19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वन्दी मानस

कविता कृष्ण उपाध्याय October 27, 2025, 9:15 am
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

मनमनै मग्न म मानस
लक्ष अलक्ष अभेदमा
कञ्चन कञ्चन कञ्चनजङ्गाबाट झर्दा
तमोर तिरैतिर तमोरमा तरंगित हुन्छु म।

स्वतन्त्र म,
मनोरम मनमोहक दृश्य परिदृश्यमा
कोइलीका कोकिल स्वरसुधामा
चम्पा चमेलिका गन्ध सुगन्धमा
पल्लवित पिपलका स्पृश्य स्पर्शमा
फलदका फलैफलका फलाहारका फलाशामा
वन्दीगृहको वन्दीजस्तै वन्दी वने म।
वन्दी छन् मेरा पंचेन्द्रिय
वन्दी छ मेरो मन।

मनै त हो
यो वन्दी हुन्छ, मुक्त हुन्छ।
वन्दी हुँदा वन्दी हुन्छ मान्छे
हुँदा मुक्त उन्मुक्त हुन्छ मान्छे।

झरना जस्तै झर्दा झर्दै
तमोरको तरंगित तरङ्गमा तैरिदा तैरिदै
कोशीको कलरवमा रम्दा रम्दै
अङ्गदा आच्छादित अङ्गनामा अवतरित म
वन्दी बनें अङ्गनाका अङ्गमा।

अनि त भ्रमर जस्तै भ्रान्त विभ्रांत छु म
आफैलाई आज मानस भन्छु म
भोलि अङ्गना !
कहिले अङ्गी भन्छु
कहिले संगी भन्छु।

चताराको वास हुँदा यहि भ्रममा हुन्छु म
अङ्गनाको वास हुँदा यहि भ्रममा हुन्छु म।
अङ्गनाका अङ्ग, अङ्ग हुन् मेरा पनि
तिनै अङ्गमा अड्किएको छु म
तिनै अङ्गबाटै त रसास्वादन गर्छु म
मोहक मिठो
दृश्य परिदृश्यका,
सुरिलो स्वरका,
गन्ध सुगन्धका,
स्निग्ध स्पर्शका,
स्वादका।

त्यतै बाधिएर वन्दी छ मधुर मन
मधुर मदक मन टाँसीएको छ त्यतै
छालामा मसक टाँसीए जस्तै ।

वेम्ब्ली, बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।