’जराको शक्ति’ निबन्ध पढ्दा पहिलो अनुभूति यही हुन्छ कि लेखकले दृश्य र अदृश्य, रूप र अरूप, शरीर र आत्मा, बाहिर र भित्र, चमत्कार र यथार्थबीचको सूक्ष्म सम्बन्धलाई यति सजीव ढङ्गले उभ्याएका छन्, जसले पाठकलाई आफ्नै जीवन्–अनुभूतिभित्र फर्काइदिन्छ । सामान्यतया हामी जीवनलाई पात, फूल, फल, रूपरङ्ग, सजावट र शोभा–सम्पन्न दृश्यहरूमा मात्र खोज्छौँ । तर लेखकले सशक्त ढङ्गले उद्घोष गरेका छन्– जीवनको असली सार भनेको त्यो अदृश्य आधार हो, जसलाई हामी प्रायः बेवास्ता गर्छौँ । र यही अदृश्य आधार हो– ’जरा’ ।
निबन्धले उठाएको मूल विचार अत्यन्त दार्शनिक छ, तर यसको भाषा भने कविताजस्तो लयात्मक र अनुभूतिजन्य छ । जरा केवल वनस्पतिको आधार होइन, जीवनको आधार हो भन्ने दृष्टिकोण प्रस्तुत हुँदै गर्दा पाठकलाई लाग्छ– हामीले हरेक दृश्य–वस्तु, उपलब्धि, हर्षोल्लास, सौन्दर्य र यशगानको मूल कारणबारे कहिल्यै सोच्दा रहेनछौँ । फूल फुल्दा हामी वाहवाही गर्छौँ, तर त्यस फूललाई जन्माउन अँध्यारोमा, चट्टानमा, माटोको गहिराइमा पीडा सहेर काम गरिरहेको जरालाई स्मरण नै गर्दैनौँ ।
यही दृष्टिकोणले निबन्धलाई विशिष्ट अर्थविस्तार दिएको छ । यहाँ फूल बाहिरी सफलता, चमक, सम्मान, यश र सौन्दर्यको प्रतीक हो भने जरा त्याग, श्रम, पीडा, मौनता र भित्री शक्ति हो । निबन्ध पढ्दा जीवनका हरेक सम्बन्ध र अवस्थाको रूपक स्वतः प्रकट हुन्छ । हरेक व्यक्तिको सामाजिक, सांस्कृतिक र व्यक्तिगत जीवनमा “फूल” देखिने यश, पद, कीर्ति वा प्राप्ति हो भने त्यसको मूलमा रहेका सङ्घर्ष, मौन पीडा, अदृश्य त्याग र आधारभूत मूल्यहरू नै ‘जरा’ हुन् ।
लेखकले बारम्बार भन्न खोजेका छन्– फूललाई सबैले देख्छन्, तर जरालाई कसैले देख्दैन । यही वाक्यांश जीवनको गहिरो सत्य हो । कुनै व्यक्तिको सफलताको रङ्गीचङ्गी कथा समाजले गाउन सक्छ, तर त्यो सफलताको पृष्ठभूमिमा रहेका अनगिन्ती सङ्घर्ष, त्याग, आँसु, रातरातभरि जागेर गरेको श्रम ती सबै अदृश्य हुन्छन् । फलतः ‘जराको शक्ति’ केवल वनस्पतिसम्बन्धी निबन्ध होइन, यो मानवीय अस्तित्व र जीवनदर्शनबारे गहिरो विमर्श हो ।
यस निबन्धले पाठकलाई आफ्नो जीवनतर्फ फर्काउँछ । हामीले कतिपय अवस्थामा आफ्नो ‘जरा’ हराउन थालेका हुन्छौँ– हाम्रो संस्कृति, हाम्रो नैतिकता, हाम्रो आत्मिक आधार, हाम्रो पीडाभोग गर्ने शक्ति । जब जरा हराउँछ वा कमजोर हुन्छ, जीवनको सम्पूर्ण वृक्ष ढल्छ । यही विचारलाई लेखकले केवल रुपक नभई जीवन–अनुभूतिबाट उतारेका छन् ।
निबन्धमा लेखकले प्रयोग गरेको यहूदी मिथकको कथा विशेष उल्लेखनीय छ । त्यहाँ किसान र प्रकृतिबीचको संवाद केवल कृषिको कथा होइन, जीवनका हरेक क्षेत्रमा मान्छेको नियन्त्रक प्रवृत्ति र प्रकृतिको आत्मनियमित लयबीचको अन्तरसम्बन्ध हो । किसानले सोचे– म सबै कुरा आफैँले नियन्त्रण गर्छु, प्रकृतिलाई सिकाउँछु । तर जब उसले प्रकृतिलाई चुनौती दिएर आफ्नै हिसाबले खेती गर्छ, नतिजा हुन्छ– बाहिरी देखावट त छ तर भित्री जरा कमजोर ।
