18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सानफ्रान्सिस्कोको गौरव: गोल्डेनगेट ब्रिज र अन्य रमणीय स्थानहरु

नियात्रा प्रा. डा. यादवप्रकाश लामिछाने October 31, 2025, 8:04 pm
प्रा. डा. यादवप्रकाश लामिछाने
प्रा. डा. यादवप्रकाश लामिछाने

कार्तिक २३,२०८० (९नोभेम्बर २०२३ ) विहान ८.१५ मा टाहो सिटीबाट ५ माइल(८ कि.मि.) पश्चिम दक्षिणमा पर्ने लेक टाहो हेर्न ओरालियौं । नेभाडातर्फबाट तालमा जान सजिलो । आवागमनका लागि सहज भएकाले सबैका लागि पहुँच पुग्ने ठाउँ । सेलिब्रेटीहरुको पनि बाक्लै उपस्थिति । त्यहाँ पुग्न कार र मोटरसाइकलको प्रयोग गर्न सकिने । तालको किनारबाट मोटरबाटो निर्माण गरिएकाले तालको परिक्रमा गर्न सहज । नेभाडातर्फबाट तालमा गयौं । उत्तर साइड पक्रियौं । पानी सङ्लो । तालका किनारमा पानी चलाउने, खेल्ने काम ग¥यौं । अत्यन्त सुन्दर रहेछ टाहो ताल । खासमा यो हिमताल हो । मैले यो बेला हाम्रो रारा सम्झें । के कम ? हाम्रो पनि ।
टाहोसिटी र लेक टाहो दुबै क्यालिफोर्निया र नेभाडा राज्यका सीमामा पर्दा रहेछन् । आधा आधा । वरिपरि जंगल र भिरालो परेको भूबनोटको काखमा लेक टाहो लमतन्न परेर सुतेको जस्तो देखिन्छ । यो सिएरा नेभाडा पर्वत शृङ्खलाका बिचमा पर्दछ । समुद्र सतहदेखि ६२२५ फिट(१८९७ मिटर उचाइमा छ । विश्व कै प्रसिद्ध तथा सौन्दर्यपूर्ण हिमताल मध्येको एक मानिन्छ । यसको गहिराइ करीव १,६४५फिट(५०१मिटर) रहेको छ । अमेरिकाको दोस्रो गहिरो ताल । लम्बाई २२माइल (३५ कि.मि.) चौडाइ करीव १२ माइल (१९ कि.मि.) । वरिपरि जङ्गल, हेर्दै रमाइलो । मैले आफ्नो भूमि सम्झें । हाम्रो के कम ? प्रत्येक १५देखि २० कि.मि.का फरकमा हावा पानी परिवर्तन । ताल र हिमशिखर त कति हो कति सेतै, रुवाजस्तै । पहिचान गर्न सके जङ्गलमै अनेक वनस्पती औषधी नै औषधी । यहाँको पानीमा पारदर्शिता प्रस्ट देखिन्छ । अत्यन्त सफा र नीलो । करीव ७०देखि ८० फिट गहिरासम्म देख्न सकिने । चारैतिर हिमाच्छादित सिएरा नेभाडा पर्वतले घेरेको ।
गर्मीको समयमा हरियो वनको स्वच्छ हावा । जाडोमा हिउँले ढाकिएको सुन्दर दृश्यले आगन्तुकलाई आकर्षित गराउँने । यहाँ बोटिङ, क्याकिङ, हाइकिङ, क्यापिङ र स्वीमिङ गर्न सकिने । जाडोमा स्किइङ र स्नोबोटिङ पनि गर्न पाइने ।
यहाँको ऐतिहासिक तथ्य केलाउँदा अचम्म मान्न सकिने कुरा के रहेछ भनें करीव २०लाख वर्ष अघि भूगर्भीय गतिविधिबाट यसको संरचना बनेको । यो तालबाट नजिक पर्ने सहरहरुमा रेनो, सेक्रेमेन्टो र सानफ्रासिस्को रहेका ।
