19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वामीनारायण मन्दिर : शान्त मन, आनन्द संसार

नियात्रा प्रा. डा. यादवप्रकाश लामिछाने November 6, 2025, 3:46 am
प्रा. डा. यादवप्रकाश लामिछाने
प्रा. डा. यादवप्रकाश लामिछाने

बाल्टीमोरबाट पाँच छ किलोमिटर अगाडि बढेपछि शाखा सडकबाट हाईवे निस्केपछि गाडीको गति बढ्ने नै भयो । सडक फराकिला फराकिला छन् । केही रोकटोक हुने कुरा नै भएन । तर ठिकै गतिमा गुडी जहाज हुँइकियो । जङ्गल नै जङ्गलको यात्रा, हाइवेका दुबै किनारामा होचा अग्ला फल कलरका रुख । नेपालको भन्दा फरक प्रजातीका ती रुखका पातहरु हेर्दै गुड्यौं एकनासले । एकबारको जिन्दगी न हो ! खुसीसाथ रमाउने हो भन्दै कुदिरह्यौं । जीवन रमाइलो पनि हो, त्यसैले रमाइलो गरेरै बिताउँदा राम्रो । हड्बढ किन गर्नु ? हतार त भएको थियो तर हतार गरेनौं ।

हाम्रो मनले हतार गरेभन्दा सडकका दाया बायाँका फल कलरका रुखहरु हतार गरेर बढी रफ्तारमा दौडिएजस्तो लाग्थ्यो । सडकको छाती चिर्दै र हुँकारको आवाज निकाल्दै सयको गतिमा हुइँकिएको गुडी बाहान एकान्त जंगलमा रिलेरेसमा थियो । मलाई उछिन्ने कसका बाउको तागत छ ? भन्ने शैलीमा हामीहरुलाई नै निश्चित समयमा निश्चित गन्तब्यमा पु¥याउन हतारिएको थियो । तर पनि समयले कोल्टे फेरिसकेको थियो ।

हाईवेले डेलावरलाई छुँदो मात्र रहेछ । त्यहाँको ग्यास स्टेशनमा पेट्रोल हाल्यौं र हामी पनि फ्रेस भयौं । बाल्टीमोर छाडेदेखि ओर्लिएका थिएनौं, हामी गाडीबाट ।
हामी धेरै समय त्यहाँ बसेनौं । अझै अगाडि बढ्नु थिया,े हामीले । न्यूजर्सी स्टेट प्रवेश गरेपछि अक्षरधाम स्वामीनारायणको मन्दिर हेरेर जाने हो कि ? भन्नु भयो ज्र्वाँइले । हामीलाई त थाहा हुने कुरै थिएन । जाउँ जाउँ, फेरि यता आउने मौका पर्दैन । बाटो परेको बेला पुग्दा राम्रै हुन्छ, जे पर्ला पर्ला भनेर जाने निधो गरियो । सडकबाट त्यस्तै ५देखि ७ मिनेट लाग्ला भन्ने भयो । लाग्यौं हामी त्यतैतिर ।

जानकारीअनुसार बोचानबासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाबाट सञ्चालित वैष्णव सम्प्रदायलाई प्रवद्धन गर्ने उद्देश्यले स्थापना गरिएको । यस सम्प्रदायभित्र हिन्दू सम्प्रदायले स्थापित हुने, फैलने र व्यापकता पाउने अवसर प्राप्त ग¥यो । स्वामीनारायणलाई परब्रह्म मानेर उपासना हुन थाल्यो । प्रारम्भमा यज्ञपुरुषदास शास्त्रीजी महाराजले १९०५ भारतमा अक्षरधाम मन्दिरको अवधारणा ल्याएको । स्वामीनारायण गुरु वंशका माध्यमबाट गुणातीतानन्द स्वामीले अगाडि बढाएको मानिन्छ । ५ जुन, १९०७ मा शास्त्रीजी महाराजले गुजरातको खेडा जिल्लाको बोचासन गाउँमा १८२२मा निर्माणाधीन मन्दिरमा स्वामीनारायण र गुणातीतानन्द स्वामीको मूर्तिको प्राणप्रतिष्ठा गरेपछि बोचासनबासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाको औपचारिक स्थापना भएको । त्यसभन्दा पछिका स्वामीहरुले पनि पवित्र कार्यलाई भारतीय भूमिबाट क्रमशः अफ्रिका र युरोप हुँदै अमेरिकासम्म द्रूतत्तर गतिमा विस्तार गर्दै लगेको । यो अक्षरधामले धार्मिक, सामाजिक र सांस्कृतिक कार्यलाई महत्त्व दिएको । त्यसै हुनाले सबैका बिचमा यसले लोकप्रियता कायम गरेको । यस संस्थाको मूल उद्देश्य नै ‘अरुको सुखमा नै हामी सुखी हुन्छौं’ भन्ने रहेको । यो संस्था च्यारिटीका माध्यमबाट मानवीय कार्यका लागि समर्पित रहेको । यो एक उत्तराधिकारवाला गैर नाफामुखी संस्था हो । यसमा विश्वास योग्य शिष्यलाई जिम्मेवारी हस्तान्तरण गर्दै अगाडि बढाइएको । यहाँ गुरु शिष्य परम्परालाई राम्ररी पालना गरिएको ।