यो कथाले सिकाउँछ– बिना चुनौती, बिना विपत्ति, बिना सङ्घर्ष जीवनको जरा कहिल्यै बलियो हुँदैन । जब जीवन केवल सुखसुविधा र नियन्त्रणित परिस्थितिमा हुर्किन्छ, तब त्यहाँ फूल त हुन्छ तर दाना हुँदैन, रङ्ग त हुन्छ तर सार हुँदैन, बाहिरी चकमक त हुन्छ तर भित्री गहिराइ हुँदैन ।
निबन्धकार कार्कीले भनेजस्तै, आँधीतुफान, असिनापानी, खडेरी जस्ता विपत्तिहरूले जरालाई गहिराइमा धकेल्छन्, त्यसलाई मजबुत बनाउँछन् । यो विचार अत्यन्त जीवनपरक छ । हामी हरेक व्यक्तिले जीवनमा झेलेका सङ्घर्ष, पीडा र हारजित नै वास्तवमा हाम्रो जरा हुन् । जसले बढी कठिनाइ भोग्छ, उसको आत्मा त्यति नै गहिरो र सबल हुन्छ । जसले कुनै चुनौती भोग्दैन, ऊ सतही, कमजोर र अल्पायु हुन्छ ।
यसरी निबन्धले सङ्घर्षलाई नकारात्मक होइन, आवश्यक शक्तिस्रोतको रूपमा व्याख्या गरेको छ । यही ठाउँमा यसको दार्शनिक गहिराइ छ ।
निबन्धलाई पढ्दै जाँदा यसको भाषिक बुनावटले मलाई बारम्बार रोक्छ, सोच्न बाध्य पार्छ । यहाँ प्रयोग भएका रूपकहरू केवल सौन्दर्यको निम्ति आएका छैनन्, तिनले जीवनलाई बुझ्ने दृष्टि बदलिदिन्छन् । जब लेखक भन्छन्, “फूल सबैले देख्छन् तर जरालाई कसैले देख्दैन,” त्यो एक साधारण कथन मात्र होइन, जीवन–सत्यको दार्शनिक उद्घोष हो । हामी देखिने र चम्किने कुरामै अड्किन्छौँ, अदृश्य आधारलाई बेवास्ता गर्छौँ । तर देखिने कुराको अस्तित्व अदृश्य आधारमै निर्भर हुन्छ भन्ने चेत यस वाक्यले एकैपटक उजागर गर्छ ।
भाषामा कुनै गहिरो काव्यात्मक लय छ । त्यस लयमा मौनता पनि छ, तुफान पनि छ । कुनै ठाउँमा शब्दहरू भुइँमा अडिएको जरा जस्तै गहिरा लाग्छन्, कतै पात–फूलको हावासँग डोलाएझैँ हल्लिन्छन् । यही लयात्मकता निबन्धलाई केवल तर्क–आधारित नभई अनुभव–आधारित बनाउँछ ।
यस निबन्ध पढ्दा मलाई आफ्नै जीवनका थुप्रै क्षणहरू सम्झना आउँछन् । जुनबेला बाहिर सबै चकमक थियो, तर भित्र जरा दुर्बल हुँदै गइरहेको थियो । कतिपटक जीवनको बाहिरी आवरण सजिलो, सुरक्षित देखिएको थियो, तर जब सानो आँधी आयो, त्यो आवरण च्यातियो । त्यसबेला मात्र महसुस भयो– जरा कस्तो कमजोर रहेछ ! अनि थाहा भयो– शक्ति त सजावटमा होइन, मौनतामा हुन्छ, भुइँमुनि गाडिएको अन्धकारमा हुन्छ, पीडा र सङ्घर्षमा हुन्छ ।
यहाँ निबन्धकार कार्कीले भनेको कुरा मैले आफ्नै जीवनमा धेरै पटक अनुभव गरेको छु । सफलता र असफलताको घडीमा, समाजको प्रशंसा र आलोचनाको क्षणमा, बाहिर देखिने आवरणभन्दा भित्रको शक्ति नै निर्णायक हुन्छ भन्ने कुरा ।
मलाई विशेष गरी निबन्धको त्यो प्रसङ्गले छोयो जहाँ किसानले प्रकृतिलाई सिकाउने घमण्ड गर्छ, तर नतिजा स्वरूप केवल चकमक देखिने तर असारहित अन्न प्राप्त गर्छ । यो रूपक साँच्चै वर्तमान समाजमा पनि सान्दर्भिक छ । हामी आधुनिक जीवनशैलीमा बाहिरी रङ्गरूपलाई यति ठूलो महत्त्व दिन्छौँ, तर भित्रका मूल्य, संस्कार, धैर्य, त्याग, संस्कृतिको जरा दिनानुदिन कमजोर हुँदै गएको छ । शिक्षा पनि कहिलेकाहीँ केवल प्रमाणपत्रको फूल बनिरहेको छ, तर ज्ञान र मूल्यको जरा सुक्दै गएको छ ।
निबन्धले यही चेतना जगाउँछ । जरामा शक्ति छैन भने फूलको शोभा क्षणिक मात्र हुन्छ । यही सत्य जीवनमा पनि लागू हुन्छ । पद, धन, यश, कीर्तिले जीवन सजिलो बनाउँछ, तर तिनको आधारभूत जरा नहुने भने सब कुरा भासिन सक्छ ।
