19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'जराको शक्ति' निबन्धभित्र डुबुल्की हान्दा

कृति/समीक्षा टङ्कबहादुर आलेमगर November 8, 2025, 10:25 am
टङ्कबहादुर आलेमगर
टङ्कबहादुर आलेमगर

नाप्न सक्छु न अक्षरमा लेख्न
त्यो विशाल हृदयको आयतन
थाहै नपाई मौलिरहने स्वच्छ
भावनाको हाम्रो रैथाने मन ।

भएपनि समय अघिपछि, एउटै वनपाखाको अक्सिजन, एउटै खोला रसिएर बनेको फरक कुवा भएपनि, स्वाद र तत्व एउटै भएको पानी खाने, घरसम्म पुग्ने बाटो फरक भएपनि, एउटै मूलबाटोमा हिँड्ने, सँगै नभएपनि, एउटै मास्टर नभएपनि, एउटै कक्षाकोठाको माटो टेकेर, एउटै ब्लयाक बोर्डमा सूत्र पढेको, गाउँ तलमाथि भएपनि एउटै आत्मियता रहेको समाजद्वारा सुपोषित पुण्य कार्की सर र म । उमेरले तल माथि भएपनि मनले एकछत्त हामी । ताम्लिछा र डाँडागाउँ, लिम्चुङ्बुङ्गको महान माटो ढोगेर, अघि पछि निस्केको जीवनयात्रामा । हामीलाई साहित्यले मात्रै होइन, समयको चपलेटीमा हिँड्न सिकाको छ मातृभूमिले ।
परिणामः मेरो कृति “कालो चायाँ“ र आधुनिक लोककथा “अछेता“को पहिलो अक्षरी मुहारमा भावनाको पाल ठोकेर; प्रेरणाका उत्साह पर्सदै मेरो साहित्यको रहर भित्रको दर्शयिता पुण्य कार्की । अनुज तर शिक्षा र साहित्यले जेष्ठ र परिपक्व सरले पर्सनु भएको चेतनामय दिग्दर्शन मै हिँडिरहेको छु ।
उहाँ दाजु सम्बोधनले गाँस्नु हुन्छ हृदयमै । म सर (गुरु ) भन्न कर्तव्य ठान्छु । सगर्व भन्छु आज म जहाँ उभिएको छु त्यहाँ परोक्षरूपमा उहाँ नै हुनुहुन्छ, तोक्चे ।
गन्ति र मानतीमा बराबरी रूपले कृति पस्कनु सफल उदयपुरको साहित्य माउर र देशकै निधारमा चम्कने टीका । पुण्य सरको पहिलो कृति “बाघले घास खायो” कविता सङ्गहले मलाई उहाँतिर मोहनी लगाएको । उहाँको साहित्य पराशक्तिलाई पछ्याउँदै हाँसेको छु, पृथ्वीलाई जूनले परिक्रमा गरे जस्तै, योबेला सम्म । त्यो आत्मिक मोहनी मन्त्रमा छचल्की रहेकै छु, छिपीखोला भएर छाँगे ओरालो । म भित्र जख्रेको साहित्य इच्छाशक्तिलाई जागरण गराइरहेकै छ, उहाँकै प्रेरणामय साहित्य अक्सिजनले ।
आज उहाँका उत्कृष्ट सृजना मध्यबाट भर्खरै महान पाठकका मनचोटासम्म पुग्न र पाठक कै कण्ठ मै दोहरिरहेको निबन्ध सङ्ग्रह “जराको शक्ति” लाई अवलोकन गर्दै “जराको शक्ति” भित्र रहेको मैले बुझेको, देखेको, भेटेको शक्तिलाई हजुरहरूको समक्ष राख्ने प्रयास गरेको छु । हुन त मसँग उहाँ जस्तो साहित्यकारको उद्घोषलाई जोख्ने तुलो, भर्ने पाथी र नाप्ने हात छैनन् र त्यो सामथ्र्य पनि राख्न सक्तिनँ । यद्यपि मेरो मगजको आयतनले जति हात पसार्न सक्यो, त्यति नै ठम्याई राख्ने प्रयास गरेँ ।
यहाँसम्म आइपुग्दा पुण्य कार्कीलाई नेपाली साहित्यको सशक्त निबन्ध विधा मन पराउने पाठक वर्गले राम्ररी चिनिसकेका छन् । अथवा उहाँ आफैँले नेपाली निबन्धका बजारमा (उदयपुरबाट काठमाडौंसम्म) परैबाट पुण्य कार्की आउदै हुनुन्छ भन्ने पहिचान बनाइसक्नु भएको छ ।
मैले उहाँका (अनुवाद कृति बाहेक) सुखद मौका पाइसकको छु कृति पढ्ने । सरको निबन्धले तिख्खरपना पस्कने गर्छ, मौलिकपनको छोटा कथा, उपदेश, मिथकीय, उपमा, अर्थालाङ्कार आदि प्रयोगले । पुण्य सरको लेखन र अभिव्यक्ति तरिका आफ्नैँपन छन् । निबन्ध पढेर भन्न सकिन्छ, यो निबन्ध पुण्य सरको रहेछ । पहिचान छुट्टै छ, लेखन, प्रस्तुति, भाका र सञ्चालन आफ्नै छन् । पाइन्छन् भक्रल्तै निबन्धमा चेतनाका अवयवहरू । निबन्ध भित्र प्राचीनकाल र आधुनिकको संयुक्तिकरण भएको हुन्छ । एउटै निबन्धको पठन यात्रामा, गर्न पाइन्छ अनुभूतिको शैल– बहुयुग, बहुसमय, फरक चटनी र तिहुन जस्तै । पुग्छु म मसार्न पुण्य सरको निबन्ध भित्र, राष्ट्रिय प्रतिबिम्ब, सर्वहाराको क्रान्ति र शोषकीबाट मुक्ति हुने हुटहुटी । गुदी छामेर हेर्दा देख्छु विविध नेपाली पहिचान दिने संस्कार संस्कृति गमगमाहट । लहलहाउँदो सामाजिक परिवेशमा आत्माको प्रादूर्भावले केही अनैतिक मुन्टो निमठ्ने कुकार्यलाई दाँत कम्टाई पनि उजागर हुन्छन् ।
एउटै माला भन्ने बोध गम्न विवश बनाउछ उहाँका निबन्धहरू । केही प्रजातिका सुमन उद्यानमा भ्रमण गर्ने भन्दा मजा हाम्रो भस्मे पाखाको नयन स्पर्श गर्न, रैथाने अस्तित्व चिन्तनको गहिराइमा बाँहाकट्टे हान्न पनि पाइन्छ । त्यहाँको उपहार विविधता हुन्छन् पाखा एउटै भए पनि । सोचाँै ठिङ्ग उभिएका रुखहरू कति प्रजातिका छन् ! लहराहरूको बैँश, गनेर के साध्य, रुखका मुनि रमाका विविध पोथ्राहरू । अझै तल रमाइरहेका झारका अनुहारहरू । डाला पातका आकार अनि विविधतामा युगौँयुग रमाएका हाम्रा माटो र ढुङ्गाको स्थिति । सुरिलो लयमा मौलिरहेका रैथाने चराका कलरव । हावाको सिरसिराहाट, माथि थुम्का फोरेर खसेको खोलीको सङ्गीत । आकाश हेर्दा परिवर्तन भइरहने बादलका रुम्टाहरू, कति विविधता छन्, पुण्य सरको निबन्धमा । निबन्धका पन्नाहरूलाई आफ्नै पाखोसँग जोख्न पुग्छु । घरि लाग्छ मेरो पाइलाहरूका स्पन्दन बजाइरहेछन् उल्लेखित अक्षरी नाम, सर्वनामले । प्रकृतिको सृजना जस्तै विविधता पाउँछु उहाँको निबन्धमा ।
यही निबन्ध भित्र प्रवेश गर्दै गर्दा नेपाली साहित्यका खाँबा प्रा.डा. गोविन्दराज भट्टराई जराको शक्तिलाई जोख्नु हुन्छ ....’काठमाडौं केन्द्रमा भए पुण्य कहाँ पुगिसक्थे कहाँ !’
