नेपाली साहित्यका विविध विधामा प्रसिद्धि प्राप्त गरेका साहित्यकार श्री विजय चालिसेद्वारा लिखित उपन्यास ‘युगसन्धि”को विवेचना र विश्लेषणका संयन्त्रहरू विभिन्न प्रकारका छन् । उपन्यास शीर्षकको शाब्दिक तथा भावार्थ उद्बोधनका लागि सर्वप्रथम युगसन्धिको अर्थ र परिभाषा पनि बुझ्न वाञ्छनीय देखिन्छ । ं‘युग वा एउटा निर्दिष्ट कालावधि तथा समयको योग, जोड वा संयोजन नै युगसन्धि हो’ भनेर यसको परिभाषा गर्नु अन्यथा हुँदैन । जीवन बाँचेर युग फेर्नका लागि अनेक विषम र जटिलताका बीच सन्धि र सम्झौताको सरोकार रहने निष्कर्ष यहाँ पनि भेटिन्छ । कृति विश्लेषणको आधार तथा पृष्ठभूमिको प्रारम्भविन्दु सृष्टिपछिका मानवसभ्यता र त्यसले प्राप्त गर्दै आएको शिक्षा, चेतना र जागरणका सन्दर्भ पनि यस्तै महत्त्वपूर्ण पाटोका दृष्टान्त बन्दछन् । यस उपन्यासमा उपन्यासकारले कालावधिको योग जोड वा संयोजनमात्र होइन, ज्ञान र विज्ञान, अध्यात्म र भौतिक, आर्य अनार्य, पद सम्मान, वीरत्व पुरुषार्थ, धैर्य मेलमिलाप, द्वन्द्व सहिष्णुता आदिका बीचको सम्झौता वा संयोजनले नै ‘युगसन्धि’को सार्थकतामा सफल उपस्थिति देखाएका छन् । यिनै अध्याय र विषयवस्तुका सेराफेरोमा रहेर कृति विवेचना तथा मूल्याङ्कन गर्नै प्रयास गरिन्छ ।
वेद ज्ञान हो । यो बौद्धिकतासँग सम्बन्धित रहन्छ । बुद्धिपक्ष स्वाभाविक रूपमा क्लिष्ट हुनुको अर्थमा अरुचिपूर्ण हुन्छ । वेद र वैदिक साहित्यको यसप्रकारका दुरूहता हटाउन वेदका चरित्र (ऋषि), घटना, परिघटना तथा मन्त्रहरूले विस्तार आख्यानको स्वरूप लिँदै गएको सन्दर्भ हामीले पाउँछौं । पौराणिक कथावस्तुमा वेदकै सार र अभिव्यक्ति पाइन्छ । त्यसैले भनिन्छ, महाभारत पुराणग्रन्थ आफँैमा एउटा वेद हो, वेदको सरलता र सहसजताकको रूपमा वैदिक मन्त्रलाई आख्यायनीकारणका माध्यमबाट सहज र सरल बनाइएको कारण यस्ता महाभारत, श्रीमद्भागवत्, श्रीस्वस्थानी व्रतकथा, लगायतका पुराणको रचना भएको पाइन्छ । यस उपन्यासमा विजय चालिसेले वेद र वैदिक साहित्यको सहजता र सरलताका लागि यसरी यो ‘युगसन्धि’ उपन्यास रचना गर्नु उनको महत्त्वपूर्ण योगदान सम्झनुपर्दछ । भनौंँ, युगसन्धिले क्लिष्टता र सरलता, दुरूहता र बोधगम्यका बीच पनि सन्धि तथा संयोजन गरिदिएको छ ।
पूर्वीय धरातलमा प्राचीनतम सभ्यता बोकेको र श्रुतिपरम्परामा विकसित हुँदै आएको ऋग्वेदमा अध्यात्म, दर्शन, साहित्य र कलाका मझेरीमा अझ राम्ररी माझिँदै आएको परम्परा पाइन्छ । जीवनदर्शनका पाटो र पङ्क्तिलाई सुरक्षित राखेर ऋग्वेदले जुन भूमिका निर्वाह ग¥यो त्यति नै साहित्यकलाका क्षेत्रमा पनि योगदान पु¥यायो । यसैगरी पश्चिमी जगत्को सभ्यताको केन्द्र ग्रीक र रोममा पनि पहिले सभ्यताले चेत र चेतनाको परम्परामा जागरण ल्यायो । यसैमा साहित्य कलाको आरम्भिक अवस्था होमर, हेसिअड आदि देखापरे । यसपछिका चरणमा हिब्रू बाइबल र क्रिश्चियन धर्मको प्रभाव आयो । पूर्वीय सभ्यताको ऋग्वेद होमरभन्दा निकै शताब्दी जेठो मानिन्छ । त्यसै भएर होला, होमरका ओडेसीका चरित्र ऋग्वेदका पात्र र मन्त्रद्रष्टा ऋषिका प्रसङ्गभन्दा बेग्लिन्छन् । होमर आख्यानात्मक वा मिथकीय बन्दछन् भने ऋग्वेदले मिथकीयभन्दा दर्शनका चिन्तनीय प्रवाह उन्दै आयो । पूर्वीय ऋग्वेदको चिन्तन, चेतनाप्रवाह, अन्वेषण, संयोजन र सहभावना प्रवाह र पश्चिमीजगत्को चेतनाप्रवाह पनि उस्तै देखिन्छन् । पूर्वीय साहित्यिक विकासक्रममा होमरभन्दा वाल्मीकि कान्छाको समकाललाई जोड्दछन् भने पूर्वीय सभ्यताले पश्चिमालाई धेरै पहिले नै उछिनिसकेको आभास हुन्छ । परम्पराले सन्धि खोज्ने प्रक्रिया र क्रम पूर्वीय र पाश्चात्य दुवै क्षेत्रमा उस्तै देखिन्छ । यसप्रकारका जटिलताका गुम्फनमा वैदिक साहित्य पात्र, घटना र परिवेशलाई आख्यानात्मक स्वरूपमा ल्याउन सफल विजय चालिसेको युगसन्धिको पुनरावृत्ति नहुने गरी विवेच्यमान्यताका समीक्षा गरिने छ ।
विजय यसैगरी भनौंँ, चालिसे नेपाली साहित्यमा निरन्तर साधनारत स्रष्टा हुन् । बीसको दशकमा नै कविताका माध्यमबाट साहित्यलेखनमा उनको प्रवेश भएको पाइन्छ । प्रसिद्ध आख्यानकार रमेश विकल र अरू विशिष्ट साहित्यिक व्यक्तित्वहरूका सम्पर्कले विजय चालिसेमा आफू पनि साहित्य सिर्जनामा लाग्ने भावना जागृत भयो । शुरूशुरूतिर सबै झैँ उनी पनि फुटकर सिर्जनामा प्रकाशित हुँदै गए । तत्कालीन समयमा सिर्जनात्मक साहित्य प्रकाशन त्यति सहज थिएन मात्र होइन छँदै थिएन । पिता रमेश विकलका कारण उनलाई सिर्जना प्रकाशनमा त्यति असहज भएन होला । दुई हजार एकतीस सालमा त उनी कृतिकारकै रूपमा समाजसामु उभिए । ‘होटेल राँकीमा हत्या’ शीर्षक उनको पहिलो जासूसी उपन्यास हो । तत्कालीन समयमा नेपालमा हिन्दी÷जासूसी उपन्यासले युवाहरूलाई बढी आकर्षित गर्थे । नेपालीहरूलाई नेपाली उपन्यास पढ्न प्रेरित गर्ने यसको मूल उद्देश्य रहेको देखिन्छ । यथार्थ साहित्यमा भने– ‘अनि कुहिरो फाट्छ’ उपन्यास दुई हजार छत्तीस सालमा प्रकाशित भयो । यसै उपन्यासका साथ उनी नेपाली स्रष्टाहरूका बीचमा यथार्थ कृतिकारका रूपमा उभिए । यसको प्रकाशनपछि उनी कथा, बालसाहित्य, निबन्ध, नियात्रा, जीवनी, संस्मरणात्मकजस्ता कृतिलेखनका सिर्जनामा रमाउन लागे । साहित्यका साथै पत्रकारिता र सांस्कृतिक विषयका कृतिहरू प्रकाशनतिर उनको चाख बढ्दै गएको ऐतिहासिक शृङ्खला पाइन्छ ।