निबन्धकार कार्कीले निबन्धमा ल्याएको प्रकृतिसँगको संवेदनशील सम्बन्ध पनि प्रशंसनीय छ । यहाँ जरा केवल वनस्पति–विज्ञानको अङ्ग होइन, यो जीवन–दर्शनको प्रतिरूप हो । माटो, पानी, आँधी, सूर्यको ताप, असिनापानी सबै जीवनका सङ्घर्षहरूको रूपक हुन् । प्रकृतिलाई यसरी जीवनसँग गाँस्दा पाठकको चेत खुल्छ । जीवन पनि एक प्राकृतिक प्रक्रिया हो, जहाँ मौनता, पीडा र अन्धकारको योगदानले मात्र सुन्दरता सम्भव हुन्छ ।
यसरी निबन्धको भाषा, रूपक र व्यञ्जनात्मक शैलीले पाठकलाई बाहिरका दृश्यहरूभन्दा भित्रको सत्यतर्फ फर्काउँछ । यो शैलीले मलाई आफ्नै जीवनका गहिरा अनुभूतिहरूलाई उजागर गर्न प्रेरित ग¥यो । मलाई लाग्छ, यो निबन्ध केवल पढिने होइन, भोगिने हो । यसलाई पढ्दा पाठक आफैंसँग संवाद गर्छ, आफैंलाई सोध्छ– मेरो जीवनको जरा कस्तो छ ? के मैले केवल फूललाई मात्र ख्याल गरेको छु ?
समाजलाई पनि एउटा वृक्ष ठान्न सकिन्छ । यसको पात र फूल हो– सौन्दर्य, उत्सव, परम्परा, उत्साह, रङ्गीन संस्कार र क्षणिक हर्षोल्लास । तर यसको जरा भनेको आधारभूत मूल्य, नैतिकता, सामूहिक विश्वास, त्याग र श्रम हो । जब जरा कमजोर हुन्छ, समाजको सम्पूर्ण वृक्ष नै रोगी हुन्छ, चाहे पात–फूल कति नै आकर्षक किन नदेखिऊन् । यही कुरा यो निबन्धले बारम्बार चेताउँछ ।
हाम्रो समाजले अहिले धेरै फूल देखाउँदै आएको छ– सडकमा बत्ती झिलिमिली छ, शहरमा उच्च इमारतहरू ठडिएका छन्, प्रविधिले बाहिरी चकाचौँध ल्याएको छ । तर जरामा समस्या छ– विश्वास खस्कँदैछ, नैतिकता झर्दैछ, त्यागको मूल्य हराउँदैछ, मौन श्रमलाई कोही देख्दैन । अनि यस्तो समाज चाँडै ढल्ने खतरा हुन्छ ।
कार्कीको भनाइमा, जरालाई आँधी–पानीले सबल बनाउँछ । तर हाम्रो संस्कृति भने अहिले आँधीलाई नै टार्ने, पीडालाई नै नस्वीकार्ने दिशातर्फ गइरहेको छ । सङ्घर्षलाई शत्रु मान्ने प्रवृत्तिले जरालाई दुर्बल बनाएको छ । नयाँ पुस्तालाई सहजता र सुविधा मात्र दिने प्रयासले तिनको जरा कमजोर बनाउँछ, जसरी किसानले अनुकूल मौसम बनाएर अन्नको जरा बिगारेजस्तै ।
यस प्रसङ्गमा मलाई आफ्नै वाल्यकाल याद आउँछ । हिउँदको ठण्डीमा होस् या अन्य बेला गाउँको माटोमा नाङ्गो खुट्टाले हिँंड्दा, चिसो, धुलो, हिलो र काँडाले शरीर दुख्थ्यो, तर त्यो पीडाले नै शरीरलाई सबल बनायो । अहिले शहरका बालबालिकाले धुलो देखे हात धुन्छन्, घाम देखे छाता ओढ्छन्, थोत्रो कुरा देखे मुन्टो फर्काउँछन् । तिनको जरा अझ कमजोर बन्दै गएको देख्दा निबन्धको सन्देश अझ प्रस्टसँग महसुस हुन्छ– बिना कठिनाइ, बिना पीडा, जरा बलियो हुँदैन ।
दार्शनिक अर्थमा हेर्दा, जरा अस्तित्वको मूल हो । अस्तित्ववादका दार्शनिकहरूले भनेझैँ, जीवनको सार त्यही हो जुन देखिँदैन, तर जो देखिने सबैलाई सम्भव बनाउँछ । जराले यही सत्य उद्घाटन गर्छ । फूल अस्थायी हो, जरा स्थायी हो । फूल बाहिरको सजावट हो, जरा भित्रको आत्मा हो । यही द्वन्द्वले जीवनलाई अर्थ दिन्छ ।
