19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्ट्याचु अफ लिबर्टीको परिक्रमा र रहस्यबोध

नियात्रा प्रा. डा. यादवप्रकाश लामिछाने October 18, 2025, 1:39 pm
प्रा. डा. यादवप्रकाश लामिछाने
प्रा. डा. यादवप्रकाश लामिछाने

२०८० कार्तिक १६ (२ नोभेम्बर २०२३) का दिन स्ट्याचु अफ लिबर्टी हेर्न जाने सल्लाह गरियो । छोरी सृष्टिले कोने आइल्यान्ड हुँदै जाँदा राम्रो हुने प्रस्ताव राखेपछि पहिले त्यतातिर लागियो । चिकित्सा विज्ञानको स्नातकोत्तर तहको अध्ययनका लागि छोरी न्युयोर्कमा नै तीन वर्ष बसेका कारणले कुनाकाप्चा घुम्न कसैलाई सोधिरहनु परेन ।

न्युयोर्कको दक्षिणी किनार ब्रुकलिनको छिमेकी भूमि कोने आइल्यान्ड, ब्राइटन बिच (किनारा) रहेछ । यो लोअर न्युयोर्क वेदेखि पूर्व दिशामा पर्दो रहेछ । समुद्र सतहदेखि ७ फिट (२.१मिटर) उचाइमा रहेको यहाँको जनसङख्या ३२,००० मात्र रहेछ । बालुवाको अपार राशि रहेको यो ठाउँ सानो भए पनि राम्रै मध्येकै देखिन्छ । खैरो बालुवाको मरुभूमिजस्तो लाग्ने यस ठाउँमा खुट्टा भासिने । एक किसिमको अपूर्व नौलो अनुभव भयो । रमाउँदै केही फोटा र छोटा छोटा भिडियो क्लिप बनाउँदै किनारैकिनारको सडक हुँदै ब्याट्री पार्कतर्फ लागियो । यो पार्कले पुरानो सैनिक प्रयोजनसँगको पक्षलाई स्मरण गराउँने । पहिले यस ठाउँमा तोपहरू राखिन्थे रे ! ब्रुकलिन, इस्टरिभर र हडसन रिभरको सङ्गममा समुद्री सुरक्षालाई ख्याल राखी सैन्य खजना राखिँदो रहेछ । त्यसपछि सधैँ ब्याट्री पार्कका नामले परिचित हुन पुगेछ ।

दैनिक चलाउने गाडीलाई पार्किंङ गर्न पार्किंङ स्थलको खोजीमा लाग्यौँ । बाह्र घण्टाको सशुल्क पार्किंङ स्थलमा राखेर स्ट्याचुको टिकट बुकिङ गर्नतिर गयौँ । केटाकेटी, युवा र जेष्ठ नागरिकका लागि फरक फरक शुल्क निर्धारण गरिएको रहेछ । आफू त जेष्ठ नागरिकभित्र परियो । प्रवेशद्वारबाट भित्र गएपछि आधा घण्टा फेरी (डुङ्गा) चढ्न पर्खनुप¥यो । तलैतला भएको हामी चढ्ने फेरीमा २०० जनासम्मको क्षमता रहेछ । सबैभन्दा माथिल्लो तलामा चढेपछि वरिपरिका सबै दृश्य राम्ररी देखिने भएकाले त्यतैतिर चढ्यौँ । भरपुर मात्रामा आनन्दको अनुभूति ग¥यौँ । फेरीद्वारा स्ट्याचुको वरिपरि घुमाएर सबैतिर हेर्ने अवसर दिइयो । फेरी रोकिने निश्चित ठाउँ रहेछ । स्ट्याचु राखिएको आइल्यान्डको वरिपरिको दृश्यावलोन त्यतिकै रमाइलो र मनमोहक देखियो ।

फर्कदा भने एलिस आइल्यान्डतिरबाट घुमाएर पहिले चढेकै ठाउँमा उता¥यो । यस एलिस आइल्यान्डको छुट्टै इतिहास रहेछ । सबभन्दा पहिले आप्रवासीहरू आएर बसेकाले यसलाई प्रथम आप्रवासी आइल्यान्ड पनि भनिन्छ ।