धार्मिक र आध्यात्मिक मार्ग दर्शनका लागि युवावर्गलाई उत्प्रेरित गर्दै विश्वभर सनातन धर्म र संस्कृतिको प्रचार प्रसारमा सक्रिय सहभागिता गराइएको । यस संस्थाका विश्वव्यापी सञ्जाल रहेकाले हिन्दू दर्शनमार्फत आध्यात्मिक चेतना अभिवृद्धि गर्न सफलता प्राप्त गरेको उदाहरण पाइन्छ ।

संयुक्त राज्य अमेरिकाको न्यूजर्सी राज्यको रोबिन भिल्लेमा अवस्थित अक्षरधाम भारतको नयाँ दिल्ली पछिको सबैभन्दा ठूलो हिन्दू मन्दिर हो । यो मन्दिरको शिलान्यास २०११मा भई २०१५मा निर्माण प्रारम्भ गरेर २०२३ मा सम्पन्न गरिएको । हामी पुगेको समयमा पनि बाँकि रहेको कामको सफाइ भइरहेको । यस मन्दिरले १८५ एकड भूमि ओगटेको जानकारी प्राप्त । यस मन्दिरको डिजाइन, आकृति, कलाकृति, शिल्पकला भब्य र अति सुन्दर छ । प्राचीन वास्तुकलाको उत्कृष्ट नमूना नै मान्नु पर्दछ, यसलाई । यसको निर्माणको लागत ९६ लाख अमेरिकी डलर भनिएको छ । १३००० श्रमिकहरुले निरन्तर श्रम गरेका र त्यसमा कतिपयले निःशुल्क श्रमदान गरेका । रविन भिल्लेका जनताले पनि आफ्नो क्षेत्रमा भव्य मन्दिर बन्न लागेकामा स्वस्फूर्त रुपमा श्रमदान गरेका । यस कार्यले मन्दिरप्रति अपनत्वको भाव सिर्जना भएको सहजै अनुमान गर्न सकिन्छ । यस मन्दिरको संरचनाले मात्र ओगटेका जमीन लम्बाई १३३ फिट(४१ मिटर),चौडाइ ८७ फिट (२७मिटर) र उचाइ ४२ फिट(१३मिटर) रहेछ । यसका प्रमुख २०१६देखि हालसम्म महन्त स्वामीमहाराज रहेका ।

मन्दिर निर्माणका लागि विभिन्न किसिमका ढुङ्गा, मार्बल र ग्रेनाइट प्रयोग गरिएको । गुलाबी रङ्गको मार्बल र रातो बलौटे ढुङ्गा राजस्थानबाट, मन्दिरको बाह्य भागमा प्रयोग गरिने चुनढुङ्गा बुल्गेरिया र टर्कीबाट झिकाइएको । बाहिरी भागमा चुन ढुङ्गा लगाउँदा पानी र अन्य कुराबाट जोगाउन सकिने विश्वास गरिएको छ । यहाँ दुई लाख क्यूविक फिट ढुङ्गा प्रयोग गरिएको छ । यस मन्दिरभित्र साना ठूला गरी मुख्य तेह्रवटा मूर्तिहरु र अन्य धेरै थरीका देवी देवताका मूर्तिहरु मुख्य (गर्भगृह) मन्दिरभित्र छन् । ती सबै देवी देवताहरुको पूजा एकैपटकमा सम्पन्न गरिन्छ ।

