18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यो लेख नलेखेको भए पनि हुने

संस्मरण/स्‍मृति पूर्ण ओली October 30, 2025, 5:15 pm
पूर्ण ओली
पूर्ण ओली

म यही धरातलमा पलेटी कसेर सधैँ धरातलकै खनीखेदो गरिरहने लेखक हुँ । तर यो लेख यस धरातलसँग सम्बन्धित छैन । धरातल छोड्दै गर्दा मनमा उर्लिएका झिनामसिना कुराहरू । यस्ता कुरा लेखे पनि के नलेखे पनि के ?
एक हप्ताअघि मात्रको कुरा हो असामयिक निधन हुन पुगेका भाइ दीपक खड्काको अन्त्येष्टिमा सहभागी हुन हामी काठमाडौँबाट नेपालगन्ज उड्दै थियौँ ठुल्दाइ, भाइ प्रकाश र जुवाइँ सचिनसँगै । तर यात्राको क्रममा सबै एक्लाएक्लै जस्ता थियौँ । सबै मौन मौन । पूर्वसूचित विपत्तिको नजिक नजिक पुगेको समयजस्तो । कुरा गर्नुपर्ने कुनै नयाँ विषय पनि थिएन । मन यसै रोइरहेको थियो । आआफ्नो मनलाई आफैले सम्झाइबुझाइ नगरी नहुने !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५ नम्बर गेटबाट बाहिर निस्किएपछि सम्बन्धित वायु सेवाको सटल बसमा चढ्यौँ । जहाजतिर बढ्दै गर्दा चारो टिप्दै गरेका रङ्गीबिरङ्गी चराहरूजस्ता सानाठुला विमानहरू चहुरभरि छरिएका देखिए । एकछिनमा परेवालाई चारो हालेझैँ सटल बसले हामीलाई मानव निर्मित चराको अघिल्तिर छरेर रित्तै फर्कियो ।
जहाज चढ्दै गरेका यात्रीहरूको पाइलामा उमङ्ग थिएन । अनुहारहरूमा एक प्रकारको सन्नाटा पोतिएको थियो । मानौँ उनीहरूले जहाजबाट अब फेरि झर्नुपर्ने छैन । स्वागतार्थी विमान परिचारिकाको अनुहारमा बनावटी मुस्कान बलजफ्ती निस्किएजस्तै । कतै यो जहाज आकाशमै विलीन हुने त होइन ?
अन्तिम यात्रु चढ्नेबित्तिकै जहाजको ढोका बन्द भयो । कुनै अनन्त गहिरो इनारमा खसेपछि इनारको मुख बन्द भएझैँ एकछिन छटपटी भयो । बाहिरी संसारसँग सम्बन्ध टुटेझैँ लाग्यो । शायद मृत्युको सामना गर्ने मृतकले पनि यस्तो अनुभूति गर्दैन होला ।
हाम्रो सिट जहाजको ठिक बिचमा परेको थियो । जहाजमा अघिल्लो वा पछिल्लो सिटले के नै फरक पार्छ र ? ठुल्दाइ र प्रकाश देब्रेतिरको सिटमा गएर बसे । दायाँतिरको सिट सचिन र मैले साटफेर गर्दा झ्याल मेरो भागमा पर्‍यो ।
सिट बेल्ट बान्दै गर्दा देवकुमारीलाई फोन गरेँ, ‘हामी प्लेनमा बसिसक्यौँ ।‘
जहाजबाट ‘टुङ्ङऽऽऽ‘ आवाज आयो । सूचना होलाः ‘अब हामीले धरातल छोड्दै छौँ’ भन्ने ।
‘कृप…..’, लाउडस्पिकरमा परिचारिकाको आवाज बोल्दा बोल्दै रोकिन्छ । आकाशमा उडिरहेको बेला सूचना दिने कर्मचारीको आवाज रोकिए कति डर लाग्दो हो !