यो ठाउँ अमेरिकाको आप्रवासनसँग जोडिएको छ । यो न्युजर्सीतर्फको सानो टापु हो । स्यामुअल एलिस नामको आप्रवासीका नामबाट यस आइल्यान्डको नाम राखिएको मानिन्छ । आयरल्यान्डबाट एनी मुरे नाम गरेकी १५ वर्षीय युवतीले पहिलोपटक आप्रवासीका रूपमा नाम दर्ता गराएकी थिइन् रे । लाखौँ आप्रवासीहरू अमेरिका प्रवेश गरेका थिए रे । खासमा यो टापु १८९२ देखि १९५४ सम्म अमेरिकाको आप्रवासन जाँच केन्द्र रहेछ । बिचको ३० वर्षमा १,२०,००,००० (एक करोड बिस लाख) भन्दा बढी नै आप्रवासीहरू अमेरिका प्रवेश गरेका थिए भनिएको छ । यसरी आउनेहरूमा खास गरी आयरिस, इटालियन, यहुदी, जर्मन, पोलिस तथा स्लाभिक आदि यही एलिस आल्यान्डबाट छिरेका थिए भनिन्छ । सन् १९२४ मा आप्रवासनसम्बन्धी कानुन पारित भएपछि अवैधानिक रूपमा प्रवेश गर्ने प्रक्रिया १९५४ देखि बन्द भएको मानिन्छ । यो आइल्यान्ड आप्रवासीहरूको इतिहासको खोजी गर्ने जिज्ञासुहरूका लागि उल्लेख्य गन्तव्य मानिन्छ ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित लिबर्टी आइल्यान्ड भ्रमणमा आउने जो कोही व्यक्ति विश्वविख्यात ‘स्ट्याचु अफ लिबर्टी’को सुन्दरता हेरेर मक्ख भएकै छन् । कलमका पारखीहरूले यात्रानिबन्ध, यात्रासंस्मरण वा संस्मरण आदिका माध्यमबाट यसको तारिफ गरेकै छन् । तर यसको निर्माणप्रक्रिया, स्थापना र दिएको सन्देशका बारेमा सबैलाई मसिनो गरी जानकारी नहुन सक्छ । यसको दृश्यावलोकनपछि हामीमा पनि मनमा अनेक जिज्ञासाहरू सल्बलाए । त्यही टापुमा रहेको सङ्ग्रहालयमा पुगेपछि केही तथ्यहरू प्राप्त गरियो । स्ट्याचुसँग सम्बन्धित प्रयोगशाला, म्युजियम र ग्यालरी भव्य रहेका छन् । संसारमा स्वतन्त्रताको ज्योति फैलाउने उद्देश्य राखेर नै यसको निर्माण गरिएको छ । स्वतन्त्रता,स्वतन्त्र विचार र खुलापनको प्रतीक मानिन्छ । यसलाई आकर्षक ढङ्गले पूर्वतिर फर्काएर उभ्याइएको रहेछ । नवशास्त्रीय शैलीमा निर्मित यो स्ट्याचु शिल्पकलाको उत्कृष्ट नमुना मानिन्छ । न्युयोर्क हारबर (बन्दरगाह)मा राखिएको स्ट्याचुका प्रत्येक अङ्गका भिन्न भिन्न प्रतीकात्मक अर्थ लाग्दा रहेछन् ।

जुलाई ४ सन् १७७६ मा अमेरिका स्वतन्त्र भएपछि फ्रान्सले अमेरिकासँगको मित्रता अजर र अमर रहोस् भन्ने उद्देश्यले स्ट्याचु निर्माण गरेर उपहारस्वरूप प्रदान गरेको रहेछ । स्वतन्त्रताकी देवीको प्रतीकका रूपमा स्थापना गरिएको यस स्ट्याचुलाई विश्वव्यापी रूपमा उज्यालो प्रज्वलित गरेको अर्थमा हेरिन्छ । फ्रेन्च राजनीतिज्ञ, बौद्धिक व्यक्तित्व तथा संसद्सदस्य एडवर्ड डे लावोल्एले सन् १८६५ मा फ्रेन्च संसद्मा, संयुक्त राज्य अमेरिकामा स्ट्याचु अफ लिबर्टी स्थापना गर्ने सम्बन्धमा प्रस्ताव पेस गरेका थिए रे । फ्रेन्च संसद्बाट प्रस्ताव पास भएपछि यसको डिजाइन गर्ने जिम्मा युवा शिल्पकार फेडरिक अगस्ते बर्र्थाेल्डीले पाएका रहेछन् । उनलाई सरकारले डिजायनको जिम्मा दिएपछि उनी सन् १८७१ मा संयुक्त राज्य अमेरिका आएछन् । उनी स्ट्याचु राख्ने ठाउँको निरीक्षण गरेपश्चात् विविध विषयमा विचार विमर्श, परामर्श र छलफल गरेर फ्रान्स फर्केका थिए रे ।