स्वामीनारायणको पञ्चधातुको मूर्ति स्थापित गरिएको छ । हात्ती र हाँसको मूर्तिलाई पनि सिंगारेर राखिएको छ । यिनीहरुको पनि कुनै प्रतीकात्मक अर्थ लगाइएकोे । त्यहाँ स्थापित गरिएका मूर्तिहरुमा शिव पार्वती, गणेश र कार्तिकेय, राधा कृष्ण, वैंकटेश्वर पद्मावती, सीता, राम, लक्ष्मण, हनुमान आदि स्वामीनारायणका आध्यात्मिक आस्थाको केन्द्र मानिएका । ‘पानीले जीवन र भक्तिले मन बस्छ’ भन्ने कुरामा अटल विश्वास देखिन्छ । त्यहाँ अन्य चारवटा मूर्तिहरु स्वामीनारायणका जीवनका पवित्र घटनाको चित्रण हुनेगरी स्थापना गरिएको । स्वामीनारायणले आध्यात्मिक सफलता प्राप्तिमा आफ्ना अभिभावक, मित्रहरु, नीलकण्ठ भर्नी (स्वामीनारायणको किशोरावस्था) स्वामीनारायणलाई सान्त्वना दिने रामानन्द स्वामी अनि तिलक दिने गुणातीतानन्द स्वामीलाई सफलताका प्रतीक मानिएको छ । मन्दिरका भित्ताहरुमा सुन्दर आकृतिका कुँदिएका देवी देवताका मूर्तिहरु सजाएर राखिएका । ऋगवेदको १०.१९१.२ ऋचा उल्लेख गरी अङ्ग्रेजीमा अनुवाद गरी राखिएको देख्न सकिन्छ । त्यहाँको मूल सन्देश पारस्परिक हार्दिकता, दयालुपन र भक्ति मार्गसङ्ग सम्बन्धित रहेको छ । नारीप्रति उच्च सम्मान, जातपातमा भेदभाव विहिनता, धुम्रपान र मद्यपान या परिसरमा नै निषेध गरिएको अवस्था छ । समाज सेवा, धर्म र संस्कृतिको संरक्षण यस संस्थाको उद्देश्य मानिएको । आध्यात्मिक अनुशासन र सामाजिक सुधार मुख्य कार्य मानिएको छ भनें छुवाछुतको भावना नराखिने हुँदा सबका लागि राम्रो पक्ष मानिन्छ । वर्ग विभेदको यो कार्यले सबैमा आफ्नो भाव जागृत गराएको देखिन्छ । यहाँबाट प्राप्त गर्ने शिक्षा भनेकै अहिंशा, ब्रह्मचर्य, संयम र सादगीपन रहेको पाइन्छ । जसको मनमा ईश्वर बस्छन् उसलाई के को डर ? भन्ने उच्च सोचाइलाई साकार बनाउन प्रयास गरिएको छ ।

मन्दिर परिसरभित्र स्वामीनारायण र गुणातीतानन्द (जसलाई अक्षर पुरुषोत्तम पनि भनिन्छ) लाई सम्मानपूर्वक एकै स्थानमा एकैसाथ स्थापित गरिएको पाइन्छ । यसले के प्रस्ट पार्छ भनें आफ्ना अग्रज र पूर्वजहरुप्रति उच्च आदर र सम्मान गर्नु पर्दछ भन्ने सन्देश पाइन्छ । नीलकण्ठ भर्नी, स्वामीनारायण सहजानन्द स्वामी, स्वामीनारायण घनश्याम(बाल्यकाल), भगतजी महाराज, शास्त्रीजी महाराज, योगीजी महाराज, प्रमुख स्वामीजी महाराज आदिलाई सजाएर राखिएको छ । त्यस बाहेक अन्य धेरै देवी देवतालाई ससम्मान राखी पूजा अर्चना गरिन्छ । ती सबैका बारेमा जानकारी प्राप्त गर्न समयको घेराबन्दीभित्र रहेकाले विस्तृत रुपमा उल्लेख गर्न सकिएन ।