आध्यात्मिक दृष्टिबाट हेर्दा ‘बासो‚ स्थानीय आदिबासीहरुका लागि यो भूमि पवित्र मानिने । सन् १९६०मा स्क्वा भ्यालीमा (हालको पालिसेडस टाहो) मा शीतकालीन ओलम्पिक भएको ।
क्यालिफोर्नियाको जमीन सिचाइका लागि टाहो डाइभर्सन ड्याम निर्माण गरिएको । यसले पचपन्न हजार एकड जमीन सिंचाइ गर्ने । १८७० मा बनाइएको पुरानो ड्यामलाई प्रतिस्थापन । पछि १९०९ र १९१३मा पुनःनिर्माण । ड्यामको उचाइ १८.२फिट (५.५मिटर) र लम्बाई १०९ फिट (३३ मिटर) । यहाँबाट २१०० क्युविक फिट प्रतिसेकेण्ड पानी प्रवाह हुने । ड्याम उचाइमा । यहाँ बाट ४०० तल पानी झर्ने । सुखा मौसममा पानी कम प्रवाह हुने ।
यहाँको रहस्य के भनें १८६० मा रुसी मूलका इञ्जिनियर एलेक्सिस बाल्डेमर भोनले टाहो क्षेत्रमा धेरै क्षेत्रफल भएको जग्गा खरिद गरेको । उनले १८६५मा वाटर वर्क कम्पनी स्थापना गरेका । १८७०मा सांसद भएका । टु«की नदी हुदै स्क्वा भ्यालीमा पानी लगेको ।
पछि नेभाडाका प्रतिनिधि सभामा चुनिएपछि पश्चिमी क्षेत्रमा सिंचाइ गरी उत्पादन गर्ने योजना बनेको । ट्रुकी सिंचाइ आयोजना बनेपछि निजी क्षेत्र असफल भएको । रुजबेल्ट प्रेसिडेन्ट बनेपछि क्यालिफोर्निया र नेभाडाको जमीन ंिसचाइ गर्न टाहोको पानी उपयोगमा ल्याइएको ।
लेक टाहोको प्रसिद्धि उचाइमा पुगेका बारेमा विभिन्न बहसहरु भएका रहेछन् । यहाँको पानी पिउन योग्य मानिदो रहेछ । यसलाई शुद्ध पानीको ताल भनिने । यसको प्राकृतिक सुन्दरता, प्रदूषण रहित शुद्ध पानी, आश्चर्य लाग्दो दृश्य देख्न सकिने । नीलो रङको पानी, यसको फैलावट आदिका कारणले प्रसिद्धि बढेको ।
यहाँ जाडोमा ४० र गर्मीमा ७० डिग्री तापक्रम हुने । जाडोमा पनि पानी नजम्ने । जुलाई र अगस्तमा सामान्य तातो हुने । पानीको गुणस्तर उच्च । क्याल्सियम कार्वोनेटले पानीलाई नीलो बनाएको ।
टाहो लेकसँगै जोडिएको सल्लाघारीको उत्तरी दिशामा रहेको रेस्टुरेन्टमा विहानको नास्ता । सेक्रेमेन्टोे हुँदै सान फ्रान्सिस्कोतर्फको तयारीमा । अघिल्लो दिन रात परिसकेकाले कारको हेडलाइटबाट देखिएको उज्यालो मात्र हाम्रो दृश्यमा थियो । दायाँ बायाँ कस्तो र कुन रुपको संरचना छ, देख्न सकेका थिएनौं । सल्लो प्रजातिको एल्डोराडो घना जंगलको पहाडी बाटो हुँदै ओरालो झर्दै थियौं, हामी । बाटो पूरै नागबेली आकारमा बटारिएको छ । ठाउँ ठाउँमा सडक विस्तार भइरहेको बाहेक खासै अवरोध भएन । माथि डाँडाबाट झर्दै गर्दा धेरै तल देखिने क्यालिफोर्निया राज्यको सदरमुकाम सेक्रेमेन्टो फाँटिलो उपत्यका जस्तो देखियो । दायाँ बायाँका रमणीय दृश्यले मन नै लोभ्यायो ।