बर्थोल्डीको डिजायनपछि फ्रान्स मै १८८१ देखि १८८४ सम्म यसलाई पूर्ण आकार दिने कार्यमा ई.गुस्ताभ आइफेलले सफलता हासिल गरेका थिए रे । यसक्रममा प्रत्येक अङ्गका टुक्रा टुक्रालाई जोडेर पूर्णकदको स्ट्याचुको आकार दिइएको थियो रे । निर्माण कार्य सम्पन्न गरेपछि जुन १७ सन् १८८५ एटलान्टिक महासाागर हुँदै पानी जहाजबाट न्युयोर्क ल्याइएको थियो रे । ती ३५० वटा फरक फरक टुक्रालाई २०० वटा बाकसमा हालेर ल्याइएको रहेछ । सन् १८८६ मा विभिन्न टुक्रालाई जोडेर पूर्णता दिइएको छ । यसका प्रत्येक अङ्गले कुनै न कुनै अर्थ वहन गरिरहेको सन्दर्भमा बुझ्ने गरिन्छ । यसलाई फ्रान्स र अमेरिकाको मित्रताको प्रतीकका रूपमा तथा विश्वव्यापी रूपमा नै स्वतन्त्रता र लोकतन्त्रको अर्थमा लिइएको भनिएको छ । सिङ्गो स्ट्याचुको टुक्रा टुक्राको पनि छुट्टाछुट्टै प्रतीकात्मक अर्थ रहेको प्रस्ट्याइएको छ । आधारस्तम्भका लागि भित्री भागमा फलामको प्रयोग गरिए पनि बाहिरी आवरणमा तामा (कपर)का पाता जोडेर बनाइएको छ । स्ट्याचुको भुइँको सतहदेखि सबैभन्दा माथिल्लो भागमा रहेको बत्ती (टर्च) सम्मको उचाइ ३०५ फिट १ इन्च (९३मिटर) रहेको उल्लेख गरिएको छ । तर, स्ट्याचुको खुट्टाको पैतालादेखि दाहिने हातले समातेको बत्तिसम्मको तामाले मोरिएको उचाइ १५१.१ फिट (४६ मिटर) रहेछ ।

विभिन्न टुक्रा टुक्रा जोडेर बनाइएको स्ट्याचु बनाइको छ । ती प्रत्येक भागका अलग अलग नापको उल्लेख गरिएको छ । त्यहीक्रममा दायाँ पाखुराको लम्बाइ ४२ फिट (१२.८ मिटर), यसको गोलाइ १२, बायाँ हातको १६.५ (५मिटर), औँला (इन्डेक्स फिङ्गर ८.१ (२.४४मिटर), टाउकोदेखि मुकुटमाथिको भागसम्म १७.३ फिट (५.२६मिटर), टाउकाको बाक्लोपन (मोटाइ) दायाँ कानदेखि बायाँ कानसम्म १० फिट (३.०५ मिटर), आँखाको लम्बाइ २.६फिट (०.७६ मिटर), नाकको लम्बाइ४.६ फिट (१.४८मिटर), मुखको लम्बाइ ३फिट (०.९१मिटर) रहेको उल्लेख गरिएको छ । त्यस्तै देब्रे हातले बोकेको पुस्तक आकारको ट्याबलेटको लम्बाइ २३.७ इन्च, यसको चौडाइ १३.७ इन्च रहेको उल्लेख छ । यसको खुट्टाको पैतालादेखि टाउकोसम्म १११.१ फिट(३४मिटर), भुइँको सतहदेखि टुप्पाको बत्ती (टर्च)सम्मको उचाइ ३०५.६ (९३ मिटर), पैताला (पेडस्टल) सम्मको उचाइ ८९ फिट (२७.१३ मिटर), टुप्पामा रहेको बत्तीलाई मोरिएको तामामा लेपन गरिएको सुन २४ केजी प्रयोग गरिएको उल्लेख छ । यी सबै अङ्गको जोडाइपछि स्ट्याचुको जम्मा तौल ४५०,००० पौन्ड अथवा २०४.१ टन रहेको भनिएको छ ।