खासमा सनातन धर्मसंस्कृतिको संरक्षण, प्रवद्र्धन, प्रचार प्रसारका साथसाथै सामाजिक र शैक्षिक गतिविधिमा पु¥याएको योगदान स्मरणीय रहेको देखिन्छ । यी सबैका अतिरिक्त यस मन्दिरको प्रवेशद्वारमा योगाभ्यासको प्रतीकका रुपमा राखिएको नीलकण्ठ भर्नीको ४९फिट अग्लो चरेस धातुको भब्य मूर्तिले सबैलाई आर्किर्षत गर्दछ । हामीलाई त ‘के खोज्छस काना आँखो‚भनेजस्तै भयो । यस मूर्तिमा नीलकण्ठको देब्रे खुट्टाले मात्र टेकेर दायाँ खुट्टा खुम्च्याएर, दाहिने खुट्टाको तिघ्रामथिको भागसम्म पु¥याएको छ । योगाभ्यासबाट पेटलाई पूरै भित्र पु¥याएको, घाँटीमा तुलसीको जस्तो देखिने मसिना दाना मिलाएर लगाएको र अर्को मोटो आकारको माला दायाँ र बायाँ दुबै हात सिधै माथि शिरतिर उठाइएको छ । देब्रेहात ध्यान मुद्रामा राखिएको छ । कुनै पनि बस्तु बोकिएको छैन । कपालको जुरो बाँधिएको छ । दायाँ हातको चोर औंलालाई धनुषाकार बनाइएको छ । यो अति सुन्दर शालिक प्रवेशद्वारमा स्वागत गर्न बसेजस्तो लाग्छ । यस अवसरमा जो कोही आगन्तुक, भावनाले वसिभूत हुन पुग्दछ । मूर्तिको दायाँतर्फ तपस्वीको कमण्डलु राखिएको छ । यस शालिकका बारेमा माथि उल्लेख गरिएका प्रत्येक सन्दर्भले कुनै न कुनै अर्थ बताइरहेको अनुभूत गर्न सकिन्छ । यहाँ आइपुगेपछि ‘मन नै शान्त र आनन्दको संसार’ प्राप्त भएजस्तो लाग्दछ ।

भारतको गुजरात (१७८१–१८२९) जन्मस्थल भएका घनश्यामले नै ७ वर्षको उमेरमा ८००माइल यात्रा पूरा गरेका । ११वर्षको हुँदा स्वेच्छाले गृहत्याग गरेका । उनको प्रतिबद्धता, तपस्या, ईश्वरप्रतिको भक्तिभाव तथा सम्पूर्ण मानव जातिको कल्याणका लागि समर्पित व्यवहारले कालान्तरमा भगवान स्वामीनारायण नीलकण्ठ भर्नी बन्न सफल भएको प्रमाण पाइन्छ । उनै स्वामी तपोमूर्ति नीलकण्ठ भर्नीको नगरयात्रा गरी अक्टुवर १०, २०२१ मा सम्पूर्ण सन्त महन्त तथा भक्तालु जनसमुदायका बिचमा स्वामीमहाराज र सद्गुरु ईश्वरचरन दासको उपस्थितिमा तपोमूर्ति श्री नीलकण्ठ भर्नीको ४९फिट अग्लो मूर्तिको अनावरण गरिएको छ । जन्मलिएको ४९वर्षमा शरीर छाडेको हुनाले हुनु पर्छ, मूर्ति पनि ४९ फिट अग्लो बनाएर उच्च सम्मान गरिएको देखिन्छ । उनको बाल्यकालदेखि स्वामीनारायण भएर शरीर छाड्ने समयसम्मका विभिन्न किसिमका तस्वीरहरुको सङ्कलन गरिएको छ ।