हाम्रा अगाडि ल्पियर भिल नामको सुन्दर बस्ती आँखामा सिनेमाको रिल बनेर आयो । त्यही सडक छेउउमा ग्रिन स्टोन नामको बस्ती पनि टुप्लुक्क देखा प¥यो । गाडीको गति सत्तरी असीमा मात्र सीमित । वरिपरिको दृश्य आँखा र हृदयमा समेत कैद गरियो ।
सुन्दर सिल्भी भ्याली देखियो बाटामा । मिलिक्कै ह्वाइट रक (चट्टान) पनि टुप्लुकियो । दायाँ बायाँको दृश्यले मोहित बनाइरहेको छ ।
सेक्रेमेन्टो आइपुगिसकेछ । पत्तै भएन । भेडेटारबाट ओरालो झर्दै गर्दा विजयपुर, फुस्रे र धरान बजार हेर्दै, घुम्ती पार गर्दै ओरालिदा मिलिक्कै जिरो प्वाइन्ट आइपुगेजस्तै । यहाँका सहरका आआफ्नै ढाँचा ।
कहीं राता फूलले ढाकिएको छ त कहीं पूरै पहेंलो फूलको सजावट । टाढा वा नजिक दुबैतिरबाट हेर्दा सुनौलो दृश्य । मान्छेको रुचि न हो ? सहर सुन्दर त हुने नै भयो । फेरि राजधानी !! क्यापिटल बिल्डिङ अति सुन्दर । नजिकै पहेंलो रङको बेलिब्रिज आफ्नै शैलीको । हेर्न लायकको ।
हामी संसद भवनतिर लाग्यौं । शास्त्रीय शैलीमा निर्मित, सेतो गुम्बज शैली । सहरभित्र भए पनि शान्त ! वुद्ध ध्यान मग्न भएजस्तो । हामीले वासिङटन डि.सी.मा देखेको संसद भवन कै ढाँचामा निर्मित ।
उन्नाइसौं शताब्दीमा बनेका पुराना काठका घरहरुको संंरक्षण गरिएको । सङ्ग्रहालय, पुराना रेलहरु, ऐतिहासिक भवनहरु पर्यटकका लागि केन्द्र विन्दु बनेका । यो क्षेत्रलाई क्यालफोर्निया गोल्ड रस (१८४८देखि १८५५) समयको झलक दिने ।
रेल सङ्ग्रहालय, पुरानो स्टिम इञ्जिन, रेल डब्बा, रेलको विकासको इतिहासको झल्को दिने । पारिवारिक भ्रमण र विद्यार्थीहरुका लागि पनि मन पर्ने गन्तव्य, यो ठाउँ । यहाँको सङ्ग्रहालय १८७१मा स्थापना भएको । युरोपेली, एसियाली, अफ्रिकी र क्यालिफोर्नियाका कलाकारका चित्रकला, मूर्तिकला र आधुनिक कलाकृतिहरुको सङ्कलन ।
भ्रमणलाई टुङ्ग्याउने क्रममा लाग्यौं । आधा घण्टा अगाडिसम्म सुनसान रहेको संसद भवनमा त कफी पिएर फर्कदा थोरै जनाको सङ्ख्यामा नारा लगाइरहेका । नजिकै जान मनले मानेन । बुझ्दा इजरायल हमास बिचमा भएको युद्धको विरोध । फोटो खिच्न पनि पत्रकारको परिचय पत्र चाहिने । आ...को लफडा गरोस ! नियम त मान्नै प¥यो ।
टाढैबाट भएपनि फोटो लिन सकिन्थ्यो तर आँखाका तारो किन बन्ने र ? अन्य तिरको रमाइलो हेर्न लाग्यौं । समय थियो, दिउसोको । केही हतारिनु थिएन, हामीलाई । आखिर सानफ्रान्सिस्को पुग्ने न हो ?