निबन्धले मलाई बारम्बार सोध्छ– मेरो आफ्नै जीवनमा मेरो जरा के हो ? मेरो शक्ति कहाँ गाडिएको छ ? के मेरो आत्मा पीडाभित्र बलियो बनेको छ, वा सुविधा–सहजतामा कमजोर ? यो प्रश्न आत्मालापको प्रश्न हो, जसको उत्तर सजिलो छैन । तर यही प्रश्नले मानवीय जीवनलाई गहिरो अर्थ दिन्छ ।
संस्कृतिले पनि जराको महत्त्वलाई असङ्ख्य प्रतीकमार्फत देखाएको छ । ऋग्वेददेखि उपनिषद्हरूमा “अश्वत्थ वृक्ष” को जरा आकाशतर्फ गाडिएको, शाखाहरू पृथ्वीतर्फ फैलिएको भनिन्छ । त्यो दृष्टान्तमा पनि जरा नै मूल सत्य हो, बाँकी सब त केवल फैलावट । निबन्धलाई यस धार्मिक दृष्टान्तसँग तुलना गर्दा लाग्छ– पुण्य कार्कीले प्रस्तुत गरेको जराको दर्शन केवल साहित्यिक होइन, सांस्कृतिक र दार्शनिक गहिराइसँग पनि गाँसिएको छ ।
हाम्रो जीवनका हरेक सम्बन्धमा पनि जरा चाहिन्छ । परिवारमा मायाको जरा बलियो भए सम्बन्ध दीर्घकालीन हुन्छ, होइन भने सानो विवादमै टुट्छ । मित्रताको जरा विश्वासमा हुन्छ, प्रेमको जरा त्यागमा हुन्छ, समाजको जरा आपसी सहयोगमा हुन्छ । यी जराहरू कमजोर भए, सम्पूर्ण संरचना भासिन्छ ।
त्यसैले “जराको शक्ति” पढ्दा लाग्छ– यो केवल वनस्पति र कृषिसँगको कथा होइन, यो जीवनको चेतनामूलक दर्शन हो । यहाँ प्रत्येक रूपकले सामाजिक–सांस्कृतिक चेतना जगाउँछ ।
निबन्धले भनेको कुरा पढ्दा मेरो बाल्यकालका दृश्यहरू बारम्बार आँखामा आउँछन् । सानोबेलामा हामी गाउँको परालको घरमा हुर्किएका थियौँ । बाहिर देखिँदा सौन्दर्य त्यति धेरै थिएन, तर भित्र अदृश्य रूपमा बाँच्ने शक्ति थियो–धैर्य, परिश्रम र सामूहिकता । बिहान सबेरै आमा बारीमा काम गर्न जानुहुन्थ्यो, बाबु गोठमा व्यस्त हुनुहुन्थ्यो, हामी छोराछोरी भोक लागेको बेलामा कहिलेकाहीँ कोदो, मकैको रोटी पाउँथ्यौँ, कहिले त पाउन्नथ्यौँ । त्यो भोक, त्यो कमी, त्यो पीडा नै हाम्रो “जरा” थियो । त्यसैले हामीलाई सहनशील बनायो, सङ्घर्ष गर्ने साहस दियो ।
तर अहिले पछाडि फर्केर हेर्दा देखिन्छ । हाम्रो समाजले फूललाई मात्र महत्त्व दिन थालेपछि जरा कमजोर हुँदै गइरहेको छ । शहरमा आइसकेपछि देखेको सुविधा, चमक र सजावट सुरुमा आकर्षक लाग्छ । तर केही समयमै बुझिन्छ– यस्ता सजावटी फूलहरू क्षणिक मात्र हुन् । भित्रको जरा कमजोर भएपछि सानो झट्का आउँदा पनि जीवन चिप्लिन सक्छ ।
मलाई मेरो जीवनको एउटा मोड अझै याद छ । जब सबै कुरा सजिलो भइरहेको थियो, पढाइमा सफलता, साथीहरूबीच प्रतिष्ठा, परिवारमा गर्व, त्यो नै फूलको बेला थियो । तर त्यो बेला मेरो भित्री जरा कमजोर थियो– म श्रम र सङ्घर्षलाई सहजै टार्ने कोसिस गर्थेँ, असहजतालाई टाल्ने बानी प¥यो । अनि एक दिन ठूलो चुनौती आयो– परिवारमा आकस्मिक रोग, आर्थिक कठिनाइ, सम्बन्धमा दरार । त्यो आँधीले मेरो फूल मात्र होइन, मेरो सम्पूर्ण वृक्षलाई नै हल्लाइदियो । अनि थाहा पाएँ– मेरो जरा बलियो छैन ।
त्यसपछि मैले सिकेँ– जीवनमा शक्ति सजावटमा छैन, मौन पीडामा छ । जसरी निबन्धले भन्छ, आँधीले जरालाई गहिराइमा धकेल्छ, त्यस्तै सङ्घर्षले मात्र आत्मालाई सबल बनाउँछ । त्यो क्षणपछि मेरो दृष्टि बदलियो । म सजिलो जीवन भन्दा कठिनाइलाई सामना गर्ने जीवनतर्फ फर्किएँ ।
