा इँटा, ढुंगा र सिसाका टुक्रा असरल्ल भएकाले मोटरसाइकल हाँक्न गाह्रो भइरहेको थियो । तै पनि उ सकेसम्म स्पीड बढाउने कोशिश गर्दै थियौ । ठाउँ–ठाउँमा देखिने गोलीका खोकाले सडक कुनै युद्धभूमिजस्तै लाग्थ्यो ।
जतिसक्दो चाँडो अफिस पुग्नु थियो ।
तर, पर कतै नारा लगाइरहेजस्तो लाग्यो उसलाई । मोटरसाइकल सडकको एक कुनामा साइड लगाएर आवाज ध्यान दिएर सुन्यो । आवाज उ भएतिरै आइरहेको थियो । रोकेर हेर्यो, अलिक पर एउटा ठूलो जुलुस देखियो ।
फलानो चोर देश छोड, फलानो मुर्दावाद, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गरजस्ता नारा लगाउँदै आइरहेको भिड देखेर उ अत्तालियो । पछाडि फर्केर भाग्न सक्ने स्थिति थिएन र अगाडि भिड छिचोल्ने सम्भावना पनि थिएन । के गर्ने, के नगर्ने मनस्थितिमा सडक छेउमा मौन बसिरह्यो ।
उ त्रसित मनस्थितिमा थियो । आफूमाथि कुटपिट या आक्रमणभन्दा पनि मोटरसाइकल जलाउँछन् कि भन्ने डर लागिरहेको थियो । किनभने, जति उ परिवारलाई माया गर्थ्यो, मोटरसाइकलप्रति झन् बढी माया थियो । मोटरसाइकल निर्जिव थियो, तर, परिवारको सदस्यभन्दा बढी थियो ।
०००
बा ४७ प ९६६९ ।
मोटरसाइकल किनेको खबर पाउनेबित्तिकै रमिला निकै खुसी भएकी थिई । किनेको रुपकले थियो । तर अनुहारमा खुसी छाएको थियो रमिलाको ।
‘किन यति साह्रो खुसी नि ? दुःख गरेर किन्ने म, खुसी तिमी हुने ?,’ रुपकले खिस्याउने पाराले रमिलालाई भन्यो ।
‘किन नहुने त खुसी, तिमी घुम्न जान नटेर्ने होइन ? ल मोटरसाइकल भएपछि नगई सुक्ख ? अब नगरकौटदेखि चित्लाङसम्म यही मोटरसाइकलमा घुम्न जाने हो,’ रमिलाले खित्का छाड्दै भनेकी थिई ।
रुपकलाई नै थाहा छ, कति दुःखले किनेको हो यो मोटरसाइकल । पढ्न भनेर राजधानी छिरेदेखि नै मोटरसाइकल चढेर काठमाडौैको सडक चहार्नु उसको सपना थियो । कलेज जाँदा सँगैका साथीले मोटरसाइकल हुइँक्याएको देख्दा मन अमिलो पारी पारी सडक नापेको पीडा उसले खपेको छ । उ अझै सम्झन्छ–एक दिन चर्को घाममा पसिना काढेर संहदरबारअगाडिको सडकमा लुईं लुईं हिँडिरहँदा एक क्लासमेटले झ्याप्प मोटरसाइकल रोकेर भनेथ्यो–मित्र खै त मोटरसाइकल ? किन्नुप¥यो क्या अब त ।
त्यसदिन उ साथीले जिस्क्याएको हो कि हेपेको हो, छ्ट्याउन नसकेर अलमलमा परेको थियो ।
जवाफ दिएथ्यो–किन्ने नि, किन नकिन्ने । अलि मिलिरहेको छैन क्या ।
तर, के मिलेको छैन, किन मिलेको छैन, उसलाई सबै थाहा छ । साथीलाई के थाहा ?