विजय चालिसेले विविध माध्यमबाट साहित्यिक उन्नयनमा महत्त्वपूर्ण योगदान पु¥याएका छन् । यशस्वी साहित्यकार रमेश विकलका नाममा–‘रमेश विकल साहित्य प्रतिष्ठान’को स्थापनामा उनको विशेष योगदान रहेको छ । विभिन्न साहित्यिक सङ्घसंस्थाहरूमा संलग्न रहेर तिनलाई जीवन्त बनाउने कार्यमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । साहित्य संस्थाका पुरस्कार स्थापनामा पुरस्कारका लागि उनले अक्षयकोषसमेत राख्नु अर्थात । सुरभि साहित्य प्रतिष्ठानमा ‘सुरभि विजय वाङ्मय पुरस्कार’ अन्तर्गत उनले सात लाखको अक्षयकोष स्थापना गर्नु आफैमा साहित्यप्रतिको गौरवमय लगाव हो । यसरी उनी आफै उत्प्रेरक भएर पनि साहित्यसेवा गरेका व्यक्तित्व थिए । गोरखापत्र संस्थानमा सेवारत रहँदा उनले धेरैभन्दा धेरै साहित्यकारसँग साक्षात्कार गर्दै उनीहरूका अन्तर्वार्तासमेत लिएका प्रसङ्गबाट पनि यिनै कुरा पुष्टि हुन्छन् । थुप्रै साहित्यिक कृतिहरूमा उनका भूमिका, शुभकामना रहेका र तिनमा उनी द्रष्टा व्यक्तित्वभित्रका स्रष्टाका रूपमा पनि देखिएका छन् । यस क्षेत्रका यी सन्दर्भले उनलाई बहुमुखी प्रतिभा सम्पन्न व्यक्तिका रूपमा उभ्याएको पनि हामी स्पष्ट देख्न सक्छौँ । अनुवाद तथा सम्पादन साहित्यमा पनि उनको उत्तिकै योगदान रहेको छ ।
आजका बालक भविष्यका राष्ट्रका संवाहक हुन् । उनीहरूलाई आदर्श, नैतिकवान् र सुसंस्कृत बनाउन बालसाहित्यको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । विजय चालिसेले साहित्यका विविध विधाका माध्यमबाट बालसाहित्यमा विशेष योगदान पु¥याएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरे, आख्यानहस्ती रमेश विकल, कृष्णप्रसाद पराजुली र शान्तदास मानन्धर आदि बालसाहित्यकारका अग्रज पथमा विजय चालिसेले पनि दरो उपस्थिति जनाउन सक्षम रहेको देखिन्छ ।
विजय चालिसे निबन्धमा आत्मपरक प्रस्तुति गर्दै देशप्रेम, प्रकृतिप्रेम र मानवीयप्रेम प्रकट गर्न सफल देखिन्छन् । नियात्रामा आफू घुमेको, आफूले अनुभूत गरेका विषयलाई सुन्दर ढङ्गले कलात्मक प्रस्तुति दिन्छन् । अन्य विकसित देशसँग आफ्ना देशको तुलना गर्दै नेपालको विकास हुने जति नभएकामा चिन्ता व्यक्त गर्दछन् । ‘जीवनको वक्ररेखा’ उनको आफ्नै जीवनको संस्मरणात्मक कृति हो । यसमा दुई हजार आठ सालदेखि दुई हजार सतहत्तर सालसम्मका नेपालमा घटेका महत्वपूर्ण घटना र आफ्नै पारिवारिक र परिवेश एवं सामाजिक सन्दर्भको यथार्थ चित्रण यसमा रहेको छ । संस्मरणमा आफ्ना कमीकमजोरीहरू कतिपयः स्रष्टाहरूले खुलेर अभिव्यक्त गर्न सकेको देखिँदैन तर विजयले आफ्ना कमीकमजोरीलाई पनि नढाँटी देखाएका छन् । यसरी विविध विधामा छरिएका विजय चालिसे मूलतः आख्यानकार हुन् । आख्यानका सबै उपविधा कथा, लघुकथा र उपन्यास सिर्जना गरी उनले आफूलाई दरो आख्यानकारका रूपमा नेपाली साहित्यभण्डारसमक्ष प्रस्तुत गरे÷गराएका छन् । ‘युगसन्धि’ उनको नवीनतम कृति हो । योसमेत उनका पचपन्नवटा कृतिहरू प्रकाशित भइसकेका छन् ।
‘युगसन्धि’का बारेमा चर्चा गर्नुअघि उपन्यासका सन्दर्भमा सङ्क्षिप्त रूपले चर्चा गर्नु अपरिहार्य ठान्छु म । उपन्यासलाई विभिन्न स्रष्टा र समालोचकले आआफ्नै तरिकाले परिभाषित गरेका छन् । राल्फ फक्सका अनुसार कोरा कथात्मक गद्यलेखन नभएर मानवजीवनको गद्यलेखन हो । यो समग्र मानवजीवनलाई अभिव्यक्त गर्ने पहिलो कला हो । फिल्डिङका भनाइमा एउटा सुखान्त गद्यमय महाकाव्य उपन्यास हो । यसमा विभिन्न पात्र, घटना, परिवेश आदिलाई सतर्कतापूर्वक राखिएको हुन्छ । उपन्यासकार खारिएको परिपक्क नभए उपन्यास वर्णनमात्र बन्न पुग्छ । यसले जीवन्त प्रस्तुति गर्न सक्दैन ।
विश्वसाहित्यमा उपन्यासले विविध प्रयोगका साथ व्यापकता लिइसकेको छ । पहिलेको महाकाव्यको स्थान अहिले उपन्यासले लिएका सन्दर्भमा पनि यसको महत्त्व ज्यादा रहेको स्वतः देखिन्छ । नेपाली उपन्यासले पनि विविध चरण पार गर्दै अहिलेको अवस्थामा आइपुगेको हो । यसले पनि साहित्यका अन्य विधाजस्तै प्राथमिक, माध्यमिक काल पार गर्दै अहिलेको आधुनिक कालसम्म आइपुगेको छ । नब्बेको दशक आख्यान साहित्यमा महत्त्वपूर्ण दशक मानिन्छ । गुरुप्रसाद मैनालीको ‘नासो’ कथाले समाजका यथार्थ बिम्बहरूलाई कलात्मक प्रस्तुति दिएर आधुनिकताको द्वार खोल्यो । त्यसैगरी रुद्रराज पाण्डेको ‘रूपमती’ उपन्यास उन्नाइस सय एकानब्बेमा प्रकाशित हुँदा यसले साहित्यका यस क्षेत्रमा हलचल मच्चायो । यस उपन्यासले अतिरञ्जनात्मकतालाई त्यागेर उपन्यासलाई मौलिकता र यथार्थताको जगमा उभ्याएको छ । रुद्रराज पाण्डेले प्रारम्भ गरेको सामाजिक उपन्यासलेखन परम्परामा रूपनारायण सिंह, हृदयचन्द्र सिँह प्रधान, विश्वेश्वरप्रसाद कोइराला, शङ्कर कोइराला, लैनसिंह वाङ्देल, गोविन्दवहादुर मल्ल गोठाले, विजय मल्ल, रमेश विकल, पारिजात, धु्रवचन्द्र गौतम आदिका विविध धारा र प्रवृत्तिका उपन्यासहरूले औपन्यासिक साहित्य समृद्ध बनेको छ ।
उपन्यासलेखन परम्परामा विजय चालिसे पनि दुई हजार एकतीसको– ‘होटेल राँकीमा हत्या’जस्तो जासूसी उपन्यासका साथ नेपाली साहित्यको औपन्यासिक जगत्मा देखा पर्दछन् । नेपाली युवाहरूमा गुल्सानन्द, रानु आदिका हिन्दी उपन्यासतिरको आकर्षण बढ्यो । हिन्दी उपन्यास अध्ययनको सट्टा युवाहरूमा नेपाली उपन्यास अध्ययनमा बानी बसाऊँ भन्ने मूल लक्ष्यमा केन्द्रित रहेको पाइन्छ विजय चालिसेको यो उपन्यास । दुई हजार छत्तीस सालमा आफ्ना पिता रमेश विकल, श्यामप्रसाद र हृदयचन्द्र सिंह प्रधानका प्रगतिवादी दृष्टिकोणका साथ उनी यसै साल ‘अनि कुहिरो फाट्छ’ उपन्यास लिएर उपस्थित हुन पुगे । यो प्रकाशनका दृष्टिले दोस्रो भए पनि यथार्थ साहित्यमा उनको पहिलो हो । सामाजिक असमानता र अन्यायका विरुद्ध आवाज बुलन्द गर्दै सामाज सुधारको सन्देश प्रवाहित गर्नु यसको उद्देश्य रहेको देखिन्छ । उपन्यासमा शिक्षित युवक विराज छ । ऊ गरिब, निमुखा र शोषितहरूका पक्षमा आवाज उठाउँछ । उसका बाबु धर्मानन्द शोषणका अनेक तानाबाना बुन्दै गरिबलाई आफ्ना वशमा पार्छन् । पछि गएर विराज आफ्ना बाबुको शोषण प्रवृत्तिका विरुद्ध उभिन्छ । विराजले पछि आफ्ना बाबुको मनस्थितिलाई समेत परिवर्तन गराएर सुधारको सन्देश दिने व्यक्तिका रूपमा अगाडि सार्छ । यो उपन्यास पहिलो भएर पनि वैचारिक रूपमा दरो र खरो रूपमा उँभिएको छ । शैली पक्ष भने पछिल्ला कृतिका तुलनामा केही कमजोर लाग्दछ ।
