19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सशक्त रचनाको नमुना यन्त्रवत्

कृति/समीक्षा समिक्षक December 14, 2008, 7:50 am

लघुकथा साहित्यको एउटा त्यस्तो विधा हो जुन सबैभन्दा प्रभावशाली छ । सानो आयतनमा धेरै कुरो अटाउन सक्ने क्षमता राख्छ यसले आपुूमा । मूलतः कुनै न कुनै रुपमा समाजको नकारात्मक पक्षमाथि व्यङ्ग्यात्मक टिप्पणी पाइनु लघुकथाभित्रको खास विशेषता हो । र यही विशेषताका साथ स्रष्टा कृष्ण बजगाईं "यन्त्रवत्" नामक लघुकथासङ्ग्रह लिएर नेपाली साहित्यिक बजारमा देखा परेका छन् । स्वयम् लघुकथाकारले पुस्तकभित्र आत्मकथ्यमा भनेका छन् - "सामाजिक विसङ्गति विडम्बना राजनैतिक तथा प्रशासनिक भ्रष्टाचार घात-प्रतिघात शोषण अन्याय-अत्याचार असमानताजस्ता विषयलाई सटिक रुपले लघुकथाले मात्रै सशक्त प्रहार गर्न सक्छ ।"

"यन्त्रवत्" माशीर्षक लघुकथासहित ४७ वटा तिख्खर तिख्खर रचनाहरु समेटिएका छन् । उदाहरणका लागि नाङ्गो मान्छे शीर्षकको अन्तिम पङ्क्ति - "वर्षौंदेखि मानिसहरु एक नाङ्गो मान्छेको दैनिकी लाज पचाएर हेरिरहेछन" ले हाम्रो सामाजिक परिवेशप्रतिको तीतो यथार्थलाई स्पष्टसँग उजागर गरेको छ । यहींनिर "मन्त्रीको जुत्ता", "जादुगरी दण्डा" जस्ता शीर्षकका लघुकथाहरु अत्यन्त सुन्दर ढङ्गले प्रतीकात्मक रुपमा लेखिएका पाइन्छ । यसका अतिरिक्त "विपत्ति", "सुन्दरी प्रतियोगिता", "परिवर्तन" लगायतका लघुकथाहरुमा लेखकद्धारा सशक्त प्रस्तुति गरिएको छ ।

भौगोलिक रुपले नेपालबाहिर (बेल्जियममा) रहेर पनि लघुकथाकार बजगाईंद्धारा स्वदेशसँग साहित्यिक नाता गाँसेर तैयार गरिएको यन्त्रवत् ले नेपाली साहित्यमा लघुकथा विधालाई व्यापक बनाउनमा ठूलो योगदान पुर्याउन सक्ने तथ्यलाई सहजतापूर्वक स्वीकार्न सकिन्छ ।

पुस्तकः यन्त्रवत्

(लघुकथासङ्ग्रह)

कथाकारः कृष्ण बजगाईं

प्रकाशकः अनेसास, अमेरिका

मूल्य: रु.५० / ५ डलर

साभारः शारदा मासिक , फागुन २०६४

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।