यतिखेर म कथाकार टङ्कबहादुर आलेमगरको लोक–आधुनिक कथासङ्ग्रह ‘अछेता’ का पानाहरू पल्टाइरहेछु । यस सङ्ग्रहमा आवेष्टित कथाहरूलाई लोक–आधुनिक कथा शास्त्रीय मिमांशाबाट विवेचना गर्न सक्ने उपयुक्त मात्र म हुँदै होइन र मेरो कुरा मेरा आदरणीय कथाकार दाजुलाई प्रष्टपनि पारेको हुँ । अपितु उहाँको अपार स्नेहले मबाटै दुई अक्षर लेखिनुपर्छ भन्ने चर्को तथा प्रेमिल आग्रह भएबाट कनिकुथी केही लेख्ने जमर्को गरिरहेको छु ।
कथाकार आले र म एउटै खोल्सीको पानी पिएर एउटै परिवेशमा मडारिने हावाको सुगन्ध लिएर र एउटै माटोको अन्न रसमा जीवित र परिपोषित पात्र हौँ । उहाँको कथाकरिताको विराट चित्र मथिङ्गलमा मडारिने बित्तिकै म भावनाको बहकाउमा पर्ने गर्छु । अर्थात् निष्पक्ष समालोचकीय चेतबाट उहाँको प्रतिभालाई म न्याय दिन कदापि सक्तिन । कारण उहाँका स्नेह र आत्मीयताका अनन्त तारहरू मेरो मुटुसित जोडिएका छन् । एउटै माटोपानीका उपज हामी, उही लिम्चुडबुडका धर्तीपुत्र हामीमा अनेकौं समीपताहरू छन् । हामीबीच दुःख, दर्द, बह, वेदना र जीवन सङ्घर्षको मात्र समान साम्यता रहेन कि अनुभूतिमा उही समीपता, उद्देश्यमा उही समीपता र जीवन दृष्टिमा उही समीपताले एउटै रूखको पातजस्ता भएका छौं दाजु र म । जसको कारण यो लेखौट भावनात्मक तरङ्गको एक धड्कन सिवायभन्दा बढी केही होइन ।
कृतिगत रूपमा यो कथा सङ्ग्रह उहाँको तेस्रो सङ्ग्रह हो । कालो चायाँ, लाग्छ आकाश खस्दैछ, अछेता, र मगर भाषाको मोए स्याहा, प्रकाशनबाटै उहाँको ओजस्वी कथाकार व्यक्तित्व अनावरित भएको कुरामा दुईमत छैन । चौथो सङ्ग्रहमा आइपुग्दा उहाँ आख्यान सिर्जनको शिखरतिर आरोहण गरिरहेको आभास हुन्छ । निरन्तर ऊध्र्वगमनतिरै लेखन पाइला उचाल्लिइरहेका छन् । आज म उहाँका कथा सृजनमा आधुनिक लोककथा अछेतालाई बुझ्ने प्रयास गरिरहेको छु । यो सङ्ग्रह भित्र अतीत गाथाहरूको सपाट वर्णन मात्र छैन, वर्तमान नेपाली ग्रामीण समाजको मनोविज्ञान, मनोदशा र नीतिचेतना पनि साथसाथै लाम लागेर आएको छ । हाम्रो समाज, संस्कृति, परम्परा, अन्धविश्वास, आदिम चेतनाका आदिम मूल्यहरू जीवन्त बनेर आएका छन् । उहाँले कथामा वर्णन गरेका कतिपय सन्दर्भहरू अवास्तविक लाग्न सक्छन् । अयथार्थको डीलमा उभिएका हुन सक्छन् तर पनि त्यहाँ जीवनका सूक्ष्म झिल्काहरू खरानीमा आगोका झिल्का लुकेजस्तो यत्रतत्र लुकिरहेको पाउँछु म । लुत्ज रोहरिचले भनेझैँ ‘लोककथामा मूलभूत सत्यको अनुभूति अवश्य गर्न सकिन्छ । लोककथा अवास्तविक हुन्छन् तर असत्य भने कदापि हुन सक्तैनन् । यिनले मानवीय अस्तित्वको विशिष्ट विकास र अवस्थालाई प्रतिविम्बन गर्दछन् ।’