सेक्रेमेन्टोलाई विदाइ गर्दै सान फ्रान्ससिस्को तिर सोझियौं । यहाँबाट ८७ माइल(१४०कि.मि. जानु छ, पश्चिम दक्षिण । सडकको स्थिति तथा ट्राफिकअनुसार दुई घण्टासम्म लाग्ने । हाई वेबाट सेक्रेमेन्टो वरिपरिको वातावरण हेर्दा यहाँको मुख्य विशेषता भनेको नै कृषि उपज रहेछ ।
हामीले वान ८० पश्चिम इन्टर स्टेट हाइ वे पक्रियौं । बाटामा डेविस, फेपर फिल्ड र भ्यालेहो हुँदै सानफ्रान्सिस्को प्रवेश गराउँदो रहेछ ।
सानफ्रासिस्को बे मा रहेको लामो पुल पार गरेर गोल्डेन गेट पुलमा पुग्यौं । बे माथि गुडिरहँदा एक किसिमको रमाइलो अनुभूति भएको थियो । बेलुकाको समय भै सकेकाले डाउनटाउनमा रहेको CAZ होटलमा बस्यौं ।

गोल्डेन गेट ब्रिज
नेभेम्बर १० का दिन विहान ५ बजे नै सूर्योदयको दृश्य हेर्न गोल्डेन गेट पुलदेखि माथि पर्वत शृङ्खलामा रहेको अग्लो ठाउँमा गयौं । सूर्योदयको दृश्य हेर्न ठूलो सङ्ख्याको भीड लागिसकेको थियो । सूर्योदय भएको हे¥यौं, राम्ररी नै । इलामको अन्तुबाट सूर्योदयको रमणीय दृश्य देखिएजस्तै ।
फर्के पछि पुलको ऐतिहासिक र प्राविधिक पक्षका बारेमा जान्ने उत्सुकता तीब्र । बे, पुल ऐतिहासिक र इञ्जिनियरिङ चमत्कारले प्रसिद्ध मानिने । अमेरिकी अन्वेषक जोन सी. फ्रेमन्टले १८४६मा नै गोल्डेन गेटलाई (सुनौलो ढोका) भनेर नामाकरण गरेका । पछिसम्म यसको नाम गोल्डेन गेट नै रहेको ।
यसको निर्माणको प्रारम्भ ५ जनवरी १९३३ मा भएको । अप्रिल १९, १९३७मा निर्माण पूरा गरी उद्घाटन गरिएको तथ्य । त्यसपछि २७ मे, १९३७ मा पैदल यात्रीहरुका लागि खुला गरिएको भनेर ब्रिजको मुखैमा लेखिएको छ । २८, मे १९३७ मा यातायातका साधनहरु छाडिएको । सानफ्रान्सिस्को बे र प्रशान्त महासागरको एउटा भंगालो माथि बनाइएको । यो पुल सानफ्रासिस्को बे र प्रशान्त महासागरबाट आएको भङ्गालो, यी दुई ठाउँलाई संयोजन गर्ने प्रवेशद्वार मानिन्छ । त्यो बेलाको विश्व कै लामो सस्पेन्सन पुल भनिएको छ तर सस्पेन्सन ब्रिज भनेर न्यूयोर्कको ब्रुकलिन ब्रिज १८८३मा नै बनिसकेको उल्लेख गरिएकाले सत्यतामा एकरुपता नदेखिएको ।
यसको लम्बाइ १.७ माइल रहेको । यसको रङ इन्टरनेशनल ओरेञ्ज । जसले कुहिरो र समुद्र पनि राम्ररी देख्न सकियोस भन्ने रहेको ।
आर्थिक दृष्टिले पनि यसले सहयोग पु¥याएको छ । प्रत्येक दिन लाखौं लाख सवारी साधन ओहोर दोहोर गर्ने । सानफ्रान्सिस्को बे एरियाको व्यापार र यातायात प्रणालीलाई जोड्ने काम गरेको । यो मारिन काउन्टी र सानफ्रान्सिस्को काउन्टी बिचको सीधा सम्पर्क सेतु । यो भौगोलिक महत्त्वको विषय बन्न पुगेको । सानफ्रान्सिस्को काउन्टीको क्ष्अयल नै मानिन्छ, यो । यातायात प्रणाली र पर्यटन व्यवसायलाई ठूलो सहयोग पु¥याएको । यो सुनौलो ढोकालाई अमेरिकीहरुले सम्भावना, आधुनिकता र खुलापनको प्रतीक नै मान्दछन् ।
यो पुलमा फोटो खिच्ने, साइकल कुदाउने र यसको तस्वीरलाई अङ्कित गरेर पोस्टकार्ड बनाउने, फिल्म सुटिङ गर्ने आदि काम गरिने ।