गोर्खापत्रका भू. पू. सम्पादक, पहिलो हस्त लिखित लघुकथा “आँखी झ्याल” प्रकाशित गर्नु हुने श्रीओम श्रेष्ठ ’रोदन’ लेख्नु हुन्छ– “जराको शक्ति ” निबन्ध सङ्ग्रहले नेपाली आत्मपरक निबन्ध लेखनलाई अझ व्यापक बनाउने कार्यमा सार्थक भूमिका निर्वाह गर्नसक्ने देखिन्छ ।’
त्यसैगरि उदयपुरका इतिहासकार, वरिष्ठ पत्रकार, उदयपुरका पहिलो लघुकथासङ्ग्रह– भूत (२०४८) प्रकाशित गर्ने साहित्यकार कौशल चेम्जोङ लेख्नु हुन्छ–“ .... निबन्ध सङ्ग्रहका सार खिच्दा विषय–वस्तु र पात्रहरूका चयन हेर्दा भुइँमान्छेहरू वास्तविक हिरो ठानिएका छन् ।”
यसरी निबन्ध “जराको शक्ति” पैंतालीस वटा निबन्ध बोकेर उभिएको सङ्ग्रहभित्र क्रममा पहिलो “अन्न र अजादी” शीर्षक रहेको निबन्धसँग भलाकुसारी गरेँ । ओतप्रोत लाग्छ, गहन र व्यङ्ग्य झटारोले, अन्न र अजादी । आजसम्म जेकालागि जस्का लागि आन्दोलन गरेर हिजो, भुरेटाकुरे जँहानिया राणा शासन र एकतन्त्रीय राजशासन धपाए पनि असली सर्वहाराको तीतो स्थिति जस्तोको तस्तै रहेको कुरोलाई मध्यबिन्दु बनाइएको छ निबन्ध भित्र ।
मजाले उजागर गरिएको छ, देश र जनताको परिस्थिति । जो अघुवा उही पदुवा भने जस्तै केही अघुवाका जीवन परिवर्तन सिवाय जस्तोको तस्तै छ यथार्थ भन्ने झटारो ठोक्न सफल छ निबन्ध । निबन्धले उधिनेको निकै मार्मिक र चिन्ताजनक कुरो देश परनिर्भरको घागीमा जाकिरहेको छ । घागीमा डुबेको स्थितिलाई उकास्ने मन्त्रोच्चारण नभएको दुखेसोले अलसतलस छ निबन्ध ।
यो विषयमा सानाले धेरै बुझ्ने समय आइसकेको छ । र, देश हाँक्ने प्रवृत्तिकै फलाई अहिलेको जेन–जी आन्दोलन हो कि जस्तो छ । जेन–जी भाइ बहिनीको आँत तातिन अघि पुण्य कार्कीको आँत सल्केको स्पष्टता हुन्छ, निबन्धलाई चेतनाको फित्ताले नाप्दा । केवल प्रस्तुति फरक, जेन–जीले इन्क्लाबी नाराले सडक तताएर सरकार हटाए, पुण्य सरको निबन्धले आन्दोलन भन्दा पहिला नै नकारात्मकको विपक्षमा अक्षरी विद्रोह गरेको पाइन्छ ।
नानीहरूका आँखा – यो निबन्ध निकै गहन र संवेदनशील छ । हामी हाम्रा सन्ततिहरूलाई राम्रो बनाउने उद्देश्यमा अन्धकार तिर धकेलिरहेका त छैनौँ । हाम्रा नानी बाबुले पढ्ने शिक्षामा स्वयम् निर्भर बनेर देशलाई आत्मनिर्भर बनाउने छ कि छैन ? मनन गर्ने दिन आएको छ भन्ने सूचनाटाँस गरेको छ यो निबन्धले ।
हामी अभिभावकसम्मले कुनै अघुवाले फलाकी रहेको चेतनाको कुरो, फूलबुट्टा भरेका कुरोमा लागेर (लाग्न विवश हामी ) देशको साँचो सुम्पनु अघि मनन गर्छाैं कि गर्दैनौँ ? अर्काको कुरो सुनेर त्यसैको सिको गर्दा नकारात्मक फल पाइरहेको त छैनौँ ? प्रश्न निबन्धको । एकजना मित्रले सुनाउनु भएको छोटो कथा– एकजना कृषक विज्ञका परिवार बीच भएका कुराहरू सुन्थ्यो छिमेकीले । विज्ञ परिवारका योजना भोलिपल्टै लागु गरिहाल्थ्यो छिमेकीले । विज्ञ सोच्थ्यो अरे– गाउँका कृषकले भन्दा अगाडि कुनै अन्न छरेर राम्रो उत्पादन लिएर अग्रता हाँसिल गर्ने योजना ग¥यो, छेउको छिमेकीले भ्याई हाल्छ ।
एकदिन पुरै परिवार मेलोमा बसेर आफ्नो योजना कार्यान्वयन अगाडि कसरी छिमेकीले कार्यान्वयन गरिरहेको छ ? भन्ने विषयमा छलफल गरिरहेका थिए ।
छलफलमा बुढी बजै भनिछन्, “तिमीहरू सिकुवामा बसेर बात मारेको पल्लो घरको लक्षुमनोवाले कान थापेर सुनिरहन्छ ।“
विज्ञले मन्टो हल्लाउँदै, बाउको कानमा फुस्फुसायो ।
साँझमा सधैँ झैँ आँगनमा बसेर भोलिको कार्य बाँडफाँड गर्दै भनेछ, “रामबिलास कौवा कराउन अघिनै गएर सुर्तीबारी जोत्नू । पिपरियाबाट चालीस कुरुवा युरिया लगेर छरिदिनू । म जिल्ला जान्छु । बुबा धनिराम बनियाँको दोकानबाट उन्नत जातको सरसौँ ल्याउनु हुन्छ । पर्सिको योजना भोलि बनाउँला ।” भन्दै घरसल्लाह तुरेर साँझको खानपिनतिर लागेछन् ।
भोलिपल्ट गाउँभरि हल्ला फिँजियो, “विज्ञको छिमेकीले सुर्तीबारी जोतेर के बर्बाद गरेको !”
कतिले भनेछन्, “हँन लक्षुमनुवा पागल त भएन ?”
साँझमा लक्षुमनुवा विज्ञको आगाडि हात जोड्दै भनेछ, “ठूलो शिक्षा दिनु भो । कुनै पनि काम आफ्नै विवेकले गर्नुपर्दाेरहेछ ।”
यसरी कथासँग मिल्ने चेतना निबन्धले दिइरहेको छ । नानीहरूलाई परनिर्भर खाले शिक्षामा घुमाइरहनु भन्दा उसलाई केही बाहेक उसैको चैतन्य–यात्रा गर्न दिऊँ भन्ने विषयलाई सुझावको रूपमा पस्कनु भएको छ निबन्धमा ।
सालिकको चरो– यो निबन्धले सशक्त भई बाँच्नुको मन्त्र सिकाउँछ । निबन्ध भित्र मै हुँ भन्ने सिकन्दर, नेपोलियन बोनापार्ट, हिटलर जस्ता योद्धाहरू रहेनन् । बुद्ध जस्तो शान्तिका प्रतीकले पनि बनाको ठाउँ छोड्न प¥यो । क्लियोपेट्रा र राजेश खन्ना जस्ता सुन्दरताका चुचुरोहरू ढले । जून–घामको कुरो गरौँ या यो संसारकै कुरो गरौँ अन्त असम्भव छैन, केवल आयुको अन्तरमात्रै छ । तर, यात्रा अन्त भएपनि सुन्दर र परोपकारी कर्म छोडेर शिलामा नाम खोपाउनु पर्छ भन्ने प्रेरणाको किरण छरेको छ । यो निबन्ध मानव र प्रकृतिको संयुक्त प्रस्तुतिको अट्कल गर्न सकिन्छ ।
चिउराको रुख– कति विम्बात्मक छ शीर्षक ! शिक्षाप्रद छ यो निबन्ध । पाठ्यपुस्तकमा राखेर किशोरावस्थाका बाबुनानीलाई सुनाउनु पर्ने खालको । निबन्ध भित्र मुला र दूध उम्लेको परिघटना, छोटो लघुकथा जस्तो हाँस्य र व्यङ्ग्यले ओतप्रोत । घटनाले त्यो अवस्थाका किशोर किशोरीलाई शिक्षा पस्केको छ । हाँस्य प्रहार भएको छ अभिभावकलाई मजाले । आज हामी हतारे परिस्थितिले गर्दा सानो नानी आयाको हातमा, तीनचार वर्ष भए पछि मन्टेसोरी, अलिक ठूलो भएपछि बोर्डिङ्मा, किशोर देखि उकालो कलेज र टिउशन लगाई, अभिभावकत्वबाट चिप्लिरहेको छौँ । कुन उमेरमा धेरै अभिभावकत्व आवश्यक भन्ने विषयबाट विमुख छौँ । पछि खिन्न हुन्छौँ, घर व्यवहारमा आफ्नो सन्तानबाट खोजेको संस्कार नपाउँदा । हामी सुरुआत मै कसरी चिप्लेका रहेछौँ, जान्न यो निबन्ध पढ्नैपर्ने हुन्छ, विद्यार्थीदेखि अभिभावकसम्मले ।
जराको शक्ति ः जराको शक्ति यो निबन्ध सङ्ग्रहको अघुवा, दिशा–निर्देशक । यो सङ्ग्रहको टाउको, जरा, शक्ति, आवरण, मुहार अथवा शीर्षक । प्रतीकमा जरा, अभिभावक र गुरु हुन् जीवनको । जरा विधान, ऐन कानुन हो । कल्पना गरौँ अभिभावकविहीन परिवार, गुरु बिनाको चेला, विधान बेगरको देश ।
उद्विजका जरा फेँदमा हुन्छन् भने मान्छेका जराशक्ति भने विपरित माथि टुप्पोमा हुनेगर्छ । पानी सेचन माथिबाट तल हुनेगर्छ । मल लाउन परे जराको छेउछाउमा खनेर राख्ने गरिन्छ । मान्छेले भने पानी ओरालो पिउँछन्, खाना ओरालो नै झर्छन् । पेटबाट उकालो जरामा सम्प्रेषण हुने गर्छन् तत्वगत शक्ति ।
सशक्त छ अचम्मै । निबन्ध भावनात्मक र विम्बात्मक दृश्यले । आँतमा रहेका यहुदी कथाको मिथक– किसान र प्रकृति बिचको दुवादस र त्यसको परिणामलाई हामीले प्रेरणाको खाँबो बनाई ठड्याउनु पर्ने आवश्यकता लाग्छ । संघर्षको घर्षणबाट बचेको वाद नै जीवन्त हो । राम्ररी बुझ्छौँ, संघर्ष र यसको निरन्तरता हामी माटो खेलाउनेले ।
तल्लो घरे बा कोदाली बोकेर खेतमा धाइरहनु हुन्थ्यो । हामी हप्ता पन्द्र जान्थ्यौँ, कुलो सोझ्यार आउथ्यौँ । बार्दलीमा बसेर हेर्थेँ, मध्येनी तातो घाममा पनि खेतको डिलैडिल हिँडेको देख्दा हाँस उठ्थ्यो ।
धान दाइँमा मेरो भन्दा डेढा धानको रास देख्दा छक्क परेँ ।
तोरी छर्ने बेला मेरो खेतमा झारै झार बाको फरफराउदो ।
एकदिन सोधेँ– “हरेक बालीमा तपाईंले उछिन्नुको कारण ?”