जहाजका अण्डाकार झ्यालबाट बाहिर हेर्छु । धावनमार्गको उही दृश्य । चारो टिप्दै गरेका चराहरूजस्ता उनै जहाजहरू । नयाँ थोक पटक्कै केही छैन । एउटा जहाज उड्दैमा र अर्को जहाज बस्दैमा धावनमार्गमा कुनै परिवर्तन पनि त आउँदैन ।
सन्मुखको सिटको गोजीमा केही छ कि भनी छामछुम गर्दा एउटा पत्रिका फेला पर्‍यो । झिकेँ र कभर हेरेँ सुरक्षा निर्देशिका रहेछ । सुरक्षा होइन कि खतराको घण्टीझैँ ठानेर झसङ्ग भएँ र हत्पति साविककै गोजीमा घुसारेँ । मुटु एकछिन ढुकढुकायो । लाग्यो नझिकेको भए पनि हुने ।
अब हेर्नु के ?
नयाँ थोक केही भेटिइहाल्छ कि जस्तो गरी आँखाहरू अनायास यताउता घुम्दै छन् ।
बिचमा परैसम्म पुगेको रित्तो प्यासेज छ । सिटहरू पङ्क्तिबद्ध छन् ।, अपराधीलाई नेलले बाँधेझैँ हरेक सिटमा बेल्टले बाँधिएका मौन यात्रुहरू छन् । प्रत्येक सिटअगाडि उपयोगहीन ट्रे टेबल छन् । सिटको माथिपट्टि ओभरहेड बिन छ र त्यहाँ झोलाहरू पहिल्यै कैद भइसकेका छन् । शिरमाथि एयर भेण्ट, स्टडी लाइट, र क्याल बटन छन् । अगाडि, बीचतिर र पछाडि आपतकालीन ढोकाहरू छन् । ढोकाको वरिपरि “EXIT” भनेर रातो बत्ती बलिरहेका छन् । जुन हरेक जहाजभित्र हुन्छन् । तिनै कुराहरूलाई मात्र कति हेरी बस्नु ।
जहाजको टुङ्ङऽऽऽ आवाज फेरि पनि आयो । अब त उड्छ कि भनी पलाएको आशा केही बेरमै मुर्झाउँछ । परिचारिका ठुलो सिट तानेर उँधोमुन्टो बसेकी छिन् । उनको कुनै सूचना जारी हुने सम्भावना देखिँदैन ।
जहाज स्थिर छ । जहाज स्थिर रहेपछि वरिपरिको दृश्य परिवर्तन हुने कुरै भएन । जहाजभित्रै पनि कता हेर्नु । अगाडि हेर्दा सबैको घिच्रो मात्र देखिने । पछाडि फर्केर हेर्नै नमिल्ने । देब्रतिर हेर्दा सिटको किलोमा बाँधिएका सचिन, ठुल्दाइ र प्रकाशका मलिन अनुहारहरू । प्रकाश भिडियो बनाउनमै तल्लीन रहेकोले अनुहारमा घरी घरी चमक देखिन्छ । दायाँतिरको दृश्य खिचिदिन मलाई आग्रह गर्छ ।
यात्रुहरू त अरू पनि छन् । अगाडिको पंक्तिमा बस्ने महिला आफ्नो बच्चालाई फस्ट्याउँदै सुताउन खोजिरहेकी छन् । तर ऊ च्याँहाँ च्याँहाको स्वरमा यथास्थितिको प्रतिरोध गर्न खोज्दै छ । अर्को सिटमा वृद्ध व्यक्ति छन् । हातमा प्रार्थनाको माला, ओठमा शान्ति मन्त्र जपिरहेका । उनीसँगै कुनै पर्यटक जस्तो छ, जसका आँखामा उत्सुकता जस्तो छ । कोही व्यवसायी होलान् । कोही विद्यार्थी होलान् । अधिकांश यात्रीको ध्यान आआफ्नै मोबाइलले खिचिरहेको छ । सिटहरू दुरुस्तै उस्तै छन्, तर हरेक सिट आफ्नो भन्दै बसेका यात्रुका कथाहरू नितान्त फरक फरक छन् । एउटै पखेटामुनिका मुसाफिर तर परिचयको दरकार छैन ।
तिहार आजै हो । धेरैजसोलाई दिदीबहिनीहरूलाई टीका थाप्न हतार होला । उता टीकाको साइत गुज्रँदै छ । हामी पनि दिदीबहिनीले तयार गरेको माला र सप्तरङ्गी टीकाबाट टाढा टाढा हुँदै छौँ । दीपक भने दिदीबहिनीहरूबाट सधैँको लागि टाढा भइसके । बहिनी किरणको रुवाइको हिक्का कानले अझै महसुस गर्दै छन् । विदेशमा पुनम कति रोइहोलिन् !