आलेका कतिपय कथा सन्दर्भहरू पनि अवास्तविक जस्तो अवश्य लाग्छ तर हाम्रा बाजे बराजुका पालादेखि भनिंदै सुनिंदै आएका यी कथाको कलात्मक पाटो हेर्दा पूर्वजको अपूर्व कल्पना शक्ति सृजनशीलता र कथातत्व अन्वितिको चमत्कारपूर्ण शैली अनि बुद्धिको ताछिल्यतालाई हृदयबाट नमन गर्नैपर्छ । हाम्रा बाजेबराजुले हस्तान्तरण गर्दै आएको त्यस नासोलाई कथाकार आलेले नवीन बान्कीमा पुनर्कथन र पुनसिर्जन गरेका मात्र हुन् । श्रुति परम्पराबाट लोप विलोपको सङ्घारमा पुगेको नेपाली ग्रामीण समाजको आख्यान पुञ्जलाई लिपिबद्ध गरेर ठूलो गुन लगाउनुभएको छ ।
विश्व लोककथाका महापण्डित स्टीथ थम्पसनले समग्र लोककथाको भण्डारलाई पाँच भागमा वर्गीकरण गरे— (१) परम्परागत कथाहरू (Tradions) (२) परिकथाहरू (Fairy tales) (३) पशुकथाहरू (Animal Tales) र (४) नीति कथाहरू (Fables) (५) पौराणिक कथाहरू (Myths) । थम्पसनको वर्गीकरणका सबै खालका कथा हाम्रो समाजमा प्रचुरमात्रा विन्यस्त रहेको प्रमाण यस सङ्ग्रहमा सङ्ग्रहित कथाले दिन्छन् ।
अछेता, झुटो प्रेतात्मा, खेत रोपाई गर्ने खराने भूत, कुटाई खाँदा रमाउने बाबाजु, लट्टे बिजुवा, लेदेनको कथा, फुल्याङ्गै फुलेकी हाम्री आमा, मानव लीला, मान्छे खाने दिदी, मिनासिकाको मान्छे खाने ढुङ्गो, पुनसको तमसुक, सुनको मुरली फल्ने रूख, माछी बजै, जे माग्यो त्यही दिने चकमक, कुकुर कन्या शीर्षकका पन्ध्र कथाहरू थम्पसनको वर्गीकरण अनुसार कुनै परम्परागत कथाभित्र पर्दछन्, कुनै परिकथाको बान्कीमा संरचित छन् भने कुनै पशुकथाको कोटिमा संरचित छन् । अनि केही कथा पौराणिक कथाको रूपमा आएका छन् भने केही कथा नीति कथाको रूपमा पनि प्रकट भएका छन् ।
सङ्ग्रहकै प्रतिनिधि कथा ‘अछेता’ जसको नामले सङ्ग्रहको नामकरण भएको छ । यो उदयपुर जिल्लाको वेलकातरीको प्राचीन कथा हो । बेलका राजाको राजधानी बेलकातरीमा अहिले पनि पुरातात्विक महत्वका वस्तुहरू अवशेषको रूपमा कायम छन् र यससितै गाँसिएको लोक आख्यान पनि उदयपुरबासीको कानकानमा गुञ्जिरहेको छ । खान लाउनको अभावमा तड्पिएका दुःखी गरिबलाई निब्र्याजी अन्नपैसा ऋण दिने बेलकातरीको महादानी चरित्रको आख्यानसूत्रमा यो कथा रचिएको छ तर कालान्तरमा मान्छे इमान–जमान गुमाएर बेइमान हुँदै गएपछि पराशक्तिले काम गर्न छोडेको सन्दर्भ औधी घत लाग्दो छ ।