उहाँ हाँस्दै भन्नु हुन्थ्यो– “घोकन्ते विद्या, धाउन्ते खेती !”
यो निबन्धले निकै गहन र विम्बात्मक तपसिलबाट हामी पाठकलाई सफल छ चेतना पस्कन ।
उडान समाधिः निबन्धको शीर्षक नै गहन र विम्बात्मक उस्तै । सुनेको कतै, सानो अक्षर लेख्ने र सधैँ उँभो हेर्ने मान्छे विद्वान हुनुको सङ्केत अरे । हरेक वस्तुले धरातल छोडेर उपल्लो उडानको, परिकल्पना गर्दाेरहेछ । माथि नै ताक्दा रहेछन्, प्राकृतिक उपहार उद्भिद्हरू पनि मातृथलो टेकेर ।
जे कुराको ईच्छाको अन्त–अनन्त हुँदोरहेछ । त्यहाँ अन्त होइन रहेछ हामी जहाँ जन्मेको भुइँ । भौतिकमा नसके पनि बौद्धिकमा सिमा नाघ्नै पर्दाेरहेछ । सबल हुँदोरहेछ, बौद्धिक सबल भएपछि हरेक क्षेत्र । र, बौद्धिकवादले जन्माउदो रहेछ भौतिकवाद । बौद्धिक अदृश्य रूपमा सिङ्गारिएपछि भौतिक झलमल हुँदोरहेछ, धेरै दिनपछि छोरा भेट्दा उमङ्गित आमाको अनुहार जस्तै ।
साहित्य दृश्य प्रेषण सधैँ उच्च र सकारात्मकताको भ¥याङ्ग हो । गतिलो लिस्नु निर्माण गरेको रहेछ निबन्धले । उकालो उडान, विम्बात्मक दृश्य र अक्षरी–अखेटा थुप्रै भेटिन्छन् निबन्ध रसमा । जोसँग सच्चा कर्मको भण्डारण छ, ऊ कहिल्यै विलीन हँुदैन । मृत्यु पश्चात् मञ्चमा पनि प्रमुख, विशिष्ट, विशेष अतिथिहरू माथि ब्यानरमा उत्प्रेरित भइरहेको हुन्छ, उच्च विचार पर्छने नाम । ग्रहण गर्छन् दर्शकहरूले, उच्च नामले रोपेका महान विचारहरू । त्यस्तै विचार स्वात्र्याम्मै छन् निबन्धको ढुक्ढुकीसँग ।
गनगन कि गुनगुनः यो निबन्ध हाम्रै वरिपरि यत्रतत्र छरिएको अवस्था हो । श्रीमानको गनगन , श्रीमतीको कचकच (प्रतिरूप)ले वाक्कै भइसकेँ । घरमा बाउको गनगन, स्कुल चुम्रे सरको किचकिच, भुत्रोको दिमागले क्याच गर्छ, जोग्राफीको फर्मुला । कति सुन्नु परदेशमा पनि श्रीमतीको गनगन । सिरफुल चाहियो अरे, सुनले आकाश हेरेको बेला । यता होटलको मालिक छ्या...।
विविधताको गनगन । केही समयसम्म बाउको गनगन सन्तानलाई अराउपराउ हो । श्रीमतीको गनगन श्रीमानको कुलत, कुकर्मको विद्रोह हो । सरको गनगन विद्यार्थीहरूलाई पाठमा ध्यानाकर्षण गर्नु हो । तर गनगन अत्याधिक भयो भने बौद्धिकबाट भौतिक विद्रोहमा परिणत हुनुसक्छ । हामीले गनगनाउने होइन गुनगुनाउन थालौँ भन्ने प्रेरित गर्छ, यो निबन्धले । सोचौँ हामी, गनगनाउने कि गुनगुनाउने ।
मगन्ते–वृत्तिः यो निबन्ध कोरोनाकालको पीडामा व्यङ्ग्य कसिएको निबन्ध । हुने खानेको मगन्ते मनोवृत्तिलाई ड्याम्की ड्याम बजाको छ, अक्षरी मुड्कीले । शेखचिल्लीले कृति सुरदासको कोदोकुटाई भएको छ भने यो निबन्धले कृत्रिम कंगालपन देखाएर असली सर्वहारा वर्गको हक खोसेर अझै दुःख दिने प्रवृत्तिको गोरु बर्ताई बनेको छ । तर, नैतिक स्खलित चरित्र छेस्साहा रहेको, स्वाअर्न पछि पर्दैनन् भन्ने अर्काे ड्याम्सा ठोकेको पाएँ । निबन्धमा उल्लेखनीय घटना परिघटना पढ्दा कतै मैँ पात्र, पात्रा त हुँइन, गमखाने बेला आएछ साथी हो । यस्तै अनुभूत ग¥यो निबन्धले ।
समय–सत्ताः सत्ता, कुर्सी, पद, धनपति न तल न माथिको स्तर अस्थायी हो । कुनै पनि मूर्त अमूर्त सबै चिज परिवर्तनशील छन् । हामीले देखेको, भोगेको संसार सबै अस्थायी हुन् । केवल समयले निर्धारण गर्छ । स्वयम् समय परिवर्तनीय छ । हामीले विविध शक्तिको खाँडो जगाएर सर्वशक्तिमान बनेर रैँदालो मचाए पनि एकदिन चाउरिन पर्छ भन्ने सत्यतर्फ यो निबन्धले सचेत गराएको छ ।
यहाँ लामो समय हेर्न सकिने भन्नु नै सुकर्म रहेछ । समयको आगोमा सुकुर्म सुस्ताउँदै गएर कथा भएर बाँचिरहन्छ । समयले उचालेर पछि थेचारिएको व्यक्तित्वले बोकेका समय–सत्ता संश्लेषणले अहिलेका तिग्रे हुँ भन्नेलाई सोच्न बाध्य बनाउँछ निबन्धले ।
बीउ छर्नेको कथाः यो निबन्ध सांसारिक चोला हो । यहाँ जीवन, संघर्ष र परिणाम छन् । जस्ले निश्चित निश्चय गर्छ उहीँ हो लक्ष्य । निबन्ध भित्र लाप्पा जस्ले खेल्छ, प्रतिद्वन्द्वी पछार्छ ऊ नै हो इतिहास । मेलो बनाएर जस्ले बीउ छर्छ, गोडमेल, मलपानी गरेर नकारात्मकतासँग जोगाउँछ ऊ हो सफलताको भकारी । म्याराथन दौडमा सैकडौँ धावकले भाग लिएपनि प्रथम त एकैजना हुने हो । यस्तै यो सांसारिक गन्जगोलमा आफूले आफैँलाई प्रथम बनाउने कार्य जारी राखौँ भनिएको छ ।
गुरु शक्तिः गुरु जिन्दगीको बाटो देखाउने उज्यालो राँको हो । यो निबन्धमा गुरुको महात्म्यलाई उदहरणीय रूपमा प्रस्तुत गरिएको छ ।
हावा कुराः हामी गाउँघरमा फेँद न टुप्पोको कुरो ग¥यौँ भने, घटना या सम्भावना भन्दा बाहिरको गफ हाक्यौँ भने हावा कुरा भन्ने गर्छाैं । तर, हावा कुरा शीर्षक रहेको निबन्ध भित्रको हावा माथि गरिएको छ, विषय उत्थान मार्मिक अभिव्यञ्जनाले भरिएको छ । हावा जति अदृश्य र आकारविहीन छ, त्यति नै शक्तिवान रहेको कुरोलाई खोतलिएको छ ।
हावा प्रकृतिको यस्तो तत्व हो, हामी प्राणी जगतमा नभई नहुने शक्ति हो । जति पनि अदृश्य शक्तिको वाहक हावा हो । अहिलेको आधुनिक युगमा झनै हावा मान्छेको लागि नभइनहुने पारदर्शी शक्ति हो । सुरक्षित छन् यस्तो भनाइ निबन्धभित्र । सकेसम्म दिग्दर्शन गरेको छ, धुवाँ धुलोबाट हावालाई सुरक्षित राख्नु भनेको आफू सकुशल रहनुको अर्थ हो ।