त्यतातिर ध्यान नजाओस् भन्यो गइहाल्छ । दीपक नै नगइदिएको भए त झन् कति बेस हुन्थ्यो । देवकुमारीले हिजो अस्ति नै बनाएको टिकटकको गीत कानमा बज्न थाल्छः ‘दशैँ तिहार आउन त आउँथ्यो पैले नि, यो तिहारजस्तो मज्जा भएन कैले नि ।‘ कस्तो बिडम्बना ! यो तिहारजत्तिको नमज्जा कहिल्यै भएन । समय दुरुस्तै उही हो । तर हाम्रो भागकै समय किन यसरी चिरा परेको होला ?
ढुङ्रोमा माछो फेला पार्न कोसिस गरेको माझीझैँ फेरि हात अनायासै अगाडिको सिटको गोजीमा पस्छ । अर्को कार्ड समातेर आँखालाई देखाउँछ । आँखाले ‘सिकनेस ब्याग’ अर्थात् ‘वान्ता गर्ने थैली’ भएको जानकारी दिन्छन् । वाकवाकी लाग्लाझैँ हुन्छ र हत्तपत्त गोजीमा घुसार्छु । जिन्दगी पनि यस्तै हो, कहिले विश्वास झिकिन्छ, कहिले डर लुकाइन्छ ।
अब गर्नु के ?
जहाजको टुङ्ङऽऽऽ आवाज फेरि पनि आउँछ । अब त एकनासको त्यो आवाज सुनेर कान पनि चनाखा हुन छोडिसके ।
सचिनतिर हेर्छु । उनी त कम्मरमा सिटबेल्ट बाँध्नेबित्तिकै निदाएजस्ता छन् । झकझकाएर उठाऊँ कि जस्तो लाग्छ । तर उनी सुतेकै हुन् भने उठाइदिँदा, ‘दाइ, नेपालगन्ज आयो ?’ भन्दै उठे भने मैले के जवाफ दिने ?
आँखा चिम्लिन खोज्छु चिम्लिँदैनन् । बरु सिट अगाडिको गोजी छाम्न थाल्छन् । एउटा केटीको सुन्दर चित्रमा मुग्ध हुन्छन् र क्याप्सन पढ्छन्: ‘जेन्जी पुस्ताको अभिनेत्री सनिशा !’ जेन्जी ? कति सुन्दर शब्द ! कति लयालु र मायालु शब्द ! हातले अनायासै त्यो पत्रिका गोजीबाट निकाल्छन् । ‘यात्रा’ नामको इन्टरफ्लाइट म्यागेजिन रहेछ । अक्षर पनि सनिशाजस्तै सुन्दर छन्: YATRA.