आख्यान शिल्पी आले प्रतीकमा बोल्छन् । नाक, कान, छाती, हात, खुट्टा, कोरली खाएको कुराबाट नाक, कानको टीको, मुन्द्रो, कल्ली, चुरा, गलहरी, तिलहरीसमेत अनिकालमा मासेको अर्थ झिक्छन् ।
‘झुटो प्रेतात्मांमा’ उदयपुर खोटाङ, भोजपुर, ओखलढुङ्गाका गाउँमा थानी देवता मान्ने प्रचलन कसरी रहेको हो ? त्यसको कइरन कहन्छन् र कथाभित्रको गुमनाम अदृश्य वास्तविक पाटोलाई उजागर गरिदिन्छन् । ‘खेत रोपाइँ गर्ने खराने भूत’ को कथा पनि उहिल्यै देखि सुनिंदै आएको प्रचालित लोकाख्यान हो, यसको पुनर्कथन पनि असाध्य मार्मिक ढङ्गले गरिएको छ । ‘कुटाइ खाँदा रमाउने वावाजु’ले मानिसको विकास र उन्नतिको लागि उसलाई चुनौती दिनुपर्छ । उसलाई समस्या दिनुपर्छ । पीडा र उफानले मान्छेलाई सङघर्षशील बनाउँछ । उसको व्यक्तित्वमा निखार ल्याउँछ भन्ने कुरालाई स्पष्ट गरेको छ । ‘लट्टे विजुवा’मा दुईजना धामीहरूको तन्त्रशक्तिको प्रतिस्पर्धा समेटिएको छ । जसमा किरात भूमिका तान्त्रिक लट्टे बिजुवाको तन्त्रशक्ति मन्त्रशक्तिको विजय गाथा वर्णन गरिएको छ । ‘लेढेन’को कथाले गाउँखाने कथाको माध्यमबाट बनझाँक्री र झँक्रिनीको तिलस्मी वर्णनलाई केन्द्रबिन्दु बनाएको छ ।
‘फुल्याङ्गै फुलेकी हाम्री आमा’ कथा उदयपुरकै मगरबस्तीको मगरात साहित्यको लोक कथा हो । यसमा जन्मदै केश फुलेकी मगर्नी आमैको गाथा वर्णन गरिएको छ । आफ्नो जातिलाई आफ्ना शाखा सन्तानलाई सर्वाङ्गीण उन्नति र प्रगतिको शिखर पुग्न कस्ता कस्ता शिक्षाका सूत्रहरू चाहिन्छन्, त्यो कुरा यग कथाले ओकल्छ ।
‘मानव लीला’ अति गहन संवेदनाले ओतप्रोत कथा हो । सारा पशुप्राणी किटपतङ्ग, जन्तु जनावरका पीडा, वेदना, क्रन्दन तड्पन र शोषणको रूपलाई कलात्मक रूपमा वणर्न गरिएको छ । ‘मान्छे खाने दिदी’मा दिदीबहिनीको भयप्रद कथाको वर्णन छ भने मिनासिकाको मान्छे खाने ढुङ्गों’मा उदयपुरकै जाँते खलङ्गा हाल लिम्चुङबुङको ढुङ्गासँग गाँसिएको आख्यान र तन्त्रशक्तिको अनि प्रेमिल चखेवा जोडीको कारूणिक कथाको वर्णन छ । ‘पुनसको तमसुक’ कथा लोककथाको शैलीबाट सुरु भएर विगतका राजामहाराजाको दुर्दान्त स्थिति वर्णन गर्न केन्द्रित छ । राजामहाराजको अन्तिम हबिगत कस्तो हुन्छ ? भन्ने कुरा गणतन्त्रको सिँढी उक्लेका नेपाली जनताले नाङ्गो आँखाले देखिसकेका छन् । यो कथा अलिकति तिनै राजामहाराजाको कथा पनि हो र आरम्भका पापकर्म उत्तरार्धमा कसरी दुःख बनेर आउँछन् भन्ने यथार्थलाई पनि कलात्मक