जङ्गी नेताको राष्ट्रवादः निबन्ध निकै गहन र मार्मिकताले खायो म्वाई । निबन्ध पढ्दा म आफैँलाई बिचरा भन्न पुगेँ । आफ्नैँ स्थितिलाई नाप्दा एककाइसौँ शताब्दीको मान्छे भन्न लाज लाग्यो । म नेपाली भएर अशुद्ध नेपाली रहेछु । मेरा ढेँडो, गन्द्रुक, मकै, भटमास, मार्सी, अनुपाकी, थापाचिनी धान, आदि इत्यादि झर्राे रहेनछ । खुकुरी र टोपी माथि गर्व गर्थेँ त्यो पनि पूर्णत होइन रहेछ नि । शुद्ध वीरहरूको माटो पनि अशुद्ध भन्दै रहेछन् भन्ने कुरोले मन छुयो या निबन्धको आँत स्पर्शमा ।
जीवनको उद्दाम वेगः जीवन स्वतन्त्र वेग हो भने डरलाग्दो पनि हो । संसारको मान्छे मरेको इतिहासमा सायद मान्छेद्वारानै धेरै मान्छे मरेका छन् । जति एउटा मान्छेद्वारा प्राणीको हत्या भएको छ त्यति एउटा बाघ, एउटा शाहीवाज, एउटा किङ्ककोब्रा, एउटा माछाद्वारा, एउटा चराबाट कीराको हत्या भएको छैन जस्तो लाग्छ । आफ्नो हुँदोको पक्षमा संसारमा धेरै वेगले उड्ने प्राणी मान्छेनै हो । मङ्गल ग्रहसम्मको रोबोट यात्रा भनौँ, ड्रोन मिसाइलका उडान तिव्रता ।
निबन्ध भित्र एउटा उद्दाम वेगको स्वइच्छाले ओतप्रोत छ । उद्दाम वेग भित्र सुन्दर लक्ष्य हुन्छ, जो आजका जेन–जी पुस्ताले गरेका परिवर्तन र राखेका लक्ष्य जीवनको उद्दाम वेग त होइन ? केवल म भित्रको कौतुहलता ।
मुसा, माकुरा र मच्छडहरूः यो निबन्ध हामी हुँदा, कमाएर खानेको घरघरको घटना र पीडा हुन् । घामपानी हुँदा आश्रय स्थल मान्छेको घर हुँदो रहेछ । मान्छेको घर आश्रय स्थल मात्रै नभइ आहार विचरण गर्ने भरपर्दो स्थल पनि रहेछ । अतः यी प्राणी र मान्छेमा द्वन्द्व भइरहन्छ । तर, मेरो बुझाइमा यो निबन्ध विम्बात्मक सोचमा सृजना भएको हो । पूँजीवादी सोचका मुसा, माकुरा र मच्छडहरू सर्वहाराका दिनचर्या भित्र हावी भएर विविध विषयका पासो, दाम्ली र खुट्टेहरूमा पारेर मारिइरहेका हुन्छन् । या घर देश हो, उल्लेख्य शीर्षकका पात्रहरू भ्रष्टाचारी हुन् ।
ताम्फुङ्नाः गजबको छ यो निबन्ध । निबन्ध भित्र छोटाछोटा दर्शन पढ्न पाइन्छन् । ती लेखनमा किराँत–लिम्बुको मिथक होस् या बाइबलको मिथक । भष्मासुर, मुसो, भूपू राजा ज्ञानेन्द्र, चाहे जंगबहादुर या चाहे गरीब माझीमझेनीका छोटा कथाहरू हुन् । यी सबै ताम्फुङ्ना निबन्ध भित्रका अवयव हुन् । कुनै पनि फल, फूल समयले होस् या नैतिकताले ताम्फुङ्ना पसेपछि यथास्थानबाट स्खलित हुन्छन् । हाम्रो देशको इतिहास होस् या विदेशको घटना, पुरानोबाट नयाँतिर जानु ताम्फुङ्नाकै कारण हो । सकेसम्म निङ्वाफूलाई हेला नगरौँ, यो निबन्धको मूल सुचना ।
ठगका ताँती ः एउटै ठगले गाउँ पिर्छ । झनै ठगका ताँती गजबको छ शीर्षक । ठगका विविध स्वरूप मध्य हात, चिन्हा, पात्रो हेरेर अलौकिक विपद देखाएर फूल चढाउँदा हुने ठाउँमा सुन चढाउनु पर्छ भनेर पीडितलाई ठग्नेको मजाले यो निबन्धले मुखलोबारी दिएको छ ।
हाम्रो चन्द्रप्रसाद काकाले सत्यनारायण पूजा गर्दा बस्त्र दान गर्नाेस् भन्दै तीतेपातीको पात दिनुहुन्थ्यो । स्वर्णदान, भूदान, गौदान समेत थुङ्गेफूलको पत्रहरू दिएर बहताहरूमा चढाउनु लगाउनु हुन्थ्यो ।
यो निबन्ध भित्र थोरैरूपका ठगारबाट बच्न आह्वान गरिएको छ । आज विदेश पठाउँछु, पढाइदिन्छु, बिहे गर्छु, अर्काको परालको कुन्यु देखाएर धनी घरको बुहारी ल्याउने, सुन भनेर पित्तल दिने, प्लास्टिकको एकमुखे रुद्राक्ष दिने आदि गरेर ठगारका लामेताँत देखाइएको छ यो निबन्धले त्यस्ता बहुरूपी ठगसँग बच्न समय मैँ गोडाफार छोडेर सतर्कको आह्वान गरिएको छ ।
कुम्ले लाटाहरूः यो निबन्ध समाज भित्रै रहेपनि, गाईघाट बजारमै घुमिहिँड्ने रैथाने भएपनि उहाँहरू प्रकृतिको प्रक्रियामा केही कोशिका स्थापित नहुनुको कारण अरु भन्दा थोरै (कमजोर) भएको होला । कुम्ले लाटाहरू पूर्णरूपमा परनिर्भर थिएनन् । आफू बाँच्न आफैँ प्रयास गर्नु हुन्थ्यो ।
यो निबन्ध कसैले नलेखेको समाजको सिमाबाट उछिट्टेर परहुन विवश दुई पात्रका कथा हुन् । यो निबन्धले गर्दा उहाँहरू साहित्य फाँटमा अमर हुनुभएको छ । हो एकजना निस्वार्थ सर्जकको आँखाले अरूले नदेख्ने संसार देख्नसक्ने हुति राख्छन् । त्यसैको परिणाम हो कुम्ले लाटाहरू । ती पात्राका स्थिति लेखेर सर्जकले पाउने त केही होइन । तर, असली कलम हेपिएका, थिचिएका, नदेखाइएको, नलेखिएको लेख्नु असल सर्जकको पहिचान हो । त्यो महान भूमिका पुण्य सरले पूर्ण गर्नु भएको छ ।
पिताजीका आप्तवाणीः ती यथार्थको श्रीपेच पहिरेको महाराजा शब्दहरू हुन्, बाका आप्तवाणी । छोड्नु, छाडिनु समयको उपहार हो, प्रेरणा हो, ऊर्जा हो । उम्रेपछि नमर्नु त यथास्थितिवाद हो । यथास्थितिवाद परिवर्तनको बाधक हो । नयाँ परिवर्तन नहुनुको आग्लो हो यथास्थिति ।
यो निबन्ध निकै गहन सोचमा विगतका छोडिएका, हराई सकेका, बिर्सी सकेका, समयलाई वर्तमानको खाँबोमा पाठकसम्म दर्साइएको छ निबन्धले । र हामीले यहाँ बितेका कुराको साँचोले भोगिरहेको स्थितिको भोटेताला खोल्न पुग्छौँ । अर्थात् जहाँ पुगियो त्यहीँ रमाइलो गरेर भोलिको यात्रा कोर्नु हो ।
तस्बिरको वीरः साच्चै महान चरित्र भएको मान्छेको तस्बिर टाँसेर, या अमूर्त ढुङ्गालाई महामानव, ईश्वर, प्रभु, देवी, देवता, कुल, पितृलाई सर्वशक्तिको आस्थामा ढालेर पुज्छौँ, मान्छौँ । शक्तिको मनोकाँक्षा पोखाउँछौँ । गाउँमा म ठूलो बन्न सकौँ, सबैको भन्दा मेरा छोराछोरी विद्वान बनून् भन्ने पावरको अनुनय गर्नु कतिको सुकर्म हो । एउटा ढुङ्गा ठड्याएर मेरो खेतबारीतिर बन्कर, दुम्सी, सलह, फौजीकीरा जस्ता सबै नकारात्मकतालाई छलाएर भक्तेको तिर पु¥याइदिनु भन्दै बल माग्नु कतिको धर्म हो । आदि जस्तो मनोभाव राख्ने माथि कसिएको निबन्धको व्यङ्ग्यात्मक बाघे झापु हो ।