खरानी भएको सिँहदरबार कल्पन्छ मनले । मन दूधमा चुक हालेसरि एकछिनमै अमिलिन्छ र फाट्छ । कहिले उठ्ला अब सिँहदरबार ? कहिले खुट्टा टेक्ला सर्वोच्च अदालतले । कहिले ढुकढुकी चल्न थाल्ना अख्तियारको ? पत्रिका साविककै गोजीमा कोच्ने झोँक चल्छ ।
झोँक चल्दैमा त्यागिहाल्ने खालको छैन यो पत्रिका । आकर्षक कभर छ । रङ्गिन पानीहरू । विषयवस्तुहरू पनि आकर्षक नै हुनुपर्छ । अनायासै पाना फररर पल्टिँदै जान्छन् । आँखा पानापानामा फाल हाल्दै जान्छन् । पत्रिकाको बिचतिर चराहरूले आकाशको जहाजलाई घेरेको चित्र देखिन्छ । शीर्षक पढ्छुः ‘आकाशमा सानो चरा, ठुलो खतरा ।‘ चरा सम्झँदै मुटु ढुकढुक गर्न थाल्छ । बडेमानको जहाजलाई केही मिनेटमै ध्वस्त गर्न एउटा सानो चरा नै काफी छ । उड्दै गर्दा यही जहाजमा चरा ठोकियो भने ? छिटो छिटो पत्रिका बन्द गरेर लामो सास फेर्न थाल्छु ।
नउडे पनि हुन्थ्यो यो जहाज ! रद्द भए हुन्थ्यो आजको यो उडान ! आँखाहरूले ‘EXIT’ लेखिएका ढोका खोज्न थाल्छन् । अँहँ भागेर बाहिर जान सम्भव छैन । मैले भाग्न खोज्दैमा परिचारिकाले विमानको ढोका खोलिदिने छैनन । कुनै निहुँले पनि काम गर्नेछैन । जिउमा चिटचिट पसिना आइसकेका छन् ।
आधा घण्टा बितिसक्दा पनि प्लेन टसको मस भएको छैन । ठिकै छ आकाशको ट्राफिक जाममा पर्नुभन्दा धरातलकै ट्राफिक जाममा पर्नु बेस । आकाशका चरासँग ठोक्किनुभन्दा भुइँकै विचराहरूसँग ठोक्किनु बेस ।
मोबाइलमा देवकुमारीको फोन आउँछ । लाऽऽ मैले त फोन अफ गर्नै बिर्सेछु ! जहाजबाट फोन अफ गर्नू भन्ने सूचना पनि त प्रवाह भएको छैन । फोन काटिदिन्छु । उनले खुसी हुँदै नेपालगन्ज पुगिसक्नुभयो भनेर सोधे मैले जवाफ दिनु के ? जहाजमा चढिसकेँ भनेको आधा घण्टासम्म पनि जहाजभित्रै छु भनी कसरी जवाफ दिने ? जहाजको पङ्खा नघुम्दै मैले देवकुमारीलाई फोन नगरेको भए पनि हुने । आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तअनुसार अन्तरीक्षमा पुगेपछि मात्र समय ढिला चल्छ । धरातल नछोड्दै पनि समय कति ढिला चलेको ?
टुङ्ङऽऽ । यसपालि भने जहाजका पङ्खाहरू घुम्न थाल्छन् । टर्बाइनको आवाज बढ्दै जान्छ । एर होस्टेसले अगाडिको ‘कृप….’ को भनाइ पूरा गर्छिन्:-
‘लेडिज एण्ड जेन्टलमेन । एर ट्राफिकको कारण जहाज केही क्षण ढिला हुनगएकोमा क्षमा चाहन्छौँ । म बताउन गइरहेकी छु सिटबेल्ट प्रयोग गर्ने तरिका…… !‘
लाउडस्पिकरबाट आवाजमुताबिक उनले अगाडितिरबाट सिटबेल्ट हातमा लिएर बाँध्ने र फुकाल्ने तरिका सिकाउँदै छिन् । तर ध्यान कसैको पनि त्यता छैन ।
हामी बसेको जहाज धावनमार्गमा घिस्रिन थाल्छ । खुसी हुनुपर्ने हो मनहरू ! उत्सुक हुनुपर्ने हो आँखाहरू ! यात्रीहरूको कुनै प्रतिक्रिया छैन । जीवन पनि यस्तै हो, हामी उड्न चाहन्छौँ, तर आफ्नै धावनमार्गमा अनन्तसम्म स्थिर रहन्छौँ वा घिस्रिरहेका हुन्छौँ।
धावनमार्गमा चरा नदेखियून् भन्ने कामना गर्न थाल्छु । कतै चरा देखिन्छ कि भनी आँखा चनाखा हुन्छन् । सानासाना जहाजले त चरा नै हुन् कि भनी झुक्याउँछन् पनि । बाहिरको ध्यान हटाउन खोज्दा त्यही लेखमा पुगेर आँखा रोकिए र पहिलो अनुच्छेद पढेः २०६९ असोज १२ गते भर्खरै उडेको सीता एअरको डोर्नियर विमानमा चरा ठोक्किएकोले मनोहरा खोलामा खस्यो र सबै यात्रुले ज्यान गुमाए । चराको गतिविधि अत्यधिक हुने विमानस्थलमा काठमाडौँ र नेपालगन्जका विमानस्थलहरू पनि हुन् ।‘
थप अनुच्छेद पढ्न आँट नआएकोले पत्रिका बन्द गरेर लामो सास फेर्छु ।
जहाजमा सयौँचोटि चढियो तर जहाजको लागि चराको खतरा हुन्छन् भन्नेतर्फ वास्तै गरिएको थिएन । यात्रीको डर हटाइदिनुपर्नेमा किन डर हालिदिएको होला यात्रा पत्रिकाले ?