संसारकै महत्त्व पाएको मोभेबल पुलका विशेषज्ञ, डिजाइनर प्रमुख इञ्जिनियर जोसेफ स्ट्रारस । उनकै नेतृत्वमा यसको निर्माण भएको । साथै आर्टिटेक्ट र कल्सल्टेन्ट इञ्जिनियरका रुपमा रुपमा लिओन मोहसिफले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका । स्टक्चरल एनालाइज गर्ने कार्य चाल्र्स एल्टोन इलिसबाट भएको । यसको निर्माणमा एक जना इञ्जिनियरको मात्र नभएर धेरै जना विषय विज्ञको योगदान रहेको ।
यो पुल मुनिको पानीको सतहदेखि माथिको डेकसम्मको उचाइ २२०फिट (६७मिटर) रहेको । यो पुल मुनिबाट ठूलो जहाज पनि सानफ्रान्सिस्को बेतर्फ सजिलै जान सक्ने । यसको निर्माणको लागत जम्मा ३५ लाख अमेरिकन डलर, त्यो समयको । समय समयमा पुलको स्थिति हेरेर मर्मत गरिने ।
यो पुल जोखिम पूर्ण ठाउँमा निर्माण गर्न लागिएकाले कामदारहरुको सुरक्षा बढी सम्वेदनशील हुने । यसको उपयुक्त व्यवस्थाका लागि सुरक्षा जालीको प्रबन्ध गरिएकोे । यस किसिमको प्रयोग सायद पहिलो पटक नै हो, भनिएको छ । यसरी जालीको प्रयोगबाट १९जना कामदारलाई बचाइएको । त्यसरी सतर्कता अपनाउँदा अपनाउँदै पनि ११ कामदारले जीवन गुमाएका ।
गोल्डेन गेट, अत्यन्त तेजिलो ढङ्गले पानी बग्ने ठाउँमा बनाइएको रहेछ । यहाँ पानीको मुस्लो एकोहोरिएर बग्दछ । पानीको धार तेजिलो हुँदा काममा प्रत्यक्ष असर त परेको । त्यस स्थान बाहेक अन्ततिर बिकल्प नभएपछि विषय विज्ञ र सरकारले दह्रिलो आँट गरेको । त्यसमा पनि बाक्लो कुहिरोले कामका समयमा असजिलो बनाउने गरेको । बाक्लो कुहिरोले भिजिबिलिटी घटाउने हुँदा काममा अबरोध सिर्जना हुनु स्वाभाविक मानिन्छ । निश्चित समयभित्र कार्यसम्पादन गर्न बिचबिचमा आउने विभिन्न किसिमका समस्याले योजना पूरा गर्न कठिनाइ परेको ।
पुलका लागि लठ्ठा तान्न र टावर उठाउन बेगमय हावाका कारणले पनि दुःख दिएको । हावा पनि मुस्लिएर बहने । प्राविधिक लगायत अन्य श्रमिकहरुले पनि चुनौतीको सामना गर्नु परेको ।
पानी डोलिएर बग्ने ठाउँ भएकाले जग राख्न कठिनाइ भएको । यसको गहिराइ कहीं १००फिट र कहीं ३०० फिटसम्म हुनाले फाउण्डेशनका लागि समस्या देखिएको ।
पुलका लागि तयार पारिएको एउटा लठ्ठामा २७५७२वटा पृथक् पृथक् स्टिल तारको प्रयोग गरिएको । कति टन धातुको प्रयोग भएको छ भन्ने जिज्ञासा उत्पन्न हुन्छ । कुल केवलको लम्बाई १,२९००० कि.मि. हुने ।
इन्टरनेशनल ओरेञ्ज रङ नै किन भन्ने सम्बन्धमा परामर्श हुँदा बाक्लो कुहिरो लाग्दा पनि सजिलै देखिन्छ भन्ने रहेको । आर्किटेक्ट इर्भिङ मोरोले दिएको तर्कअनुसार पुल नजिकैको पर्वत, आकाश र समुद्रसँग मिल्दो होस भन्ने चाहना धारणा ।
यो पुलको निर्माण पछि मारिन, सानफ्रान्सिस्कोे र त्यस वरपरका ठाउँमा मात्र नभएर पूरै क्यालिफोर्निया र संयुक्त राज्य अमेरिकाको प्रतीक बनेको । सानफ्रान्सिस्को बे क्षेत्रमा हुने आर्थिक विकास तथा पर्यटन क्षेत्रमासमेत महत्त्वपूर्ण योगदान पु¥याएको ।