निबन्ध पढ्दा मलाई मेरो आमाको अनुहार याद आउँछ । उहाँ कहिल्यै फूल जस्तो देखिनु भएन– समाजले प्रशंसा गर्ने सौन्दर्य उहाँसँग थिएन, कुनै पद वा प्रतिष्ठा पनि थिएन । तर उहाँ नै हाम्रो परिवारको जरा हुनुहुन्थ्यो । उहाँको मौन श्रम, आँसु, त्याग र धैर्यबिनाको जीवन हामी कल्पना गर्न सक्दैनौँ । तर हामी छोराछोरीले पनि उहाँलाई फूलभन्दा जरा ठान्न सकेनौँ, उहाँको अदृश्य शक्तिलाई देख्न सकेनौँ । उहाँले २०७७ असोज ७ गते हामीबाट विदा भएर जानुभएपछि अहिले बल्ल बुझिन आयो– जीवनको साँचो शक्ति आमा नै हुनुहुन्थ्योे, उहाँलाई हामीले कहिल्यै वाहवाही गरेनौँ ।
मेरो आफ्नै अनुभवले प्रमाणित गर्छ– निबन्धको विचार केवल साहित्यिक होइन, यथार्थ जीवनसँग गाँसिएको सत्य हो । फूल क्षणिक छ, जरा स्थायी छ । फूल समाजमा देखिन्छ, जरा आत्मामा बस्छ । फूल सजावट हो, जरा आधार हो । जब जरा बलियो हुन्छ, फूल स्वतः फुल्छ ।
यसरी निबन्धले मलाई आफ्नो जीवन पुनर्विचार गर्न बाध्य बनाउँछ । आजसम्म मैले जुन कुरामा गर्व गरेको थिएँ, त्यो त केवल फूल रहेछ । वास्तविक शक्ति त मौन सङ्घर्ष, पीडा र त्याग रहेछ । अनि यसरी सोच्दा लाग्छ– शायद मेरो लेखन पनि त्यही जरा खोज्ने यात्राको हिस्सा हो । शब्दहरू बाहिरी फूल मात्र हुन्, तर भोगाइ, मौनता र अनुभव नै तिनको जरा हो ।
त्यसैले यो निबन्ध पढेपछि मेरो मनमा एउटा गहिरो प्रतिज्ञा जन्मिन्छ– फूलको लोभ भन्दा जराको खोज गर्ने, सजावटको मोह भन्दा मौन आधारको कदर गर्ने, क्षणिक हर्ष भन्दा स्थायी धैर्यलाई अपनाउने ।
“जराको शक्ति” निबन्ध पढ्दा मनमा पहिलोपटक एक गहिरो तरङ्ग उठ्छ । केवल शब्दको सौन्दर्य होइन, जीवनको मौन सत्यसँगको साक्षात्कार हुन्छ । जरा, जुन देखिँदैन, जुन माटोभित्र मौन गाडिएको हुन्छ, तर जसले सम्पूर्ण वृक्षलाई सम्भव बनाएको हुन्छ । बाहिर फुल्ने पात, फूल र फललाई सबैले देख्छन्, प्रशंसा गर्छन्, तर जरा भने अन्धकारभित्र मौन रहन्छ । यही मौन शक्तिको स्तुतिगान हो यो निबन्ध, जसले मलाई आफ्नै जीवन र समाजलाई नयाँ दृष्टिले हेराउन बाध्य बनाउँछ ।
हाम्रो जीवन अक्सर फूलप्रति लोभले भरिएको हुन्छ । हामी प्रशंसा खोज्छौँ, सौन्दर्य देखाउन चाहन्छौँ, बाहिरी सजावटलाई नै जीवनको सार ठान्छौँ । तर निबन्धले भन्छ– साँचो शक्ति फूलमा होइन, जरामा छ । फूल क्षणिक हो, जरा स्थायी हो । फूल सजावट हो, जरा आधार हो । यही विरोधाभासले जीवनलाई अर्थ दिन्छ, तर हामी अक्सर यही सत्यलाई नजरअन्दाज गर्छौँ ।
निबन्ध पढ्दा मलाई लाग्छ– म पनि प्रायः फूलमात्रै देखेर रमाउने मान्छे हुँ । मेरो सफलताको क्षण, अरूले ताली बजाउँदा आएको गर्व, समाजले दिएको मान्यता । यी सबै फूलका पल थिए । तर त्यस बेला मैले मेरो जरा कहाँ छ भनेर सोचिनँ । जब जीवनमा आकस्मिक आँधी आयो, कठिनाइ र पीडाले घेरे, तब मात्र थाहा पाएँ– जरा कमजोर छ भने फूल सजिलै खस्छ । अनि निबन्धको सन्देश यथार्थ अनुभव बनेर मेरो आत्मामा बस्यो ।