कान एरहोस्टेसकै नियन्त्रणमा छन् । उनी लाग्छिन् आपतकालीन ढोकाको जानकारी दिन । जहाजमा आपतकालीन बाहिरिने ढोकाहरू कहाँ–कहाँ छन् भनेर दुई हातका दुई बुढीऔँला तेर्स्याउँदै देखाउन खोज्छिन् । यो सूचनाले यात्रुहरूको ध्यान खिचिन्न भन्ने उनलाई थाहा भइसके पनि उनले कर्तव्य पूरा गर्नै पर्छ । अनि लाग्छिन् अक्सिजन मास्कको जानकारी दिन । त्यसपछि यात्रुको सिटको गोजीमा राखिएको सुरक्षा निर्दर्शन कार्ड पढिदिन अनुरोध गर्छिन् । तर पढिदिने कसले ? मैले त सुरक्षा निर्देशिका पहिल्यै जहाँको तहीँ कोचिसकेको छु ।
जहाजले जति जति वेग पक्रिन्छ, मन झन् झन् आत्तिन्छ । आँखाहरू बाहिर कतै चरा उडिरहेको छ कि भनी खोज्छन् । भेटाइहाले पनि के र ? आफ्नो इच्छाले चल्ने होइन क्यारे यो जहाज ।
परिचारिकाले जहाज उड्दा र अवतरण गर्दा मोबाइल फोन नचलाउन, फोटो भिडियो नखिचिदिन, तथा विद्युतीय उपकरणहरू बन्द गर्न अनुरोध गर्छिन् । जहाजभित्र धूम्रपानका कुनै पनि विधि प्रयोग निषेध गरिएको बताउँछिन् । निषेध गरिएका कार्यहरू गरिएको पाइएमा हवाई सेवा व्यवस्थापन नियमावलीअनुसार कारवाही गरिने कुरा सुनाउन पनि चुक्दिनन् उनी ।
अन्तिमतिर उडान अवधिको संक्षिप्त जानकारी दिन्छिन् : ‘यात्रु महानुभावहरू हाम्रो उडानको समय करिब १ घण्टाको हुनेछ र हामी १७ हजार फिटको उचाइसम्म उड्ने छौँ ।‘
इन्जिनको आवाज तीव्र हुँदै जान्छ । विमान हल्का काँप्दै धावनमार्गमा दौडन्छ र जहाजले बेगवान हुँदै धरातल छोड्छ । भूसतह, शहरहरू, मान्छेको भीड सबै तलै छुटिसकेका छन् । एकाएक तलको जगत् सानो हुँदै जान्छ । सहरका भवनहरू बालबालिकाका खेलौनाजस्ता लाग्छन् । उत्रै छ त केवल जहाजभित्रका यात्रीहरू, सिटहरू र आकाशको विशाल शून्य ।
बल्ल दृश्यहरू परिवर्तन हुन थालेका छन् । पारिका हिमालहरू बादलका गुच्छाले ढाकिएका छन् । तलको जमिन तुवाँलोले ढाकेको छ । आँखा चिम्लिन मान्दैनन् । अतः फेरि झिक्छुः यात्रा पत्रिका । सतर्क छुः चराको खतरा लेख फेरि नदेखियोस् ।
कभरको बिचमा Delicious Nepal क्याप्सन दिइएका सुस्वादु फलफूलको चित्र छ । तल लेखिएको छः दशैँ विशेष । आधाजति अङ्ग्रेजी लेखहरू छन् । आधा नेपाली लेख । अंग्रेजी लेखहरूमध्ये विभिन्न परिकारहरूबारे सविस्तार गरिएको अमृत भादगाउँलेको पहिलो लेख छ । धौलागिरि आइसफल ट्रेक आर्टक्र्याफ्ट हस्पिटालिटी बियोन्ड होटेल्स वाइल्ड टुरिज्म चुरे आदि अङ्ग्रेजी लेखहरू पनि छन् ।
