एकहप्ता अघि नै चितवनबाट कालीगण्डकी साहित्य परिषद्का उपाध्यक्ष चिरञ्जीवी दाहाल र म यसपालि छठपर्वका पावन दिनमा पोखराथोक साहित्य सङ्गम पाल्पाद्वारा आयोजित कार्यक्रममा सहभागी हुने र कार्यक्रमपछि धार्मिक , ऐतिहासिक र सांस्कृतिक नगरीको रुपमा सुुपरिचित पाल्पा नगरी , पोखराथोक, तानसेन तथा ताहूँ स्थित रम्भा भगवतीको दर्शन गर्ने लक्ष्य बनाइरहँदा संयोगवश पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्द खनालजीको हार्दिकतापूर्ण निम्तोसँगै तारन्तार मोबाइल सम्पर्क भइरहँदा समय मिलाई उहाँको निवास पुगेर आत्मीय स्वागतसहितको भलाकुसारी , वैचारिक साहित्यिक विमर्श र पुस्तकहरू आदान-प्रदानसहित भोजन गरी रात्री विश्राम गरियो ।
छठपर्वकै दिन पारेर पोखराथोक साहित्य सङ्गम बगनासकाली-२, पोखराथोक पाल्पाद्वारा आयोजित रजत जयन्ती समारोहमा सङ्गमको मुखपत्र 'वाटिका' विमोचनपश्चात् बगनासकाली गाउँपालिकासहित वर्दघाट प्रज्ञा-प्रतिष्ठानका कुलपति डा. घनश्याम परिश्रमी, किरण पुस्तकालयबाट प्रकाशित हाम्रो पुरुषार्थ गुल्मीका सम्पादक शशि पन्थी ,वाल्मीकि साहित्य सदन चितवनका संस्थापक अध्यक्ष केशवराज आमाेदी, रुपन्देही भैरहवाबाट वरिष्ठ साहित्यकार विजय सागर श्रेष्ठ , पाेखराथाेक साहित्य सङ्गमका पूर्व प्र. सम्पादक कृष्णप्रसाद काेइराला लगायत २६ जनालाई सम्मान गरिएको थियो । सोही समारोहमा सुप्रसिद्ध कवि कृष्णप्रसाद कोइरालाबाट उपहार स्वरूप 'मातृकाव्याञ्जलि' ( लघुकाव्य- २०८० ), 'भूकम्प' ( खण्डकाव्य-२०७९ ) र ' कविरत्न माधवप्रसाद देवकोटा' ( स्मृतिग्रन्थ ) प्राप्त भएको थियो । यो देवकोटा स्मृतिग्रन्थ मेरो खोजी र चासोको महत्वपूर्ण कृति थियो तापनि सातवर्ष अघि आदरणीय गुरु कृष्णप्रसाद कोइरालाजज्यूले मलाई "माधवप्रसाद देवकोटा प्रतिभा पुरस्कार-२०७५ " ले पुरस्कृत - सम्मानित गरी कृत्य-कृत्य तुल्याउनु भएको थियो । सोही अवसरमा पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्द खनालद्वारा 'अनुभूतिका प्रहरहरू' ( कवितासङ्ग्रह-२०७५ ) , डिल्लीराज अर्यालद्वारा 'टोलटोलमा राजा' ( व्यङ्ग्य निबन्धसङ्ग्रह-२०७८ ), रुद्र ज्ञवालीबाट 'विमानघाट' ( लघुकथासङ्ग्रह-२०८१ ) ,राजेन्द्र गोपाल सिंहबाट 'बन्न नसकेका कविताहरू'-( २०८२ ), पाल्पा साहित्य समाजद्वारा वितरित पुष्कर अथक रेग्मी र राजेन्द्र गोपाल सिंहका सहलेखनमा आधारित शोधपरक कृति 'पाल्पामा नेपाल भाषा साहित्यको इतिहास' ( २०८१), रामप्रसाद अर्यालबाट 'घुस्सा' ( हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह-२०८०) पुष्कर अथक रेग्मीका दुई कृति 'अमोघ' ( त्रिपदीय काव्य उपविधा / सैद्धान्तिक विमर्श र त्रिशूल काव्य )अनि 'अर्घ्य ' ( शीत : रचना विधान र चतुष्पदीय लघुकाव्य सङ्ग्रह शीत कल्प-२०८१ ) , पोखराथोक साहित्य सङ्गमको रजत समारोहमा विमोचित 'वाटिका'( रजत वर्ष विशेषाङ्क-२०८२ ) उपहार कोसेली स्वरूप प्राप्त भएका थिए । यी अनमोल कृतिहरूको अध्ययन क्रमैले गर्ने विचारमा छु ।