जरा भनेको मौन श्रम हो, जुन कोही देख्दैन तर सबैलाई सम्भव बनाउँछ । किसानको खेतमा उम्रिएको अन्न, मजदुरको पसिनाले ठडिएको घर, आमाको आँसु र त्यागले चलेको परिवार यी सबै अदृश्य जरा हुन् । तर समाज भने फूलको मात्र प्रशंसा गर्छ– सजावट, सफलता, धन, पद र शक्ति । यही असन्तुलनले समाजलाई कमजोर बनाइरहेको छ ।
लेखकले भनेझैँ, आँधीपानीले जरालाई अझ सबल बनाउँछ । पीडाले मात्र जीवनलाई गहिरो बनाउँछ । सहजता र सुविधा मात्र पाएर जरा बलियो हुन्न । यो विचार पढ्दा म आफ्नै बाल्यकाल सम्झिन्छु । गल्फडिया गाउँको धुलो, काँडा, भोक, हिलो यी सबै कठिनाइले नै मलाई सबल बनाए । अहिले गोलबजार शहरमा देखिने सुविधा र सजिलो जीवनले तिनै कठिनाइको मूल्य हराउने खतरा बनाइरहेको छ । नयाँ पुस्ता पीडा सहन नसक्ने बन्दै गएको छ, जसरी सहज सिँचाइ गरेको पानीले हुर्किएको बिरुवा कमजोर हुन्छ ।
निबन्ध पढ्दा मेरी भगवती आमाको अनुहार बारम्बार आँखामा आउँछ । उहाँ कहिल्यै फूल जस्तो सजावटमा रहनु भएन । उहाँको कुनै पद, सम्मान वा चकाचौँधको जीवन भएन । तर उहाँ नै हाम्रो परिवारको जरा हुनुहुन्थ्यो । उहाँको मौन श्रम, त्याग र आँसु बिना हाम्रो अस्तित्व अकल्पनीय थियोे । तर हामीले उहाँलाई फूलको दृष्टिले कहिल्यै हेरेनौँ, उहाँको अदृश्य शक्तिलाई कदर गरेनौँ । अहिले बल्ल बुझिन्छ– जीवनको सबभन्दा ठूलो शक्ति मौन र अदृश्य हुन्छ, जसरी जरा हुन्छ ।
दार्शनिक दृष्टिले हेर्दा, जरा अस्तित्वको आधार हो । अस्तित्ववादले भन्छ– जीवनको सार त्यही हो जुन देखिँदैन, तर जुनले सबै देखिने कुरा सम्भव बनाउँछ । जसरी जराले अदृश्य भएर वृक्षलाई सम्भव बनाउँछ, त्यस्तै आत्माको मौनता, पीडा र सङ्घर्षले मानिसलाई सबल बनाउँछ । फूल भने क्षणिक सजावट हो, जसको मूल्य बिना जराको अस्तित्वमा शून्य हुन्छ ।
निबन्धलाई समाजसँग तुलना गर्दा अझ स्पष्ट हुन्छ । समाजलाई वृक्ष ठानेर हेरौँ– पात र फूल सौन्दर्य हुन्, उत्सव हुन्, परम्परा र संस्कारका रङ हुन् । तर जराहरू भने आधारभूत मूल्य, विश्वास, त्याग र श्रम हुन् । यदि यी कमजोर भए भने समाजको सम्पूर्ण वृक्ष ढल्छ । अहिले हाम्रो समाज फूल देखाएर रमाइरहेको छ– चम्किला भवन, प्रविधिको चमक, बाहिरी सजावट । तर जराहरू कमजोर बन्दै छन् – नैतिकता खस्कँदैछ, विश्वास हराउँदैछ, त्याग ओझेलमा पर्छ । यही सन्देश निबन्धले मौन रूपमा हाम्रो सामूहिक जीवनलाई चेतावनी दिँदैछ ।
मलाई लाग्छ, यो निबन्धले मलाई मात्र होइन, हरेक पाठकलाई आफ्नै जीवनप्रति प्रश्न गर्न बाध्य बनाउँछ– मेरो जरा कहाँ छ ? मेरो शक्ति के हो ? के म सजावटमात्रै खोजिरहेको छु, वा मौन आधारलाई पोषण गरिरहेको छु ? यी प्रश्न सजिलो छैनन्, तर यी प्रश्नले जीवनलाई गहिरो अर्थ दिन्छन् ।
निबन्धको रूपकहरू अत्यन्त जीवन्त छन् – जरा र फूल, आँधी र मौनता, सङ्घर्ष र स्थायित्व । यी सबै केवल साहित्यिक सौन्दर्य होइनन्, जीवनसँग प्रत्यक्ष गाँसिएका प्रतीक हुन् । जरा केवल वनस्पतिको कुरा होइन, यो जीवनदर्शन हो । फूल केवल सौन्दर्य होइन, यो क्षणिक मोह हो । यी रूपकमार्फत लेखकले जीवनको गहिरो सत्यलाई कलात्मक ढङ्गले उद्घाटन गरेका छन् ।