संस्कृत साहित्यको मूल स्रोत वेद र पुराण भएजस्तै नेपाली साहित्यको मूलवृक्षका रूपमा वेद र पुराणका सन्दर्भ आइरहन्छन् । पुराण प्रभावित धेरै नेपाली साहित्य सिर्जना भए तापनि नेपाली साहित्यमा वेदको मूलश्रोत र मन्त्रद्रष्टालाई उपन्यासको चरित्र बनाएर सिर्जना गर्ने सर्जक अत्यन्त न्यून रहेको पाइन्छ । विजय चालिसेको ५५ औं साहित्यिक पुस्तकाकार कृतिका महत्त्वलाई सुरक्षित राखेर प्रस्तुत वैदिक उपन्यास ‘युगसन्धि’ ले वर्चस्वपूर्ण मूल्यबोध गराएको छ । वैदिक साहित्यमा कलम चलाएर विजयले साहसपूर्ण कार्य गरेको प्रतीत हुन्छ । पौराणिक साहित्यले पारिवेशिक सामञ्जस्य राखे तापनि वैदिक साहित्यका चरित्र, घटना र बोधगम्यताका शृङ्खला बेग्लै रूपमा प्रयोग भएका हुन्छन्् । अध्ययन विश्लेषण र मननका गहिराइ छिचोल्ने क्षमता नभई स्रष्टाले यसतर्फको सिर्जनामा हात हाल्ने आँट गर्दैन । विजय चालिसेमा यी सबै क्षमता र शिल्प भएकै कारण यस्तो जटिल कार्य सम्पादन भएको मान्नुपर्ने हुन्छ ।
यो उपन्यास ‘युगसन्धि’ मैत्राबरुण र उर्वशीका संयोगसहवासबाट प्रारम्भ हुन्छ । यिनैबाट जन्मेका अगस्त्य र वशिष्ठको कथाक्रममा गाँसिदै यिनीहरूको वैवाहिक जीवन र गाधीराज कुसिक र पत्नी घोषाबाट विश्वरथको जन्म ,अगस्त्यपत्नी लोपामुद्रा पतिबाट छुटिृएर छुटृै आश्रममा बस्नु वशिष्ठको अरुन्धतीसँग विवाह भएको सन्दर्भसँगै उपन्यासको कथा झाङ्गिन थाल्छ ।
उपन्यासको विकासक्रममा विश्वरथको ब्रह्मज्ञानतर्फको रुचि र समर्पण तथा अगस्त्यपत्नी लोपामुद्रासँगको सम्पर्कसँगै उपन्यासले द्वन्द्व प्रवेश गरेको आभास मिल्दछ । विश्वरथको अग्रज महर्षि अगस्त्य र वशिष्ठसँगको प्रतिस्पर्धा र नवीन स्वर्गलोकको स्थापनामा आप्mनो ज्ञान र सीपको प्रयोगजस्ता कार्यले उपन्यास रोचक बनाएको छ । उपन्यासको अर्काे महत्त्वपूर्ण पाटोको रूपमा किरातराज शम्बरपुत्री उग्रासँगको विश्वरथको प्रेमको संयोग, प्रेममा अन्धी बनेकी उग्राबाट विश्वरथलाई जोगाउन पिता शम्बरको मृत्यु गराउनु, उग्रालाई आर्यहरूले अस्वीकार गरी हत्या गर्ने प्रयास हुँदा लोपामुद्राले आश्रय दिनु, उग्रालाई लोपामुद्राले पनि जोगाउन नसक्ने परिस्थितिमा भर्खर जन्मेको बच्चालाई लोपामुद्राले अजिगर्तलाई धनपैसासहित पाल्नका लागि सुम्पिनुजस्ता कथा पनि यस उपन्यासका उत्तिकै रोचक विषय बनेका छन् ।
यसैगरी उपन्यासको अर्काे पाटोमा राजा हरिश्चन्द्रको सन्तान नहुनु र हुनका लागि जन्मेको बच्चा नै वरुणलाई सुम्पनुपर्ने शर्तमा रोहितको जन्म भएपश्चात् हरिश्चन्दले्र सो शर्त पालना नगर्दा रोगग्रस्त भई कृतबलिको रूपमा अजिगर्तले पालेको शुनःशेपको उपस्थिति र उसलाई जीवनदान दिने वरुणको निर्णय र कृतबलिका रूपमा ल्याइएको शुनःशेपलाई विश्वरथले आप्mनो वंशगोत्रमा मिलाएको र लोपामुद्राबाट उद्धार गरिएको बालक नै विश्वरथको छोरा शेनःशेप रहेको कथासंयोजनको पक्ष त्यतिकै सुन्दर रहेको छ । ब्रह्मज्ञान प्राप्त गी विश्वामित्र बनेको विश्वरथलाई वशिष्ठबाट ब्रह्मषर््िाको उपाधि प्रदान गरेसँगै उपन्यासको समाप्ति हुन्छ ।
विजय चालिसेको ‘अनि कुहिरो फाट्छ’ उपन्यासपश्चात् साढे पाँचदशकपछि पौराणिक उपन्यास ‘युगसन्धि’ प्रकाशित भएको हो । लामो अध्ययन र साधनापछि परिपक्व अवस्थामा उनको ‘युगसन्धि’ आएको छ । यो उपन्यास बौद्धिक समाजको उद्वोधन हो । तत्कालीन वैदिक समयको राजनैतिक, सामाजिक, धार्मिक अवस्थाको चित्रण यसमा भएको छ । अठ्तीस कथाहरूमा विभाजित यो उपन्यास औपन्यासिक परम्परामा मदनमणि दीक्षितको माधवीपछिको अर्को महत्त्वपूर्ण प्राप्ति हो । सरल, सरस रूपमा सिर्जित भएको भेटिने यस उपन्यासले वैदिक युगको पुनः प्रकाशन गरेको छ । अगस्त्य, वशिष्ठ र विश्वामित्रजस्ता महान् ऋषिहरूका वरिपरि घुमेको यस उपन्यासमा बहुल पात्र प्रयोग स्पष्ट देखिन्छ । लोपामुद्रा यसकी प्रतिनिधि नारीपात्रा हुन् । यिनी समाजसुधारकी पक्षपाती हुन् । जातीय सङ्कीर्णताले सामाजिक विखण्डन ल्याउँछ भन्दै आफ्नै पतिसित पनि सङ्घर्ष गर्न सक्ने महान् विभूतिका रूपमा पनि देखिन्छिन् । उपन्यासले देखाएको त्यस वेलाको समाज आधुनिक समाजसँग धेरै हदसम्म मेल खान्छ । यसमा उपन्यासकारले आफ्ना शैल्पिक शक्तिबाट यसलाई आधुनिकताको उचाइ दिन सफल भएका छन् ।
विजय चालिसेको प्रस्तुत उपन्यास ‘युगसन्धि’ उनका सिर्जनामध्येको छुटैृ विषयवस्तुमा सिर्जित कृति भएको हुँदा अन्यकृतिका भन्दा प्रवृत्तिगत विशेषताहरू भिन्न प्रकृतिका देखिन्छन् । यो उपन्यास वैज्ञानिक चेतनामा पनि अब्बल देखिन्छ । उपन्यासको शुरूआतमा नै अगस्त्य र वशिष्ठको जन्म कृत्रिम गर्भाधानबाट भएको देखाएर कुतूहल सिर्जना गरिएको छ । मन्त्र साधनाका सामथ्र्यले प्रधानता पाएको छ । उर्वशी र वरुणका मानसपुत्रका रूपमा जन्मिएका अगस्त्य र वशिष्ठको चैतन्यरहस्यको उद्घाटन भएको छ । जलाधिपति मैत्रेय वरुण ब्रह्मा, विष्णु, महेश्वरको आराधना गरिरहेको समयमा गन्धर्भकन्या अप्सरा उर्वशीको नृत्यागमन यज्ञस्थलतिर भएको देखाएर आध्यात्मिक ज्ञानभित्र भौतिकताको सूक्ष्म उपस्थिति यस उपन्यासको रहर लाग्दो पाटो बनेको छ । उपन्यासकार विजय चालिसेका चरित्र र घटनाका तन्मयता स्वाभाविक र सहज देखिन्छन् । वरुणले उर्वशीका रूपसौन्दर्यबाट द्रवीभूत भई यज्ञस्थलमै शारीरिक सम्बन्ध राख्न पुगेका वर्णनले आजका यौनमनोवादीहरूले निकालेको यौनमनोविज्ञानका अध्ययन र विश्लेषणका निष्कर्षमा पूर्ण सहयोग पु¥याउँछ । उपन्यासकारले एउटा यौनउदाङ्गताको उपस्थिति स्वाभाविक रूपमा खोलिदिएका छन् । प्रसङ्ग यस्तै आउँछ–उर्वशीले वरुणको वीर्य आफ्नो गर्भमा स्खलित हुनबाट रोक्छिन् । उनका हातको वीर्य उर्वशीका हातमा पर्छ । उर्वशीले पनि डिम्बयुक्त वीर्य उत्सर्जन गरेर आफ्नो हातमा राख्छिन् । उर्वशीले नमाने पनि वरुण आफ्नो वीर्यलाई निष्फल हुनबाट बचाउन चाहन्छन् । यसका लागि महान् आयुर्वेदाचार्य अग्निवेश ऋषिलाई आमन्त्रण गरिन्छ । वरुणको आग्रह अनुसार घडा र पत्रमा परेको मिश्रित वीर्यमा विद्यमान शुक्रकीट र डिम्बका बीच निषेचन हुने अवस्थाको सिर्जनाबाट त्यस घडाभित्र उपयुक्त