कार्यक्रमको भोलिपल्ट बिहान पाल्पाका साहित्यकार राजेन्द्र गोपाल सिंहजीले रणउजिरेश्वरी भगवतीको दर्शन गराई आफ्नो आवासमा लगेर चाहिंदो सेवा सत्कार गरी सिमसिमे पानीमा पनि शीतल पाटी , वसन्तपुर, टक्सार, लहरे पीपल, नारायण स्थान, देववाणी संस्कृत मा. वि.लगायत विभिन्न स्थानको अवलोकन गर्ने अवसर प्राप्त भयो । सिमसिम परिरहेको पानीमा पाल्पाका दर्शनीय ठाउँहरू घुमाइदिएका पलहरू निकै आनन्ददायी रहे ।
काठमाडौंबाट भैरहबासम्मको हवाईजहाज उपयोग गरी रम्भा मा. वि. ताहूँका पूर्व प्र अ र हाल सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कालिदास श्रेष्ठले फोनबाट बर्तुङ चोकमा पर्खेेर बस्नोस् म ११ बजेतिर आइपुग्छु भन्ने आग्रहलाई स्वीकार्दै बसिरहँदा उहाँ समयमै आइपुग्नुभयो । मेरो उहाँसँगको पहिलो भेट र चिनाजानी भए पनि खुलेर बोल्ने आकर्षक व्यक्तित्व र विचारले तानिंदै र उहाँका मीठा र घतलाग्दा कुरा सुन्दै सिमसिम पानी परिरहेका अवस्थामा रम्भा गाउँपालिकातिर सोझियौं । कालिदास सर र चिरञ्जीवी दाहाल सरको चौतीस वर्षपछिको यो हार्दिकतापूर्ण भेटघाट र कुराकानीबाट म पनि आकर्षित र प्रभावित भइरहें । मेरा मित्र दाहालजी नेपाल सरकारको जागिरे हुँदा सङ्गत गरेका गाउँले मित्रहरूसँगको मिलन उत्तिकै रोमाञ्चकारी बनिरहेको थियो । दिनभरिजस्तै तप्कने पानी परिरहे पनि रम्भा मा. वि. ताहूँको निरीक्षण र नयाँ शिक्षकहरूसँग समेत परिचयपछि कालिदास सरको निवासमा आइयो । केहीबेरको भलाकुसारी पछि दाहालजीका अर्का अभिन्न मित्र रामप्रसाद श्रेष्ठको अनुरोध स्वीकार गर्दै साँझको बसोबासका लागि हामी उहाँको ताहूँ स्थित घरमा गयौँ । त्यो साँझ हामी रामप्रसाद र उहाँकी अर्धाङ्गिनी जानकीजीको स्नेहपूर्ण सद्भाव भरिएको मीठो भोजन गरी निद्रादेवीको शरणमा परियो ।
भोलिपल्टको सूर्योदय भएसँगै दैनिक कार्यबाट निवृत्त भएउपरान्त कालिदास श्रेष्ठ , चिरञ्जीवी दाहाल र म ताहूँ स्थित राना गाउँ , नाचनडाँडा हुँदै रम्भा भगवतीको दर्शन गरी उहाँकै गृह-मन्दिरमा आई भोजन गरी बुटवलतिर लाग्यौं । बुटवलबाट कालीदास सरसँग छुट्टिन मनले नमाने पनि बलै कालिदास सर भने काठमाडौं उडानका लागि भैरहबसतिर मोडिनु भयो भने हामी दुई दाहाल सर म चितवनतिर लागियो ।
रत्ननगर चितवन ।