आफ्नो कथा भन्नुको मजाः हा ऽऽ हा ऽऽ हा ऽऽ आफ्नो कथा आफैँले वाचन गरेर सुनाउने कथाकारहरू टिमुर फलाई जस्तै छन् । केही सुधारक, अलिक बुझकी पनि सामुन्नेको जीवन कथा सकिने बित्तिकै उधारी हाल्छन् संस्कारको छानो । कतिलाई चाहिँ आफ्नो छोराले सहरमा बनाको घरको तस्बिर देखाउँछु भन्दा संस्कारको अगाडि मोबाइल समातेर हाँसी मात्रै दिन विवश पनि हुन्छन् ।
यो निबन्ध आफ्ना रूपका आफैँ समीक्षकको नाँकमै बजारिएको महसुस गरेको छु । अन्ततः निबन्धले पुच्छारमा आफ्नो जीवन कथा, घर कथा, परिवार कथा वाचन गर्दा छिमेकीको खिसीटिउरी नमिसियोस्, सकभर मंगोलियाको बाह्रौँ शताब्दीको सम्राट चँगेज खान जस्तो हुनु राम्रो भन्ने सुझाव समेत फुलाउन बिर्सेको छैन ।
बच्चाका कुराः निबन्ध भित्र बाल भावना भक्रल्तै टुसिएका छन् । ती टुसाहरूको भावनालाई बुझ्न नसक्दा बिघाको बिघा फुल्ने फूलको नस्ल फलाई सानो गमलाको परिधिभित्र फुल्न विवश बनाउँछौँ र खोज्छौँ सुवासको साम्राज्य । मान्छे बनिने पहिलो फर्मा बाउआमा हुन् भने दोस्रो गुरु हुन् । गुरु अध्ययनले पूर्ण नभएपनि विचार, व्यवहार र प्रविधिले पूर्ण हुनु काइदा हुने कुरोको ल्याप्चेनै ठोकेको हो निबन्धले ।
फौजी–किराका हुलः पुण्य कार्की सरको अन्तस्करणको अदृश्य ज्वालाबाट उडेका बगुन्द्रो अक्षरी झिल्काहरू मिलेर बनेको विम्बात्मक निबन्ध । यो भित्र सच्चा देशभक्त छोराको सुस्केराले लछ्याप्पै छ । एकथरी अलमस्त सार्वभौम शक्ति स्याकुने, टिसलाग्दा अवनतिको पहरामा फुल्न बाध्य मुसे खरुकीहरू । पृथ्वीनारायण शाहको पालादेखि विश्वास गरेका विश्वासीहरू, जुनै जोगी आएपनि कानै चिरुवा उखान भोग्न लाचार जनता ।
जनताकै कुँडोपानी, गोबर घँस्यौटले लादिएका साँढेहरू, जनताको देश र जनताको भविष्य जोतेर हङकङ, सिंगापुर बनाउछु भनेर घर दहिलो गर्नेहरूलेनै विश्वासको जुवा पल्टाउन थाले पछि स्वतस्फूर्त अभिव्यक्त हुनुपर्छ यो निबन्ध । निबन्ध जस्तै भोग्ने जेन–जी पुस्ताले उख्लेका होलान् सत्ताको पर्खाल । तीनै विगतका देश हाक्नेहरूलाई फौजी, सलह, पतेरो, भट्याङ्ग्रो आदि बिम्बात्मक नाम दिएको छ ।
ती फौजीकिराको यात्रा टुङ्ग्याउन नार्कले बारूला जातका सिकारी किराहरूको उत्पादन गरे जस्तै समयले जेन–जी ल्याएका त होइन । अन्तमा निबन्धकारलाई डर छ– कतै गुबो छेडेर डाँठको भित्र भागसम्म लुकिबसेका चतुर फौजीकिराहरूलाई भर्खरका बारूलोहरूले निमट्यान्न पार्लान् त ?
परा–पश्यन्ति–मध्यमा बैखरी र फिनिक्स चरीः यो निबन्धले आत्मनिर्भर बन्न धकेलिरहेको हुन्छ । यो निबन्ध सागर भित्र आफ्नो ल्याकतले जति बाँहाकट्टे हान्न सकियो त्यति सफल यात्राको कल्पनातिर अग्रसर हुन सक्छौँ । जीवन कायरपना र डराएर चल्दैन । आत्तिनु, आतेसिनु, मनलाई मार्नु, अनुत्तीर्ण खोक्रो मने ढाकर बोकेर जीवन नचल्ने र मान्छे हुनुको महसुस गराउन नसक्ने प्रशारण पाइन्छ, निबन्धको अवयव छुँदै जाँदा ।
गाउँघरमा अग्रजहरू भन्नुहुन्थ्यो, “नखाए पनि खाए जस्तो हुनुपर्छ ।” जति पीडाले थिच्छ त्योमाथि खुशीको शक्तिले प्रहार गरिरहनु पर्छ । हरेस कहिल्यै नखाने, नसक्ने काममा पनि सक्छु भनेर थाल्नु पर्छ, अवश्य फत्ते हुन्छ । कुनै विषय नभए पनि कोरिरहने, कोर्दा कोर्दा एउटा आकार आएर उत्साहित गर्न सक्छ । यस्तै शब्द शक्तिले पाठकलाई म, म हुँ भन्ने बलियो तोक्चे ठोक्न सफल छ ।
छरिएको जीवनः जीवन वृहत् नियात्रा, अथाह सागर, वायुमण्डलमा घुमिरहेका दृश्य अदृश्य कण जस्तै । साच्चै जीवनको पलपल, सोचेको, भेटेको, गरेको, खाएको, स्वाद, विस्वाद, दुखाइ, हर्ष, यस्तै जीवनी किताब । यो निबन्ध पढेपछि पुण्य सरको संक्षिप्त अतीतलाई देख्न र भेट्न सकिन्छ । जीवन यात्रारत भाइ बहिनीलाई दिग्दर्शन पनि बन्नसक्छ “छरिएको जीवन” ।
गाउँको आत्मानिर्भरताः त्यो जमना, हाम्रा बाजे, बुबाहरूको जमना । अनि हाम्रो उमेरको स्वर्णकाल, जुनबेला हामी केटाकेटी बाँसको खपटा बजाएर धामी बस्थ्यौँ, घरको रातोमाटोले लिपेको भित्ता कोरेर चित्र बनाउथ्यौँ, पुरानो जुराप भित्र थाङ्ना खाँदेर फुटबल खेल्थ्यौँ, कुखुराको बाङ्गो सुली देखेर हाँस्थ्यौँ । त्यो मैले भोगेको अतीतको माउर छाँदेर निबन्धको छरिएको गाउँले परिवेश । पढ्दै जाँदा आफैँ पात्र भएर हिँडीरहे जस्तो लाग्यो । साँच्चै हाम्रो गाउँ त्यो पञ्चायती व्यवस्थाको बेला पनि कति आत्मनिर्भर थियोे । विकास नभएको नाममा पनि अल्लो घर, पल्लो घर कति आत्मिक थिए ।
हतासो, थुरी, बाँको, राँबो, बसिला, हरिस, अनौ, जुवा, बट्नेटो, घन, होत्रो, सनासो, दबास, घोडी, नाल, गजो आदि गाउँले सिपलाई सरकारले आधुनिकतामा परिवर्तन गर्देको भए देश कहाँ पुग्थ्यो । आज एकहप्ता भारतले परिवाहन चलाउने तेल रोक्दियो भने उन्नाइसौं शताब्दीमा झरी हाल्छौँ । यस्तै देश दुखेको सुस्केरा दोहो¥याएको छ यो निबन्धले । म त भन्छु वर्तमान पुस्ताले पढ्नै पर्ने निबन्ध हो ।
