नवीनतम् नियात्रासङ्ग्रह ‘लन्डिनियम’का साथ पाठकसामु उपस्थित भएका सर्जक कृष्ण बजगाईंको परिचय दिइरहनुपर्दैन। लामो समयदेखि डायस्पोरिक जीवन व्यतीत गरिरहेका उनको छैटौँ नियात्रासङ्ग्रह हो - ‘लन्डिनियम’।
लगभग दुई हजार वर्षअघिदेखि रोमन साम्राज्यको अधीनस्थ बेलायतमा राजधानीको रूपमा स्थापित ‘लन्डिनियम’ नै आजको आधुनिक लन्डन सहर हो। त्यस प्राचीन सहरको खोजयात्राबाट पाइला चालेका नियात्राकार कृष्ण बजगाईंले बेलायतका ऐतिहासिक स्थल, जर्मनीका सांस्कृतिक केन्द्र र नेदरल्यान्डका रमणीय सहरहरू घुमेका छन्। उनी गएका प्रत्येक ठाउँको इतिहास, कला, संस्कृति, सभ्यता र आधुनिक जीवनशैलीका रहस्यहरूलाई तथ्यपरक र ज्ञानवर्द्धक ढङ्गले प्रस्तुत गरेका छन्। ‘लन्डिनियम’ तिनै यात्राको जीवित दस्तावेज हो, जसमा पाठकले हरेक पृष्ठमा इतिहास र वर्तमानको संवाद महसुस गर्न सक्छन्।
पानीमाथि तैरिएका हाउसबोटहरू, लिटल भेनिसको शान्त नहर, हाउसबोटमा बसेर बियर र वाइनको घुँट चुस्की लगाउँदै गरेका मानिसको सहजताका तमाम दृश्य दृश्य मात्र होइनन्, ती लेखकको आत्माले देखेका अनुभवका रूपक हुन्। लेखकले पानीको सतहमा तैरिरहेको जीवन, नहरको शान्त बहाब र हाउसबोटका साना–छोटा विवरणमार्फत पाठकको चेतनामा तरङ्ग उत्पन्न गर्छन्।
पोएट्री फार्मेसीमा उपस्थित हुनुले पाठकलाई काव्यात्मक आनन्द मात्र दिन्छ भन्ने होइन, यो एउटा बौद्धिक र मानसिक यात्राको प्रवेशद्वार हो। लन्डनका गल्लीमा पाइला टेकेर लेखकले कविता र इतिहासलाई एकसाथ बुनेका छन्। पब र क्याफेहरू, जहाँ मार्क्स र एंगेल्सले आफ्ना क्रान्तिकारी योजना बनाएका थिए, ती स्थल मात्र होइनन्, विचारकाकेन्द्र हुन्। नियात्रामार्फत लेखकले इतिहास, विचार र जीवनको अन्तरसम्बन्ध बुझ्न सहज बनाइदिएका छन्। माक्र्सवादी चिन्तकको जीवन र विचारको प्रतिबिम्बले पाठकको मनमा गहिरो छाप छोड्छ।
लन्डनका पुराना घर र साँघुरा गल्लीहरूमा हिँड्दा लेखकले केवल ढुङ्गा र इँटाको संरचना मात्र हेरेका छैनन्। उनले त्यहाँ बाँचिरहेका जीवनका संवेदनाहरूलाई पनि आफ्नो दृष्टिमा समेटेका छन्। सहरको चराको गीत सुनिनुभन्दा गाडीको लगातार हल्ला र मानिसहरूको गुनगुनाहटमा लुकेका जीवनका कथाहरू सुनिन्छन्।
हरेक सुरका ढुङ्गामा, हरेक झ्यालको पर्दामा, हरेक गल्लीको मोडमा इतिहास र वर्तमानको सुस्पष्ट मिश्रण भेट्छन्। ब्राउनिङ स्ट्रिटमा रोबर्ट ब्राउनिङको कविता वाचन गर्दा लेखकको मन समयको धारा र भावनाको सङ्गममा डुब्छ। डिकेन्स स्क्वायरमा चाल्र्स डिकेन्सको स्मृतिले दृश्य र इतिहासलाई एकअर्कामा जोडेर पाठकलाई समय र स्थानको जालोमा बाँध्छ।