स्ट्याचुको गोलाकार मुकुटसम्म पुग्न १६२ वटा खुट्किला चढ्नुपर्छ रे तर सन् १९१६ मा स्ट्याचुमाथि आक्रमणभएपछि र प्रथम विश्वयुद्ध प्रारम्भ भएपछि सुरक्षाका कारणले सर्वसाधारण्का लागि बन्द गरिएको भनिएको छ । मुकुटको वरिपरि २५ वटा झ्यालहरू छन् । ती झ्यालबाट म्यानहाटन, ब्रुकलिन र क्विन्सको रमाइलो दृश्य राम्ररी देख्न सकिन्थ्यो रे । मुकुट र त्यसको वरिपरि रहेका सातवटा चुच्चा परेका स्पाइकले सातवटा महादेश र सातवटा महासागरको तथा सूर्यको किरणको प्रतीकात्मक अभिव्यक्ति दिएको अर्थ लगाइएको छ ।
प्राचीन रोमन साम्राज्यका तात्कालीन सम्राट् जुलियस सिजरका शासनकालमा नै लोकतन्त्रको कुरा उठाइएको थियो रे । यही सन्दर्भ जोड्दै स्वतन्त्रताको प्रतीकका रूपमा मानिने रोमन देवीको प्रतिनिधित्व स्ट्याचु अफ लिबर्टीबाट भएको छ भन्ने विश्वास गरिँदो रहेछ । सुन्दरता तथा विभिन्न पक्षको प्रतीकात्मक अर्थ बहन गर्ने दृष्टिले विश्वकै उच्च महत्त्व राख्ने स्मारक मानिन्छ । सन् १९३८, १९८४, १९८६, २०११ र २०१२ गरी समय समयमा मर्मत गरिएको । पछिल्लो समयमा यसको रेखदेख, मर्मत र स्याहार सम्भार गर्ने सम्पूर्ण जिम्मा नेसनल पार्क सर्भिसलाई दिइएको ।

स्ट्याचुको निर्माणसँग गाँसिएका रहस्यमय सन्दर्भहरू पनि चाखलाग्दा रहेछन् । यसको निर्माणमा लागेको रकम मात्र २,५०,००,००० डलर (दुई करोड पचास लाख) र स्तम्भ निर्माणमा २७०,०००० डलर लागेको तथ्यले बताउँछ । यो रकम जुटाउने सन्दर्भमा सबै पक्षको केही न केही योगदान रहोस् भन्ने हेतुले स्कुले विद्यार्थीहरूका तर्फबाट पनि सकेको आर्थिक सहयोग भएको उल्लेख गरिएको छ । कर्मचारीहरूले समेत आफ्नो क्षमताअनुसार आर्थिक सहयोग दिएका थिए रे । राजनीतिज्ञ लाफायतेले पनि चन्दादान गरेका थिए रे भन्ने उल्लेख छ । आर्थिक सहयोगकै रूपमा तामा कम्पनीले तामा नै उपलब्ध गराएर योगदान पु¥याएको रहेछ । त्यस्तै अमेरिकी जनताबाट चन्दा सङ्कलन गर्न पत्रकार जोसेफ पुलित्जरले आफ्नो पत्रिकामार्फत आह्वान गरेका थिए रे । तामा (कपर) मात्र ३१ टन, स्टिल १२५ टन, त्यस्तै काँचो फलामको पनि प्रयोग भएको थियो रे तर कति परिणाम हो भनिएको छैन । सन् १९३७ मा आएको तुफानी आँधीबेहेरीले स्ट्याचुकोे १५० फिट बाहिरी आवरण पानीमा झरेको थियो रे ।

