18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आधुनिक लक्ष्मी

निबन्ध विमल लामिछाने October 18, 2025, 1:35 pm
विमल लामिछाने
विमल लामिछाने

हाम्रा संस्कृति र परम्पराले महिलालाई पूजा गर्न जान्दछ तर सुन्न, साथ दिन र बराबरी गर्न असजिलो ठान्दछ । लक्ष्मीलाई मूर्तिमा राखेर पूजा गर्ने समाज वास्तविक जीवनमा महिलाको श्रम, बुद्धि र सीपलाई अझै पनि द्वितीय मान्दछ ।

नेपालजस्तो देशमा जहाँ महिलाहरूलाई परम्परागत ‘लक्ष्मी’ का रूपमा चिनिन्छ, त्यही लक्ष्मी वास्तविक जीवनमा आर्थिक निर्णयहरूबाट अलग गरिन्छिन्, भौतिक सम्पत्तिमा अधिकारबाट बञ्चित रहन्छिन् ।

एक्काइसौँ शताब्दीकी लक्ष्मी अब पूजाको प्रतीक मात्र होइन, उनी मानव अधिकार, आत्मनिर्भरता र आर्थिक स्वावलम्बनको प्रतीक बन्नुपरेको छ । ‘घरको लक्ष्मी’ भन्ने परम्परागत सीमाहरूलाई चिर्दै अगाडि बढेकी छन् ।

अब हामीलाई अपेक्षित अदृष्य लक्ष्मीको बास होइन, साक्षात घरकी लक्ष्मीको खुशी र साथ चाहिएको छ । लक्ष्मी अब आरतीको थालीमा सीमित होइन, एक्काइसौँ शताब्दीमा उनले आफ्नो अस्तित्व पुनर्लेखन गरिरहेकी छिन्, अब उनी सुवर्णमुद्रामा होइन, श्रमको पसीनामा भेटिनुपर्छ । उनी अब देवीको रूप लिएर स्वर्गीय लोकमा बस्दिनन्, उनी यो भूमिमा जन्मिन्छिन्, हुर्किन्छिन्, संघर्ष गर्छिन् र परिवर्तनको संवाहक बन्न अग्रसर हुन्छिन् ।

उनी त्यहाँ भेटिन्छिन्, जहाँ आमा बिहान ४ बजे उठेर गहुँ पिस्न छिमेकीको जाँतोमा पुग्छिन्, छोरीको स्कुल खर्च जोहो गर्न किफायती बजेट बनाउँछिन् । उनी त्यहाँ छन्, जहाँ किशोरीले ट्याबमा कोडिङ्ग सिकेर ‘फ्रिलान्सिङ्ग’ मा आत्मनिर्भर बन्ने सपना देखिरहेकी छिन् ।

महिलाहरूको उल्लेख्य संख्या अझै पनि असंगठित क्षेत्रमा छ, जहाँ तलब छैन, सुरक्षा छैन, न त श्रमको मान्यता नै छ । अब लक्ष्मी यी निमुखा, यस्ता दिनहिन र दुखीहरुको पाउमा शक्ति बनेर पुग्न सकून् । एक्काइसौँ शताब्दीकी लक्ष्मीको अस्तित्व अब आर्थिक असमानता, सांस्कृतिक दमन र संरचनागत भेदभाव विरुद्धको संघर्षमा प्रतिफल बनेर झुल्किएको देखिनु पर्छ ।

नेपाल सरकारले “राष्ट्रिय लैङ्गिक समानता नीति २०७७” लागू गरेको छ, जसले महिला अधिकार, सुरक्षा, सहभागिता र आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ । यस नीतिको उद्देश्य मात्र सुरक्षामै सीमित छैन । यसले महिलाको श्रमलाई मान्यता दिने, घरेलु कामको मूल्याङ्कन गर्ने, उद्यमशिलता बढाउने र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ । साथै, कानुनी सुधार अन्तर्गत पारिवारिक कानुनमा पुरुषको बहुविवाहलाई मात्र दण्डनीय देखाउने ऐनलाई परिमार्जन गर्ने प्रस्ताव पनि अघि बढिरहेको छ । यो संरचनात्मक पितृसत्तालाई चुनौती दिने प्रयास हो । यी नीति र कानुनी संरचनाहरूले लक्ष्मीको वास्तविक पुनःस्थापनामा योगदान दिन सक्छन् । तर तिनको कार्यान्वयनमा अझै धेरै सुधार आवश्यक छ । यहाँ असली लक्ष्मीको खाँचो छ ।

आधुनिक लक्ष्मीले आजको युगमा कृषि सहकारीको नेतृत्व लिन्छिन् । गुणात्मक उत्पादनमा उनको ध्याउन्न हुनुपर्छ । उनले बैंकको लोन अफिसरका रूपमा ग्रामिण महिलालाई वित्तीय साक्षरता सिकाउन् । उनी घरेलु सीपलाई अनलाइन मार्फत व्यवसाय बनाउन सीपमूलक तालिम र गोष्ठीहरुमा समय खिर्चिउन् । उनले अब मात्र परिवार सम्हाल्ने र आफूलाई कमजोर ठानेर सामान्य महिला गृहिणीका रुपमा आफूलाई परिभाषित नगरुन्, समग्र मुलुकको अर्थतन्त्र सम्हाल्ने दम राखुन् ।

आधुनिक लक्ष्मी सचेतनाको स्कूल पढाउने शिक्षिका पनि हुन्, जसले स्थानीय बालिकाहरूमा आत्मविश्वास रोप्नुपर्छ । एक्काइसौँ शताब्दीकी लक्ष्मी अब ‘लक्ष्मीपूजा’ को थालमा होइन, नीतिमा, शिक्षामा, बजारमा, नेतृत्वमा लेखिन र देखिन सक्नु पर्छ । आधुनिक लक्ष्मीले अब दान माग्दिनन्, अवसर माग्छिन् । उनी अब सौन्दर्यकी धनीमात्र होइन, सशक्तीकरणकी संवाहक हुन्सक्नुपर्छ । उनी अब खोपीकी देवी होइनन्, खुला संसारकी निर्माता हुन् ।

जब हामी ‘जय लक्ष्मी’ भन्छौँ, त्यो अब केवल पूजा होइन, एक प्रगतिशील घोषणापत्र हो । अब लक्ष्मीलाई श्रृंगारमा होइन, श्रममा । पदकमा होइन, पसीनामा । कागजमा होइन, समाजका सास्त्रीय नीतिहरु परिवर्तनकी देवी बनेर देखिनु आवश्यक छ । अब मन्दिर र गुफाहरुमा लुकेर बस्ने लक्ष्मीभन्दा साक्षात घरकी लक्ष्मीप्रति विश्वास र सदभाव रहनु पर्दछ । बाहिर मन नडुलाउनुहोस्, साक्षात कर्मयोगी ‘आधुनिक लक्ष्मी’ घरमै छन् । जय महाकाली ! जय सरस्वती !! जय लक्ष्मी !!! तिमी घरकी लक्ष्मी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।