उष्ण वातावरण कायम भएपछि शुक्रकीटलाई डिम्बको झिल्लीभित्र निर्बाध प्रवेश गर्ने वातावरणको सिर्जना गर्दै भ्रूणको विकास हुने यावत् प्रक्रिया अनुसार कृत्रिम गर्भको विकास भएपछि अग्निवेशले विभिन्न वनस्पतिको मिश्रण राखेर घडाको मुख बन्द गरिदिन्छन् । भ्रूणको समुचित विकास भएर समय पुगेपछि अगस्त्य र वशिष्ठको जन्म हुन्छ । यसरी वैदिक समाजमा नै कृत्रिम गर्भाधानबाट सन्तान जन्माउन सक्ने प्रविधिको विकास भएको देखिन्छ । अग्निवेश ऋषि महान् चिकित्सक थिए भने त्यस समयका अर्का महान् चिकित्सक थिए अश्विनीकुमार । उपन्यासकारले यस उपन्यासमा अर्काे प्रसङ्ग त्यसैगरी ल्याएका छन् – कर्दम ऋषि र देवहूतिका सन्तान नभएपछि यज्ञ गराएर वीर्यवर्धक औषधी सेवन गराई देवहूतिबाट नौ सन्तानको जन्म गराइयो । त्यस्तै त्यतिखेर योगविद्याको पनि चरम विकास भएको थियो । पतञ्जलि विशिष्ट योगगुरु थिए । पतञ्जलिले वशिष्ठको गुरुकुलमा गएर अष्टाङ्ग योगको प्रशिक्षण दिन्थे भन्नेजस्ता आख्यायिका यस उपन्यासभित्र धेरै पाइन्छन् ।
यहाँ यतिखेर एउटा स्मरणीय पक्षको खोजी गर्नु त्यतिकै सान्दर्भिक हुन आउँछ । पौराणिक आख्यान र वैदिका आख्यानका सिलसिला र स्वभाव फरक भएर पनि पाठक मनले यसको समन्वय खोजिरहेकोजस्तो हुन थाल्छ । वैदिक साहित्यमा चरित्र आफैले शक्ति र ऊर्जा प्राप्त गर्न तप गर्दछ भने पौराणिक साहित्यमा चरित्रले अन्यशक्तिबाट आपूmमा शक्ति ऊर्जा प्राप्त गर्न उपासना गर्दछ । उपन्यासभित्रको गहिराइ यहाँ पुगेपछि भेटिन्छ । मन्त्रद्रष्टा ऋषिको योग्यता औषधोपचारमा गाँसिने वैदिक परम्परा पौराणिक साहित्यमा फरक रूपमा प्रयोग भएको देखिन्छ । यो प्रसङ्ग यसैको उदाहरण बन्छ । ऋचिक ऋषि पनि ठूला आयुर्वेदाचार्य थिए त्यस वेलाका । सत्यवतीसित विवाह गर्न गाधीराज नरेश कुशिकले एक सहस्र अश्व बुझाउनुपर्ने शर्त राखे । जालन्धरकी रानी वृन्दाको पेटसम्बन्धी रोग निको पारेर अश्व लिई त्यो शर्त पूरा गरेपछि गाधी राजकुमारी सत्यवतीसित उनको विवाह हुन्छ । यहाँ पनि त्यही सन्दर्भ दोहरिन्छ –ऋचिकमा रहेको कमजोरीका कारण सत्यवतीका सन्तान नभएपछि वीर्यवर्धक औषधी सेवन गरी सत्यवतीको निमित्त ज्ञानगुणले सम्पन्न ब्रह्मयुक्त उचित गुणले भरिएका शुक्राणु र डिम्बको विकास हुने औषधी एवं आमा घोषाका लागि राजकीय गुणयुक्त वीर तथा शौर्यवान् व्यक्तित्वको विकास हुने तत्त्वहरू मिश्रण गरेर यो औषधी तयार गरियो । सत्यवतीले आमाका लागि दिएको औषधी छोरीको जस्तो गुणयुक्त नहोला भनेर सत्यवतीका लागि तयार गरिएको चाहिँ घोषाले र घोषाका लागि तयार गरिएको औषधी सत्यवतीले लिइन् । चारै जनाले औषधी सेवन गरेर भनेकै दिन शारीरिक सम्बन्ध राखे । परिणाम सोचेको भन्दा फरक देखियो । सत्यवतीको गर्भमा क्षेत्रीय राजोचित गुण भएको र घोषाका गर्भमा ब्राह्मण गुणयुक्त बालक रहेको कुरा ऋचिकले थाहा पाए । रजोगुणको मात्रा नियन्त्रण गरी सत्तोगुणको वृद्धि गर्ने औषधी पुनः सेवन गराए । यसरी अनविश्वासभित्र भरपर्दाे विवास सिर्जना गराएर सत्यवतीबाट यमदग्नि र घोषाबाट विश्वरथ जन्मिएको वर्णन अत्यन्त रोचक लाग्दछ ।
जीवनको निर्माण क्रिया प्रतिक्रियाको रसायनबाट हुन्छ भन्ने प्राचीनतम अनुभव र ज्ञान वैदिक युगमा पनि सर्दै आयो । कृत्रिम रसायनबाट होइन प्राकृतिक रसायनको संयोजनबाट गरिने उचार पद्धति तत्कालीन सफलता र प्रतिष्ठा थियो । यस्तै उदाहरण राजा दिवोदासको आयुर्वैदिक चिकित्सा पद्धतिमा पनि पाइन्छ । उनले यस शास्त्रमा राम्रो ज्ञान हासिल गरेकाले उनलाई धन्वन्तरिको उपाधि प्राप्त भएको थियो । उनी आयुर्वेदिक चिकित्साशास्त्रका ठूला ज्ञाता मानिन्थे । बेहोस् बनाउने औषधी पनि त्यसै युगमा विकसित भएको देखिन्छ । शम्बरराज्यमा काशीराज्य र गाधीराज्यका युद्धका समयमा गाधीराज्यका राजकुमार विश्वरथ उनका बालसखा ऋक्ष स्नान गरिरहेका समयमा भेष बदलेर आएका शम्बरका गुप्तचर अग्र र सङख्यले विश्वरथ र उनका साथीलाई चूर्ण नाकमा सुघाएर बेहोस बनाई बन्दी बनाइएका घटनाले त्यसैवेला औषधी विज्ञानको विकास भइसकेको हामी देख्छौँ । यस उपन्यासमा त्यतिबेला धनुर्विद्याको पनि पूर्ण विकास भएको उल्लेख पाइन्छ । दीक्षान्त समारोहमा विश्वरथलाई शस्त्र महारथीको पदवीद्वारा विभूषित गरिएको सन्दर्भ उल्लेख भएबाट शस्त्रविद्याको पनि चमत्कार रहेको स्पष्ट हुन्छ । नन्दिनी गाई प्रकरणमा विश्वरथका सैनिकमाथि प्रतिरक्षा गर्दा शुरूमा वशिष्ठले इन्द्रास्त्रको प्रहार गरे । उनका हातमा धनु प्राप्त भयो । उनले धनुमा काँड मिलाएर आक्रमण गर्दा धनुषबाट प्रहार गरेको एउटै काँड सयौँ भएर शत्रुमाथि वर्षियो र विश्वरथका अधिकांश पुत्र र सैनिकहरू धराशायी भए भन्ने वर्णनहरुले उपन्यास अझै सुन्दर बनेको छ । वशिष्ठले नन्दिनी गाईको रक्षा गर्न सफल भए । विजय चालिसेको उपन्यास युगसन्धिले वैदिककाललाई ज्ञान, चेतना र विज्ञानको भण्डार हो भन्ने पुष्टि गर्न खोजेको पाइन्छ । हुन पनि हो, हातहतियारको पनि धेरै विकास त्यसैवेला भइसकेको हामी देख्न सक्छौँ । गुरुकुलमा गणित, ज्योतिष, खगोलशास्त्र र विज्ञान विषयको पनि अध्ययन हुने गर्दथ्यो । दश गणराज्यतर्फबाट सुदासका सेनालाई नागजातिका युवाहरूले आफूले जानेको ज्ञानबाट विषादी प्रयोग गरी तृत्सु सैनिकलाई मारेका थिए र रूप परिवर्तन कला तथा कायाकल्प विज्ञानमा कुशल यक्षकिन्नरहरू शत्रु सैनिककै भेष धारण गरी उनीहरूकै सेनामा मिसिएर आफ्ना राज्यलाई बचाउने कार्य गरिरहेका सन्दर्भ पनि तत्कालीन युद्धकलाका उल्लेख्य पक्षहरू यस उपन्यासभरि प्रस्तुत भएका छन् । विश्वामित्र नयाँ स्वर्ग निर्माण गर्दासम्म पनि ब्रह्मर्षि हुन सकेका थिएनन्, यसको कारण ब्रह्मसमाजको अध्यक्ष वशिष्ठ हुनु र दुईका बीच चरम वैमनष्यता रहनु नै थियो । वशिष्ठले विनयभाव प्रकट गर्दा पनि विश्वामित्रले क्रुद्ध बन्दै अग्निबाँण प्रहार गर्न पुग्छन् । यसको प्रतिरक्षा वशिष्ठले वायव्यास्त्र प्रहार गर्छन् । जलको वर्षा भएपछि अग्निबाँण शमन हुन पुग्छ । विश्वामित्रका धेरै अस्त्रहरू वशिष्ठले निस्क्रिय बनाउँछन् । यसरी हेर्दा शस्त्रास्त्रको चामत्कारिक विकास भएको देखिन्छ । उपन्यासले तत्कालीन समाजका सामग्रीको नछुटाई वर्णन गर्न सकेको पाइन्छ ।