वर्तमानमा कला, इञ्जिनियरिङ र त्यस समयको प्राविधिक ज्ञान र सीप तथा साहसको विश्व प्रसिद्ध प्रतीक मानिने । गोल्डेन गेट नजिकैको ७८४ मिटर उचाइको पर्वत शृङ्खलालाई स्थानीय भाषामा माउन्ट टाम भनिने । यहाँबाट प्रशान्त महासागरको भंगालो, सुनौलो ढोका, सानफ्रान्सिस्को बे एरिया, फिसरम्यान हार्फ, लम्बार्ड स्ट्रिट आदि स्थानहरु देखिदा रहेछन् ।
हामीले हिल साइडमा रहेको हिमालयन रेष्टुरेन्टमा दिउसोको खाना खायौं । पाण्डे थरका बलु भाइको उज्यालो र हसिलो अनुहारजस्तै स्वादिस्ट नेपाली ताजा खाना जिब्रोमा झुण्डिरहेको छ ।
११नोभेम्बर २०२३ का दिन विहान कतै गइएन । थकाइ मारेर होटलमा नै । अपरान्हमा लम्बार्ड स्ट्रिटतर्फ । अङ्ग्रेजीमा Sanfrancisco Maritime National Historical Park लेखिएको ठूलो साइनबोर्ड छ । घुम्यौं । रमायौं । डाउन टाउनका मध्य भागमा बनाइएको फराकिलो पार्कले सास फेर्ने ठाउँ दिएको ।

लम्बार्ड स्ट्रिट
यसको नाम लम्बार्ड स्ट्रिट नै किन राखियो भन्ने जिज्ञासा मनमा उठ्यो । घुमाउरो, बाङ्गोटिङ्गो, नागबेली र जिगज्याग आकारको सडक भन्ने अर्थ हो, छोरी सृष्टिबाट आयो उत्तर । अग्लो र भिरालो ठाउँमा बनेका ठूला ठूला घर हेर्दा रमाइलो लाग्ने । हामी पनि उकालो र ओरालो दुबैतिर डुल्यौं । सडकमा सवारी साधनहरु गुडिरहेका छन् । दायाँ बायाँ विभिन्न रङका फूलहरु मनमोहक छन् । यस किसिमका सडकहरु अन्य सहरमा देखिएको थिएन । शायद यहाँ मात्र हुनु पर्छ भन्ने लाग्यो ।
यस किसिमको नाम नै किन रह्यो भन्ने सन्दर्भमा फ्रान्सको रु डे लोम्बार्डबाट प्रेरित भएको मानिदो रहेछ । यहाँको पुरानो सडक मध्येको एक । यसले विशेष ऐतिहासिक वा सांस्कृतिक सन्दर्भलाई पुष्टि गर्ने ।
लम्बार्ड स्ट्रिट खासगरी रसियन हिल भन्ने भागमा विश्वकै बाङ्गोटिङ्गो, घुमाउरो सडक भनेर चिनिन्छ । यो जिगज्याग भएको स्ट्रिटमा गाडी गुडाउन सजिलो बनाउनुको तात्पर्य उकालोमा चढ्न कठिन हुन्छ भन्ने हो । यो संरचना अन्य स्थानभन्दा फरक । पर्यटकहरुको आकर्षण बढ्दो रुपमा देखिने । हामी पनि यहाँ दुई दिन बस्दा दुई दिन नै तलमाथि गरेका थियौं । पर्यटकीय दृष्टिले अति सुन्दर ।
ट्रामका लिकहरु पनि थिए । बेलाबेलामा चल्थे पनि । तर उकालोमा चाहिँ अलि रोकिनु पर्दा निकै कठिनाइ परेको देखिन्थ्यो । दुर्घटना भएको भनें देखिएन ।
स्टेप स्लोप भएको ठाउँमा जिग्ज्याग रोडको डिजाइन गरिएको हुनु पर्छ, भन्ने हामीलाई लाग्यो ।

फिसरम्यान हाफर्, पियर ३९
सानफ्रान्सिस्को डाउन टाउनको पियर ३९,जुन फिसरम्यान हार्फ क्षेत्रमा पर्दो रहेछ । सडक किनारामा ठूलो खम्बामा गोलो नाङ्लोजस्तो आकारको साइनबोर्ड छ, त्यसमा FISHERMANS WHARF OF SAN FRANCISCO लेखिएको छ । त्यसभित्र गंगटोको चित्र छ ।
शान्टामोनिका र शान्टा बारबारा पियर ठूलो भनेको त त्यो भन्दा निकै विस्तारित रहेछ, यो । होटलहरु प्रशस्तै रहेछन् । सबै उत्तिकै चलेका ।