रूपमा प्रकट गरिएको छ । ‘सुनको मुरली फल्ने रूख कथा बिरालो र हुच्चिलको कथा हो । मानवेतर प्राणीलाई पात्र वरण गरिए पनि मानवीय जीवनकै यथार्थहरूलाई साङ्केतिक रूपमा प्रकट गरिएको छ र जीवन बाँच्नको निम्ति शत्रुसँग कस्तो किमिसको चातुर्यता जरुरी छ, त्यसको खुलासा गरिएको छ । यसैगरी ‘माछी बजै’मा माछो, हाँस र बाजलाई पात्र बनाएर मान्छेकै पापकर्मको आखिरी परिणति कस्तो हुन्छ देखाइएको छ । मानवीय संवेदनाको सिमान्त गहिराइमा डुबेर लेखिएको यस कथाले जीवित अवस्थामै सन्मार्गको खोजी तर्फ मानवजातिलाई उद्वेलित गराएको छ ।
यी सबै कथाहरूको समग्र भौगोलिक आधार ठम्याउँदा उदयपुर जिल्ला र यस आसपासको भूगोलमा अडिन र जोडिन पुग्छौं । यस भेगमा परापूर्व कालदेखि भनिंदै सुनिंदै आएका लोककथाको जराजीर्ण कङ्काललाई आधुनिक कथातत्वका नवीन कलेवर र शैलीको मांशलेपन गरी यो सङ्ग्रह हामी सामु आएको छ । यी कथाका बीजसूत्र आजका होइनन् । हाम्रा बाजे, बराजु, जीबा, कुप्राबा र च्याप्जुको पालासम्म पुग्नु पर्ने हुन्छ । मलाई लाग्छ यी कतिपय कथाहरू अक्षर र लिपिको अविष्कार हुनु अघि बुनिएका हुन् । कागज र मसीको आविष्कार हुनु अघिदेखि सुनाउन थालिएको हो ।
कथ्य भाषामा रहेका लोककथालाई आलङ्कारिक भाषामा स्थानीय रङ समेत घोलेर लिपिमा उतार्नु भयो, यो चानचुने काम होइन । उहाँले एक जोखिम मोल्नुभएको छ, शब्दहरूको पुनरूत्थान र पुर्नउत्पादन गर्नुभएको छ । हराइसकेका, लोप भइसकेका र मानव समाजको विस्मृतिमा पुरिन लागेका अनेकन शब्दहरूलाई लोककथाको माध्यमबाट प्राणप्रतिष्ठा गर्नुभएको छ । खुट्टे, दाम्ली, घुयँंत्रो, खौंगी, सिकुवा, तिरन, आँइचो, माखामुन्द्रो, फाक्चा, धोसीबार, किनिमा, जोखाना, भाङबुजो, सुनघोगा, झुरूम्वी, निदुली, हुरिया, खिसा, थैली, बास्सा, झुलो, चकमक झिर, पेरूङ्गो, बिजुवा, खाङ्ग्रा, खल्ला, सापी, खुशे, लिम्डे, चुंथो, हर्पे, गरियो, दूधेरो, टोलुङ, खर्पन, थुन्चे, ढाकर, ढोक्से, मान्द्रो, पेरूङ्गो, तोस्रो, बटनेउटो, हतासो, मानी, साँमी, ओख्ली, मुस्ली, चर्खा, पैटा, चरी, लगना, हरिस, फाली, ठेडी, सोइला, जोतारो, हल्लुड, नेती, सरा, पर्रा, मन्धानी, ढुङ्ग्ी, मुन्द्री गलाहारी, तिलहरी, कम्मरी, हारी, मुन्द्रा हँसुली.. यस्ता अनगिन्ती नेपाली मौलिक शब्दहरूको प्रयोगले यो सङ्ग्रह पृथक कित्तामा उभिएको छ । झर्रा शब्दहरू हाँडीमा मकैका फूल उठेजस्तो गरी उहाँको लेखनीबाट बर्सिने गर्छन् । उहाँले भाषाको जीवन्त सम्पदालाई