माथि भनिएजस्तै विजय चालिसेको उपन्यास ‘युगसन्धि’ मा समावेश भएका रोचक कथाहरूका आफ्नै मूल्य र मान्यता रहन्छन् । राजा सत्यव्रत आफ्ना पुत्र हरिश्चन्द्रलाई राज्य सुम्पेर जीवित अवस्थामा नै स्वर्ग जाने बाटो बनाई अरू राजाहरूले गर्न नसकेका कार्य प्रदर्शित गर्दै देहत्याग गर्न चाहन्थे । मरेपछि मात्र स्वर्ग जाने कुरालाई उनी अन्याय सम्झन्थे । स्वर्ग जाने बाटो बनाउन यज्ञको आयोजना गर्नु थियो । यसका लागि उनी कहलिएका महान् मुनि वा ऋषि वशिष्ठको आश्रममा पुगे । वशिष्ठले शास्त्र विरोधी यस्तो कार्य गर्न नसकिने बताएपछि उनी भृगुआश्रममा पुग्दासम्म पनि सबैबाट नकारात्मक जवाफमात्र पाउन सफल भए । अगस्त्य ऋषि अति कट्टर भएकाले उनी विश्वामित्रकहाँ गए । विश्वामित्रबाट यज्ञको मूल आचार्यत्व प्रदान गर्ने आश्वासन पाएपछि यज्ञको आयोजना गरियो । विश्वामित्रले मन्त्रोच्चारण गर्दै गए । यसमा उनका सहयोगी आचार्यहरूले पनि योगदान गरे । यज्ञका मुख्य कर्ता यजमान सत्यव्रत गुरुत्वाकर्षणविहीन बन्दै गए र मन्त्रबलका कारण आकाशतिर उड्दै गए । स्वर्गका राजा इन्द्र डराएर तीव्र वर्षा गराए तापनि विश्वामित्रले त्यसलाई निष्फल बनाइदिए । स्वर्गलोकमा सैनिकहरूले कडा पहरा गरिरहेका थिए । सत्यव्रत सीमाद्वारतर्फ बढे । उनलाई पृथ्वीबाट देख्न छाडियो । भित्र पस्न सैनिकहरूबाट अवरोध भयो । विश्वामित्रले सत्यव्रत अडिएको विशाल समथरभूमि सिर्जना गरी गुरुत्वाकर्षण बलको सहयोगमा ठूलो नगरसहितको स्वर्ग बनाए । स्वर्गका सबै सुखसुविधा त्यहाँ उपलव्ध थिए । स्वर्लोक र भूलोकका बीचमा निर्मित नयाँ स्वर्गमा अड्किएकाले सत्यव्रतलाई त्रिशङ्कु भनिन थालियो । विश्वामित्र त्यस युगका महान् वैज्ञानिक रहेछन्, थिए पनि । आफ्नै अभूतपूर्व क्षमता प्रदर्शन गरेर अर्को स्वर्ग बनाई सत्यव्रत लोक निर्माण गर्नु साँच्चै वैज्ञानिक चमत्कारको नमुना नै हो ।
‘कथामा विज्ञानको कैदी’ शीर्षक कृतिबाट विज्ञानका सकारात्मक÷नकारात्मक पक्षहरूका सुन्दर चित्रण प्रस्तुत गरिसकेका कथाकारले उपन्यासमा पनि पौराणिक विषयमा आधुनिकता प्रदान गरिरहेका देखिन्छन् । यसमा पौराणिक विषयवस्तुलाई कत्ति पनि नबिगारी त्यसमा सहायक हुने मिल्दा अन्य सन्दर्भहरू कल्पना गरेका छन् उपन्यासकारले । नियोगप्रथा उपन्यासको अर्को उल्लेख्य पक्ष हो । क्षेत्रीय वंशमा आफ्ना यौन दुर्बलताका कारण निःसन्तान भएमा नियोग माध्यमबाट आफ्नो वंशविस्तार गर्ने परम्परा कायम गराउँथे । विशेष गरी राजाहरू निःसन्तान भएमा यो प्रक्रिया अपनाउने गरिन्थ्यो । हरिश्चन्द्र निःसन्तान भएपछि नियोगका लागि वरुणसमक्ष अनुरोध गरेर जेठो छोरो आफ्नो नरबलिका लागि दिने शर्तमा नियोगका लागि स्वीकृति दिए, यज्ञ गरियो । यज्ञ सम्पन्न भएपछि रानीहरूसित एक एक रात बिताएर वीर्यदान गरेको र सन्तानप्राप्ति भएका प्रसङ्ग अन्धविश्वासी नेपाली समाजका निमित्त यसै पनि रोचक छन् । नियोगप्रथा हेर्दा त्यस युगमा पनि यौन स्वतन्त्रताका प्रशस्त प्रयोग भएका पाइन्छन् ।
यस वैदिक उपन्यासमा उपन्यासकारले पहिल्याएको कूटनीति पनि यसको अर्को विशेषता रहेको छ । अप्सराहरूमा सुन्दरताका कूटनैतिक खेलहरू व्यापक रूपमा परिचालित देखिन्छन् । ‘मै हूँ’ भन्ने ठूलाठूला तपस्वीहरूलाई समेत आफ्ना मादक सौन्दर्यका माध्यमले वशमा पारेका प्रशस्त उदाहरण हामी पौराणिक जगत्मा पाउँछौँ । उर्वशी र मेनकाजस्ता अप्सरा यस कार्यमा अग्रपङ्क्तिमा थिए, देखिन्छन् अहिले पनि अध्ययन गरेर हेर्दा । स्वर्ग नरेश इन्द्रका लागि कार्य गर्नु उनीहरूको एकमात्र कर्तव्य थियो । उनीहरूका समाजमा अहिलेका पश्चिमी मुलुकमा जस्तै यौनस्वतन्त्रता रहेको पाइन्छ । सन्तान जन्माएर पनि उनीहरू कुमारी नै रहन्थे । इन्द्रले उर्वशी र मेनकालाई स्वर्गतिर खतरा उत्पन्न भएका खण्डमा मुक्ति दिलाउने काम गर्दथे । वरुणले यज्ञमा ब्रह्मा, विष्णु र महेश्वरको अर्चना गरिरहेका अवस्थामा उर्वशीको छम्छम नृत्य र सुमधुर गायनले वरुणको एकाग्रता भङ्ग भयो । उनी तपस्याको बदला शारीरिक खेलमा अग्रसर भए, आनन्दका वहारमा । त्यस्तै नयाँ स्वर्ग निर्माण गरेर सत्यव्रतलाई स्वर्ग पठाउनेजस्तो महान् उपलव्धि प्राप्त गर्दासम्म ब्रह्मर्षि उपाधि पाउन नसकेका विश्वामित्रमा आएको चिन्ता क्रोधमा रूपान्तरित भयो ।
प्रस्तुत उपन्यास ज्ञान विज्ञान र बौद्धिकताभित्र भयावह द्वन्द्व सिर्जना गरेर कालान्तरमा सहज र सतपथ अवलम्बन गरेको कथामा आधारित भएको पाइन्छ । आफूलाई ब्रह्मर्षि पदवी नदिने मुख्य कारक व्यक्ति वशिष्ठ नै भएको विश्वामित्रलाई ज्ञान थियो । यसैले वशिष्ठलाई मार्न अस्त्र प्रहार गर्नु, वशिष्ठका अगाडि आफू कमजोर सावित भएपछि थप शक्तिका लागि कौशिकी नदीको खेचराद्री पर्वतमा तपस्यारत रहनु आदि द्वन्द्वलाई नै ज्ञानले पृष्ठपोषण गरिहेको हो कि भन्ने आभास गराउँछ । उता यसबाट विश्वामित्र अरू शक्तिशाली भएमा स्वर्ग आफ्ना लागि अकण्टक रहने कुरामा इन्द्र सशङ्कित भए । उनले यस कार्यलाई रोक्नुमा आफ्नो बुद्धिमानी सम्झे । परिणामतः उनले अमरावतीकी उपप्रमुख मेनकालाई यस कार्यमा प्रयोग गर्नु यस्तै द्वन्द्वकै खेल थिए । मेनकालाई सामु बोलाएर –‘हे प्रिय मेनका ! इन्द्रप्रदेशमाथि खतरा मडारिन थालेको छ । भूलोकको खेचराद्री पर्वतमा तपस्यारत राजर्षि विश्वामित्रको तपस्या यसरी नै निर्बाध चलिरह्यो भने उनी अजेय बन्नेछन् । त्यस अवस्थामा उनीभित्र इन्द्रप्रदेशमाथि महत्त्वाकाङ्क्षा जागृत हुने भय छ । यो दुर्घटना रोक्नाका लागि विश्वामित्रको तपस्या भङ्ग गर्नु जरुरी भएको छ” भन्नु बौद्धिकताभित्रकै डाह र ईष्र्याकै अपवित्र प्रतिस्पर्धा देिखन्छ । यस्तै द्वन्द्वभित्र तयार भएको एउटा रमणीय र सुन्दर कथाले वैदिक कथासँग पनि समन्वय देखाउँछ । इन्द्रको आदेशानुसार खेचराद्री पर्वत पुगेर पाउमा बाँधेको नुपुरको मीठो झङ्कार र नृत्यको तरङ्गले विश्वामित्रको एकाग्रता भङ्ग भयो । उनले मेनकासित बिहे गर्ने प्रस्ताव राखे । एउटा सन्तानको जन्म भएपछि इन्द्रलोक जाने शर्तमा उनले विश्वामित्रसित विवाह गरिन् । एउटी कन्याको जन्म भएपछि मेनका स्वर्गका लागि प्रस्थान गरिन् । नवजात कन्या कण्वऋषिको आश्रमनजिक झाडीमा सुरक्षित छाडेर पुनः तपस्याका लागि विश्वामित्र प्रस्थान गरे का कथा प्रसङ्ग पौराणिक कथासँग गाँसिन खोज्दछन् ।
