18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बद्री उप्रेती र उनको ‘काउसो’ मुक्तकसङ्ग्रह

कृति/समीक्षा केशु बिरही October 18, 2025, 1:32 pm
केशु बिरही
केशु बिरही

काउसो भन्ने वित्तिकै मानिसको मनमा एक प्रकारको भाव उत्पन्न हुन्छ । सम्झिदा मात्र पनि मन त्यसै सिरिङ्ग हुन्छ । काउसोलाई नेपाली बृहत् शब्दकोशले ‘हेर्दा सिमीजस्तै देखिने, कोसामा विषालु सेतो झुस हुने, सो झुस शरीरमा लाग्दा असाध्य चिलाउने लहरो हो’ भनेको छ । काउसो औषधीका रूपमा प्रयोग हुने वस्तु हो । धेरैले त यसलाई हाम्रो शरीरलाई पीडा दिने एक प्रकारको खराब पदार्थ हो भन्ने मात्र बुझेका हुन्छन् तर यो हाम्रो छालालाई पीडा मात्र नभएर फलफूल तथा औषधीका रूपमा प्रयोग हुने पदार्थ पनि हो । यसलाई बहुउपयोगी वस्तुका रूपमा लिन सकिन्छ । अफ्रिका र एसियाको उष्णकटिबन्धीय क्षेत्रमा पाइने यसलाई झार मार्ने औषधीका रूपमा प्रयोग गरिन्छ । यसलाई आदिवासीहरूले शर्पदंश औषधीका रूपमा प्रयोग गर्ने गर्दछन् । यसका धेरै गुण रहेका छन् ।

यही बहुउपयोगी वस्तु काउसोले नेपाली साहित्यमा पनि प्रवेश पाएको छ । काउसो के हो भनेर बुझ्न बद्री उप्रेतीद्वारा लिखित ‘काउसो’ मुक्तकसङ्ग्रहको ४ नं को मुक्तकलाई हेरौँ :
ज्ञान दिन्छ, विवेक पलाउँछ, बिस्तारै सिँढी चढाउँछ
राम्रोसँग अध्ययन गरिएमा साहित्यको रस पढाउँछ
शब्द मात्र चिलाएका हुन्, नगर्नू हेला काउसो भनी
यो पार्किन्सनको औषधी हो, यसले जीवन बढाउँछ । (पृ.२)