जुराफको प्वालः यो निबन्धले पनि बाह्य जलप हेरेर सामुन्ने मान्छेको स्तरीयता नाप्नेलाई मजाले स्तरीयता नाप्ने कै स्तरीयतालाई पल्ढ्याङ् खेलाएको छ । इस्त्री लगाको चमकदार धारदार लुगाको अहमतामा तिखारिएकोलाई बौद्धिक कलमले च्वाट्ट छिनाएर ठुटे बनाइदिएको छ । र यस्तो अहमताको अश्व सवारीमा दौड लगाए छाँगोबाट खसिने कुरोलाई निबन्ध चौतारोमा बोर्ड टाँसिएको अनुभूतमा रमेँ । पढेर हजुरलाई कस्तो लाग्छ सूचित गर्नु होला ।
सृजन कठिन छः
हुँदैन गुलियो सबै फलमा,
हुँदैन बास्ना सबै फूलमा ।
हो हुँदैन सृजना सबै मान्छेमा । र हुँदैन सृजना बल गरेर । सृजना चाहेर सृजना हुँदैन, सृजना प्रस्फूटन हुन भावनाचाहिँ अवश्य चाहिन्छ । संसार सृजनशील कै सृजनामै घुमिरहेको कुरो भन्दा अनुपयुक्त नहोला । सर्जक अवश्य महान हुन्छन् । सर्जक मरेपनि उसको सृजना बाँचिरहेको हुन्छ । सृजना नहुनुको खाली ठाउँ भर्ने शक्ति हो । विकास, विलासिता, समुन्नति नै सृजना हो । हामी हरेक पाइला कसैको सृजना उपभोग गरिरहेको हुन्छौँ । हरेक पाइला सृजना पढिरहेको हुन्छौँ । प्रत्येक ध्वानिसँग कसैको सृजना नै सम्मिलित पाउँछौँ । तर, धेरै ठाउँमा सृजना भत्केको सुन्छौँ । सृजना भत्काउने कुदृष्टि भित्रबाट सृजना मरेको हुनु पर्छ । नत्र सृजनाको बलिदान नहुनु पर्ने हो ।
यद्यपि इतिहास साक्षी छ वर्तमान सृजना स्थापित गर्न पुराना सृजनाको अन्त्य गर्छन्, एउटा अहम् र स्वार्थी दृष्टिले गर्दा । यो निबन्धले सृजना भत्काएर नयाँ सृजना नगर्नाेस् । बरु छेउमै आफ्नो सृजनामा कला र सुन्दरताको प्राण भर्नाेस् भन्ने अनुनय गरेको छ ।
निर्धूम आनन्दः निबन्धले आशाका आँकुराको बेर्ना सारेको छ । हामी हाम्रो संसार महान प्रकृतिसँग सुखको अनुनय गर्छाैँ । निरर्थक हुन आउँछ, प्रकृतिले नचाहने हो भने हामीले जतिनै उत्साह कमाएपनि । हामी सानोमा मकै भटमास टोक्दै ढिकीमा बसेर बिहानी घामको किरणमा रमाउथ्यौँ । ढाकर बोकेर उकालो टेकानमा तोक्मा माथि भारी टेकाएर खुइया गर्दै आरामको साँस तान्दा तल खोँचबाट रमाउदै आएको सिरेटोले म्वाई खाइदिँदा, जीवन कति यथार्थ लाग्थ्यो । अझै छेउकै फग्रेको गुराँस, पाखाबाट कराइरहेको न्याउली यस्तै के केको अनुभूतले आफू उभिएको ठाउँलाई स्वर्ग भन्थ्यौँ । तर, देउसी खेल्दा मादल बजाउँदै लैबरी नाँच्दानाँच्दै पानी पर्याे भने कति बिमज्जा लाग्छ । त्यसैले हाम्रो कर्मको सुन्दरतामा प्रकृतिको ताली अवश्य पट्कनु पर्छ । प्रकृति सुन्दर नभए, महान हास्य कलाकार जतिनै हसाए पनि हाँस उठ्न सक्दैन ।
समय नै गएको, अहिलेको र भोलिको यात्रा हो । समयलाई सदुपयोग गर्नपर्छ । समय बगिरहन्छ , ऊसँगै चराचर बगिरहेका छन् । यही यात्रामै सामाजिक भित्तामा सुकर्म खोपेर छोड्नु पर्छ, निबन्धले यही चिच्याइरहेको छ ।
मृत्युबोधः
मर्नै छ एकदिन सबैले अहम् नगरे हुन्न यार
अहम् त गरेऊ तर प्रभाव नछोडे हुन्न यार ?
अकाट्य प्रक्रिया हो मृत्यु । धरामा जन्मेका त मर्छन् नै एकदिन । हाम्रो सौर्यमण्डलकै अन्त होला भन्छन् विज्ञहरू । अन्त त अवश्य रहेछ, केवल रहेछ आयुको नाप–तौल । मृत्यु अकाट्य रहेपनि मरेपछि हार्दिक श्रद्धाञ्जली कति फलाउने हो । बिचरा देशले, समाजले होनाहार ब्यक्तित्वको नहुनुको सुस्केरा कति फुत्काउन सकिन्छ । विभिन्न संस्थाको कार्यक्रमको मञ्चको ठूलो ब्यानरमा आफ्नो नाम र तस्बिर अटाउन सक्ने हो, त्यो आफैँले साच्ने विनम्र अनुनय छ निबन्धको ।
पूर्णकालीन विद्यार्थी हुन नपाएको पीडाः प्रेरणादायी निबन्ध । यो निबन्ध अतीतको स्मरणीय आलेख । यो निबन्ध पढेपछि पुण्य सरको अतीतको फाँटको केही भागको अवलोकन गर्नसक्छौँ ल । जीवनलाई जस्तै आपतमा पनि ढल्न नदिई लक्ष्य प्राप्त गर्न सकिन्छ, पुण्य सरको अतीतलाई पछ्यायौँ भने । आतेस भन्दा हिम्मत र दृढताले जीवन स्तर उकास्न सकिन्छ भन्ने प्रेरणा जगाएको छ । दृढ र ताकतवार बन्छ जीवन, निराशालाई छारो हानेर उत्साह भित्र्याउन सकिन्छ निबन्धको मर्म छाम्यौँ भने । मसिना मनोकाँक्षा अपुरो हुनेवित्तिकै लल्याकलुलुक हुने सुस्तता उचाल्न ढुङ्गो झैँ बन्नपर्छ कहिल्यै नपगल्ने जति टुक्य्राए पनि ।
अन्धविश्वासहरूको वीचमाः संस्कार संस्कृति मान्ने समुदायको लागि यो स्वचिनारीको महान पहिचान हो । संस्कार भन्दैमा बिना अर्थ नलाग्ने, उत्ताउलो, भड्किलो र खर्चिलो संस्कारलाई छोड्ने या न्यूनीकरण गर्दा राम्रो हुन्छ । र एउटाको संस्कार संस्कृतिले अर्काे समुदाय माथि अन्याय हुनु हुँदैन भन्ने चेतना पस्केको छ यो निबन्धले । हाम्रो संस्कार संस्कृति अरुको लागि चिलाउने काउछो नबनोस् भन्ने प्रेरणाको छाता ओढाउछ यसले ।
सहानुभूतिको पीडाः साच्चै कुनै सहानुभूतिले पनि कति तिक्तता सम्प्रेषण गर्छ । अभिव्यक्ति सहानुभूति हुन नहुनमा प्रस्तुत–शैलीको ठूलो भूमिका रहन्छ । एकजना मित्रले भन्नु भयो, “फलनाको घरमा गाको खान्न भन्दा पनि फ्रुटी ख्वाएर घाँटीको टन्सिल बल्झाइदियो । विचराले सम्मान गरेको, त्यो सम्मानले मलाई रोग दियो ।”
अब उहाँलाई के भन्ने ? यस्ता सम्मानित बोली र व्यवहार दुःखदायी बन्नसक्छ भन्ने हेक्का गर्न सजगता जगाइएको छ यो निबन्धले । तपाईंले बोल्ने शैलीको सिङ उम्रेका त छैन । राम्रै बालेको भन्ने लाग्दा पनि सुन्नेको कन्सिरी तातिन सक्छ ।