इन्द्र, ऋषि र अप्सरासँग सम्बन्धित बनेका धेरै आख्यान वैदिक साहित्यको धरोहर बनेको स्पष्ट हुन्छ । पौराणिक साहित्यमा योद्धा देवता राक्षसको भूमिका थप भएको पाइन्छ । पुरुरवाको कथा पुराणमा पनि आउँछ, । त्यस्तै पुरुरवाको शक्ति रोक्न पनि अप्सरा उर्वशी माध्यम बनेकी थिइन् । उर्वशी पुरुरवाको दरवार गइरहँदा बाटामा डाँकाहरूद्वारा लखेटिइन् । भाग्दाभाग्दै उनी राजाको शयनकक्षमा पुगिन् । डाँकाहरू पनि त्यहीँ आइपुगे । राजाको निद्रा खुल्यो । एउटी सुन्दरीलाई डाँकाहरूले घिसारेको देखेर तरवार हातमा लिई राजा निस्के । उनको सौन्दर्यको दीप्तिले गर्दा पुरुरवाले विवाहको प्रस्ताव राखे । उर्वशीले थप चारवटा प्रस्ताव राखिन् । दुईवटा मेष सन्तानसरह माया गरेको हुनाले आफूबाट छुट्टिन नदिने, दिनको एकपटकमात्र आलिङ्गनमा लिन पाइने, चाहनाविना यौनसम्पर्क गर्न नपाइने, यौनसमागमको समयमा बाहेक नग्न देख्ने चाहना गर्न नै नपाइने । पुरुरवाले सबै शर्त स्वीकार गरे, विवाह सम्पन्न भयो । उर्वशी गएको चार वर्ष व्यतीत भयो । उर्वशीलाई फर्काउन गन्धर्भराज चित्ररथलाई प्रयोग गरियो । चित्ररथले विश्ववसुको नेतृत्वमा छानिएका गन्धर्भलाई मेष चोर्न लगाए । निदाएका वेलामा भेडा चोरिए । भेडा कराएका आवाजले उर्वशीको निद्रा खुल्यो । उर्वशीले राजालाई भेडाको रक्षा गर्न भनिन् । उर्वशी र राजा गन्धर्भ पछिपछि दौडे । चक्मक रगडिएर झुलो देखाइयो । चक्मकको उज्यालोमा उर्वशीले राजालाई सर्वाङ्ग नाङ्गो देखिन् । उर्वशीले वचनभङ्ग भएकामा पुरुरवासित बिदा मागिन् । उनीहरूको प्रेम कथात्मक विवाह टुङ्गियो ।
उपन्यासका कथा प्रस्तुतिकथा र अभिव्यक्तिका सीप यसरी प्रस्टिन्छन् – एक दिन उर्वशी पुरुरवा भएका ठाउँमा पुगिन् । यसै अवसरमा ब्रह्मपुत्रलाई जन्म दिइन् । उनीहरूका सौन्दर्यका कूटनीतिले इन्द्र अटल, अकण्टक रहन सके । नारदको सञ्चार कूटनीति पनि महत्त्वपूर्ण थियो त्यस वेला । नारद त्यस युगका सञ्चार प्रमुख थिए । उनमा नै सञ्चार प्रवाहको एकाधिकार रहेको पाइन्छ । यताका कुरा उता, उताका कुरा यता लगाएर उनले सबैतिर जानकारी दिने गर्दथे । देवराज इन्द्रदेखि सबै शक्तिशाली राजाहरू, ठूलाठूला विद्वान् तपस्वी जम्मैले उनीबाट नै सबैतिरका गतिविधिका जानकारी लिने गर्दथे । खबरीका रूपमा नारद प्रख्यात थिए । एक राज्यबाट अर्को राज्यमा सम्बन्ध स्थापित गर्न पनि राज्यका तर्फबाट दूत पठाइने व्यवस्था थियो । काशीनरेश दिवोदासको सन्देश लिएर महर्षि वशिष्ठ पठाइएका थिए । पानी र किरपुरका विषय रहेका थिए । यसमा किराँतराज्य सहमत हुन नसक्ने सन्देशदूत महर्षि वशिष्ठमार्फत काशीनरेशसमक्ष पठाइयो । किराँतराज्य निकै शक्तिशाली अवस्थामा रहेका देखिन्छन् त्यस बखत । तिनलाई सजिलै पराजय गर्न सम्भव नरहेको कुरा आएपछि गाधीराज्यसित सहयोग लिनु अपरिहार्यजस्तै हुन्थ्यो । यसका लागि कूटनीतिक प्रयास गर्न महर्षि वशिष्ठलाई सम्पूर्ण अधिकारसहित गाधीराज्यमा पठाइयो । उनकै प्रयासमा गाधीराज्य र काशीराज्यको संयुक्त सैनिक भएर किराँतसित युद्ध गरी विजयप्राप्त गरे । यसरी उपन्यासमा त्यस युगमा पनि राज्यसञ्चालनमा कूटनीतिकला अपनाइएको पाइन्छ ।
उपन्यासमा सर्वाङ्गीण शिक्षाप्रणाली कायम रहेको देखिन्छ त्यसताका । शैक्षिक संस्थाका रूपमा गुरुकुल सञ्चालन हुन्थे । तिनमा त्यस समयका प्रकाण्ड विद्वान्हरू प्रमुख आचार्य रहन्थे । उनीहरू नै शिक्षाप्रदान गर्दथे । वशिष्ठ, अगस्त्य, लोपामुद्रा, अरुन्धती र विश्वामित्रजस्ता विद्वान् विदुषीहरू त्यस वेलाका शिक्षाक्षेत्रका एकाधिकारी थिए । ज्ञान, विज्ञान, योगशस्त्र, आयुर्वैदिक शास्त्र, राज्यनीति, शौर्यनीति, कूटनीति, धर्मविद्या आदि विषयमा शिक्षा दिइन्थ्यो । शैक्षिकनीति पनि उपन्यासका विशेषतामध्ये एक रहेको पाइन्छ । शिक्षा पूरा गरेपछि दीक्षान्त समारोहमा अनेकौँ पदवीसमेत दिइने गरिन्थ्यो । राजाहरूमा अनेकौँ दाउपेच हुने र गर्न सक्ने कला रहेको देखिन्छ । शक्तिशाली राज्यले कमजोर राज्यलाई अनेक किसिमले दुःख दिने मत्स्यन्याय कायम रहेको त्यस समयमा अझ देखिन्छ । किराँतराज्यमाथि त्यहाँका प्राकृतिक स्रोत र साधनले गर्दा काशीराज्यको गिद्धेदृष्टि पर्न पुग्यो । अनेक षड्यन्त्र र दाउपेचका कारण किराँतप्रदेशमा काशीराज्यको नियन्त्रण रहन गयो । विद्वान् ऋषिहरूमा पनि एक अर्कामा टक्कर परिरहन्थ्यो । वशिष्ठ र विश्वामित्रमा देखिएका मनोमालिन्य यिनकै उदाहरण हुन् । उनीहरूका अनावश्यक अस्वस्थ्य प्रतिस्पर्धाले वशिष्ठ र विश्वामित्रका पुत्रहरूको मृत्यु नै भएको थियो ।
यस उपन्यासमा मार्मिक पक्षहरू पनि बेजोड ढङ्गले देखाइएका छन् । अयोध्याका राजा सौदास मित्रसहले शिकार गर्दा जङ्गलमा केही नभेटेपछि झाडीभित्र बाघको आशङ्कामा बाँणप्रहार गर्दा सम्भोगरत असुरपत्नीको प्राण गएको क्षणले पीडाको अनुभूति पाठकमा सजिलै सिर्जित हुन जान्छ । त्यस्तै युद्धमा किराँतराजा शम्बरको मृत्युको क्षणले पनि मुटु कम्पन गराउँछ । किराँत राजकुमारी उग्राको विश्वरथले जात्यान्तरण गरेर आफ्नो धर्ममा दीक्षित गरेपछि धर्मान्ध कट्टर आर्यहरूले उग्राको निर्ममहत्या गराए । यो क्षण अत्यन्त दुखद् लागेर हरेक कृति पढ्नेका आँखा रसाउँछन् । नन्दिनी गाई प्रकरणमा विश्वरथका अधिकांश पुत्रहरू मारिएका घटना पनि त्यत्तिकै मार्मिक लाग्छन् । सौदास मित्रसह वशिष्ठको श्रापका कारण नरभक्षी राक्षसमा परिणत भएको थियो । विश्वामित्रले मन्त्रशक्तिद्वारा किङ्कर आफ्नो वशमा पारी बाटो ढुकेर वशिष्ठ पुत्रहरूका एकएक गरेर भोजन गरेका घटना अत्यन्त मार्मिक भएर आएका लाग्छन् । त्यस्तै वरुणको नरबलि यज्ञको दृश्य पनि उत्तिकै मार्मिक पाउन सक्छौँ ।