नियात्राकारले केवल दृश्यको सतही वर्णन मात्र गरेका छैनन्, उनले पाठकलाई ती गल्लीहरूमा हिँडिरहेको अनुभव गराउँछन्, हरेक कदमसँगै ऐतिहासिक गन्ध, साहित्यिक गहिराइ र मानव संवेदनाको धड्कन महसुस गराउँछन्।
यसरी पाठकले समय, इतिहास र जीवनका छाँयाहरूलाई एउटै दृष्टिकोणबाट हेर्ने अवसर पाउँछन्। यहाँ सडकको हलचल र पुराना घरहरूको मौनता, आधुनिक जीवन र प्राचीन स्मृतिको मिलन एक भावनात्मक रूपकको रूपमा उपस्थित हुन्छ, जसले लन्डनको आत्मा मात्र होइन, पाठकको मनको गहिराइसम्म स्पर्श गर्छ।
बेलायतको बाथ सहरको नियात्रामा मध्यकालीन सौन्दर्य र आधुनिक जीवनशैलीको अनुपम मिश्रण प्रस्तुत गर्छन्। सडकका दुवै छेउमा उभिएका रेस्टुरेन्ट, सार्वजनिक भवन, थिएटर र सपिङ सेन्टरले शहरको जीवन्तता र सिर्जनात्मकतालाई उजागर गर्छन्।
वर्षभरि हुने विविध साङ्गीतिक कार्यक्रम, सडकमा घुमिरहेका मानिस र व्यस्त बजारको हलचलले पाठकलाई बाथ शहरको गतिशीलता महसुस गराउँछन्। नियात्राकारको दृष्टिमा त्यहाँको हावा मात्र होइन, समय आफैं गुनगुनाइरहेको छ, पुराना भवन र ढुङ्गाका बाटाहरूले प्राचीन गाथा सुनाइरहेका छन्, चर्च र संरचनाहरूले इतिहासका कथा बुनिरहेका छन्।
नेदरल्यान्डसमा अवस्थित भान गोग म्युजियमको यात्रामा प्रेम जीवनबारे लेखकले अत्यन्तै संवेदनशील दृष्टिकोण देखाएका छन्। असफल प्रेमका कथाहरू मात्र होइन, ती सम्बन्धहरूबाट उत्पन्न भावनाहरू, विगतका स्मृतिहरू र कलाकारको अन्तर्मनका उतार–चढावहरूले पाठकको मनमा गहिरो छाप छोड्छन्।
भान गोगको अधुरो प्रेम, उनका पत्रमा झल्किएका असमर्थता र मनका पीडाहरू, उनका एकान्त र निराश भावनाहरू - यी सबै लेखकले यथार्थपरक र सजीव ढंगले उतारेका छन्। कलाकारको दृष्टिकोण, प्रेमको संवेदनशीलता र जीवनसँगको गहिरो लगाव पाठकलाई लेखकको अनुभूतिको केन्द्रविन्दुमा पुर्याउँछ। अधुरो प्रेम र असफलताका पीडाले भान गोगलाई मात्र होइन, पाठकको हृदयलाई पनि छोएको महसुस हुन्छ।
जर्मनीको हाम्बर्गमा बिटल्सलाई खोज्ने नियात्रामा, जलयात्रामा जहाजलाई दिइएको सम्मानको दृश्य, र सार्वजनिक बसमा स्थापित पुस्तकालय केवल साधारण विवरण मात्र होइनन् यी सबै संस्कृति, इतिहास, र जीवनका शिक्षाका प्रतीकका रुपमा प्रस्तुत गरेका छन्। हरेक अनुभवले पाठकलाई बौद्धिक, सांस्कृतिक र संवेदनात्मक संसारसँग जोड्छ।
बौद्धिकता र संवेदनशीलता कसरी एकअर्कामा मिलेर जीवनको अनुभवलाई समृद्ध बनाउँछन् भन्ने कुरा लेखकले प्रभावकारी रूपमा देखाएका छन्। लेखकको दृष्टि पाठकलाई केवल दृश्यको व्याख्या गर्न सीमित छैन, उनी अनुभवको भित्री अर्थसम्म पुर्याउँछन्। हरेक दृश्यमा पाठकले मानव सभ्यता, सिर्जनशीलता र संवेदनशीलताको गहिराइ महसुस गर्न सक्छन्।हाम्बर्गका अनुभवहरू नियात्राको विवरण मात्र होइनन्, ती जीवनको सजीव पाठ र मूल्यहरूको प्रतिध्वनि हुन्।