जोगाउने बचाउने मात्र होइन, झर्रा शब्दलाई पुनर्जीवन दिनुभएको छ । यसैगरी हाम्रो समाजको जातिय तथा सांस्कृतिक विरासत जसमा धामीझाँक्री, जोगी, नेगी, सन्यासी र तन्त्रमन्त्र विज्ञानको परम्परालाई आख्यानीकरण गर्दै कथाको मूल भँगालोमा छिराइदिनु भएको छ । यसले धामीझाँक्रीले प्रयोग गर्ने तन्त्रविज्ञान, मन्त्रविज्ञान र जडीबुटी विज्ञान पनि नेपाली समाजको पूर्खाआर्जित अमूल्य विरासत हो भन्ने कुरा चिनाइदिनुभएको छ ।
लोककथाको आख्यान सूत्र रेखीय ढाँचाबाट अघि बढ्छ अर्थात् आदि, मध्य र अन्तको सिलसिला क्रमिक रूपमा घटित हुन्छ । आदिबाटै सुरु हुन्छ र अन्त्यमा टुङ्गिन्छ तर आधुनिक कथा एकैचोटि मध्यविन्दुबाट पनि सुरु हुन सक्छ । अन्त्य विन्दुबाट पनि सुरु हुन सक्छ । यस अर्थमा यी कथाको आदि र अन्त्य हेर्दा सुरुमा एकादेशकै शैलीबाट सुरु भएर अन्तिममा भन्नेलाई फूलको माला सुन्नेलाई सुनको मालामा टुङ्गिए पनि भित्रको मूल आख्यान आधुनिक कथाको जस्तै मध्यविन्दु र अन्त्य विन्दुबाट कतैकतै सुरु भएका छन् । आरम्भिक कालमा लोककथाको मूल उद्देश्य मनोरञ्जन प्रदान गर्नु थियो । मनोरञ्जनका सीमित संसाधनहरूको विकास भएको युगमा यो हुनु स्वभाविक पनि थियो तर आज मनोरञ्जनका अनेकन विकल्पहरू सहितको समाजमा छौँ हामी । त्यसैले मनोरञ्जनका साथै एक सार्थक सन्देश सम्प्रेषणका लागि पनि यी कथाहरू बुनिएका छन् । यी कथाहरू सोद्देश्यपूर्वक लिपिबद्ध गरिएका हुन् । एकुन्टा उद्देश्य प्राप्तिका निम्ति सार्थक प्रयत्नबाट पुनर्सिजित भएका छन् । नीतिचेतना र सन्देश । यस लेखौटमा कथाका– शिक्षा सम्प्रेषणमा पनि समग्र कथाहरू सफल छन् । अँध्यारा र दुर्बल पाटाहरू खोतल्नमा मलाई रुचि छैन । त्यो काम आगे आलोचकहरूले गरून् । म अन्तिममा यति मात्र भन्ने धृष्टता राख्छु– जस्तासुकै कथा कथ्न पनि कथाकार आले सिपालु छन् । लाग्छ कथा रच्ने अपूर्व सामथ्र्य लिएर आएका आख्यानकार हुन् ऊनी कालो चायाँदेखि मोए स्याहा सम्म आइपुग्दा हमेशा नवनव शिल्प, शैली र संरचनाको खोजीमा नै उहाँभित्रको कथाकारले ऊध्र्वगमनको यात्रा गरिरहेको छ । अत्यन्त फिनो औपचारिक शिक्षा प्राप्तिको अवसर पाएका कथाकार आलेको सहज प्राकृतिक प्रतिभाले लेखन र कला–सिर्जनमा एकपछि अर्को उन्मेषको टाकुरी चुमिरहेको छ । उहाँबाट नेपाली आख्यान जगत्ले अझ सार्थक, सुन्दर र नवीन कलेवरका कथाहरू पाउन सकून् । कथाकार दाजुलाई मेरो अनन्तकोटि शुभकामना ।
त्रियुगा नगरपालिका—७, उदयपुर