मैले जब जीवनका कठिन क्षणहरू भोगेँ– परिवारमा रोग, आर्थिक सङ्कट, सम्बन्धमा दरार । त्यस बेला मात्र बुझ्न सकेँ, साँचो शक्ति सजिलो बाटोमा छैन । त्यस पीडाले नै मलाई गहिरो बनायो, जरा गाड्न बाध्य बनायो । यदि त्यो आँधी नआएको भए, म अझै फूलको सजावटी जीवनमै अड्किने थिएँ । त्यसैले अब जब कुनै पीडा आउँछ, म त्यसलाई शत्रु होइन, साथी ठान्छु । किनभने त्यसले मेरो जरा बलियो बनाउँछ ।
निबन्ध पढ्दा लाग्छ– जीवनलाई सजिलै बाँड्न सकिन्छ । फूल भनेको हाम्रो देखिने उपलब्धि हो– नाम, धन, सौन्दर्य, मान्यता । जरा भने हाम्रो मौन सङ्घर्ष हो– पीडा, त्याग, धैर्य, विश्वास । हामी अक्सर फूलप्रति लोभले भरिन्छौँ, तर जरा नै साँचो शक्ति हो भन्ने थाहा पाउँदैनौँ । यही भ्रमले जीवनलाई कमजोर बनाउँछ ।
अन्ततः, यो निबन्धले दिएको गहिरो शिक्षा यही हो– जीवनको सौन्दर्य अदृश्यतामा छ । मौन श्रममा, पीडामा, त्यागमा, धैर्यमा । जसरी जरा अन्धकारभित्र मौन भएर वृक्षलाई सम्भव बनाउँछ, त्यस्तै मौन शक्तिले मात्र मानिसलाई सबल बनाउँछ । फूल क्षणिक छ, जरा स्थायी छ । फूल सजावट हो, जरा आधार हो ।
यस निबन्धले मलाई मेरो जीवन पुनर्विचार गर्न बाध्य बनायो । अब म फूल भन्दा जरा खोज्छु, सजावट भन्दा मौन आधार खोज्छु । जब कुनै फूल देख्छु, त्यसको सुन्दरतालाई मात्र होइन, त्यसलाई सम्भव बनाउने अदृश्य जराको मौन शक्तिलाई पनि सम्झन्छु ।
त्यसैले मेरो अन्तिम अनुभूति यति मात्र हो– जीवनमा सबैभन्दा ठूलो शक्ति देखिने कुरामा छैन, लुकेका कुरामा छ; बाहिरी सौन्दर्यमा छैन, भित्री मौनतामा छ; फूलमा छैन, जरामा छ । अनि जसले यो सत्यलाई आत्मसात् गर्न सक्छ, ऊ मात्र साँच्चिकै सबल हुन्छ ।
“जराको शक्ति” निबन्धको सम्पूर्ण यात्रा पढ्दा, अन्तिममा मनमा एउटा मात्र अनुभूति बाँकी रहन्छ– हाम्रो जीवन, हाम्रो समाज, हाम्रो संस्कृतिको सबभन्दा ठूलो सत्य अदृश्यता र मौनतामा लुकेको छ । संसार हामीलाई निरन्तर फूल देखाउँछ– सफलता, सम्मान, सौन्दर्य, पद, नाम, शक्ति । तर यस निबन्धले शान्त तर दृढ स्वरमा भन्छ– फूल क्षणिक छ, जरा स्थायी छ । फूल बाहिरी सजावट हो, जरा मौन आधार हो । फूल त केवल परिणाम हो, जरा भने सम्पूर्ण प्रक्रिया हो ।
यस निबन्धले देखाएको सत्य केवल साहित्यको सौन्दर्यमा सीमित छैन, जीवनको प्रत्येक तहमा लागू हुन्छ । व्यक्तिगत रूपमा, हामी प्रायः आफ्नो जीवनलाई सजावटको आधारमा नाप्छौँ– कति सफलता प्राप्त गरियो, कति सम्पत्ति जम्मा भयो, कति मानिसले हामीलाई चिन्छन् । तर जब आँधी आउँछ– रोग, असफलता, अपमान वा हानी । त्यस बेला मात्र थाहा हुन्छ, हाम्रो जरा कति गहिरो छ । यदि जरा सबल छ भने हामी आँधीमा ढल्दैनौँ, बरु अझै बलियो भएर उभिन्छौँ । तर यदि जरा कमजोर छ भने, सजिलो हावा चल्दा पनि फूल खस्छ, पात ओइलाउँछ, जीवन नै ढल्छ ।
निबन्धले दिएको अर्को गहिरो शिक्षा हो– पीडा र सङ्घर्षलाई टार्ने होइन, आत्मसात् गर्ने । जसरी जराले अन्धकारभित्र मौन पीडा सहेर जीवनलाई सम्भव बनाउँछ, त्यस्तै मानिसले पनि कठिनाइलाई आत्मसात् गर्नुपर्छ । पीडाले मात्र आत्मालाई गहिरो बनाउँछ, सङ्घर्षले मात्र चरित्रलाई सबल बनाउँछ । हामी सजिलो र सुखमात्रै खोज्ने प्रवृत्तिमा रमाउँछौँ, तर त्यो सजिलोले जीवनलाई सतही मात्र बनाउँछ । पीडा र आँधीको अनुभव बिना, जीवनमा कुनै गहिराइ आउँदैन । यस निबन्धले यही कठोर तर सत्य पाठ सिकाउँछ– आँधीलाई स्वागत गर, किनभने त्यसले तिम्रो जरा सबल बनाउँछ ।