यस सन्दर्भमा अर्को एउटा प्रसङ्ग पनि जोडिएको छ । कलाकार बर्थोल्डीको ज्यादै प्रसिद्ध कार्य मानिए पनि, उनले नमुनाका रूपमा आफ्नै आमाको अनुहारसँग मिल्ने गरी स्ट्याचुको परिकल्पना गरेका थिए भनिएको छ । यसका साथै उनले सुन्दर फ्रेन्च महिला इसाबेला बोयरलाई आफ्नो कलामा ढालेका हुन् रे । बोयरले अमेरिकाली उद्योगपति आइज्याक मेरिटसँग विवाह गरेकी थिइन् रे । उनको सौन्दर्यलाई हेरेर शिल्पकारले सधैँ अमरताप्राप्ति होस् भन्ने इच्छा राखेको हुनुपर्छ भन्ने रहेछ । त्यसै कारणले हुनुपर्छ स्वतन्त्रताकी देवी मानिने स्ट्याचु अफ लिबर्टीको नुमना बनाएको र त्यसको सुन्दरताको पारख गरिएको हो । स्वतन्त्रता र विश्वभरि उज्यालो छर्ने मूल उद्देश्यमा केन्द्रित छ । स्वतन्त्रता त्यही हो जसले हरेक मानिसलाई आफ्नो जीवन आफैँ बनाउने अधिकार दिन्छ । स्वतन्त्र नभएसम्म सुखको अनुभूति पाइँदैन । स्वतन्त्र नहुँदा मन खुल्दैन । अरुको अधिनमा सुख प्राप्ति असम्भव छ । त्यसैले स्वतन्त्रतालाई अमृत सरह मानिन्छ । स्वतन्त्रता र स्वाधिनताको उच्च महत्त्व रहन्छ । जुनकिरीको झिलिमिली, स्वतन्त्रताको मूर्तिजस्तै चम्किलो हुन्छ भन्ने भनाइलाई स्ट्याचु अफ लिबर्टीले पुष्टि गरेको छ । मान्छेले सम्पत्तिभन्दा पनि स्वतन्धता ठूलो, स्वाधिन भए मन खुला र ठूलो । पिंजडाको चरीले (सुगा) ले आकाश के थाहा जानोस अनि बाँधिएको मानिसले स्वतन्त्रता के पाओस त्यसैले जहाँ स्वतन्त्रता हुन्छ त्यहाँमात्र समृद्धि प्राप्ति हुन्छ भन्ने दृष्टिकोण सिद्ध भएको मानिन्छ ।

स्ट्याचु र म्युजियम रहेको त्यो टापुले १५ एकड (५.९५६ हेक्टर) जमीन ओगटेको रहेछ । उत्तरतर्फ एलिस आइल्यान्ड, न्युजर्सी पश्चिमतर्फ, म्यानहाटन पूर्वतिर पर्ने रहेछ । न्युयोर्क स्टेटभित्र रहे पनि यसको स्वामित्व सङ्घीय सरकारले ग्रहण गरेको रहेछ । कसै कसैले न्यूजर्सीतर्फ पर्दछ भने पनि न्युयोर्कको म्यानहाटनतर्फ नै रहेको मानिदो रहेछ । लिबर्टीको स्ट्याचु हडसन रिभर पश्चिम उत्तरतर्फ छ यो इस्टरिभर न्युयोर्क वेबाट आएको सङगमस्थलमा अवस्थित छ । यसरी लिबर्टी आइल्यान्ड र आफैं बनाउन सक्ने अधिकार दिन्छ । जुन समाजले स्वतन्त्रतालाई मूल्य दिन्छ, त्यहाँ मान्छेको मन पनि विशाल हुन्छ भन्ने अर्थमा सार्थकता देखिन्छ । स्ट्याचु अफ लिबर्टीको संसारभरि उच्च महत्त्व रहेको स्वीकार गरिएको छ । स्वतन्त्रताको मूर्ति बाहिर जुन रूपमा देखिन्छ तर त्यसको असली शक्ति हृदयमा हुन्छ । यहाँ पराधिनको जीवन अन्धकार र स्वतन्त्रको जीवन उज्वल संसार भन्ने प्रतीकात्मक सन्देश दिइएको पाइन्छ । जसरी लिबर्टीको स्ट्याचुले खुलापन, स्वतन्त्रता र दासताको मुक्तिको सन्देश दिएकोछ त्यसरी नै स्वतन्त्रता मनको आकाश हो, भनिएको छ । यसै प्रसङ्गमा टाढा टाढा समुद्रपारि देखियो झलमल कस्तो हो त्यो मूर्ति पो हो रे उज्यालो बन्यो सबल । दासता तोडी अघि बढौं यही हो जीवनको महान रहरको विश्वभर फैलाएको छ ।