मोर द्यान अ फ्लाइट शीर्षकमा वायु सेवा कम्पनीको बेलिबिस्तार पढ्दै गर्दा फेरि मन खिन्न हुन्छः यात्रा जस्तो इन्फ्लाइट पत्रिकामा आकाशमा विचरण गरिरहेका यात्रीहरूलाई चराको डर हालेर किन लेख छापियो होला । खतरा छैन भन्ने लेख भए पो ढुक्कले यात्रा गर्न सकिन्थ्यो । यो लेख नराखेको भए हुने ।
अर्को लेख छ केशव सिग्देलको ‘आर्टिफिसियल इन्टेलिजेन्स: अ स्टोरी अफ लाइफ्स नेक्स्ट च्याप्टर’ शीर्षकको । Max Tegmark को अनुसार जीवनका तीन तह हुन्छन् । Life 1.0 अन्तर्गत जैविक जीवन
जसले आफ्नो व्यवहार वा कार्य क्षमता परिवर्तन गर्न सक्दैन जस्तै: ब्याक्टेरिया, वनस्पति आदि) । Life 2.0 अन्तर्गत मानव जीवन जसले नयाँ “सफ्टवेयर” ज्ञान, विचार, सीप, संस्कार सिक्न र परिवर्तन गर्न सक्छ । Life 3.0 मा कृत्रिम जीवन जसले आफ्नो हार्डवेयर र सफ्टवेयर दुवै डिजाइन गर्न सक्छ । कृत्रिम बुद्धिमत्ता (AI) ले आफ्नो सोच, चेतना र उद्देश्य आफैं तय गर्न थाल्यो भने मानव विकासको लागि अवसर पनि हुनेछ र जीवनको अस्तित्वमै संकट ल्याउन पनि सक्छ । केशव सिग्देलको यो लेख Max Tegmark को एक पुस्तकको संक्षेपीकरण रहेछ ।
‘यात्रा’मा रहेका नेपाली लेखहरूमध्ये मकालु र मेमे पोखरी पदयात्राको वर्णन चित्ताकर्षक छ । सुविन भट्टराई, जगदिश खरेल, राजेन्द्र बानियाँ, प्रदीप अधिकारी आदि बारेमा प्रेरणात्मक लेख छन् भने संस्कृति चिनारीमा धिरेन्द्र प्रेमर्षिको ट्याटु (गोदना) को इतिहास र प्रयोगसम्बन्धी खोजमूलक लेख छ । यी लेखहरूका अतिरिक्त आर्थिक, स्वास्थ्य तथा जीवन शैली, कला, साहित्य, प्रकृति, धर्म र खेलकूदसम्बन्धी लेखहरू पनि छन् ।
मनोज गजुरेलको १ मिनेट मौनधारणले १० मिनेटतक मन र मस्तिष्कलाई पनि सिटबेल्ट बाँधेर ठाउँको ठाउँ राख्यो । यो व्यङ्ग्य लेखले यसो नगरेको भए हुने भन्ने कुरा सोच्नै नदिई निश्चिन्त तुल्याउने मात्र होइन भित्रभित्रै हसाउनुसम्म हसायो ।
लेख पढिसक्नेबित्तिकै जहाज हल्लिन र थरथराउन थाल्यो । ला चरा नै ठोक्कियो कि ? डरले सातोपुत्लो जान्छ ।
ट्याक्टर चढेको बखत जति हल्लिँदा पनि डर नलागेको ज्यानलाई आकाशमा भने जहाज अलिकति हल्लियो कि सातोपुत्लो जान्छ । बाहिर हेर्दा बादलका काला डल्लाहरूबिच जहाज पसेको रहेछ । चङ्गाको मसिनो डोरीसमेत चुँडाल्न नसक्ने हावाले २५००० केजीभन्दा बढीको वजन (जहाज+यात्रु+लगेज+इन्धनसमेत) को जहाजलाई कसरी हल्लाउने सामर्थ्य राख्छ होला ? त्यही कुहिरोभित्र हराएको काग पनि रहेछ भने ? भयले शरीर हल्लाइदिन्छ ।