‘काउसो’ बद्री उप्रेतीको २०८१ सालमा प्रकाशित मुक्तकसङ्ग्रह हो । ‘हामी र हाम्रो कृति समाज’ मार्फत यो कृति बाहिर आएको हो । राजेन्द्र तारकिणीको सुन्दर आवरण रहेको यस कृतिलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईसहित मुक्तक विधाको विकासमा अहोरात्र रूपमा खटिरहेका सुनिल अधिकारी, मदन नेपाललगायत केही व्यक्तिका भूमिका तथा शुभकामनाका शब्दले यसलाई थप ओजपूर्ण बनाएको छ । यसमा ‘मनका कुरा’ शीर्षक दिएर लेखकको छोटो मन्तव्य पनि समावेश भएको छ ।
२०२१ फागुन ०२ गते शिवपुरी– ८, थानापति, नुवाकोटमा पिता निर उप्रेती र माता तेजकुमारी उप्रेतीका दोस्रो सन्तानका रूपमा जन्मिएका बद्री उप्रेती २०४५ सालमा विराटनगर, मोरङ निवासी पिता केदारप्रसाद घिमिरे र माता रेहना घिमिरेका पहिलो सन्तान नम्रता घिमिरेसँग विवाह बन्धनमा बाँधिएका छन् । पछिल्लो समय का.म.न.पा. १६, नयाँबजार, काठमाडौँलाई स्थायी ठेगाना बनाएका उनीहरू (बद्री–नम्रता) का कृपा उप्रेती (बस्नेत), नेहा उप्रेती (खनाल) र श्वेता उप्रेती (खरेल) नाम गरेका तीन जना सन्तान रहेका छन् ।
नुवाकोटबाट निस्कने एउटा साप्ताहिक पत्रिकामा ‘अवोध बालक’ शीर्षकको रचना प्रकाशित गरेर नेपाली साहित्यमा प्रवेश गरेका उनी मुक्तक विधामा बढी रमाएका छन् । मुक्तकका अतिरिक्त कविता, गीत, कोपिला, साइनो, हाइकु, सेन्यु आदि विधामा समेत कलम चलाउँदै आएका उनका ‘चिराइतो’ (२०८०) र ‘काउसो’ (२०८१) गरी दुईओटा मुक्तकका पुस्तक प्रकाशित भएका छन् । यी कृतिका अतिरिक्त उनका ‘मुक्तक माधुर्य’ र ‘हातेमालो स्फुरण’ जस्ता केही संयुक्त कृतिसमेत प्रकाशित भइसकेका छन् । त्यस्तै ‘हामी र हाम्रो कृति समाज’ ले प्रकाशित गरेका दुईओटै संयुक्त कृतिमा उनका मुक्तक रचना समेटिएका छन् । यसरी हेर्दा चिराइतो उनको एकल रूपमा प्रकाशित भएको दोस्रो कृति हो ।
कुनै पनि कृतिको शीर्षकले पनि मानिसलाई प्रभाव पार्न सक्छ । कुनैको त नाम सुन्दै त्यो कस्तो कृति होला, पढ्न पाए हुने भन्ने मनमा कौतुहल पैदा हुन्छ । बद्री उप्रेतीका पुस्तकका शीर्षक पनि त्यस्तै खालका हुने गर्छन् । केही फरक बनाउने उनको बानी रहेको छ । शीर्षकबाटै पाठकलाई आकर्षित गर्नु उनको कला पनि हो ।
काउसोभित्र विभिन्न भावका ३११ ओटा मुक्तक रहेका छन् । उनका मुक्तकले विविध विषयवस्तुलाई उठाएका छन् । उनका रचनामा माया–प्रेम, घ्रिणा, आक्रोश, अभाव, पीडाका अतिरिक्त विकृति, विसङ्गति आदिले नै प्रमुख स्थान पाएका छन् । उनका मुक्तकले प्राकृतिक सुन्दरतालाई पनि विषयवस्तु बनाएका छन् । उनी अरूभन्दा पनि विकृति र विसङ्गतिविरुद्ध निकै आक्रामक देखिन्छन् । विकृति र विसङ्गतिविरुद्ध कडा व्यङ्ग्य प्रस्तुत गर्नु उनको धर्म रहेको छ ।
खराब राजनीतिले समाजलाई विशाक्त बनाएको छ, विभाजित बनाएको छ । बाहिर एउटा कुरा हुन्छ तर काम भने भित्रै अर्कै हुन्छ । पर्दाभित्र अनेकन तिकडम गर्ने तर पर्दाबाहिर इमानदार देखिनेलाई उनले यसरी व्यङ्ग्य गरेका छन् :
जालझेलको समय छ, जालझेल हुन्छ
नचाहिनेहरूसँग नै अनैतिक मेल हुन्छ
पर्दाबाहिर त इमानदार देखिन्छन् सबै
तर त्यही पर्दाभित्र अनौठो खेल हुन्छ । (पृ.९)

राजनीतिले सही बाटो नपक्रिएपछि जनता निरास हुनु स्वभाविककै हो । चुनाव जितेर गएको नेता अर्को निर्वाचन नआएसम्म गाउँ फिर्दैनन् । जनतालाई चुनावका बेलामा मात्र सम्झने, अर्थात् जनतालाई भोटब्याङ्क मात्र ठान्ने प्रवृति मौलाउँदो छ । हुन त यो प्रवृत्ति नेतामा मात्र नभएर सबैमा रहेको उनको भनाइ रहेको छ । नेताले मात्र नभएर लेखक स्वयम्ले पनि सहर पसेपछि गाउँलाई भुलेको कुरा यहाँ स्वीकार गरेका छन् । यसमा राजनीति तथा समाजप्रति व्यङ्ग्य गरिएका धेरै मुक्तकहरू रहेका छन् । आफ्ना बाचाकसम बिर्सिएका कुरालाई मुक्तकमा उलने यसरी उठाएका छन् :
झुपडी चटक्कै बिर्सियौ, महलमा बसेपछि
अहिले गाउँ सम्झियौ कहरले घाँटी कसेपछि
दोष तिम्रो मात्र छैन, तिमीले मात्र कहाँ हो र
मैले पनि त गाउँ बिर्सिएँ, म सहर पसेपछि । (पृ.३४)