ताजा विचारः यो निबन्ध भित्र एउटा नूतनताको उत्साह भरिएको छ । शब्दशब्दमा सृजनाको मोह फुलेको पाइन्छ । ताजा विचार नै आधुनिकता हो । आधुनिकता रहरले खोल्छ प्रगतिका फाँटकहरू । जबजब ताजा विचारको बिजारोपन हुन्छ, अनि फल्छन् परिवर्तनका अनुहारहरू । भोग्न पाइन्छ नवीन पुस्ता प्रतिफलहरू ।
“पुरानै विचारको भारी बोकीरहनु, बासीभात खानु जस्तै हो” निबन्धको आशय । अतः नयाँ चेतनाको पखेटा हालेर कर्मको उडान गरौँ । आफू यथास्थानमा भएपनि ताजा विचारको सुकर्मले उडान लगाइरहेको हुन्छ । नयाँ विचार नै प्रगतिको वेग हो । नयाँ विचार बिना नयाँ कार्यको थालनी गर्न सक्दैनौँ । र सकेसम्म नयाँ विचार गमेर सुत्ने, नयाँ विचारको उत्साह बोकेर उठ्ने । यसरी निबन्धले हामीलाई झक्झक्याएको छ ।
मृत्युका प्रतीकहरूः मृत्यु शब्द जति भयवह छ त्यतिनै अकाट्य छ । नचाँहदा नचाँहदै मृत्युको कोलमा चेपिनै पर्छ जति पीडादायी भएपनि । मृत्यु साँच्चै कठोर र निर्मम हुन्छ । उसले कसैको विन्ती र अनुनय सुन्छ न कसैलाई माफी नै दिन्छ । हिन्दू धर्मशास्त्रमा भने झैँ मृत्यु (काल) ले एक्लै आक्रमण गरेर लान सक्दैन । उसले टिप्न अगाडि कुनै न कुनै निहुँले लतारेको, पछारेको, थकाको हुनु पर्छ । मृत्युु केवल फूललाई भेट्नुबाट अलग पार्न मात्र पुग्छ । मानौँ मृत्यु प्रतीक मात्रै हो ।
निबन्धले प्रतीक कै रूपमा मृत्युुमै हराउने यो जिन्दगीलाई भ्रष्टाचारी, शोषकी, अपराधी, मतलबी जस्ता कुकृत्य छोडेर मृत्युको आहार नहऔँ भन्ने आँट गरेको छ । एकातिर सोच्ने हो भने मृत्यु सृजना हो । कुनै पनि व्यवस्थाको मृत्युपछि नयाँको आगमन हुन्छ । जबसम्म रुखबाट फल खस्दैन, खस्दैनन् पातहरू, नयाँ मुजुरा, टुसा फुट्न पुराना पातको बिदाई हुनैपर्छ । जानु नै आउनु हो उद्घोष हो निबन्ध ।
प्रौढताः एक अनुभूतिः निबन्धमा रूपले राम्रो भएर हुँदैन, सबैभन्दा व्यवहारले मान्छेको सुन्दरता र उचाइ बढाउँछ भन्ने कुरोको तहकिकात भएको छ । सबैको राम्रो मान्छेको उपमा पाउन आफ्नै चरित्रको कपर्छान गर्ने पर्छ । र धेरै मान्छेको राम्रो बन्ने सौभाग्य हात पार्न त्यागी र छलविहीन यात्रा तय गर्न पर्छ । यो निबन्ध भित्र हामीले भोगेका र देखाएका व्यवहारहरूबाट नै परिपक्वताको कसी दल्न सकिन्छ । उमेरले छिप्पिएको मान्छेमात्र परिपक्व नहुने रहेछ । छिप्पिनु भनेको कर्म, चेतना, व्यवहारपनि छिप्याउनु पर्छ भन्ने प्रेरणा बाँड्न सफल छ निबन्ध ।
निबन्धले देखाएको मार्ग अनुसरण गरियो भने हामी पनि समाज भित्र राम्रो र प्रौढ मान्छे बन्न सक्छौँ ।
सुल्टो मरणः अति मार्मिक निबन्ध । उल्टो मरण प्राणी जगत्मा अति नै असह्य मरण रहेछ । यो मरणको अदृश्य वाण, प्रथमतः आमा बाउलाई लाग्छ । क्रमशः परिवार र समाजमा लाग्दो रहेछ । हुन त मृत्यु आफैँमा हृदयविदारक हो । यद्यपि मृत्यु अकाट्य क्षण हुँदा यसमा पनि सकभर बाजे भन्दा अगाडि नातिको देहावसानको हामी कल्पना गर्न सक्तैनौँ । मरण अकाट्य र सत्य हुँदाहुँदै मृत्युलाई सुल्टो र उल्टोमा वर्गीकरण गरी पाठकसम्म ल्याइनु पुण्य सरको सचेतनाकै कमाल भन्छु । पाँच जनाले हेरे फुलेको फूललाई, एकजनाले सोच्यो टिपेर मायालुलाई दिन्छु । अर्कोले लगेर टाँढको कुनामा स्थापित पितृलाई चढाउछु । यस्तै अन्तिम मान्छेले सोच्यो फूल लगेर, सुकाएर छर्छु, धेरै उमार्छु, धेरै फुलाउँछु । यसरी अन्तपछि पनि सकारात्मक र नकारात्मकको मुस्कान छ ।
अन्तको उमेर, समय हुदैन । एउटा निहुँ प्रवेश गर्छ टिपेर लान्छ । त्यो कालमा पुरानो छोडेर नयाँ खस्यो भने उल्टो मरण भयो भन्ने गर्दोरहेछौँ ।
कोरोनाकालः सृजनाको स्वर्णिमकालः कोरोनाकालले विश्वलाई नै आर्थिक मन्दीतिर धकेलेर अकल्पनीय पीडामा पारेको कुरा आजसम्म हामी भोगिरहेका छौँ । त्यो अति भयावह कारुणिक कालमा कामसँगै माम खोसियो । सामाजिक भन्ने शब्द झण्डै हरायो । मान्छेसँगै मान्छे (कुनै गल्ती नगरी ) डराको काल पनि त्यही हो । धेरैको भौतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यावहारिक, आत्मिक यात्रा छिने । धेरै भाग्यमानी अभागीमा परिणत भए ।
त्यो कालभरि कुनै मान्छे धेरै भेला हुने कार्य भएन । दिनभरि तास, बाघचाल, लँुडो, चेस खेल्न बानी परेकाको बिजोगै भयो । तर, त्यो भयावह काल भने पुण्य सरको लागि फलदायी भएछ । उहाँ भित्र रहेका अथाह सृजनाको घ्याम्पोको मुख ब्वाङ्गै उघ्रे जस्तै लाग्यो । जहाँ सरका सृजनाका पत्रहरूलाई गन्न मनलागे यो निबन्धले सूत्र बयान गरेको छ । ढिलै भएपनि सरलाई बधाईको भकारी भरेँ ।
आज हाटमाः भोलि घाटमाः जिउँदो छउन्जेल लोभको हिउँदो, मरेपछि हार्दिक श्रद्धाञ्जली, यदि शब्द खर्चने मान्छे राख्नु भएको छ भने । नत्र “खाइस् ।” जिउँदो छउन्जेल लोभको इभी गाडीमा मात्रै यात्रा नगरौँ, सुकर्म पनि कमाऊँ, भोलि ब्यानरमा लेखेर मञ्चको अग्लो ठाउँमा दर्शकमुखारले वाचन गरोस्, भन्ने सुझाव छ निबन्धको ।
खरिजुकाहरूः खरिजुकाहरू निबन्ध भित्र प्राकृतिक उपहारले हामीलाई नकारात्मक प्रभाव पार्ने जीवमा दिएको जुकाहरू । जुका धेरै प्रजातिको रहेको कुरो निबन्धले खोलेको छ । हामी बाटो हिँड्दा खरिजुकाको आक्रमकता देखेर निकै डराउँछौँ । जीउमा टासिएको जुका हातले सजिलै फ्याँक्न नमिल्ने हुनाले थाङ्नामा नुन पोक्याएर सानो झिक्रोमा बोक्थ्यौँ । जीउमा टाँसिएका खरिजुकाहरू नुन सुँगाएपछि झर्थे । जुकामा आँखाले नदेख्ने जुकाले शरीर भित्र पसेर जीवन बिथोल्ने घटनाहरू सोत्रेम्मै छन् । वस्तुको नाँकमा पस्ने पानीजुका, भैंसेजुका, खरिजुका, पाखेजुकाले दुःख दिने भनेको हामी सतही मान्छेलाई नै हो । खरिजुकाको नाममा यो निबन्धले देश चुस्ने लाब्रेजुकाको खोजतलास र हामी जस्ता सतहबाट उठ्न नसक्ने बुर्जुवाहरूका लागि लेखिएको हो ।