मन्दिरभित्र पूजा गर्दाको विशेषता भनेको विशुद्ध आत्मिक दर्शन मात्र रहेछ । कुनै पनि फूल, अक्षता, ध्वजा पताका, अवीर, अगरवत्ती वा कुनै पनि वत्तीजस्ता वस्तुको प्रयोग निषेध छ । मन्दिरको जुन कोठामा गयो, त्यसको भव्यता, सुन्दरता, मार्बलमा कुँदिएका विविध चित्र, आकृति आदिले कुनै न कुनै अर्थ प्रदान गरिरहेको छ । ‘समुद्रको गहिराइ र मनको आस्थाको कुनै किनार पाइँदैन’ भन्ने भनाइले सत्यता प्राप्त गरेको अनुभूत हुन्छ । मार्बल ओछ्याइएको भूँइ सफा देखिन्छ । आरती स्थलको भव्यता अवर्णनीय छ । अनि आरती गर्ने पद्धति पनि पृथक् रहेछ । यहाँको वास्तुकला अपार छ । एक किसिमले हृदय पुलकित बनाउँछ । प्रत्येक कोष्ठ कोष्ठमा फोटो खिच्न मनाही छ । स्वयम्सेवीहरुको सहयोगी भावना प्रशंसनीय रहेको छ । दर्शनार्थीहरुको अपार भीडभाड हुँदा पनि झर्को फर्को गरेको देखिदैन । आगन्तुकहरुले पनि मन्दिरको अनुशासन पालना गरेको देखिन्छ । यस मन्दिरको मूल भावना नै आध्यामिकता, शक्ति, भक्ति र अनुशासनमा केन्द्रीकृत रहेको छ ।

समयाभावले पूरै समयसम्म धित मरुञ्जेल मन्दिर घुम्न र हेर्न पाइएन तथापि मानव निर्मित उच्च कालिगढीलाई उच्च सम्मान गर्नै पर्दछ । मलाई के लाग्छ भनें जोसुकै वास्तुकलाविद्ले पनि यहाँ पुग्ने अवसर प्राप्त भएको अवस्थामा यस मन्दिरको निर्माणकलालाई मिहिन ढङ्गबाट हेर्ने र आफूलाई पनि अद्यावधिक बनाउने अवसर प्राप्त गर्नु पर्दछ ।

संस्थापकहरुको लगन, प्रतिबद्धता, सनातन धर्म संस्कृति, संस्कार, सामाजिक र शैक्षिक सेवाभावलाई अन्तर हृदयले सम्मान गर्नै पर्दछ । दाताहरुको महान् भावना र संस्थागत चिन्तन मननयोग्य छ । स्वामीहरुको गुरु शिष्य परम्पराले पछिल्लो पुस्तालाई पनि अभिप्रेरित गरेको कुरा स्पष्ट छ । सङ्घीय र राज्य प्रशासनसङ्गको संयोजन, सहजीकरण, पारस्परिक सद्भाव तथा सहयोग स्वागत योग्य छ ।

आस्थावान् महानुभावहरुका लागि मन्दिर परिसर भित्रै भोजन र आवासको पनि उचित व्यवस्था रहेछ । टाढा टाढाबाट आउने श्रद्धालुहरुका लागि यो सुविधाले जो कोहीलाई पनि आकर्षित गराएको छ । तर निश्चित समयभित्रै आवासको बुकिङ गरिसक्नु पर्ने रहेछ । मुलुकभित्र र बाहिरबाट आएका दर्शनार्थीहरुका लागि खुसीकै कुरा मान्नु पर्दछ । हामीले आफ्नै आँखाले देखेको दृष्यलाई कैद गर्दै त्यहीको भोजनालयमा खाना खायौं । जे होस सनातन धर्म संस्कृतिको प्रचार प्रसार र त्यसको जगेर्ना गर्ने कार्यमा अवधारणा ल्याउने काम सराहनीय छ । स्तुत्य छ । अनि सबैको मन जितेर साथ सहयोग लिएर भव्य र सुन्दर मन्दिर स्थापना गर्नु अर्को उल्लेख्य कदम मानिन्छ । ‘भक्ति बिना मुक्ति पाइदैन’ भन्ने भनाइ सत्य सावित गर्न खोजिएको छ । मन्दिरको व्यवस्थापन चुस्त दुरुस्त राख्नुलाई प्रशंसनीय कार्य मानिन्छ । समयले डाँडा काटिसकेकाले बेलुका ८ बजे न्यूयोर्कलाई गन्तव्य बनाएर हिड्यो, हाम्रो फिरन्ते टोली ।

रातिको १०बजे न्यूजर्सीतर्फबाट पछिल्लो पटक बनेको वान वल्र्ड ट्रेड सेन्टरको अवलोकन गर्दै क्वीन्सस्थित रेन्टल घरलाई बासस्थान बनाएर लाग्यौं हामी ।
२०८०।०८। ०३

श्रीभपोर्ट,लुईजियाना , संयुक्तराज्य अमेरिका ।....

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।