यहाँ समुद्री सिंह (जल डमरु) पानी बाहिर आएर मानिसको नजिक आउँदा रहेछन् । पशुहरुले पनि आपसी मित्रता, परस्परमा रमाइलो गरेको पनि रमाइलै लाग्यो । मान्छेलाई नजिकैबाट देखेपनि डराएर भागेको देखिएन । तिनीहरु मानिसको भीडभाडमा बस्न बानी परिसकेका कारणले हुनु पर्छ । बाहिर पियर ३९, देखिने ठाउँमा जल डमरुको स्ट्याचु नै बनाइएको छ । त्यस्तै लभ साइनको आकृति पनि राखिएको छ । त्यहाँ उभिएर फोटो खिच्यौं । त्यहाँ आउने सबै जनाको रुचिको केन्द्र बनेको छ ।
यो क्षेत्र पर्यटकहरुको मुख्य आकर्षण केन्द्र मानिने । बच्चाहरुका लागि आकर्षक खेलहरु देखिन्छन् । मानिसहरु आनन्द मनाइरहेका । युवा र प्रौढहरु पनि खेलमा मग्न । खानाका परिकारहरुमा पनि विविधता । प्राय ः सबैका हात हातमा कफीका कपहरु ।
चर्को आवाजमा गिटार र अन्य बाजा गाजा बजाएर झर्को लाग्दो बनाएको । सडकका छेउमा गोल्डेन र सेतो कलर, अनुहार र शरीरभरि दलेर आँखा मात्र टुलुटुलु हेरिरहेका र स्ट्याचुजस्तो भएर बसेका कार्टुनजस्ता देखिन्थे मान्छेहरु । मौका पारेर कारमा यात्रारत मानिसहरुसँग पैसा पनि मागिरहेका ।
किनमेल गर्नेको भन्दा रमिता हेर्नेको भीडभाड । माग्ने र अर्ध पागलजस्ता देखिने पनि त्यतिकै सलबल गरिरहेका । यो पियरमा साँचो अर्थमा लोकतन्त्रको उपभोग गरेको देखियो तर व्यक्तिगत स्वतन्त्रतामा दखल गरेको भनें पाइएन । प्रेमिल जोडीका लागि पनि उपयुक्त । पियरमा प्रयोग गरिने भाषा अङ्ग्रेजीमात्र नभएर स्पेनिस र मेक्सिकन रहेका ।
सानफ्रान्सिस्को बेमा साना ठूला जहाजहरु बाक्लै मात्रामा ओहोरदोहोर गरिरहेका । ठूलै व्यापारिक केन्द्र ।

अल्का ट्राज आइल्याण्ड
खाडीका बिचमा एउटा आइल्याण्ड देखियो अल्काट्राज । त्यहाँबाट २ कि.मि टाढा पर्ने । यो छुट्टै इतिहास बोकेको टापू रहेछ । कुनै समय अपराधीहरुलाई राख्ने जेल । सन् १८५० मा निर्माण गरिएको । सैन्य किल्लालाई जेलका रुपमा परिणत गरेको । १९३४देखि १९६३सम्म संयुक्तराज्य अमेरिकाको सङ्घीय कारागार बनाइएको । यो स्थान अत्यन्त कडा सुरक्षित भएकाले भाग्न नसकिने भनेर नाम चलेको ।
यहाँ उच्च सुरक्षाका साथ अपराधीहरुलाई राखिने । यहाँ ऊल क्यापोन, केली जर्ज र रोबर्ट स्ट्रउडलाई राखिएको । चिसो पानी र बहाब तेजिलो भएकाले जेलबाट भाग्न सजिलो नहुने ।
१९६२मा फ्रान्क मोरिस र ब्रासी भाइहरुले भाग्ने प्रयत्न गरेका । भागेर घर गए वा पानीमा डुबेर मरे भन्ने कुरा आजसम्म कसैले बताउन नसकेको । यस टापूलाई अहिले म्यूजियम बनाइएको । यहाँबाट जेलको ऐतिहासिक सन्दर्भ, बन्दीहरुका कथा र सुरक्षा प्रणालीको अनुभव लिन सकिने ।
सानफ्रान्सिस्को टेक्नोलोजीका दृष्टिबाट पनि उच्च महत्त्वको रहेछ । त्यस्तै कलात्मक गतिविधिहरु पनि हुने । चलचित्र र सांगीतिक क्षेत्रमा हलिउडको प्रभाव पनि देखिन्छ । सांस्कृतिक स्थलहरु, सङ्ग्रहालयहरु र मोर्डन आर्टका लागि उपयुक्त व्यवस्था ।
१२ नोभेम्बर २०२३ विहानको नास्ता नजिकैको हिन्दूस्तानी होटलमा । दिउसोको समय वरिपरिका छुटपुट रमाइला ठाउँको अवलोकन । त्यही क्रममा चालक बिनाको कार गुडेको देख्दा अचम्म लाग्यो । हुन त प्रविधिको नयाँ नयाँ विकास ! गीताले भनिन् हामी पनि चढौं न ।
कहाँ जाने ?