जहाजभित्र वितरण गरिएको चकलेट चपाउँदा पनि हवाइ यात्राको तनाव कम गर्न सहयोग गर्थ्यो तर चकलेट पनि दिन छोडेछ यस वायुसेवाले ।
जहाज हल्लिन छोडेको थिएन जहाजको टुङ्ङ आवाज आयो । धरातलमा सामान्य लाग्ने टुङ्ङ आवाज आकाशमा असामान्य लाग्यो । कान ठाडा भए । परिचारिकाले अब भन्नेछिन्: ‘हामी मौसम खराबीको कारण टर्बुलेन्समा फसेका छौँ । सिटबेल्ट राम्रोसँग बाँध्नुहोला ।‘
तर उनले भनिन्: ‘यात्रु महानुभावहरू, अबको केही समयभित्र हामी नेपालगन्ज एरपोर्टमा उत्रँदै छौँ ।‘
यो खुसीको खबरले हल्लिरहेको जहाजको परवाह पनि गरिएन ।
यो सूचनाको १३ मिनेटसम्म पनि जहाजले चुरे पहाडहरूको आकाशमै कावा खाइरह्यो । आकाशसँग धरातलको साइनो टाढिई नै रह्यो । यो जहाजमा कुनै प्राविधिक गडबडीका कारण ओर्लन नसकेको पो हो कि ? अर्को चिसोले मुटुमा ढ्याङ्ग्रो ठोक्यो ।
चौधौँ मिनेटमा धरातलको दूरी घट्न थाल्यो । बाँकेका गाउँहरू स्पष्ट हुँदै गए । पूर्वपश्चिम लोकमार्ग स्पष्ट देखियो । राप्ती नदी विस्तारित हुँदै गयो । बाँके राष्ट्रिया निकुन्जको जङ्गलको गाढापन फिका हुँदै गयो । जङ्गलमा त चराको राज नै हुन्छ । विमान नओर्लँदै कतै चरा ठोक्कियो भने ?
भयग्रस्त मन र मस्तिष्कले धेरै बेरसम्म मुटु हल्लाउन पाएन । एकैछिनमा जहाजले नेपालगन्जको राँझा विमानस्थलमा पाइला टेक्यो । आफ्ना सन्तानहरू सकुशल फिर्ता पाउँदा धरातल हर्षले गदगद भइन् ।
आकाशमा रहेको बखत पढ्न आँट नगरेको लेख थियोः ‘आकाशमा सानो चरा- ठुलो खतरा’ । पूर्णरूपमा सुरक्षित भइसकेपछि हत्तपत्त त्यही लेख पल्टाएर हेर्न थालेँ । । मनले जुन लेख नलेखेको भए हुन्थ्यो भन्छ त्यही लेख नै पढ्न मन किन यति उत्सुक ?
विमानसँग चराको टकराव विश्वभरमा नै रहेछ । नेपालमा मात्र सन् २०२४ मा टेकअफको क्रममा ४५ पटक र ल्यान्डिङको क्रममा २७ पटक चरा ठोकिएका रहेछन् । चराको गतिविधि कम गर्न यो वर्षको बजेटमा पनि पर्याप्त बजेट विनियोजन गरिएको रहेछ । चरा ठोक्किनेबित्तिकै जहाज नै ध्वस्त भइहाल्ने होइनरहेछ । घरकै शौचालयमा चिप्लिएर ज्यान गएका कैयौँ उदाहरणहरू छन् ।
मन नै शोकमा डुबेको बखत वरपरका हरथोक शोकसन्तप्त देखिँदा रहेछन् । खतरा चरामा होइन मनमा पो हुन्छ । यस्तो मनस्थितिमा मैले यो लेख किन लेखेँ हुँला ? नलेखेको भए हुने ।
जहाजबाट ओर्लँदै गर्दा सम्झेँ, ‘जेन्जी पुस्ताकी अभिनेत्री सनिशा !’ सम्बन्धी लेख त पढ्नै छुटेछ !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।