वैदिकयुगमा राजाहरू जनचाहनाबमोजिम काम गर्दथे । राज्यका महत्त्वपूर्ण विषयका निर्णयमा पुग्न राज्यसभा बोलाइन्थे । यसमा राज्यका सैनिकप्रमुख, विद्वान्, ऋषि, कुलगुरु आदिको सहभागिता रहन्थ्यो । दूत नियुक्त गर्दासम्म पनि राजाले राज्यसभाको सुझाव वा परामर्श लिने गर्दथे । काशीराज्यका तर्फबाट किराँतराज्य किरपुर र गाधीराज्यमा राजाका सन्देश लिएर कूटनीतिक प्रयास गर्न वशिष्ठलाई सम्पूर्ण अधिकार दिँदा राज्यसभाको परामर्श लिइएको थियो । राजाले राज्यत्याग गर्दा पनि राज्यसभामा नै छलफल भएर निर्णय हुन्थे । कुनै राजकुमारले अवाञ्छित क्रियाकलाप गरे भने राज्यसभाको परामर्शमा राज्यबाट निष्काशनसम्म गर्ने प्रचलन पाइन्थे । राजा मैत्रावरण निबन्धले आफ्ना पुत्र राजकुमार सत्यव्रतले ब्राह्मणपत्नीको अपहरण गर्दा जनताको विरोधका कारण जनचाहनाबमोजिम राज्यबाट निष्काशन गरेका थिए । यसबाट आजका राज्यव्यवस्था सञ्चालकहरूले सकारात्मक शिक्षा लिन सक्नुपर्दछ । उपन्यासमा स्वतन्त्रताका कुराहरू उठाइएका छन् । देवलोक स्वर्गमा रहेका अप्सरासमेत इन्द्रको दास बन्नु परेका सन्दर्भबाट राजाहरू राज्यव्यवस्थामा कतिसम्म निर्घिणी र विलासी हुन्छन् भन्ने कुराको राम्रो परिचय पनि पाउन सकिन्छ । उर्वशी, मेनकाजस्ता विशिष्ट अप्सराहरू समेत पृथ्वीलोकमा आएर स्वतन्त्रतापूर्वक रहन चाहन्थे । राज्यका नागरिकहरूले स्वतन्त्रताको उपयोग गर्नु अपरिहार्य हुन्छ भन्ने सन्देश पनि उपन्यासले दिएको छ ।
उपन्यासमा वर्तमान समयको जस्तै ‘लिभिङ् टुगेदर’ सन्दर्भहरू पनि छन् । उर्वशी, मेनकाहरू पृथ्वीलोकमा आएर केही वर्ष कसैसँग बस्नु र फर्किनुको अर्थ यही न हो । उपन्यासले द्वन्द्वविधिव्यवस्था पनि हुनु आवश्यक भएको देखाएको देखिन्छ । यसले उपन्यासको सौन्दर्यलाई थप ऊर्जा प्रदान गरेको छ । राजा राजाबीचको द्वन्द्वव्यवस्था, विद्वान् ऋषिहरूका बीचको द्वन्द्व पनि त्यत्तिकै चाखलाग्दा हिसाबले यसमा देखाइएको पाइन्छ । पति अगस्त्य र पत्नी लोपामुद्राको द्वन्द्व सुधार र यथास्थितिबीचको द्वन्द्व हो । वशिष्ठ र विश्वामित्रबीचको द्वन्द्व–अहं र विद्वत्ताबीच टक्करावको द्वन्द्व हो । राजाहरूले राज्य र जनताका निमित्त कार्य गर्नुपर्दछ । राजकोष जनताका थोपाथोपा कर जम्मा गरेर बनेको हुँदा राजाले यसको संरक्षण र प्रयोगमा राम्ररी ध्यान पु¥याउनुपर्दछ । उपन्यासले राजा आर्थिक मामलामा स्वच्छ र पारदर्शक पनि हुनु पर्ने कुराका सङ्केत गरेको छ । अगस्त्य ऋषि लोपामुद्रासित सम्बन्धसूत्रमा गाँसिएपछि गृहस्थ धर्मका लागि अर्थार्जन गर्न देशाटन गर्दै जाँदा राजा श्रुतवर्णको दरवारमा पुगेर धनको माग गरी नदिएका कारण राज्यसञ्चालन गर्न आवश्यक पर्ने सञ्चित रकममात्र आफूसित भएकाले निजी सम्पत्ति नभए पछि चित्त बुझाएका प्रसङ्गले अहिलेका शासकहरूलाई मीठो व्यङ्ग्यात्मक मार्गदर्शन गराइएको छ ।
जातीय सङ्कीर्णता र कट्टरपनले राज्यको उन्नति सम्भव छैन । यसका लागि जातीय समन्वय र धार्मिक सहिष्णुता कायम हुनु जरुरी छ भन्ने कुरामा उपन्यासमार्फत उपन्यासकारले जोड दिएका छन् । लोपामुद्रा आर्य समाजको अस्तित्व कायम गर्न र यसलाई चिरस्थायी बनाउन रक्तमिश्रणको आवश्यकतामा जोड दिन्छिन् । यसका लागि आफ्ना पति अगस्त्यसित समेत उनी असहमति राख्छिन् । यतिसम्म कि उनी लोपामुद्राको रचना सुनाउँदासम्म पनि कुनै प्रतिक्रिया देखाउँदैनथे । आफ्नो पुत्रलाई दिनुपर्ने वात्सल्यसमेतमा उदासीन देखिन्थे । अन्त्यमा लोपामुद्राको विजय भएको छ । उपन्यासकार विजय चालिसे साहित्य समाजसुधारको माध्यम बन्नुपर्छ भन्ने मान्यता राख्ने स्रष्टा हुन् । उनले यसै मान्यतालाई पौराणिक उपन्यास भएर पनि यसमा प्रयोग गरेको पाइन्छ । झट्ट हेर्दा एउटा उपन्यासमा यतिबिघ्न पात्र किन ? भन्ने प्रश्न उठाउन सकिन्छ । यस विषयवस्तुको उपन्यासलाई जीवन्त बनाउन यी सबै पात्रहरू त्यत्तिकै आवश्यक छन् । मैत्रेय वरुण र उर्वशी नभए अगस्त्य र वशिष्ठ हुने थिएनन् । वशिष्ठ र अगस्त्य नभए उपन्यास नै हुने थिएन । त्यस्तै उग्रा, विश्वरथ, शम्बर, दिवोेदास, लोपामुद्रा, अरुन्धती, सत्यवती, उर्वशी, मेनका, इन्द्र, नारद र विश्वामित्रका साथै अन्य सबै पात्रपात्राका यथास्थानमा व्यवस्थापन नगरिएका खण्डमा उपन्यास जीवन्त बन्नै सक्दैनथ्यो । यसरी पात्रविधानका दृष्टिकोणले सशक्त बनेको छ उपन्यास । शैलीका दृष्टिकोणबाट उपन्यास सरल, सुबोध्य छ । सरस र पाठकमैत्री बन्न पुगेको छ । साहित्यकार विजय चालिसेका पूर्व प्रकाशित कृतिहरू जस्तै यसले पनि सरल शैली नै आत्मसात् गरेको देख्न सकिन्छ । वैदिक÷पौराणिक उपन्यास भएर पनि आधुनिक÷सामाजिकजस्तो बनाउन सक्नु विजय चालिसेको साधनाको निरन्तरताको सफलता हो ।