यसको अवलोेकनबाट प्रत्येक वर्ष २०७ लाख डलर सरदर आम्दानी हुने बताइएको छ । तर कोरोना महामारीको समयमा भने यसको आम्दानी घटेको उल्लेख गरिएको छ । पर्यटकका रूपमा प्रतिवर्ष ३.१४ मानिसहरूले भ्रमण गर्ने तथ्यले बताएको छ । प्रत्येक दिन १५ देखि २० हजार यात्रीहरू आउने जाने गर्छन् भनिएको छ । मौसमअनुसार यात्रीहरू घट्ने बढ्ने हुनु स्वाभाविक मानिन्छ रे । त्यहाँ आएका पर्यटकहरूबाट प्रतिवर्ष २०० देखि २५० लाख डलरसम्म खर्च गरिने हुन्छ भन्ने अनुमान गरिएको छ । विश्वव्यापी रूपमा आएको कोरोना कालभन्दा अगाडिसम्म पर्यटकहरूको घनत्व रहेकामा त्यसपछि ह्वात्तै घटेपछि १०१ लाख मात्र आय आर्जन भएको बताइएको छ । २०० वर्षअगाडि यस टापुमा बस्ती थियो रे । पछि भन्न थालिएको लिबर्टी आइल्यान्डलाई पहिले बेडल्स भनिन्थ्यो रे ।

स्ट्याचु अफ लिबर्टीका प्रतीकात्मक अर्थसमेत रहेछन् । पैतालादेखि शिरसम्म नै तामाले मोरिएको भए पनि त्यो प्याटिनेसन भएपछि निलो रङ देखिने रहेछ र हामीले स्ट्याचुलाई हेर्दा त्यही रङमा देख्न सक्छौँ । स्ट्याचुमा पहिरिएको गाउन आकारको वस्त्रलाई राजकीय वस्त्रका रूपमा लिइँदो रहेछ । त्यस्तै बायाँ हातले बोकेको पुस्तक आकारको ट्याब्लेटले स्वतन्त्रताको अभिलेखीकरण गर्ने सन्दर्भमा प्रयोग गरिएको रहेछ । दायाँ हात ठाडो पारेर मुकुटभन्दा पनि धेरै माथि पु¥याइएको बत्तीको प्रतीकले विश्वमा आगामी दिनको बाटो सर्वव्यापी किरणमय र ज्योतिर्मय रहोस् भन्ने अर्थमा लिइन्छ । खुट्टामा टुक््रयाइएको देखिएको सिक्रीले अबउप्रान्त दासत्व मोचन भयो वा दासप्रथाको अन्त्य भयो भन्ने नै हो । अब कसैले पनि दास भएर बाँच्नुपर्दैन भन्ने अर्थमा बुझिन्छ । मुक्त भयो चरो अब खुला आकाश उड्छ मान्छे स्वाधिन भए पछि हृदयमै ज्योति बल्छ भन्ने सन्देश छ ।

यहाँ लगाइएका ढुङ्गाको जग र त्यो माथिको पर्खालले विविधताको सङ्केत गरेको छ भने यसले ग्रहकै बलियो र सौन्दर्यको काम गरेको छ , भन्ने बुझिएको मानिन्छ । समग्रमा स्ट्याचु अफ लिबर्टीलाई एकता, स्वतन्त्रता र लोकतन्त्रको पक्षधरता जनाउँदै निरङ्कुशता र अत्याचारको अन्त्यको सङ्केतका रूपमा बुझ्ने गरिएको रहेछ भन्ने बुझियो ।
२०८०। ०८ । ०२
श्रीभपोर्ट, लुइजियाना , संयुक्त राज्य अमेरिका ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।