त्यही दिनदेखि हो, उसको मोटरसाइकल सपनाले जरा गाडेको ।
अनि, उसले मासिक रुपमा केही सय, हजार जम्मा गर्न थाल्यो । तर, जति जम्मा गर्थ्यो, महिना मर्नेबित्तिकै त्यहीँबाट झिकेर घरबेटीलाई बु्झाउने बाध्यता पनि छँदै थियो ।
झिकिरहेपछि पानी त सकिन्छ, झन् पैसा । कहिल्यै भनेजति भएन । कहिल्यै पुगेन । आमा भन्नुहुन्थ्यो–कुबेरको त ढुकुटी सकिन्छ, हामी त मान्छे । उ थियो मामुली मान्छे, न गतिलो जागिर, न पारिवारिक आडभरोसा । निरन्तर संघर्ष गरिरह्यो । पैसा जम्मा गर्ने प्रयत्न गरिरह्यो ।
दशौं वर्ष बितैपछि केही हजार रकम जम्मा भयो, त्यसका लागि कति वर्ष दिउँसोको खाजा खाएन, कति वर्ष गाडी चढेन, सडकमा पैदलै हिड्यो, यो कुरा रमिलालाई के थाहा ? र, भन्ने आवश्यकता पनि देख्दैन उ।
अनि, लामो संघर्षपछि केही हजार रुपैयाँ बुझाएर सेकेन्डह्यान्ड मोटरसाइकल किनेको थियो उसले ।
तर कलेजकी साथी रमिलालाई यी कथासँग मतलब हुनै कुरै भएन । उसलाई मतलब थियो त–रुपकको पछाडि बसेर हावामा कपाल उडाउँदै नगरकोट पुग्ने ।
रमिलालाई उसले हार्न सकैन । केही पैसा सापटी मागेर तेल हालेर भए पनि उ एक दुई चोटी नगरकोट पुग्यो, एक दुई चोटी चित्लाङ पुग्यो । मन आपसमा साटिँदै गयो ।
केही वर्षपछि रमिला र रुपकले बिहे गरे।
मोटरसाइकलले पंख हालिदिएको जीवनको उडानले गति लियो । छोराछोरी जन्मिए ।
छोरोलाई मोटरसाइकलको अगाडिपट्टी ट्यांकीमाथि राखेर हिँड्दा छोराले कैयौंपटक भनेको छ–बाबा अलि छिटो चलाउनु न, अनि पो मज्जा आउँछ ।
अनि एक्सिलेटर बटार्छ, छोरो असिम खुसीले चिच्याउँछ–याहू....
छोराको भन्दा उसको खुसी झन् दुई गुणा बढ्छ । उ झन् चर्कौ स्वरमा चिच्याउँछ–याहू...
पछाडि उसको कम्मर समातेर बसेकी रमिला रिसाउँछे–के गरेको त्यस्तो, बाटो हिँड्नेले सुने बहुलाएछ भन्लान् ।
रुपक चुप लाग्छ। तर, छोराको खुसी रोक्ने कसले ?
एक दशकभन्दा बढी चलाइसकेको छ उसले मोटरसाइकल । यो अवधिमा मोटरसाइकल उसको कार भएको छ, जसले उसको छोराछोरी, श्रीमती र उ गरी चार जनालाई बोकेर सडक सडकमा बत्तिन्छ । चार जना बोकेर उकालो हिँड्दा अलिकता ठूलो स्वरले रिसाएझै कराउँछ,मोटरसाइकल । बस् अरु बेला चुपचाप साथ दिइरहन्छ ।
यो अवधिमा ट्रक भएको छ मोटरसाइकल, जसले पिट्युँमा चामल, पानी, बोरा, सब चिज बोकेर टकको काम गरेको छ।
एम्बुलेन्स त कति बन्यो बन्यो । श्रीमती होस् या छोराछोरी, मध्यरातमा बिरामी हुँदा मोटरसाइकलमा बोकेर कैयौं रात अस्पताल कुदेको छ । कहिलेकाहीँ त उसलाई लाग्छ–यो मोटरसाइकल नभएको भए त परिवारको हालत के हुन्थ्यो होला ?
झमझम पानी परेका बेला होस् या हिउँदको चिसो बिहान । उसले एक्सिलेटर बटारेर आदेश दिनेबित्तिकै यात्रामा सरिक भइदिन्छ ।
मोटरसाइकल निर्जिव भए पनि रुपक र उबीचकौ भावनात्मक सम्बन्धका अनगिन्ती कथा छन् ।
सपनामा मोटरसाइकल हराएको देख्दा उ कैयौं रात झसंग भएर उठेको छ र राति नै उठेर पार्किङमा हेर्न पुगेको छ । अनि, उस्तै शान्त भएर उभिएको देख्दा ढुक्क भएर सुम्सुम्याएर फर्केको छ ।
र, पानी पर्दा निथ्रुक्क नभिजोस् भनेर र घाम लाग्दा उसलाई नपोलोस् भनेर रेनकोट ओढाए पनि उसको मन ढुक्क हुन्छ ।
०००
बिजुलीको झड्का लागेजस्तो कसैले पाखुरामा झ्वाट्ट तानेजस्तो लाग्यो उसलाई । डराई–डराई मुखमा हेर्योे, उसकै स्कुले साथी दिवाकर थियो।
‘ओइ के वाल्ल परेर टोलाइरहेको तँ यहाँ ?,’ दिवाकरले सोधेपछि उ झसँग भयो ।
‘छिटो फर्की उता, के थाहा भीडले तेरो मोटरसाइकल जलाउन सक्छ, मैले देखेर हतार हतार, भन्न आएको,’ दिवाकर उसलाई तानिरहेको थियो ।
यति भनेर दिवाकरले मोटरसाइकल फनक्क घुमाएर उसलाई सिटमा राखिदियो ।
एक्सिलेटर बटारेर त्यहाँबाट बत्तिएको उ, कतिखेर घरा आइपुग्यो पत्तै पाएन ।
घर छिरेर मोटरसाइकल पाकिङ गर्नेबित्तिकै टेलिभिजन खोल्यो ।
ब्रेकिङ न्युज चलिरहेको थियो–आन्दोलनका कारण १९ युवाको मृत्यु ...