उपन्यासमा सबै विशेषता भएर पनि बेग्ला बेग्लै कथापुञ्जजस्तो देखिन पुगेको छ यो उपन्यास । ती सबै जोड्दा कथासङ्ग्रहजस्तो नभएर सुन्दर उपन्यास बन्न पुगेको छ यो कृति । पौराणिक उपन्यास भएका कारण उपन्यासकारलाई पूर्ण स्वतन्त्रता रहेको हुँदैन नै । यस पक्षमा उपन्यासकार चालिसे निकै नै सचेत देखिन्छन् । पौराणिक विषय लिएर लेखिएको उपन्यास माधवीभन्दा निकै नै सम्प्रेष्य रहेको छ यो उपन्यास । माधवीको दार्शनिकता र बौद्धिकताले गर्दा बोधगम्यतामा त्यति सहज हुन्न र छैन पनि । उपन्यासमा कुनै पनि महात्माले आफ्ना इच्छालाई दमित बनाउन सक्दैन भन्ने कुरा पनि यसमा देआइएको छ । जनजातिलाई असुर भन्ने ब्राह्मण क्षेत्रीय समाजका गलत प्रवृत्तिलाई उपन्यासले उजागर गरेको पाइन्छ । उपन्यासमा कथा छन्, व्यथा छन्, उत्साह छन्, निराशा छन्, दण्ड छन्, समन्वय छन्, युद्ध छन्, शान्ति छन् । दुई सय अठ्चालिस पृष्ठमा विस्तारित एउटा उपन्यासभित्र सम्पूर्ण पक्ष सटिक ढङ्गले समायोजन गर्न सक्नु यसको सकारात्मक पक्ष हो । वैदिक युगमा मानिसको बलि दिएर यज्ञ गर्नु अधर्म हो । उपन्यासले राजा र ऋषिहरूसमेत अमानवीय थिए, हिंसात्मक थिए, अनैतिक थिए भन्ने कुरा स्पष्ट रूपमा देखाएको छ । विश्वरथ, विश्वामित्र, पुरुरवा, वरुण आदि सबै यौनका मामलामा कमजोर भएकाले तपस्यामा लीन हुँदा पनि अप्सराहरू देखा परे भने तुरुन्त शारीरिक सम्बन्ध राख्न आतुर हुन्थे भन्ने प्रसङ्गले यौनेच्छालाई दमित गर्नु अपराध भएकामा स्पष्ट पारेका छन् । फ्रायडियन सिध्दान्तको अनुकुल उपन्यास मातृसत्तात्मक बन्न पनि पुगेको छ । उपन्यासमा तीन महान् ऋषि–वशिष्ठ, अगस्त्य र विश्वामित्र वरिपरि घुम्छन् । नारीपात्रा लोपामुद्रा पनि सक्रिय पात्रा हुन् । आधुनिक विचार प्रवाह गर्न सक्ने महान् विदुषी पनि हुन् । वशिष्ठ आदर्श पात्रका रूपमा खडा छन् । ज्ञान र विद्वत्ताका लागि उनी अद्वितीय आदर्श । उपन्यासमा निकै समयसम्म प्रमुख पात्र वशिष्ठ भए पनि अन्तिममा पुगेर विश्वामित्र प्रमुख बनेका छन् । उपन्यासमा द्वन्द्व भए पनि अन्तिममा गएर सुखान्त यसको नियत भयो । लेख्नेले सुखद् परिणामका लागि लेखिनुपर्छ भन्ने सुप्रसिद्ध नाटककार बालकृष्ण समको भनाइ यसमा सार्थक भएको छ ।
उपन्यासमा देवराज इन्द्र सबैभन्दा खतरा पात्र छन् अन्य पौराणिक कृतिका देवराजजस्तै । कसैले शक्ति र सामथ्र्य प्रदर्शन गरेमा उनी रिसले आगो हुन्थे, यसमा पनि त्यस्तै भएका छन् । आफूभन्दा बढी शक्तिशाली कोही देखिएमा उनी षड्यन्त्रको तानाबाना बुन्थे । अनेक दाउपेच गर्दथे । अप्सराहरूलाई समेत प्रयोग गरेर अरूलाई दुर्बल बनाउँथे । उपन्यासको अर्को विशेषता देशप्रेमको रहेको छ । यसमा वर्णित स्थल नेपालकै हुन् । हिमवत्खण्ड, मण्डप पर्वत तथा महाभारत पर्वत कौशिक क्षेत्र, देउघाट त्रिवेणीधाम आदि सबै नेपालभित्रकै भूभागमा पर्दछन् । प्रकृतिचित्रण अर्को आभूषण रहेको छ उपन्यासभरि । यहाँको प्रकृति परिवेश, पात्रका क्रियाकलाप अनुसार यथास्थानमा रहेका छन् । उपन्यासमा कथानक, सहभागी, उद्देश्य, दृष्टिविन्दु र भाषाशैलीजस्ता संरचक घटक महत्तम बनेर रहेका देखिन्छन् । यी सबै तत्त्व सटिक समायोजित भएकाले तत्वाङ्गका आधारमा पनि उपन्यास सफल छ ।
उपन्यास आफैले प्रेम गरे तापनि अभिभावकसित कन्याका लागि अनुरोध गर्ने परम्परामा रहेको पाइन्छ । अगस्त्य र लोपामुद्रामा चरम मतभेद भए पनि उनीहरू एक अर्कालाई त्याग्न सक्दैनन् । उर्वशी इन्द्रको आदेशानुसार पुरुरवाको दरवारतर्फ जाँदा भेडासहित लिएर जानु, डाँकाहरूबाट लखेटिँदासम्म उनीहरू साथमा नै हुनु, भाग्दाभाग्दै राजाका शयनकक्षमा पुगेका सन्दर्भहरू अन्तर प्रेमका नै उदाहरण हुन् । राजाका दरवारमा सैनिक पहरा पालोपालो गरी रहन सक्नुपथ्र्यो । उपन्यासले यसो गरेको देखाउँदैन । भेडासहित उर्वशी राजाको दरवारमा पुग्नु त्यत्ति स्वाभाविक लाग्दैन । वशिष्ठ र विश्वामित्रले एक अर्काका पुत्रहरूको हत्या गर्दासमेत पछि उनीहरूको मेल हुन पुगेको देखिनु कति पाच्य कुरा हो ? कुनै पनि द्वन्द्वले चरमावस्था पार गरेपछि समन्वय हुनु जरुरी छ भन्ने प्रसङ्ग उपन्यासले स्थापित गरेको सङ्केत हुन सक्छ यो । नयाँ स्वर्ग निर्माण गर्दा इन्द्र र विश्वामित्रको युद्ध जति हुनुपथ्र्यो त्यस रूपमा हुन नसकेजस्तो लाग्छ ।
अन्त्यमा पौराणिक विषयवस्तुलाई मीठो शैलीमा रोचक प्रस्तुति दिनु उपन्यासको प्रमुख विशेषता हो । सर्वसाधारण पाठकलाई एउटा पण्डित व्यासासनमा बसेर कथावाचन गरेझैँ उपन्यासकार यसमा देखिएका छन् । पौराणिक कथा भएर पनि त्यसलाई आधुनिकताको प्राण दिँदै उपन्यास निकै नै घतलाग्दो र चित्तबुझ्दो बन्न पुगेको छ । समावेसिताका सन्दर्भ जोडिएका छन् । सर्वाङ्गीण शिक्षा प्रणाली छ । प्रजातान्त्रिक सन्दर्भहरू प्रशस्त छन् । सबैतिर नेपालको अनुहार अक्षरभरि उदाउँछ । नेपाललाई तपोभूमि, ज्ञानभूमि, तीर्थभूमिको रूपमा देखाइएको छ । नारी स्वतन्त्रता, सामाजिक समानतामा जोड दिइएको देखिन्छ । द्वन्द्वविधान राम्ररी उनिएको छ । क्षेत्रीय समाजमा पुरुषको यौन दुर्बलता देखिएमा उत्तराधिकारी बनाएर वंश अविच्छिन्न राख्न नियोग प्रथा कायम भएका कुरा निकै जोडतोडका साथ देखाइएका छन् जुन अन्धनेपाली समाजका लागि आवश्यक पनि हो । राजा र ऋषिहरूमा देखिएका चारित्रिक दुर्बलता स्पष्ट प्रदर्शित छन् । गन्धर्भ र किराँतहरूजस्ता जनजातिहरूलाई आर्यहरूले शोषण गरेकामा उपन्यासले विरोधका स्वर उरालेको छ । लोपामुद्राजस्ता बेजोड सामाजिक अभियन्ताका समाजसुधारका सत्प्रयास, वशिष्ठ, अगस्त्य, विश्वामित्रजस्ता महान् विद्वान्हरूका विभिन्न क्रियाकलापहरू उधारिएका छन् । पात्रचयन, वाक्यसङ्गठन र पात्र कथनलाई राम्ररी ध्यान दिइएको छ । वैज्ञानिक क्षेत्रमा चरम विकास भएको देखाइएको छ । औषधीविज्ञान, योगविज्ञान र रसायनविज्ञानको चामत्कारिक विकास भएका प्रसङ्गहरू यत्रतत्र उद्घाटित गराइएको पाइन्छ । यी सबै सन्दर्भहरूले उपन्यास सुन्दर बनेको छ । दुई महान् ऋषि–वशिष्ठ र विश्वामित्रबीच लगायत तत्कालीन अवस्थामा देखिने आन्तरिक द्वन्द्व व्यवस्थापनसमेत सटिक ढङ्गले गराइएका प्रसङ्गबाट ‘युगसन्धि’ शीर्षकचयन पनि अत्यन्त उपयुक्त हुन पुगेको पाउन सकिन्छ । आफ्ना आदिम पुर्खा वशिष्ठको खोजीका परिणामले उपन्यासको ठुलै आकार निर्मित छ र अन्त्यमा उपन्यासका प्रमुख नायक विश्वामित्र बन्न पुगेका छन् ।
समग्रमा यस उपन्यासमा प्राचीन वैदिक र उत्तर वैदिक चेतनाको युगसन्धि भएको छ । विज्ञान (भौतिकवाद) र अध्यात्मका बीचको सन्धि छ । त्यसैगरी चेत र चेतना, प्रेम र बलिदान, राजा राजाका बीचका सन्धि र समन्वय आक्रोश र सहिष्णुता युगसन्धिकै पृष्ठपोषकका स्थानमा उभिएका छन् । यस्तै अनेकानेक सन्दर्भहरूले उपन्यास जीवन्त बनेकोमा शङ्का छैन । त्यसैले उपन्यासकार विजय चालिसे सफल उपन्यासकार बनेका छन् ।