यो विचार समाज र राष्ट्र दुवैका लागि सान्दर्भिक छ । कुनै पनि समाज वा राष्ट्र फूल देखाएर मात्र दीर्घकालीन हुँदैन । चम्किला भवन, प्रविधिको चकाचौँध, बाहिरी विकास ।यी सबै फूल हुन् । तर जराहरू भने मूल्य, नैतिकता, विश्वास, श्रम, परम्परा र मौलिकता हुन् । यी जराहरू कमजोर भए भने, कुनै पनि समाज वा राष्ट्र लामो समयसम्म उभिन सक्दैन । आज हामी देखिरहेका छौँ– अनेकौँ मुलुक वा समुदायहरू बाहिरी प्रगतिमा चकाचौँध देखिन्छन्, तर भित्री आधार कमजोर भएकै कारण थोरै आँधी आउँदा ढल्छन् । त्यसैले निबन्धले दिएको चेतावनी स्पष्ट छ– जरालाई सबल बनाऊ, अनि मात्र फूलको सौन्दर्य टिक्छ ।
निबन्धले व्यक्तिगत र सामूहिक जीवनलाई मात्र होइन, दार्शनिक सत्यलाई पनि उजागर गर्छ । जीवनको सौन्दर्य क्षणिक फूलमा होइन, अदृश्य जरामा हुन्छ भन्ने विचारले अस्तित्ववादको मूल प्रश्नसँग पनि मेल खान्छ । जीवनको सार बाहिरी देखावटमा होइन, भित्री मौनतामा छ । जसरी जराले वृक्षलाई मौन आधार दिन्छ, त्यस्तै जीवनमा धैर्य, विश्वास र त्यागले मौन आधार दिन्छन् । त्यसैले यो निबन्ध केवल प्रकृतिको रूपक होइन, जीवनदर्शनको दर्पण हो ।
व्यक्तिगत दृष्टिले, यस निबन्धले हरेक पाठकलाई आफ्नै जीवनप्रति प्रश्न गर्न बाध्य पार्छ– मेरो जरा कहाँ छ ? मेरो शक्ति के हो ? के म केवल फूलमा रमाइरहेको छु, वा मेरो भित्री आधारलाई पोषण गरिरहेको छु ? यी प्रश्न सजिलो छैनन्, तर जीवनलाई गहिरो बनाउने यही प्रश्नहरू हुन् । निबन्धले दिएको चेतना भने यही हो– जीवनलाई स्थायी बनाउन हो भने, जरामा ध्यान देऊ । फूलमा रमाऊ, तर जरालाई नबिर्स ।
यसै प्रसङ्गमा, हाम्रो संस्कृतिमा बारम्बार उच्चारित हुने “त्याग, श्रम र मौन सेवा” को मूल्य यस निबन्धले पुनः स्मरण गराउँछ । नेपाली समाजमा धेरै आमाबुबा, श्रमिक, किसान, सिपालु व्यक्तिहरू छन् जसले मौन श्रम गरेर परिवार, समाज र राष्ट्रलाई सम्भव बनाएका छन् । उनीहरू फूल होइनन्, जरा हुन् । तर हामी प्रायः फूललाई मात्र सम्मान गर्छौँ– राजनीतिज्ञ, कलाकार, धनी, चर्चित व्यक्तिलाई । जराहरू भने मौन गुमनाम रहन्छन् । यो असन्तुलनलाई सच्याउन निबन्धले हामीलाई आग्रह गर्छ– अदृश्य श्रमको कदर गर, मौन शक्तिको सम्मान गर ।
अन्ततः, निबन्धले दिएको मूल शिक्षा अत्यन्त सरल तर गहिरो छ । जीवनमा सबभन्दा ठूलो शक्ति देखिने कुरामा छैन, लुकेका कुरामा छ । फूल सजिलो हुन्छ, जरा कठिन हुन्छ । फूल क्षणिक हुन्छ, जरा स्थायी हुन्छ । फूल रमणीय हुन्छ, जरा मौन हुन्छ । तर जीवनको आधार फूल होइन, जरा हो । जसले यो सत्यलाई आत्मसात् गर्न सक्छ, ऊ मात्र जीवनमा सबल हुन्छ, ऊ मात्र आँधीमा ढल्दैन ।
त्यसैले, मेरो अन्तिम अनुभूति यही हो– जीवनलाई स्थायी बनाउन जरालाई सबल बनाऊ । मौन श्रमलाई कदर गर, पीडालाई आत्मसात् गर, धैर्यलाई पोषण गर । फूल देख, रमाउ, तर जरा नबिर्स । किनभने जराको शक्ति नै जीवनको वास्तविक शक्ति हो ।