छोरी सृष्टिले सोधिन् ।
अलि परसम्म ।
नयाँ अनुभव लिन ?
आमा छोरीको मिठो सम्वाद थिया,े यो ।
अनि फेरि कसरी यही ठाउँमा आइपुग्ने ? हराइयो भनें ?
अग्रिम बुकिङ गर्नु पर्छ ।
यो कार त एक सिटे मात्र हो ।
कुरा ग¥यो कुरैको दुःख भनेजस्तै भो । कुरै साफ ।
हामी उकालो उकालो ठाउँतिर अगाडि बढ्यौं । एउटा मोटर साइकिल हुँइकिएर उकालियो । यो यात्रामा कतै पनि देखेका थिएनौं । कसरी ? फेरि प्रश्न तेर्स्यायो ज्वाइँ र छोरी तिरै । यो होचो अग्लो शृङ्खलामा भएकाले डाक सेवाका लागि मात्र हो रे, छोरीले जिज्ञासा मेटाइन् ।
भरदिन पैदल यात्रा । रोटे पिङमा घुमेजस्तै सहरको परिक्रमा । बेलुका काभ्रेली तामाङको नेपाली रेस्टुरेन्टमा खाना । फरासिला जोडी । आजभन्दा बीस वर्ष अघि आएर अर्काको होटलमा सेफको काम ग¥यो, मेरो बुढाले । अहिले त आफैले चलाको रे । एकै चोटिमा धेरै जानकारी पाइयो । कोविदमा त धेरै दुःख पो पायो त ! अहिले त राम्रो छ । हामी दुइटै खट्छ । छोरा छोरी पढिसक्यो । यो घर हाम्रै ।
आफ्नैजस्तो ठानेर सबै कुरा खोलिन् । खुला हृदय । मन ठूलो । शुभ रहोस् । विदा भयौं हामी ।
नेपालीहरु नेपाली भेटेपछि कति खुसी भएका ! हुनसक्छ विदेश भएर पनि होला । हामीलाई पनि नेपाली देख्यो कि बोलौं बोलौं लाग्ने । आफ्नोपनले तानेको !
सानफ्रान्सिस्कोदेखि अन्तर्राष्ट्रिय एयरपोर्ट जान डाउन टाउनबाट U S, 101दक्षिणतर्फको मुख्य सडक लिनु पर्ने । त्यही रुट लियौं । अन्य सडकहरु भए पनि यो रुट सीधा । रेलबाट पनि जान सकिने । Rapit tranjit पनि अर्को बिकल्प । वे सुर फ्रि वे भनेर चिनिने भाग हुँदै सिलिकन भ्यालीतर्फ बाहन दौडने रहेछ । त्यही बाटोमा पालोअल्टो, रेडउड सिटी, सान माटेओजस्ता शहरहरु देखिन्छन् । अगाडि बढ्दैजाँदा आलेमनी माज नजिक पुग्ने । त्यो ठाउँ1 280, US 101 को संगम स्थल । त्यसपछि उक्त रोड जेम्स लिक फ्रि वे नामले अगाडि बढ्छ । जाँदै गर्दा बाटामा उपत्यका देखा पर्छ, सुन्दर । अनि ब्रिसबाने, साउथ सानफ्रान्सिस्को र सान ब्रुनो सेग्मेन्ट हुँदै अन्ततःसानफ्रान्सिस्को अन्तर्राष्ट्रिय एयरपोर्टम । डालसको फोर्थओर्थ जाने टर्मिनलतर्फ मोडियौं ।
२०८०। ०८ । ०३
श्रीभपोर्ट लुईजियाना , संयुक्तराज्य अमेरिका ।...

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।