‘लन्डिनियम’ का प्रत्येक नियात्रा रचना पाठकलाई भावनात्मक रूपमा आत्मसात गराउँछ। पानीमाथि तैरिएका हाउसबोटहरू, लिटल भेनिसका दृश्य, पोएट्री फार्मेसीको अनुभव, मार्क्सका पाइला दृश्य होइनन्, ती पाठकको हृदयमा प्रतिध्वनि गर्ने साहित्यिक रूपक हुन्।
लेखकले दृश्य र विचारलाई मिसाएर यस्तो यात्रा सिर्जना गरेका छन्, जसले पाठकलाई भौतिक र मानसिक दुनियामा एकसाथ अनुभव गराउँछ। लेखकले दृश्य, इतिहास, प्रेम, असफलता, सांस्कृतिक शिक्षा र संवेदनालाई एकसाथ बुनेका छन्। प्रत्येक रचना पाठकलाई केवल अवलोकनकर्ता मात्र होइन, अनुभवकर्ता बनाउँछ। पानीमाथि तैरिएका शब्द, पोएट्री फार्मेसी, लिटल भेनिस, कार्ल माक्र्सका पाइला जस्ता यात्रा अनुभव पाठकको आत्मामा घुल्छन्।
लेखकको भाषा कहिले हलुका छालझैं बग्छ, कहिले गहिरो तरङ्गझैं हृदयमा टक्कर दिन्छ। यो प्रवाह शब्दहरूको मात्र नभई भावना, संवेदना र अनुभवहरूको धारा हो। यसले पाठकको हृदयमा स्थायी छाप छोड्छ। ‘लन्डिनियम’ केवल पढ्नका लागि होइन, अनुभव गर्नका लागि लेखिएको कृति हो। यहाँ कविता र गद्यको अनुपम मिश्रण छ, जसले आत्मा र संवेदनाको प्रतिबिम्बलाई उजागर गर्छ।
लेखकले दृश्य र विचारलाई एकअर्कामा निहित गरी एक सुन्दर सङ्गम सिर्जना गरेका छन्, जहाँ प्रत्येक पृष्ठले पाठकलाई समय र स्थानको सीमालाई भुलाइदिने क्षमता राख्छ। लन्डनका गल्ली, बाथ र हाम्बर्गका सडकहरू, भान गोगका अधुरो प्रेमका कथाहरू, बिटल्सको संगीत खोज्ने यात्रा- यी सबै अनुभव केवल बाह्य दृश्य होइनन्, ती जीवनका भावनात्मक तरङ्ग, सांस्कृतिक गहिराइ र बौद्धिक संवेदनाका सजीव अनुभव हुन्।
हरेक नियात्रा रचना भावनात्मक, साहित्यिक, र ऐतिहासिक दृष्टिले समृद्ध छ। यस सङ्ग्रहमा निहीत रचनाहरूले पाठकलाई केवल अवलोकनकर्ता बनाउँदैन, अनुभवकर्ता बनाउँछ। लेखकले दृश्य, इतिहास, संस्कृति, र संवेदनालाई रूपक र अलङ्कारमा परिणत गरी पाठकको हृदयमा अङ्कित गरेका छन्।
लेखकको शिल्प र शैली यस्तो छ कि प्रत्येक पंक्ति, प्रत्येक वाक्यले पाठकको मनमा चित्रको रूपमा अंकित हुन्छ। लेखकले दृश्य, संवेदना, र विचारलाई मिश्रित गर्दै साहित्यिक अनुभवको अमूर्त संसार सिर्जना गरेका छन्। ‘लन्डिनियम’ले पाठकलाई नेपाली नियात्रा साहित्यको नयाँ आयाममा पुर्याउँछ। पाठकले यो नियात्रा सङ्ग्रह पढिरहँदा लेखकसँगै हिडिरहेको अनुभव गर्छन्।