उनका रचनामा नारीको महिमागान गाइएको छ । नारी आमा हुन्, प्रेमी, पत्नी वा छोरी हुन् । नारी सबथोक हुन् । नारीको महिमा वा महानता निकै ठुलो रहेको छ । नारीले आफूलाई मात्र नभएर सिङ्गो परिवार वा सिङ्गो समाजलाई प्राथमिकता दिएकी हुन्छिन् । नारीलाई सम्मान गर्नुपर्ने उनको विचार रहेको छ । उनी नारीलाई घृणा नभएर सधैँ माया गर्न सल्लाह दिन्छन् । नारीलाई माया गर्नुपर्ने भाव यसरी व्यक्त गरिएको छ :
एकदिन मात्र हैन हजुर लगातार गर्नुपर्छ
हेला गर्नुहुन्न नारीलाई हेरविचार गर्नुपर्छ
हाम्रै लागि यति धेरै दुःखकष्ट गर्छन् जसले
तिनका लागि बदलामा दोब्बर प्यार गर्नुपर्छ । (पृ.११)

उनी मुक्तकमार्फत विकृत र विसङ्गतिविरुद्ध व्यङ्ग्य मात्र नभएर अर्ती उपदेशसमेत दिने गर्दछन् । जस्तै :
नराम्रो नभनुन् कसैले, सबको मनमा छाउन सक्नू
शक्ति दिउन् भगवान्ले, लाखौँ माइल धाउन सक्नू
दुःख नहोस् कहिल्यै तिमीलाई मनैदेखि दिएँ आशिष्
मैलेजस्तै माया गर्ने अरू, हजार मुटु पाउन सक्नू ।। (पृ.७)

समय, स्थान, व्यक्ति र परिवेशअनुसार सत्य फरक फरक हुनसक्छ । एक ठाउँमा सत्य लाग्ने कुरा अर्को ठाउँमा सत्य लाग्छ वा लाग्नुपर्छ भन्ने पनि छैन । तर सत्य फरक फरक भए पनि तथ्यचाहिँ एउटै हुने कुरालाई मुक्तमा यसरी व्यक्त भएको छ :
रात सकिएपछि, बिहानीमा घाम आउने गर्छ
मलामी होस् या जन्ती, फूल काम आउने गर्छ
कसैलाई त्यही फूल बेचेर खान पुग्दैन यहाँ
तर भष्टहरूलाई भने, घरमै दाम आउने गर्छ । (पृ.१३)

सारमा भन्दा बद्री उप्रेतीका मुक्तकहरूले समाजमा भएका यावत कुरालाई सशक्त रूपमा उठाएका छन् । चार लाइनमा सबै कुरा भन्न सक्नु मुक्तकको विशेषता नै हो । मुक्तकलाई छोटो तर शक्तिशाली विधाका रूपमा लिने गरिन्छ ।
शिवपुरी सन्देश, हातेमालो साहित्य संगमजस्ता संस्थामा संलग्न रहेर काम गरेका बद्री उप्रेती मुक्तकको विकासमा सक्रिय संस्था ‘हामी र हाम्रो कृति समाज’ का सचिव पनि हुन् । एक जना पर्यटन व्यवसायीसमेत रहेका उनले तीन दशकभन्दा बढी समय हस्पिटालिटी उद्योगमा बिताएका छन् । सेवानिवृत्त जीवन व्यतीत गरिरहेका उनी पछिल्लो समय भने नेपाली साहित्य, त्यसमा पनि मुक्तकको विकासमा निकै सक्रिय देखिएका छन् । उनको थप साहित्यिक उन्नयनको कामनासमेत गर्दछु । जय साहित्य ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।