कोरोना सङ्क्रमणः एक अनुभूतिः यो निबन्ध भित्र अथाह संक्रामक रोग कोरोनाको प्रहार र एउटा शिक्षित र हिम्मती परिवार भित्र रहेको घटनासँगै पाउलेको छ । यहाँ घरको सबै भन्दा हिम्मती र शिक्षित नानीको प्रमुख भूमिका रहेको छ कोरोना भाइरसलाई पछार्न । यो निबन्ध भित्र आपतको बेला परिवारको सदस्यले कसरी बाह्य आक्रमक शक्तिलाई परास्त गर्न सकिन्छ भन्ने अक्षर दियो चम्केको पाइन्छ भने आशनमा बसेर शासन हाँक्ने शासकलाई पनि समधान चिहाउने प्वाल निर्माण गरेको छ ।
क्षणभङ्गुरताः जीवन के हो ? जीवनको उत्तरदायित्व के के हुन् ? जीवन थालनी, फाटिनु, लक्ष्यमा पुगेर, अर्को लक्ष्यको विधान र कार्ययोजना बनाएर फेरि दौडिनु रहेछ । हुन त जीवनको परिभाषा भोग्नेहरूले नै परिभाषित गर्ने हो । हाम्रो जीवन रूप, रङ्ग र आकारमा भिन्नता रहेजस्तै भोगाइ र अनुभूति फरक रहने गर्छ । एउटा कार्यालयको हाकिम कसैको चिनी हुन्छ, कसैलाई अकबरे खुर्सानी । विपरित गुलियो र पिरो हुनुमा केही अंश आफैँ माथिको प्रश्न–उत्तर हुनसक्छ ।
यो निबन्धले अदृश्य जीवनको अति शैलीगत चरित्रलाई सार्वजनिक गरिएको छ । हामी जीवन लिएर हिँडेका छौँ, त्यो भित्र रहेको आन्तरिक शक्तिको अदर्शनले कुनै जुवाखालमा लगेर च्याँखे थापिरहेको हुन्छौँ, या कुनै खोयाबिर्केको मोहनीमा परेर कर्तव्यबाट चुहिरहेको हुन्छौँ, या कुनै नफल्ने खेतमा थुतुनोलाइ हलो बनाई जोतेर जीवन बोध्याइरहेको हुन्छौँ । साँच्चै जीवनसँगै रहेको तीखो र शक्तिमान टँुडो भाँच्ने अकार्यमा या अरुको षड्यन्त्रमा बुदुनो बनाउने कार्य त भइरहेको छैन ? जीवन प्रथम र अन्तिम उपहार हो प्रकृतिको, यसलाई नानाथरी ख्वाएर, नानाभाँती गराएर लेँडे जीवन नबनाउनोस् भन्ने उर्दी हो यो निबन्ध ।
नयाँ कलेवरमा गुलामीः मान्छे ऊ सक्षम हो जसले भूमिगत विषयलाई उजागर गरेर समाजलाई जागरुक गराउँछ । निबन्धले भने झैँ हामी अझै शोषित छौँ । केवल परिभाषा र हालत परिमार्जित छन् । उहिले जस्तो कुनै मुखियाले झैँ छप्के ब्याज, महिनावारी ब्याज, ठेकी कोसेली, ठेकी भेटी, धाने ब्याज, श्रम ब्याज लिएर ऋणदिने चलन छोपिए पनि अब ठूलाठूला कम्पनीले विश्वमै लगानी गरेर एकप्रकारले शोषण गरिरहेको छन् । त्यो जमनामा ऋण साहुले दिन्थे, अहिले घर जग्गा धितो राखेर बैंक र सहकारी संस्थाहरूले ऋण लगानी गर्छन् । पाठक नै सोच्नु होला त्यो के हो ?
पाकेको इँटाः विम्बात्मक शीर्षक र त्यो भित्र रहेको सकरात्मक गुदीहरू । जति खोतलेर खायो उति मीठो । खाइसकेपछि सन्तुष्टिको डकार । जस्ले मुला सम्झ्यो– ड्याङ्गबाट उखलियो सकियो । तर, उखलिएपछि, सिन्की अचार मात्रै होइन जन्मथलो छोडेपछि सुरु भयो मुलाको महत्व । बजारको सुन्दर सब्जीमण्डी, त्यहाँबाट असली मुलाको हैसियत किटान भएर सुन्दर झोलामा भित्र पस्छ । सुन्दर गाडीमा बसेर सुन्दर घरको पाककोठा, त्यो भित्रको महङ्गो फिरिज । अनि सलाद खाएर डाक्टर साहेबको सन्तुष्टि । डाक्टरका परिवारका शरीरमा दिएको सकारात्मक उपलब्धि ।
ठीक जसले बिकामे, अबुझ, नसोच्ने, असामाजिक, हट्ठी, निर्दयी आदि उपनाम पाएको मान्छे त पाकेको इँटा जस्तो शक्तिशाली मान्छे हो भन्ने कुरोलाई, गुरुले प्रमाणित गरेपछि सोचौँ भावुक भएर भावनामा बगिरहनु होइन । रात सकिएपछि बिहानै डुङ्गा भएर यात्रीलाई कोशी तार्नु पर्छ । निकै तार्किक निबन्ध ।
आत्माघातको तुलिकामा मृत्युको रङः यो सांसारिक तुलिका माथि कसैले कसरी मृत्युको हस्ताक्षर गरेर समाज र परिवारलाई छोडेर जाँदो रहेछन् । निबन्ध पढ्दै गर्दा करुणाको कुरमा हात हाल्न पुगेँ । मैले सुनेको मानसिक पूर्णता नभएका पात्र–पात्राहरू आफैँले मृत्युको शैयामा पु¥याउछन् । तर, जीवनको अन्तिम क्षण रोज्नेहरूमा शिक्षित र पथप्रदर्शक पनि छन् । घोत्लिन्छु किन त्यो समय रोज्न बाध्य हुन्छन् ? प्रश्न अनुत्तरित रहेर मथिङ्गलामा डुबुल्की मारिरहन्छ । कारण जो अन्त भयो भन्ने नै रहँदैन । जो त्यो बाटो रोज्दै गर्दा उद्धारकर्ताले भेटेर बाँच्न सफल हुनेले पनि खोल्दैनन् कारण ।
त्यस्तो नहुनु पर्ने हुन्छ । उप्रान्त स्वैच्छिक मृत्यु शीर्षकमा हार्दिक श्रद्धाञ्जली लेख्न नपरोस् । भनाँै पुण्य सरको निबन्धले भने झैँ उल्टो मृत्युलाई मात्र सकभर श्रद्धा शब्दसुमन लेख्न सकभर नपरोस् ।
निष्कर्षः कवि, कथाकार हुँदै सशक्त निबन्धकारको झण्डा बोकेर हिँड्दै गर्नु हुने पुण्य कार्की सरको यो क्रम सङ्ख्यामा जराको शक्ति छैटौँ हो । कविको छैठौँ इन्द्रिय (२०६०), एउटा हर्कुलसको खोजी (२०६३), रातको सुन्दरता (२०६९), जाग्रत आँखाहरू (२०७३), बङ्लङ बङ्लङ (२०७६) जस्ता उत्कृष्ट निबन्ध सङ्ग्रहहरू नेपाली निबन्ध फाँटमा चितुवाले झैँ दौड लगाई रहँदा अझै उच्चता बोकेर चितुवा निबन्ध जराको शक्ति (२०८२) तपाईं हाम्रो हातमा आइसकेको छ । हात प¥या छैन भने खोजेर एकपल्ट जराको शक्तिलाई नूतनरूपले बुझ्न अनुनय गरेँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।